सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटका एक दम्पतीको लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित स्याङ्बो डाँडाका २७ वर्षीय बुद्धिमान योञ्जन र उहाँकी श्रीमती २६ वर्षीया शर्मिला तामाङको मेमेपोखरी घुमेर फर्किने क्रममा लेक लागेर यही असोज १९ गते दसैँको टीकाको राति मृत्यु भएको हो । योञ्जन दम्पतीको शव सोमबार सर्लाही ल्याइएको छ । दोर्दी र मस्याङ्दी गाउँपालिकाको सीमा क्षेत्रमा करिब तीन हजार नौ सय मिटर उचाइको स्याङ्बोमा लेक लागेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिनुभयो । योञ्जन दम्पतीसँगै गएका बेंसीसहर नगरपालिका–१०, साँधुका १८ वर्षीय करण तामाङको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । करिब चार हजार मिटर आसपास जुम्रोडाँडा क्षेत्रमा ढलेका योञ्जन भोलिपल्ट बिहीबार मृत भेटिएका थिए । उनकी श्रीमती भने हराइरहेकी थिइन् । उनको शव शनिबार फेला परेको थियो । लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा पर्ने मेमेपोखरी पुग्न लमजुङ सदरमुकाम बेंसीसहरबाट कम्तीमा तीन दिन लाग्छ ।
भरतपुर : मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका–२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो । उक्त बाघले असोज २३ गते स्थानीय उमनाथ पौडेलको गोठमा बाँधेको पाडो मारेको थियो । बाघ पुनः सोही क्षेत्रमा आएपछि डार्ट गरेर नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँले एक महिनादेखि बाघ पटक–पटक गाउँमा पसेका कारण नियन्त्रणमा लिनुपरेको बताउनुभयो । नियन्त्रणमा लिइएको बाघलाई कसरामा रहेको खोरमा राखिएको छ । बाघको स्वास्थ्य अवस्था र आनीबानी हेरिसकेपछि निकुञ्जको निगरानी रहने स्थानमा छाडिने संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको थियो । पछिल्लो तथ्याङ्कानुसार यस निकुञ्जमा एक सय २८ बाघ रहेका छन् । गैँडाको आक्रमणबाट घाइते महतोको मृत्यु चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट घाइते भएका रत्ननगर नगरपालिका–६ का विसुन महतोको मृत्यु भएको छ । उहाँलाई यही असोज १० गते चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा आएको गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट घाइते उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेकामा थप उपचारका लागि हिजो सोमबार काठमाडौँ लगिएकामा आज बिहान मृत्यु भएको मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
भरतपुर : चालु आर्थिक वर्षभित्र नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुलमध्ये १२ वटाको निर्माण सकिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको काम धमाधम भइरहेको छ । आयोजनका प्रमुख किरण कार्कीले निर्माण भइरहेका १५ वटा पुलमध्ये १२ पुल यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताउनुभयो । उन्नाइस पुलमध्ये चार पुल यसअघि नै निर्माण सम्पन्न भइसकेका उहाँले जानकारी दिनुभयो । पछिल्लोपटक १५ पुल निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरेर काम सुरु गरिएको हो । तीमध्ये पहिलो प्याकेजको ४५ र दोस्रो प्याकेजको ८२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । समग्रमा १५ पुल निर्माणको काम ६० प्रतिशत काम सकिएको छ । सडकखण्डअन्तर्गतका पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको हो । प्याकेज–१ मा इच्छाकामना गाउँपालिकाको मुग्लिनबाट रिग्दीखोलासम्मका पुल छन् । जसमा खहरे, चिसेन्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । यीमध्ये टोपेखोलाको पुल तीन–चार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । चिसेन्जी र तुइन पुलको काम भर्खर सुरु भएको छ । “यी पुलको डिजाइन गर्न नै एक वर्ष लाग्यो, प्रमुख कार्कीले भन्नुभयो”, पुल निर्माणका लागि डाँडा कटान गर्नुपर्ने भएकाले पहिलो चरणमा ठाउँ तयार गर्दैछौँ ।” भौगोलिकरूपमा पनि यी दुई पुल निर्माण गर्न कठिनाइ रहेको उहाँले बताउनुभयो । तिहारपछि एक–दुई घण्टा राजमार्ग बन्द नै गरेर काम गर्ने योजना बनाएको कार्कीले जानकारी दिनुभयो । रिद्धी र कालीखोलामा आर्कब्रिज भएका कारण निर्माणमा समय लाग्ने उहाँको भनाइ छ । नाम्चेखोलामा पहिराले दुःख दिएका कारण पुल निर्माणमा समस्या भएको कार्कीले बताउनुभयो । “रिद्धीखोला र कालीखोलाको पुल चैतसम्म निर्माण सक्ने गरी काम भइरहेको छ, तिहारपछि कामले झन् गति लिन्छ”, उहाँले भन्नुभयो । प्याकेज–२ मा भरतपुर महानगरपालिकाअन्तर्गत सिमलतालबाट जुगेडीसम्मका पुल पर्छन् । जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोला गरी आठ पुल छन् । यो प्याकेजअन्तर्गत जुगेडीबाहेक अन्य पुलको ९० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । जुगेडी पुलको पिलर निर्माणको काम भएको छ । सो क्षेत्रमा रहेका घरटहरा र मुअब्जा वितरणमा भएको ढिलाइका कारण पुल निर्माणमा असर परेको आयोजना प्रमुख कार्कीले बताउनुभयो । यो प्याकेजअन्तर्गत पाँचवटा पुल तीन–चार महिनाभित्रै गाडी गुडाउन मिल्ने गरी काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको उहाँले भन्नुभयो । कार्कीका अनुसार प्याकेज–१ का सात पुल चार सय ४२ मिटर लामा छन् भने प्याकेज–२ का आठ पुल तीन सय ८१ मिटर लामा छन् । पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ । दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ । ठेकेदार कम्पनीलाई नक्साङ्कनसहित ठेक्का दिइएकाले कुल खर्चमा १० प्रतिशत तलमाथि हुनसक्ने आयोजनाले जनाएको छ । दुवै ठेक्का एउटै कम्पनीले पारेको हो । १५ पुलका लागि विसं २०७६ चैत १० गते ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सनले ठेक्का स्वीकार गरेको थियो । तर सम्झौताको म्याद सकिन तीन महिनामात्रै बाँकी छ । एक वर्ष म्याद थप गर्ने आयोजनाले तयारी गरेको छ । नारायणगढ–मुग्लिन सडक विस्तार भएको तीन वर्ष बितिसक्दा पनि पुल निर्माणको काम सकिएको छैन । आयोजनाले कोरोना महामारी, भौगोलिक कठिनाइ, प्राकृतिक प्रकोप र मुअब्जा वितरणलगायतका कारणले काममा ढिलाइ भएको बताएको छ । पुल निर्माणका लागि आवश्यक बजेट अभावमा पनि काममा ढिलाइ भएको आयोजनाले बताएको छ । यस वर्ष रु ५० करोड माग गरेकामा रु ११ करोडमात्र विनियोजन भएको छ । पुल निर्माण समयमा नसकिँदा यो सडकखण्ड हुँदै आवतजावत गर्ने सवारी तथा यात्रुले समय–समयमा जामको सास्ती खेप्नुपरेको छ भने दुर्घटनाको समेत जोखिम छ । हाल भएका पुराना पुल सबै अवस्थामा छन् । यो राजमार्गलाई एसियन विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो ।
ताप्लेजुङ : प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट रु छ लाख १३ हजार तीन सय ४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ । जिल्ला सदरमुकाम फुङ्लिङ स्थित सो ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल छन् । फरार रहेका एक जनाको खोजी जारी रहेको प्रनाउ राईले जानकारी दिनुभयो । उनीहरुको साथबाट नगद रु छ लाख १३ हजार तीन सय ४० सहित एक सय ४३ तोला सुन सार्वजनिक गरेको हो । बरामद गरेका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान ९डोरी, कैचीलगायत सामग्री० सार्वजनिक गरेको छ । मनी ट्रान्सफरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा रु ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको उल्लेख गरिएको छ । यसैगरी हाल सुनको बजारभाउअनुसार रु तीन करोड ३९ लाख ९९ हजार छ सय बराबरको तीन सय ४८ तोला सुन लुटपाट भएको जनाएका छन् । पैसा पठाउने र दिने आइएमईसँग सुन कारोबारको इजाजत भए/नभएकोबारे कागजात अनुसन्धान गर्न तयारी रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताउनुभयो । उहाँले भन्नुभयो, “सुन कारोबार (जाकट) इजाजत छ वा छैन, कागजात मागेका छौँ, अनुसन्धान हुन्छ ।” आरोपीले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए । लुटपाटमा संलग्न लागुपदार्थ सेवनकर्ता भएको प्रहरीले जनाएको छ । उनीहरूले गरगहना लुटपाटको योजना काठमाडौँस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । आरोपितविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम तोकिएको छ । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते दर्ता भएको मनोनयनपत्रको सूची सोही दिन प्रकाशन भइसकेको छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने र असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रकाशित भएको बन्दसूचीको सूचनामा असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
म्याग्दी : बेनी नगरपालिका–१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ । स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ बाट जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरै ठाउँमा पहिरो तथा हिलोका समस्या भएकाले म्याग्दी र मुस्ताङ आवतजावत गर्ने धेरै सवारीसाधनले विकल्पमा बागलुङ–बेनी सडक प्रयोग गर्दै आएका छन् । पहिराका कारण सडक दबेर भासिएपछि हिलोमा सवारीसाधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ । एक हप्तायता रइनेडाँडाको पहिराले दैनिकजसो घण्टौँसम्म बेनी–बागलुङ सडक अवरुद्ध हुन थालेको सवारी चालक गोविन्द बानियाँले बताउनुभयो । “ट्याक्सी, मोटरसाइकल र जिपलाई धकेलेर, तानेर पहिराको सडक पार गराए पनि बस, ट्रक, माइक्रोबस हिलो र चिप्लो अनि उकालो सडक उक्लन नसकेर जाम हुने गरेको छ”, उहाँले भन्नुभयो, “दुर्घटनाको जोखिमका साथै सास्ती भएको छ ।” सोमबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म सो ठाउँमा सडक अवरुद्ध बनेको थियो । दैनिकजसो यस्तै समस्या हुने गरेको यातायात व्यवसायी र यात्रुले बताएका छन् । यात्रु प्रकाश अधिकारीले यात्रु समयमा गन्तव्यमा पुग्न नसकेर बिचल्लीमा परेका बताउनुभयो । “जङ्गलको बीचमा घण्टौँ जाममा फस्नुपर्दा खानेकुरा र पानी नपाउने, शौचालयको समस्या छ”, उहाँले भन्नुभयो, “बिरामीलाई समयमा अस्पताल पु¥याउन समस्या भएको छ । वृद्धवृद्धा, बालबालिकाको झनै बिचल्ली भएको छ ।” केही दिनयता रुइनेडाँडाको पहिरो सक्रिय भएर करिब २० मिटर सडक भासिएर ग्रेड नमिलेको र बेनीबाट बागलुङतर्फ जानेक्रममा सवारीसाधन उक्लन नसकेर फस्ने गरेका बेनपा–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । “पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको क्रममा रहेको सडकका ठेकेदार र नगरपालिकाले भाडामा लिएको ब्याकुहोलोडर प्रयोग गरेर फसेका सवारीसाधन निकाल्ने र मर्मत गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो “आज बनायो, भोलि फेरि उस्तै हुन्छ । डोजरलाई यहीँ तयारी अवस्थामा राखेर तत्कालै मर्मतको व्यवस्था मिलाउन पहल गरेका छौँ ।” कालीगण्डकीको किनारबाट सडकभन्दा माथिसम्म पहिरो छ । यसलाई नियन्त्रणका लागि छुट्टै योजना माग गर्ने वडाध्यक्ष थापाले बताउनुभयो ।
काठमाडौं : नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिनुभयो । उहाँले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने बताउनुभयो । मौसमविद् भट्टराईले भन्नुभयो, “मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर भएको छ । आज कर्णाली र सुदूरपश्चिमका केही स्थान र पूर्वका धेरै स्थानमा वर्षा हुने देखिन्छ । भोलिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सुधार हुन्छ, बिहीबारदेखि देशैभर मौसम सफा रहन्छ ।” जारी मनसुनका साथै आसपास विकास भएको न्यूनचापीय प्रणालीको प्रभावले विगत आठ दिनदेखि निरन्तरको वर्षा पछिल्लो तीन दिनयता खण्डितरूपमा मात्रै भइरहेको छ । मनसुन बाहिरिन अझै एक साता लाग्ने महाशाखाले जनाएको छ । हाल नेपालमा हरियाणा आसपास रहेकोे न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम १८ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।
काठमाडौं : निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएसँगै विभिन्न राजनीतिक दल र उम्मेदवारहरूबाट सामाजिक सञ्जालको समेत प्रयोग गरी प्रचारप्रसार र विज्ञापन हुन थालेको छ । आयोगले जारी गरेको ‘निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने जनाइएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी आयोगको सचिवालय र अन्तर्गतका कार्यालयसमेतको संयन्त्र बनाई नीतिको कार्ययोजनाबमोजिम भए गरेका काम कारबाहीको निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने कार्य भइरहेको जनाउनुभएको हो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद निर्धारण गरिसकेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरिएको छ । सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे नगरेको बारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाई परीक्षण गरिने भएकाले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनका सबै खर्च विवरणसमेत चुस्तदुरुस्त राख्न सम्बन्धित सबै राजनीतिक दल र उम्मेदवारलाई आयोगले आग्रह गरेको हो ।
चितवन : चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नौ जना विरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१३ का धनबहादुर विक, जीवन सुनार र विकासबहादुर दमाई रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । अस्पतालका तर्फबाट उनीहरुसहित नौ जना विरुद्ध किटानी जाहेरी परेसँगै पक्राउ गरिएको उहाँले बताउनुभयो । अन्यको खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ । उनीहरु विरुद्ध स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन, २०६६ को संशोधन, २०७९ अनुसार मुद्दा दर्ता गरिएको पण्डितले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन, २०६६ को संशोधन, २०७९ अनुसार स्वास्थ्य संस्था तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउनेलाई तीन वर्षसम्म कैद वा रु तीन लाख जरिवाना हुने व्यवस्था रहेको छ । यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए । तोडफोडका कारण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा क्षति भएको थियो । सो घटनालाई लिएर नेपाल चिकित्सक सङ्घले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो ।