काठमाडौं : आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गरेका छन् । स्रोतका अनुसार दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेका थिए । तर, अष्ट्रेलियामा रहेका दूतराजले आज बिहान लेखेका छन्, ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि’ आफू कहिलेकाँही त्यतिकै हराइदिने गरेको, कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने गरेको पनि बताएका छन् । ‘हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ यसलाई रोग भनु या मेरो विशेषता’ यही कारणले पनि आफूले आफैंलाई दुःखी बनाउने गरेको उनको भनाइ छ । उनले समाचारपछि आफू र परिवारलाई असजिलो महसुस भएको गुनासो गरेका छन् । ‘समाचार पढें असजिलो महसुस भयो, ‘ उनले अघि लेखेका छन्, ‘ बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो – सानो दुःखले जन्माएको हुर्काएको होइनौं नि तिमीहरू लाई’ । गलत बुझाइका कारण समाचार आएको दाबी दूतराजको छ । र, त्यसले शुभचिन्तकहरूमा परेको असरप्रति क्षमा माग्दै उनले अन्तिममा लेखेका छन्, ‘ माया गर्नेहरूको आँसुले सराप्छ, कसरी मार्न सक्थें र यो शरीरलाई’ । अहिले गायक दूतराज सांगीतिक कार्यक्रममा अष्ट्रेलियामा रहेका छन् । अष्ट्रेलियामै रहेका बेला होटेलमै आत्महत्या प्रयास गरेको समाचार आएका हुन् । अनलाइन खवर
काठमाडौं : प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो । गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिनुभयो । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ । यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने‘लङ्गर परम्परा’को थालनी गर्नुभएको थियो । निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्नुहुन्थ्यो ।
पोखरा । नेपालको इतिहासमा काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिँदा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले बताएका छन् । २००७, ०४६ र ०६२र०६३ लगायतका आन्दोलन सहित परिवर्तनहरूमा काँग्रेस र कम्युनिष्टहरुको मिलन महत्त्वपूर्ण साबित भएको उनीहरूले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पटक पटक संसद विघटन गरी देशलाई अँध्यारो तर्फ धकेल्ने प्रयास गरेको अवस्थामा गरिएको यस गठबन्धनले देशलाई बचाएको उनीहरूको बुझाई छ । काँग्रेस र कम्युनिस्ट महत्त्वपूर्ण घडीमा मिलेकाले स्थानीय तहदेखिको आफूहरूको मिलन प्रतिनिधि र प्रदेश सभाको निर्वाचनसम्म कायम रहेको गठबन्धनको तर्फबाट कास्की २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले बताए । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्यसमेत रहेका बरालले यस निर्वाचनपछि पनि देशलाई समृद्धि तर्फ डो¥याउन गठबन्धन कै सरकार आवश्यक भएकाले आफूहरूलाई निर्वाचित गराउन उनको आग्रह थियो । ‘कम्युनिस्ट र काँग्रेस महत्त्वपूर्ण घडीमा मिलेका छौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र पनि काँग्रेस र कम्युनिस्ट मिलेर ल्याएका हौँ, उनले भने, संविधानले धेरै व्यवस्था तथा अधिकारहरू ल्याएको भए पनि उचित ऐन नहुँदा समस्या आइरहेको छ । त्यस्तै भू–उपयोग नीति सम्बन्धी ऐन बनाउन मेरो जोड हुनेछ र समग्र देशमा स्वास्थ्य र शिक्षाका लागि उचित ऐन ल्याउन मेरो पहल हुनेछ ।’ पोखरा २० लामिडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले विदेश र स्वदेश कै पनि विभिन्न ठाउँमा रोजगारीमा गएकाहरूलाई गाउँमै फर्केर केही गर्ने वातावरण बनाउने बताए । आफूहरू विकासका लागि प्रतिबद्ध भएर लाग्ने भन्दै उनले वडामा रहेको खानेपानीको मुख्य समस्या हल गरेरै छाड्ने प्रतिबद्धता पनि जनाए । वडा नम्बर २०को लामिडाँडा र अन्य क्षेत्र पशुपालन, कफी र कृषि भूमि रहेकाले सबै क्षेत्रको समुचित विकास गरेर रोजगारीका लागि सहर झरेका र विभिन्न देशमा पुगेकाहरूलाई गाउँमै फर्केर गरिखाने वातावरण बनाउने उनको भनाई छ । २० मात्र नभई समग्र २ नम्बर क्षेत्रका विशेष गरेर ग्रामीण क्षेत्र विकास र पूर्वाधारका दृष्टिकोणले पछाडि परेको उनको भनाई छ । क्षेत्र २ ९ख० का प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । गठबन्धनबाट उम्मेदवार बनेका थापाले युवालाई विदेश तथा सदरमुकाम तर्फ जान रोक्दै गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान सञ्चालनमा जोड दिनुपर्ने बताए । ‘भलाम कृषि र पर्यटनको सम्भावना बोकेको क्षेत्र हो । यहाँ होमस्टेको पनि उत्तिकै सम्भावना रहेको छ । यहाँको खेतबारी बाँझो भएका छन् घरहरू खाली भएका छन् । युवालाई स्वदेश मै राख्नका लागि योजनाहरू ल्याउन आवश्यक छ, उनले भने, विकासको पहिलो पूर्वाधार सडक भएकाले स्तरीय सडक बनाउनुपर्छ जसले शिक्षा, स्वास्थ्य, रोजगार, व्यवसायको व्यवस्थापन हुन्छ । सदरमुकाम केन्द्रित भएको अवस्थामा गाउँ फर्क अभियान सुरु गर्नु पर्ने आवश्यकता अहिले छ ।’ कास्की २ (क) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछाने स्पष्ट भिजनका साथ विकास गर्नका लागि आफू उम्मेदवार भएर जनताको माझमा आएको बताए । पोखरा २१ दम्सादीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताए । उम्मेदवार लामिछानेले विगतमा यहाँबाट नेतृत्व गर्नेहरूले जनताको एजेन्डामा चासो नदिएको कारण राम्रो विकास हुन नसकेको दाबी गरे । ‘हामी स्पष्ट भिजन सहितका जनताको भावना अनुरूपको योजना लिएर आएका छौँ । विगतमा जितेर गएकाहरूले जनताका एजेन्डामा चासो राखेनन् । यहाँका जनताको भावना बुझेनन् । त्यहिभएर यहाँको उचित विकास हुन सकेन । हामी यहाँहरू कै एजेन्डालाई बोकेर हिँडेका छौँ । हामीसँग स्पष्ट विकास निर्माणका योजना छन् । हामी गफ दिने होइन जे बोल्छौँ, त्यो गरेर देखाउँछौँ ।’ पोखरा महानगरमा गठबन्धनको नेतृत्व रहेको भन्दै उनले प्रदेश र केन्द्रमा समेत गठबन्धन कै सरकार हुँदा काम गर्न सजिलो हुने उनको धारणा छ । उनीहरूले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवादका आधारहरू तय गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । कास्कीको निर्वाचन क्षेत्र नं.२ को तर्फबाट चुनावी मैदानमा उत्रिएका गठबन्धनका साझा उमेदवारहरुले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समाजवादका आधारहरू तय गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।
काठमाडौं । गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको स्रोतले जनाएको छ । उक्त घटना स्थानीय समयानुसार आइतबार मध्यरातमा भएको जनाइएको छ । गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टको लागि अष्ट्रेलियामा छन् । आयोजकले उनीहरुलाई एउटै फ्ल्याटमा राखेको छ । दूतराजले सलको पासो लगाएर झुण्डिने प्रयास गरेका थिए । सोही क्रममा उनी बसेको ढोका पनि खुल्लै भएको जनाइएको छ । कोठाबाट आवाज आएपछि गायिका गिरीले दूतराजको कोठामा पसेर उद्धार गरेको स्रोतले जानकारी दियो । दूतराज अहिले सामान्य अवस्थामा छन् । अन्तर्मुखी स्वभावका दूतराजले आत्महत्या प्रयास गुर्नको कारण खुलेको छैन । सिड्नीमा हुन लागेको एक सांगीतिक कार्यक्रमपछि दूतराज र भूमिका गिरी नेपाल फर्कने तयारीमा छन् । दूतराजका जाम भो माइली, घर कता हो बैनीको, चोली मैलै भो, मन भुल्छ लगायत गीत चर्चित छन् । केही दिनअघि रिलिज भएको उनको गीत ‘देउरालीमा’ पनि निकै रुचाइएको छ ।
पोखरिया । विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले दैनिक गाउँ–गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेको देखिन्छ, तर चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिदैनन् । जितेर गएपछि आफ्नै दुनो सोज्याउने काम मात्र नेताहरुले गरेको उनीहरुको भनाइ छ । नेताहरुले आफ्ना चुनावी वाचा पूरा नगर्दा भने महिला मतदाता असन्तुष्ट छन् । वर्षौदेखि प्रत्येक चुनावमा विकास निर्माणका योजना ल्याएर गाउँलेको जीवन नै परिवर्तन गर्ने आश्वासन दिने गरेको महिला बताउँछन् । रोजगार, शिक्षा, स्वास्थ्य, विद्यालय, सडकलगायतको सुविधा मिल्ने र गाउँमा विकासको लहर ल्याउनेजस्ता नारा प्रत्येक चुनावका बेला हुन्छ तर उक्त आश्वासन नारामा सीमित हुने गरेको उनीहरुकोे गुनासो छ । पहिलेको भन्दा केही फरक भए पनि, केही परिवर्तन आए पनि अझ धेरै सकारात्मक परिवर्तनको खाँचो रहेको मतदाता बताउँछन् । दलका उम्मेदवार फेरि पनि आश्वासनको पोको लिएर घरदैलोमा पुग्न थालेका छन् । आफू जिते, गाउँगाउँमा सडक, स्वास्थ्य, खानेपानी, सिँचाइ, विद्यालयलगायत सबैमा आश्वासन फेरी दोहो¥याइरहेका छन् । निर्वाचन नजिकिएपछि गाडीमा आ–आफ्ना दलका झण्डा फहराउँदै उम्मेदवार गाउँ पस्न थालेका छन् । पर्सा पकाहा मैनपुरकी सरस्वतीदेवी, नेताहरुले जितेको भोलिपल्टदेखि नै विकासको लहर चलाउने भनिए पनि त्यो अनुसारको कार्य कमै मात्रामा गरेको देखेका छौँ । नाला, सडक, विद्मालयलगायतमा अझ सुधार हुन बाँकी छ । फेिर विभिन्न आश्वासन लिएर नेताहरु घरदैलोमा आइरहेका छन् । विश्वास गर्नुको विकल्प छैन तर यसपालि सोचेर मात्रै विकास गर्ने, गरिबलाई हेर्ने व्यतिmलाई भोट दिने निर्णयमा छु ।पर्साकी परवानीपुरकी सोनमती देवी भन्छिन्, ‘‘गाउँमा भोट माग्न आउँदा वर्षौवर्षको चिनजान भएको जस्तो अपनत्व देखाउने गरेको भएपनि जितेपछि गुहार माग्न जाँदा चिन्दिन भन्छन् । घर बनाइदिने, एक घर एक रोजगारीको व्यवस्था गर्ने भनेर गए तर केही गरेनन् ।’’ गाउँभरिमा विद्यालय एउटा मात्रै छ त्यसमा पनि गुणस्तरीय पढाइ नहुने गरेकाले बालबालिकाको भविष्य अन्धकारमय भइरहेको छ । यतिबेला गाउँदेखि सहरसम्म उम्मेदवार भोट माग्ने चटारोमा छन् । चुनाव जित्नका लागि मधेश प्रदेशमा राजनीतिक दलहरुले चुनावी गठबन्धन गरेर अगाडि बढेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा मधेश प्रदेशका राजनीतिक दलका उम्मेद्वारहरु आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रमा केन्द्रित गर्न थालेका छन् । लाउड स्पिकर, कार्यकर्तासहित भोट माग्दै जनताका घरदैलोमा उम्मेदवार पुग्न थालेका छन् । ग्रामीण भेगका किसानलाई भने चुनावले नछोएको पर्सा विन्दसिनीका ७० वर्षिय हरिशङ्कर प्रसाद बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेताहरु आफ्नो जरुरी परेको बेलामा मात्र आउँछन् अनि त्यसपछि कोही आउँदैनन् । हेर्नुस् न केही विकास भएको छैन हाम्रो गाउँमा । खेती किसानीका लागि खाद, सिँचाइ सबै महँगो भइसक्यो । हाम्रो समस्या बुझिदिने कोही भएनन् ।” स्थानीय अर्का वासिन्दा राजेश कुर्मी भन्नुहुन्छ, “युवाका लागि रोजगारीको अवसर नहुँदा गाउँका अधिकांश युवाहरु यत्तिकै भौंतारिनु परेको वा बाध्यताले विदेसिनु बाहेकको विकल्प छैन । गरिबका बालबालिकाको लागि त न गुणस्तरीय विद्यालय छ न त औषधि उपचारका लागि गुणस्तरीय स्वास्थ्य चौकी नै ।’’ पछिल्लो समय चुनावमा पढे लेखेका राम्रा व्यक्ति पनि उम्मेद्वारको रुपमा देखा पर्दा केही आशा पलाएको उहाँको भनाइ छ । पहिले निर्वाचनका बेला गरेका कुलहरु कुनै पूरा नभएपछि यसपटक पनि विकासको नारा फलाक्दै हिडेका नेता तथा उम्मेद्वारहरुका कुरामा धेरैले खासै चासो देखाएको पाइँदैन । सडक विस्तार, शिक्षामा सुधार, स्वास्थ्य तथा रोजगारीमा पहुँच, खानेपानी, फोहोर व्यवस्थापनलगायतका विकासका कुनै काम नभएको महिला मतदाताहरुको गुनासो रहेको छ । गाउँगाउँमा मतदाता शिक्षाको पनि अभाव रहेको देखिन्छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई के कसरी कस्तो मतपत्रमा मतदान गर्ने हो भन्ने तरिका पनि सिकाउन अझै उम्मेदवार र तिनका प्रतिनिधिहरु नआएको उनीहरु बताउँछन् । पर्सामा पुरुष एक लाख ९४ हजार नौ सय चार, महिला एक लाख ५१ हजार आठ र अन्य १६ गरी कुल तीन लाख ४५ हजार नौ सय २८ मतदाता रहेका छन् ।
कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसँग भेटघाट गरेका छन् । सो क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीसँग त्यहाँका जनताहरुले पिचबाटो र खानेपानीको अपेक्षा राखेका छन् । ‘हामीलाई पनि नयाँपुल–घान्द्रुकको जस्तै पिच चाहिएको छ’ लान्द्रुकमा भएको भेटघाटमा त्यहाँका स्थानियहरुले उम्मेदवारलाई सुनाए । ‘राजीव पहारीले लुम्रे–लान्द्रुक बाटो खन्नुभएको छ, अब पिच गर्ने पनि उहाँले नै हो’उनीहरुको भने । आमा समुहका भवन, विद्यालय निर्माण लगायतमा सहयोग गर्न पनि उनीहरुले उम्मेदवार समक्ष माग राखे । घरदैलोमा एमाले नेता सोमनाथ अधिकारी ‘प्यासी’ले एमालेको पक्षमा मत माग्दै देशको समृद्धीका लागि एमालेलाई जिताउन आग्रह गरे । चुनावी भेटघाट कार्यक्रमको संयोजन नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटिका अध्यक्ष विवेक देवकोटाले गरेका थिए । घरदैलो कार्यक्रममा समानुपातिक उम्मदेवार क्याप्टेन लालकाजी गुरुङ्ग, प्रदेश समानुपातिक उम्मेदवार देवका पहारी, पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य देवी सुवेदी, गण्डकी प्रदेश समिति सदस्य गौरी सुवेदी, निर्वाचन परिचालन संयोजक कर्ण गुरुङ्ग लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
ताप्लेजुङ । ग्रामीण क्षेत्रमा तीनदशक अघि घर छेउकै मकैको थाङ्ग्रोको आकारबाट व्यक्तिको आर्थिक हैसियत मापन हुन्थ्यो । गाउँ घरमा कमै मात्र देखिए पनि मकैको थाङ्ग्रोले आर्थिक हैसियत मापन गरेको पाइँदैन । पछिल्लो समय मकैको थाङ्ग्रो राख्ने परम्परा लोप हुँदै गएको छ । मुख्य गरी विवाहको लागि केटी माग्न जाँदा होस् वा छोरी दिँदा, केटाको पक्षको आर्थिक हैसियत मकैको थाङ्ग्रोबाट मापन गरिन्थ्यो तर अहिले त्यसको ठीक उल्टो भएको छ । आर्थिक हैसियत मापन गर्ने विधि नयाँ आएको छ । यसको ठूलो मकैको थाङ्ग्रो त्यस घर धनी मानिन्थ्यो । अनि विवाहको तयारी सुरु हुन्थ्यो । अहिले विवाहको लागि केटी माग्न जाँदा केटाको पढाइ र पेसाको बारेमा सोधिन्छ र अनि मात्र विवाहको फैसाल गर्न थालिएको फुङ्लिङ नगरपालिका–३ केनेम गाउँका ८१ वर्षीय भगिरथ भट्टराईले बताउनुभयो । “हामीले छोराछोरीको विवाह गर्दा पनि मकैको थाङ्ग्रो हेरेर विवाह गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिले नाती नातिनाको बिहे गर्दा पेसा, पढाइ सोध्न थालिएको छ । जसले पढेको छैन । विदेश गएको छैन । उसको बिहे नै नहुने जस्तो भएको छ ।” विगतमा मकैको थाङ्ग्रो भनेको जो कुनै घर परिवारको आर्थिक हैसियत पत्ता लगाउने माध्यम भएकाले जसको ठूलो थाङ्ग्रो छ । उसको धेरै जग्गा जमिन भएको धनी व्यक्ति मान्ने परम्परा रहेको भट्टराईले बताउनुभयो । अहिले समय परिवर्तन भएको छ । पहाडी क्षेत्रमा अझै पनि मकै भण्डारण गर्न आगनमा थाङ्ग्रो राख्न परम्परा लोप हुँदै गएको छ । प्रमुख खाद्यन्न बाली मानिने मकै ताप्लेजुङको पहाडी क्षेत्रमा सिँचाइ सुविधा नभएको धेरै जसो ठाउँमा मकै खेती गरिन्छ । विगतका वर्षहरुमा पहाडी क्षेत्रका प्रायः प्रत्येक किसानका घर आँगनमा अग्लो थाङ्ग्रो देखिन्थ्यो । विगतमा कति कोठाको मकैको थाङ्ग्रो लगाएको छ त्यो देख्न बित्तिकै परिवारको मेहनती, आर्थिक तथा सामाजिकरुपमा अवल परिवार मान्ने परम्परा रहेको पाथीभरा याङवरक गाउँपालिका–१ खेमराज गुरुङले बताउनुभयो । आँगनमा बाँस अथवा काठको माच बनाएर खोसेलासहितको मकैका घोगालाई मिलाएर राखेको थाङ्ग्रो भनिन्छ । फक्ताङलुङ गाउँपालिका–६ सन्तकुमार लिम्बूले भन्नुभयो, “पहिला पहिला बाबुबाजेले मकैकै थाङ्ग्रा देखाएर विवाह गर्नुभयो रे अहिले मकैको थाङ्ग्रो देखाएर छोरा नातिको बिहे हुँदैन । अहिले मकै खेती गर्न छोडदै गएको लिम्बूले बताउनुभयो । खासमा मकैलाई थाङ्ग्रो बनाएर राख्दा घामले चाँडै सुक्ने, धुनपुतली, मुसा नलाग्ने बैज्ञानिक कारण भएकाले थाङ्ग्रो लगाउने परम्परा रहेको छ । गाउँभरि देखिने मकैको थाङ्ग्रोले सुन्दरता दिएको हुन्छ । वर्षभरिका लागि अन्नको जोहो गरेको सङ्केत पनि प्रष्ट पाइन्छ । कसैका थाङ्ग्रो ठूला छन् त कसैका साना । कुनै समय थाङ्ग्रोको आकारले समाजमा आर्थिक हैसियत निर्धारण गर्दथ्यो । बिहावारीको फैसाला गर्ने एउटा माध्यम मकैको थाङ्ग्रो पनि एक भएको स्थानीयको भनाइ रहेको छ । थाङ्ग्रो बनाएर मकै भण्डारण गर्ने चलन कहिलेबाट सुरु भयो भन्ने यकिन जानकारी नभए पनि पूर्वी पहाडी जिल्लामा धेरै वर्षअघिबाट मकै खेती सुरु भएको इतिहास पाइन्छ । थाङ्ग्रो बनाएर राखेको मकै सुकेपछि जातोमा पिसेर च्याख्ला बनाई खाने र भुटेर खाजा खाने चलन छ । त्यही भएकाले सुरक्षित राख्न र बीउको संरक्षण गर्न थाङ्ग्रो बनाउने प्रचलन कायम छ तर त्यही थाङ्ग्रो आर्थिक हैसियत मापन गर्नेमध्ये अहिले पाइँदैन । जिल्लामा मकै बालीतर्फ चालु आवमा ५७ हजार नौ सय ८८ मेट्रिकटन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका प्राविधिक सहायक केदार धितालले जानकारी दिनुभयो । मकै १६ हजार एक सय ९८ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । गत वर्ष सोही क्षेत्रफल बराबरको खेतीबाट ५८ हजार तीन सय १२ मेट्रिक टन मकै उत्पादन भएको थियो ।
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरु खुसी भएका छन् । दिल्ली जाँदा कृष्ण नगर गएर अन्य गाडी खोज्नुपर्ने झन्झट अन्त्य हुनाका साथै नगद तथा सामग्री जोगाउन नसकिने समस्याबाट मुक्त भएको र सुविधासम्पन्न एसी बसमा यात्रा गर्न पाउँदा आफूहरु खुसी भएको यात्रुहरुको भनाइ छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालनमा ल्याएको उक्त बससेवा शुभारम्भ गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले यसबाट जिल्लादेखि दिल्लीसम्म पुग्ने यात्रुहरूका लागि सहज भएको बताउनुभयो । सन्धिखर्कदेखि गोरुसिङ्गे, नेपालगञ्ज, लख्खिनपुर हुँदै दिल्लीसम्म बस पुग्नेछ । सन्धिखर्कबाट झन्डै नौ सय किलोमिटरको दूरीमा दिल्ली रहेको छ । बसमा ३६ सिट, दुई चालक, दुई परिचालक रहने र बसको भाडादर रु तीन हजार दुई सय पर्छ । तत्कालका लागि हप्ताको तीन दिन सञ्चालन हुने बस यात्रुको मागअनुसार थप्न सकिने उक्त प्रालिका अर्घाखाँची शाखाप्रमुख कमलप्रसाद भट्टराईले बताउनुभयो । सोमबार, बुधबार र शुक्रबार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधबार, शुक्रबार र आइतबार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि बस छुट्नेछ । काठमाडौँमा एसी बस सञ्चालन गर्दै आएका यातायात व्यवसायीले मोटरबाटोको सहजतासँगै यातायात सेवा विस्तार गरेको प्रालिका रुट सल्लाहकार भानुभक्त भुसालले बताउनुभयो । उक्त कार्यक्रममा उपभोक्ता हिस संरक्षण मञ्चका अध्यक्ष सहयोगी विसी, पत्रकार महासङ्घका प्रदेश सदस्य प्रेमनारायण आचार्य,, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष काजी श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष अशोककुमार श्रेष्ठ, उक्त प्रालिका सञ्चालक सुरेन्द्र श्रेष्ठलगायतले बस सेवा सञ्चालनले यात्रुहरुलाई सुविधा पुगेको जानकारी दिनुभयो ।
नवलपुर : नवलपुरको कावासोतीका सुशान्त पोख्रेल मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलोपटक मतदान गर्ने तयारीमा हुनुहुन्छ । मतदानको दिन नजिक आउँदा उम्मेदवारका प्रतिबद्धता विभिन्न देख्नुभएका उहाँलाई युवा विदेश पलायन रोक्ने योजना भइदिए हुन्थ्यो भन्ने लागेको छ । दैनिक सयौँ युवा विदेश पलायन भइरहेका छन् युवालाई स्वदेशमै राख्ने खालको वातावरण बनिदिए हुने थियो उहाँले भन्नुभयो । “मजस्तै धेरै युवा विदेश पलाएन भइरहेका छन्, स्वदेशमा रोजगारीको अवसर भए सायद विदेश जाने थिएनन् होला, राजनीतिक दलले युवालाई देशमै राख्ने वातावरण बनाए हुने थियो”, उहाँले भन्नुभयो, “पहिलोपटक भोट दिने तयारीमा छु, आशा छ जित्नेले युवाका विषयमा केही सोचून्, भोट दिएपछि कामका लागि विदेश जान नपरोस् ।” राजनीतिक दलहरूले विकासका योजनाअघि सारे रोजगारीका अवसरसमेत सँगै आउने हुँदा यसतर्फ ध्यान दिनुपर्ने पहिलोपटक मत दिन तयार हुप्सेकोट–४, शङ्खदेवका युवा दिलीप चापागाईंको भनाइ छ । “रोजगारमूलक योजनाअघि सारी युवालाई उत्पादनमा प्रयोग गर्नसके देशको विकास पनि हुने थियो, युवा रोजगारमा जोडिने थिए”, उहाँले भन्नुभयो, “बजेटको उचित सदुपयोग हुने खालका काम भइदिए हुन्थ्यो भन्ने लाग्छ ।” “मेरो भोटले युवालाई उद्यमशीलतासँग जोड्ने सुनिश्चिता गरोस्, विदेशका खाडीमा पसिना बगाएका स्वदेशमै फर्किएर श्रम गर्ने वातावरण तयार होस् भन्ने लागेको छ”, पहिलोपटक मत दिन तयार कावासोती–६, कि मनिषा पौडेलले भन्नुभयो, “स्वदेशमै अवसर छन्, देश विकासको गतिमा छ, सुशासन कायम छ भन्ने बनोस् ।” राजनीतिक दलले युवाका लागि विस्तृत योजना ल्याउन भने नसकेको उहाँको धारणा छ । “रोजगार सिर्जना गर्ने, युवालाई उत्पादनमा जोड्ने भन्ने प्रतिबद्धता त देखिन्छ तर त्यसको लागि के गर्ने, कस्ता कार्यक्रमले युवालाई जोड्ने भन्ने कमै हुन्छन्, स्पष्ट योजना आवश्यक छ”, उहाँले भन्नुभयो । निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिकसमेत गरिरहेका छन् । उम्मेदवारले जिल्लामा औद्योगिक क्षेत्रको स्थापना जोड दिँदै युवालाई रोजगारसँग जोड्ने बताउँदै आएका छन् । कृषि उत्पादनमा युवालाई जोड्ने कतिपय उम्मेदवारले बताइरहँदा स्पष्ट खाका नहुँदा चुनावी नारा मात्रै हो कि भन्ने आशङ्का लागेको स्थानीय युवा राम भुसालले बताउनुभयो । आठ पालिका र ९२ वडा रहेको नवलपुरमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । कूल मतदातामध्ये पुरुष एक लाख २४ हजार तीन सय ३६, महिला एक लाख ३६ हजार एक सय २१ र अन्य चार जना रहेका छन् । निर्वाचन क्षेत्रअनुसार प्रतिनिधिसभा–१, मा एक लाख ३१ हजार एक सय ८१ र दुईतर्फ एक लाख २९ हजार दुई सय ८० मतदाता रहेका छन् । वैशाखमा सम्पन्न निर्वाचनपछि नवलपुरमा पाँच हजार आठ सय ४६ नयाँ मतदाता थपिएका छन् । यसमा केही बसाइँसराइपछि आएका छन् । कतिपय नयाँ मतदाताका रुपमा युवा थपिएका छन् । युवाको चाहना युवालाई रोजगारसँग जोड्नुपर्ने रहेका छन् ।

