नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुस्थित हुप्सेकोट –५, राम्चेका श्यामबहादुर राईलाई आफूले लगाएको धानले मुस्किलले चार महिनामात्रै खान पुग्थ्यो । पहाडी क्षेत्रमा धानखेत खासै छैन र हुँदैन पनि । भएको खेतमा लगाएको धानले केही महिनामात्रै गर्जो टथ्र्यो । तर कबुलियती वनमा अम्रिसो खेती गरी आम्दानी हुन थालेपछि, अहिले वर्षभरी चामल कहाँबाट ल्याउने भन्ने पिर उहाँलाई छैन । अम्रिसो खेतीबाट आएको आम्दानीले चामल खरिद गरेर वर्षभरि खान पुग्ने भएको छ । “धान लगाउने खासै ठाउँ छैन, सबै पाखैपाखो छ, लगाएको धानले बढीमा चार महिना चल्थ्यो, त्यसपछि अरु आम्दानी पनि नहुने, के खाने कसरी खाने भन्ने पिर हुन्थ्यो” उहाँले भन्नुभयो, “तर जहिलेदेखि पहाडको पाखामा अम्रिसो खेती सुरु गरियो, अहिले त्यसबाट हुने आम्दानीले साँझ–बिहान के पकाउने भन्ने पिर हुन छाड्यो, अम्रिसोबाट हुने आम्दानीले चामल किनेर राख्यो खायो ।” किसान राई जस्तै बुलिङटार–४ देउरालीका मीनबहादुर आलेको अवस्था पनि उस्तै छ । “घरपरिवारको खर्च कसरी चलाउने भन्ने पिरले सताउँथ्यो, नियमित आम्दानी केही थिएन”, उहाँले भन्नुभयो, “अहिले त कम्तीमा अम्रिसो पाखामा फुलेपछि पैसा आउने बेला भयो भन्ने हुन्छ ।” किसान राईले वार्षिकरूपमा करिब रु ९५ हजार र आलेलेले करिब रु ६० हजार अम्रिसो बेचेर आम्दानी गर्ने गर्नुभएको छ । “पैसा कति भन्ने हुँदो रहेनछ, गर्जो कति टर्यो भन्नेले ठूलो अर्थ राख्ने रहेछ, कम्तीमा वर्षभरि खान पुग्ने चामल किन्ने खर्च, यही पाखोमा फुलेको अम्रिसोले दिएको त छ”, आलेले भन्नुभयो । नवलपुरका पहाडी पाखा यतिबेला अम्रिसोले ढाकिएका छन् । पहाडका बासिन्दाको आम्दानीको बलियो स्रोत अम्रिसो बन्दै गएको छ । केही वर्ष पहिलेसम्म नाङ्गा पाखाका रूपमा रहेको पहाड अहिले आम्दानीको स्रोत बनेका छन् । पहाडी क्षेत्रको जीविकोपार्जनमा अम्रिसो बरदानजस्तै बनेको कबुलियती वन जिल्ला सुपरभाइजर तुलबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरी यहाँ रहेका कबुलियती वनमा अम्रिसो खेती लगाउने गरिएको छ । यसअनुसार राम्चे क्षेत्रमा १९ वन समूह छन् । यी वन समूहमा अम्रिसो खेती गर्ने घरधुरी सङ्ख्या एक सय ९० रहेको छ । रुचाङ क्षेत्रका २५ वन समूहमा दुई सय २८ घरधुरी, बुलिङटार क्षेत्रका २५ समूहमा तीन सय २५ र हुप्सेकोट क्षेत्रका २५ समूहमा तीन सय २५ घरधुरी अम्रिसो खेतीमा आवद्ध रहेका छन् । चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियती वनमा आवद्ध भएर अम्रिसो खेती गर्दै आएका छन् । सामूहिकरूपमा अम्रिसो खेती गर्ने र आएको रकम दामासाहीरूपमा प्रतिघर बाँड्ने गरेको उहाँले बताउनुभयो । अम्रिसोबाट भएको आम्दानीमध्ये केही वन समूहमा राख्ने र समूहमा आवद्ध सदस्यलाई न्यून ब्याज प्रतिशतमा बिनाधितो छ महिनासम्म ऋण लगाउने गरिएको उहाँले बताउनुभयो । बैंक र वित्तीय संस्थाको पहुँच नभएका पहाडी क्षेत्रमा आफूले गरेको आम्दानीबाट बचत भएको रकम खाँचो पर्दा लिन सकिने हुँदा स्थानीयलाई थप राहत पुगेको रानाले बताउनुभयो । “आफ्नो आम्दानी त छँदै छ, वन समूहमा भएको बचतले अप्ठ्यारो परिस्थितिमा खाँचो टार्नसमेत सहयोग पुगेको छ”, सुपरभाइजर रानाले भन्नुभयो, “अहिले वन समूहले कम्तीमा रु ५० हजारदेखि चार लाखसम्म बचत गरेका छन् ।” प्रत्येक वर्ष जेठ अन्तिमदेखि असार १५ सम्म अम्रिसो लगाउने गरिन्छ । मङ्सिरदेखि फागुनसम्म अम्रिसो काट्ने बेला हुने रानाले बताउनुभयो । नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको अम्रिसो व्यापारीले खरिद गरी भारत, बङ्गलादेशसम्म निर्यात गर्ने गरेको उहाँले बताउनुभयो । यसबाहेक स्थानीय बजार कावासोती, दलदले, नारायणगढ, बुटवलमा अम्रिसोको कुचो बिक्री हुने गरेको उहाँले बताउनुभयो । गत वर्ष पहाडी क्षेत्रमा रहेका कबुलियती वनमा लगाइएको अम्रिसोबाट एक सय ५२ दशमलव सात सय १३ मेट्रिक टन अम्रिसोको कुचो उत्पादन भएको थियो । जसबाट गत वर्ष रु एक करोड ९८ लाख ५२ हजार आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिनुभयो । डिभिजन वनले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेशामा जोड्नका लागि पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयले यसै वर्ष ५५ हजार बोट अम्रिसोको बिरुवा पहाडी क्षेत्रमा वितरण गरी रोपेको छ । यसले थप क्षेत्रफल बढ्ने र क्रमशः अम्रिसोबाट हुने आम्दानी बढाउँदै लैजाने उहाँले बताउनुभयो ।
भरतपुर । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ । यमोसा पर्व दुई दिनसम्म मनाइने थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले जानकारी दिनुभयो । सोह्रश्राद्ध सकिने औँसीको दिनमा थारू समुदायले यमोसा मनाउने उहाँले बताउनुभयो । यमोसा पर्वको अघिल्लो दिन पर्वका लागि तयारी गरिन्छ । थारू समुदायका मानिस अघिल्लो दिनलाई मछुवारी भन्छन् । यस दिन व्यक्तिगत वा सामूहिकरूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको अध्यक्ष चौधरीले बताउनुभयो । यमोसामा चाहिने माछा अघिल्लो दिन नै मार्ने चलन छ । दोस्रो दिन अर्थात् यमोसाको दिन बिहानै पुरुष आफूले देखेका दाभी ९सिरु० काटेर ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । कुचोलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी पिर्का वा कुर्सीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ । पहुनीलाई विभिन्न थरिका फूलहरूले सिङ्गारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस दिन बिहानै बालबच्चादेखि बूढाबूढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । त्यसपछि गच्छेअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि त्यस वर्षमा परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिन बोका काटेर रगत चढाउने प्रचलन रहेको छ । छाकी चढाइसकेपछि मात्र खानपिन सुरु हुन्छ । सर्वप्रथम छोरी, ज्वाइँ वा कुनै पाहुना बोलाइ खातिरदारीकासाथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोइ’ भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आफूले खाने गरिन्छ । खानपिनपछि पाहुनाको कपालमा तेल लगाइ काइँयोले कोरिदिने र फूल सिउरीदिने चलन छ । त्यसपछि नाङ्लो वा बेनामा पानी राखी पाहुनालाई छम्केर शीतलता प्रदान गरिन्छ । त्यसलाई ‘पितृपित्राइन बिदाइ’ भनिन्छ । उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाइन्छ । यमोसाको दिन पाहुनालाई पितृगणको रूपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । यस्तै यमोसकै दिन गाउँका सबै जना एकै ठाउँमा भेला भइ पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पाँच– छ वटा पिङ लगाइन्थ्यो । यस्तै युवाहरूले साँझपख गाउँको बाटोमा ‘म्वार्हा’ गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् । बेलुकीपख बालबालिका तथा युवायुवतीहरू समूह–समूहमा मिलेर घर–घरमा ‘यमोसा’ खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउँदै यमोसा खान्छन् । पछिल्लो समय मौलिक थारू लोकगीत, ती म्वार्हा र बरहा, पितरी र पितृपत्रायन, ती पहुनी र छाकी सबै लोप हुन थालेको छ । चितवन र नवलपरासी दुई जिल्लामा थारूको जनसङ्ख्या करिब दुई लाख हाराहारीमा छ । यसै पर्वको अवसरमा पूर्वीचितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ । तराई क्षेत्रमा थारूहरुको बसोबास छ । यमोसा चितवन र नवलपुरका थारूहरुले मात्रै मनाउँछन् । चितवनमा पूर्वी क्षेत्रमा यमोसाको ठूलो रौनक छ । “यही पर्व मनाउन भनेर विदेश गएका व्यक्ति पनि घर फर्कन्छन्”, थारू अगुवा कारी महतोले भन्नुभयो । थारू समुदायको मुख्य पर्वभित्र परे पनि अचेल यो पर्व ओझेल पर्न थालेको उहाँले बताउनुभयो । चितवन र नवलपुरका मूल आदिवासी थारू समुदायले सांस्कृतिक र धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृऔँसी लोप हुने अवस्थामा पुगेकाले यो पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका अभियानसमेत थालिएको छ ।
काठमाडौं । नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो । सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आवद्ध होटलहरुको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी दिँदै सबै होटलले अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । यस्तै वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटललाई दर्ता गर्न लगाई मर्यादित ढङ्गले सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । कानुनले नदिएका अनैतिक क्रियाकलापलाई रोक्नका लागि होटलमा आउने पाहुनाको अनिवार्यरूपमा रेकर्ड राख्नुपर्ने भएको छ । होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विसं २०५७ मा स्थापना भएको सङ्घमा हाल नयाँ बसपार्क, सुन्धारा, बाँसवारीलगायतका क्षेत्रका चार सयभन्दा बढी होटल व्यवसायी आवद्ध छन् ।
सुर्खेत । कैलाली अत्तरियाका युवराज आचार्य तीनवर्षे ‘भेटेरेनरी जेटिए’ पढिरहनुभएको छ । माध्यामिक शिक्षा परीक्षा (एसइई) पास गरेर रोजगारीका लागि भारतको हिमाञ्चल हानिएका उहाँ अहिले सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहनुभएको छ । पढाइ सँगैसँगै उहाँले सोही विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयले दिएको ऋणले १२ बङ्गुर र एक सय ५० बट्टाइपालन गरिरहनुभएको छ । आचार्यसहित छ विद्यार्थीले बङ्गुर र बट्टाइबाटै विद्यालयको शुल्क र ऋण तिरिरहनुभएको छ । “स्कुलको ऋण तिरेर पनि फाइदा हुन्छ”, उहाँ भन्नुहुन्छ, “पढाइ खर्चबाट बचेको पैसा घरमा पठाउँछु ।” उहाँका अनुसार विद्यार्थीले लिएको ऋणको ब्याज तिर्नुपर्दैन । विद्यालय छाड्ने बेलासम्म साँवा रकममात्रै तिरे पुग्ने उहाँले बताउनुभयो । सोही विद्यालयमा तीनवर्षे भेटेरेनरी जेटिए अध्ययन गरिरहनुभएका सुर्खेतकै दीपक शाही विद्यालयको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत बट्टाइको चल्ला ह्याचरी सञ्चालन गर्नुहुन्छ । यसबाट उहाँले आफ्नो पढाइ खर्चसँगै घरपरिवारलाई खर्च पठाउने गर्नुभएको छ । अहिले उहाँलाई विभिन्न ठाउँबाट चार हजार दुई सय चल्लाको माग आएको छ । दीपक जनज्योतिमा पढेर उद्यम गरेकै कारण विद्यालयको सिफारिसमा उहाँका आमाबुवालाई कृषि गर्नका लागि बैंकले सहुलियतमा रु १० लाख ऋण दियो । सैद्धान्तिकसँगै प्रयोगात्मक गर्दा बुझ्न सहजता हुनुका साथ पढाइ प्रभावकारी भएको आचार्य र शाहीको अनुभव छ । विद्यालयले तीन वर्षदेखि ‘पढ्दै–कमाउँदै’ कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको छ । विद्यालयमा अध्ययन गरिरहेका सबैले ऋण लिएर कृषि व्यवसाय गर्न सक्छन् । ‘पढ्दै–कमाउँदै’ गर्न चाहने विद्यार्थीका लागि ऋण दिनुका साथै आवश्यक संरचना पनि उपलब्ध गराउने गरेको जनज्योति माविका प्रधानाध्यापक नारायण सिग्देलले जानकारी दिनुभयो । “विद्यार्थीले काम गर्ने जाँगर मात्रै देखाउनुपर्यो”, उहाँले भन्नुभयो, “उनीहरूलाई समूह वा व्यक्तिगतरूपमा सानोतिनो व्यवसायका लागि ऋण दिइरहेका छौँ ।” विद्यालयमा प्राविधिक विषयसमेत पढाइ हुन्छ । भेटेरेनरी र कृषितर्फ १८ महिने र तीनवर्षे कक्षा सञ्चालन भइरहेको छ । विद्यालयबाट ऋण लिएर सामूहिक व्यवसाय गर्न चाहने विद्यार्थीले पहिले समूह गठन गर्छन् । त्यसमा कुन व्यवसाय रोजेर कक्षा शिक्षकलाई प्रस्तावना दिन्छन्, त्यसअनुसार शिक्षकले ऋण दिन विद्यालयलाई सिफारिस गर्छन् । विद्यार्थीलाई पाँच हजारदेखि रु एक लाख २० हजारसम्म ऋण दिइरहेको प्रअ सिग्देलले जानकारी दिनुभयो । “विद्यार्थीलाई सर्च–रिसर्च र खर्चको विधि अपनाएर व्यवसायमा संलग्न गराएका छौँ”, उहाँले भन्नुभयो, “यसबाट विद्यार्थीले कतिसम्मको व्यवसाय गर्न सक्छु भनेर पहिचान गर्दछन् ।” धेरै लगानी गरेर व्यवसाय गर्नुपरे बैंकिङ प्रक्रियाबाट भए पनि ऋण उपलब्ध गराउँछौँ ।” प्राविधिक शिक्षा पढ्ने विद्यार्थीले पहिले रु पाँच हजार धरौटी राख्छन् । त्यही कोषमा जम्मा भएको रकमबाट विद्यालयले ऋण दिन्छ । कर्णाली प्रदेश सरकारले रु ५० लाख उपलब्ध गराएको छ । उक्त रकमबाट रु ३५ लाखको लागतमा विद्यालयले तीन हजार कुखुरा, ५० बङ्गुर र २० माउ बाख्रा अट्ने खोर बनाएको छ । प्रअ सिग्देलका अनुसार रु ३० लाखमा अर्को कोष बनाएर विद्यार्थीलाई आवश्यकतानुसार ऋण दिँदै आएको छ । प्राविधिक शिक्षाअन्तर्गत प्रयोगात्मक कक्षाका लागि आवश्यक पर्ने सबै संरचना विद्यालयको आफ्नै छ । आफूसँग भएको जग्गा नपुगेपछि विद्यालयले पाँच रोपनी जग्गा भाडामा लिएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार भाडामा लिएको जग्गामा पनि विद्यार्थीले माछा, बङ्गुर, कुखुरा तथा मौरीपालन गरिरहेका छन् । तरकारी र च्याउलगायत खेती पनि गरिरहेका छन् । विद्यालयले सञ्चालन गरेको ‘पढ्दै–कमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई कापी, कलममात्रै होइन विद्यार्थीले उत्पादन गरेको कृषिजन्य सामग्री लिएर विद्यालय आउन–जान पनि सिकाएको छ । कार्यक्रम सञ्चालनपछि जनज्योतिका विद्यार्थी हरेक दिन विद्यालय आउने समयमा अण्डा, मह, तरकारी, कुखुरा ल्याएर विद्यालयको कृषि तथा पशु व्यवसाय प्रवद्र्धन सेवा केन्द्रमा जम्मा गर्छन् । कुन विद्यार्थीले के ल्याए भनेर सेवा केन्द्रमा बसेका शिक्षकले तथ्याङ्क सङ्कलन गर्छन् । विद्यालयले बजारमा वस्तु बिक्री गरेर विद्यार्थीलाई पैसा दिन्छ । प्रअ सिग्देलका अनुसार विद्यार्थी खाली हात आउन नपाउने गरी विद्यालयले नियम बनाएको छ । विद्यालयले ३ कक्षामुनिका बालबालिकाका अभिभावकसँग कृषिमा कसरी बालबालिकालाई जोड्न सकिन्छ भनेर अन्तक्र्रिया गर्छ भने ४ देखि १२ कक्षासम्म प्रत्येक कक्षामा ४० जनाका दरले विद्यार्थीलाई कृषि विषय पढाइन्छ । जनज्योतिले ल्याएको ‘पढ्दै, कमाउँदै’ कार्यक्रमलाई सरकारले गत वर्ष मात्रै नीति तथा कार्यक्रममा समावेश गरी यसलाई कार्यान्वयनमा ल्याएको हो । जनज्योतिले त्यसअघि नै कार्यान्वनमा ल्याइसकेको थियो । विद्यालयमा दुई सय ५० विद्यार्थी १८ महिनेदेखि तीन वर्षे कृषि तथा भेटेनरी जेटिए अध्ययन गर्दैछन् । यस वर्ष एक सय ६० भर्ना हुँदैछन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रदेश सरकारले सहयोग गरेको छ । पहिलो चरणमा कर्णाली प्रदेश सरकारले विद्यालयलाई रु ५० लाख दिएको थियो । सोही रकमबाट विद्यालयले अध्ययनसँगै कृषि, पशुपालन र सीप विकासमा विद्यार्थीलाई केन्द्रित ग¥यो । देशका विभिन्न ठाउँबाट कृषि अध्ययन गर्ने जनज्योतिमा अवलोकनका लागि आउने गर्छन् । पैसा नभएर पढ्न नसकेका विद्यार्थीले पनि पढ्न पाइरहेका छन् । अहिले विद्यालयले जङ्गलमा खेर जाने थाकलका पातबाट विद्यार्थीलाई टोपी र झोला बनाउने तालिम दिन थालिएको छ । विभिन्न व्यक्ति र सङ्घ संस्थाको सहयोगमा विद्यालयले विद्यार्थीलाई यो सीप सिकाएको हो । अहिले विदेशबाट नौँ लाख झोला र टोपीको माग आएको छ । त्यहीँ परिपूर्ति गर्नका लागि विद्यालयले तालिमलाई निरन्तरता दिएको छ । त्योसँगै विद्यालयले चुरापोते, चप्पललगायत सीपमूलक तालिम सञ्चालनमा ल्याएको सो विद्यालयका प्रअ सिग्देल बताउनुभयो । “सर्टिफिकेट भएर मात्र केही हुनेवाला छैन, सीपको विकास नै महत्वपूर्ण शिक्षा हो”, उहाँले भन्नुभयो, “अहिले हाम्रा विद्यार्थी पढ्दै कमाउँदै छन्, यसबाट समुदायको पनि विकास भएको छ ।” अहिले विद्यालयमा अध्ययनरत एक हजार दुई सय ९७ विद्यार्थी कुनै न कुनै माध्यमबाट कृषि तथा पशुपालनमा जोडिएका छन् । कुनाथरी गाउँका प्रत्येक कुना–कुनामा लोकल कुखुराका चल्ला वितरण गर्ने र मौरीपालनको तालिम चलाएर गाउँलाई नै मौरी हबको रूपमा विकास गर्ने विद्यालयको योजना छ ।
पोखराः गणतन्त्रको पहिलो कार्यकाल सकिँनैलाग्दा प्रदेश सरकारहरुको खर्च सार्वजनिक हुन थालेको छ । प्रदेशको खर्च विवरणअनुसार गण्डकी प्रदेश सरकारले ५ वर्षमा सांसद र पिएको सेवा–सुविधामामात्रै ३३ करोड ४२ लाख रुपैयाँ खर्चेको छ । कानूनतः तलब वा पारिश्रमिक नभनि सेवा, सुविधा भनिन्छ । यस ५ वर्षमा प्रदेशमा विभिन्न संसदीय दल सञ्चालनको लागि चियापान खर्चमा ६४ लाख ७५ हजार १ सय रुपैयाँ खर्च भएको जनाएको छ । जसमध्ये पछिल्लो तीन आर्थिक वर्षमा संसदीय दलका सदस्यहरुले वार्षिक २० लाख बढीको चियापान गरेका छन् । प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एसको कार्यालय रहेको छ । त्यस्तै, प्रदेश सभा बैठकमा २७ लाख ६६ हजार २७१ रुपैयाँ चियापानमा खर्च भएको प्रदेशसभा सचिवालयको विवरणमा जनाइएको छ । सभा र सचिवालयको चियापानमामात्रै कूल ९२ लाख ४१ हजार ३७१ रुपैयाँ खर्च भएको छ ।
दमौली ः डेङ्गु सङ्क्रमण बढ्न थालेपछि तनहुँमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् । सदरमुकामस्थित व्यास नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि शनिबारदेखि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ । कोभिड–१९ को सङ्क्रमणपछि अहिले पुनः डेङ्गुको जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “कोभिड सङ्क्रमण विस्तारै अन्त्य हुने क्रममा छ, फेरि डेङ्गुले दुःख दिन थाल्यो”, उहाँले भन्नुभयो, “हरेक विपद् समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध छ ।” डेङ्गु नियन्त्रणका लागि लामखुट्टेले फुल पार्ने ठाउँ खोजी गरेर नष्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । “लामखुट्टेले फुल पार्न सक्ने सम्भावित स्थान जस्तै पानी जमेको ठाउँ, टायरमा जमेको पानीलाई नष्ट गर्ने अभियान सुरुआत गरेका छौँ”, उहाँले भन्नुभयो, “प्रत्येक वडामा जनप्रतिनिधिको नेतृत्वमा यो अभियान सुरु भएको छ ।” ‘सबै जागौँ, सबै लागौँ ः वरिपरि जमेको पानी हटाई डेङ्गु भगाऔँ’ नाराका साथ सुरु अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सङ्घसंस्था, शिक्षकलाई परिचालन गरिने जनाइएको छ । व्यास नगरपालिकाले मोटरसाइकल वर्कसपमा राखिएका टायरमा जम्मा भएको पानी फाल्नुका साथै सचेतना प्रदान गरेको छ । आँबुखैरेनी गाउँपालिकाले पनि डेङ्गुबाट बच्नका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले सतर्कताका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । डेङ्गुको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिकार्य योजना बनाइ विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै गाउँपालिकाले प्रदेश र जिल्लासँगको समन्वयमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । “डेङ्गु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्रायः दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ”, उहाँले भन्नुभयो, “यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य गरिएको छ ।” यस्तै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ । यस अभियान कार्यान्वयका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्यस्वयंसेविका, शिक्षक, पत्रकार, सङ्घसंस्था, टोलविकास समितिलाई परिचालन गरिएको छ । डेङ्गुबाट ८८ सङ्क्रमित तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ८८ पुगेको छ । सदरमुकामस्थित दमौली अस्पताल, बन्दीपुर अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार ८८ जनामा डेङ्गु पुष्टि भएको हो । दमौली अस्पतालमा तीन, बन्दीपुर अस्पतालमा सात र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । डेङ्गु पुष्टि भएकामध्ये दमौली अस्पतालमा भर्ना भएर उपचार गराउने तीन जनामध्ये एक जना उपचारपश्चात घर फर्किएका छन् दुई जनाको उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख डा राजु रानाले जानकारी दिनुभयो । बन्दीपुर अस्पतालमा भर्ना भएर सात जनाको उपचार गरिएकामा चार जना उपचारपश्चात घर फर्किएका छन् । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनालाई डेङ्गु पुष्टि भएकामा २७ जना भर्ना भएर उपचार गराएका थिए । उपचाररत २७ जना नै उपचारपश्चात घर फर्किसकेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । डेङ्गु परीक्षणका लागि स्वास्थ्य कार्यालयमा किट अभाव रहेको छ । स्थानीय तह र अस्पतालले नै किट खरिद गरेर परीक्षण गर्ने गरेकाले सहज भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताउनुभयो । “स्वास्थ्य कार्यालयमा किट छैन, पालिकाले नै व्यवस्थापन गरिदिएकाले परीक्षणमा सहज भएको छ”, अधिकारीले भन्नुभयो । लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको चिकित्सक बताउँछन् । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । आजकल डेङ्गु ज्वरो नेपालको विभिन्न भागमा देखापरिरहेको छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र वर्षात्को मौसम सुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्दछ । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण रहेको दमौली अस्पतालका निमित्त प्रमुख डा रानाले बताउनुभयो । डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण देशभर ७४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा चार हजार एक सय २६ जनाको परीक्षण गर्दा ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज एक सय १६ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ । आज एक जनाको सङ्क्रमणका कारणले निधन भएको जनाइएको छ । अहिलेसम्म सङ्क्रमणका कारणले १२ हजार १७ जनाको निधन भइसकेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८३ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ । यस्तै १५ जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । होमआइसोलेशनमा एक हजार दुई सय ३४, संस्थागत आइसोलेशनमा ४९ र सघन उपचारकक्ष (आइसीयू)मा १० जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि नलगाएको मन्त्रालयले जनाएको छ ।
कपिलवस्तु: दशैँ जति नजिकिँदै छ किनमेल पनि त्यति बढ्दै छ । व्यापार चम्कँदै छ । तर नेपालमा होइन सीमापारि । दशैँको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् । सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, जितपुर, गोरुसिङ्गे, पकडीलगायतका मुख्य बजारमा दसैँको कुनै रौनक छैन् । दशैँलाई सस्तो, राम्रो र आकर्षक सामग्री खरिदका लागि भन्दै नेपालीहरु सीमावर्ती भारतीय बजारमा ओर्लिएपछि पुनः नेपाली व्यापारीको समस्या विगतका वर्षभन्दा कम छैन यतिखेर । सीमापारिका बढ्नी, खुनुवा, अलिगढवा लगायतका भारतीय बजारमा यतिखेर नेपालीको बाक्लो चलहपहल देखिन्छ । दशैँका लागि अत्यावश्यक वस्तुदेखि विलाशिताका सामग्री किन्न नेपाली भारतीय बजारमा निर्भर देखिन्छन् । यसपालिको दशैँमा नेपालमा हरेक सामानमा मूल्य बढेको छ । त्यसैले पनि भारतीय बजारमा नेपाली उपभोक्ताको आकर्षण बढेको हो । मुख्यगरी नेपाली उपभोक्ताहरु लत्ताकपडा, जुत्ता चप्पल, चिनी, दाल, तेल तथा टिभी, फ्रिजसम्म किन्न भारतीय बजार धाउछन् । सीमापारिका बजारमा पाइने वस्तु नेपाली बजारमा महँगो हुने भएकाले आफू भारतीय बजारतर्फ आकर्षित भएको बुद्धभूमि नगरपालिका–९ की मनिषा भाटले बताउनुभयो । “नेपाली बजारमा ६ हजार पर्ने कुर्ता सुरुवाल भारतीय बजारमा दुई हजार बढी पर्दैन, दशैँ खर्चिलो छ, बचत त गर्नै पर्यो”, ‘इमिलियाबाट बढनी किनमेलका लागि जानुभएकी भाटले भन्नुभयो । खाद्यान्न वस्तुहरु पनि सस्तो भएकाले उपभोक्ताहरु भारतीय बजारमा आकर्षित हुने गरेको देखिन्छ । जिल्लाका प्रत्येक क्षेत्रमा सरकारले सस्तो पसल सञ्चालन गरेमा उपभोक्ता भारतीय बजारमा कम जाने उपभोक्ता हकहित संरक्षण मञ्चले जनाएको छ । भारतीय बजारभन्दा पनि सस्तोमा लत्ताकपडा दिए पनि उपभोक्ताले गुणस्तरीय नभएको आरोप लगाउने गरेको कृष्णनगरमा कपडा पसल सञ्चालन गरेर बस्नुभएकी सीता घिमिरेले बतानुभयो । भारतीय कपडा आयात गर्दा लाग्ने भन्सार महसुल, कर तथा ढुवानी खर्चका कारण स्वतः नेपालमा कपडा महँगो हुन जाने उहाँ बताउनुहुन्छ । कृष्णनगर र मर्यादापुर भन्सार कार्यालयका अनुसार एक सातामा जिल्लाका विभिन्न सीमानाकाबाट कपडा र उपभोग्य वस्तुको आयात बढेको छ । दैनिक उपभोग्य र व्यक्तिगत प्रयोजन भन्दै उपभोक्ताले ती वस्तुहरुको भन्सारसमेत नतिर्दा राज्यलाई समेत लाखौँ राजश्व घाटा लाग्ने गरेको छ । कपिलवस्तु व्यापार सङ्घका अध्यक्ष महादेव पोख्रेलले भारतीय बजारमा नेपाली उपभोक्ता ठगिने गरेको आरोप लगाउनुभयो । केही वस्तु सस्तोमा दिएर अन्य वस्तुहरुमा चर्को मूल्य लिएर नेपाली उपभोक्ता ठगिने गरेको उहाँले बताउनुभयो । “नेपालीको मानसिकता सीमापारि सस्तो सामान पाइने भन्ने छ, त्यसैको फाइदा उठाउँदै व्यापारीले ठग्ने गर्दछन्”, उहाँ भन्नुहुन्छ ।
तनहुँ । तनहुँको ऋषिङ गाउँपलिका–८ पल्ट्याङका गञ्जसिं गुरुङलाई बर्खायाममा फेदीखोला तर्न निकै सकस थियो । हिउँदमा सामान्य भए पनि बर्खाका बेला फेदीखोला उर्लेर तर्न समस्या हुन्थ्योे । खोला बढेको बेला वारपार गर्न सास्ती थियो । खोला बढेर मान्छे नै बगाउने स्थिति आउने गर्दथ्यो । विसं २०७५ मा कक्षा सातमा अध्ययनरत एक बालकलाई यही खोलाले बगाएर ज्यानै लियो तर अब यस भेगका बासिन्दालाई अहिले खोला तर्नु पर्दैन । गण्डकी प्रदेश सरकारको सहयोगमा उक्त गाउँपालिका–८ र भिमाद नगरपालिका–५ जोड्ने फेदीखोलामा पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको हो । खोला तर्नुपर्दाको विगत सम्झिँदै गुरुङले भन्नुभयो, “खोलामा पुल नहुँदा यस भेगका जनताले निकै दुःख पाए तर अब त पक्की पुल बनेकाले सहज भयो ।” उक्त गाउँपालिकाका विभिन्न वडावासीकोे प्रमुख व्यापारिक केन्द्र भिमाद बजार हो । त्यस भेगका सर्वसाधारण यही बाटो हुँदै भीमाद बजार आउँछन् तर पुल बनेपछि दैनिक जीवन यापनमा सहज भएको उहाँले बताउनुभयो । गुरुङका अनुसार फेदीखोलामा पुल निर्माण भएपछि भिमाद नगरपालिका र यस गाउँपालिकाका हजारौँ सर्वसाधारण लाभान्वित भएका छन् । पक्की पुल बनेपछि ग्रामीण भेगमा उत्पादित तरकारी पनि सहजरुपमा बजारसम्म लगेर बिक्री गर्न सहज भएको छ । भिमाद नगरपालिका–५ का तिलबहादुर थापाले पक्की पुल निर्माण भएसँगै भिमादका अतिरिक्त ऋषिङको राम्जाकोट, कोटदरवारलगायत ठाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित भएको जानकारी दिनुभयो । “हेर्दा सामान्य देखिए पनि बर्खामा खोलाको वास्तविक रुप देखिन्छ तर अब पुल बनेपछि राहत भयो”, उहाँले भन्नुभयो । सोही नगरपालिका–३ स्थित बुडुवा खोलामा पनि पक्की पुल नहुँदा स्थानीयवासीलाई खोला पारपार गर्न कठिन थियो । बर्खाका बेला यो खोला निकै ठूलो हुन्थ्यो । खोला तर्न हालिएका फड्के पनि बगाउँदा स्थानीयवासी मर्कामा पर्दै आएका थिए । विद्यालय जाने विद्यार्थी, घाँसदाउरा र मेलापात गर्ने स्थानीयवासीलाई पनि खोला तर्न समस्या थियो । यहाँ पनि प्रदेश सरकारको सहयोगमा पक्की पुल निर्माण सम्पन्न भएको छ । वर्षौंदेखि पक्की पुल बनाउन आवाज उठाउँदै आएका स्थानीयवासीको माग प्रदेश सरकारले सम्बोधन गरेको वडाध्यक्ष पदमराज ठकुरीले बताउनुभयो । “पुल नहुँदा यहाँका बासिन्दाले दुःख झेल्नुप¥यो तर सङ्घीयतासँगै बनेको प्रदेश सरकारले यहाँ पुलको आवश्यकता महसुस ग¥यो, किरण गुरुङ अर्थमन्त्री हुँदा बजेट विनियोजन भएर पुल निर्माण भएको छ”, उहाँले भन्नुभयो । तनहुँमा गण्डकी प्रदेश सरकार मातहत पूर्वाधार विकास कार्यालयमार्फत चारवटा पक्की पुल निर्माण भएको छ । आर्थिक वर्ष ०७८÷७९ मा रु १६ करोडको लागतमा ती पक्की पुल निर्माण भएका हुन् । विभिन्न मितिमा निर्माण सुरु गरिएका उक्त पुल आर्थिक वर्ष ०७८÷७९ मा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । कार्यालयले रिस्तीखोला मोटरेवल पुल सोतीवेशी, बुडुवाखोला मोटरेवल पुल, फेदीखोला मोटरेवल पुल र रिस्तीखोला मोटरेवल पुल बगुवा निर्माण गरेको कार्यालयका सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिनुभयो । फेदीखोलाको पुल रु चार करोड २८ लाख ३२ हजार, बुडुवा खोलाको पुल रु दुई करोड नौ लाख, रिस्ती बगुवाखोलाको पुल रु चार करोड २५ लाख र रिस्ती सोतीवेशीको पुल रु चार करोड ७१ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो । फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव ८ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीवेशीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेवल पुल निर्माण भएको उहाँको भनाइ थियो । उक्त आर्थिक वर्षमा सात वटा पुल सम्पन्न गर्ने लक्ष्य रहे पनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीन वटा पुल निर्माण हुन नसकेको सूचना अधिकारी मिश्रले बताउनुभयो । “सात वटा पुल सम्पन्न हुन्छ भन्ने लक्ष्य थियो तर तीन वटा पुलको काममा ढिलाइ भयो, चार वटा मात्रै सम्पन्न भएको छ”, उहाँले भन्नुभयो । करिब रु ११ करोडको लागतमा निर्माण गरिने तीन पुल अन्तिम चरणमा पुगेको छ । ज्वालाखोला मोटरेवल पुल रु तीन करोड २१ लाख, द्रोपद खोला मोटरेवल पुल रु तीन करोड ८३ लाख र बरखोला पुल रु तीन करोड ३६ लाखको लागतमा निर्माण भइरहेको कार्यालयले जनाएको छ ।