महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ । यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज सुरु भएको हो । निरामिष (सात्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । यसअघिका दुई वर्ष कोराना (कोभिड–१९) सङ्क्रमण सन्त्रासले धक खोलेर पर्व मनाउन नपाइएको सम्झँदै यसपालि भने महाव्याधि नभएपछि पर्व मनाउन सहज भएको बर्तालु बताउँछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्व सुरु भएको मानिने आज कार्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो । पर्वले घर–घरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् । श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू)मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो)सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् । आज शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ । मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् । मिथिलामा यसपालि पर्सी आइतबार छठ व्रत (सझुका अरख) र सोमबार बिहान पारन (समापन, भोरका अरख) सम्पन्न गरिनेछ । मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै बनिसकेको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको छ । यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रूपमा स्थापित भएको छ । त्यसैले यसलाई लोकपर्व भनिएको मैथिल संस्कृतिविद् बताउँछन् ।
गोरखा । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उहाँको एक्कासी लडेर मृत्यु भएको हो । नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पु¥याइएको थियो । अस्पताल पुर्याउनु अघि नै उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ । राना एमालेबाट वडाध्यक्षमा निर्वाचत हुनुभएको थियो । वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिनुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट बडाध्यक्षमा विजयी हुनुभएको थियो । उहाँ एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवासङ्घको नेपालको केन्द्रीय सचिवालय सदस्यसमेत हुनुहुन्थ्यो ।
चितवन । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । यस्तै खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेङ्गु देखिएको केसीले बताउनुभयो । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । अझै केही समय डेङ्गु सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ ।
काठमाडौं । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । विभागका अनुसार अधिकांश भू–भागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ ।
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको तामाङले जाकारी दिनुभयो । प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताउनुभयो ।
कैलाली । कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए । छलफलमा भाग लिँदै सामाजिक अभियन्ता भीमराम चपाईँले पहिला धान बेचेर जग्गा किन्थे, अहिले जग्गा बेचेर धान किनेर खाने गर्नाले समस्या भएको बताउनुभयो । उहाँले टीकापुरमा सुरुको गुरुयोजना, त्यसपछिको आवधिक योजना हराएको गुनासो गर्दै यहाँ हरेक ठाउँमा आर्थिक अनियमितता भइरहेकाले नागरिकले जीवनस्तर वृद्धि गर्न नसकेको बताउनुभयो । “जनप्रतिनिधि संयमित हुनुपर्छ, हरेक कार्यमा निगरानी बढाउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “विकासका सवालमा गुरुयोजनाअनुसार काम गरेमा गुणस्तरीय हुन्छ । यहाँ नागरिकले पनि हरेक काममा सवाल गर्न आवश्यक छ ।” मानिस अल्छी बन्दै गएकाले भएको जग्गाजमिन मासिँदै जान थालेको, अवसरवादी र सुविधाभोगी बन्न थालेका उहाँको भनाइ छ । टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले दिगो विकास उत्पादकत्व बढेपछि हुने भएकाले अनी मात्र आर्थिक विकास सम्भव भएको बताउनुभयो । उहाँले कृषि उत्पादन बढाउन जरुरी रहेको उल्लेख गर्दै राज्यले दिने कृषितर्फका सेवामा पनि नक्कली किसान तयार भएकाले समस्या भएको बताउनुभयो । “यहाँ सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कृषितर्फ लगानी गरेको छ । कृषितर्फ दिइने अनुदान खान नक्कली किसान बनेका छन्”, उहाँ भन्नुहुन्छ, “वास्तविक किसान मर्कामा परेका छन्, कृषिको लगानी सदुपयोग भएन, सदुपयोग नभए उत्पादन बढ्ने कुरा भएन, अनि कसरी समृद्धि हुन्छ ।” वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख हर्कबहादुर भण्डारीले विकास एकीकृत पाटोबाट सँगसँगै जानुपर्ने तर यहाँ फरक–फरक तरिकाले पटक–पटक संरचना बन्दा पनि स्थानीय सरकार हेरेर बस्ने गरेको आरोप लगाउनुभयो । उहाँले नगरपालिका बलियो हुनुका साथै विकासका कार्यमा कडाइ गर्न आवश्यक रहेको बताउनुभयो । “एउटै सडक पटक–पटक खनिन्छ, कहिले खानेपानी, कहिले टेलिकम, कहिले विद्युत्, कहिले कसैले, यसरी पटक–पटक किन बनाउनु ?”, भण्डारी भन्नुहुन्छ, “स्थानीय सरकारले एक खालको मापदण्ड बनाएर सबै संरचना एकैसाथ बनाएको भए विकास दिगो हुन्थ्यो । नागरिकलाई पनि कम सास्ती हुन्थ्यो ।” उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका संयोजक एकिन्द्र तिमिल्सिनाले टीकापुरमा भएको विकासजति यहाँकै स्रोतबाट बनेकाले सन्तोषजनक रहेको बताउनुभयो । उहाँले यहाँ तीन थरिका मानिस रहेका उल्लेख गर्दै गर्न चाहनेलाई सहयोग नभएको बताउनुभयो । “यहाँ बनेका क्याम्पस, विद्यालय, अस्पतालजस्ता संरचना यहाँकै जमिन बेचेर बनेका हुन् । अन्य सहयोग र लगानी भित्रिएको छैन, त्यो हिसाबले सन्तोषजनक छ”, उहाँ भन्नुहुन्छ, “यहाँ गर्न चाहनेसँग आर्थिक श्रोत छैन, भएकाहरूलाई पुगेकाले गर्ने इच्छाशक्ति छैन, यसले समस्या भइरहेको छ ।” महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शोभा शर्मा ज्ञवालीले आफूहरूले सहकारीमार्फत शुद्ध तोरीको तेल पेल्ने मेसिनसमेत सञ्चालनमा ल्याएको बताउनुभयो । “हामीले आफ्नै लगानीबाट उद्योग स्थापना गरेका छौँ, यसरी काम गरिरहेका हामीलाई सरकारले अनुदान, सहयोगजस्ता कार्यमा सघाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “लगानी गरिए हामी रोजगारीको वातावरण सिर्जना गर्न तयार छौँ ।”
तनहुँ । चिसो मौसम सुरु भएसँगै कुहिरोले दमौली बजारलाई छोप्छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमश्रृङ्खला । चिसो मौसम सुरु भएसँगै आन्तरिक पर्यटक कुहिरो र सूर्योदय हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुग्ने क्रम बढेको छ । पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको मानुङकोटमा विस्तारै पर्यटकको चहलपहल बढ्न थालेको छ । मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम श्रृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । “जाडो महिनामा कुहिराले ढाकेको दमौली, सूर्योदय र हिमाल हेर्न पर्यटक मानुङकोट उक्लिने क्रम बढेको छ, दैनिक एक सयको हाराहारीमा पर्यटक मानुङकोट पुगिरहेका छन्,” श्रेष्ठले भन्नुभयो । मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । व्यास नगरपालिका–३ शान्तिनगरका सौगातराज खनियाँले बिहान मानुङकोटबाट देखिने दृश्य अत्यन्तै लोभलाग्दो रहेको बताउनुभयो । “डाँडामा बसेर दमौली बजार ढाकेको कुहिरो हेर्दा आनन्द आउँछ, यहाँबाट देखिने दृश्य साँच्चै लोभलाग्दो छ”, उहाँले भन्नुभयो । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर शहर झरेकापनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा विसं २०५२ सालमा मानुङकोट छाड्नुभएकी बसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आउनुभएको छ । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उहाँले बताउनुभयो । मानुङकोट जाने सडक कालोपत्र भएको छ । अलैंचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ ।
काठमाडौं । राष्ट्रिय योजना आयोगले एक पालिका एक सहुलियत खाद्यान्न पसल खोल्न सरकारलाई सिफारिस गरेको छ । नागरिकको खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि आयोगले “आपूर्ति नीति २०६९ को पुनरावलोकन अध्ययन प्रतिवेदन २०७९” मार्फत् यस्तो सिफारिस गरेको हो । एक दशकअघिबाट कार्यान्वयनमा ल्याइएको राष्ट्रिय आपूर्ति नीतिका अधिकांश व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नसकेकाले त्यसलाई पुनरावलोकन गर्नु आवश्यक रहेको प्रतिवेदनमा जनाइएको छ । विद्यमान आपूर्ति नीतिमा खाद्य सुरक्षाका लागि सरकारले कम्तीमा २५ हजार मेट्रिक टन खाद्यान्नको मौज्दात राख्नुपर्ने लक्ष्य भएपनि त्यो पूरा हुन नसकेको तथा सहुलियत पसलको सङ्ख्या बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ । “खाद्य सञ्चितिमा नेपाल सरकारको सार्वजनिक संस्थान र प्रदेश सरकारसँग समन्वय गरी प्रदेशगत रुपमा खाद्य भण्डारण गर्ने र यस कार्यमा प्रदेशलाई बढी जिम्मेवार बनाउनुपर्ने देखिन्छ”, प्रतिवेदनमा भनिएको छ, “ आधारभूत वस्तु तथा सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्दै दुर्गम र पछाडि पारिएको क्षेत्रलाई विशेष प्राथमिकता दिई योजनावद्ध आपूर्तिको व्यवस्था गरिनुपर्छ ।” नेपालको संविधानले हरेक नेपाली नागरिकलाई खाद्यको हक सम्बन्धी व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन सुस्त भएकाले अब खाद्य वस्तुको वितरणमा स्थानीय तहलाई जिम्मेवार बनाइनुपर्ने आयोगको निष्कर्ष छ । सार्वजनिक र निजी क्षेत्रसँगको साझेदारीमा एक पालिकामा कम्तिमा एउटा सहुलियत पसल खोली आवश्यक खाद्यान्न वस्तु प्रति परिवार तोकेको सहुलियत मूल्यमा बिक्री गर्ने प्रबन्ध मिलाउनुपर्ने उसको सुझाव छ । यस्ता सहुलियत पसलमा चामल, पिठो, दाल, नुन, तेल जस्ता पदार्थ अनिवार्य रुपमा राख्नुपर्नेछ । त्यस्तै, खाद्य सुरक्षाका लागि स्थानीय वस्तुको उत्पादन र सञ्चय बढाउनुपर्ने तथा स्थानीयस्तरमा नै खरिद गरी वितरण गर्ने व्यवस्था गनुपर्ने प्रतिवेदनमा उल्लेख छ । स्थानीय उत्पादनबाट अपुग भएमा मात्र आयात गर्ने नीति सरकारले लिनुपर्ने पनि आयोगको सुझाव छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको संयन्त्रले मात्रै बजार अनुगमन प्रभावकारी हुन नसकेको विषय पनि प्रतिवेदनमा औल्याइएको छ । “उपभोक्ता हित संरक्षण ऐनले बजार अनुगमनमा प्रदेश र स्थानीय तहलाई समेत संलग्न गराउन खोजे पनि समुचित कार्य हुन नसकेको तथा तहगत जिम्मेवारी स्पष्ट नभएको अवस्था छ”, प्रतिवेदनमा भनिएको छ, “सार्वजनिक वितरण प्रणालीलाई बढी जोड दिने तथा खाद्य अधिकार र खाद्य सुरक्षालाई ध्यानमा राख्दै सार्वजनिक वितरण, खाद्य सुरक्षा तथा पोषण समेटी नयाँ नीति तय गर्नुपर्ने आवस्यकता छ ।” वस्तु तथा सेवाको मूल्य निर्धारण गर्न उपयुक्त बजार हस्तक्षेपको संयन्त्र परिचालन गर्दै मूल्य स्थिरता कायम गर्न सकिने सुझाव आयोगको छ । त्यसैगरी, आधारभूत वस्तु तथा सेवाको सूचीमा समयानुकुल परिवर्तन गर्ने र न्यूनतम परिमाणको वार्षिक खाद्य सञ्चिति परिमाण तोकी त्यस्ता वस्तुको समर्थन मूल्यमा खरिद गर्न एक खाद्य आपूर्ति कोष स्थापना गर्न पनि सरकारलाई सुझाव दिइएको छ । यस्तो कोष स्थापना गर्न सङ्घ सरकारले प्रदेश सरकारलाई ऋण दिने गरी रकम विनियोजन गर्न सक्नेछ । आधारभूत वस्तु तथा सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्दै दुर्गम र पछाडि पारिएको क्षेत्रलाई विशेष प्राथमिकता दिन पनि सुझाव दिइएको छ । त्यसका लागि दुर्गम तथा पिछडिएको क्षेत्रका लागि आवस्यक वस्तु सहुलियत दरमा उपलब्ध गराउन सरकारले ढुवानी अनुदानसमेत उपलब्ध गराउनुपर्नेछ । अध्ययन प्रतिवेदनअनुसार राष्ट्रिय खाद्य कार्ययोजनाका आधारमा आवश्यक वस्तु तथा सोको परिमाण पालिकागत आधारमा तय गरिनेछ । सोही आधारमा रणनीतिक सञ्चय क्षेत्र तोकी आवश्यक वस्तुको सञ्चय र वितरण गर्ने व्यवस्था मिलाउनसमेत सुझाव दिइएको छ ।
काठमाडौं । जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । जिल्लाको फिदिम नगरपालिका–११ फलाँटेस्थित पाथीभरा आधारभूत विद्यालयको तीनकोठे कच्ची भवन भत्कन थालेपछि गत वर्ष भत्काइयो । आव २०७८÷७९ को बजेटमार्फत फिदिम नगरपालिकाले नयाँ भवन निर्माणका लागि रकमको प्रबन्ध गरेपछि नयाँ भवन निर्माण सुरु भयो । भवन मर्मतमा बजेट छुट्टिए पनि प्राविधिक लागत अनुमान परिवर्तन गरी दुई कोठे भवन निर्माण थालियो । गत आवको बजेटबाट दुई कोठे भवन निर्माणका लागि जग निर्माण र छत ढलानको कार्य पनि सम्पन्न भयो । तर भवनमा पर्खाल लगाउने, झ्यालढोका राख्ने, रङरोगन गर्न बजेट पर्याप्त थिएन । “विद्यालयको कोषमा रहेको रु ६० हजार रकमसमेत निकासा गरी हालसम्मको निर्माण कार्य गरियो”, विद्यालयका प्रधानाध्यापक चित्रकला घिमिरेले भन्नुभयो, “तर यस वर्ष बजेट नछुट्टिँदा हामी समस्यामा परेका छौँ ।” प्राविधिक लागत अनुमानअनुसार जग निर्माण र छत ढलानको कार्य उक्त बजेटले सम्पन्न हुनुपर्ने थियो । तर विद्यालयसम्म मोटर बाटो आई नपुगेकाले निर्माण सामग्री मानिसले बोकेर ढुवानी गर्नुपर्ने भएपछि लागत बढ्यो । “रड, सिमेन्ट र बालुवाको करिब रु तीन लाख ऋण छ”, प्रअ घिमिरेले भन्नुभयो, “एकातिर भवन निर्माण अलपत्र छ, अर्कातिर ऋण लागेको छ ।” यस विषयमा फिदिम नगरपालिकामा निवेदन दिइनुका साथै जनप्रतिनिधिलाई पटकपटक आग्रह गरेको र प्रधानाध्यापकको बैठकमा आफूले कुरा राख्दै आएको भए पनि बजेटको प्रबन्ध नहुँदा समस्या भएको घिमिरेले बताउनुभयो । नगरपालिकाबाट सुरुआत भएको योजना भएकाले नगरबाटै सम्पन्न हुनुपर्ने आफूहरुले बुझे पनि भवन निर्माणलाई पूर्णता दिन बजेट नछुट्टिँदा समस्या भएको फिदिम–११ का वडाध्यक्ष राजेन्द्रकुमार थापाले वताउनुभयो । “नगरप्रमुख, उपप्रमुखलाई यहाँ आएर समस्या हेरिदिनुस् भनेर आग्रह गरे पनि उहाँहरु आउनुभएको छैन”, थापाले भन्नुभयो, “वडासँग भवन निर्माण पूरा गर्ने बजेट छैन् ।” भवन निर्माणको योजना अलपत्र हुँदा विद्यार्थीको पठनपाठनमा असर परेको उहाँको भनाइ छ । कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा अहिले ३५ जना विद्यार्थी छन् । एक बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र दुई शिक्षक रहेको विद्यालयसँग अहिले तीन कोठे भवन छ । उक्त भवनमा कार्यालयसहित पाँच वटा कक्षा सञ्चालन गर्नुपर्दा शिक्षण सिकाइ प्रभावित भएको प्रधानाध्यापक घिमिरेले बताउनुभयो । विद्यालयले एउटा कोठामा कार्यालय, पूर्वप्राथमिक कक्षा र कक्षा १, दोस्रो कोठामा कक्षा २ र ३ तथा तेस्रो कोठामा कक्षा ४ र ५ सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । “एकातिर पर्याप्त शिक्षक छैनौँ, अर्कातिर भौतिक संरचनाको अभाव छ”, प्रअ घिमिरेले भन्नुभयो, “नयाँ भवन पूरा गर्न पाए केही सहज हुने थियो ।”

