काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्वन्धित पक्षलाई लागि पर्न आब्हान गर्नुभएको छ । बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारीगर्दै प्रदेश प्रमुख शर्माले बालबालिकाको सवालमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरुको स्थानीय, प्रदेश तथा सङ्घ तीनै तहका सरकारबाट प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । प्रदेश प्रमुख शर्माले सन्देशमा नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता अधिकार व्यवस्था गरेको उल्लेख गर्नुभएको छ । ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित आज मनाइँदै गरिएको ५८औँ राष्ट्रिय बाल दिवसका सन्दर्भमा सम्पूर्ण बालबालिका तथा अभिभावकहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु”, प्रदेश प्रमुख शर्माद्वारा जारी सन्देशमा भनिएको छ ।
चितवन । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यही असोज ४ गते ५० औँ वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ । विसं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो । निकुञ्जले आफ्नो स्वर्ण वर्ष भरि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको हो । असोज ७ गते औपचारिक कार्यक्रमगरी स्वर्ण वर्ष शुभारम्भ गरिँदैछ । निकुञ्ज परिसर कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । महोत्सवमा स्मारिका प्रकाशनगर्ने, स्वर्ण स्तम्भ अनावरण गर्ने, मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारू, गुरुङ, मगर, तामाङ, दरै आदि समुदायको संस्कृति प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गरिने तिवारीले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्ग किमि फैलिएको छ । सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा गैँडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिङ्गे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावरहरू पाइन्छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी पाँच सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी एवं विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो । संरक्षणमा गरिएको प्रयासस्वरुप यस निकुञ्जमा हाल पाटेबाघको सङ्ख्या एक सय २८ र गैँडाको सङ्ख्या ६ सय ९४ पुगेको छ । पछिल्लो एक वर्षयता चोरी सिकारीबाट गैँडा मारिएका छैनन् । यस निकुञ्ज स्थापनासँगै विसं २०५३ मा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन गरिएको थियो । व्यवस्थापन समितिको क्षेत्रफल ७२९ दशमलव ३७ वर्गकिलोमिटर रहेको छ । यस राष्ट्रिय निकुञ्ज प्रदेश नं २, ३ र ४ का चितवन, मकवानपुर, पर्सा र नवलपरासी जिल्लाका केही भू–भागहरूमा फैलिएको छ । निकुञ्जमा एक महानगरपालिका, आठ नगरपालिका र तीन गाउँपालिका पर्दछ । ती पालिकामा दुई लाख ५० हजारभन्दा बढी जनसङ्ख्या बसोबास गर्दछन् । मध्यवर्ती क्षेत्र स्थापनासँगै निकुञ्जमा उठेको पर्यटन राजश्वको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा संरक्षण शिक्षा, भौतिक पूर्वाधार लगायतमा खर्च गरिँदै आएको छ । हालसम्म रु एक अर्बभन्दा बढी रकम मध्यवर्तीमा खर्च भइसकेको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मध्यवर्ती स्थापनासँगै जनता र निकुञ्ज बीचको द्वन्द्व घटेर संरक्षणमा सहयोग पुगेको बताउनुभयो । पुराना ऐन कानुनका कारण मध्यवर्तीका बासिन्दालाई केही अफ्ठ्याराहरु भएको भन्दै तिनीहरुलाई संशोधन गरेर संरक्षणमा जुट्नुपर्ने उहाँको भनाइ छ । निकुञ्ज स्थापनाको ५० औँ वर्षको अवसरमा वर्षभरिनै संरक्षणसँग सम्वन्धित विभिन्न गतिविधिहरु गरिँदै छ ।
बागलुङ । “घाउ चहराएर आएका नागरिकले मेरो जग्गामा आएर मल्हम लगाउन पाउन, मलाइ यहाँभन्दा ठूलो सन्तुष्टि केही छैन, यो नै मेरा लागि ठूलो धर्म हो”, बागलुङ नगरपालिका–७ स्थित मुलपानी स्वास्थ्य चौकीको भवन शिलान्यास समारोहमा मङ्गलबार जग्गा दाता ८२ वर्षीय मेघराज पाण्डेले बोलेको मार्मिक शब्द हो यो । उहाँले स्वास्थ्य चौकीको जग्गा अभावकै कारण भवन बन्न नसकेपछि आफ्नै घरगोठ भएको जग्गा स्वास्थ्य चौकीका नाममा दिनुभएको छ । आफ्नो जीवन अध्यापनमै बिताउनुभएका पाण्डेयले ऊर्जाशिल समय त्यही स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको जग्गामा रहेको आफ्नो मुल घरमा बिताउनुभयो । सोही जग्गामा हुर्केर छोराछोरी लालन पालन गर्दै त्यहीँको विद्यालयमा अध्यापन गराउनुभएका पाण्डेले २०५४ सालमा अवकासपछि मात्रै बागलुङ बजारमा बसाइँसराइँ गर्नुभएको थियो । “जुन जग्गामा आज स्वास्थ्य चौकीको भवन बन्नका लागि शिला राखियो त्यही जगमा मेरो जन्म घर थियो, घर अलि पहिल्यै भत्कियो तर गोठ स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने क्रममा भत्केछ, मलाई आफ्नो घर गोठभन्दा स्वास्थ्य चौकी ठूलो हो”, जग्गा दाता पाण्डेले भन्नुभयो । पाण्डेले नौ रोपनी जग्गामा फैलिएको जग्गामध्ये स्वास्थ्य चौकीलाई आवश्यक चार रोपनी जग्गा दिएपछि भवन निर्माण थालिएको हो । उहाँले स्वास्थ्य चौकीलाई आवश्यक परे अन्य जग्गासमेत प्रयोग गर्न दिने आश्वासन दिनुभयो । मुलपानीको कालीमाटीबाट साँघुरो जीर्ण भवनबाट सेवा दिँदै आएको स्वास्थ्य चौकीको नयाँ भवन बनाउनका लागि बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि जग्गादाता मेघराज पाण्डेलाई उपप्रमुख खड्काले नगरपालिकाका तर्फबाट सम्मानसमेत गर्नुभएको थियो । रु एक करोड ७० लाखमा जुम्ली निर्माण सेवाले मुलपानी स्वास्थ्यचौकी निर्माण लागि २०७९ वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो । आगामी २०८० वैशाख १९ गतेभित्रै भवन निर्माण सक्ने गरी निर्माण कम्पनीले स्वास्थ्य चौकीको भवनका लागि पिल्लर राख्ने काम गरिरहेको छ । अहिले मुलपानी स्वास्थ्य चौकीले तीनकोठे जीर्ण भवनबाट सेवा दिँदा असहज भएकाले नयाँ भवनसँगै सेवामा वृद्धि गर्न सकिने मुलपानी स्वास्थ्य चौकीका इन्चार्ज महेन्द्र शर्माले जानकारी दिनुभयो । नागरिकको स्वास्थ्य सेवाका लागि साँघुरो र अपायक पर्ने जग्गाबाट स्वास्थ्य सेवा दिइरहेपनि हाल कालिमाटी गाउँको सडक छेउमै भवन बन्न थालेकाले नागरिकलाई सहज हुँने वडाअध्यक्ष मेघराज शर्माले जानकारी दिनुभयो ।
झापा । सामुदायिक कुकुरको सङ्ख्या न्यूनीकरण गर्दै लैजाने योजनाअनुसार अर्जुनधारा नगरपालिकाले यस वर्ष दुई सयवटा कुकुरको बन्ध्याकरण गरेको छ । बन्ध्याकरण गरिएका कुकुरमा अधिकांश हुर्किदो छाउरा छन् । नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले विगत तीन वर्षदेखि नगर क्षेत्रमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरण शिविर चलाउँदै आएको छ । कुकुरलाई रेविज रोगविरुद्ध खोपसमेत लगाइने गरिएको छ । पोखराको हिमालयन एनिमल रेस्क्यू ट्रस्ट (हार्ट) नेपालसँगको सहकार्यमा बन्ध्याकरण र खोप कार्यक्रम एकसाथ सञ्चालन भइरहेको शाखाका प्रमुख पदमलाल राईले बताउनुभयो । सोमबार सुरु भएको अभियान मङ्गलवार सम्पन्न भएको थियो । गाउँ–सहरमा जताततै सामुदायिक कुकुरको सङ्ख्या बढ्दै गएको र घरपालुवा कुकुरको रेखदेख घरधनीले गरे तापनि सामुदायिक कुकुर नियन्त्रण बाहिर रहने गरेका कारण बन्ध्याकरण गर्नुपरेको नगरपालिकाले जनाएको छ । कुकुरले टोकेमा मानिस र पशुमा रेबिज रोग सङ्क्रमण हुने त्रास बढ्दो छ । सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण उपयुक्त उपाय हुने भएकाले अभियान चलाइएको उहाँले बताउनुभयो । शिविरमा पशु चिकित्सक सोनिया गुरुङ, सुदिप्पी पनेरु र हिमांशु पोखरेलको नेतृत्वमा कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाइने कार्य भएको थियो । बन्ध्याकरणले कुकुरको सङ्ख्या घटाउन सहयोग पुग्ने र खोपबाट रेविज रोग लाग्नै नपाउने अपेक्षा गरिएको छ । गत वर्ष अर्जुनधारा नगरपालिकामा रेविजकै कारण एक व्यक्तिको मृत्यु भएको थियो भने गाईवस्तुसमेत मरेका थिए । प्राविधिक सहयोग पुर्याउँदै आएको हार्टले झापाको अर्जुनधारासहित विर्तामोड र भद्रपुर नगरपालिकासँगको सहकार्यमा यस वर्ष छ सयभन्दा बढी सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने लक्ष्य लिएको बताइएको छ ।
भक्तपुर । नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नुभएको छ । बिहान ९ः२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुग्नुभएका अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सङ्घीय सांसद प्रेम सुवाल, बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, सृजना गोसाईं, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत नगर कार्यपालिकाका सदस्यहरुले स्वागत गर्नुभएको थियो । अध्यक्ष लीसहित उहाँको नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुले नगरपालिकाले उहाँको स्वागतमा दरबार स्क्वायरको डबलीमा प्रदर्शन गरेको ऐतिहासिक भैरब प्याँख नाचको अवलोकन गर्नुभएको थियो । अध्यक्ष लीले यो नाचले चिनियाँ संस्कृति सम्झाएको भन्दै चीन र नेपालको संस्कृति मिल्दोजुल्दो रहेको बताउनुभएको थियो । उहाँले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोकन गर्नुभएको थियो । पच्पन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै उहाँले यहाँका सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिबारे पनि जानकारी लिनुभएको थियो । अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले भक्तपुरको सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिबारे जानकारी गराउनुभएको थियो । भक्तपुरका भूकम्पले क्षति पुर्याएको ८० प्रतिशत सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भएको जानकारी गराउनुभएको थियो । अध्यक्ष लीले यहाँको पुनर्निर्माणमा विदेशी दातृ निकायको सहयोगबारे जिज्ञासा राख्नुभएको जानकारी दिँदै प्रमुख लासिवाले भक्तपुर नगरभित्रका सम्पदाको पुनर्निर्माणमा कुनै पनि विदेशी दातृ निकायको सहयोग नलिएको र नगरपालिका, नेपाल सरकार एवं स्थानीयवासीको सहयोगमा सम्पदा पुनर्निर्माण गरिएको जानकारी गराउनु भएको थियो । प्रतिनिधिमण्डलका सदस्यहरुले नगरपालिकाले हालै पुनर्निर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गर्नुभएको थियो । अध्यक्ष लीले पाँचतले मन्दिरमा भूकम्पले क्षति नपु¥याउने गरी बलियोसँग कसरी बन्यो होला भन्ने जिज्ञासासमेत राख्नुभएको प्रमुख लासिवाले जानकारी दिनुभयो । पाँचतले मन्दिर र सँगैको भैरब मन्दिरको बनावट, निर्माणमा परम्परागत सामग्रीको प्रयोग तथा यहाँका पुराना वास्तुविद्को योजनाअनुसार निर्माण भएकाले क्षति नपुगेको प्रमुख लासिवाले जानकारी गराउनु भएको थियो । टौमढीमा नगरपालिकाले यहाँका सम्पदा, कला, संस्कृति र नाचका तस्बिरहरु प्रदर्शन गरेको थियो । तस्बिरहरुको अवलोकनका क्रममा अध्यक्ष लीलाई लासिवाले नयाँ वर्षमा बिस्केट जात्रा मनाउने यही ठाउँ रथ, जात्राको सञ्चालनबारे जानकारी गराउनु भएको थियो । यहाँका विभिन्न जात्रा, पर्व जात्रादेखि आज मनाइने पुलु किसी जात्राबारे समेत जानकारी गराउनु भएको थियो । जात्रा, पर्व, नाचहरुका बारेमा जानकारी लिएपछि अध्यक्ष लीले नेपालका धेरै कला, संस्कृति, नाच र परम्पराहरु चीनको संस्कृतिसँग मिल्दोजुल्दो रहेको बताउँदै विश्वका विभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षहरुमा समानता रहेकोसमेत बताउनु भएको थियो । पाँचतले मन्दिरको अवलोकनपछि बिदाइका क्रममा हेर्न बसेका स्थानीयलाई अध्यक्ष लीले नेपाली भाषामै नमस्ते भनेर सम्बोधन गर्नुभएको थियो । बिदाइका क्रममा अध्यक्ष लीसहितको प्रतिनिधिमण्डललाई नगरपालिकाका तर्फबाट मयूर झ्याल, नगरपालिकाका विभिन्न प्रकाशनहरु प्रदान गरिएको थियो । कोभिड–१९ को सङ्क्रमणलाई ध्यान दिँदै नगरपालिकाले ती उपहारहरु हातमा नदिई एकमुष्ट प्रदान गरिएको थियो । अध्यक्ष लीले नगरप्रमुख प्रजापति, सङ्घीय सांसद सुवाल लगायतलाई उपहार प्रदान गर्नुभएको थियो । टोलीले भक्तपुरको एक घण्टासम्मको अवलोकन सकेर बिहान १०ः२० बजे फर्किएको थियो । अध्यक्ष लीले आजै अपराह्न ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि उहाँले मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँले मङ्गलबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । मङ्गलबार नै दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार विशेष विमानबाट नेपाल आउनुभएका उहाँले सोही दिन सभामुख सापकोटासँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । अध्यक्ष ली नेतृत्वमा छजना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि भदौ ३० गते बिहान विशेष विमानबाट स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
मनाङ ः हिमाली जिल्ला मनाङ कहिले बाढी र पहिरोको चपेटामा पर्छ त कहिले छिमेकी जिल्लाको मारमा पर्दै आएको छ । दसैँ नजिकिँदै गर्दा जिल्ला फर्किने मनाङवासीलाई सकसको यात्रा झेल्नुपर्ने भएको छ । गत वर्ष बाढीपहिरोको मारमा परेको मनाङले यस वर्ष छिमेकी जिल्ला लमजुङको सडकको मार खेप्नुपर्ने भएको छ । मनाङ आउने तथा लमजुङको सदरमुकाम बेँसीसहर आउने एक मात्र सडकको दुरावस्थाले सास्ती खेप्नुपर्ने भएको हो । बेँसीसहर नगरपालिका-१ उदिपुरमा केही समयअघि मात्रै ठूलो पहिरो खसेपछि वैकल्पिक सडकमार्फत यात्राको प्रबन्ध मिलाइएको छ । तर यस सडकको दुरावस्थाले लमजुङवासी मात्रै नभएर विकट जिल्ला मनाङवासीको मेरुदण्डको सडकले समस्या थप्दै आएको छ । गत वर्ष नै पहिरोले सडक भासिएपछि हालसम्म मर्मत तथा सम्भार एवं निर्माणको काम शून्य रहेको यस सडकमार्फत हुने यात्रामा प्रस्ट देखिन्छ । उक्त सडक खण्डको दुरावस्था मर्मतसम्भार गर्नुको साटो सडकसँग सम्बन्धित निकाय भने मूकदर्शक भएर बसेको लमजुङका स्थानीयवासी बताउँछन् । सदरमुकाम पुग्न यस सडकमार्फत यात्रा गर्दा ज्यान नै जोखिममा राखेर यात्रा गर्नुपरेको स्थानीयवासीको भनाइ छ । यता डुम्रे-बेँसीसहर–चामे सडक योजना कार्यालयले दुरावस्थामा यात्रा गरिरहेको भए पनि असोजदेखि मात्रै काम हुने जनाउँदै आएको छ । दुई जिल्लाको मेरुदण्डको सडक नै समयमा निर्माण हुन नसक्दा सर्वसाधारणलाई सदरमुकाम पुगेर काम गर्नसमेत लामो समय खर्चिनुपरेको स्थानीयवासी बताउँछन् । यस सडकमार्फत नै मनाङमा उत्पादित स्याउलगायत विभिन्न व्यापारिक कार्य गर्नुपर्ने हुन्छ । तर सडकको दुरावस्थाले सकस भएको मनाङका स्याउ कृषक बताउँछन् । यति बेला जिल्लामा उत्पादित स्याउ बजारमा पुर्याउने तथा पर्यटक आउने अनुकूल समय भएको छ । तर सडकको दुरावस्थाले कोभिड–१९ सङ्क्रमण न्यूनीकरणपछि पर्यटक आउने अवसरलाई सकस बनाएको मनाङवासी बताउँछन् । “मनाङको मेरुदण्डका रूपमा रहेको डुम्रे–बेँसीसहर–चामे सडक खण्डको बेँसीसहर आउन अगाडि नै सकस झेल्नुपर्छ । मनाङ आउन हिँडेका पर्यटक सडकको अवस्था देखेर नै फर्किन्छन् कि भन्ने समस्या भएको छ । लमजुङवासीले पहल गर्न सके उनीहरुसँगै मनाङवासीलाई सहज हुने थियो”, मनाङका पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले भन्नुभयो । मनाङवासीले यही मार्ग हुँदै खाद्यान्नलगायत विकास निर्माणका लागि पूर्वाधारका सामग्री ओसरपसार गर्नुपर्ने हुन्छ । वर्षामा बाढीपहिरो, हिउँदमा हिमपातले गर्दा जिल्लाको विकास निर्माण तथा खाद्यान्न ढुवानीमा समस्या भए पनि मुख्य सडक पर्ने छिमेकी जिल्लामा समस्या आए मनाङलाई पनि प्रभाव पर्ने गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । यो समस्या समाधान भएमा लमजुङसँगै मनाङवासीलाई समेत सहज हुने उहाँको भनाइ छ । बर्सेनि यो समस्याले मनाङवासीका साथै पर्यटकलाई आवतजावतमा कठिनाइ भएको स्थानीयवासी बताउँछन् । छिमेकी जिल्लामा समेत पहिरोले सडक खसेपछि सहज तवरबाट यात्रा गर्न कहिले पनि नपाउने हो कि भन्ने मनाङवासीको चिन्ताको विषय बनेको छ ।
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताउनुभएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गर्नुभएको छ । राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाउन लागिएको छ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेलगायतका कुराको प्रत्याभूति गरेको छ । बालबालिका राष्ट्रका कर्णधार, भोलिका नीति निर्माता तथा देश र समाजका परिवर्तनका संवाहक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बालबालिकालाई संविधान र कानूनले प्रत्याभूत गरेका सबै किसिमका हकअधिकार निर्वाध उपभोग गर्नसक्ने व्यवस्था सुनिश्चित गर्न सरकार लागि परेको बताउनुभएको छ । उहाँले उनीहरूलाई उचित शिक्षा दीक्षा दिई असल जिम्मेवार, देशभक्त र उत्पादनशील नागरिकका रूपमा तयार गर्न सबैले जोड दिन आवश्यक रहेकोसमेत उल्लेख गर्नुभएको छ । “बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, मनोरञ्जन, खेलकुद तथा सर्वाङ्गीण व्यक्तित्व विकासको लागि नेपाल सरकारले नीतिगत, कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्दै विभिन्न कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन गर्दै आइरहेको छ”, उहाँको शुभकामना सन्देशमा उल्लेख छ । उहाँले मुलुक सङ्घीय शासन प्रणालीमा रुपान्तरित भएको वर्तमान परिप्रेक्ष्यमा बालबालिकाको समय हकअधिकारको संरक्षण एवं विकासमा सङ्घका अतिरिक्त प्रदेश र स्थानीय सरकारले पनि उत्तिकै जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । बालबालिकाको हकअधिकारको संरक्षण र बालमैत्री समाज निर्माणका लागि तीनै तहका सरकारबीच पारस्परिक सहयोग, समन्वय र सहकार्य अनिवार्य रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । बालबालिकाको उज्ज्वल भविष्यका लागि घर परिवार, समाज एवं सबै सरोकारवाला जिम्मेवार बन्नु आवश्यक रहेको बताउँदै उहाँले सबैको साझा लक्ष्य र गन्तव्य भनेको बालअधिकार सुनिश्चित भएको बालमैत्री राष्ट्र निर्माण गर्नुभएको बताउनुभएको छ । बालबालिकाको अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्नु सबैको दायित्व भएको बताउँदै प्रधानमन्त्री देउवाले सबैको साझा प्रयास, सहयोग, समन्वय र सहकार्यबाट मात्र बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाज निर्माण गर्न सकिन्छ भन्ने अपेक्षा गर्नुभएको छ । उहाँले दिवसका अवसरमा बालबालिकाको हकअधिकार र कल्याणका क्षेत्रमा कार्यरत सरोकारवाला निकायलाई आगामी दिनमा बालबालिकाको हकअधिकारको संरक्षण र विकासमा अझ बढी जिम्मेवार भई कार्य गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नवलपुर : नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकाले नगरलाई खादामुक्त नगर घोषणा गर्ने तयारी गरेको छ । मध्यविन्दु नगरपालिकाको नगर कार्यपालिका बैठकबाट नगरक्षेत्रमा प्रयोग हुने कुनैपनि कार्यक्रमलाई अतिथि सम्मानमा खादाको प्रयोगलाई निरुत्साहित गर्दै खादामुक्त नगर घोषणा गर्ने तयारी गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । नगरसभाबाट भएको निर्णयलाई कार्यान्वयन गराउनका लागि नगरपालिकाले नगरभित्रका सबै संघसंस्था, वडा कार्यालय, शैक्षिक संस्था तथा अन्य कार्यालयलाई खादा प्रयोग नगर्न पत्राचार गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो । विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि प्रयोग हुँदै आएको खादा प्रयोग नगर्न तथा नगराउन नगरप्रमुख अधिकारीले सबैलाई आग्रह गर्नुभएको छ । अतिथि सत्कारमा प्रयोग गरिने खादा अन्य कुनै पनि प्रयोजनमा काम नलाग्ने र त्यसको व्यवस्थापन गर्न पनि कठिन हुने भएकाले खादामुक्त नगर निर्माण गर्न लागिएको अधिकारीले बताउनुभयो । विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि खादाको विकल्पमा फूल, माला तथा अन्य उपयोगी सामग्री प्रयोग गर्न सकिने पनि अधिकारीको भनाइ छ ।
काठमाडौं : निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो । आयोगले यही भदौ १५ देखि आगामी असोज १ गतेसम्म उम्मेदवारको नामको बन्द सूची तयार गर्न राजनीतिक दललाई समय तोकेको छ । दलले असोज २ र ३ गते आयोगमा बन्द सूचीमा रहेका उम्मेदवारको नाम पेश गर्नुपर्ने छ । सम्बन्धित पार्टीले सूचीमा रहेका उम्मेदवारको नाम सञ्चाउन चाहेमा असोज ४ देखि ९ गतेसम्म गर्नुपर्ने र त्यसका आधारमा आयोगले १० देखि १६ गतेसम्म संशोधनको समय सिमा राखेको छ । त्यस्तै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १७ गतेको तालिका तय गरिएको छ । रिक्त स्थानमा परिवर्तन गर्नुपर्ने नाम दलले २० देखि २२ गतेसम्म आयोगमा बुझाउनुपर्ने व्यवस्था छ । त्यस्तै २३ देखि २९ गतेसम्म दावी बिरोधका लागि समय राखिएको छ । यही असोज ३० देखि कात्तिक ५ गतेसम्म आयोगले जाँचबुझ गरी ८ गते सूचीबाट नाम हटाउने छ । आयोगले कात्तिक ९ गते अन्तिम नाम प्रकाशन गर्ने कार्यतालिका छ ।