पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

  काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक सय १० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार आठ सय २७ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार सात सय ५२ जनाको पिसीआर र दुई हजार ७५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।    यस अवधिमा एक सय २६ जना कोरोनाबाट मुक्त भएका छन् । यो सँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार एक सय तीन पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।        हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ । हाल होम आइसोलेशनमा एक हजार नौ सय ९९, संस्थागत आइसोलेशनमा ६३ र आइसियुमा २० सङ्क्रमित रहेका छन् ।        हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, कालिकोट, बझाङ र दार्चुला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात सय ९३, ललितपुरमा तीन सय ३७ र भक्तपुरमा ३१ सक्रिय सङ्क्रमित छन् । कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  

  काठमाडौं । सरकारले राष्ट्रियसभामा विचाराधीन विद्युत् विधेयक, २०७७ फिर्ता लिएको छ । संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो ।        राष्ट्रियसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रस्तुत गर्नुभएको उक्त विधेयक फिर्ता गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको घोषणा गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक आगामी असोज २ गते आइतबार बिहान १०ः५९ मा बस्नेछ ।

  त्रिवेणी । थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिनसक्ने भएपछि  कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अहिले कागती खेती गर्ने किसानको सङ्ख्या बढ्दो रहेको नवलपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइका प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो ।       एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिन सकिने र धेरै आम्दानी हुने हुँदा यसतर्फ किसानको आकर्षण बढेको उहाँको भनाइ थियो । “कागती खेतीमा धेरै लगानी गर्नु पर्दैन, एक पटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ यसैले किसान यसतर्फ आकर्षित छन्”, प्रमुख शर्माले भन्नुभयो, “तर लगाएको तीन चार वर्षसम्म आम्दानी लिन कुर्नुपर्ने हुँदा साना लगानीकर्तालाई केही समस्या पनि हुने गर्छ ।”       उहाँका अनुसार नवलपुरमा चार सय ५० घर परिवार कागती खेतीमा आबद्ध छन् । केही वर्ष पहिले केही मात्र किसान कागती खेतीमा आबद्ध भएकामा अहिले क्रमशः सङ्ख्या बढ्दो रहेको इकाइ प्रमुख शर्माले बताउनुभयो । जिल्लामा सामूहिकरुपमा १५ वटा  समूहले कागती खेती गरेका छन् । जस्मा दुई वटा सहकारी र २५ वटा फर्म रहेका छन् । यी सबैमा गरी चार सय ५० घरपरिवार कागती खेतीमा आबद्ध रहेको उहाँले जानकारी दिनुभयो । जोन कार्यक्रममा समावेश नभएका केही कागती खेती गर्ने किसानसमेत रहेका छन्  ।       उक्त परियोजनामार्फत सञ्चालित सुन्तला जात फलफूल जोन कार्यक्रममार्फत नवलपुरको बुलिङटार, बौदिकाली, गैँडाकोट, हुप्सेकोट, देवचुली र मध्यबिन्दुका केही वडामा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । जोन कार्यक्रम सञ्चालनपछि विभिन्न अनुदान र प्राविधिक सहयोग भएकाले कृषक थप कागती खेतीतर्फ लागेका हुन् । अमिलो जातका फलफूलमा परियोजनाले सहयोग प्रदान गर्ने गरेको छ । परियोजनाको लगानीपछि अमिलो जातका फलफूल लगाउने क्षेत्रसमेत विस्तार भएको छ ।      इकाइ प्रमुख शर्माका अनुसार जोन कार्यक्रम सुरु हुने समयमा तीन सय ३० हेक्टर जमिनमा अमिलो जातका फलफूल लगाउने गरिएकामा अहिले सात सय हेक्टर जमिनमा खेती हुने गरेको छ । जसमध्ये करिब दुई सय हेक्टर जमिनमा व्यावसायिक कागती खेती मात्रै हुने गरेको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।  नवलपुरको  तल्लो भेगमा सुनकागती १, २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती लगाउने गरिएको छ ।    कागती खेतीबाट वार्षिक छ लाख कमाइ     नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका– ८, का नरेन्द्रकुमार केसीले कागती खेतीबाट मनग्य आम्दानी गर्दै आउनु भएको छ । चार कट्ठा जमिनमा लगाइएको कागती खेतीबाट गत वर्ष उहाँले रु छ लाख आम्दानी गर्नुभयो । यस वर्ष करिब रु नौ लाख आम्दानी हुने कृषक केसीले बताउनुभयो ।            “गत वर्ष कोभिडले बजारमा समस्या भयो, तर पनि रु छ लाखको कागती बेचेँ, यस वर्ष कागती अझै धेरै फलेको छ, करिब रु नौ लाख जतिको बेच्छु भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “कागती खेतीअघि बाख्रापालन गर्नुभएका उहाँ २०७३ सालदेखि कागती खेतीतर्फ लाग्नुभएको हो”, “बाख्रा पनि पालोँ तर भनेजस्तो भएन, पछि यसको खेती सुरु गरे अहिले सोचभन्दा राम्रो आम्दानी दिएको छ”, केसीले भन्नुभयो ।       उत्पादन भएको कागती लिन व्यापारी बगैँचामा नै आउने गरेको उहाँको भनाइ थियो । सरदर अहिले प्रतिकिलोग्राम सयका दरले व्यापारीले बगैँचाबाट नै कागती खरिद गरी लैजाने गरेका छन् । काठमाडौँ, नारायणगढलगायत मुख्य सहरमा कागती खपत हुँदै आएको छ। बेच्न “समस्या छैन् घरमै व्यापारी आउँछन्, आफूले फलाउन सके मात्रै हुन्छ”, केसीले भन्नुभयो ।       उहाँले अहिले कागतीको नर्सरीसमेत सुरु गर्नुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रमअन्तर्गत केसीले नर्सरी सुरु गर्नुभएको हो । कागतीका बिरुवाको माग पूर्वदेखि पश्चिममा विभिन्न जिल्लाबाट हुने गरेको उहाँको भनाइ थियो । “परियोजना सञ्चालन भएका विभिन्न जिल्लामा बिरुवा माग आउँछ, सोहीअनुसार बिक्री गर्ने गरेको छु ।  कागतीको बिरुवा बेचेरसमेत राम्रो आम्दानी हुने गरेको छ”, केसीले भन्नुभयो । 

  काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव १० अङ्कले ओरालो लागेर एक हजार नौ सय १० दशमलव  ३८ मा सीमित भएको छ ।   यस्तै, ठूल कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ७१ दशमलव ९० मा सीमित भएको छ । कूल दुई सय २० कम्पनीको २९ लाख १६ हजार दुई सय ७१ कित्ता शेयर रु ९० करोड ८१ लाख ८६ हजार चार सय ८८ मूल्यमा खरिद बिक्री भए ।    नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर मूल्य शून्य दशमलव शून्य एक अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ छ दशमलव ८७, व्यापार छ दशमलव शून्य दुई, होटल तथा पर्यटन १९ दशमलव तीन, विकास बैंक ४४ दशमलव शून्य एक, जलविद्युत् २५ दशमलव २४, वित्त २२ दशमलव ४१, निर्जीवन बीमा २७ दशमलव ३५, उत्पादन ५५ दशमलव ८९, अन्य चार दशमलव शून्य छ, लघुवित्त ४३ दशमलव ८६, जीवन बीमा २२ दशमलव २६ र लगानी शून्य दशमलव ७६ अङ्कले ओरालो लाग्यो ।      शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ४४ अर्ब ८८ करोड ३५ लाख ८५ हजार बराबर रहेको छ । कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड २३ लाख ३२ हजार छ सय ७७ बराबरको कारोबार भयो ।     यस्तै, हिमालयन डिस्टिलरी रु तीन करोड दुई लाख दुई हजार दुई सय ६८, नबिल बैंक रु तीन करोड ५५ हजार, नेपाल लाइफ इन्स्योरेन्स रु दुई करोड ८४ लाख ६९ हजार चार सय ८१ र अपि पावर कम्पनी रु दुई करोड ७५ लाख ७५ हजार चार सय दुई बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।      नेप्सेका अनुसार नबिल ब्यालेन्स फण्ड दोस्रो सात दशमलव ८७, बुद्ध भूमि नेपाल हाइड्रोपावर छ, अप्पर हेवाखोला हाइड्रोपावर पाँच दशमलव ७५, लाइफ इन्स्योरेन्स कर्पोरेशन तीन दशमलव ९९ र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले तीन दशमलव ५७ प्रतिशतले कमाएका छन् ।     त्यस्तै, मिर्मिरे माइक्रोफाइनान्स पाँच दशमलव ५९, रिभल फल्स पावर पाँच दशमलव ३१, अप्पर सोलु हाइड्रोपावर पाँच दशमलव ३०, ग्रीन डेभलपमेन्ट बैंक चार दशमलव शून्य नौ र एनएमबी– ५० का लगानीकर्ताले तीन दशमलव ८७ प्रतिशतले गुमाएका छन् । 

  काठमाडौं । मुलुकका अधिकांश जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढिरहेकाले तत्काल नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।    राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेङ्गु सङ्क्रमण बढ्दोक्रममा रहेकाले तत्काल नियन्त्रण गर्न  आवश्यक भएको बताउनुभयो ।           स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सातै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेङ्गु  फैलिएकोे जनाएको छ । गत साउनदेखि हालसम्म १२ हजार दुई सय १७ जनामा डेङ्गु पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ । डेङ्गुका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा चार सय दुई, मधेसमा दुई सय २३, बागमतीमा नौ हजार तीन सय चार, गण्डकीमा दुई सय ४५, लुम्बिनीमा एक हजार चार सय ७९, कर्णालीमा एक सय ८४ र सुदूरपश्चिम प्रदेशमा तीन सय ८० जनामा डेङ्गु देखिएको छ ।   सांसद शर्माले देशका धेरै स्थानमा बाढीपहिरो गएको जनाउँदै बाढीपहिरो प्रभावितको उद्धार र राहत वितरणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । दार्चुला, काभ्रेपलाञ्चोकलगायत जिल्लामा बाढी, पहिरोले मानवीय र भौतिक क्षति पु¥याएको छ । उहाँले बाढी, पहिरो प्रभावितलाई राहत र प्रभावित क्षेत्रमा तत्काल सडक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।   सांसद डा विमला राई पौडेलले डेङ्गुले तहल्का मच्चाइरहेकाले यसको नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । “प्रत्येक घरमा बिरामी छन् । सरकार डेङ्गु नियन्त्रण गर्नेतर्फ ध्यान दिन सकेन । बजारमा सिटामोलको अभाव छ, जनतालाई ज्वरो आएको छ, सिटामोल पुर्याउनु पर्दैन ?”, उहाँले भन्नुभयो । उहाँले डेङ्गु प्रतिकारात्मक काम कहाँ पुग्यो भनी स्वास्थ्य मन्त्रालयसँग प्रश्न गर्नुभयो ।   सांसद जयन्तीदेवी राईले महँगीको चपेटामा जनता परिरहेको र महँगी नियन्त्रणमा सरकारको ध्यान दिन नसकेको बताउनुभयो । “सबैको ध्यान पेट्रोलियम पदार्थको मूल्य बढेकामा गएको देखियो”, उहाँले भन्नुभयो, “तर दैनिक उपभोग्यवस्तुको मूल्य अकासिएको छ, यतातर्फ कसैको ध्यान गएको देखिएन ।” किसानका उत्पादनले उचित मूल्य पाउन नसकेको तथा उपभोक्ताले चर्को मूल्य तिरेर तरकारी खानुपरेको जनाउँदै उहाँले कृषिजन्य उत्पादनको बिक्री वितरणमा संलग्न विचौलियाको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।   सांसद खिमलाल देवकोटाले प्रदेशलाई अधिकार दिन कुनै कञ्जुस्याइँ गर्न नहुने बताउनुभयो । पाँच वर्षसम्म प्रदेशले सरकारको अनुभूति गर्न नपाएको उल्लेख गर्दै उहाँले संविधानको अनुसूचीमा रहेको एकल अधिकार सूचीका अधिकार पनि प्रदेशले प्रयोग गर्न नसकेको बताउनुभयो । “एकल अधिकार क्षेत्रभित्र रहे पनि अहिलेसम्म प्रहरी समायोजन भएको छैन, सङ्घीय निजामतीसम्बन्धी कानून नहुँदा प्रदेश निजामती कानून बन्न सकेको छैन, बनेका पनि प्रभाकारी छैनन्”, उहाँले भन्नुभयो, “प्रदेश लोकसेवा आयोग प्रभावकारी बन्न सकेको छैन, प्रदेशमा ४० प्रतिशत कर्मचारी न्यून छन्, भएका कर्मचारीको पनि स्थायित्व छैन, प्रदेश मन्त्रालयका सचिवको छोटो अवधिमा नै सरुवा हुने गरेको छ ।”        प्रदेशका अधिकारलाई सङ्कुचन हुनेगरी विभिन्न सङ्घीय कानुन बनेको जनाउँदै उहाँले कर्मचारी, कानून, वित्तीय साधन स्रोतलगायत आधारभूत संरचना सुनिश्चिता नगरिए प्रदेश सरकारले आफ्नो औँचित्य पुष्टि गर्न नसक्ने बताउनुभयो ।   सांसद कमला पन्तले आगामी निर्वाचनमा महिला सहभागिता सुनिश्चित गर्न राजनीतिक दलले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाले निर्वाचनमा भाग लिन सक्दैनन् भन्ने होइन, उनीहरुले निर्वाचनमा विजयी हुन्छन् भन्ने मानसिकता नेतृत्वले गर्नुपर्छ ।” सांसद देवेन्द्र दाहालले मुलुकको समृद्धि, सुशासनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । “रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, अनुशासनहिनताको अन्त्य गरिनुपर्छ”, उहाँले भन्नुभयो ।   सांसद गोमादेवी तिमिल्सना जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको जनाउँदै जनजीविकाका सवाल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “महँगीले चरम सीमा नाघेको छ, स्वदेशमै उत्पादित सामग्रीको मूल्य पनि अकासिएको छ”, उहाँले भन्नुभयो, “कृषिप्रधान मुलुक भने पनि दैनिक उपभोग्य वस्तु आयातमा आधारित छ, सरकारले खेतीयोग्य जमिन बाँझो नराखी कृषि उत्पादन गराउनेतर्फ लाग्नुपर्छ ।”

  तनहुँ । भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७९/०८० मा पशुधन सुरक्षाअन्तर्गत पशुपन्छी बीमा कार्यक्रमलाई प्रोत्साहन दिएको छ ।       कार्यालयले रु एक लाख ३५ हजार छ सय ६४ पशुपन्छीको २० प्रतिशत प्रिमियमका दरले रु ४५ लाख ४८ हजार अनुदान दिएको हो । जिल्लामा कुखुरा एक लाख २८ हजार आठ सय २२, गाई एक हजार छ सय ९७, भैँसी एक हजार दुई सय ६२, बाख्रा दुई हजार चार सय ६८ र बङ्गुर एक हजार चार सय १४ रहेका छन् ।       तनहुँमा ५२ हजार छ सय १५ परिवार पशुपालनमा संलग्न हुँदै आएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रले पशुपन्छी पालन किसानका लागि बीमाङ्क रु ४५ करोड ४८ लाख बराबरको बीमा गरिदिएको छ । “पशुपालन किसानमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बीमा कार्यक्रमलाई प्रोत्साहन गरिएको हो”, उहाँले भन्नुभयो, “बीमाका साथसाथै अनुदानका कार्यक्रम पनि ल्याइएको छ ।”       त्यसैगरी, जिल्लाका १११ वटा दुग्ध सहकारीमार्फत अनुदानमा आधारित कार्यक्रमअन्तर्गत रु ४१ लाख ४१ हजार तीन सय ६५ अनुदान वितरण गरेको छ । कार्यालयका अनुसार दुई लाख ३४ हजार छ सय ३६ लिटर दूध उत्पादनमा किसानलाई वितरण गरिएको हो । व्यासमा छ, शुक्लागण्डकीमा दुई बन्दीपुर, भानुमा र म्याग्देमा एक/एक वटा सहकारीमार्फत उक्त अनुदान रकम प्रदान गरेको   हो ।        कार्यालयले किसानलाई पाडी बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । प्रतिपाडी बाच्छीका लागि रु दश हजारका दरले अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ ।

  काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ।   बिहीबार थापालाई उच्च ज्वरो आएको थियो। थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको छ।   ‘ज्वरो आएको छ, उहाँ घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयका एक सदस्यले भने। शुक्रबार भने ज्वरो केही कम भएको छ।    ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थिए।

  धनकुटा । कोरोना महामारीसँगै थलिएर सुनसान बनेका जिल्लाको प्रमुख केन्द्र धनकुटा नगपालिकाका एक दर्जन बढी पार्क (उद्यान) को अवस्थामा अझै सुधार आउन सकेको छैन्। लाखौँ खर्चेर बनेका ती पार्क अहिले आन्तरिक पर्यटकसमेत नआएर सुनसान बनेका छन् ।   धनकुटा नगरपालिकाको मुख्य पर्यटकीयस्थलका रूपमा रहेको वडा नं ७ को चुलिवन पार्कमा बनेको भ्यूटावर चढ्न फाट्टफुट्ट आन्तरिक पर्यटक आए पनि चहलपहल बढ्न सकेको छैन । विसं २०७५ बाट सो स्थानमा निजी रु ३५ लाख खर्चेर मिनीमेला तथा पार्क सञ्चालन गर्दै आउनुभएका रामकुमार राई र उहाँकी श्रीमती सीमा थापा (राई) अहिले व्यवसायमा घाटा लागेको बताउनुहुन्छ ।    स्थानीय सामुदायिक वनलाई वार्षिक नाफाको २० प्रतिशत रकम दिने शर्तमा रोटेपिङ, बालबालिकाका लागि खेल तथा क्यान्टिन सञ्चालनमा लगानी गर्नुभएका उहाँहरूले वार्षिक रु ५० हजार पनि आम्दानी नहुने बताउनुभयो ।   “घाटैघाटा छ, ऋणको ब्याज तिर्दा–तिर्दा भएको जायजेथासमेत सकिन लाग्यो”, थापाले भन्नुभयो, “पिङ बेचौँभन्दा पनि बिक्दैन, अब के गर्ने होला, तनावमा छौँ ।” आफूहरूले काम सुरु गर्नेबित्तिकै कोरोना सुरु भएकाले आफूहरू ठूलो मर्कामा परेको श्रीमान् राईले चिन्ता व्यक्त गर्नुभयो ।   विसं २०६३ बाट गत वर्षसम्म नगरले रु एक करोड ३६ लाख खर्च गरेको यस स्थानमा मात्र होइन अन्य स्थानका पार्कहरूको अवस्था पनि उस्तै छ । धनकुटा नगरपालिका–१ जौटारमा बनेको वनभोज पार्क कोरोनाको मारसँगै बाटोघाटोको असुविधाका कारण सुनसान रहेको पूर्ववडाध्यक्ष नीरन तामाङले जानकारी दिनुभयो ।   यो पार्क विसं २०७४ मा प्रदेश नं १, जिल्ला वन कार्यालय र पाख्रिबास नगरपालिकाको रु १०–१० लाख गरी जम्मा रु ३० लाखको लागतमा निर्माण गरिएको थियो । त्यस्तै सोही वडाको व्यापारिक केन्द्र हिलेबजार नजिक निर्मित पर्यटन मन्त्रालयको रु १० लाख र धनकुटा नगरपालिकाको रु ३८ लाख लागतमा निर्मित बक्रकुड मन्दिर तथा पार्क पनि धार्मिक तिथिबाहेक अन्य समयमा ठप्प छ ।   “पहिला त निकै मान्छे पो आउँथे त, कोरोनापछि ठप्पै पो बन्यो भन्या !”, बक्रकुड पञ्चेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वाले भन्नुभयो । धनकुटा नगपालिका वडा नं ३ कागतेमा प्रदेश सरकारको रु ३० लाख लगानीमा निर्मित बाल उद्यान पनि सुनसानजस्तै छ ।   पार्कहरू सुनसान हुनुमा कोरोनामात्र कारक नभएर नगरको सडक सञ्जाल तथा व्यापारिक गतिविधिमा सुधार नभएर पनि यस क्षेत्रका पर्यटकीय क्षेत्र प्रभावित भएको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो । नगर र गाउँ आवतजावत गर्ने सडकको स्तरोन्नति नहुनु, नगरमा निजी लगानीकर्ता आकर्षित हुन नसकेर व्यापार व्यवसायमा मन्दी आएसँगै पर्यटन क्षेत्र पनि प्रभावित भएको घिमिरेको तर्क छ ।   विज्ञहरूको योजना र अनुसन्धानबाट भन्दा पनि जनताका स्वेच्छिक धारणाबाट पर्यटकीय क्षेत्र बनेकाले लगानीअनुसारको प्रतिफल नआएको हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टको भनाइ छ । “काम गर्दा कसैले परामर्श गर्दैनन् । करोडौँ खर्चेर बनेका पर्यटकीय क्षेत्रबाट कुनै आम्दानी छैन”, विष्टले भन्नुभयो ।   नागरिकका माग इन्कार गर्न नसकेर जताततै बनेका पार्क तथा पर्यटकीय क्षेत्रहरूको उचित संरक्षण र प्रवद्र्धन गर्न कठिनाइ हुँदा समस्या आएको धनकुटा नगपालिकाका प्रवक्ता जमशेर छाराले जानकारी दिनुभयो । 

  कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस पर्यटकीय क्षेत्र लिङ्गेश्वर धामको अस्तित्व जोखिममा परेको स्थानीय बताउँछन् ।   “विगतका वर्षमा यति धेरै कटान भएको थिएन, यसपटकको बाढीले लिङ्गेश्वर धाममा ठूलो क्षति पुर्याएको छ”, स्थानीय महेन्द्र बोहराले भन्नुभयो, “समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ ।”   कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उहाँको माग छ । लिङ्गेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । “बेदकोटको चिनारीका रूपमा रहेको लिङ्गेश्वर धाम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ”, अर्का स्थानीय कपिल जोशीले भन्नुभयो, “नगरलाई देश–विदेशमा चिनाएको छ, त्यसैले यसको संरक्षण आवश्यक छ ।”   बाढीले लिङ्गेश्वर क्षेत्रमा पर्यटकहरूका लागि तस्वीर खिच्न निर्माण गरिएको ‘सेल्फी वाल’ बगाएको छ । यस्तै धाम क्षेत्रमा रहेको लिङ्गेश्वर मन्दिर कटानको उच्च जोखिममा छ । “नदीले कटान गरेर मन्दिर बगाउने स्थिति छ, एक मिटरमात्रै बाँकी छ”, बेदकोट नगरपालिका–४ का अध्यक्ष नरबहादुर बोहराले भन्नुभयो, “फोटो खिच्न बनाइएको सेल्फी प्वाइन्ट बगाएको छ ।”   उहाँका अनुसार बाढीले लिङ्गेश्वर जोड्न बगुन खोलामा निर्माणाधीन झोलुङ्गे पुलको ढङ्गाले निर्माण गरिएको पिलर पनि बगाएको छ । “तटबन्ध बगाएर बाढीले क्षति गरिरहेको छ, अहिले तटबन्ध गर्नु र नगर्नुको अर्थ छैन, बाढीले बगाउँछ”, उहाँले भन्नुभयो, “अहिले सामान्य ढुङ्गा राखेर अस्थायी तटबन्ध गरेका छौँ ।” आन्तरिक पर्यटनको रोजाइमा पर्न थालेपछि बेदकोट नगरपालिकाले लिङ्गेश्वर धाममा विभिन्न भौतिक संरचना निर्माण गरेको थियो । स्थानीय तहको बजेटले मात्रै लिङ्गेश्वर धाम कटानको दीर्घकालीन समाधान गर्न नसकिने बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले बताउनुभयो ।   प्रदेश र सङ्घ सरकारसँग थप बजेट माग गरेर कटान समस्याको दीर्घकालीन समाधान खोजिने उहाँले बताउनुभयो । “नगरपालिकाको बजेटले मात्रै यो सम्भव छैन, करोडौँ लगानी लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “यसका लागि प्रदेश र सङ्घ सरकारको ध्यानाकर्षण गराउँछौँ ।”