काठमाडौं:  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ ।  आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति...

  काठमाडौँ । लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।   गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का पूर्वअध्यक्ष एवं प्रवद्र्धक हिमालय पावर पार्टनर लिमिटेडका अध्यक्ष जिवा लामिछाने र लगानीकर्ता आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको उपस्थितिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको घोषणा गरिएको हो । एनआरएनका पूर्वअध्यक्ष लामिछानेले आफू अध्यक्ष रहेका बेला गैरआवासीय नेपालीले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी खोलेर उक्त संस्थामार्फत यस जिल्लामा पहिलोपटक दोर्दीखोला जलविद्युत् आयोजनामा लगानी गरेको बताउनुभयो । उहाँले नेपालमा सफल व्यवसायीसँग मिलेर काम गरेको र गैरआवासीय नेपालीको लगानीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएकामा खुसी व्यक्त गर्नुभयो ।    त्यस्तै आइएमई ग्रुपका अध्यक्ष ढकालले एनआरएनसँग मिलेर दोर्दीखोला जलविद्युत् आयोजनालाई अघि सारिएको र अहिले सम्पन्न भएको भन्दै खुसी व्यक्त गर्नुभयो । आउँदा दिनमा ठूला जलविद्युत्, पर्यटन, पूर्वाधारलगायतमा लगानी गर्न उहाँले गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ ।    आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । भारतको नाकाबन्दी, अघिल्लो बर्खामा पावरहाउसमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामग्रीमा पु¥याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख मुन्न शाक्यले बताउनुभयो ।     आयोजनाको बाँधस्थल दुई सय १२ मिटरको रहेको छ । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा विद्युतगृह छ । नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा पिपिए सम्झौता २०६९ असार १ गते भएको थियो । बाँधस्थल र विद्युतगृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छे« मेटल एण्ड मेसेरेनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको रहेको थियो ।    आयोजनामा गैरआवासीय नेपाली सङ्घको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । रु तीन अर्ब ८६ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माण सम्पन्न हुँदा करिब रु पाँच अर्बभन्दा बढी खर्च भएको आयोजनाले जनाएको छ ।    सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता (पिपिए) भएको आयोजनाले जनाएको छ । यसअघि जिल्लामा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्र, ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ लगायत छ आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिएको छ ।

  कञ्चनपुर : कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो ।    गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चारमा डेङ्गु देखिएको थियो । दोधारा–चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराका अनुसार भारतबाट आएका चार जनामा डेङ्गु देखिएको हो । “तीन पुरुष र एक महिलामा डेङ्गु देखिएको छ”, उहाँले भन्नुभयो, “पुरुष भारतबाट आएका हुन् भने डेङ्गु देखिएका महिलाको बुवा र दाजु पनि भारतबाटै आएका हुन् ।”   दोधारा–चाँदनी भारतसँग सीमा जोडिएको ठाउँ हो । यहाँ आवतजावत बढी हुने भएकाले पनि डेङ्गु सङ्क्रमणको उच्च जोखिममा  छ । जिल्ला स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने बताउनुभयो । “कञ्चनपुर र कैलाली डेङ्गुको उच्च जोखिममा छन्, पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेका छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य कार्यालयको प्रयोगशालामा लामखुट्टेको लार्भा परीक्षण गर्दा डेङ्गु सार्ने प्रजाति भेटिएको छ ।”   वर्षात्मा पानी जम्ने ठाउँ, पानीको ट्याङ्की, पुराना टायरलगायतमा जमेको पानीमा यो जातको लामखुट्टेले लार्भा पार्छ । यसको वृद्धिबाट डेङ्गुको प्रकोप बढ्छ । “यो लामखुट्टेबाट जोगिन घर वरपर पानी जम्न दिनु हुँदैन”, भट्टले भन्नुभयो, “अहिले डेङ्गु परीक्षण गर्न किट अभाव छ ।”    डेङ्गुबाट बच्न विषादी छर्किन र विषादीयुक्त झुलको प्रयोग गनुपर्ने हुन्छ । “उच्च ज्वरो, हाड जोर्नी, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने यसका प्रमुख लक्षण हुन्”, उहाँले भन्नुभयो, “डेङ्गु देखिए केहीमा श्वासप्रश्वासको समस्या देखिन सक्छ ।” गत वर्ष कञ्चनपुरमा १५ जनामा डेङ्गु देखिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा डेङ्गु र मलेरियाका बिरामी देखिन थाले पनि परीक्षणका लागि किटको अभाव रहेको छ ।    महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले केही दिनयता अस्पतालमा मलेरिया र डेङ्गुका बिरामी देखिन थालेको बताउनुभयो । “अस्पतालमा ज्वरोका बिरामी बढेका छन्, डेङ्गुका बिरामी अहिले अस्पतालमा भर्ना छैनन् उपचारपछि फर्किसके”, उहाँले भन्नुभयो, “गत साता डेङ्गुका बिरामी आएका थिए, एकजनालाई धनगढीस्थित सेती अस्पताल रेफर गरेका छौँ ।” अहिले अस्पतालमा  भाइरल ज्वरोका बिरामीको अत्यधिक चाप छ ।

  पोखरा ।  नयाँ काम गर्नका लागि कुनै न कुनै भिजन आवश्यक छ । पोखराका उद्योगी व्यावसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा भिजनको वा नयाँ दृष्टिकोणको खाँचो रहेको उद्योगी व्यावसायीहरुको माग छ ।    अघिल्ला नेतृत्वहरुले गर्न खोजेपनि कछुवा गतिमा काम गर्दा गर्दै २ वर्ष कार्यकाल सकाएको उनीहरुको आरोप छ । आसन्न भदौ २४ र २५ गते हुने महाधिवेशनमा नयाँ नेतृत्व हात पार्न कस्सिएको अर्जुन पोखरेल प्यानल चुनावी घरदैलोमा निस्कदा गरिएका व्यावसायीहरुले यस्तै गुनासो गरिरहेका थिए ।    पोखरा १० रामबजारको नारायण प्रोभिजनलको सञ्चालक नारायण श्रेष्ठ पनि नयाँ र युवा जोस भएको नेतृत्व चाहान्छन् । तर, नेतृत्व लिएर मात्र नहुने सानादेखि ठूला व्यावसायीहरुको समस्या संवोधन गर्न सक्ने हुनुपर्ने उनको माग थियो । ‘अर्जुन जीले राम्रो टिम बनाएर हिड्नुभएको छ मतदान गर्ने सबैको अधिकार हो जिताउने हराउने सबै मतदाताहरुको हातमा छ,’ उनले भने, ‘तर जितिसकेपछि भने सबैसँग फेरी समस्या सुन्न पसल पसल पुग्नुपर्छ, योभन्दा अघिकाहरु भोट माग्ने बेला आयो अनि २ वर्ष हरायो ।’ यसका लागि नयाँ सोंच भएको नेतृत्व आवश्यक रहेको भनाई थियो । अर्जुन पोखरेल आफैमा लामो समय संघमा रहेर काम गरेकाले अर्जुजदृष्टि राख्न सक्ने व्याक्ति भएको उनको धारणा थियो ।    पोखरा १० का चन्द्रकिशोर गौतम पनि संघमा जुजारु अनि नयाँ काम गर्ने व्याक्ति आउनुपर्ने धारणा राख्छन् । युवालाई नेतृत्वमा पु¥याए केही परिवर्तन अवश्य हुने उनको आँकलन थियो । उनले आफ्नो मत सक्षम र संघमा रहेर व्यापारीको हितमा काम गर्नेलाई रहने बताए ।    अर्जुन प्यानल मंगलबारको घरदैलोमा रामबजार, उत्तमचोक, बुद्धचोक अमरसिंहचोक, कालिका, चाउथे लगायत स्थानमा पुगेको थियो । साथै तीजका अवसरमा केही उद्योगी व्यावसायी घर मै हुने आँकलन गर्दै घर घरमा पुग्दै समस्या सुनेको थियो ।    व्यावसायीहरुको समस्या सुनिसकेपछि अध्यक्ष पदका आकांक्षी अर्जुन पोखरेलले व्यावसायीहरुको समस्या सम्बोधन गर्नकै लागि आफू नेतृत्वमा जान चाहेको धारणा राखे । ‘हिजो सहायक पदमा रहेका काम गरियो अब नेतृत्व लिएर संघलाई अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘नेतृत्वमा पुगेपछि व्यावसायीको समस्यालाई सही ढंगबाट समाधान गर्नुपर्छ भन्ने म र मेरो टिमको उद्देश्य हो ।’ धेरै मतदाताकोमा पुग्दा धेरैले समस्या सुनाएको जायज माग तथा समस्याहरु समाधान गर्न र माग पुरा गर्न आफू नेतृत्वमा जान चाहेको उनको भनाई थियो । आफ्नो नेतृत्वमा युवा तथा अनुभवी उम्मेदवार भएकाले उद्योगी व्यावसायीहरुको माग सम्बोधन गर्ने क्षमता राख्ने उनको भनाई थियो ।     उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् । 

  कास्की । उपल्लो मुस्ताङ र चीनको तिब्बतको सीमा नाकामा लाग्ने व्यापार मेला तीनवर्षदेखि सञ्चालन हुन सकेको छैन ।  प्रदेशसभा सदस्य महेन्द्र थकालीका अनुसार असार र भदौमा हुने सो मेला गत तीन वर्षदेखि सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा परेकोे जानकारी दिनुभयो । “पहिले यहाँ व्यापार मेला हुँदा स्थानीयलाई निकै सहज भएको थियो”, उहाँले भन्नुभयो, “अहिले सबै सामान भारततिरबाटै ल्याउनुपरेको छ ।”  मेला नहुँदा समस्या भएकाले मुस्ताङका जनप्रतिनिधिले सम्बन्धित स्थानमा आवाज पनि उठाइरहनुभएको छ तर पनि सुनुवाइ भएको छैन ।   सांसद प्रेमप्रसाद तुलाचनले गत जेठ २६ गते संघीय  संसद् बैठकमा सो विषयलाई उठान गर्नुभएको थियो । उहाँले सीमा क्षेत्रका बासिन्दा मुख्य आम्दानीको स्रोत व्यापार भएको र कोरलानाकामा व्यापार मेला सञ्चालन हुन नसक्दा उपल्लो मुस्ताङवासी मर्कामा परेको विषयलाई सदनमा जानकारी गराउनुभएको थियो ।    उपल्लो मुस्ताङमा बर्सेनि एक बालीमात्र खेती हुने र उत्पादन गरिएको अन्नबालीले छ महिना थेग्न मुस्किल पर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो“कोभिडले रोकिएको अन्तरदेशीय व्यापार मेला यथाशीघ्र सञ्चालन गर्ने वातावरण मिलाउन संघीय सरकारले ध्यान दिनुपर्छ ।”    कोरोना त्रासका कारण रोकिएको व्यापार मेला सङ्क्रमणको जोखिम शून्य अवस्थामा रहेकाले व्यापार मेलालाई निरन्तरता दिन स्थानीयवासी टसी गुरुङले प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ । उहाँका अनुसार व्यापार मेलामा जानका लागि उपल्लो मुस्ताङीको नागरिकता देखाएर चीन प्रवेश गर्न पाउँथे । व्यापार मेलामा नेपालबाट पश्मिना, यार्सागुम्बा, आलु, फापरलगायतका सामग्री निर्यात हुन्थ्यो भने चीनबाट निर्माण सामग्री, खाद्यान्न, लत्ताकपडा, किराना सामग्री र भेडाच्याङ्ग्रा आयात हुने जनाइएको छ ।  कोभिडका कारण तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल नआउँदा भेडाच्याङ्ग्राको मूल्य आकाशिएको उहाँले बताउनुभयो ।    लोमान्थाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष सुवर्ण विष्टले सरकारले दूरदराजका जनताको पीडा बुझ्न नसकेको गुनासो गर्नुभयो । राज्यले लोमान्थाङलाई हेर्ने नजर फरक रहेको उहाँको धारणा थियो । भौगालिकरूपमा विकट भए पनि कोरलानाकासँगै लोमान्थाङको सांस्कृतिक सम्पदाले भरिपूर्ण लोमान्थाङको गुम्बा, गुफा तथा मन्दिरसँगै पुराना घर संरक्षणका लागि राज्यको आँखा जानुपर्ने उहाँको धारणा थियो ।    उपल्लो मुस्ताङीको समस्या बुझ्न र विकास निर्माणका बारेमा जानकारी लिन गण्डकी प्रदेश सरकार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लोमान्थाङ समेत पुग्नुभएको थियो । तत्कालीन  समयमा उहाँ  कोरलानाकासम्मै पुग्नुभएको हो । नाका पुगेर उहाँले गण्डकी प्रदेशको समृद्धिको मूल आधार कोरलानाका भएको थियो ।     व्यापार मेला नखुलेर स्थानीयवासीलाई परेको समस्याको सम्बोधन गर्दै उहाँले मेलामात्र होइन, नाका नै खोल्नुपर्नेमा जोड दिनुभयो । “यो नाका गण्डकी प्रदेशकै लाइफलाइन हो र प्रदेशको समृद्धिको मूल आधार पनि हो”, उहाँले भन्नुभयो, “सबैभन्दा पहिले कोरलाबाट त्रिवेणीसम्मको सडक खुलाएर नाका सञ्चालन गर्न सकियो भने मित्रराष्ट्र चीन र भारतसँगको व्यापार बढ्छ ।” तत्काल नाका खोल्नका लागि संघीय सरकारलाई अनुरोध गरिसकिएको उहाँले जानकारी दिनुभयो । “संघीय सरकारबाट पनि भन्सारको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्न बजेट विनियोजन गरिसकेको छ भन्ने सुनेको छु”, उहाँले भन्नुभयो, “भोलिका दिनमा नाका सञ्चालन गर्न प्राथमिकताका आधारमा साधान स्रोतले भ्याएसम्म अगाडि बढाउन चाहन्छौँ ।”    भन्सार सञ्चालनका लागि चीनले बनाएको संचरनाले पनि नेपाल सरकार र प्रदेश सरकालाई झक्झकाएको बताउनुभयो । “हामीले पनि चीनले जस्तै हाम्रा भन्सार जाँचचौकी बनाउन सक्यौँ र दुवै देशका नागरिकको व्यापारिक सम्बन्ध आदानप्रदान गर्न सकियो भने हाम्रा लागि ठूलो सफलता हन्छ”, उहाँले भन्नुभयो ।    चीन सरकारले चीनको ढोङ्वासेनको बजारबाट कोरलानाकासम्मको सडक कालोपत्र गरेको छ भने आफ्नोतर्फ भन्सार, अध्यागमन र सुरक्षा निकायका लागि दुईवटा भवन बनाइसकेको छ । 

  पोखरा ।  पोखरामा उद्योगी व्यावसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि रस्सकस्सी चलिरहेको छ । चुनावमा होमिन लागि अध्यक्षका २ आकांक्षीले प्यानल नै बनाएर घरदैलो अभियान सुरु गरिसकेको छ । दुवै जना छुट्टाछुट्टै टोली बोकेर फरक फरक स्थानमा उद्योगी व्यावसायीको समस्या र सुझाव सुन्दै हिडेका छन् ।   अध्यक्षका प्रत्यसीहरु हुन्, वर्तमान वरिष्ठ उपाध्यक्ष पवन प्रजापति र हालका बाणिज्य उपाध्यक्ष अर्जुन पोखरेल । यिनीहरु दुवै अघिल्लो महाधिवेशनमा एउटै प्यानलबाट चुनाव लडेका थिए । जहाँ पवन प्रजापति सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका हुन् भने अर्जुनले चुनाव लडेरै निर्वाचित भएका हुन् ।    आसन्न भदौ २४ र २५ गते उद्योगी व्यापारीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा पनि सर्वसम्मतको तयारी भईरहेको थियो । तर विविध कारणले सर्वसम्मतको च्याप्टर समाप्त भएको दुवैको भनाई छ । समस्या एकातिर भएपनि निर्वाचनमा होमिएर एक जना बाहिरिने निधोमा पुगेका छन् दुवै जना ।    स्वाभाविक पनि निर्वाचनमा जितेकोले नेतृत्व गर्छ भने हारेको बाहिरिने नै हो । यसका लागि दुवै नेतृत्व लिन र बाहिनिर तयार छन् । दुवै जनाले केही नयाँ अनुुहार टिममा समेट्दै प्यानल बनाएर हिंडिरहेको छ । सोही क्रममा प्रजापतिको प्यानल पोखरा १७ पुग्यो । सो वडा अर्का प्रत्यासी पोखरेलको बसोबास भएको वडा हो ।    आफ्नो वडामा प्रजापतिको प्यानल घरदैलोका लागि आउने थाहा पाएपछि अर्जुन बिहानै हातमा खादा लिएर बसे । आफ्ना प्रतिपर्धीलाई भेट्ने बित्तिक्कै हातमा भएका खादा प्रजापतिको गलामा लगाईदिएर जितको शुभकामना दिदैं फोटो खिच्न भ्याए । अनि फेसबुकमा पोष्ट्उँदै लेखिहाले, ‘आदरणिय दाई पवन प्रजापती र वाहाको टिमलाई मेरो बसाई रहेको वडा १७ मा स्वागत र शुभकामना दिदै । मेरो सोच ः ‘संस्कार, सम्मानसँगै मित्रवत प्रतिष्पर्धा’    विविध कारण सर्वसम्मत हुन नसकेको बताउने पोखरेल पोखरा उद्योग वाणिज्य संघको अहिलेको चुनावलाई मित्रवत प्रतिष्पर्धा भन्न रुचाउँछन् । ‘हामी दाजुभाइमा कुनै तिक्तता छैन्,’ उनले भने, ‘केही कुरा नमिलेको मात्र हो । यो अधिवेशनलाई मैले मित्रवत प्रतिष्पर्धाको रुपमा लिएको छु ।’   पोखरेलको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।   

  धरान  । धरान उपमहानगरपालिकाले कुहिने फोहर व्यवस्थापन गरे पनि नकुहिने फोहर व्यवस्थापन गर्न सकेको छैन् । उपमहानगरपालिकाले वर्षौँदेखि १५ नं वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहर फाल्दै आएको छ ।    फोहर फालिएको स्थानमा जलाउने गर्नाले सडकमा समेत प्रदूषण बढेको छ । यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न उपमहानगरसँग अनुरोध गरेको थियो ।    उपमहानगरले कुनै सुनुवाइ नगरेको सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष कुमार भारतीले बताउनुभयो । समूहले जिल्ला डिभिजन वन कार्यालय सुनसरीलाई समेत जानकारी गराएको थियो । समूहले वनलाई जानकारी गराएपछि वन कार्यालयले चासो देखाएर उपमहानगर र सव डिभिजन कार्यालय पाँचकन्यालाई पत्र लेखेको छ ।   डिभिजन वन कार्यालय सुनसरीका डिभिजन अधिकृत भीमबहादुर कालिकोटेद्वारा हस्ताक्षरित पत्रमा उपमहानगरपालिकाबाट निस्किएका प्लास्टिकजन्य बस्तु तथा नकुहिने फोहर सामुदायिक वन क्षेत्रभित्र सेउती खोला किनारमा फाल्ने गरेको बुझिएकाले उपमहानगरसँग समन्वय गरी सहरी क्षेत्रबाट निस्केका फोहरमैला वन क्षेत्रमा नफाल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।    कालिकोटेले यही भदौ १२ गते सव डिभिजनलाई पत्र लेख्नुभएको छ । सोही पत्र पाँचकन्याले बाँझगरा सामुदायिक वनलाई बोधार्थ दिइएको छ । जिल्लाको पत्र आएलगत्तै पाँचकन्या सव डिभिजनले सामुदायिक वनअन्तर्गत तीनकुने क्षेत्रमा फोहर नफाल्न उपमहानगपालिकालाई पत्राचार गरेको छ ।

  भक्तपुर । गणेश चतुर्थीका अवसरमा भक्तपुरको सूर्यविनायकको खटजात्रा धुमधामले मनाइँदैछ । स्थानीय सूर्यविनायक क्षेत्र प्रबन्ध समिति, सूर्यविनायक युवा क्लब, सूर्यविनायक नगरपालिकाको वडा नं ६ र ८, ढल्चा भजन, दाफा खल: तथा गुथियारका सक्रियतामा यो जात्रा गरिएको हो ।   यो जात्रा करिब पाँच दशकपछि गत वर्षदेखि पुन:सञ्चालनमा आएको थियो । अर्थाभावका कारण लोप हुने अवस्थामा पुगेको यो जात्रालाई पुनर्जीवित गर्न गत वर्ष सूर्यविनायक–६ र ८ ले रु दुई–दुई लाख बजेट व्यवस्था गरेको थियो । सोहीअनुसार स्थानीय गुठियार र विभिन्न समिति, भजन खल:को सक्रियतामा जात्रा पुन:सञ्चालनमा भएको हो । जात्राका लागि यस वर्ष पनि दुवै वडाले रु तीन–तीन लाख विनियोजन गरेको छ ।   सूर्यविनायक मन्दिर सूनपा–८ र ६ को सिमानामा रहेको छ । जात्रा दुईवटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा रहेको छ भने जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुठी पनि दुईवटै वडाको क्षेत्रमा रहेको छ । त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुईवटै वडाले बजेट विनियोजन गरेको हो ।   गणेश चतुर्थीको दिनलाई भगवान् सूर्यविनायकको जन्मोत्सवका रूपमा समेत लिइन्छ । जात्राका क्रममा सूर्यविनायकको मूल मूर्तिलाई खट्मा राखी एकापसमा सिन्दुर दलेर विभिन्न टोलको परिक्रमा गराइने परम्परा रहेको छ ।   सूर्यविनायक मन्दिरको प्राङ्गणबाट सुरु भएको जात्राका क्रममा खटलाई स्थानीय तीनधारा, पिपलबोट, गुन्चाटोल, राजथला टोल, सूर्यविनायक चोक, चालिसे गाउँलगायतका टोलमा धिमे, भुस्या, धाँ बाजाको साथमा परिक्रमा गराइन्छ । जात्रामा स्थानीय ढल्चा भजन, दाफा खलःका बाँसुरी बाजा, धिमेबाजा तथा गुठियारको सहभागिता रहन्छ ।   गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो)को लोपोन्मुख जात्रालाई बर्सेनि निरन्तरता दिइने सूर्यविनायक युवा क्लबका अध्यक्ष मनोज गिरीले बताउनुभयो ।    काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भन्दछन् । यो गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको जात्रा व्यवस्थापन समिति संयोजक विष्णुप्रसाद राजथलाले बताउनुभयो । उहाँका अनुसार गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्का;(बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्व:मा लैजान र त्यहाँ वैशाख ४ गते हुने द्यो स्वंग: ९सगुन० जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ ।

  सुदूरपश्चिम ।  ज्येष्ठ नागरिक लालबहादुर ओली घरमा एक्लोपन महसुस हुनथालेपछि धनगढीस्थित श्री जानकीयज्ञ ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा पुगेर भजनकीर्तनमा रमाइरहनुहुन्छ । सेवाकेन्द्रमा आयोजना हुने भजनकीर्तन, प्रवचन र देउडा गीतमा रमाउन ९४ वर्षीय उहाँसहितका वृद्धवृद्धा पुग्नुहुन्छ ।    उहाँले भन्नुभयो, “दैनिक दिवासेवा केन्द्रमा पुगेर गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ, आफ्नै उमेरका नागरिकसँग भलाकुसारी पनि गर्न पाइन्छ ।” पचास वर्षअघि श्रीमतीको निधन भएर एक्लोपन महसुस गर्नुभएका उहाँका घरमा छोराबुहारी, नातिनातिना हुनुहुन्छ ।      त्रीयासी वर्षीय भूमिनन्दन जोशी पनि दिउँसोको समयमा दिवासेवा केन्द्रमा पुग्नुहुन्छ । “भजनकीर्तन र देउडा लगायतका गीत सङ्गीतको धुन बज्दा उत्साह र उमङ्ग थपिन्छ”, उहाँले भन्नुभयो, “आफ्नो दिनको सहारा नै यो सेवाकेन्द्र बनेको छ ।” धनगढीकै ८२ वर्षीया चन्द्रा रोस्यारा सेवाकेन्द्रमा भइरहने गतिविधिले मनमा शान्ति हुने गरेको अनुभव सुनाउनुहुन्छ ।    उहाँले भन्नुभयो, “जीवन ठिकै चलेको छ, घरमा पनि सबैले स्याहार र माया गरिरहन्छन् ।” दिवासेवा केन्द्रमा दैनिक कम्तीमा आठ÷दश जना र बढीमा २५ जनासम्म ज्येष्ठ नागरिक पुग्ने गरेको बताइएको छ । हारमुनियम, तबला, खैँजडी, मिजरा, मादलको धुनमा भजनकीर्तन गाउँदा सहभागी ज्येष्ठ नागरिकमा उत्साह र उमङ्ग थपिने गरेको देखिन्छ ।    त्यसक्रममा उहाँहरुले जीवनमा भोगेका सुखदुःखका घटनाका बारेमा आपसमा भलाकुसारी पनि गर्नुुहुन्छ । धनगढी उपमहानगरपालिका–२ को पुरानो भन्सार रोडछेउको श्री रामजानकी मन्दिर परिसरको एक भवनमा सञ्चालनमा रहेको उक्त सेवा केन्द्रले वृद्धवृद्धाका लागि दिउँसोको समयमा भजनकीर्तनसहितको गीतसङ्गीतको व्यवस्थापन गरेर मनोरञ्जन दिँदै आएको हो । भेला हुने ज्येष्ठ नागरिकका लागि खाजा र चियाको व्यवस्था गरिएको हुन्छ ।   सेवा केन्द्रमा व्यवस्थापनको जिम्मेवारीमा रहनुभएकी दुर्गादेवी महराले सेवा केन्द्रले दिइरहेको सेवाबाट ज्येष्ठ नागरिकका अलावा आफूलाई पनि सन्तुष्टि भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खाजा र चियाको व्यवस्थापसँगै मनोरञ्जन दिने व्यवस्थाले बुढेसकालमा उहाँहरुलाई राम्रै भएको छ ।” घरमा अभाव, असुरक्षा र एक्लोपनमा बाँचिरहेका कतिपय ज्येष्ठ नागरिकले उचित माया र सहारा नपाउँदा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता देखिन्छ ।    वयस्क उमेरमा जस्तो बुढेसकालमा खानेलाउने र बाँच्ने तरिका पनि फेरबदल आउने गर्दा ज्येष्ठ नागरिकलाई माया र साहारा निरन्तर चाहिन्छ । कतिपय घरपरिवारबाट उचित व्यवहार र माया नपाउँदा जीवनको उत्तरार्धमा वृद्धवृद्धा पीडित हुने गरेका घटना सुनिन्छन् । वृद्धवृद्धालाई दिउँसोको सयम बिताउन पाउने उचित ठाउँको अभाव महसुस हुँदा समाजसेवी रमणचन्द्र श्रेष्ठसहितको पहलमा विसं २०७१ मा श्री जानकी ज्येष्ठ नागरिक दिवासेवा केन्द्र स्थापनाको योजना बनेको थियो ।    “महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सुरुको अवस्थामा ज्येष्ठ नागरिक शीर्षकमा रु दुई लाख बजेट प्राप्त हुँदा प्रारम्भिक काम सुरु गर्यौ”, केन्द्रका संरक्षकसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “पछि स्थानीय समाजसेवी ईश्वरमान श्रेष्ठ, श्रीमान् श्रेष्ठ, त्रैलोक्यमान श्रेष्ठ र सुवर्णमान श्रेष्ठसहितका सहोदर दाजुभाइले आप्mना स्वर्गीय आमाबुबाको स्मृतिमा यो भवन निर्माणलाई पूर्णता गरिदिनुभयो ।”    दुई तले दिवासेवा केन्द्र भवनको पहिलो तल्लामा भजनकीर्तन र प्रवचनका कार्यक्रम भइरहन्छन् । दोस्रोे तल्लामा धार्मिक पुस्तकालय सञ्चालन गरिएको छ । भवन निर्माणमा प्रदेशसभाका सदस्य डिल्लीराज पन्त र उपमहानगरपालिका कार्यालयबाट पनि सहयोग प्राप्त भएको संरक्षक श्रेष्ठले बताउनुभयो ।     ज्येष्ठ नागरिक सङ्घ कैलालीका पूर्वअध्यक्ष दिव्यप्रसाद पन्तले समाजका पथप्रर्दशक ज्येष्ठ नागरिकलाई आफू एक्लिएको अनुभव र मानसिक चिन्ता महसुस हुन नदिनका लागि दिवासेवा सञ्चालनमा सङ्घले पनि सक्दो सहयोग पुर्याइरहेको बताउनुभयो ।     उहाँले भन्नुभयो, “घरमा छोराबुहारी, नातिनतिना, छाडेर एकान्त ठाउँ ९वृद्धाश्रम०मा बस्नु पर्दा धेरै ज्येष्ठ नागरिकमा मानसिक पीडा र चिन्ता हुनेगरेको स्थलगत अध्ययनका क्रममा देखिएकोले अब यसको विकल्प खोज्नुपर्ने देखिएको छ ।” उक्त केन्द्रले वृद्धवृद्धालाई पटपटक तीर्थाटनमा समेत लैजाने गरेको छ । यसबाहेक बत्ती कात्ने, जनै बनाउने, कामका साथै च्याउ, प्याज, फलफूलका बेर्ना बनाउने तालिमसमेत दिने गरिएको छ ।

  समय र परिस्थितिसँगै हाम्रा चाडबाड, संस्कृति मनाउने तरिकामा केही परिवर्तन हुँदै गएका छन् । घरका आँगन, गाउँका चौतारी, मठमन्दिर, बजारका चोक, खुल्ला चउरमा मौलिक भाकामा घन्कने तीजका भाका अहिले यी ठाउँमा देख्न पाइएन । यस पटकको तीज रमाइलो फेसबुक र टिकटकमा व्यापक छाएको छ ।         संस्कृतिको संरक्षणभन्दा पनि मनोरञ्जनतिर मात्रै तीज रमाइलोको उल्लास छ । विभिन्न पर्यटकीय ठाउँ, मठमन्दिर, पार्क जस्ता क्षेत्रमा पुगेर टिकटक बनाउने, फेसुबकमा फोटो, भिडियो पोष्ट गरेर तीज रमाइलो मनाइरहेका छन् । स्थानीय रमा गौतमले  समयअनुसार आएका नयाँ–नयाँ प्रविधिको उपयोग गर्दै यसपटक तीज टिकटकमा नाचेर मनाइएको बताउनुहुन्छ । विगतका तीजका कार्यक्रममा उहाँ निकै सक्रिय भएर प्रतियोगितात्मक कार्यक्रममा नाचगानमा सहभागी भए पनि अहिले भने तीज पर्व सुरु भएदेखि नै सामाजिक सञ्जालमार्फत आफ्ना प्रस्तुति प्रस्तुत गरिरहनुभएको छ ।         उहाँ भन्नुहुन्छ, “घरमै बसेर नयाँ–नयाँ कपडा लगायो, आफूलाई मन परेको गीत रोजेर टिकटक बनाउने पोष्ट गर्ने, धेरैले यसको प्रयोग गर्नुहुन्छ, यसमै तीजको रमाइलो भइरहेको छ, अन्यत्र कार्यक्रममा जाने झण्झट गरिएन, बाहिर कार्यक्रम हेर्न पहिलाजसो उत्सुकता र रमाइलो लाग्दैन ।” टिकटक बनाउने पोष्ट गर्ने, लाइक, भ्युज, कमेण्टमा बढी ध्यान तानिएको छ । टिकटक, फेसबुकलाई नै बढी समय दिएर आफ्ना प्रतिभा देखाउने जमात युवायुवती, बालबालिकादेखि ज्येष्ठ नागरिकमा पनि उत्तिकै छ । फुर्सदिला व्यक्तिलाई टिकटक, फेसबुक समय भुलाउने माध्यम बनेको र यसबाट लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने अवसर बनेको कला खनाल बताउनुहुन्छ ।        “अरुका सामु नाच्न पटक्कै आउँदैन, यसो नाच्न खोजे पनि लाज र डर लाग्थ्यो, टिकटक आएपछि भने घरभित्रै हल्का नाच्न सिकियो, फुर्सदमा टिकटकमै नाच्न र अभिनय गर्न सिकिरहन्छु”, उहाँ भन्नुहुन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन् । सबैका घर घरमा इन्टरनेटको सुविधा पुगेको छ । स्मार्ट फोन प्रयोग गर्ने धेरै छन् । त्यसकारण पनि हाम्रा चाडपर्व विशेष गीतमा टिकटक बनाउने, नाचगान गर्ने, फेसबुकमा पोष्ट गर्नेको जमात छ ।         चाडपर्वका गतिबिधि सामाजिक सञ्जालमा बढी देखिन थालेको छ । कतिपयले टिकटक र फेसबुकमार्फत देखाउनकै लागि पनि भड्किलो तरिकाले पर्व विशेषका गतिविधि देखाउने गर्दा भने विकृति बढेको धेरैको ठम्याइ छ । सही सदुपयोग गर्न जानियो भने सामाजिक सञ्जाल आफूमा लुकेर रहेका प्रतिभा देखाउने अवसर र यसबाट धेरै राम्रा कुराको जानकारी लिन सकिन्छ । तीज विशेष प्रतियोगितात्मक कार्यक्रममा यस पटक खासै उत्साह देखिएन । पहिले पहिले यहाँ आयोजित कार्यक्रममा प्रतियोगिको ठूलो सहभागिता रहेपनि यस पटक न्यून मात्रामा मात्रै थिए । सूचना प्रविधिको विकास र प्रयोगले नाचगान कार्यक्रममा पहिलेजसो रुची छैन ।         अघिल्ला वर्षमा तीज प्रतियोगितात्मक कार्यक्रममा १५ समूहभन्दा बढी प्रतिस्पर्धामा प्रतियोगिको सहभागिता रहने गरेकोमा अहिले ६ समूहले मात्रै कार्यक्रममा सहभागिता जनाएको रजघरा बजार व्यवस्थापन समितिका अध्यक्ष हरि पोखरेलले बताउनुभयो । “यस पटक सहभागीको सङ्ख्या अति नै न्यून भयो, पहिला त धेरै टाढाबाट गीत र नाच तयारी गरेर आउथे, प्रचारप्रसार व्यापक रहेपनि नाच्ने र गाउने समूह घट्दै गयो” उहाँले भन्नुभयो । यसैगरी विजयपुर बजार व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा पनि जम्मा ६ समूहले मात्रै सहभागिता जनाए । प्रथम, द्वितीय, तृतियका लागि ठूलो नगद रकम पुरस्कार रहेता पनि सहभागितामूलक कार्यक्रममा दर्शकले खासै चासो दिएनन् । यहाँ विगतका वर्षमा ठूलो समूहमा कार्यक्रम हुने गरे पनि पछिल्ला वर्षमा तीजमा प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुने क्रम घट्दो छ ।        घरमै बसेर इन्टरनेटमा सबै कुराको उपयोग गर्ने सुविधा भए पश्चात् घरदेखि बाहिर हुने खुल्ला प्रतिष्पर्धात्मक कार्यक्रममा सहभागी हुन जाने उत्साह नभएको सिर्जनशील युवा क्लवका अध्यक्ष ओमप्रकाश रेग्मी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महिलाका लागि आयोजना गरिएको कार्यक्रममा महिला सहभागीता नै कम हुन थालेको छ, घरमै बसेर इन्टरनेट प्रयोगकर्ता बढ्दै, प्रत्यक्ष रुपमा घरबाहिर निस्केर खुल्ला प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुने क्रम घट्दै गयो, पहिलाजसो दुख र बेदनाको तीज अहिले नभएर होला, सबैलाई सुख र सुविधा छ ।”       यस्ता तीज विशेष आयोजना गरिएका प्रतियोगितात्मकमूलक कार्यक्रममा दर्शकको उपस्थिति पनि घट्दै गएको छ । दर्शकको उपस्थितिले भरिभराउन हुने खुल्ला चउर, बजारका चोक पछिल्ला वर्षमा उपस्थिति पातलिँदैछ ।