मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

मुगु | कात्तिक १७, २०७९

मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

 

मुगु: गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ ।


    पहिराले क्षति पुर्याएका विद्युत्गृह पुनःनिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत् उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन गरी मुगु र हुम्लामा आपूर्ति गर्नेछ । यसका लागि प्राधिकरणले जेनेरेटरको व्यवस्था ती जिल्लामा पुर्याइसकेको छ ।


    गत असोज १९ देखि २५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिराले  मुगुस्थित चार सय किलोवाट क्षमताको गमगाढ र हुम्लास्थित पाँच सय किलोवाटको हेल्दुङ साना जलविद्युतगृहको नहरमा ठूलो क्षति पुर्याएको थियो ।


    नहरमा क्षति पुगी विद्युत् उत्पादन बन्द भएपछि मुगु र हुम्ला विद्युतविहीन भएका थिए । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा दुई जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छैन । क्षति पुगेका विद्युत्गृहका संरचनाको पुनःनिर्माण भइरहेको छ ।


    प्राधिकरणले गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिका लागि कालीकोटमा रहेको तीन सय केभिए क्षमताको जेनेरेटर मुगु पुर्याएको छ । हुम्लाको सिमिकोट र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिका लागि एक सय २५ र एक सय केभिए क्षमताका जेनेरेटरको व्यवस्था गरिएको छ । प्राधिकरणका मुगुमा तीन हजार एक सय र हुम्लामा दुई हजार तीन सय ग्राहक छन् ।


    जेनेरेट कुलेखानी विद्युत् गृह र नयाँ बुटवल सबस्टेसनबाट सिमिकोट लगिएको हो । प्राधिकरणले ती जेनेरेट सडकबाट ढुवानी गरी मुगुको गमगढीसम्म लगेको थियो । राष्ट्रिय सडकले अहिलेसम्म नजोडिएको हुम्लामा गमगढीबाट जेनेरेटर र त्यसका लागि आवश्यक पर्ने डिजेल हेलिकप्टरमार्फत ढुवानी गरी सिमिकोट पुर्याएको छ ।


    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादव सम्मिलित टोली बुधबार जेनेरेटर लिएर सिमिकोट पुगेको प्राधिकरणले जनाएको छ ।


प्राधिकरण र हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियार नेतृत्वको टोलीले पहिराले क्षति पुर्याएको हेल्दुङ विद्युत्गृहको संरचना र त्यहाँ भइरहेको पुनःनिर्माणको स्थलगत निरीक्षण गरेको थियो । टोलीले एक महिनाभित्रमा पुनःनिमाणको काम सम्पन्न गर्न निर्माण व्यवसायी लगायतलाई निर्देशन दिएको छ ।


    कार्यकारी निर्देशक घिसिङले साना विद्युत्गृहको पुनःनिर्माण भइरहेको र यसका लागि अझै कम्तीमा एक महिना लाग्ने देखिएकाले यस अवधिमा त्यस क्षेत्रको विद्युत्विहीनताको अवस्थाप्रति संवेदनशील भई तत्कालका लागि हेलिकोप्टरमार्फत जेनेरेटर र डिजेल ढुवानी गरी वैकल्पिक रुपमा विद्युत् आपूर्तिको व्यवस्था गरिएको जानकारी दिनुभयो ।


    “जेनेरेटरमार्फत विद्युत् उत्पादन गर्दा लागत प्रतियुनिट रु ८० भन्दा बढी पर्छ, तर यहाँका अधिकांश ग्राहकबाट न्यूनतम रु ३० मात्र उठ्छ, यहाँ खपत हुने विद्युत्को आम्दानीभन्दा लागत दोब्बर बढी महँगो छ, तर सबैको घरमा उज्यालो पुर्याउने राज्यको दायित्व भएकाले नाफा नोक्सान नहेरी विद्युत्लाई आधारभूत आवश्यकताको वस्तुका रुपमा लिएर हेलिकप्टरमार्फत सामान ढुवानी गरेरै भए पनि आपूर्तिको व्यवस्था गरेका छौँ”, घिसिङले भन्नुभयो ।


    क्षति पुगेका विद्युत्गृहको जतिसक्दो छिट्टो पुनःनिर्माण तथा मर्मत गर्ने तयारी छ । त्यस स्थानको भौगोलिक अवस्थिति र बनावट हेर्दा त्यो पनि दीर्घकालीन हुने जस्तो देखिएको छैन । तसर्थ सौर्य ऊर्जा केन्द्रको स्थापना गर्ने र दुई वर्षभित्रमा कर्णाली प्रदेशका सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइन लाइन पुर्याउने गरी काम गरिरहेको प्राधिकरणले जनाएको छ ।


    हुम्लाका प्रमुख जिल्ला अधिकारी परियारले स्थानीय सरकारी कार्यालय तथा प्राधिकरणबाट रकम जोहो गरिएको र जनश्रमदानमार्फतसमेत  पहिराले क्षति पुर्याएको विद्युत्गृहको नहरको पुनःनिर्माण भइरहेको बताउनुभयो ।


    “पुनःनिर्माणमार्फत विद्युत्गृह तत्कालका लागि सञ्चालनमा ल्याए पनि त्यो क्षेत्र विपद् जोखिमयुक्त भएकाले दीर्घकालीन हुँदैन, त्यसैले विद्युत् आपूर्तिको स्थायी विकल्प खोजी गरी तत्काल काम सुरु गर्नुपर्छ”, उहाँले भन्नुभयो ।


    मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले गमगाढ विद्युत्गृहको पुनःनिर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत् आपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले पुनःनिर्माणका लागि आवश्यक सहजीकरण गरिदिन आफू तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

इलाम:    इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले तीन हजार ३५७ मतले अग्रता कायमै राखेका छन् ।  पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १० हजार ४१९ मतसहित अग्रता कायमै राख्द...

थप पढ्नुहोस्

स्याङ्जा:     स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौ...

थप पढ्नुहोस्

म्याग्दी:    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाहले घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलक...

थप पढ्नुहोस्