काठमाडौँ: विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पदयात्रा गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले विभिन्न सङ्घ संस्थाको सहकार्यमा आज सञ्चयकोष–ज्याठा–जेपी मोड–चाक्सिबारी–सातघुम्ती–पिपलबोट– अस्कल क्याम्पस हुँदै सञ्चयकोष भवनसम्म पदयात्रा गरेको हो । कार्यक्रममा परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाबाट थला परेको पर्यटन क्षेत्रलाई पुनउत्थान गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “नेपालमा आउने अधिकांश पर्यटक ठमेल घुम्न आउँछन्, पर्यटकलाई नेपालको बारेमा सकारात्मक सन्देश दिन आज दिनभरि विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउँछौँ”, उहाँले भन्नुभयो । ठमेल क्षेत्रमा एक सिजनमा सातदेखि १० हजार पर्यटक आउने उहाँको भनाइ छ । ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसर पारेर आज दिनभर चोकचोकमा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै आज साँझ सुकुल भोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ पर्यटन व्यवसायी केशव पाण्डेले पर्यटन क्षेत्रको विकास भएमात्र देशको विकास हुने बताउनुभयो ।
ढोरपाटन । अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढामगर र तीर्थबहादुर बुढामगर । दुवै जना काका भजित हुन् । चौध दिन अगाडि तिलाचन क्षेत्रबाट चार सय भेडा लिएर आएका उनीहरू मङ्गलबार दिउँसो बागलुङ बजार आइपुगेका छन् । दशैँका लागि खर्च जुटाउन भेडा बेच्न हिँडेका उनीहरू बागलुङको निसीखोला हुँदै मध्यपहाडी लोकमार्गमार्फत बागलुङ बजार आइपुगेका हुन् । बागलुङ बजारसम्म आइपुग्दा उनीहरूसँग ६० भेडा बाँकी थिए । साठी भेडा १५ गतेभित्र बेची सकेर गाउँ फर्कने विचारमा छन् दुवै जना । करिब डेढ सय किलोमिटर पश्चिमबाट हिँड्दै आएका उनीहरू दशैँका लागि सामान किनमेल गरेर जाने सुरमा छन् । नन्दबहादुर भन्नुहुन्छ, “आज १४ दिन भएछ भेडीगोठबाट हिँडेको, धेरैजसो भेडा विक्री भइसके । अब केही मात्र बाँकी छन्, यी सबै बेचेर दशैँका लागि खर्चपर्च लिएर जाने हो, अब तीन–चार दिनमा सबै बेचीसक्नुपर्छ ।” नन्दबहादुरले एक हजार दुई सय भेडापालन गरेकामा अब गोठमा आठ सय भेडा बाँकी रहेको बताउनुभयो । ती भेडालाई गोठालो खोजेर हेरचार गर्न छाडेर आफूहरू बजार झरेको उहाँको भनाइ छ । उहाँले अर्को सालसम्म गोठमा भएका सबै बेचेर नयाँ पाठापाठी हुर्की सक्ने बताउनुहुन्छ । “मैले एक हजार दुई सय भेडा पालेको थिएँ, चार सय बेच्न लिएर आएको अब गोठमा अझै आठ सय छन्, गाउँको एक जनालाई गोठालो लगाएर हामी यता आएको हो, अर्को सालसम्म त गोठमा भएका पनि सकिएर नयाँ पाठा हुर्की सक्छन्, भेडापालन गर्न निकै दुःख छ, बजारतिर आउँदा कमाइ पनि राम्रै हुन्छ”, नन्दबहादुरले भन्नुभयो । नन्दबहादुरले सडक राम्रो भएको हुँदा भेडालाई सहजरूपमा बागलुङ बजारसम्म ल्याउन सकेको बताउनुभयो । यसपालि बाटोमा भेडा खासै बिरामी नभएको उहाँको भनाइ छ । बाटोमा पानी पर्दा आफूहरूले केही समस्या भने भोग्नुपरेको उहाँले सुनाउनुभयो । “यस वर्ष त बाटोमा भेडा बिरामी पनि भएनन्, मरेनन् पनि, अघिल्लोपटक आउँदा तीन भेडा गर्मीले बाटामै मरेका थिए, केही बिरामी भए, अहिले बाटो राम्रो बनेको रहेछ, अलिकति पानीले समस्या बनायो । सजिलैसँग आइयो बागलुङ बजार”, उहाँले भन्नुभयो । नन्दबहादुरका भतिज तीर्थबहादुरले यस वर्ष भेडाको मूल्य बढेको बताउनुभयो । आफूहरूले ल्याएको बथानमा न्यूनतम रु २० हजारदेखि अधिकतम रु ३५ हजारसम्मका भेडा रहेको उहाँको भनाइ छ । तीर्थबहादुरले हालसम्म तीन सय ४० भेडा बेच्दा सोचेअनुसारको आम्दानी गर्न सकेको बताउनुभयो । आफूहरूले ल्याएका भेडा उच्च लेकमा हुर्किएको हुँदा निरोगी रहेको तीर्थबहादुरको भनाइ छ । “अघिल्लो वर्षभन्दा यस वर्ष भेडाको मूल्य केही बढेको छ, हाम्रा भेडा निरोगी छन्, मासु खानका लागि निकै उपयुक्त छन्, अरु सामानको मूल्य बढेको हुँदा भेडाका मूल्य बढेको हो, हामीले यही भेडा बेचेर जीविका चलाउने हो”, तीर्थबहादुरले भन्नुभयो, “ग्राहकले खासै गुनासो गरेका छैनन्, व्यापार राम्रै भइराखेको छ ।” तीर्थबहादुरले लेकबाट यहाँसम्म आउँदा निकै दुःख पाएको सुनाउँदै आफूहरूले ग्राहकलाई खुसी पारेको बताउनुभयो । दशैँको खर्च व्यवस्थापनका लागि आफूहरू भेडा बेच्न यति टाढा आएको उहाँको भनाइ छ । तीर्थबहादुर भेडा बेचिसकेर दशैँ मनाउन गाउँ जाने बताउनुहुन्छ । “भेडा त अरु बेला पनि बेच्न बजारतिर झर्ने गर्छौँ, यो बेला चाडपर्व पनि आयो, यसो परिवारलाई मीठो–मसिनो खुवाउनुप¥यो, एक सरो राम्रो कपडा किनिदिनुप¥यो”, उहाँले भन्नुभयो, “अरु खानेकुरा त अहिले गाउँतिरै पनि पसल खुलेका छन्, उतै किन्नुपर्ला, कपडा यही अलि सस्तोमा पाइएला यतैबाट लगेर जानु पर्ला ।” बागलुङमा हरके वर्ष मुस्ताङ र म्याग्दीबाट च्याङ्ग्रा ल्याउने गरिएको छ । मुस्ताङबाट ल्याइने च्याङ्ग्राको तुलनामा बागलुङ, रोल्पा र रुकुम सिमानादेखि ल्याएका भेडाको मूल्य केही कम भएको पाइएको छ । बागलुङ बजारका ग्राहक कुलबहादुर थापाले मुस्ताङदेखि ल्याइएका च्याङ्ग्राको तुलनामा रोल्पाबाट ल्याइएका भेडाको मूल्य कम भएको बताउनुभयो । उहाँले भेडा व्यापारीले मनपरी मूल्य तोक्दा आम उपभोक्ता मर्कामा पर्ने गरेको गुनासो गर्नुभयो । थापाले बजारमा आउने भेडा च्याङ्ग्राको मूल्यका बारेमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने भए पनि यसप्रति खासै चासो नदेखाएको गुनासो गर्नुभयो । “मुस्ताङबाट ल्याइएका च्याङ्ग्राभन्दा रोल्पातिरबाट ल्याइएको भेडाको मूल्य धेरै कम भएको पाइयो, रोल्पातिरबाट भेडापालक आफैँले बेच्न आएका छन्, मुस्ताङका च्याङ्ग्रा कहाँ–कहाँबाट व्यापारी पुगेर खरिद गरेर ल्याएका छन्, उनीहरूले मनपरी मूल्य तोक्ने गरेका छन्”, उहाँले भन्नुभयो ।
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्षनेताको बैठक सुरु भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्षनेताको सहभागिता छ । यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीको आन्तरिक छलफलका लागि कांग्रेसका पदाधिकारीको छुट्टै बैठक बसिरहेको सो पार्टीले जनाएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि बन्दसूची सच्याउने अन्तिम म्याद र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने समय नजिकिँदै गर्दा दलहरू छलफलमा जुटेका हुन् ।
काठमाडौं : बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ । चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताउनुभयो । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त एवं करुणामयी छ । गीत–सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने उहाँले सुनाउनुभयो । नवरात्रको पहिलो दिन सोमबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवी भागवतलगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् । घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा भनिन्छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ । बडादशैँ बाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेषरूपमा आराधना गर्न मन्दिरमा भक्तजनको भीड लाग्छ ।
ढोरपाटन । सुनसान गाउँ, जीर्ण घरहरु, बनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन । एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठलाग्दो बनेको छ । बागलुङको गलकोट नगरपालिका–७ टोकरीगाउँमा युवा भेट्याउनै मुस्किल पर्छ । कोही बिरामी पर्यो भने अस्पतालसम्म पुर्याउने मान्छेसमेत यस गाउँमा छैनन् । भौतिक सेवा सुविधाका लागि गाउँले बजार झर्न थालेपछि गाउँनै रित्तो बन्दै गएको हो । यस गाउँका अधिकांश युवा विदेशिएका छन् । विदेश नगएका परिवार लिएर बजार झरे । यहाँका धेरै युवा जापानमा छन् । केही युरोपतिर । युवा विदेशिएपछि गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै छन् । स्थानीय रीता थापा भन्नुहुन्छ, “गाउँमा कोही बिरामी पर्यो भने तत्काल अस्पताल पुर्याउने मान्छे पनि पाइँदैनन्, गाउँका खेतबारी सबै बाँझो बनेका छन्, बूढाबूढी र केटाकेटी मात्रै छन् अहिले गाउँमा, केटाकेटी पनि बजारतिरै झर्न थालेका छन् ।” विदेश पलायन र बसाइँसराइका कारण गाउँ रित्तिदै गएको भन्दै कसैको जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने गरेको थापाले बताउनुभयो । दिनदिनै गाउँमा मान्छे घट्दै गएको भन्दै रित्तिएका घर जीर्ण अवस्थामा पुगेको उहाँको भनाइ छ । “बूढापाकाले जिउँदाको जन्ती, मर्दाको मलामी जानुपर्छ भन्ने गर्थे, अहिले गाउँमा कसैको विवाह भयो भने कसैको मृत्यु भयो भने जन्ती र मलामी पनि पाइँदैनन्”, थापाले भन्नुभयो, “सबैलाई सुविधा चाहिन्छ, गाउँमा भन्दा सहरमै राम्रो सुविधा भएर होला मान्छेहरु गाउँ छोड्दै जाँदै गरे, यहाँ भएका घर पूरै भत्किन थालिसकेका छन् ।” थापाले छिमेकी बसाइँसराइ गरेर बजार झरेपछि मेलापात, खेतीपातीसमेत खेतालाको अभाव हुने गरेको बताउनुभयो । उहाँ एक्लै धेरै खेतबारीमा काम गर्न नसक्दा खेतीयोग्य जमिन कालोपातीले भरिएको बताउनुहुन्छ । “पहिले गाउँमा धेरै मान्छे हुँदा काम गर्न सजलो हुन्थ्यो, अर्मपर्म गरेर काम गरिन्थ्यो, अहिले एक जना खेताला पनि पाइँदैन, एक्लैले धेरै बारीमा काम गर्न सकिँदैन, त्यही भएर बारीमा कालोपाती उम्रिएको छ”, थापाले भन्नुभयो । विदेशमा राम्रो कमाइ हुनेले बजारतिर बसाइँसराइ गरेपछि गाउँ सुनसान बनेको स्थानीय विष्णु थापा बताउनुहुन्छ । “१० वर्ष अगाडिसम्म त गाउँ निकै रमाइलो थियो, विदेश गए पनि साउदी, कतार जाने गाउँमै जग्गा जमिन किन्ने चलन थियो”, थापाले भन्नुभयो, “अहिले त जापानबाहेक अरु ठाउँमा यहाँका मान्छे छैनन्, उनीहरु सबैले गाउँ छोडेर गए, बजारमा जग्गा जमिन जोडेपछि परिवारनै उतै लगे, गाउँ सुनसना भयो ।” उहाँले सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सक्ने र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइ रोकिने बताउनुभयो । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो सुविधा नहुँदा गाउँ छाड्ने बढेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “युवा शक्ति सबै विदेशतिर हिँडे, गाउँमा रोजगारको अवसर छैन, विदेश गएपछि गाउँ बिर्सिन थाले, गाउँमा भएका पनि सुविधा खोज्दै बजार झरे, गाउँमा त उही हुँदा खानेहरु मात्रै छन् ।” बसाइँसराइका कारण यहाँ विद्यार्थीसमेत घटेको देउराली प्राथमिक विद्यालयका प्रधानाध्यापक केयरसिंह थापाले बताउनुभयो । कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा जम्मा १६ जना विद्यार्थी रहेको उहाँको भनाइ छ । प्रअ थापाका अनुसार कक्षा पाँचसम्म पढाइ हुने भए पनि कक्षा ३ र ४ मा विद्यार्थी छैनन् । विद्यालय दुई जना शिक्षकको भरमा चलेको उहाँको भनाइ छ । “बसाइँसराइले गर्दा विद्यार्थी घट्दै गएका छन्, स्थानीय सबै जापानतिर छन्, अहिले त बालबालिका पनि उतै लग्न थाले, यहाँ भएका पनि बोर्डिङतिर झारेका छन्, गाउँमा मान्छेनै कम छन्, विद्यार्थी धेरै हुने त झन कुरै भएन”, प्रअ थापाले भन्नुभयो, “कक्षा ५ सम्म पढाइ हुने भए पनि दुई वटा कक्षामा विद्यार्थीनै छैनन्, १६ विद्यार्थीलाई दुई शिक्षकले पढाउँछौँ, तीन वटा दरबन्दी थियो, विद्यार्थी घट्दै गएपछि गत वर्ष एउटा दरबन्दी घट्यो ।” उहाँले धेरै नागरिकले सेवा सुविधाको पछि लाग्दा आफ्नो जन्मभूमि छोड्दै गएको बताउनुभयो । बसाइँसराइले सिङ्गो गाउँनै रित्तो बन्न थालेको उहाँको भनाइ छ । पाँच वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घर परिवार रहेका थिए । अहिले १५ परिवार मात्रै बस्ने गरेका छन् । “मान्छेले सेवा सुविधा खोज्दै गए, गाउँ रित्तियो, यहाँ पनि पनि सहर बजारको जति सेवा सुविधा हुन्थ्यो भने बसाइँसराइ रोक्न सकिन्थ्यो, अहिले यहाँ भएका पनि विस्तारै बजार झर्ने तयारीमा छन्”, थापाले भन्नुभयो । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बसाइँसराइ रोक्न नगरपालिकाले ग्रामीण क्षेत्रमा सहजरुपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्न थालेको बताउनुभयो । उहाँले पहिलेदेखिनै ग्रामीण क्षेत्रमा विकास हुन नसकेको भन्दै नगरपालिकाले गाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई जोड दिएको बताउनुभयो । “गलकोटमा बसाइँसराइ गर्नेको सङ्ख्या व्यापक छ, यसलाई रोक्न हामीले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणलाई जोड दिएका छौँ, शिक्षा, स्वास्थ्य, यातायात र पर्यटनलाई बाढी ‘फोकस’ गरेका छौँ”, प्रमुख गैरेले भन्नुभयो, “ढिला चाँडो बसाइँसराइ रोकिने छ, ग्रामीण क्षेत्रका नागरिकसँग बसेर छलफल गरेका छौँ, त्यहाँ चाहिने आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने योजनामा हामी छौँ ।” उहाँले सबै ग्रामीण क्षेत्रमा सडक सञ्जालले जोडिसकेको भन्दै अब ग्रामीण पर्यटनलाई जोड दिन थालेको बताउनभयो । ग्रामीण क्षेत्रममा पर्यटन पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्नेसँगै बसाइँसराइ रोक्ने उहाँको भनाइ छ ।
सल्यान : सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका(३ मुलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले दुर्घटनामा ८ जना मृत्यु भएको बताए । मृतक सल्यानको कपुरकोटकै विभिन्न वडाका हुन् । उनीहरू सबैको सनाखत भने भइसकेको छैन । दुर्घटनामा सख्त घाइते भएका एक जनालाई उद्धार पछि उपचारका लागि दाङ तुलसीपुर लैजाने तयारी गरिएको छ । जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । प्रहरीका अनुसार उक्त जीपमा ९ जना सवार रहेका थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता नाललले बताए ।
काठमाडौं : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आज (असोज १२ गते बुधबार)देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ । आचारसंहितामा दलहरु, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरुले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ ।
तनहुँ । “अँधियामा गरेको धानखेतमा एक्कासी रोग लाग्यो, दुःख गरेर लगाएको धानबालीमा रोग लागेपछि धान उत्पादन नहुने भयो”, तनहुँको म्याग्दे गाउँपालिका–७ निवासी कोपिला नेपालीले भन्नुभयो, “वर्षभरि खाने अन्न उत्पादन नहुँदा अब के गर्ने भन्ने समस्या थपिएको छ ।” छ रोपनीमा लगाएको धान अधिकांश रोग लागेर मरेको छ । औषधि प्रयोग गर्दा पनि रोग नियन्त्रण नभएको उहाँको गुनासो छ । “गाउँपालिका, कृषि ज्ञान केन्द्रमा पनि समस्याका बारेमा जानकारी गरायौँ, रोगको पहिचान हुन सकेन”, उहाँले भन्नुभयो, “प्राविधिकले दिएको औषधि प्रयोग गर्दा पनि रोग नियन्त्रण भएन ।” सोही ठाउँ निवासी कृषक गङ्गा वाग्लेको चार रोपनी खेतमा लगाएको धानबालीमा पनि रोगको समस्या फैलिएको छ । “वर्षभरि खाने धान हो, दुःख गरेर लगायौँ, यो वर्ष त मल अभाव पनि ज्यादा भयो”, उहाँले गुनासो गर्नुभयो, “रोगको समस्याले धान उत्पादन नै घट्ने भयो, राज्यले कृषकको समस्या बुझिदिनुपर्छ ।” वर्षभरि खाने अन्न नष्ट हुने भएपछि सरकारले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने कृषक पुरुषोत्तम भण्डारीले बताउनुभयो । “वर्षभरि खाने अन्न हो, सबै नष्ट भयो, सरकारले कृषकलाई क्षतिपूर्ति दिनुपर्छ”, उहाँले भन्नुभयो । तनहुँको म्याग्दे गाउँपालिका–७ मा पसाउने बेला धानमा रोग लागेपछि किसान चिन्तित भएका छन् । धान पसाउने समयमा रोग लागेर धान मर्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् । रोग लागेको धानलाई यसै छाडे अर्को वर्ष पनि यस्तै हुने हो कि भन्ने डरले समस्या फैलिएको ठाउँमा आगो लगाउने सोच बनाएको कृषकले बताएका छन् । यहाँका करिब ५० कृषकले तीन सय रोपनी क्षेत्रमा लगाएको धानबालीमध्ये एक सय ७० रोपनीमा रोगको प्रकोप फैलिएको छ । म्याग्दे गाउँपालिकाका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले धानमा ‘मेली बग’ को समस्या देखिएको जानकारी दिनुभयो । “झट्ट हेर्दा जिङ्कको कमीले हुने राते रोगको प्रकोपजस्तो देखिने भएता पनि सुरुमा जिङ्क हाल्दा पनि सुधार भएन”, उहाँले भन्नुभयो, “हामीले धानखेतको अवलोकनपश्चात नेपाल कृषि अनुसन्धान परिषद्को सल्लाहबमोजिम औषधि उपलब्ध गराएका थियौँ ।” औषधि प्रयोगपश्चात केही ठाउँमा सुधार आए पनि कुनैमा भने सुधार नभएको उहाँले बताउनुभयो । “सुधार भएको ठाउँमा थप विषादी छर्किने र पूर्ण क्षति भएको धानखेतको क्षतिपूर्ति दिने गाउँपालिकाले निर्णय गरेको छ”, उहाँले भन्नुभयो । यो रोगको समस्या तनहुँका अलवा चितवन र मोरङमा पनि देखिएको प्राविधिकले जनाएका छन् ।
पोखरा : कास्कीकोट दरवारमा रहेको गुप्तकालीका मन्दिरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । तान्त्रीक र वैदीक तरिकाले पुजाहुने गुप्तकालीका मन्दिरमा घस्थापना देखी दशमीसम्म पाणा पुजारीहरु मन्दिरमानैबसेर गुप्तकालीकाको पुजा गर्ने प्रचलन रहेको छ । वडा दशैमा नेपालमा नै लोप उन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनुभयो । कास्कीकोटमा दशैको वेलामा बजाइने नगरा , सत्रौ शताव्दीका ढाल तरवारहरु लगायत धोपहरुको समेत प्रर्दशन गरीने भएको छ । “संस्कृतीको संरक्षण सगै धार्मीक पर्यटनको प्रवर्दनमा सहयोग गरौ भन्ने नारा सहित दशै उत्सव गर्न लागीएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिले जनाएको छ । कास्की दरवारमा घटस्थापनाको दिन विधीवद तरिकाले मन्दिरमा प्रवेश गरिन्छ । सप्तमीको दिन पोखराको रामघाटवाट ल्याइएको फुल पत्र र कुँवर जातिको सरुङ खेल सगै मन्दिरमा भित्राइने प्रचलन रहेको छ । अष्टमीका दिन राती काल रात्रीको पुजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालीका मन्दिरमा टिका लगाए पछि विधीवत रुपमा फुल वास्पानीमा लगेर विसर्जन गर्ने गरिन्छ । दशै उत्सवमा भक्त-जनहरुको सजिलोको लागी विभिन्न उप-समिती निमार्ण गरिएको छ । गुप्तकालीका मन्दिरमा दशैको दश दिन दैनिक विभिन्न देवीको पुजाहुने गर्दछ । गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पुराहुने जन-विश्वास रहेको छ । यहाँ पुजा गर्न तथा पञ्चवली भाकलहरु गर्नेहरुको दैनीक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापना सगै यहाँ हरेक दशैमा विषेश पुजा हुदै आएको छ । यस ठाउँ वाट नै कास्की जिल्लाको नामाकरण भएको मान्ने गरीन्छ । । लामो सय सम्म कोरोना कहरका कारण मन्दिरमा दर्शनार्थीहरुले दर्शन समेत गर्न पाएका थिएनन् यस पटक पुजालाई व्यवस्थीत वनाउन पोखरा २४ वडा कार्यालयले वडाको पहिचान बोकेको कास्कीकोट दरवारलाई आर्थिक सहयोग सगै प्रर्वद्धनात्मक सहयोग गरेको वडा अध्क्षय भरतबहादुर अधिकारीले बताउनुभयो ।