झापा । पूर्वोत्तर झापाको बाहुनडाँगी बजारमा हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन राखिएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनको उद्घाटन मेची नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गर्नुभयो । व्याट्री, प्यानल बक्स, तार जडित सो मेसिनले हात्ती प्रवेश गर्नासाथ सूचना दिने बताइएको छ । उज्यालो नेपालका पूर्वध्यक्ष एवं स्वयंसेवक रमेश थापाले सो साइरन मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गर्नुभएको र हात्ती आउँदा बजेको सो मेसिनको साइरनले बाहुनडाँगी बजार आसपास एक किलोमिटर क्षेत्रसम्म आवाज सुनिने बताइएको छ । साइरनमा मोबाइल एप्स जोडेर प्रत्येक व्यक्तिले हात्ती आएको जानकारी लिन सकिने बताइएको छ । साइरनको सुरुक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा दिइएको छ । “साइरन बजेपछि हात्ती आएको थाहा पाइन्छ”, उज्यालो नेपालका स्वयंसेवक थापाले भन्नुभयो, “त्यसपछि घरमै बस्दा पनि मानिसले ज्यान जोगाउन सक्छन् । हात्ती आउँदा हात्ती धपाउने होइन कि घरमा लुकेर बस्नु पर्छ ।”
पोखरा: जोण्टा क्लवको आयोजनामा पोखरामा महिलाहरुका लागि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जयन्ती ट्रष्टसंगको सहकार्यमा ‘गो रेड फर वोमन’ नारा दिइएको उक्त शिविर पोखराको भाटभटेनि प्राङगणमा भएको हो । कार्यक्रममा झण्डै ४ सय महिलाले लाभ लिएको जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा महिलाहरुको निःशुल्क ब्लड प्रेसर, नाप, तौल, ईसिजी, बिएमआई, ब्लड ग्लुकोज लगायत टेष्ट गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा एकेडेमी अफ हेल्थ साईन्सका भिसी प्रोफेसर डा.डुक बहादुर क्षेत्रीले तीजको बेला महिलाहरुलाई लक्षित गरि आयोजित कार्यक्रम सान्दर्भिक भएको बताउनुभयो । यो सामाजिक क्षेत्रका लागि उदाहरणिय कार्य भएको उहाँको भनाई थियो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा न.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले कार्यक्रमले समाजमा सकारात्म सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । क्लबले आगामी दिनहरुमा आयोजना गर्ने कामहरुमा पनि वडाले हातेमालो गर्ने मर्सानीले जनाउनुभयो । महिलाहरुको पर्व हरितालिका तीजका अवसरमा आयोजित कार्यक्रम क्लवका महासचिव नेलिसा ठकुरीले सञ्चालन गर्नुभएको थियो ।
पोखरा: पोखरामा भूमिगत तला (अन्डर ग्राउण्ड) लाई पार्किङको रुपमा प्रयोगमा ल्याउन महानगरले ३५ दिने अल्टिमेटम दिएको छ । पोखरा महानगरपालिकाले महानगर भित्रका भूमिगत तलालाई पार्किङको रुपमा प्रयोगमा ल्याउन आज (आइतबार) ३५ दिने सूचना प्रकाशित गरेको हो । सुचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका क्षेत्र भित्र पार्किङ प्रयोजनका लागि नक्शा स्वीकृत गरी निर्माण भएका भूमिगत तला सहितका भवनहरुको भूमिगत तलाई पार्किङमा प्रयोग नगरी अन्य प्रयोगमा ल्याउनु भएका घरधनीहरुलाई आजका मितिले ३५ दिन भित्र भूमिगत तलालाई खाली गरी पार्किङ रुपमा प्रयोगमा ल्याउनु हुन अनुरोध गरिन्छ । अन्यथा कानुन बमोजिम हुुने व्यहोरा जानकारी गराईन्छ ।’ नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तला पार्किङका रुपमा ल्याउन घरधनीलाई आग्रह गर्दै सुचना अनुरुप पार्किङमा प्रयोग नगरेमा कानुनी कारवाही गर्ने जनाएको छ ।
कुश्मा । पर्वतका गाउँगाउँमा मोटरबाटो पुगेको छ । उपभोग्य वस्तु सहजै गाउँमा पाइन थालेको छ । स्थानीय सरकार आएपछि प्रशासनिक कामका लागि गाउँबाट सदरमुकाम कुश्मा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । यहाँको व्यापार व्यवसाय फष्टाएको छ । व्यवसायी विभिन्न विकल्प खोज्दै छन् । व्यापार व्यवसायलाई अघि बढाउन पाँच सयभन्दा बढी व्यवसायी तथा स्थानीयले बागलुङको बलेवा र कुश्मालाई जोड्न केबलकार मोडेलको यान्त्रिक पुल सञ्चालनमा ल्याएका छन् । यसले सुस्ताएको कुश्मालाई जुरमुराउने काम गरेको छ । सदरमुकाम कुश्मा र दक्षिणी बागलुङका दर्जन बढी गाविसलाई जोड्ने काम यही यान्त्रिक पुलले गरेको छ । पर्वत उद्योग वाणिज्य सङ्घको अग्रसरतामा कालीगण्डकीको खोंच माथि करिब रु पाँच करोड खर्चेर निर्माण गरिएको उक्त पुलमा दैनिक तीन सयभन्दा बढी यात्रु आवतजावत गर्दै आएका छन् । “हामीले बागलुङ र पर्वतलाई जोड्न यान्त्रिक पुलको निर्माण गरेका हौँ”, बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले भन्नुभयो, “सङ्घीयता आइसकेपछि पर्वतको व्यवसाय धरासायी बन्दै गएका बेला यहाँको व्यवसाय चलायमान बनाउन पुलले महत्वपूर्ण काम गरेको थियो ।” दक्षिणी बागलुङमा उत्पादन भएका कृषिउपज बिक्रीका लागि कुश्मामा ल्याइन्छ । खाद्यान्न कुश्माबाट बागलुङतर्फ लैजाने गरिन्छ । पुलले दुई जिल्लाकै व्यापार व्यवसायमा मद्दत पु¥याएको छ । त्यस्तै स्वास्थ्य, शिक्षा, रोजगारीलगायतमा पनि यसले सहजता प्रदान गरेको छ । “बागलुङको दक्षिणी भेगका बासिन्दाका लागि पुल निकै लाभदायिक सावित भएको छ”, यान्त्रिक पुल चढ्दै गर्दा भेटिनुभएका बलेवाका गोविन्दप्रसाद सिग्देलले भन्नुभयो, “हाम्रा छोराछोरी कुश्माको विद्यालयमा पढ्न जान्छन् । यहाँबाट रोजगारीका लागि कुश्मा जाने पनि धेरै छन् । पुलले भूगोल मात्र नभई पर्वत र बागलुङका बासिन्दाको मन पनि जोडेको छ ।” दक्षिणी बागलुङ क्षेत्रका नारायणस्थान, अमलाचौर, कुश्मिशेरा, दमेक, सर्कुवा, पैँयुन्थापलगायतका स्थानीयलाई बागलुङ बजार पुग्नुभन्दा कुश्मा आउन सहज हुने गरेको छ । उनीहरु पोखरा र काठमाडौँ जाँदासमेत यान्त्रिकपुलकै प्रयोग गरी कुश्मा आएर गाडी चढ्ने गर्छन् । प्रशासनिकबाहेक अन्य कामका लागि पनि उनीहरु कुश्मा नै आउने गरेका छन् । बागलुङको दक्षिणी भेगका स्थानीयलाई घण्टौँ लगाएर भिरको बाटो भएर कुश्मा आइपुग्नुपर्ने बाध्यता अब हटेको छ । त्यहाँका बान्दिालाई भाडादरमा सहुलियतसमेत दिइएको छ । अन्य यात्रुले एकतर्फीको रु एक सय १३ तिर्नुपर्ने हुन्छ भने उनीहरुले रु ८५ मात्र तिरे पुग्छ । नेपाली प्राविधिकले बनाएको यान्त्रिक पुल नेपालकै पहिलो हो । तारको सहायतामा दुई डिब्बालाई वारिपारि गराइन्छ । एउटा डिब्बामा आठ यात्रु बस्न मिल्छ भने छ सय किलो सामान ढुवानी गर्न सकिन्छ । पछिल्लो समय यान्त्रिक पुल आन्तरिक पर्यटकको रोजाइमा समेत पर्न थालेको छ ।
मुस्ताङ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ । समुन्द्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको उक्त कोर्समा ‘टप अफ द वल्ड गल्फ च्यालेञ्ज’ सम्पन्न भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नुर्बु गुरुङले जानकारी दिनुभयो । “यो गल्फ प्रतियोगिता विश्वकै सर्वाधिक उचाइको भएको हाम्रो दाबी छ”, उहाँले भन्नुभयो, “यस प्रतियोगिताले यहाँको सम्भावनालाई थप उजागर गरेको छ ।” प्रतियोगितामा कूल ३५ प्रतियोगी सहभागी भएको जानकारी दिँदै गुरुङले ८१ वर्ष उमेरसम्मका व्यक्तिले भाग लिएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा पुरुषतर्फ श्याम तामाङ र महिलातर्फ सुस्मा सिंह च्याम्पियन बन्नुभएको छ । अघिल्लो वर्ष उक्त स्थानमा गल्फको परीक्षण गरिएको थियो । उक्त स्थानमा गल्फ कोर्ष निर्माणका लागि पूर्वाधार तयार गर्न अघिल्लो वर्ष संसद् विकास कोषअन्तर्गत रु १० लाख विनियोजन गरिएको थियो । गाउँपालिकाले प्रतियोगिता सञ्चालनका लागि रु १० लाख छुट्ट्याएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
पर्वत । भरिया दाइले बिसाउने भारी सुन माया डाँडैको चौतारी’ कलाकार विष्णु खत्रीले गाउनुभएको यो गीत सुन्दा चौतारीको सम्झना दिलाउँछ । हुन पनि भारी बोकेर हिँड्नेहरु कतिबेला चौतारी पुगिएला र भारीको बोझ बिसाउँला भन्ने गर्दथे । भारी बोक्ने मात्र होइन, बाटो हिँड्ने बटुवासमेत चौतारी भेटेपछि थकानलाई विश्राम लिन्थे । बरपिपलको चौतारीमा बसेर थकित शरीरलाई विश्राम लिँदा छुट्टै आनन्द आउँथ्यो त्यो बेला । अहिले ती इतिहास बोकेका चौतारी, पोखरी र पँधेरा बिरानो हुँदै गएका छन् । बरपिपलका रुख पनि बुढेसकाल लागेर सुक्दै गएका छन् । धोद्रा लागेका रुखले तिनै बटुवालाई कुरिरहेका छन् । कुनै बेला सञ्चारको विकास नहुँदा अगाडि हिँड्दै गरेको साथीले पछि आउँदै गरेको साथी भेट्न चौतारीमा कुरेर बस्ने प्रचलनसमेत थियो । एक दशक अगाडि बाटेमा देखिने चिटिक्क परेका चौतारी अहिले एकादेशको कथा बन्न थालेका छन् । विकास निर्माणको गतिसँगै भौतिक विकासमा दौडिरहेको हाम्रो समाज यतिबेला त्यतै अल्मलिँदा पुराना संरचना भत्किँदै जान थालेका हुन् । एक दशक अगाडि पर्वत सदरमुकाम कुश्मा आउनजान प्रयोग हुने पैदलमार्ग मोदीवेणी, मुडिकुवाअन्तर्गत सिर्सुवाको चौतारी बटुवाहरूको थकाइ मेट्ने स्थानका रूपमा चिनिन्थ्यो । कुश्माबाट भारी बोकेर फर्किएका भरिया मोदीवेणीको उकालो काटेर सिर्सुवाको चौतारीमा विश्राम लिँदा भारीको थकान बिर्सन्थे । डाँडाको चौतारीमा चल्ने चिसो हावाले उकालो चढ्दा पसिनाले भिजेको शरीरलाई शीतलता दिन्थ्यो । चौतारीमा बिसाइ मेट्नेहरूको सङ्ख्या बढ्दै जाँदा नजिकै रहेका होटल व्यवसायीको पनि व्यापार बढेको थियो । कुश्मा आउनेहरू बाटोमा पानी पर्दा मोदीवेणीमा रहेको ठाँटीमा ओत बस्न पाउँदा घरमै पुगेको आभास हुन्थ्यो । आज ती चौतारी, पाटीपौवा झाँडीले भरिएका स्थानीय थानेश्वर भुसालले बताउनुभयो । चौतारीका ढुङ्गा लेउ लागेका छन्, संरक्षण अभावमा छन् । यो त एउटा उदाहरण मात्र हो आज कैयौँ चौतारी यस्तै अवस्थामा पुगेको उहाँको भनाइ छ । बाटो आसपासका कुवा तथा पोखरी यतिबेला मोटरबाटोले पुरिएका छन् । पैदलयात्री हिँड्ने गाउँको गोरेटो बाटो सुनसानै भएका छन् । इतिहास बोकेका ती ढुङ्गे छपनी बिछ्याएका बाटा त्यस्तै अवस्थामा छन् । बाटो हिँड्दा पानी पर्दा घामले पौल्दा अनि कुनै गन्तव्यमा हिँडेका बटुवा साँझ पर्दा बास बस्ने ठाँटीमा कोही पुग्दैन, ती पुराना संरचना भत्किएका छन् । अहिले पाटीपौवा बन्न छाडेका छन्, विकासले फड्को मारेको हाम्रो समाजमा गाउँमा मोटरबाटो पुगेपछि हिलाम्मे भएका सडकमा यतिबेला गाडी गुडिरहेका छन् । हिलाम्मे बाटो भए पनि गाडीमा यात्रा गर्नुपर्ने गाउँलेको बाध्यता बनिसकेको छ । महाशिलाका वृद्ध झमनाथ अधिकारीले भन्नुभयो, “भौतिक विकाससँगै गाउँको इतिहास बोकेका गोरेटो बाटो चौतारी, पोखरी, पाटीपौवाको अस्तित्व हराउँदै गएको गयो ।” पछिल्लो समय गाउँगाउँमा पर्यटन प्रवद्र्धनको धारणा आए पनि स्थानीय तहबाट यस्ता ऐतिहासिक संरचना पुनःनिर्माणको चर्चा चलेको पाइएको छैन । पूर्वाधार विकासका नाममा सडक सञ्जालको विकासलाई नै मुख्य विकास मानिँदै आएको पाइन्छ । आधुनिक विकाससँंगै बाउबाजेले स्थापना गरेका ती ऐतिहासिक संरचनाको प्रवद्र्धन हुन नसक्दा सङ्कटमा परेको स्थानीय पदमपाणि शर्माले बताउनुभयो । “गाउँमा भएका यस्ता पुराना संरचना जोगाइराख्नु सबैको जिम्मेवारी हो”, उहाँले भन्नुभयो । त्यसैले सङ्कटमा परेका इतिहास बोकेको संरचना संरक्षणमा लाग्नुपर्ने देखिन्छ । वातवरणका दृष्टिकोणले पनि मानव सभ्यतासँग जोडिएका संरचना जोगाइ राख्नुपर्ने तपाईँ हामी सबैको दायित्व रहेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय वातवरण संरक्षण अभियानअन्तर्गत डिभिजन वन कार्यालयद्वारा चौतारीपोखरी संरक्षण अभियान सञ्चालन गरिए पनि यस अभियानमा स्थानीयवासीको सहभागिता देखिँदैन । गत आर्थिक वर्षमा पर्वत जिल्लामा छवटा चौतारी र ११ वटा पोखरी निर्माण भएको डिभिजन वन कार्यालय पर्वतका प्रमुख विष्णु अधिकारीले बताउनुभयो । यस वर्ष पनि सामुदायिक वन क्षेत्रमा पानीका मुहान संरक्षण अभियानअन्तर्गत पोखरी निर्माण गर्ने तथा हरियाली प्रवद्र्वनका लागि चौतारी निर्माण अभियान सञ्चालन गर्ने डिभिजन वन कार्यालय पर्वतले जनाएको छ ।
पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जीवन गुरुङ दोहोरिएका छन् । शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट गुरुङलाई दोस्रो पटक अध्यक्षमा सर्वसम्मत चयन भएपछि दोहोरिएका हुन् । गुरुङ नेतृत्व सो समितिको उपाध्यक्षमा वीरेन्द्र केसी निर्वाचित भए । यसैगरी सचिवमा दिलकुमारी मोक्तान, कोषाध्यक्षमा विष्णुबहादुर गुरुङ र सहसचिवमा सन्जु थापा मगर चयन भए । सदस्यहरुमा बबिता कार्की, विष्णु आचार्य, कविर गुरुङ, सुरज शाह ठकुरी, दिनेश केसी र दिप्सन गुरुङ छानिएको नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार सो संघमा २६ वटा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी आवद्ध छन् ।
बागलुङ : बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गर्नुभयो । जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोग्नुभयो । अझै पनि उहाँ हट्टाकट्टा हुनुहुन्छ । गाउँमा सडक आएपछि उहाँले अझै १० वर्ष बढी बाँच्न सक्ने बताउनुहुन्छ । “अहिले गाउँमा मोटर आएपछि निकै धेरै सुविस्ता भएको छ, पहिलाको जस्तो दुःख गर्नु पर्दैन, यो ठाउँका मान्छेलाई सबैभन्दा दुःख नुन, तेल र चामलको हो, यी सबै ल्याउन बजारमा जानुपथ्र्यो, बिहान उठेर बजारमा गयो भने मध्यरातमा फर्कनुपथ्र्यो”, छन्त्यालले भन्नुभयो, “आजभोलि त बजार जान पनि पर्दैन सकैथोक गाउँमै छ, पहिलाको जस्तो दुःख गर्न नपर्दा अझै १० वर्ष बाँचुलाजस्तो लाग्छ ।” दशक अगाडि तमानखोलाका गाउँहरूसम्म पुग्ने फराकिला गोरेटो बाटाहरू थिएनन् । स्थानीय बासिन्दा साँघुरै गोरेटोमा उकाली-ओराली गर्थे । त्यही गोरेटोमै पशु चौपाय ओहोरदोहोर गराउँथे । अहिले ती उकाली–ओलारी गर्ने गोरेटोहरू फेरिएका छन् । गोरेटो बाटो फेरिएसँगै स्थानीयको मन फेरिएको छ, तन फेरिएको छ र जीवनशैली नै फेरिएको छ । कुनै समय मान्छे ओहोरदोहोर गर्न सकस पर्ने गोरेटोमा अहिले सररर मोटर गुड्छन् । यसरी गाउँमा मोटरबाटो आउला भन्ने स्थानीयवासीले कल्पनासमेत गरेका थिएनन् । तर अहिले गाउँमा दैनिक गाडी गुड्दा दङ्ग छन् । सडकले यहाँको रहनसहन र दैनिकी फेरिँदै छ । कतिपय यसलाई देशमा आएको राजनीतिक प्रतिफल मान्छन् त कोही समयले ल्याएको परिवर्तन । “गाउँमा सडक आयो बिरामी भएपछि सहजै अस्पतालसम्म पुग्न सकिन्छ, गाउँलेहरूको धेरैजस्तो समस्या समाधान भएको छ, गाउँमा सडक आउला, यस्तो विकास होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ”, छन्त्याल भन्नुहुन्छ, “हामी त निकै दुर्गममा छौँ, यस्तो ठाउँमा गाडी आउला, सुविस्ता देला भन्ने लागेको थिएन, तर अहिले यसरी घरै अगाडि सधैँ गाडी गुड्दा अचम्म लाग्छ ।” उहाँले बिरामी पर्दा डोकोमा बोकेर अस्पताल पुर्याउने गरेको स्मरण गर्दै सडकले अहिले सामान्य उपचारका लागि टाढा पुग्न नपर्ने बताउनुहुन्छ । “हाम्रो पालामा कोही मान्छे बिरामी पर्यो भने डोकामा बोकेर अस्पताल पुर्याउनुपथ्र्यो, बाटोघाटो गतिलो थिएन, त्यसरी अस्पताल लैजाँदै गर्दा कतिको बाटैमा मृत्यु भयो, कति निको भएर घर फर्के, अहिले कोही बिरामी पर्दासाथ गाडी बोलायो, गाडीमा हालेर उतिखेरै अस्पताल पुर्याउँछन्, सामान्य उपचार त गाउँमै पनि हुन्छ ।” तमानखोला गाउँपालिकामा स्थानीय सरकार आएपछि २७ बस्तीमा सडक पुर्याएको छ । यसले स्थानीयवासीलाई खुसी त दिने नै भयो, दैनिकीसमेत फेरिदिएको छ, जीवनशैली फेरिदिएको छ । अब उनीहरूलाई पहिलोको जस्तो कहालीलाग्दो जीवन बिताउनुपर्ने छैन । सडक पुगेपछि अन्य विकासका पूर्वाधार पनि धममाधम निर्माण भइरहेका छन् । तमानखोला गाउँपालिका–४ लाम्मेलाका हर्कबहादुर छन्त्याल ७६ वर्ष हुनुभयो । उहाँ पनि गाउँमा सडक आएपछि निकै खुसी हुनुहुन्छ । विसं २०१८ देखि लामो समयसम्म बुटवलबाट खाद्यान्न तथा नुन बोकेर उपभोग गर्दै आउनुभएका छन्त्याल अहिले आफ्नै घर अगाडि ती सामान पाउँदा दङ्ग हुनुहुन्छ । सडक नहुँदा गाउँलेहरूले कैयन समस्या सामना गर्दै आएको सुनाउँदै छन्त्यालले अब दुःखका दिन गएको बताउनुभयो । गाउँमा घाँस दाउराको भन्दा औषधोपचार र खाना जोहो गर्नु निकै चुनौतीपूर्ण रहेको भन्दै अहिले सबै सुविधा सहजरूपमा लिन सक्ने छन्त्यालको भनाइ छ । आफूले धेरैपटक बुटवलबाट नुन लिएर उपभोग गरेको सुनाउँदै अहिले घर छेउकै दोकानबाट नुनतेल र चाहिए जति सामान ल्याउने गरेको बताउनुहुन्छ । “घरमा नुन सकियो भने गाउँका सबैसँग सल्लाह गरेर खसौली बटौली जान्थ्यौँ, बाटोमै खाना पाकाएर खान्थ्यौँ, बाटोमै सुत्थ्यौँ, निकै रमाइलो पनि हुन्थ्यो, कष्ट पनि”, उहाँले भन्नुभयो, “अहिलेका पुस्ताले त्यो दुःख भोग्नु पर्दैन, हाम्रो दुःख सुनाउँदा उनीहरूलाई कथाजस्तो लाग्छ रे, बटौलीबाट नुन बोकेर खाएका हौँ भन्दा पत्याउँदैनन् ।” आफूले मोटर गाडी बुटवल, पाल्पा पुगेर देखेको भन्दै अहिले गाउँका हरेक कुनाकाप्चामा गुड्ने गरेको छन्त्यालले बताउनुभयो । आफूहरूले खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएको भन्दै छन्त्यालले अब बढी उत्पादन भएको वस्तुलाई बजारसम्म पुर्याउन सहजसमेत बनेको बताउनुहुन्छ । “मैले बटौली नुन लिन जाँदा १७ वर्षको उमेरमा बटौलीमा मोटर देखेको थिएँ, त्यसपछि पाल्पा, तानसेन, वामीटक्सार, खर्बाङ , बुर्तिबाङ हुँदै अहिले गाउँ–गाउँमा मोटर पुग्यो, घरबाट निस्किँदा बित्तिकै देख्न पाइन्छ”, उहाँले भन्नुभयो, “पहिले उत्पादन भएका आलु, सिमीहरूले गाउँभन्दा बाहिर जाँदैनथे, अहिले बढी उत्पादन भयो भने यही गाडी ल्याएर खोज्दै आउँछन्, यसले गर्दा आम्दानी पनि बढेको छ ।” आलु र सिमी उत्पादनका लागि तमानखोला प्रख्यात मानिन्छ । आधा दशक अगाडिसम्म यहाँ उत्पादित सामग्रीहरू बजार बाहिर जाँदैनथे । सडक थिएन । स्थानीयले बोकेर बजारसम्म पु¥याउन गाह्रो थियो । जब गाउँहरू मोटरबाटोले जोडिए । तब उत्पादित वस्तुले बजार पाउन थाले । कृषकको पनि जीवनशैली सहज बन्दै गयो । मोटरबाटोले गाउँ जोडिएपछि गाउँलेको जनजीवन फेरिएको तमानखोला गाउँपालिका-२ का भीमबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले सडकले गाउँ जोडिनुका साथै तमानखोलामा विकासको ढोका खुलेको बताउनुहुन्छ । सडकका कारण गाउँमा विस्तारै साना उद्योगहरू सञ्चालनमा आउन थालेको र रोजगारीको सिर्जनासमेत हुन थालेको घर्तीको भनाइ छ । “मोटरबाटोले गाउँ मात्रै जोडिएन, यसले त सिंगो तमानाखोलाको विकासको ढोका खोल्यो, अब यहाँ थुप्रै विकास हुने छन्, कतिपय विकासका काम त सुरु भइ सके, ठाउँ–ठाउँमा पुल बने, सडक बने, खानेपानीका धारा बने, कतिपय ठाउँमा बन्दैछन्, विकास भन्ने यही त होनी, हामीले चाहेको खोजेको पनि यही हो”, घर्तीमगरले भन्नुभयो, “अहिले त गाउँगाउँका साना उद्योग पनि सञ्चालन भइरहेका छन्, यहाँ थोरैले भए पनि रोजगार पाएका छन् ।” अब वर्षौँदेखि सडक नहुँदा भोग्दै आएका समस्याहरू विस्तारै समाधान हुने क्रममा छन् । तमानखोलामा स्थानीय सरकार आउनुपूर्व दुईवटा बस्तीमात्रै मोटरबाटोले जोडिएका थिए । अहिलेसम्म आउँदा छवटै वडाका सबै बस्तीमा मोटरबाटो पुगेको छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभान र वडा नं ३ को तमान गाउँ स्थानीय सरकार आउनुपूर्वनै मोटरबाटोले जोडिएका थिए । म्याग्दीसँग सीमा जोडिएको तमानखोला धार्मिक पर्यटकीय हिसाबले पनि अत्यन्तै सम्भावना बोकेको छ । चर्चित सोलेडाँडा, बराहताललगायतका पर्यटकीय गन्तव्यसम्म गाउँपालिकाले सडक पु¥याएको छ । सडकका कारण पर्यटकीयस्थलमा समेत आन्तरिक पर्यटक बढ्न थालेका छन् । पालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि तमान, लाम्मेला, नर्जाखानी, खुङ्खानी, भयरभोङ्गा, स्याउलालगायतका ठाउँमा वर्षात्को समयमा सिधा यातायात सञ्चालन हुनसकेको छैन । यी ठाउँहरूमा सिधा यातायात सञ्चालनका लागि बोङ्गादोभानमा मोटरेवल पुल निर्माण हुँदै छ । यहाँ पुल निर्माणपछि पालिकाको केन्द्रदेखि सबै वडा र बस्तीमा सिधा यातायात हुनेछ । गत वर्षसम्म बुर्तिबाङ बजारबाट पालिकाको केन्द्रसम्म पनि वर्षात्को समयमा सिधा यातायात हुँदैनथ्यो । ढोरपाटन नगरपालिका–३ हुँद्राफेँदी र तमानखोला गाउँपालिका वडा नं १ बालिभाङमा दुईवटा मोटरेवल पुल निर्माण भएपछि अहिले बाह्रै महिना सिधा यातायात सञ्चालन हुन्छ । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जिल्लामा सबैभन्दा दुर्गमको पालिका तमानखोला भएको हुँदा विकास निर्माणमा निकै चुनौती भएको बताउनभयो । चुनौतीका बाबजुद सबै बस्तीमा सडक पुर्याउन सफल भएको बताउनुभयो । भौगोलिक विकटता र छरिएर रहेको बस्तीका कारण सडक सञ्जालले जोड्न केही ढिला भए पनि पाँच वर्षमा सबै बस्तीमा मोटरबाटो पुगेको उहाँ बताउनुहुन्छ । “तमानखोला गाउँपालिका दुर्गम पालिका हो, यहाँको भौगोलिक बनावट, छरिएको बस्तीका कारण हामीलाई विकास निर्माण गर्न निकै चुनौती थियो, त्यसका बाबजुत पनि पालिकाको २७ वटै बस्तीमा अहिले गाडी गुड्न सक्छन्”, अध्यक्ष बुढामगरले भन्नुभयो, “पाँच वर्षको कार्यकालमा सडक सञ्जालले सबै बस्ती जोड्यौँ, अब ती सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी विकास गर्नुपर्ने छ, हामी त्यसअनुसार लागिपरिरहेका छौँ ।” अध्यक्ष बुढामगरले सडक नै विकास निर्माणको मुख्य आधार भएको र सडक निर्माणपछि मात्रै अन्य विकास गर्न सकिने बताउनुभयो । गाउँपालिकाले पहिलो वर्षदेखि नै सडकलाई प्राथमिकता दिएर काम गरेको हुँदा अन्य विकास निर्माणका कामहरू गर्न सजिलो भएको अध्यक्ष बुढामगरको भनाइ छ । सडकले पर्यटन, उद्योग, कृषि र पशुपालनमा समेत ठूलो सहयोग पुर्याएको उहाँले बताउनुभयो । “पाँच वर्ष अगाडि पालिकाका धेरै गाउँहरू सडकविहीन थिए, अहिले जहाँ पुग्छौँ, त्यहाँ गाडीमै पुग्न सक्छौँ, कहीँकतै साना बस्ती भएको ठाउँमा सडक नपुगेको होला तर सबै ठाउँमा सडक पुगेको छ, हामी निर्वाचित भएर आएको पहिलो वर्षदेखि नै सडकलाई प्राथमिकता दिएर काम गरेका थियौँ, अहिले दोस्रो कार्यकाल पनि सुरु भएको छ, अब सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी निर्माण गछौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “सडक निर्माणपछि अन्य विकासका काम पनि गर्न सहज भएको छ ।” सडकले कृषकलाई समेत ठूलो राहत पुर्याएको अध्यक्ष बुढामगरको भनाइ छ । उहाँले सडकले नजोडिँदा यस क्षेत्रका कृषकले उत्पादन गरेका वस्तु खेर गएको र अहिले राम्रो बजारसमेत पाउने गरेको बताउनुहुन्छ । “सडकले कृषकलाई धेरै सहयोग पुगेको छ, हाम्रो पालिका पशुपालन र आलुखेतीमा अब्बल छ, पहिलेदेखि नै यहाँका कृषक खेतीपाती र पशुपालनमा लागेको हुँदा बजार अभाव थियो, बोेकेर लैजाने अवस्था थिएन, अहिले व्यापारी खरिद गर्न गाउँमै आउँछन्”, उहाँले भन्नुभयो, “अझ पर्यटन क्षेत्रको प्रचार–प्रसारमा समेत सहयोग पुगेको छ, सडक नहुँदा सोलेडाँडा, बराह ताललगायतका गन्तव्यमा आन्तरिक पर्यटक आउँदैनथे, अहिले सडकले गर्दा हिउँद–बर्खा जहिले पनि मान्छे आइरहन्छन् ।” गाउँपालिकाले सडकसँगै स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि जोड दिएको छ । नागरिकलाई सहज स्वास्थ्य उपचारका लागि एक घण्टाको दूरीमा सामुदायिक स्वास्थ्य एकाइ, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य उपचार केन्द्र बनाएको छ । शिक्षातर्फ पनि स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन सुरु गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औं महाधिवेशनका लागि प्यानल सहित उम्मेद्वारी घोषणा गरेका अर्जुन पोखरेल नेतृत्वको समूहले चाउथेबाट घरदैलो अभियान सुरु गरेका छन् । उम्मेद्वारहरु सहितको टोलीले खसीबजार र आसपासका क्षेत्रमा व्यवसायीसँग भेटेर भोट अपिल गरेका थिए । उनीहरुले व्यवसायीका समस्या बुझ्दै आफ्नो समूहले चुनाव जिते सबै समस्या समाधान गर्न लागि पर्ने बताए । ‘व्यवसायीका हक हित र अधिकारकै लागि यो समूह बनेको हो । समूहले चुनाव जितेपछि उद्योगी व्यवसायीका यावत् समस्या समाधान गर्ने छौं,’ अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले भने, ‘उद्योग वाणिज्य संघको विरासत कायम गर्दै थप परिस्कृत गर्नका लागि हाम्रो समूह आएको छ ।’ उनले आफ्नो समूहमा लामो समय विभिन्न संघ संस्था र उद्योग वाणिज्य संघमा समेत काम गरिसकेका उम्मेद्वार भएकाले उद्योगीका समस्यासँग नजिक रहेको बताए । ‘समस्या धेरै छन् । सरकारसँग पहल गर्नुपर्नेदेखि हामी भित्रै सम्बोधन गर्नुपर्ने विषय पनि छन्,’ उनी भन्छन्, ‘संघलाई सम्मानित बनाउने र व्यवसायीलाई समुन्नत बनाउन दिनरात खट्ने छौं ।’ पदाधिकारी र सदस्य सहितको उपस्थितिमा भएको घरदैलोका क्रममा उद्योगी व्यवसायीहरुले पोखरेलको समूह सक्रिय युवाहरु सम्मिलित भएकोले भरोसा बढेको प्रतिक्रिया दिए । ‘पहिले पनि सक्रिय युवाहरुलाई हामीले सहयोग गरेका हौं । अहिले पनि युवाहरुको समूहलाई भोट दिन्छौं,’ खसीबजारमा ब्यवसाय गर्दै आएका विष्णुहरी न्यौपानेले भने, ‘अबको पालो युवाको हो । परिवर्तन युवाले नै गर्न सक्छन् । हामी युवाको साथमा छौं ।’ मत माग्न जाने क्रममा उम्मेद्वारसँग मतदाताहरुले आफ्ना समस्या सुनाएका थिए । बैंकले ब्याज बढाएको देखि सरकारले बढी कर लिएकोसम्म उनीहरुको गुनासो छ । उम्मेद्वारहरुले कर कम गर्नका लागि अहिले देखि नै पहल भैरहेको र बैंकको ब्याज बढाएको बारेमा समेत ध्यानाकर्षण भएको बताएका छन् । उनीहरुले वर्षेनी बढ्ने ब्याजलाई निरुत्साहित गर्न सरोकारवालासँग पहल भैरहेको बताए । पोखरेलको प्यानलले उद्योग वाणिज्य संघलाई बहुतले बनाएर किसान बजार चलाउने देखि भवनबाट आम्दानी गर्ने योजना ल्याएको छ । अन्तराष्ट्रिय संघ संस्था र नेपाल मै खुलेका उद्योग र व्यवसायसँग सम्बन्धित संघ संस्थासँग सहकार्य गर्ने, पोखरामा लगानीमैत्री वातावरण सिर्जना गर्ने, सरकार र नागरिकबीचको पुलका रुपमा काम गर्ने लगायत प्रतिबद्धता पोखरेल समूहको छ । उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिसकेका छन् । शनिबार चाउथे सहित काहुँखोला, मियाँपाटन, गौंडाको मुख क्षेत्रमा घरदैलो गरिएको महासचिव उम्मेद्वार केशवबहादुर खत्रीले जानकारी दिए ।