गलकोट:  बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियाम...

  वालिङ: सडकमा हिंँड्दै गरेका सहाराविहीन बालबालिका देख्दा कमलाको मन छोयो । अभिभावक कोही भएको भए त अरु बालबालिका जस्तै घरमै बस्थे होलान्, पढ्थे होलान्, आमा बुवाको काखमा रमाउँथे होलान् भन्ने कुराले मनमा चसक्क घोच्यो । दुई/तीन यस्ता असहाय बालबालिकाको अभिभावक बन्छु भन्ने त उहाँलाई भयो तर आफूले दुई/तीनको अभिभावकत्व लिँदैमा समाजमा थप अरु असहाय बालबालिकाको अभिभावक को बन्छ त ? उहाँलाई यही कुराले बारम्बार झकझकाइ रहयो । दुई /तीन जनाको अभिभावक बनेर साहारा दिन्छु भन्ने सोच मनैबाट पलाए पनि आफ्ना आफन्तहरु र यस विषयका जानकारहरुसँगै बुझ्दा व्यक्तिगतभन्दा पनि संस्थागत तरिकाले अगाडि बढ्दा राम्रो हुने सुझाव पाएपछि संस्था दर्ता गरेर असहाय बालबालिकाको अभिभावक बन्ने अभियान थाल्नुभयो ।   दश वर्षे द्वन्द्वका समयमा अभिभावक गुमाएका, अङ्गभङ्ग भएका परिवारका बालबालिका हाल समाजमा विभिन्न कारणबाट अभिभावकविहीन बन्न पुगेका बालबालिकालाई आश्रय दिनेगरी अमोर सेवा नेपाल संस्था स्थापना भयो । कमला पराजुलीको अध्यक्षतामा स्याङ्जाको फेदीखोला गाउँपालिका १ मा कार्यालय रहने गरी विसं २०६८ मा संस्था स्थापना भएको हो ।   विसं २०६८ मा संस्था स्थापना भए पनि विसं २०७२ मा सात जना अभिभावकविहीन बालबालिका राखेर काम अभियान थालिएको हो उहाँले जानकारी दिनुभयो । बालगृहमा अहिले ३० जना बालबालिका बस्दै आएका छन् । अभिभावकविहीन, घर परिवारबाट त्यागिएका, अपाङ्गता वा घाइते भई पालनपोषण गर्न नसक्ने परिवारका रुकुम, मुगु, पर्वत र स्याङ्जाका बालबालिका बालगृहमा राखेर अभिभावकत्व प्रदान गरिएको पराजुली बताउनुहुन्छ ।   बालगृहमा तीन वर्षदेखि १७ वर्ष उमेर समूहका २० बालक र १० बालिका छन् । अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै उनीहरुको लुगाफाटो, खानपिन, बसोबास तथा अध्ययनको व्यवस्थापन कमलाले मिलाउँदै आउनुभएको छ । “बालगृह सञ्चालनका लागि आम्दानीको स्रोत भने केही छैन”, उहाँले भन्नुभयो, “मुख्य स्रोत भनेकै मुठीदानसहित जन्मदिन, वार्षिक पुण्यतिथिमा गरिने कार्य, धार्मिक कार्य, विभिन्न सङ्घसंस्थाले खाद्यान्न, लत्ताकपडालगायत नगद तथा जिन्सीका रुपमा प्राप्त हुने सहयोग नै हो ।”    असहाय बालबालिकाको अभिभावकको रुपमा स्थापित भएको बालगृहमा स्थानीय तहले हालसम्म कुनै पनि किसिमको सहयोग गरेका छैन । बालगृहले हालसम्म सञ्चालनका लागि कुनै पनि विदेशी सहयोग नलिएको उहाँले बताउनुभयो ।   बालगृहमा बस्दै आएका २८ बालबालिका दामगाडे माध्यमिक विद्यालयमा र २ जना सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनगर्दै आएका छन् । बालगृहमा आश्रित रहेका बालबालिकालाई अध्यक्ष कमला, बुवाआमा र २ जना सहयोगीहरु निरन्तर खट्दै आउनुभएको छ । बालगृह सञ्चालनका लागि मासिक रुपमा करिब रु दुई लाख ५० हजार खर्च हुने गरेको उहाँले बताउनुभयो ।

  पोखरा । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताका लागि पोखरेली टिम ‘पोखरा एभेन्जर्स’ ले प्लेयर स्वायड सार्वजनिक गरेको छ ।    पोखराको टिमका लागि मार्की प्लेयरमा मोहम्मद असिफ सेख रहेका छन् भने शरद भेषावकर पनि पोखराबाटै खेल्नेछन् । पोखराका अन्य खेलाडीहरुमा  कुशल मल्ल, प्रतिस जिसी, आरिफ शेख, तुलबहादुर थापा, विसन विक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन र सिद्धान्त लोहनी रहेका छन् ।   विदेशी खेलाडीहरुमा पाकिस्तानी विकेट किपर व्याट्स्म्यान मोहम्मद हाफिज, पाकिस्तानकै सलमान इर्साद तथा श्रीलंकन खेलाडीहरु निरोशान डिक्वेला, शेहन मधुशंका जस्ता दिग्गज खेलाडीहरुलाई पोखरा एभेन्जर्सले आफ्नों टिममा अनुबन्धन गराएको छ । सुवोध त्रिपाटी र आतिस ज्ञवालीको वर्नशिपमा रहेको यो टिम मेण्टरमा भारतका पूर्वखेलाडी सन्दीप पाटिल रहेका छन् । प्रतियोगिता आगामी असोज ८ देखि कार्तिक ५ गते सम्म टियु खेल मैदानमा हुनेछ । 

  काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानमा उल्लेखित बालअधिकार कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।        प्रदेशको समाजिक विकास मन्त्रालयले राष्ट्रिय बालअधिकार दिवसको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगरमा आयोजित बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा बालबालिकाको प्रश्नसँगको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले सबै पक्षले हातेमालो गरे मात्र कानुन कार्यान्वयनमा सहजता हुने बताउनुभयो ।        मुख्यमन्त्री शाहीले बलात्कार जस्तो जघन्य अपराध नेपालमा ठूलो समस्या बनेकोतर्फ प्रदेश सरकार गम्भीर रहेको भन्दै यस्ता अपराध हुन नदिन सबै मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । “यस्ता अपराध न्यूनीकरण गर्न सबै जुट्नुप¥यो, म अस्ती जुम्लामा जाँदा चार वर्षीया बालिका बलात्कृत भएको घटना थाहा पाए । यस्ता घटना न्यूनीकरणको लागि हामी सबै एक भएर अगाडि बढौँ ।” उहाँले भन्नुभयो, “छुवाछूत विरुद्धको कानुन त विसं २०२० मा बनिसकेको थियो नी, तर छुवाछूत त अहिलेसम्म नै कायम छ, यसो हुनु भनेको चेतनाको कमीले हो । त्यसैले हामी सबैले हातेमालो गरेर बालअधिकार सुनिश्चित गर्न सक्छौँ ।” बालविवाह न्यूनीकरणमा सरकार लागि रहेको भन्दै उहाँले यसको लागि पनि सचेतना नै आवश्यक हुने उहाँको भनाइ छ ।        मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार बालबालिकाको शिक्षा, स्वास्थ्य र अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउनुभयो ।    मुख्यमन्त्रीलाई बालबालिकाको प्रश्नै प्रश्न      कार्यक्रममा बालबालिकाले मुख्यमन्त्री शाहीलाई बालअधिकारका कुरा कागजमा मात्रै नभएर कार्यान्वयन पनि जोड दिन माग गर्दै प्रश्नैप्रश्न सोधका थिए ।       उनीहरुले बालबालिका अहिले पनि श्रममा परिरहेको, बालिका बलात्कार बढ्दै गएकोतर्फ सरकारले किन ध्यान दिन नसकेको भन्दै मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए । जनमावि सुर्खेतमा कक्षा १२ पढ्दै गरेकी आसिका खत्रीले बालिका बलात्कृत भइरहेको भन्दै बलात्कृत भएपछि पैसामा न्याय साटिने प्रवृतिको अन्त्य गर्न सरकारको किन ध्यान पुग्न नसकेको भन्दै प्रश्न गर्नुभयो । “बलात्कृत भएको बालिकालाई न्याय त दिइएला, उसको जीवन नष्ट भइसकेको हुन्छ, तर न्याय जग्गा र पैसामा साटेर न्याय दिलाइन्छ । यसले बालअधिकार हनन गर्दैन र ?” उहाँको प्रश्न थियो ।      सुर्खेतकै कृति काफ्लेले पनि कर्णालीमा बालविवाहको अवस्था गम्भीर रहेको भन्दै बालविवाह विरुद्धका बनेका कानुनहरु कार्यान्वयन हुन नसक्नुको कारण जिज्ञासा राख्दै भन्नुभयो, “हाम्रो ठाउँमा धेरै बालविवाह भइरहेका छन । त्यो मुख्यमन्त्रीलाई पनि थाहा छ, बालविवाह विरुद्धका कानुनहरु पनि बनेका छनु । मुख्यमन्त्रीले ति कानुन सक्रियतापूर्वक किन कार्यान्वयन गर्न सक्नुभएको छैन ?”      सुर्खेत जनमाविका छात्र खगेन्द्र विकले नेपालको संविधानले व्यवस्था गरेको बालअधिकार अन्तर्गतका जोखिममा रहेका बालबालिकाको राज्यले संरक्षण गर्ने भनिएको बताउँदै यसको कार्यान्वयनको अवस्थाका बारेमा मुख्यमन्त्री शाहीलाई सोध्नुभएको थियो ।       कार्यक्रममा विभिन्न जिल्लाका बालबालिकाहरुले टेलिफोन र भिडियोमार्फत मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए भने राउटे समुदायका बालबालिकाले राउटे बालबालिकालाई प्रदेश सरकारले के गर्छ ?  भनेर प्रश्न सोधेका थिए ।      कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद कार्पी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी वक्ताको रुपमा रहनुभएको थियो ।

  काठमाडौं । त्रिभुवन विश्वविद्यालयका महाशाखा प्रमुखहरुले लगातारको तालाबन्दी कायम रहेमा आसन्न बडादसैँमा तलब दिन नसकिने स्थिति उत्पन्न हुने बताउनुभएको छ ।        विश्वविद्यालयका सबै महाशाखा प्रमुखले यससम्बन्धी एक विज्ञप्ति जारी गर्दै तालाबन्दीकै कारण विश्वविद्यालयमा कार्यरत कर्मचारीको तलब भत्ता र पेन्सन आदि गत असार महिनादेखि रोकिएको उल्लेख गर्नुभएको छ । काम बापत पाउनु पर्ने न्यूनतम पारिश्रमिकसमेत नपाउँदा कर्मचारी मर्माहत भएकाले तत्काल तालाबन्दी खोलिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।        तालाबन्दीले दैनिक अत्यावश्यक काम रोकिनुका साथै विश्वविद्यालय नै धरासायी हुन लागेको भन्दै तत्काल तालाबन्दी अन्त्य गर्न सम्बन्धित निकाय र विद्यार्थी सङ्गठनसँग अपिल गरिएको छ । विज्ञप्ति जारी गर्नेमा त्रिभुवन विश्वविद्यालयका आर्थिक, सामान्य प्रशासन, केन्द्रीय पुस्तकालय लगायतका महाशाखा प्रमुख हुनुुहुन्छ ।

  काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले सङ्घीय संसद्बाट पुन:पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताउनुभएको छ ।       उक्त विधेयकका सम्बन्धमा राखेको जिज्ञासामा पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो, “संविधानको अधिकार र परिधिभित्र रही राष्ट्रपतिबाट नागरिकता विधेयकलाई स्वीकार गरी यथाशीघ्र निकास दिनु नै उत्तम हुन्छ । यसरी नै यस विषयले निकास पाउँछ भन्नेमा म विश्वस्त छु ।”    नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि अहिले राष्ट्रपति समक्ष पुगेको छ ।   प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकबाट पारित गरी सभामुखबाट प्रमाणित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकतासम्बन्धी विधेयक गत साउन २९ गते आठ बुँदे सन्देशसहित राष्ट्रपति कार्यालयबाट अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुन:विचार गरियोस् भनी सदनमा फिर्ता पठाइएको थियो ।       सन्देशमा ‘संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चितता गरिएको हुनाले कानुनको तत्काल आवश्यक रहेको बारेमा कुनै प्रकारको सन्देह वा द्विविधा रहेको छैन’ भन्ने लगायतका  विषयबस्तु उल्लेख छ ।        सन्देशसहित फिर्ता आएको विधेयकलाई सरकार र सदनले स्वभाविकरुपमा लिई प्रतिनिधिसभा, राष्ट्रियसभा र विधायन समितिमा आवश्यक छलफलपछि पुनःपारित गरी राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइएको हो । संविधान संरक्षकका हैसियतले राष्ट्रपतिले विधेयकका सम्बन्धमा उठेका विभिन्न प्रश्नका बारेमा समाजका विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग राय परामर्श लिनुभएको थियो ।          सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादव भन्नुहुन्छ, “राष्ट्रपति, सरकार, संसद् र राजनीतिक दल संविधानले दिएको अधिकार र परिधिभन्दा बाहिर नजाऔँ, संविधानलाई सहजरुपमा सुचारु हुने काम गरौँ ।” नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त संविधानको कार्यान्वनलाई सहजरुपमा सुचारु बनाएर खदिलो तुल्याउँदै लैजानुपर्छ भन्दै उहाँले कुनै विषयमा अलमल भएमा विषयविज्ञ, संविधान र कानुनविद्सँग गरिएको परामर्शका आधारमा अघि बढ्न सकिने आफ्नो अनुभव सुनाउनुभयो ।       पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो, “राष्ट्रपति, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई प्राप्त संविधानसम्मत अधिकार र परिधि उल्लङ्घन गर्न हुन्न । विषयविज्ञ भन्दा बाहिरका व्यक्तिसँग हुने छलफल र परामर्शले शङ्का उपशङ्का पैदा हुन्छ । त्यसैले सबैले संविधानले दिएको अधिकार प्रयोग गरेर यसैको परिधिभित्र रहेर काम गरौँ, समस्या समाधानको यो नै उत्तम उपाय हो ।” अघिल्ला संविधानमा जस्तो राष्ट्रपतिलाई न्यायालयबाट सल्लाह र सुझाव लिने तथा प्रोत्साहन र सचेत गराउने व्यवस्था नरहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले विधायिका, कार्यपालिका, व्यवस्थापिका र राष्ट्राध्यक्ष संस्थाले संविधानले दिएको अधिकार एवं परिधिभित्र रही संविधानलाई सहज कार्यान्वयन गर्न योगदान पुर्याउनुपर्छ भन्नुभयो ।        पूर्वराष्ट्रपति डा यादव भन्नुहुन्छ, “राष्ट्रपतिको मर्यादा र सीमा  संविधानले तोकिदिएको छ । संसारको परम्परा पनि हेर्नुपर्छ । राष्ट्रपतिले विधेयक स्वीकार गरी प्रमाणीकरण गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । हामीले सबैलाई समेटेर लैजानुपर्छ ।”       संविधान प्रारम्भ हुनुअघि जन्मेको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबुआमा दुवै नेपाली नागरिक भएको अवस्थामा वंशजका आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था कार्यान्वयनका लागि उक्त कानुन ल्याउन परेको सरकारको स्पष्टोक्ति छ । नागरिकता प्राप्त गर्नबाट वञ्चित ठूलो सङ्ख्यामा रहेका युवायुवतीले पठनपाठन, विदेश यात्रा, बैंकिङ कारोबार तथा चलअचल सम्पत्ति खरिद बिक्रीसमेत गर्न नपाएर अनागरिक बन्न बाध्य भइसकेको गुनासो गर्दै आएका छन् ।

  सप्तरी । चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका–६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन् ।    सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका मेहतरलाई कैद भुक्तानका लागि राजविराज कारागार पठाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चोरी मुद्दामा अदालतबाट २०७८ चैत १४ गते उनलाई पाँच महिना कैद र रु पाँच हजार जरिवाना ठहर भएको थियो ।   आरोपितले २०७७ कात्तिक १९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी बस्ने ३१ वर्षीय झौली कामैतको घरबाट खसी चोरेका थिए । यसैगरी सवारी ज्यान मुद्दामा फरार रहेका सप्तरीको सुरुङगा नगरपालिका–२ पिप्रा पश्चिमका ३५ वर्षीय शिवराज दाहाललाई समेत प्रहरीले पक्राउ गरेको छ ।    अदालतले विसं २०७५ चैत ३ गते दाहाललाई एक महिना १५ दिन कैद ठहर गरेको थियो । कैद ठहर गरी फैसला गरेपश्चात फरार रहेका दाहाललाई खोजतलासको क्रममा आज पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाउन लागिएको छ ।   उदयपुरगढी गाउँपालिका–७ की ३१ वर्षीय सुशीला तामाङले स१त ५५५९ नंका ट्र्याक्टरधनी दाहालविरुद्ध उजुरी दिनुभएको थियो । फैसला कार्यान्वयनअन्तर्गत गत वर्ष सप्तरी प्रहरीले चार सय चार जनालाई पक्राउ गरेको थियो । यसमा देवानी मुद्दाअन्तर्गत तीन सय ४७ र फौजदारी अपराधअन्तर्गत ५७ जना रहेका थिए ।   यस्तै आर्थिक वर्ष २०७८/७९ मा  प्रहरीले एक सय तीन वर्ष ११ महिना २६ दिन कैद र रु १० लाख ८९ हजार एक सय २६ जरिवाना असुल गरेको थियो ।

  काठमाडौँ । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ ।   पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडीए तीन सय ३० जहाजमार्फत पाकिस्तानको कराँची सहर पठाइएको हो ।   विपत्तिमा परेको पाकिस्तान सरकार र जनताको सहयोगस्वरुप २२ टनभन्दा बढी राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । राहत सामग्री कराँची पठाउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले अत्यावश्यक औषधि तथा राहत सामग्री पठाइएको बताउनुभयो ।    यो सहायता सामग्री नेपाल सरकारले एकैपटक उपलब्ध गराएको हालसम्मकै ठूलो राहत भएको प्रवक्ता लम्सालको भनाइ छ । “हाल पाकिस्तानलाई प्रदान गरिएको राहत सामग्री नेपाल सरकारद्वारा एकैपटकमा कुनै मुलुकलाई प्रदान गरिएको हालसम्मकै ठूलो परिमाणको सामग्री हो ।” नेपालबाट प्रदान गरिने राहत सामग्रीको संयोजन तथा समन्वयमा परराष्ट्रमन्त्री डा नारायण खड्काको निरन्तर पहलबाट भएको मन्त्रालयले जनाएको छ ।    विमानस्थलमा परराष्ट्रमन्त्री डा नारायण खड्काले कराँची जाने टोलीलाई बिदाइ गर्नुभएको थियो । राहत सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कराँची प्रस्थान गरेको हो । टोलीमा गृहमन्त्रालय, अर्थमन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्वास्थ्य सेवा विभागका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी हुनुहुन्छ । विमानस्थलमा परराष्ट्रमन्त्री डा खड्काले कराँची जाने टोलीलाई बिदाइ गर्नुभएको थियो ।   पाकिस्तानका बाढीपीडितलाई उपलब्ध गराइएको राहत सामग्रीमा अत्यावश्यक औषधि, खाद्यवस्तु, लत्ताकपडालगायत छन् । ती सामग्री कराँचीस्थित जिना अन्तर्राष्ट्रिय विमानस्थमा पाकिस्तान सरकारका सम्बद्ध पदाधिकारीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रवक्ता लम्सालले बताउनुभयो ।   पाकिस्तानमा हालै आएको मनसुनी वर्षापछिको विनाशकारी बाढीले ठूलो जनधनको क्षति भएकामा उक्त बाढीले पुर्याएको क्षतिप्रति समवेदना प्रकट गर्दै नेपाल सरकारोतर्फबाट पाकिस्तान सरकार तथा जनतालाई सहायतास्वरुप यही भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।    नेपाल एयरलाइन्सको उडान नं २१७१ जहाजले काठमाडौँ–कराँची उडान भरी साँझ कराँचीबाट काठमाडौँ फर्कने उडान तालिका रहेको छ । राहत सामग्री बोकेको जहाज केहीबेरअघि कराँची प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।   मित्रराष्ट्रराष्ट्र पाकिस्तानसँग २० मार्च १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै दुईदेशबीच घनिष्ट सम्बन्ध रहँदै आएको छ । दुवै मुलुककाबीचमा सरकार तथा जनस्तरमा सहयोगात्मक सम्बन्ध विद्यमान हुनुका साथै प्राकृतिक प्रकोपका समयमा एकआपसमा सहयोग गर्ने परम्परा रहेको छ ।   नेपाल सरकारले यसअघि सन् २०१० मा पाकिस्तानलाई नगद रु एक करोड सहयोग गरेको थियो । पाकिस्तानले पनि विसं २०७२ को विनाशकारी भूकम्पका पीडितलाई राहतस्वस्प नेपाललाई आवश्यक मानवीय सहायता उपलब्ध गराएको थियो । 

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।           सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत हुनुहन्थ्यो ।          सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु सोमबार काठमाडौँ आइपुग्नुभएको हो । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।          अध्यक्ष लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । नेता लीले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नुहुने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको आजै भेटवार्ता हुनेछ ।       अध्यक्ष लीले यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।          चिनियाँ प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुन:निर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

  कावासोती । चाउरिएको अनुहारमा सेतै फुलेको दारी, पिठ्युमा झोला, साधारण पोशाकमा जिल्लाका लगभग सबै साहित्यिक कार्यक्रममा सर्जक दीपक सोती देखिनुहुन्छ ।  उहाँ उमेरले ७५ मा हिँड्दै हुनुहुन्छ । उहाँको साहित्यप्रतिको लगाव र हुटहुटी देख्दा लाग्छ उहाँ २०–३० वर्षकै उमेरमा हुनुहुन्छ ।   मञ्चमा उक्लिएपछि सबै उमेर समूहका दर्शक, स्रोताको मन जित्न सफल उहाँको मनमा भने विगत ३४ वर्षदेखि एउटै पिरले डेरा जमाएको छ ‘म्याउँ म्याउँ बिरोलो’ आफ्नो भनेर प्रमाणित कसरी गर्ने ।  विसं २०२८ तिर रत्न रेकर्डिङमा सङ्गीता थापाको स्वरमा सो बालगीत रेकर्ड भएको जनाइएको छ ।    चार सन्तानका पिता उहाँले वर्षौँ पहिले आफ्नो जेठो सन्तान गुमाउनुभयो, अनि अहिले आएर उहाँलाई आफैँले लेखेको म्याउँम्याउँ बिरालोलाई  पनि आफ्नो जीवनकालमा आफ्नो नाम दिन पाउँदिन कि भन्ने पिरलोले दिन–दिनै सताएको छ ।   विगतलाई उहाँले यसरी सम्झनुहुन्छ,  “विसं २०२५ असारको महिना थियो, बा–आमा खेतमा जानुभएको थियो, घरमा भाइलाई हेर्दै बसेका बेला बिरालो आएर कराइको दूध खाँदै थियो, त्यहीँ देखेपछि गीत लेखेको हुँ । ”    विसं २०२८ ताका लमजुङबाट पाँच दिन पैदलयात्रा गरेर काठमाडौँ गएको बेला पशुपतिमा प्रज्ञा प्रतिष्ठानका सदस्य श्यामदास वैष्णवसँग भेट भएको र उनै श्यामदाससँग डिल्लीबजारसम्म पुगेपछि चिया पिउँदै गर्दा म्याउँम्याउँ बिरालो देखाएपछि रेकर्ड गर्ने सल्लाह उहाँबाट पाएको सर्जक सोती सम्झनुहुन्छ  । उहाँले श्यामदासबाट सल्लाहमात्रै पाउनुभएन, उस्ताद भैरवबहादुर थापासँग भेट गराइदिनुभयो । भेटपछि भैरवबहादुरकै सङ्गीत र उनै भैरवबहादुरकी  १०  वर्षीया सानी छोरी सङ्गीता थापाको स्वरमा रत्न रेकर्डिङमा गीत रेकर्ड भएको सोतीलाई सम्झना छ । रत्न रेकर्डिङको प्लेट नं ८१ मा  गीत रेकर्ड भएको र गीत रेकर्डपछि रु ८५ पारिश्रमिकसमेत पाएको सर्जक सोतीले जानकारी दिनुभयो ।   रत्न रेकर्डिङमा रेकर्ड भएपछि म्याउँम्याउँ बिरालो बोलको बालगीत रेडियो नेपालसहित अल इन्डिया रेडियो, श्रीलङ्का र चीनको रेडियोबाट बज्ने नेपाली कार्यक्रममा यो गीत बज्ने गरेको सर्जक सोतीले बताउनुभयो । गीत रेर्कड भएपछि उहाँले खासै वास्ता राख्नुभएन, त्यतिबेला त्यो गीत रेडियो नेपाल, भारत, चीन र श्रीलङ्काको रेडियोबाट पनि बजेको भने उहाँलाई सम्झना छ । “सुरु–सुरुमा गीतको चासो त्यति राखिनँ तर विगत ३४–३५ वर्षदेखि गीतको खोजी गरेको छु, तर अत्तोपत्तो छैन”, उहाँले भन्नुभयो । “पछि त यही गीत मेरो नाम नराखी पाठयपुस्तकमा पनि छापिएर आएछ”, थाहा पाउँदा दुःख लाग्यो”, उहाँले भन्नुभयो ।    गीत पाठयपुस्तकमा बिना नाम छापिएर आएपछि कवि सोतीले तत्कालीन शिक्षा सहायकमन्त्री क्षेत्रप्रताप अधिकारीलाई भेटेर पाठयपुस्तकमा आफ्नो नाम राखिदिन आग्रह गर्नुभएको थियो ।  विसं २०४६ को जनआन्दोलनका समय भएकाले पुस्तकमा समेत नाम आउन नसकेको उहाँको दुःखेसो थियो ।   आन्दोलनपछि विसं २०५०÷५१ ताका आफ्नो नाम नराखी पाठयपुस्तकमा छापेको एकता प्रकाशन पुगेर आफूले आपत्ति जनाएको उहाँले बताउनुभयो । यसपछि नाम राखिदिने आश्वासन समेत उहाँले पाउनुभएको थियो ।  पारिश्रमिकस्वरुप रु दुई हजार प्रकाशनले दिएको उहाँले बताउनुहुन्छ । “नाम त हालेनन् हालेनन्, झन् सम्पादन गर्दा एक जना वस्ती थर भएकाले गीत नै बिगारी दिएछन्”, उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “अहिले त झन् युट्युबमा आएको छ, हेर्न त धेरैले हेरेका रहेछन्, तर मेरो नाम नै छैन, त्यही माथि गीत पनि बिगारेका रहेछन्”, उहाँले भन्नुभयो ।   आफूसँग भएको गीतको क्यासेट विसं २०४३÷४४ ताका पोखरामा डेरा सर्ने क्रममा फुटेपछि गीतलाई आफ्नो नाम दिन काठमाडौँमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यालयमा बर्सेनि धाइरहेको उहाँले सुनाउनुभयो ।  उहाँलाई आफ्नो जीवनकालमै त्यो गीतको रचनाकारका रूपमा आधिकारिकरूपमा फेरि पनि नाम लेखाउन पाउँदिन कि भन्ने पिरले गिजोल्न भने कत्ति छाडेको छैन ।   रेडियो नेपालका निर्देशक कार्यक्रम महाशाखा प्रमुख वरिष्ठ साहित्यकार नवराज लम्साल पनि त्यो गीत कवि सोतीकै भएको बताउनुहुन्छ  । “विसं २०७२ को महाभूकम्पको बेला धेरै पुराना क्यासेट फुटे, सायद सोतीजीको पनि त्यही बेला फुटेको हुनुपर्छ, हामाीले सबै पुराना क्यासेटहरूलाई रिकभर गर्दैछौँ, भेट्नासाथ उहाँको सम्पत्ति उहाँलाई हस्तान्तरण गर्छौ”, उहाँले भन्नुभयो ।   विसं २०२८ मा गीत रेकर्ड गर्दा आफू स्वयं स्टुडियोमै रहेको जनाउँदै वरिष्ठ सङ्गीतकार दीपकजङ्गम म्याउँ–म्याउँ बिरालो कवि सोतीको रचना भएको बताउनुहुन्छ । “गीत रेकर्ड मेरै अगाडि भएको हो, सङ्गीताले गाएकी हुन्, यसको रचनाकार सोतीजी नै हो”, उहाँले बताउनुभयो, “गीतको रचनाकार सोती नै भए पनि अहिले पुष्टि गर्न प्रमाण जुटाउन परेको छ, इतिहास बिर्सनु हुँदैन, यो गीत उहाँले नै लेख्नुभएको हो ।”   उमेरले ७५ लागेका सोतीलाई भने उक्त गीतको प्रतिलिपि अधिकार आफ्नो नाममा गराउन मन छ । “उमेरले बूढो भए पनि हिम्मत हारेको छैन, एकपटक फेरि काठमाडौँ जान्छु, आफ्नो सन्तानको माया कसलाई पो हुन्न र”, उहाँ भन्नुहुन्छ ।   यस्तो छ गीत म्याउँ–म्याउँ बिरालो यतातिर आउ मेरो नाना काटी गर्ने मुसा मारी खाउ कराइको दूध खाइदेऊ भने म त भोकै हुन्छु, नखाइदेउ भन्छु बाबा भन्छिन् खाली बुबु चोर्न जाली आमा भन्छिन् चोर्ली भाडाहरु फोर्ली बुबु चोर्यो भने लट्ठीले म हान्छु नआइज न यता चोर्नै म्याउ भन्छु   विसं  २००६ मा लमजुङको कुन्छामा जन्मिनुभएका सर्जक सोती अहिले स्थायीरूपमा पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं १२ मा बसोबास गर्नुहुन्छ । विसं २०२१ मा ‘नरोक मलाई’ कविता लेखेर दोस्रो स्थान हासिल गरेका उहाँ अनवरतरूपमा साहित्य सिर्जनामा क्रियाशील हुुनुहुन्छ ।  विसं २०२८ मा लमजुङको कुन्छा साहित्य परिषद्को अध्यक्ष, २०३८ मा मकवानपुर साहित्य परिषद् हटौँडाको संस्थापक उपाध्यक्ष,  २०४६ मा युवा साहित्य सदन पोखराको संस्थापक सचिवसमेत भएका कवि सोतीको  ‘मेरी  मस्र्याङ्दी’ कविता सङ्ग्रह(२०२८),  ‘दुई बत्ती निभेर’ कविता सङ्ग्रह (२०३०), ‘जगदम्बा’  काव्य (२०४५), ‘समालोचक’ शोक काव्य (२०४१) , ‘मेरी आमा रुँदी हुन्’  कविता सङ्ग्रह (२०६७), फुल्न नसकेका फूलहरू (२०७८) र थुप्रै फुटकर कविता प्रकाशित भएका छन् ।