काठमाडौं । बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीको स्वदेश फर्कने क्रम बढ्दो छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारिका लागि भारतका विभिन्न सहर पसेका चाडपर्व नजिकिएसँगै स्वदेश भित्रिने क्रम बढेको सिमास्थित सशस्त्र प्रहरी पोष्ट भन्सारले जनाएको छ । सशस्त्र प्रहरी पोष्टका अनुसार भारतको मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, गोवा, दिल्ली लगायतका विभिन्न सहरबाट शनिबार चार सय दुई, आइतबार तीन सय ५३, सोमबार पाँच सय ४८, मङ्गलबार तीन सय ३८ र बुधबार आठ सय जना नेपाली नेपाल भित्रिएका छन् । चाडपर्व नजिएकोले भारत जाने भन्दा पनि स्वदेश फर्किनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको हो । लामो समयदेखि भारतको मुम्बईमा रोजगार गर्दै आउनुभएका डोटीको आदर्श गाउँपालिकाका रमेश खड्काले चाडपर्व मनाउँनकै लागि घर फर्केको बताउनुभयो । “दसैँमा परिवारका सदस्यबीच सबै जना एकसाथ भेटघाट हुने र मिठामिठा स्थानीय खानाका परिकार पकाइ खाइ रमाइलो गरी मनाउने गरिन्छ” उहाँले भन्नुभयो, “यसले घर बाहिर लामो समयसम्म एक्लो भएर बस्नु परेको आभाश रमाइलोमै वित्छ ।” सोही गाउँपालिकाका नरिबहादुर साउदले घरपरिवारसँग लामो समयसम्म भेटघाट पनि नभएकोले बडादसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट तथा खेतीपाती भित्र्याउन आफू भारतको पञ्चाबबाट आएको सुनाउनुभयो । यसरी छिमेकीमूलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् । खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फुर्सद प्राप्त हुने समयमा घर आउने गरिएको पाइन्छ, भने खेतीपाती नहुने लामो समयको अन्तरालपछि चाडवाड मनाउन घर आउने गरेको पाइन्छ । सूदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबाद लगायतका सहरहरुमा जाने गर्दछन् ।
बाँके । बाँकेको जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि सो कार्यक्रम लागू भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’अन्तर्गत सो कार्यक्रम लागू गरेको हो । “कार्यपालिकाको बैठकबाट पास भएको कार्यविधिअनुसार छोरी जीवन बीमा कार्यक्रम लागू भएको छ,” प्रशाकीय अधिकृत डाँगीले भन्नुभयो । यसलाई प्रभावकारी कार्यान्वयन गराउन गाउँपालिकाको सबै वडामा पत्राचार गरेको उल्लेख गर्दै उहाँले सबै वडामा विसं २०७९ साउनयता जन्मेका छोरीहरुले बीमाको सेवा पाउने बताउनुभयो । अधिकृत डाँगीले छोरी जीवन बीमा कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन भएको जानकारी दिँदै छुट्ट्याइएको रकम अपुग भए अन्य रकमसमेत विनियोजन हुने उल्लेख गर्नुभयो । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुलाई गाउँपालिकाकातर्फबाट वार्षिक पाँच हजारका दरले जीवन बीमाको प्रिमियिम पर्ने गरी आउने बीमाङ्क रकम बराबरको जीवन बीमा गरिने छ । यसअघि सो गाउँपालिकाको १२औँ गाउँसभाले ‘गाउँपालिका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम’पारित गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत केही दिनअघि बसेको गाउँपालिकाको बैठकले छोरी जीवन बीमा कार्यक्रमका साथै गाउँपालिकाका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ स्वीकृत गरेको थियो ।
वालिङ । गण्डकी प्रदेशकै एउटा प्रवेशद्वारको रुपमा रहेको राम्दी पुलको समयमै मर्मत नहुँदा केही वर्षदेखि ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । भारत सरकारले झण्डै ५१ वर्षअघि स्याङ्जा र पाल्पाको सङ्गमस्थल राम्दी (रामनदीधाम)मा निर्माण गरेको यो पुल सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गमा पर्दछ । भारत सरकारको सहयोगमा विसं २०२२ देखि सिद्धार्थ राजमार्गको निर्माणकार्य सुरु भएर विसं २०२८ मा निर्माण सम्पन्न भएको थियो । पहाड र तराईलाई जोडेसँगै आवातजावत र व्यापार व्यवसायका लागि कोशेढुङ्गा सावित भएको यस पुल निर्माण भएको लामो समय भएको हुँदा यसको क्षमता घट्दै गएकाले १० टन क्षमताभन्दा बढी भारवहन क्षमताका सवारीसाधन चल्न रोक लगाइएको छ । डुङ्गाको सहारामा जोखिम मोलेर वारपार गर्नेहरुलाई पुल निर्माण भएँसगै सहजता भए पनि भारवहन क्षमताका सवारी साधन चल्न रोक लगाउँदा ढुवानीको खर्च बढ्न गई उपभोग्य वस्तुको लागत महङ्गो पर्न गएको व्यवसायी तथा उपभोक्ताहरुको भनाइ छ । निर्माण सामग्रीहरु बुटवलतिरबाट राम्दीको पुल हुँदै वालिङ आउने हुँदा पुलमा बढीमा १० टन मात्रै सामन बोकेका मालबाहक गाडीहरु आउनसक्ने भएकाले ढुवानीमा समस्या भएको वालिङ–८ जैसीपधेँरामा हार्डवेयर ब्यावसाय गर्दै आउनुभएका गहौँ कालिका डुम्रे हार्डवयरका सञ्चालक शिवलाल डुम्रे बताउनुहुन्छ । डुम्रेले भन्नुभयो, “पुलमा आएर रोकिनभन्दा कि त कम्पनीबाट नै थोरै सामान लिएर आउनुपर्यो कि त वैकल्पिक बाटो खोज्नुपर्ने बाध्यता रहेको छ ।” मालबाहक गाडीले समान कम ल्याए पनि भाडा दर एउटै हुने भएकाले थोरै सामान ल्याएर धेरै मूल्य ढुवानीमा खर्च हुँदा सामन महङ्गो पर्न जाने गरेको व्यवसायी डुम्रे बताउनुहुन्छ । बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै सामान ल्याउँदा पुल कमजोर भएकाले रोक लगाइन्छ भने नारायणगढ–पोखरा हुँदै वालिङ ल्याउँदा मूल्य धेरै पर्न जान्छ । “पहिला–पहिला वालिङमा सामान सस्तो पाइन्थ्यो, यहीँबाट स्याङ्जासहित दक्षिण पर्वतका विभिन्न ठाउँमा सामानहरु जान्थ्यो”, उहाँले भन्नुभयो, “अहिले एकातिर पुलकै कारण पनि ढुवानी बढ्यो भने अर्कोतिर नयाँ निर्माण गरिएका सडकहरुले यहाँको व्यापार व्यवसाय ओरालो लाग्दै गएको छ ।” “धेरै भारवहन क्षमताको मालवाहक साधनमा ढुवानी गर्दा मूल्य कम पर्न जान्छ” उहाँले भन्नुभयो, “एकैपटक आउने सामग्रीलाई दुईपटक गर्नुपर्दा ढुवानीमा लागत बढ्न गई उपभोक्तामा मार पर्न गएको छ ।” छ चक्के मालवाहक साधनभन्दा अरुलाई पुलमा रोक लगाउँदा दैनिक उपभोग्य वस्तुदेखि निर्माणजन्य सामग्रीको ढुवानी मूल्य बढ्न गई महङ्गी बढेको उहाँ बताउनुहुन्छ । हाल सञ्चालनमा रहेको पुल मर्मत गरी भारवहन क्षमता बृद्धि गर्न सकिने भए अध्ययन गर्न र नहुने भए विकल्पको रुपमा अर्को पुल निर्माणका लागि तीन वर्षअघि जिल्लास्थित विभिन्न उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालयमा संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका थिए । गल्याङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रसाद अर्यालले भन्नुभयो, “स्थानीय उपभोक्ता तथा व्यवसायीहरुले दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्रीहरुको ढुवानीमा पुलका कारण महङ्गो पर्न गएको गुनासो बढ्न थालेपछि सम्बन्धित निकायसम्म दबाब दिनका लागि सबै वाणिज्य सङ्घ एकमत भई ज्ञापनपत्र बुझाएका हौँ ।” पुल जीर्ण हुँदा बुटवलबाट तानसेन, राम्दी हुँदै स्याङ्जा जिल्ला प्रवेश गर्ने १० टनभन्दामाथि भारवहन क्षमता भएका सवारी साधनहरु आउनमा रोक लगाइएकाले विशेषगरी स्याङ्जा जिल्लाका उपभोक्ता तथा व्यवसायी बढी प्रभावित भएको वालिङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । “पुलका कारण निर्माणजन्य सामग्रीहरुको ढुवानीमा असर गरेको छ भने दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडालगायतका सामग्री ढुवानीमा समस्या भएको छ” उहाँले भन्नुभयो, “समस्या समाधानका लागि निरन्तररुपमा पहल गर्यौ । ढिलै भएपनि निर्माण कार्य थालनीको प्रक्रिया अगाडि बढेको छ ।” निर्माण प्रक्रिया अगाडि बढेपछि उपभोक्ता तथा व्यापारी व्यवसायी वर्ग आशावादी देखिएका छन् । पुल निर्माण भई सञ्चालनमा आएपछि ढुवानी मुल्य घट्न गई सस्तो र सहजरुपमा सामग्रीहरु पाइने विश्वास खनालको छ । सामग्री सस्तो भएसँगै ब्यापार व्यवसाय फेरि फस्टाउनुका साथै यहाँ उत्पादन भएका सामग्रीहरुको निर्यात र उद्योग तथा कलकारखाना खोल्नका लागि पनि सहजता हुनसक्ने उहाँको भनाइ छ । कतिपय १०/१२ चक्के सवारी साधनले पनि भारवहन क्षमताभन्दा कम सामग्री ल्याउन सक्ने भएपनि चक्काकै आधारमा कहिलेकाहीँ प्रहरी प्रशासनले दु:ख दिने गरेको सवारी चालकहरुको गुनासो छ । सवारी साधनमा कति भार रहेको छ त्यो नभई सवारी साधनको चक्का हेरेकै आधारमा पनि रोकेर दु:ख दिने गरिएको छ । धेरै भार बोक्न सक्ने सवारी साधनमा पनि अड्कलेर थोरै सामग्री ढुवानी गर्दा भाडा स्वभाविक धेरै पर्ने स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका स्थानीयबासी शिवहरि अमात्य बताउनुहुन्छ । पुलमा १० टनभन्दा धेरै सामन बोकेको सवारी साधन चल्न नदिने हो भने यसको सुक्ष्म ढङ्गबाट अनुगमन तथा निरीक्षण गर्नु आवश्यक रहेको उहाँ बताउनुहुन्छ । गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण प्रक्रिया सुरु भएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि हाल रहेको पुल जीर्ण हुँदै गएकाले नयाँ पुल बनाउन लागिएको हो । विसं २०२८ मा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारी साधनहरु आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भई प्रक्रिया अगाडि बढेको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इञ्जिनीयर नवराज बास्तोला बताउनुहुन्छ । हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा ५/७ मिटर तल अर्को पुल बनाउने गरी सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरेर ठेक्का सम्झौता गरिसकेको सनियर डिभिजनल इञ्जिनीयर बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार बोलपत्र आह्वान गरी २०७९ असार ३० गते हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग पुल निर्माणका लागि सम्झौता भएको हो । “२०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्छ” उहाँले भन्नुभयो, “कूल रु २७ करोड ७१ लाखको लागतमा निर्माण सक्ने गरी सम्झौता भएको छ ।” एकसय ८ मिटर लम्बाई, ११ मिटर चौडाईको हुने सो पुलमा ४० टनसम्मको भारवहन क्षमता रहने उहाँले बताउनुभयो । सम्झौता भएको मितिले नौ महिनाभित्र अर्थात आगामी चैत मसान्तसम्म डिजाइन स्वीकृत गरिसक्नुपर्ने छ । निर्माणस्थलको माटो परीक्षण गरिसकिएको छ भने चैत मसान्तभित्र नै निजी जग्गामा बनेका घरटहरा खाली गरी क्षतिपूर्ति दिइने उहाँले बताउनुभयो । देशकै पर्यटकीय शहर एवं गण्डकी प्रदेशको सदरमुकाम पोखरालाई व्यापारिक शहर बुटवल तथा भारत जोड्ने पुरानो सडक हो सिद्धार्थ राजमार्ग । भारत सरकारको सहयोगमा निर्माण भएको यो राजमार्ग साँघुरो, घुमाउरो तथा घुम्तिहरु धेरै रहेका छन् । पुरानो यो सडक साँघुरो र धेरै घुमाउरो छ भने स्तरवृद्धि हुन सकेको छैन । कालीगण्डकी नदीको किनारैकिनार भएर कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि पनि यो सडक केही ओझेलमा पर्ने हो कि भन्ने चिन्ता छ । यस सडकलाई आर्थिक उपार्जनसँग जोड्नका लागि पनि सिद्धार्थ राजमार्गसँग जोडिएका जतिपनि पालिकाहरु छन्, तिनीहरुले सिद्धार्थ आर्थिक करिडोरसम्बन्धी छलफल तथा अन्तरक्रिया गर्दै आएका छन् । पुल निर्माण सँगसँगै साँघुरो सडकलाई चौडा गर्ने र घुम्तीहरु कटान गर्न सके मात्रै यो सडकमा सवारी साधनहरुको चाप बढ्छ । मुग्लिन–नारायणगढ सडक बन्द हुँदा पश्चिम नेपालबाट आउने सवारी साधनहरु यही पुल हुँदै पोखरा, काठमाडौँलगायत गन्तव्यमा पुग्ने गर्छन् ।
भरतपुर । धानमा विभिन्न किसिमको रोग देखिए पछि यहाँका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञानकेन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरकी रोसनी ढकाल ओआर धानमा लागेको रोगको बारेमा जानकारी लिन आज ज्ञानकेन्द्रमा नमुना लिएर आइपुग्नुभएको थियो । समयमा युरिया र पोटास मलको कमी भएका कारण उहाँको धानमा पहेंले रोग लागेको देखियो । उहाँले सुनाउनुभयो, “औषधि गर्दागर्दै धान मर्ने हो की भन्ने चिन्ता छ ?” समयमा मल नपाउँदा धानमा समस्या देखिएको भन्दै ढकालले भन्नुभयो “धान लगाउँदा रु २० हजार खर्च आयो । अब रोगले गर्दा लगानी बराबरको धान उत्पादन हुन्छ की हुँदैन भन्नेमा शङ्का छ ।” उहाँ र आसपासका खेतमा करिब पाँच बिघा क्षेत्रफलको धानमा यो समस्या देखिएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका–१४ शिवनगरका किसान दिलबहादुर थापाले एक बिघामा लगाएको धान एक रातमा किराले सखाप पारेको बताउनुभयो । आज बिहान उठ्दा धान किराले काटिसकेको उहाँले गुनासो गर्नुभयो । धान पसाउने समयमा विभिन्न किराका कारण समस्या देखिएको भन्दै उहाँले भन्नुभयो, “समस्या समाधान हुनु पर्यो । नत्र हामी किसान मर्कामा पर्छौं ।” किसानको बारीमा अहिलेको धानमा शित व्लाइट (पातको फेद डडुवा), नेक व्लाष्ट (घाँटी मरुवा), ह्वाइट फ्लाइ(सेतो झिङ्गा), युरिया र पोटासको कमीका कारण पहेँलो हुने समस्या र धानमा दाना नलाग्ने समस्या देखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । ज्ञान केन्द्रकी अधिकृत सुरुची त्रिपाठीका अनुसार अहिले ज्ञान केन्द्रमा दैनिक १० हाराहारी किसान समस्या लिएर आउने गरेका छन् । उहाँका अनुसार जिल्लाका सातै पालिकामा यो समस्या देखिएको छ । धानखेती गरिएको २२ हजार नौ सय ७७ हेक्टर क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा रोगको समस्या देखिएको केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनमगरले जानकारी दिनुभयो । मगरका अनुसार धेरैजस्तो स्थानमा पोटास मलको कमीका कारण समस्या आएको छ । शित व्लाष्ट रोग मौसमका कारण जमिनमा हावा खेल्न नपाउँदा ढुसी लागेर हुने गर्दछ । नेक व्लाष्ट रोग मौसम अनुकूल भएर बीउमा हुने रोगको सङ्क्रमण भएको उहाँले बताउनुभयो । सेतो झिङ्गा जिल्लामा बढी सङ्ख्यामा सावित्री धानमा देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो समस्या कृषकको धानमा विगत एक महिनादेखि देखिन थालेको हो । जिल्लामा कतिपय स्थानमा धानमा दाना नलाग्ने समस्यासमेत देखिएको छ । के कारणले दाना नलागेको भन्ने विषयमा अध्ययन सुरु गरिएको कार्यालयले जनाएको छ । प्राविधिकको सल्लाहबमोजिम औषधिको प्रयोग गर्न कार्यालयले सुझाव दिएको छ ।
पाल्पा । निस्दी गाउँपालिका–४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत् सेवाका लागि रु सात हजार रकम १४ वर्ष अघि बुझाउनुभयो । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत् सेवा नपुग्दा उहाँलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो । धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा सोती औधी खुशी हुनुहुन्छ । घरमा आफैँले स्वीच थिचेर बत्ती बलेपछि उहाँको १४ वर्षपछि भए पनि विद्युत् सुविधा उपभोग गर्ने मनको तिर्सना मेटिएको छ । “बत्ती बाल्नका लागि सुरुमा नै पैसा बुझाइयो, तर काममा ढिलाइ हुँदा बत्ती कहिले आउँला भनेर धैर्य गरेर बसेको थिए, मेरो मनको इच्छा पूरा भयो”, उहाँले भन्नुभयो, “अहिले त गाउँका सबै घरमा बिजुली बल्दा रमाइलो देखिएको छ ।” रम्भा गाउँपालिका–३ अगाहाखोलाबाट ल्याइएको विद्युत् लाइन पूर्वखोला गाउँपालिका–१ सिलुवामा रहेको सव–स्टेशनबाट ल्याइएको विद्युत् लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थामार्फत वितरण भइरहेको छ । लामेदमार, गोडडाँडा, डेलखरक र मतियारडाँडाका ५२ घरधुरीमा अहिले विद्युत् सेवा पुगेको सामुदायिक विद्युतीकरण लामेदमार ट्रान्समिटर उपभोक्ता समितिका अध्यक्ष चित्र सिं आलेले बताउनुभयो । उहाँका अनुसार विद्युत् सेवा नपुगेका पोखरडहर र फोक्सीबासका २९ घर, खोर्मोकमा सात घरमा विद्युत् लाइन पुगिसकेको र केही घरमा वायरिङको काम बाँकी रहेकाले छिटो काम सम्पन्न गरी बिजुली बाल्ने तयारी भइरहेको छ । निस्दी–४ को मुढाबास, डुडीदमारामा विद्युत्को प्रक्रिया अगाडि बढाइएको छ । “निस्दीमा २०६६ सालदेखि विद्युतीकरणको काम अगाडि बढाइयो, उपभोक्ताले समितिलाई समयमा नै रकम नबुझाउने, ग्रामीण क्षेत्रमा भनेको समयमा सामान भित्र्याउन नसक्नुलगायत विविध कारणले विद्युत् विस्तारको काममा ढिलाइ हुन पुग्यो”, उहाँले भन्नुभयो । विद्युत् सुविधाले यहाँका स्थानीय उत्साहित छन् । पाल्पाकै विकट र दुर्गममा पर्ने सो गाउँका नागरिक विद्युत् अभावमा विभिन्न समस्यासँग जुध्दै जीवन व्यतीत गरिरहेका थिए । बिजुलीको सुविधाले विद्यालयमा पठनपाठनमा आधुनिक प्रविधिका सामग्रीको प्रयोग, घरमा खाना पकाउन, मोबाइल चार्ज तथा बालबालिकालाई पठनपाठनमा राहत पुगेको छ । सरकारले डिजेलको मूल्यवृद्धि गरेपछि यहाँका स्थानीयले कुटानीपिसानीमा महँगो शुल्क तिर्नुपर्दा मर्कामा परेको गुनासो छ । अब भने विद्युत् लाइनको सुविधाले धेरै राहत मिल्नेछ । डिजेलको भाउँ बढेसँगै गाउँमा सञ्चालित साना उद्योग धराशायी बन्दै गएका थिए । अब भने यहाँ साना उद्योग तथा व्यावसाय फस्टाउनेछन् । विशेष गरी यस क्षेत्रमा उत्पादन हुने सूर्यमुखी र तोरी प्रशोधनका लागि गाउँमा विद्युत् अभावमा यसअघि अरुणखोलामा जानुपर्ने स्थानीयलाई बाध्यता थियो । गाडीमा आवतजावत र प्रशोधन गर्ने ज्यालाले लागत नै उठाउन धौधौ हुन्थ्यो । सोलार बत्ती प्रयोग गर्दा बेला बेलामा ब्याट्री परिवर्तनमा खर्चिलो र आवश्यकताअनुसार प्रयोग गर्न नपाइनेजस्ता समस्या स्थानीयले खेपिरहेका थिए । अब बिजुलीको सुविधाले चौबिसै घण्टा ढुक्कले सुविधा उपभोग गर्न पाइने भएको छ । लामेदमार ट्रान्समिटरअन्तर्गत यहाँको लामेदमार, बेलखरक, गोठडाँडा, खोरमोक, रिपाहा, पोखरादहर र थोक्सिबास गाउँका करिब एक सय घरमा एकै पटक बत्ती बाल्ने योजना छ । केही टोलमा वायरिङको काम नसककिएकाले एकै चरणमा गाउँमा बत्ती बाल्न नपाए पनि छिट्टै बाँकी टोलमा बत्ती बाल्ने कार्यक्रम उपभोक्ता समितिको छ । निस्दीका केही गाउँमा चार वर्ष अघिदेखि नै बिजुली पुगेको छ । बजारदेखि टाढा र ग्रामीण भेग रहेको हुँदा आवश्यक सामग्री समयमा नै गाउँमा लैजान नसक्दा काममा ढिलाइ भएको हो । कतिपय स्थानमा भने विद्युत् पोल पनि पुग्न नसकिएको अवस्था छ । निस्दी गाउँपालिकाका सात वडामध्ये १ र २ बाहेक अन्य सबैमा बिजुली बत्ती पुर्याउने जिम्मा लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थाले लिएको छ । संस्थामार्फत चरणबद्ध रुपमा विद्युतीकरणको काम अगाडि बढिरहेको सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर सोमैले बताउनुभयो ।
पोखरा: वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको साझा संस्था एसिया मानव अधिकार तथा सास्कृतिक विकास मन्च (एशियन फोरम) को १८ औ साधारण सभा तथा ८ औं महाधिवेशनले श्रीकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मेनका पौडेल, उपाध्यक्षमा मिरा पौडेल, महासचिवमा सन्तोष बोगटी, सचिबमा दिपक राज रेग्मी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ र सदस्यहरुमा लक्ष्मण बानिया, बिजय गुरुङ, कमल रेग्मी, माया देबि शर्मा, दमन्ता खड्का र जूम बहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । त्यसै गरि संस्थाको संरक्षकमा संस्थापक अध्यक्ष सिद्दीचन्द्र बराल, संस्थापक तथा पुर्व अध्यक्ष निरज थापा, निवर्तमान अध्यक्ष किस्मतमणी श्रेष्ठ र मनबहादुर श्रेष्ठ चयन भएका छन । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक योजना तथा यातायात मन्त्री कुमार खड्काले उद्घाटन गर्दै नेपालमै कही गर्न खोज्ने युवामैत्री व्यवसायीक योजना वनाउन प्रदेश सरकार लागि परेको वताउँदै कुनै पनि युवा विदेश जानै नपरोस, वाद्यतामा जान परेमा पनि सिप सिकेर मात्र जान आग्रह गर्नुभएको थियो । साथै उहाँले वैदेशिक रोजगारी बाट स्वदेश फर्केर ब्यबसायमा संलग्न युवाहरुलाई संगठित गर्न तथा उनिहरुको सिप र क्षमता अनुसारको व्यवसायमा एशियन फोरममा आवद्ध व्यवसायीहरुले सहजीकरण गर्नुपर्ने वताउँनु भएको थियो । संस्थापक अध्यक्ष सिद्धिचन्द्र बरालले संस्था स्थापना देखि हालसम्म गरेका कार्यक्रमहरुको बारेमा बताउदै संस्थामा आबद्ध सदस्य तथा कोरिया स्थित दातृ संस्थाहरुलाई आर्भ व्यक्त गर्नु भएको थियो । सो अवसरमा पोखरा उद्योग बाणिज्य संघका उपमहासचिव शोभा गौतम, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तारानाथ पहारी, कालाबाङ घरेडी घरबास कार्यक्रमका अध्यक्ष याम बहादुर गुरुङ लगाएतले कार्यक्रम सफलता शुभकामना व्यक्त गर्दै बिदेश बाट स्वदेश फिर्ता युवालाई राज्यले निति बनाएर देशमै केही गर्ने बाताबरण बनाउन आग्रह गरेका थिए । संस्थाका केन्द्रिय अध्यक्ष किस्मत मणि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दितिय उपाध्यक्ष मेनका पौडेलले र कार्यक्रम संचालन केन्द्रिय सदस्य मिरा पौडेलले गर्नु भएको थियो ।
पोखरा: स्वाबलम्बन जीवनपद्धती केन्द्र–पोखराले अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत स्रोत कक्षाको स्तरोन्नतीका लागि विभिन्न समाग्री हस्तान्तरण गरेको छ । ह्याण्डिक्याप ईन्टरनेशनल र विश्व शिक्षासँगको साझेदारी तथा युएसएआइडीको आर्थिक सहयोगमा कास्की जिल्लामा संचालित “सबैका लागि पढाइ कार्यक्रम“ परियोजना अन्तर्गत पोखराका तीन विद्यालयलाई अपाङ्गता भएका बालबालिकाहरुको सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो । पोखरा १२ स्थित अमरसिंह मावि, पोखरा १० स्थित कुँडहर आधारभूत विद्यालयका दृष्टिविहीन विद्यार्थी र पोखरा ३३ स्थित सरस्वती टिका मा.विका बौद्विक अपाङ्गता विद्यार्थीका लागि करिब सात लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको केन्द्र अध्यक्ष हेम बहादुर गुरुङले जानकारी दिनुभयो । विद्यालयलाई स्मार्ट टिभि, राउण्ड टेबल, पि. फोम म्याट्रेस, जुट कार्पेट, वाटर प्युरिफायर, सिलिङ्ग पंखा, स्टिल दराज, कुसन, शिक्षण सिकाइ तथा खेल सामाग्री लगायत २० प्रकारका सामग्रीहरू प्रदान गरिएको छ । पोखरा महानगरपालिकाकी उप–प्रमुख मञ्जुदेवी गुरुङले ती सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा उप–प्रमुख गुरुङले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि काम गर्नु सरकारको कर्तव्य भएको बताउनुभयो । उहाँले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच स्थापित गर्न प्रोत्साहन सहितको भर्नालाई प्राथमिकता दिएको र निकट भविष्यमा नै आवश्यक कार्यविधि बनाइ अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले हुनेले आफ्नो लागि आफैले गर्न सकेपनि नहुनेका लागि राज्य आवश्यक भएको बताउनुभयो । केन्द्रका अध्यक्ष हेम बहादुर गुरूङले महानगरले समावेशी शिक्षा नीति बनाइ अपाङ्गतालगायत कठिनाइमा रहेका सबै बालबालिकाहरूलाई शिक्षाको मूलधारमा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा ह्याण्डिक्याप इन्टरनेशनलका प्रतिनिधि शिवानी भट्टराई, महानगर शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्य, सामाजिक विकास महाशाखाका प्रतिनिधि गीता नेउपानेलगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं । वरिष्ठ पत्रकार केदारमान सिंह श्रेष्ठको निधन भएको छ । लामो समय बिबिसी र एएफपीमा काम गर्नुभएका पत्रकार श्रेष्ठको आज मध्याह्न ८१ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि मुटुसम्बन्धी बिरामी उहाँको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका क्रममा आज मध्याह्न १२:०५ बजे निधन भएको उहाँका छोरा सुसनमान श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ–२१ भोटेबहाल निवासी मृतक पत्रकारको धर्मपत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ । नेपालबाट एएफपीमा ४० वर्ष र बिबिसीमा २० वर्ष काम गर्नुभएका पत्रकार श्रेष्ठले पछिल्लो समयमा स्वतन्त्ररूपमा विभिन्न पत्रपत्रिकामा लेख लेख्दै आउनुभएको थियो ।
मेलम्ची । ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाउनुभएको छ । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुनुहुन्छ रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उहाँले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहनुभएको छ । इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उहाँको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उहाँले आफ्नो फार्ममा भएका भैँसी, बाख्रा र कुखुराको रेखदेख र स्याहारसुसारमै दिन बिताउने गर्नुभएको छ । व्यावसायिकरुपमा सञ्चालित फाममा उहाँले केही सहयोगीहरु राख्नुभएको छ । तर पनि उहाँलाई सबै ठाउँमा एकपटक भए पनि पुग्नैपर्ने बानी नै लागिसकेको छ । बिहानदेखि साँझसम्म उहाँलाई फार्ममै भेट्न सकिन्छ । सशस्त्र प्रहरीमा कार्यरत उहाँले सेवा अवधि नसकिँदै बीचैमा जागिर छोड्नुभयो । तेह्र वर्षमै जागिर छोडेर १८ महिनाअघिदेखि पाल्चोकी कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर बाख्रापालन सुरु गर्नुभयो । उहाँलाई एकपटक वैदेशिक रोजगारमा जान्छु भन्ने सोच नआएको पनि होइन तर कोरोना महामारीका कारण विदेश जान पाउनुभएन । “म कसैको मातहतमा रहेर जागिर खान मन नलाग्ने मान्छे । कि आफैँ केही गर्छु, कि एकपटक विदेश गएर आउँछु भन्ने सोच आयो तर जान पाइएन”, उहाँले भन्नुभयो । वैदेशिक रोजगारीको यात्रा सफल नभएपछि दिदी भिनाजुको सल्लाहबमोजिम नै उहाँले नेपालमै केही गर्ने सोच बनाउनुभयो । गाउँमा केही गरौँ भन्ने सोच लिएर कृषि तथा पशुपक्षी फाम दर्ता गर्नुभयो । सामाजिक सञ्जालमा बढी चाख राख्ने उहाँले त्यहीँबाट बाख्रापालनका बारेमा सिक्नुभयो । गाउँपालिकामार्फत दुईदिने कुखुरापालनको तालिमसमेत लिनुभयो । त्यसले पनि उहाँलाई व्यावसायिक उद्यमतिर लाग्न प्रेरित गर्यो । सुरुमा रु एक लाख ८० हजार रुपैयाँमा १२ वटा बाख्रा किनेर फार्मको सुरुआत गर्नुभयोे । उहाँको फाममा अहिले ३६ वटा बाख्रा छन् । बाख्रासँगै उहाँले स्थानीय जातका कुखुरा, एक हजार ५०० ब्रोइलर कुखुरा, तीन वटा र्भँसी र एउटा गाई पनि पाल्नुभएको छ । व्यावसायिक पशुपालनबाट अहिले मासिक रु ६०÷७० हजार आम्दानी हुने गरेको उहाँको भनाइ छ । करिब १२ रोपनी क्षेत्रफलभित्र रहेको उहाँको फाममा सात वटा टहरा छन् । हालसम्म संरचना निर्माणदेखि पशुपक्षीसम्ममा उहाँले रु २४ लाख लगानी गरिसक्नुभएको छ । “आफ्नो परिश्रमसहित हिसाब गर्ने हो भने रु ४० लाख लगानी भएको छ”, उहाँले भन्नुभयो । कतिपय आफैँले गर्नसक्ने कामहरु उहाँ आफैँ पनि गर्नुहुन्छ । जागिरे जीवन छाडेर व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका थापाको मेहनत र कर्म निकै लोभलाग्दो छ । देशमा ‘अवसर’ नदेखेका युवाका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । आफ्नै गाउँमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण उहाँले दिनुभएको छ । उहाँले स्थानीय जातको बाख्रापालनमा विषेश जोड दिनुभएको छ । धेरैले उन्नत जातको बाख्रापालनलाई प्राथमिकता दिए पनि उहाँलाई स्थानीय जातकै बाख्रापालन गर्न रहर लागेको बताउनुहुन्छ । “उन्नत जातको भन्दा स्थानीय जातको बाख्रापालन गरेर मैले राम्रो आम्दानी गरिरहेको छु”, उहाँले थप्नुभयो । स्थानीय जातको बाख्रापालन गर्दा खर्च पनि कम हुनुका साथै स्थानीय हावापानीमा सुहाउँदो हुने हुनाले पनि स्थानीय जातको बाख्रापालन गरिरहेको उहाँको भनाइ छ । स्थानीय जातको भनेपछि व्यापारीले घरघरबाटै खसी, बोका लैजाने गरेको उहाँ बताउनुहुन्छ । बाख्रा सँगसँगै कुखुराबाट पनि उहाँले राम्रो आम्दानी गर्नुभएको छ । दश पटक ब्रोइलर कुखुरा बेच्दा रु छ लाख फाइदा भएको उहाँको भनाइ छ । उहाँले १८ महिनाको अवधिमा रु १३ लाख आम्दानी गरिसक्नुभएको छ । उहाँले छोटो समयमा नै यति धेरै प्रगति गरेको देखेर गाउँका कतिपय युवाहरु पनि व्यावसायिक उद्यमतर्फ लाग्न उत्साहित भएका छन् । बाख्रा र कुखुराबाट मात्र नभई गाई, भैँसीबाट पनि राम्रो आम्दानी गरिरहेको उहाँ बताउनुहुन्छ । उहाँको फार्ममा दुई वटा दुहुनो भैँसी र एउटा दुहुनो गाई छ । दूध बेचेर पनि राम्रो आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ । “दूध बेचेर मात्रै पनि घरखर्च चलेको छ”, उहाँले भन्नुहुन्छ । कम्पोष्ट मल प्रयोग गरेर अर्गानिक तरकारीसमेत उहाँले लगाउनुभएको छ । आफूलाई खान पुग्ने तरकारी आफँै लगाउनुभएको छ । उहाँको फार्म वरिपरि लटरम्मै फर्सी फलेका छन् । केही समयअघि उहाँले च्याउखेतीसमेत गर्नुभएको थियो । च्याउबाटसमेत रु ८० हजार आम्दानी भएकोे उहाँ बताउनुहुन्छ । “भेन्टा पनि हुकिँदै छन्, गोलभेंडा पनि लगाएको थिएँ, त्यसबाट पनि राम्रो आम्दानी भएको थियो”, उहाँले भन्नुभयो । मौसमअनुसारको तरकारी पनि फलाउने गरेको उहाँले बताउनुभयो । व्यवसायमा उहाँलाई घर परिवारबाट राम्रो साथ र सहयोग रहेको छ । “हामी श्रीमान् श्रीमती मिलेर काम गर्छौं, एकअर्काको साथ सहयोगले गर्दा यहाँसम्म आएका हौँ”, उहाँले भन्नुभयो, “म बाख्रा चराउन गएका बेला उनी गाई, भैँसी र कुखुराको स्याहार गर्छिन् ।” उहाँहरुले कुटानीपिसानी मिलसमेत सञ्चालन गर्नुभएको छ । बिहान बेलुकाका समयमा धान कुट्ने, मकै र मसला पिँध्नेसमेत गर्नुभएको छ । यसबाट वरिपरिका स्थानीयलाई समेत सहज भएको छ । सरकारको यसरी नै गाउँघरमा बसेर काम गरिरहेका युवालाई सहयोग गर्ने हो भने कृषिउपजमा आत्मनिर्भर बन्न सकिने उहाँले बताउनुभयो । स्थानीय सरकारले कृषिमा अनुदानका कार्यक्रम सँगसँगै आधुनिकीकरण गरेर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । खोर व्यवस्थापन, आधुनिक खेती प्रणालीजस्ता कुराको तालिम सरकारले उपलब्ध गराउनसके कृषकहरुमा थप ऊर्जा थपिने थापाले बताउनुभयो । त्यसो गर्न सकेमा कृषक आफैँ उत्साहित हुने उहाँको भनाइ छ । “कृषिमा युवा नआएसम्म परिवर्तन सम्भव छैन । सरकारले सहयोग गरेन भने हामीले केही गर्न सक्दैनौँ । सरकारी सहयोग नभएमा युवा विदेश जान बाध्य हुनुपर्ने अवस्था छ । सरकारले युवा व्यवसायमैत्री नीति बनाउनसके युवा विदेश पलायन हुनबाट रोकिन्छन् र स्वदेशमै उत्पादन बढ्न जाने उहाँको तर्क छ ।