पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

बागलुङ :  गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक ।   असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दसैँ आउन थाल्दा पनि खुलाउने सुरसार छैन । तीन महिनादेखि बन्द सडक सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा पर्दै आइरहेका छन् ।   गाउँमा पुगेका अधिकांश सडक बिना सर्भेक्षण निर्माण गर्दा बर्खाको भलसँगै बगेकाले असोज लागिसक्दा पनि सञ्चालन हुन सक्दैनन् । बर्खाको तीन महिना स्थानीयवासीलाई बजारबाट सामान ढुवानी गर्न भरियालाई बोकाउनु पर्छ । गाउँमा कोही बिरामी परेर अपरझट अस्पताल पु¥याउन परे पनि सडकका कारण बोकेरै बजार झर्नुपर्ने अवस्था छ ।    गाउँ पुगेका सडक बर्खाका कारण दर्जनौँ स्थानमा पहिराले परिएका छन् भने कयौँ स्थानमा खाल्डाखुल्डी र भलका कारण गाडी गुड्नै नमिल्ने भएका छन् । बाह्रै महिना सडक सञ्चालन नहुँदा ग्रामीण क्षेत्रका नागरिकले निकै समस्या भोग्नुपरेको निसीखोला गाउँपालिका–१ मा मदन घर्तीमगरले बताउनुभयो । उहाँले सडक पहिराले बगाउँदा बजारदेखि सामान ओसारपसारमा निकै समस्या भएको बताउनुभयो ।   “गाउँमा बाटो छैन भनौ भने छ, तर बर्खामा गाडीनै चल्न सक्दैनन्, हिउँदमा त गाडी निरन्तर चल्छन्, बर्गा लाग्यो भने त सबै ठप्प हुन्छन्, गाउँलेले निकै दुःख पाए, पहिले सडक नआउँदा पनि दुःख पाएकै हो, अहिले सडक भएर पनि हाम्रो दुःख उस्तै छ”, स्थानीयवासी घर्तीमगरले भन्नुभयो, “हिउँदमा मात्रै अल्ली सजिलो हुन्छ, अहिले बाटोको अवस्था हेर्नुहुन्छ भने बिजोग छ, त्यस्तो बाटोमा कसरी गाडी चलुन् रु, दसैँ आउन लाग्यो अझै खुलाउने सुरसार छैन ।”   उहाँले बर्खामा सडक सञ्चालन नहुँदा गाउँमा कोही बिरामी परे बोकेरै अस्पताल झर्नुपरेको र सडक निकै जोखिमपूर्ण हुने हुँदा पैदल गर्न पनि निकै समस्या हुने गरेको बताउनुभयो । “सडक भत्किएर गाडी त चल्दैन नै, मान्छे हिँड्न पनि निकै जोखिमपूर्ण भएको छ, पैदलयात्रा गर्दामाथिदेखि पहिरो झरेर पुरिने होकी भन्ने डर उस्तै छ, गाउँमा मान्छे बिरामी पर्छन्, बाटो बन्द हुन्छ, त्यो बिरामीलाई के गर्ने रु, बोकेर भए पनि अस्पताल पु¥याउनु प¥यो, हाम्लाई त सडक भएर पनि दुःख नभएर पनि दुःख,” घर्तीमगरले गुनसो गर्नुभयो ।    बडिगाड गाउँपालिका–७ का गाडी चालक बोमबहादुर बुढामगरले सडक बिग्रिएका कारण तीन महिनादेखि गाडी ठप्प भएको बताउनुभयो । उहाँले असार अन्तिम सातातिर सामान लिएर गाउँ गएको र सोही बेला ठूलो वर्षा हुँदा पहिरोले सडक बिग्रिएपछि गाडी गाउँमै थन्काएर राख्नुपरेको बताउनुभयो । अब दसैँमा सडक खुलेमात्रै गाडी चलाउन सुरु गर्ने चालक बुढामगरको भनाइ थियो ।   “बाटो बिग्रिएर खतम भएको छ, पहिराले एक ठाउँ मात्रै पुरिएको भए त स्थानीय जनताले खनेर खुलाउन सकिने थिए, धेरै ठूलो–ठूलो पहिराले ठाउँ–ठाउँमा सडक पुरिएको छ, ठूलो मेसिन नलगाएसम्म सडक खुलाउन नसक्ने अवस्था भएपछि गाडी गाउँमै छ, यति धेरै महिना भयो गाडी नचलाएको, बजार तिरै भएको भए वरपर त चलाउन सकिन्थ्यो, नुन तेल खाने, किस्ता चिर्ने उपाय त हुन्थ्यो”, उहाँले भन्नुभयो, “पहिराले गाउँमै अड्कियो, अब दसैँ आउँदै छ, गाडी बन्द गरेर बसेको धेरै दिन भयो पैसा पनि छैन केले दसैँ मनाउने रु, पोहोर साल त बजारतिरै थिए, ठिकठिकै कमाइ भएको थियो, अहिले त घाटा मात्रै, किस्ता पनि ऋण खाजेर तिर्नुप¥यो ।”   लामो समयदेखि गाउँ–गाउँमा गाडी चलाउँदै आउनुभएका ढोरपाटनका देवीराम विकले बर्खाको समयमा गाडी चलाउन निकै जोखिम हुने बताउनुभयो । उहाँले गाउँका सडक निकै साँघुरा हुने, माथिदेखि पहिरो खस्ने र तलतिर भासिने हुँदा दुर्घटना हुने सम्भावना बढी हुने बताउनुभयो । विकले अहिले गाउँका सडक पहिरोका कारण क्षतविक्षत भएको भन्दै खुलाउन पनि धेरै दिन लाग्छ भन्नुभयो ।   “बर्खामा गाउँमा गाडी चलाउन निकै जोखिम छ, माथिबाट पहिरो आएर चाप्छ कि, तलबाट बगाउँछ भन्ने डर हुन्छ, तै पनि मान्छे बोक्नै प¥यो, सामान ओसार्न परिहाल्यो, अझ गाउँका सडक निकै साँघुरा हुन्छ, धेरै पानी प¥यो भने चिप्लिने डर हुन्छ”, चालक विकले भन्नुभयो, “सम्बन्धित निकायले सडक निर्माण गरेर मत्र छोड्छ, तर कहाँ नाली बनाउनुपर्छ, कहाँ पर्खाल उठाउनुपर्छ, ध्यान दिँदैन, बाह्रै महिना गाउँका सडक चलाउनलाई त सबै सडकको नाली निर्माण गर्नुपर्छ, नाली निर्माण भयो भने धेरै सडक बर्खामा पनि चल्छन् ।”   उहाँले गाउँपालिका तथा नगरपालिकाले अनावश्यक ठाउँमा पनि बिना नापजाँच सडक निर्माण गर्दा सडक बर्खाको समयमा ठप्प हुने गरेको बताउनुभयो । गाउँका सडकबाट आएको बाढी पहिराले मुख्य सडक पनि अवरुद्ध हुने गरेको छ । बिना नापजाँच निर्माण भएका सडकका कारण धेरै बस्तीसमेत उच्च जोखिममा परेको छ ।   दुई/चार वटा घर भएको लेकको टुप्पामा पनि सडक खन्ने प्रवृत्ति बढेको छ, त्यसको असर कति धेरै परेको छ भन्नेकुरा सम्बन्धित निकायलाई थाहा छैन, सडक लेकको टुप्पमा त पुगेको छ तर त्यसको तलतिर कति धेरै बस्ती पहिराको उच्च जोखिममा परेका र समथर खेतीयोग्य जमिन पनि सडकदेखि बगेर आएको बाढीले बगर बनाइदिएको छ । यो एक ठाउँको समस्या होइन, धेरै ठाउँमा यस्तो भएको छ र पनि बाटो खन्न छोडेका छैनन् ।

नवलपुर  ः  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाको अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई (सेतो झिङ्गा)को सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।    धान खेतीमा देखिएको सेतो झिङ्गाले पसाउने बेलाको धानको बाला चुसेर खाने गरेको गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो । गैँडाकोटको धेरै ठाउँमा ह्वाइट फ्लाई सङ्क्रमण देखिएकामा चिन्ता व्यक्त गर्दै किसानले धानको उत्पादन घट्ने गुनासो गरेका उहाँको भनाइ थियो । “नगरभित्रका धेरै किसानले ह्वाइट फ्लाईबारे गुनासो गर्न थाल्नुभएको छ”, शाखाप्रमुख शर्माले भन्नुभयो, “कृषकको धान खेतमा गएर हेर्दा पनि पसाउने बेलाको धानमा धेरै सङ्क्रमण देखेका छौँ, यसको नियन्त्रणका लागि माथिल्लो निकायलाई जानकारी गराइसकेका छौँ ।”    कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले ह्वाइट फ्लाई सङ्क्रमण जिल्लाभरि नै देखिएको बताउनुभयो । जिल्लाको जम्मा कति क्षेत्रफलमा यसको सङ्क्रमण देखिएको छ भनेर कार्यालयले तथ्याङ्क लिने काम गरिरहेको उहाँको भनाइ थियो । “धान खेतीमा देखिएको ह्वाइट फ्लाई थप बढ्दै गएर नियन्त्रण गर्न नसकिए धान उत्पादनमा कमी आउन सक्छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “मसिनो खालको सेतो झिङ्गाले धानको पात चुस्ने, पसाउने बेलाको बाला चुस्ने गरेका कारण धानको बोट नै पहेँलो भएर जाने गरेको छ ।”    किराको कारणले धान पहेँलोे भएका बेला किसानले धान खेतमा रासायनिक मल हाल्दा समस्या थप बढेको उहाँले बताउनुभयो । “जिल्लामा लगाइएका धान खेतीमध्ये केही ठाउँमा खाद्य तत्वको कमी पनि देखिएको छ तर कृषि प्राविधिकको सल्लाहबिना युरिया मात्रै राख्दा धानलाई हरियो बनाउन सहयोग गर्छ र किरालाई थप खानेकुरा मिल्छ”, उहाँले भन्नुभयो, “धान हरियो हुँदै गएपछि यसले किराको सङ्ख्या अझै बढाउने हुँदा रोगको सङ्क्रमण सजिलै फैलिन सक्छ, त्यसैले कृषि प्राविधिकको सल्लाह लिएर मात्रै धानमा मल हाल्ने तथा उपचार गर्ने गर्नुपर्छ ।”    नवलपुरको मध्यबिन्दु, कावासोती, देवचुली, गैँडाकोट नगरपालिकासहित विनयी त्रिवेणी, हुप्सेकोट गाउँपालिकामा बर्खे धान लगाउने गरिएको छ । यस वर्ष जिल्लामा करिब १८ हजार आठ सय १६ हेक्टर जमिनमा बर्खे धान लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिएका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष धानको उत्पादन घट्न सक्ने अनुमान गरिएको छ । 

लमजुङ :  सरकारले एक पालिका एक सडक पुर्‍याउने अभियानअन्तर्गत अघि बढाएको यहाँको एक पालिकाको केन्द्रसम्म जोड्ने सडक निर्माण अवधि सकिए पनि काम भने अधुरै छ ।    गण्डकी प्रदेश सरकारको लगानीमा जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्न उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्रे गर्न तोकिएको अवधि सकिए पनि काम सम्पन्न हुन नसकेको हो । दुई वष  (गत असार २ गते)सम्ममा निर्माण  सम्पन्न गर्ने भनी सम्झौता भएको थियो ।    काठमाडौँस्थित कन्ट्र्याक निर्माण प्राइभेट लिमिटेडले निर्माण गर्दै आएको यस सडक विसं २०७७ असार ३ गते सम्झौता भएर विसं २०७९ असार २ गते कालोपत्रे गरिसक्नुपर्ने  सम्झौता थियो तर निर्धारित समयमा काम हुन नसकेपछि आगामी पुस १५ गतेसम्मका लागि पुनः म्याद थप गरिएको छ । प्रदेश सरकारको रु २६ करोड २९ लाख छ हजार दुई सय २५ मा लगानीमा सात दशमलव १२१ किलोमिटर कालोपत्रे हुन लागेको हो । बेँसीसहर नगरपालिका–१ उदिपुरदेखि दोर्दी गाउँपालिका–४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्रे हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।    कार्यालयका रोड इन्जिनियर राजेश अधिकारीका अनुसार हालसम्म ५० प्रतिशत मात्र भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ३६ दशमलव ५१ प्रतिशत छ । हालसम्म रु नौ करोड ६० लाख २० हजार १० उक्त कार्यालयले ठेकेदार कम्पनीलाई दिइसकेको उहाँको भनाइ थियो । हालसम्म नाली  र एउटा आरसीसी कल्र्भटका साथै सडकको बेस बसाउने काम सम्पन्न भएको छ भने यतिबेला ग्याबेल, ग्याबिन वाल, मेसिन वाल, स्ट्रक्चरको काम भइरहेको उहाँको भनाइ थियो । सो सडकमध्ये दुई ठाउँमा एक हजार एक सय १३ घनमिटर सडक ढलान गर्ने भएको छ ।    उक्त सडक कोभिडका कारण र निर्माण कार्य सुरु गर्न ढिलाइ भएको जनाउँदै निर्माण कम्पनीले निर्धारित समयमा निर्माण कार्य सम्पन्न नगरे पनि पुनः म्याद थप गरिएको समयमा भने सम्पन्न गर्नसक्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सडकको विभिन्न स्थानमा ६० कामदार सम्लग्न छन् । उक्त सडक निर्माण भएसँगै दोर्दी पालिका र सडक आसपासका बासिन्दालाई सदरमुकाम बेँसीसहरसम्म आउनका लागि समय समयको बचत हुनाका साथै सहज यात्रा गर्न पाउने छन् भने किसानले उब्जाएका खेतीपातीसमेत सदरमुकामसम्म ल्याउन सहज हुने भएको छ ।   गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले यस सडक चाँडै सम्पन्न गराउन सम्बन्धित निकायमा कुरा उठाउँदै आएको बताउनुभयो । सडक कालोपत्रे नहुँदा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडककोे यात्रामा कठिनाइ हुँदा जनताले सास्ती भोग्दै आउनुपरेकाले आफूले सक्दो पहल गर्दै आएको उहाँको भनाइ थियो ।   

पोखरा  :  कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकस्थित ओप्लेंमा बौद्धमार्गीहरुका लागि (पाल डाकार छयोईदुब लीङ) विद्यालय निर्माण हुने भएको छ । अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा करिब ४ करोडको लागतमा निर्माण हुने भएको हो ।   सो विद्यालय आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि काम अगाडी बढाइने पाल ङाग्युर सङासङाग् छोइलिङ गुम्बा सराङ्कोटका धर्मगुरु गुप्ती गुरुङले जानकारी दिए । उनका अनुसार १० रोपनीको क्षेत्रफलमा विद्यालय निर्माण हुनेछ ।    विद्यालयसँगै सग्रहालय, चमेना गृह, छात्राबास, किचन  तथा डाइनिङ हल, (छम) गुफा बस्ने कुटी, मेडिटेशन र पुजा गर्ने हल र स्टुपासमेत निर्माण हुनेछ । गुप्ती गुरुङको अगुवाईमा निर्माण हुने विद्यालयका लागि अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंका स्वर्गिय चन्द्रसिङ गुरुङ, लटे गुरुङको स्मृतिमा कुलबहादुर गुरुङ, रुपकुमारी गुरुङ, खुसीमान गुरुङ र चन्द्र गुरुङ र हङ्कङ निवासी विश्वसम गुरुङको सपरिवारले १० रोपनी निशुल्क जग्गादान गरेको समाजसेवी अमृत लामा गुरुङले बताए ।    ‘सामाजिक मात्रै नभई धार्मिक काममा आफ्नो जग्गा दान गर्नु सामान्य विषय होइन, उनले भने, ‘उहाँहरुले पाल डाकार छयोईदुब लीङ विद्यालयका लागि १० रोपनी जग्गा दान दिनुभएको छ । यो एउटा उदाहरणीय कार्य हो ।’   यसैगरि सो विद्यालयको निर्माणको जिम्मा लिएका धर्मगुरु गुरुङले मानव जातिबीचको एकताले नै मानवता कायम हुने धारणा राखे ।  ‘मानिस मरेर गए भएको सम्पत्तीसँगै लान सक्दैन । मानवचोला सफल हुन सहयोगी हुनुपर्छ । मानवजातिको उत्थानका लागि शान्ति स्थापना हुनुपर्छ, उनले भने, ‘सबै मानवजाति एक भए मात्र मानवता कायम हुन्छ । सबै मानव एक हौं भन्ने सन्देश दिन विद्यालयको स्थापना गर्न लागेको हो ।’   उनले घान्द्रुक पर्यटकको केन्द्रविन्दु भएको बताउदै विद्यालयले पर्यटन क्षेत्रमा थप महत्वपूर्ण योगदान खेल्नेसमेत बताएका थिए ।    घान्द्रुकको विकासमा शिक्षाको फरक योगदान रहनेछः पूर्वराज्यमन्त्री गुरुङ   अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा निर्माण हुने बौद्ध विद्यालयको बिहिबार शिलान्यास पूर्वराज्यमन्त्री प्रकाशबहादुर गुरुङले पर्यटन क्षेत्रको विकाससँगै शैक्षिक क्षेत्रमासमेत सहयोग पुग्ने बताए ।    ‘घान्द्रुक पर्यटन क्षेत्रको केन्द्रबिन्दु भएपनि विद्यार्थीहरु बौद्ध शिक्षा गाउँमा नै अध्ययन गर्ने वातावरण छैन, उनले भने, ‘त्यसकारण बौद्ध शिक्षाको लागि शहर झर्ने क्रमलाई पाल डाकार छयोईदुब लीङ विद्यालयले रोक्नेछ ।    उनले पछिल्लो समय विश्वमा अहिंसा बढ्दै गएको बताउदै बौद्ध धर्मको महत्व बढ्दै गएको उल्लेख गरे ।  ‘विश्वमा नै अहिंसा बढ्दै छ, सबैलाई शान्ति चाहन्छ त्यसैले बौद्ध धर्म र शिक्षाको महत्व बढ्दै छ, शान्तिबाट नै सबैको महिमा कायम हुन्छ ।’ पूर्वराज्यमन्त्री गुरुङले भने ।   त्यस्तै अन्नपूर्ण गाउँपालिका ७ का वडाध्यक्ष भरतमान गुरुङले बौद्ध विद्यालयको निर्माणले घान्द्रुकको विकासमा थप मद्दत पुग्ने बताए । ‘समाज परिवर्तन गर्न शिक्षाको महत्वपूर्ण भुमिका रहन्छ । हत्या हिंसाले समाज परिवर्तन हुदैन शान्ति स्थापना गर्न सके मात्र समाजको विकास हुन्छ, उनले भने, ‘त्यसैले शान्ति पाउन बौद्ध ज्ञान अनिवार्य छ ।’    सो विद्यालय निर्माणका लागि तमु प्हे ल्हु संघका भुतपूर्व अध्यक्ष क्याप्टेन रुपबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै ५० हजार ५ सय ५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । अब विद्यालय निर्माण समितिले आर्थिक संकलनलाई तिब्रता दिने बताइएको छ ।  

पोखरा :  पोखरा महानगरपालिका वडा नंं  २६ वडा कार्यालयले चाडपर्व लक्षित शान्ति सुरक्षाका बिषयमा सरोकारवालहरुसँग छलफल कार्यक्रम गरेको छ ।    कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारीले चाडपर्वको समयलाई मध्यनजर गर्दै विशेष सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मीलाई आग्रह गरे ।   उनले उपभोक्ताहरु चाडपर्वमा बढी ठगीन सक्ने भन्दै सचेत हुनु पर्नेमा जोड दिए । उपभोक्ताहरु बजारमा अखाद्य बस्तुको बिक्री बितरण, कम गुणस्तरिय सामाग्री र चर्को मुल्यको मारमा पर्न सक्ने भन्दै बजार अनुगमनलाई तिव्रता दिन समेत आग्रह गरे ।    इलाका प्रहरी कार्यालय डाँडाको नाक कास्कीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले चाडपर्वमा लामोसमयसम्म घरवाहिर रहने, घरमा चावी लगाएर लामो विदाा परिवार सहित घुम्न जाँदा चोरीका घट्ना बढ्न सक्ने उल्लेख गरे ।    दाहालले चोरी र अपराधका घट्ना नियन्त्रण गर्न समुदाय र प्रहरीका विचमा सहकार्य हुनु पर्नेमा जोड दिए । अपराध नियन्त्रणका लागि वित्तिय संस्था, बढी भिडभाड र आर्थिक कारोबार हुने व्यवसाय, चोकहरुमा सिसि क्यामेरा जडान गरी निगरानी गर्नु पर्नेमा जोड दिए ।    कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडावासी र व्यवसायको सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे । उनले सवै बित्तिय संस्था र व्यवसायीहरुले सिसि क्यामेरा जडान गरेर संभावित अपराध नियन्त्रणमा सहयोग गर्न आग्रह गरे ।    चाडपर्व लक्षित गरी वडा कार्यालयले सार्वजनिक स्थल, चोक, मठमन्दिर, मुख्य राजमार्ग र भित्री बजार तथा सडकहरुमा पनि निगरानी बढाईने उल्लेख गर्दै, वडाको अभियानमा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे । राजमार्गमा हिट एण्ड रनका घट्ना हुने गरेको उल्लेख गर्दै, त्यस्ता घटनाका दोषी पत्ता लगाउन पनि सिसि क्यामेरा प्रभावकारी हुने बताए । उज्यालो वडाका लागि महानगरपालिका र विद्युत वितरणकेन्द्र सँग समन्वय भैरहेको समेत अध्यक्ष थापाले त्यस अवसरमा जानकारी दिए ।    कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बजार व्यवस्थापन समितिले स्थानीय प्रशासन र वडासँग सहकार्य गरी बजार सुरक्षा योजना बनाउनु पर्नेमा जोड दिए ।   कार्यक्रममा सहभागीहरुले बजारका समस्या, सुरक्षा चुनौती र सहकार्यका क्षेत्रका बिषयमा आफ्ना धारणाहरु राखेका थिए ।    वडाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तिर्थबहादुर राजभाट, सुदिपराज ढुंगाना, लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, वडासचिव मिना भट्टराई भण्डारीले लगायतले बोलेका थिए ।    पोखरा महानगरपालका वडा नं. २६ स्थायी घर भई ईलाका प्रशासन कार्यालय लेखनाथमा सरुवा भएर आएका कार्यालय प्रमुख कमलराज भण्डारी र हंसपुर इलाका प्रहरी कार्यालय डाँडाको नाकमा सरुवा भै आएका प्रहरी नायव उपरिक्षक प्रकाश दाहाललाई सम्मान गरिएको थियो ।   

लमजुङ  :  भूगोलविद् डा हर्क गुरुङका जन्मस्थलमा डा हर्क गुरुङ उद्यान निर्माण अन्तिम चरणमा पुगेको छ ।    गण्डकी प्रदेश सरकार र मस्र्याङ्दी गाउँपालिकाको आर्थिक सहयोगमा मस्र्याङ्दी–७ मा उद्यान निर्माण  भइरहेको डा हर्क गुरुङ प्रतिष्ठानले जनाएको छ ।  प्रतिष्ठानका अनुसार साढे पाँच रोपनी जग्गामा हालसम्म समाधिमा ढुङ्गाको छपनी बिच्छाउने, प्याराफिट निर्माण सम्पन्न भएको छ, भने, बगैँचा निर्माण भइरहेको वृक्षरोपण लगाउने र दुबो लगाउने काम भइरहेको छ ।    आर्थिक वर्ष २०७४/२०७५ देखियता प्रदेश सरकारले रु १० लाख र गाउँपालिकाबाट रु १४ लाख गरी २४ लाख बजेटमा विनियोजन गरेको  प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समाधिस्थलसँगै उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन९ डिपिआर० तयार भइसकेको छ भने, यस वर्ष सङ्घीय सरकाबाट १५ लाखको योजना परेको छ ।”   यस रकमबाट शौचालय बनाउने र अन्य संरचना बनाउने भएको छ । उद्यान १० रोपनीमा निर्माण हुने भएको छ । उद्यान निर्माणका लागि रु छ करोड ३१ लाखको डिपिआर तयार भएको प्रतिष्ठानले जनाएको छ ।  प्रतिष्ठानमा पुस्तकालय, डा गुरुङको शालिक, सङ्ग्रहालय, डा गुरुङका सामग्री प्रदर्शन कक्ष, सभा हल, फूल बगैँचा, मौलिक गुरुङ घरलगायतका संरचना तथा उद्यान निर्माण गर्ने जनाएको छ ।   विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा विसं २०६३ असोज ७ गते ९२००६, सेप्टेम्बर २३० को दिन हेलिकोप्टर  दुर्घटना हुँदा डा गुरुङ सहित २४ जनाले एकै पटक ज्यान गुमाउनुपरेको  थियो ।   डा गुरुङको १६ औँ स्मृति दिवसका अवसरमा आज लमजुङ बेँसीसहरमा निर्माण गरिएको शालिकमा विभिन्न व्यक्तिद्वारा माल्यार्पण गर्दै सम्झना गरिएको छ ।

कञ्चनपुर  :  जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन् ।   बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन् । उनलाई  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो । होटलमा जङ्गली बदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो ।   “अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ”, उहाँले भन्नुभयो, “मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदैछौँ ।” परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताउनुभयो ।

काठमाडौं  :  कलाकार बुद्धि तामाङले अनु थिङसंग वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् ।   तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । अनु विद्यार्थी समेत हुन् । ‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् ।

गोरखा  :  गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले छन् ।    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार गोठमा लुकाइराखेको अवस्थामा फरक–फरक स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय जौवारीको टोलीले तीनैजनालाई पक्राउ गरेको हो ।    पक्राउ परेका सीताबहादुरको घरबाट एकनाले सर्ट गनसहित त्यसमा प्रयोग हुने गोली २४ थान र ३४ थान गोलीको खोका बरामद भएको लामिछानेले बताउनुभयो । अन्य दुई जना माइला घलेको गोठबाट र कृष्णप्रसादको घरबाट बन्दुकसहित पक्राउ परेका हुन् ।