गलकोट : विद्यालय भवन मर्मत अभावमा गाह्रो बाङ्गिएको छ । भवन छाएको जस्तापाता खिया मात्रै लागेको छैन, कुच्चिएको छ । भित्ताको माटो उप्किएर भवन चर्किएको भाग प्रष्ट देखिन्छ । यो अवस्था शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्रको गृहजिल्ला बागलुङ सदरमुकामस्थित बागलुङ नगरपालिका–७ ठाडास्वार छरिखोलास्थित सरस्वती प्राथमिक विद्यालयको हो । विद्यालयको भौतिक संरचनाको दुईकोठे भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । आफ्नो दुई कोठे जीर्ण भवनबाटै विद्यार्थीलाई पठनपाठन गराउन बाध्य रहेको विद्यालयका प्रधानाध्यापक रेशम परियार बताउनुहुन्छ । “दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । भवन अभावमा पठनपाठनमा निकै समस्या भयो । जीर्ण दुई कोठे भवन र तीन कोठे पक्की भवन छ । बालविकास र पाँच कक्षा, प्रशासनिक काम, पुस्तकालय र प्रयोगशाला सबै त्यहीँ पाँच वटा कोठाबाट चलाइएको छ”, परियारले भन्नुभयो, “पक्की भवनको कोठालाई बाँडेर पढाउन बाध्य छौँ, जीर्ण भवन मर्मत गर्ने विद्यालयको आन्तरिक स्रोत छैन ।” बागलुङ नगरपालिका–७ का वडाध्यक्ष मघराज गैरेले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवनलाई बजेट पर्ला भनेर वडाले तारबारलाई बजेट पारेको बताउनुभयो । गैरले भन्नुभयो, “विद्यार्थी कम भएको विद्यालयलाई त केही नहोला तर यहाँत दलित समुदायका विद्यार्थीलाई पठनपाठनमा असहज भएको छ ।” यस वर्ष राष्ट्रपति शैक्षिक सुधारअन्र्तगत कार्यक्रममा भवन समावेश नभए पनि अर्को पटक पहिलो प्राथमिकतामा पारेर भवन माग गर्ने बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । RSS
बाँके । बाँके जिल्लामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर र कोहलपुर नगरपालिकामा नहरमा डुबेर दुई जनाको मृत्यु भएको हो । राप्तीसोनारी–८ शम्शेरगञ्जका ७३ वर्षीय बुद्धिमान लामाको करेन्ट लागेर मृत्यु भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार लामाको पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी सिक्टा सिँचाइ आयोजनाको नहरमा डुबेर कोहलपुर–८ का ११ वर्षीय आकाश गिरीको मृत्यु भएको छ । शनिबारदेखि बेपत्ता रहेका गिरीको शव आइतबार साँझ मात्र नहरमा फेला परेको उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।
पाल्पा । सारङ्गी, मादल, हार्मोनियम, मुर्चुङ्गालगायत दर्जन बढी वाद्यवादनका सामानले कोठा भरिएका छन्, घर वरपरको वातावरण बिहान होस् या दिउँसो, साँझ सङ्गीतले गुञ्जयमान छ । सडक नजिकै जोडिएको घर, बाटो हिँड्ने यात्री एकछिन अडिएर मीठो सङ्गीतको धुन सुनेर आफ्नो गन्तव्यमा पाइला बढाउँछन् । सङ्गीतको तालमा आफ्नो जीवनको समय उत्तराद्र्धमा पुगेको अझै पत्तो छैन, टीकाराम ढकाललाई । उमेर गन्ती गर्दा उहाँ ठ्याक्कै ६१ वर्षमा पुग्नुभयो तर सङ्गीतले १६ वर्षे जवानीको जोशिलो पारामा सङ्गीतको तालमा डुबुल्कु मार्नुहुन्छ । पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुका उहाँको दैनिकी वाद्यवादनमा बित्ने गरेको छ । कोठामा सजाएर राखिएका थरिथरिका बाजा बजाएर जीवन व्यतीत गरिहनुभएको छ । “उमेरले छ दशक नाघिसकेछ तर सङ्गीतले १६ वर्षे ठिटो छुजस्तो बनायो, बाजा बजाउन भनेपछि मनभित्रै देखि नै निकै जोशिलोपन बढेर आउँछ, बुढ्यौली टेकेजस्तो लाग्दैन”, उहाँले भन्नुभयो, “सङ्गीतमा रमाएर बाँच्ने नै मेरो सङ्कल्प हो त्यसरी नै बाँचिरहेको छु,, एउटा नशाजस्तै बनेको छ ।” घरमा बुबाबाट बाँसुरी बजाउने प्रेरणा पाएपछि १३ वर्षको उमेरदेखि नै वाद्यवादनमा लाग्नुभएका ढकालले १७ थरिका बाजा बजाउनुहुन्छ । आफूले बजाउने सबै बाजा घरमा किनेर राख्नुभएको छ । बाँसुरी, खैजडी, मुजुरा, मादल, माउथ हार्मोनियम, हार्मोनियम, किबोर्ड, अक्टोप्याड, मुर्चुङ्गा, पात, छ्याइछ्याइ, सहनाई, ठूलो झ्याली, शङ्ख, डमरु, सारङ्गी, मोहोलीलगायतका बाजा बजाउन सिपालु हुनुहुन्छ । बिहान उठेदेखि नै साँझसम्म बाजासँगै दैनिकी बितेको छ । करिब तीन लाख बढीका वाद्यवादनका सामग्री खरिद गर्नुभएको छ । नयाँ बाजा देख्ने बित्तिकै झिकाउने र घरमा आफैले सिक्ने गर्नुहुन्छ । उहाँले पुराना बाजा मात्रै नभई बजारमा आएका आधुनिक खालका बाजा पनि मज्जाले बजाउने गर्नुहुन्छ । लोपोन्मुख अवस्थामा रहेको पुरानो बाजा मोहोली र मुर्चङ्गा घरको दराजमा संरक्षण गरेर राख्नुभएको छ । विशेष गरी बाँसुरी, खैजडी, मुजुरा, हार्मोनियम, सारङ्गी, अक्टोपसलगायतका बाजा बढी बजाउन मन पराउनुहुन्छ । “औपचारिकरुपमा कला संस्कृति सिक्ने चाहना थियो तर त्यस समयमा वातावरण बनेन, राष्ट्रियस्तरसम्म पुगेको भए एक खालको राष्ट्रिय कलाकारको उपाधि बन्थ्यो, तै पनि स्थानीयस्तरमा नै वाद्यवादनमा भिजेको छु, यसमै सन्तुष्टि मिलेको छ, मेरो कलालाई राष्ट्रियस्तरका कलाकारले पनि चिनेर घरमा बेला–बेलामा आउने गर्नुहुन्छ ।” मानिसका जीवनका दुःख र पीडालाई भुल्न सङ्गीत अतिआवश्यक रहेको उहाँ बताउनुहुन्छ । ब्लड क्यान्सर रोगले ग्रसित उहाँ नियमित उपचारसँगै घरमै वाद्यवादन कार्यमा रहँदा रोगको पीडा नै भुल्दै गएको अनुभव सुनाउनुभयो । करिब १६ वर्ष अघि क्यान्सर रोगले आक्रमण गरेपछि नेपाल तथा भारतका विभिन्न अस्पतालमा नियमित उपचार गरेपछि अहिले दुई वर्षयता भने रोग निको हुँदै जाँदा उपचारमा अस्पताल कम धाउनुपरेको छ । करिब १४ वर्षसम्म रोगसँग जुध्नुभएका ढकालले घरको कोठामा बसेर दिनभर विभिन्न थरिका बाजा बजाउने गर्दा आफ्नो शरीरको करिब २५ प्रतिशत रोग निको हुँदै गएको अनुभूति सुनाउनुभयो । सरकारले सङ्गीतलाई संरक्षण गरिनुपर्नेछ, जसले गर्दा यस क्षेत्रमा लाग्न सबैलाई प्रेरणा मिल्नेछ । मेरो शरीरको रोग निवारण गर्ने एक चिज सङ्गीत हो, सङ्गीतमा भुलेपछि सबै कुरा बिर्सिर्दै गएको ढकालले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बाजा बजाउँदै गर्दा रोगको पीडा कम भएको महसुस भयो, जीवनलाई भुलाउने माध्यम भनेको सङ्गीत रहेछ, जीवनको अन्तिम समयसम्म पनि यसरी नै वाद्यवादनमा नै रमाउनेछु, यसमै जीवन आनन्दमय व्यतीत भइरहेको छ ।” रामपुर भजनकीर्तन मण्डलीका अध्यक्षसमेत रहनुभएका ढकालले संस्थालाई व्यवस्थित गरी यस क्षेत्रमा वाद्यवादनमा रुचि जगाउने र सिक्न चाहनेलाई सङ्गीत सिकाउने लक्ष्यका साथ सामाजिक कार्यमा उहाँ सक्रिय भएर लाग्नुभएको छ । अहिले यस क्षेत्रमा युवा उहाँकै कलाबाट प्रभावित भएर विभिन्न थरिका बाजा बजाउने र भजनकीर्तनमा सहभागी हुने गरेका छन् । सङ्गीत अपार चिज हो, जतिसुकै मानिस पढेर विद्वान् भए पनि जीवन जिउने यो अति आवश्यक पर्ने उहाँको भनाइ छ । उहाँ समूहमा गाउँघरमा हुने धार्मिक तथा शुभकार्य, विभिन्न सभा समारोह, मेला महोत्सव, सांस्कृतिकलगायतका विभिन्न कार्यमा वाद्यवादनमा सरिक हुँदै आउनुभएको छ । पाल्पा, स्याङ्जा, तनहुँ, रुपन्देही, गुल्मी, कास्की, नवलपरासी, गोरखा, लमजुङ, बाग्लुङ, महेन्द्रनगर, सुर्खेत, काठमाडौँ, चितवनलगायतका विभिन्न जिल्लामा वाद्यवादनका निम्ति उहाँ पुग्नुभएको छ । पुराना मौलिक बाजा बजाउने कलाकारसँग नगरको कला संस्कृतिको विकासमा स्थानीय सरकारले छलफल तथा सुझाव माग गरेमा यस क्षेत्रको विकास हुने थियो तर कला संस्कृति संरक्षणमा नागरिकले अनुभूति हुने खालको काम नगरेकोमा भने उहाँ चिन्तित हुनुहुन्छ । घरमा युवा वाद्यवादन सिक्न बेला–बेलामा आउने गरेकाले आफूमा भएको कला, संस्कृति नयाँ पुस्तालाई सिकाउने र हस्तान्तरण गर्ने उहाँको इच्छा छ । सङ्गीत जीवन जिउने एउटा शक्ति मात्रै नभई यसको मीठो ध्वनिले पारिवारिक वातावरण रमाइलो र खुसी बनाएको बताउनुहुन्छ, उहाँका श्रीमती विष्णुमाया ढकाल । “मैले जाने बुझेदेखि नै वाद्यवादनमा बढी सौखिन हुनुहुन्छ, घरपरिवारको कुनै तनाव छैन, सबै जिम्मेवारी मैले सम्हालेको छु, उहाँको दैनिकी वाद्यवादनमा नै बितिरहेको छ”, उहाँले भन्नुभयो । सङ्गीतले धेरै मानिसलाई बाँच्ने प्रेरणा र दुःख पीडा भुल्न सिकाउँछ । सङ्गीतको शक्ति एउटा आवाज, भाषा वा बोलीजस्तै हो । यसमा इमोसन र भावना हुन्छ । सङ्गीतको स्केल, धुन, पद्घति, शैली निकै बेग्लै हुन्छ, जसलाई महसुस गर्न सकिन्छ, शब्दमा भन्न सकिँदैन । अद्भूत आनन्दमय हुन्छ साङ्गीतिक संसार । सङ्गीतले क्षणिक मनोरञ्जन दिनेमात्र होइन यसले चिरस्थायीरुपमा आनन्द समेत दिन्छ । आत्मसुखको मूल स्रोत नै सङ्गीत हो । भक्तिमार्गको अभिन्न अङ्ग नै सङ्गीत हो । मान्छेले मात्र सङ्गीतमा आत्मसुख पाउँदैनन् । पशुपन्छीलाई समेत मोहित पार्ने खुबी सङ्गीतमा छ ।
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाउनुभएको थियो । उहाँले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाउनुभएको स्याउखेतीले स्याहार पाएन । सशस्त्र प्रहरी र माओवादी द्वन्द्वका कारण जुमबहादुरको परिवार बुटवलमा सर्यो । दश वर्षअघि उहाँले लगाउनुभएका स्याउका बिरुवा मासिए, नेपाल प्रहरीको जागिरे रहनुभएका जुमबहादुरले २०५८ सालमा अवकाशपछि थालनी गर्नुभएको स्याउखेतीप्रतिको रुचि उहाँमा अझै घटेको थिएन । स्याउखेतीका विषयमा जागिरे जीवनमै विभिन्न स्थानमा सेवा गर्दा थाहा पाइसक्नुभएका जुमबहादुरले जनआन्दोलनपछि परम्परागतरुपमै स्याउखेती थाल्नुभएको थियो । स्याउ राम्रो उत्पादन हुन नसक्दा उहाँको मात्रै हैन निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका थिए । ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसान व्यावसायिक उत्पादनमा अग्रसर भएका थिएनन् तर जुमबहादुरले आफ्नो व्यक्तिगतरुपमा ढोरपाटन स्याउ फार्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने तयारी गर्नुभयो । पन्ध्र रोपनी जग्गामध्ये आठ रोपनी जग्गामा स्याउखेतीका लागि तयारी अवस्थामा राखिएको छ । पाँच रोपनी जग्गामा नयाँ दुई सय २० बिरुवा र पुराना ५० वटा स्याउका बिरुवा छन् । कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षात्का कारण व्यावसायिक स्याउखेती गर्न कठिन देखाए पनि कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएका आधुनिक प्रजातिको स्याउका बिरुवा ढोरपाटनमा परीक्षणका लागि मात्रै लगाइएको थियो । परीक्षणका लागि लगाएको स्याउखेती एक वर्षमै सफल बनेको पाइएको छ । सानो बोटमा धेरै स्याउ फल्नेगरी विकास गरिएको इटालियन प्रजातिको स्याउले एकै वर्षदेखि उत्पादन दिन थालेपछि ढोरपाटन क्षेत्रको हावापानीमा उक्त स्याउको परीक्षण सफल भएको ढोरपाटन स्याउ ब्लकका अध्यक्षसमेत रहनुभएका जुमबहादुरले बताउनुभयो । “मैले स्याउखेती गर्न थालेको धेरै भयो, परम्परागत स्याउ फस्टाउन सकेन तर एक वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको बिरुवामा स्याउ फलेको छ, अहिले एक सय २० बिरुवा लगाइसकेको छु, एक वर्षअघि लगाइएका सय बोटमध्ये २१ बोटमा स्याउ फलेको छ”, जुमबहादुरले भन्नुभयो, “यहाँका किसानले परम्परागत तरिकाले लगाएका स्याउको उत्पादन हावापानीअनुसार राम्रो उत्पादन नहुँदा समस्या थियो, अहिले उक्त नयाँ प्रजातिको स्याउका बिरुवा अनुदानमा प्राप्त गरेकामा एक वर्षमै स्याउ फल्दा दङ्ग परेका छन् ।” बागलुङको ढोरपाटन क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती गर्न थालेको वर्षौं भए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको बिरुवा नै उत्कृष्ट देखिएको छ । ढोरपाटन उपत्यकाका सेन्तुङ, श्यालपाखे र निशेलढोर, मसलगायत स्थानमा परम्परादेखि नै फाट्टफुट्ट स्याउखेती हुने गरेपनि त्यसले व्यावसायिकता पाउन सकेको थिएन । आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा ढोरपाटन नगरपालिका–९ र निसीखोला गाउँपालिका–५ लाई मसेटेर ढोरपाटन स्याउ ब्लक कार्यक्रमसमेत चलाइ यहाँका किसानलाई स्याउखेतीप्रति जागरुक बनाइएको थियो । ढोरपाटन क्षेत्रमा उक्त इटालियन प्रजातिका एक हजार एक सय १५ बिरुवा किसानलाई वितरण गरिकामा एक वर्षमै उत्पादन दिन सुरु गरेपछि किसान खुसी भएका छन् । ढोरपाटन उपत्यकाका किसान रामबहादुर घर्तीले एक सय ८१ वटा बिरुवामध्ये केही बिरुवामा एक वर्षमै स्याउ फल्न थालेको बताउनुभयो । यस्तै ढोरपाटनकै जीवन पुनले पनि परीक्षणका रुपमा उक्त प्रजातिको एक सय १६ बिरुवा लगाउनुभएकामा १६ वटाको हुर्काइ राम्रो देखेपछि थप एक सय बिरुवा लगाउनुभएको हो । ढोरपाटन स्याउ ब्लकका अध्यक्ष जुमबहादुरले यो वर्ष ढोरपाटनका स्याउ लगाउन इच्छुक किसानलाई कृषि ज्ञानकेन्द्रमार्फत चार हजार ५०० बिरुवा माग गर्नुभएको उक्त केन्द्रकाका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । “छिटो फल्ने, थोरै जग्गामा धेरै बिरुवा लगाउन सकिने र आधुनिक प्रजातिका स्वादिलो स्याउ फलाउन सकिन्छ”, उहाँले भन्नुभयो, “ढोरपाटन, निशेलढोर, तमानको उच्च भाग र जैमिनीको उच्च भागबाटसमेत उक्त स्याउका बिरुवाको माग भएको छ, स्याउ किसानको उत्साहलाई ज्ञानकेन्द्रले मनन गरेको छ, बागलुङको हावापानीमा इटालीबाट ल्याइएको बिरुवा राम्रोसँग हुर्किएर फल दिएको छ ।” उक्त बिरुवा डेढदेखि दुई मिटरसम्म अग्लो हुन्छ । ढोरपाटन क्षेत्रको हावापानीमा इटालियन प्रजातिअन्तर्गतका चार प्रकारका आधुनिक स्याउको परीक्षण सफल भइसकेकाले व्यावसायिक उत्पादन बढाउनका लागि किसानलाई पहिलो वर्ष ५० र अहिले ७५ प्रतिशत अनुदानमा बिरुवा दिन थालिएको प्रमुख भट्टराईले बताउनुभयो । इटालियन प्रजातिको एउटै बिरुवाको बजार मूल्य एक हजार २०० रहेको छ भने अहिले ७५ प्रतिशत अनुदानमा विरुवा वितरण गर्दासमेत किसानको लागत प्रतिबिरुवा रु तीन सय पर्ने गरेको छ । परम्परागतरुपमा लगाइएको स्याउको बोटले तीन वर्षदेखि चार वर्षसम्ममा मात्रै उत्पादन दिन थाल्ने गरेकामो आधुनिक प्रजातिको स्याउको बिरुवाले एक वर्षमै उत्पादन दिन थालेपछि यहाँका स्याउ किसान हर्षित भएका छन् । उक्त बिरुवाको मनाङ र मुस्ताङमा सेमत उच्च माग रहेको छ । थोरै स्थानमा धेरै स्याउ छोटो समयमै फलाउनका लागि इटालियन स्याउको बिरुवा उपयुक्त छ । छुट्टाछुट्टै स्याउखेती गर्दा तारबार र पर्खालमा धेरै लागत लाग्ने भएकाले सामूहिकरुपमा नै स्याउ खेती गर्ने अभियानमा निशेलढोर र ढोरपाटनका किसान अग्रसर भएका छन् । स्थानीय जागतको स्याउलाई हाइब्रिड गरेर उक्त प्रजातिको स्याउका बिरुवा उत्पादन गरिएको हो । लगाएको एक वर्षमा फल्न थाल्ने उक्त इटालियन प्रजातिका स्याउ सुरुमा १०केजीदेखि सुरु भएर बयस्क रुखमा ८० केजीसम्म फल्ने गर्दछ ।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती र सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुने, बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको गाउँपालिकाले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले उपहार दिन थालिएपछि गर्भ र सुत्केरी परीक्षण गराउने दर ३२ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको जानकारी दिनुभयो । घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहारसहित विभिन्न सन्देशमूलक अभियान सञ्चालन गरेको छ । ]“तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक/एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई एक वटा कुखुराको भाले दिने गरेका छौँ”, स्वास्थ्य शाखा प्रमुख बरुवालले भन्नुभयो, “सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा दिन्छौँ ।” आर्थिक वर्ष २०७८/७९ मा अन्नपूर्ण गाउँपालिकामा एक सय २७ ले संस्थागत प्रसूति सेवा लिएका छन् । उनीहरु मध्य ४५ जना पालिकाभित्रकै स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए । आठ वटा वडा रहेको अन्नपूर्णको १ दोवा, ३ दाना र ४ नारच्याङबाहेकका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र छन् । वडा नम्बर ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालन भएको छ । नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको छ । आव २०७८/७९ मा रु छ लाख विनियोजन भएको यो कार्यक्रमका लागि चालु आव २०७९/८० मा पनि रु छ लाखनै विनियोजन गरेर निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ । गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहार सुधारमा जागरण आएको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजाले बताउनुभयो ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताउनुभएको छ । संविधान दिवस २०७९ का अवसरमा मुख्यमन्त्री पोखरेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले वित्तीय स्र्रोत पर्याप्त प्राप्त नहुँदा, अधिकार हस्तान्तरण र जनशक्ति व्यवस्थापनमा ढिलाइका कारण प्रदेश तहले चाहेजस्तो काम गर्न नसकेको अनुभूति भए पनि क्षमताअनुसार काम गरेर पहिचान स्थापित गराउन सफल भएको बताउनुभएको हो । सन्देशमा संविधानमा कतिपय अधिकार प्रदेशमा हस्तान्तरणमा ढिलाइ भइरहेको जनाउँदै उहाँले प्रदेश संरचना नै सङ्घीयताको खास पहिचान भएको उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले शुमकामना सन्देशमा सहकार्य, समन्वय र सहअस्तित्वलाई संविधानले आत्मसात् गरेको उल्लेख गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायमगरी दीगो विकासका लक्ष्यप्राप्तिका लागि तीन तहबीच समन्वय जरुरी रहेको उहाँको भनाइ छ । “संविधानसभा संविधान जारी भएको आजको यो दिन नेपाल र नेपालीका लागि ऐतिहासिक हो । लगातार सात दशकको सङ्घर्षबाट नेपाली नागरिकले आफ्नो संविधान लेखनमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाएको छ”, सन्देशमा भनिएको छ । संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज भएको भन्दै उहाँले यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयनसँगै उनीहरुका आवश्यकताको सम्बोधनका लागि प्रयासरत रहनुपर्नेमा जोड दिनुभएको छ । नेपालको संविधानले मौलिक हकमार्फत प्रत्याभूत गरेका अधिकारको कार्यान्वयन गर्दै आधारभूत आवश्यकतामा सबै नागरिकको पहुँच पुर्याउनका लागि संविधान दिवस २०७९ प्रेरणा दिने उहाँको विश्वास छ ।
पोखरा । एउटा सानो उपत्यका झै लाग्ने कास्कीको माछापुछ्रे गाउँपालिका–१ ‘घाचोक’ प्राकुतिक सुन्दरताले भरिएको ठाउँ हो । यहाँको दृश्य मन लोभ्याउँदो छ । पहाडी दृश्य, त्यसमाथि गुरुङ/मगर बस्ती, त्यहाँ बनेका परम्परागतशैलीका घर, नजिकै ठूला ठूला पहाड भएपछि कलाकारलाई अरु केही चाहिएन । सेतो पर्दाझैँ लाग्ने हिमशृङ्खला थपिँदाको दृश्यपान घाचोक पुग्नेका लागि ठूलो सपना भइदिन्छ । शनिबार भने त्यो अवसर राम्ररी जुरेन । मौसम परिवर्तनले नजिकबाट नियाल्न पाउने हिमशृङ्खलालाई क्यान्भासमा उतार्न नपाइए पनि बेलाबेलामा बादल छिचोल्दै टुप्लुक्क निस्कने हिम चुचुराले चार देशबाट जम्मा भएका एक सय १८ चित्रकारलाई एकतृत गराउँदथ्यो अनि दृश्य कैद गर्न मोबाइल ठड्याउँथे तर एकै छिनमा बालदभित्रै हराइदिन्थ्यो ती चुचुरा । यस्तैयस्तै लुकामारी चल्दै रह्यो दिनभर । “बादलको पर्दा उघ्रदिए कलाकार कति खुसी हुन्थ्ये होला”, स्थानीयवासीले दिनभर त्यो प्रार्थना गरिरहे पनि कला सिर्जनाका विषय यत्रतत्र थिए घाचोकमा । पाइलैपिच्छेका दृश्यले कलाकारका मन लोभ्याउँथ्यो । अग्रज कलाकार बुद्धि गुरुङ र चितवनका कलाकार डि बरालले त्यही दृश्य हेरेर क्यान्भासमा कुची चलाएको वर्षौ भइसक्यो । विदेशीले यस्ता दृश्य औँधी मनपराउने हुँदा कास्कीका मात्रै होइन अन्य जिल्लाका कलाकारसमेत पोखरा र आसापासका दृश्य लिन आइरहन्छन् । कलाकार प्रकाश थापा (प्रथा) आइतबारको कला सिर्जना प्रतियोगिताको निर्णायक हुनुहुन्थ्यो तर त्यहाँको दृश्य देख्दा उहाँ पनि क्यान्भास नकोरी बस्न सक्नुभएन । कालाकार थापाले अन्य कलाकार सरह स्थानीय रहनसहन र बस्तीलाई पानीरङले सजाउनुभयो । भक्तपुरका अर्का कलाकार अञ्जन अधिकारले पहिलो पटक यहाँ जलरङ खेलाउनुभयो । एक्रेलिक र तेल रङले चित्र सिर्जना गर्नुहुने अधिकारीले घाचोकलाई भने जलरङले आकार दिनुभयो । पोखराबाट केही घण्टाको सवारी यात्रामै पुगिने ठाउँ हो घाचोक । स्थानीय संस्कृति र मौलिक परम्परालाई जोगाउँदै अहिले त्यहाँ होमस्टेसमेत सञ्चालन गरिएको छ । आगन्तुकलाई घाटुलगायत नाच देखाएर मनोरञ्जन प्रदान गर्न स्थानीयवासी हौसिहाल्छन् ।। आइतबार स्थानीय परिकारसहित मौलिक संस्कृति र परम्पराका स्वाद पस्किएर गाउँलेले कलाकारलाई भरपुर मनोरञ्जन दिए । आइतबार साँझसम्मै हिमशृङ्खलालाई क्यान्भासमा उतार्ने स्वदेशी तथा विदेशी कलाकारको चाह भने पूरा हुनै पाएन । त्यसैले कलाकारले अली खल्लो महसुस गरिरहेका देखिए । कलाकार सुरेश स्याङतानलाई स्थानीय परम्परागत घरले लोभ्यायो । उहाँले त्यसैलाई आर्ट पेपरमा कैद गर्नुभयो । अधिकांश कलाकारले स्थानीय रहनसहन र संस्कृति तथा प्राकृतिक दृश्य र बस्तीको चित्र सिर्जना गर्न भ्याएका थिए । चर्चितदेखि नवकलाकारसमेतको सहभागितामा भएको ‘पोखरा आर्ट क्याम्प’को दोस्रो महत्वपूर्ण कार्यक्रम घाचोकमा भएको हो । उनीहरुले बनाएका चित्र प्रदर्शन पनि गरे पनि परम्परागत घर भने हराउँदै गएको पाइएको छ । भएका घर पनि कमेरो र रातोमाटाकोे नभइ आयातित रङले सजिएका पाइए भने सिमेन्टेड घरको वर्चस्व हुन थालिसकेको देखिन्छ । त्यसअघि आइतबार बिहान कलाकारको समूहले पोखराको कुमुदिनी होम्सस्थित जेके आर्ट ग्यालरीको भ्रमण गरे। त्यहाँ पुराना कलाकारका सिर्जनादेखि नव कलाकारका सिर्जनासमेत देख्न पाइन्छ । यो एटा आर्ट सङ्ग्रहालयका रुपमा विकास गरिएको छ । शनिबार पहिलो कार्यक्रम पोखराको बगरमा स्वदेश र विदेशका १२ मास्टर आर्टिष्टबाट चित्र सिर्जनाको लाइभ डेमोस्ट्रेसन भएको थियो । आज यहाँको शान्ति स्तुपा फेवाताललगायत आसपासका सुन्दर दृष्यलाई जलरङले क्यान्भासमा सजाउने योजना कलाकारको छ । यही असोज १ गते चित्रकारको ठूलो जमात पोखरा प्रवेश गरेकामा भारत, बङ्गलादेश र इरानका २८ कलाकार सहभागी छन् । उनीहरुलाई ९०नेपाली कलाकारले साथ दिइरहेका छन् । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको ‘पोखरा आर्ट क्याम्प’का स्थानीय संयोजक मनोज तामाङ यति धेरै सङ्ख्याका कलाकार सहभागी भएर पोखराका दृष्य चित्रमा समेट्दा यसले यहाँको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउनुहुन्छ । हुन त कला भनेको त्यस देशको पहिचान हो । कलाले आपसी सम्बन्ध विस्तारमा टेवा पुर्याउँछ । कलाको भाषा सजिलोसँग बुझ्ने भएकाले पनि यसलाई दूतका रुपमा लिने गरिन्छ । कलाकारले तत्कालै मात्र चित्र सिर्जना गर्दैनन् । उनीहरुले क्यामेरामा कैद गरेका तस्वीर घरमै पुगेर पछिसम्म पनि सिर्जना गरिरहेका हुन्छन् । त्यसले कयौँ वर्ष पर्यटक प्रवद्र्धनमा सघाउ पुर्याइरहने आइडब्लुएस नेपालका अध्यक्ष तथा कार्यक्रम मूल आयोजक समितिका संयोजक एनवी गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार दश वर्ष अघि नेपाल आएका कलाकारले अहिले पनि नेपाली दृष्य सिर्जना गरिरहेका छन् भन्नुहुन्छ ।
काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले संविधान जलाउन खोजेका थिए ।
पोखरा । नेपाल पावरलिफ्टिङ संघद्वारा आयोजित दोश्रो रुप स्मृति राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा कास्कीलाई अधिक सफलता मिलेको छ । गत शुक्रबार र शनिबार काठमाडौं स्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना भएको प्रतियोगितामा कास्कीका खेलाडीहरुले विभिन्न तौल समूहमा पदक जितेका हुन् । प्रतियोगितामा पुरुषतर्फ ४५ बर्ष भन्दा बढी उमेर समूहमा टेकेन्द्र गुरुङले स्वर्ण पदक हात पारे । रानीपौवा स्पोर्ट्स सेन्टरका खेलाडी गुरुङले ५३७.५ केजी तौल उठाएर मास्टर ओभरअल च्याम्पियन बनेका हुन् । त्यस्तै प्रतियोगितामा महिला तर्फ सबै भन्दा धेरै तौल उचालेर ज्योति थापा ओभरअल च्याम्पियन बनिन् । बब्स जिमका थापाले ५५.१ देखि ६३ केजी तौल समूहमा ३४७.५ केजी तौल उठाएर प्रथम हुँदै ओभरअल च्याम्पियन बनेकी हुन् । सोहि तौल समूहमा कास्कीकै पुनम बम्जनले ३२७.५ केजी तौल उठाएर रजत पदक जितिन् । त्यस्तै ८३.१ देखि ९३ केजी तौल समूहबीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टर कै सनिस श्रेष्ठले स्वर्ण पदक हात पारे। श्रेष्ठले ५४२.५ केजी तौल उठाएका थिए । ९३.१ केजी तौल भन्दा बढी तौल समूहबीच भएको प्रतिस्पर्धामा सुमिन परियारले ४८४.५ तौल उठाएर रजत पदक जिते। त्यसै गरि महिला तर्फ ६३ केजी भन्दा बढी तौल समूहबीच भएको प्रतिस्पर्धामा शर्मिला शाहले स्वर्ण पदक जितिन् । शाहले ३९२.५ केजी तौल उठाएकी थिइन् । सोहि तौल समूहमा कास्कीकै सिमा गुरुङले ३७७.५ केजी तौल उठाएर रजत पदक जितिन् । ५५ केजी भन्दा कम तौल समूहमा सपना गुरुङले २७७.५ केजी तौल उठाएर कास्य पदक जितिन् । प्रतियोगितामा महिला तर्फको ओभरअल च्याम्पियन ज्योति थापाले रु एक लाख प्राप्त गरिन् । त्यस्तै मास्टर ओभरअल च्याम्पियन टेकेन्द्र गुरुङले २५ हजार रुपैयाँ प्राप्त गरे । बाँकी विभिन्न तौल समूहमा भएको प्रतिस्पर्धामा पहिलोले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगर सहित पदक प्राप्त गरे । प्रतियोगितामा पुरुष तर्फको ओभरअल च्याम्पियन भने काठमाडौंका सुकदेव श्रेष्ठ भए । सुकदेव र ज्योति थापा अघिल्लो संस्करणका च्याम्पियन पनि हुन्। प्रतियोगितामा भाग लिन कास्कीबाट ९ जना पुरुष र ६ जना महिला गरि १५ जना सहभागी भएको कुरा नेपाल पावरलिफ्टिङ संघ कास्कीका अध्यक्ष हसन गुरुङले बताए । गुरुङले अरु जिल्लाको तुलनामा कास्कीले अधिक सफलता प्राप्त गरेको बताए । पावरलिफ्टिङ खेलमा कास्कीका खेलाडीहरु निकै मिहिनेतका साथ लागेका थिए । अहिले सफलता मिल्दा खुसि लाग्यो, गुरुङले भने, यसमा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको पनि ठुलो साथ रहेको छ। आर्थिक मात्र नभई विभिन्न रुपमा सहयोग गर्नले नै यो सफलता मिलेको हो। आगामी दिनमा पनि यस्तै सहयोग भए पावरलिफ्टिङ खेलमा हाम्रो प्रदेश सधैँ अगाडी रहनेछ । पावरलिफ्टिङ खेलको अन्तर्राष्ट्रिय खेलाडी र रेफ्री समेत रहेका गुरुङ १५ जना खेलाडीका नेतृत्व गरेर आफैँ राजधानी पुगेका थिए । प्रतियोगितामा १५८ खेलाडीले सहभागिता जनाएका थिए । नेपाल पावरलिफ्टिङ संघ प्रतियोगीताको पहिलो संस्करण २०७७ चैतमा आयोजना गरेको थियो । संघका अध्यक्ष सुन्दर भुषालले संघले कार्यक्रम गर्ने तयारी गरिरहँदा रुप कार्कीको निधन भएकोले उनकै सम्मानमा यो प्रतियोगिता सुरु गरिएको बताए ।