गलकोट:  बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियाम...

  काठमाडौं । बागमती प्रदेशभित्रका नागरिकलाई अत्यावश्यक रक्तसञ्चार सेवा निःशुल्क हुने भएको छ ।    प्रदेश सरकारले विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधिबमोजिम आर्थिकरुपले विपन्न नागरिकलाई यस्तो सेवा सुरु गरिएको हो ।    जिल्लामा पनि सेवा सञ्चालनका लागि स्वास्थ्य कार्यालय चितवनले क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरसँग सम्झौता गरेको छ । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाई र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रका सभापति ज्ञानशाली न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । तीन वटा अस्पतालका प्रतिनिधिको रोहवरमा सम्झौता भएको हो ।       कार्यालयका प्रमुख चापागाईले असोज १ गतेबाट भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बकुलहर रत्ननगर अस्पतालमा उपचाररत बिरामीलाई रगत निःशुल्क उपलब्ध गराइने बताउनुभयो ।       कार्यविधिअनुसार एउटा बिरामीले एक वर्षमा १० युनिट रगत निःशुल्क पाउने छ । डायलासिस र रक्ततत्व आवश्यकपर्ने बिरामीका लागि थप १० युनिट निःशुल्क हुनेछ । आकस्मिक अवस्थामा रहेका घाइते र बिरामीलाई भने प्रदेश सरकारले जहाँका बिरामी भए पनि निःशुल्क उपलब्ध गराउने छ ।       बिरामीले निःशुल्क सेवा लिनका लागि आफू बागमती प्रदेशको वासिन्दा भएको खुल्ने कागजपत्र पेश गर्नुपर्ने हुन्छ । चापागाईले भन्नुभयो, “यो सेवा लिनका लागि आवश्यक कागजात पेश गर्नुपर्ने भएकाले सोहीअनुसार अनुरोध गर्दछु ।” निःशुल्क रगत लिनका लागि विपन्न नागरिक भएको स्वघोषणा गर्नुपर्ने हुन्छ । यसका लागि कुनै प्रमाण माग नगरी स्वघोषणा फाराम भरे पुग्ने गरी व्यवस्था गरिएको छ ।       कार्यालयले एक वर्षका लागि तीन हजार आठ सय युनिट रगतका लागि बजेट विनियोजन गरेको छ । हाल रगतका लागि केन्द्रले सेवा शुल्कबापत रु आठ सय ५० लिँदै आएको छ । जिल्लामा दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गर्दछ । यहाँबाट माग पूर्ति गर्न नसकेर छिमेकी जिल्ला, काठमाडौँ, पोखरालगायतका ठाउँबाट रगत ल्याउने गरिएको छ । यस कार्यक्रमसँगै यहाँका तीनवटा अस्पतालमा उपचारका लागि आउने विपन्न वर्गका बिरामी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । दुर्घटना, क्यान्सर र सुत्केरीले तीन अस्पतालमा धेरै रगत खपत हुँदै आएको छ ।

  काठमाडौं । टीकापुरका रमिला जोशीका दुई सन्तान छन् । उहाँका दुवै सन्तान साना हुँदा कान पाकेर हैरानी भयो । लामो उपचारपछि कान पाक्ने समस्या समाधान भयो ।    “पहिलो बच्चा हुर्काउँदा पनि कान पाकेर हैरानी भयो, जतिपटक रुघाखोकी लाग्थ्यो, त्यतिपटक बच्चाको कान पाक्ने समस्या पनि हुन्थ्यो”, उहाँले भन्नुभयो, “दोस्रो बच्चा हुर्काउँदा धेरै सचेत थिए । दोस्रो बच्चा पनि कान पाकेर दुःख पाएँ ।” उहाँका बच्चाको कान पाक्ने समस्या लामो उपचारपछि निको भएको उहाँ बताउनुहुन्छ । “अहिले बच्चा ठूला भए, उनीहरूमा समस्या छैन”, उहाँ भन्नुहुन्छ, “अहिले पनि नुहाउँदा कानमा रुइ हालेर नुहाउने, नदी खोलामा ननुहाउने, रुघाखोकी लागेमा तुरुन्तै उपचारमा जानेजस्ता कार्य गर्छौँ ।”     टीकापुरकै सुधा विकको बच्चा अहिले एक वर्षको छ । उहाँको बच्चा छ महिनाको भएदेखि बच्चाको कान पाक्ने समस्या छ । बच्चालाई रुघा लागेको समयमा बच्चाको कान पाक्छ । उपचार गरे निको हुन्छ, फेरि पाक्ने समस्याले सताएको उहाँको भनाइ छ । “बच्चा बिरामी भएका बेला निकै दुःख हुन्छ, अझ कान पाकेका बेला बच्चा कान समातेर निकै रुन्छ”, उहाँले भन्नुभयो, “सरसफाइ र स्याहारमा ध्यान दिँदादिँदै पनि बच्चालाई कान पाक्ने समस्या भयो ।”   उहाँ कतिपयले दूध चुसाउँदा सुतेर खुवाउन नहुने, कानमा दूध वा पानी पसेमा पाक्छ भनेकाले आफू सतर्कता अपनाउँदा–अपनाउँदै पनि समस्या भएको बताउनुहुन्छ । “रातिको समयमा पनि स्तनपान गर्दा सचेत रहन्थे, तर पनि कहाँनेर कमजोरी भयो”, उहाँ भन्नुहुन्छ, “अहिले चिकित्सकको सल्लाहअनुसार उपचार गरिरहेकी छु ।”   उहाँकी निर्मला चौधरीको बच्चालाई कान पाक्ने समस्या बल्झिएपछि लामो समय उपचार गर्नुप¥यो । बच्चाको कान पाकेर समयमै उपचार नपाउँदा उहाँको बच्चाको कानबाट पिप बग्न थालेपछि उहाँ उपचारमा आउनुभयो । “श्रीमान् घरमा हुनुहुन्थेन, बाहिर गएर उपचार गर्ने रकम थिएन”, उहाँले भन्नुभयो, “पछि बच्चाको कानबाट पिप बग्न थालेपछि समूहबाट ऋण लिएर उपचारमा गए । लामो समयसम्म बच्चालाई औषधि खुवाउनु र कानमा राख्नुपर्यो, अहिले सञ्चो भएको छ ।”   बालबालिकामा विभिन्न समस्या देखिन सक्छन् । साना बालबालिका ठूला बालबालिकाका तुलनामा बढी बिरामी हुन्छन् । पाँच वर्षमुनिका बालबालिकामा कान पाक्ने समस्या बढी हुनेहुँदा समयमै उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार नाक र कान जोड्ने एक किसिमको पाइप हुन्छ । यसले कानमा भएको हावाको प्रेसरलाई व्यवस्थापन गर्छ ।    बच्चामा रुघाखोकी लागेपछि त्यही पाइप हुँदै कानमा सङ्क्रमण हुने भएकाले कान पाक्छ र त्यसैले दुखाइ हुने टीकापुर अस्पतालका बालरोग विशेषज्ञ डा अमरनाथ ठाकुर बताउनुहुन्छ । “सानो उमेरका बालबालिकालाई बढी रुघा लाग्ने भएकाले उनीहरुमा कान पाक्ने समस्या देखिन्छ”, उहाँ भन्नुहुन्छ, “बालबालिकालाई रुघा लाग्नेबित्तिकै उपचार गर्नुपर्छ ।    कान पाक्ने समस्या बारम्बार भयो र राम्रोसँग उपचार गरिएन भने ती बालबालिकाको कानको जालीमा प्वाल पर्नसक्छ ।” सयमै उपचार नपाए कानको जालीमा प्वाल परेपछि हरेकपटक रुघा लाग्दा कानबाट पिप निस्कने समस्या हुनसक्ने भएकाले सतर्कता आवश्यक रहेको उहाँ बताउनुहुन्छ । “साना बालबालिकाले आफ्नो सरसफाइ आफैँ गर्न सक्दैनन्, यस्तो बेलामा रुघाखोकी बढी लाग्नसक्छ । रुघाखोकी लाग्नेबित्तिकै उपचार गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ, कान पाकेका बच्चाको समयमै उपचार नभएमा बालबालिकाको सुनाइमा समस्या हुनसक्छ ।”

  कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित खल्ला मसेट्टी अहिले पनि यातायातका सञ्जालसँग जोडिएको छैन । विकासको पूर्वाधारबाट पछाडि परेको यो ठाउँ सडक सञ्जाल, विद्युत्, सञ्चारलगायत सेवा–सुविधाबाट बञ्चित छ ।    सदरमुकामबाट उत्तरतर्फ चुरेफेदमा करिब २० किलोमिटर टाढा रहेको यो बस्तीमा न यातायातको सहज पहुँच छ न त विद्यालय र खानेपानी नै छ । मोबाइलमा प्रायः नेटवर्क हुँदैन भने भएको बिजुलीको पनि भर हुँदैन । यहाँका स्थानीयले दुई दिनदेखि बिजुली बाल्न पाएका छैनन् ।  महेन्द्रनगरबाट करिब १३ किमी ब्रह्मदेवसम्म सुविधासम्पन्न सडक छ । ब्र्रह्मदेव कटेपछि यहाँ पुग्न कठिन बाटोको यात्रा गर्नुपर्छ ।   कच्ची ढुङ्गैढुङ्गाको जोखिमपूर्ण बाटो भएर यहाँ पुग्न सकिन्छ । यहाँका स्थानीय किनमेलका लागि पैदलै आठ किलोमिटर टाढाको ब्रह्मदेव बजार पुग्ने गरेका छन् । विसं २०६१ मा डडेल्धुराको रुपालबाट खल्ला मसेट्टी बसाइँसराइ आएका रतनसिंह ठगुन्नाले यहाँका स्थानीयले धेरै दुःख झेल्नुपरेको बताउनुभयो । “यहाँको मुख्य समस्या भनेकै बाटो हो, बाटो नहुँदा धेरै समस्या झेल्नुपरेको छ ।” उहाँले भन्नुभयो, “घरायसी सामान खरिदका लागि आठ किमी पैदल हिँडेर जानुपर्छ, आउनजान एक दिन पूरै लाग्छ ।”       उहाँले यातायातको सुविधा नहुँदा बिरामीको उपचार गराउन निकै समस्या झेल्नुपरेको बताउनुभयो । “गाउँमा उपचार गराउन स्वास्थ्य संस्था छैन, महेन्द्रनगर पुग्नुपर्छ ।” उहाँले भन्नुभयो, “खानेपानी छैन, मोबाइलमा नेटवर्क हुँदैन, बिजुली पनि नियमित छैन समस्या धेरै छन् ।” छ सय बढी जनसङ्ख्या रहेको यो बस्तीमा आधारभूत विद्यालयबाहेक अरु केही छैन । विद्यालय नभएकै कारण यहाँका बालबालिका पढ्नबाट बञ्जित हुने गरेको उहाँले बताउनुभयो । यहाँबाट ब्रह्मदेव पढ्नका लागि आठ किमी पैदल जानुपर्छ । “सुविधाका नाममा कक्षा ५ सम्मको मात्र विद्यालय छ ।” उहाँले भन्नुभयो, “विद्यालय नहुँदा स्कुल छाडेर कामका लागि धेरै कम उमेरमै भारत जाने गरेका छन् ।”       सडक सञ्जाल नहुँदा कष्टकर जीवन बिताउनुपरेको यहाँका स्थानीय  सडक भएपछि अन्य समस्या विस्तारै समाधान हुँदै जाने थिए”, उहाँले भन्नुभयो, “बिरामी हुँदा सबैभन्दा बढी समस्या झेल्नुपर्छ, हिँडेर जान पनि बाटो राम्रो छैन ।”    उहाँले नेपाल टेलिकमको टावर यहाँ रहे पनि नेटवर्क समस्या बेले–बेला भइरहने बताउनुभयोे । उहाँका अनुसार यहाँका बासिन्दाले भारतीय सिमकार्ड प्रयोग गर्ने गरेका छन् । “सबैभन्दा बढी समस्या वर्षात्का बेला हुने गरेको छ हिउँदमा मोटरसाइकलमा ओहोर–दोहोर गर्न सजिलो हुन्छ”, उहाँले भन्नुभयोे, “दैनिक उपभोग गर्ने सामग्री ल्याउन समस्या झेल्नुपर्छ ।”        यहाँ पक्की बाटो बन्ला र गाडी गुड्ला भन्ने आशामा दशक बितेको स्थानीय सुमित्रा थापामगरले बताउनुभयो । “यहाँ गाडी आउँछ भनेकै २० वर्ष भइसक्यो भोट माग्ने बेलामात्रै आश्वासन दिन्छन्”, उहाँले भन्नुभयो, “यहाँ सुविधाका नाममा केही पनि छैन । खोलाको पानी खान बाध्य छौँ ।” उहाँले गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी नहुँदा धेरैपटक बिरामीलाई बोकेरै ब्रह्मदेव बजारसम्म पु¥याएको बताउनुभयो ।    राज्यको सेवासुविधा लिन पनि यहाँका स्थानीयलाई धेरै कठिन हुने गरेको छ । महाकाली किनारको जोखिमपूर्ण बाटो भएर ब्रह्मदेव पुग्नुपर्छ । वडा कार्यालय पनि ब्रह्मदेवमा भएकाले यहाँका स्थानीयले वडाबाट पाउने सेवा–सुविधा सहजरूपमा पाउन नसकेको स्थानीय मानमति धामीले बताउनुभयो । “सरकारबाट धेरै टाढा छौँ, गाउँमा सरकार आयो भन्छन्, हाम्रा दिन फेरिएका छैनन् ।” उहाँले भन्नुभयो, “एउटा सिफारिस लिन पनि एक–दुई दिन लाग्छ ।”        भीमदत्त –९ का वडाध्यक्ष गगनसिंह कार्कीले यहाँको विकासका लागि नगरपालिका र प्रदेश सरकारसँग आग्रह गरेको जानकारी दिनुभयो । उहाँले यहाँका स्थानीयको भेला गरेर समस्या पहिचान गरी नगर र प्रदेश सरकारलाई विभिन्न योजना माग गरिएको बताउनुभयो । “सडक निर्माण खोलामा पुल र खानेपानीका लागि नगर र प्रदेश सरकारलाई वडाबाट लेखेर पठाएका छौँ ।” उहाँले भन्नुभयो, “यहाँ विद्यालय र अन्य आधारभूत समस्याका लागि पनि प्रदेश सरकारलाई माग गरेका छौँ ।” उहाँले यहाँको विकासका लागि आफू लागिरहेको बताउनुभयो । अर्थावस्था कमजोर भएका नागरिकको बसोबास रहेको यो बस्तीका अधिकांश पुरुष जीविकोपार्जनका लागि भारतमा श्रम गर्न जाने गरेका छन् । 

  भोजपुर । यहाँ पहिलोपटक पशुचौपायाको  कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो ।   यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको  जनाइएको छ ।  पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलोपटक निःशुल्क कृत्रिम गर्भाधान सेवाको सुरुआत गरेको भोजपुर नगरपालिकाका भेटेरेनरी शाखाका प्रमुख सन्तोष कटुवालले जानकारी दिनुभयो ।    पशुको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन कृत्रिम गर्भाधान गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । किसानका गोठमा पुगेर गर्नुपर्ने अवस्थामा भने सामान्य यातायात खर्च लाग्ने कृषि शाखाले जनाएको छ । जिल्लाका अन्य आठ स्थानीय तहमा पनि यसै वर्षदेखि कृत्रिम गर्भाधान  सेवा सञ्चालन गरिने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालयका प्रमुख सुन्दरलाल यादवले जानकारी दिनुभयो ।   तरल नाइट्रोजन एक सय ९६ डिग्री सेल्सियसको चिसोपनमा राँगा र साँढेको शुक्राणुलाई लामो समयसम्म सुरक्षित राख्ने गरिन्छ ।  गाई–भैँसीमा कृत्रिम गर्भाधान गराउँदा उत्पादन वृद्धि तथा विकास हुने जनाइएको छ । यसबाट उन्नत जातका पशु उत्पादन हुने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सङ्खुवासभा, भोजपुरका प्रमुख हिमालयन पोखरेलले बताउनुभयो । 

बागलुङ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले बजारमा समेत आन्तरिक पर्यटकको भीड हुने गरेको छ ।       पुल निर्माणपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका हुन् । धौलागिरिका चार जिल्लासहित मुलुकका विभिन्न ठाउँबाट आउने पर्यटकले बागलुङ बजारमा रौनकता छाएको छ । लामो पुलमा अधिकांश युवायुवतीको भीड हुने गरेको पाइन्छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या निकै बाक्लो देखिन्छ ।       पर्यटकको आगमनमा वृद्धि भएपछि बागलुङका होटल व्यवसाय पनि फस्टाउन थालेका छन् । होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले विगतका वर्षको तुलनामा यस वर्ष बागलुङमा पर्यटक बढेको बताउनुभयो । अध्यक्ष चोखालले लामो पुलले गर्दा पर्यटक बढेको र होटल व्यवसाय पनि फस्टाउँदै गएको बताउनुहुन्छ ।        “लामो पुलले गर्दा पछिल्लो समय विगतको तुलनामा पर्यटक बागलुङ धेरै आएको हामीले पाएका छौँ, होटल व्यवसाय पनि फस्टाउँदै गएका छन्, नयाँनयाँ होटल पनि थपिएका छन्”, अध्यक्ष चोखालले भन्नुभयो, “दुई वर्ष कोरोनाले थला परेको होटल व्यवसाय अहिले उठ्न थालेको छ, होटल व्यवसायी पनि उत्साहित बन्दै गएका छन् ।”        अध्यक्ष चोखालले पहिले बागलुङ कालिकामा आउने २५ प्रतिशत पर्यटक मात्रै बागलुङ बजार उक्लिने गरेकामा अहिले बढेर करिब ४५ प्रतिशतको हाराहारी पुगेको बताउनुहुन्छ ।       “पहिले बागलुङ कालिका आउने आन्तरिक पर्यटक मन्दिर दर्शन गरेर फर्किने गर्थे, मन्दिरमा डेढ लाख पर्यटक आए पनि बागलुङ बजारमा २५ प्रतिशत मात्रै जाने गर्थे, अहिले बागलुङमा वार्षिक दुई लाख बढी पर्यटक आएको पाएका छौँ, त्यसमध्ये ४५ प्रतिशत बजारमा आउँछन्”, चोखालले भन्नुभयो, “अब फाट्टफुट्ट विदेशी पर्यटक पनि आउने गरेका छन्, अर्को वर्षदेखि थप बढ्दै जाने हाम्रो अनुमान छ, प्रचारप्रचार बढी भयो भने हामीले धेरै पर्यटक बागलुङमा भित्र्याउन सक्छौँ ।”       बागलुङ बजार हुँदै पञ्चकोट र सुरुङभित्र रहेको सालिग्राम सङ्ग्रहालय हेर्न जाने पर्यटक सङ्ख्या पनि उत्तिकै छ । त्यसले गर्दा बागलुङ बजारका होटल व्यवसायी उत्साहित बनेका हुन् । पर्यटन विकास समिति बागलुङका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बागलुङको पर्यटनमा प्रवद्र्धनमा ठूलो टेवा पुर्याएको बताउनुभयो ।        अध्यक्ष खड्काले छोटो समयमा धेरै प्रचार हुँदा पुलमा आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको बताउनुभयो । सामाजिक सञ्जालमा व्यापाकरुपमा प्रचार भएको हुँदा पुलमा आउने आगन्तुक दिनदिनै बढेको उहाँ भनाइ छ । खड्काले पुलसँगै बागलुङ कालिका, सालिग्राम सङ्ग्रहालय र पञ्चकोटमा समेत पर्यटकको आकर्षण निकै बढेको बताउनुहुन्छ ।       “लामो पुलले बागलुङको पर्यटन प्रवद्र्धन गर्न निकै ठूलो भूमिका खेलेको छ, अहिले रहेक दिन पुलमा सयौँको सङ्ख्यामा मान्छे आउँछन्, अझ बिदाको दिन निकै ठूलो भीड हुन्छ, छोटो समयमा धेरै प्रचारका कारण पर्यटक बढेका हुन्”, अध्यक्ष खड्काले भन्नुभयो, “पुलमा मात्रै होइन, अहिले कालिका, सालिग्राम सङ्ग्रहालय र पञ्चकोटमा पनि पर्यटकको आगमन निकै बढेको छ, यसले बागलुङको पर्यटन व्यवसायीलाई पनि उत्साहित बनाएको छ ।”       खड्काले मुस्ताङ जाने पर्यटक पनि बागलुङ भित्रिन थालेको भन्दै यहाँका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई तीव्रता दिने बताउनुभयो । पुल वरपरका गन्तव्यबाहेक पछिल्लो समय अन्य क्षेत्रमा पनि पर्यटक पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।       “अहिले मुुस्ताङको मुक्तिनाथ जाने आधा पर्यटक बागलुङ आउने गरेका छन्, पुलले बागलुङमा व्यापकरुपमा पर्यटक भित्र्याउन मद्दत गरेको छ, यसभन्दा अगाडि मुस्ताङ जाने पर्यटक बागलुङमा १० प्रतिशत पनि आउँदैनथे, पुलकै कारण बागलुङका अन्य गन्तव्य पनि पर्यटकको रोजाइमा पर्न थालेका छन्”, उहाँले भन्नुभयो, “पर्यटकलाई थप आकर्षण गर्न प्रचारप्रसारलाई तीव्र पार्ने र पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणलाई जोड दिनु पर्नेछ ।”       उहाँले पुल वरपरका स्थानमा पर्यटकलाई आकर्षण गर्ने पूर्वाधार निर्माणसँगै बत्ती जडान गर्ने बताउनुभयो । अहिले जडान भएको लाइट आधा भागमा मात्रै बलेको भन्दै त्यसले करेन्ट लाग्ने जोखिम बढेपछि नयाँ बत्ती जडान गर्न थालेको खड्काले बताउनुभयो । नयाँ बत्ती जडान गर्न रु १२ लाख लाग्ने अनुमान गरेको भन्दै बागलुङ नगरपालिका र कुश्मा नगरपालिकाको यस सहकार्य हुने उहाँको भनाइ छ ।       “यसभन्दा अगाडि जडान भएको लाइट सबैले काम गरेन, त्यसले पुलमा हिँड्नेलाई करेन्ट लाग्ने जोखिम बढायो, त्यसलाई हटाए नयाँ लाइट जडान गर्ने काम सुरु भएको छ, यसका लागि रु १२ लाख लाग्ने अनुमान गरिएको छ, यसलाई बागलुङ नगरपालिका र कुश्मा नगरपालिकाले सहकार्य गरेर निर्माण गर्न थालेको छ”, उहाँले भन्नुभयो “बत्ति जडानपछि रातमा पनि पुल वारपार गर्न सहज हुनेछ ।”       ‘सिङ्गल स्पान’ मा संसारकै लामो दाबी गरिएको यो पुल पाँच सय ६७ मिटर लामो छ  । विसं २०७७ देखि सञ्चालनमा आएको यो पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोडिएको छ । पुल करिब नौ करोड २५ लाख रुपैयाँमा सम्पन्न भएको हो ।

  बर्दिया । बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ ।    आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्युभएको हो ।   स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा सामुदायिक वनमा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ ।     आइतबारदेखि हराइरहेका वृद्धाको आज बिहान शव फेला परेको सशस्त्र प्रहरी बल बिओपी भग्रैयाका सशस्त्र प्रहरी निरीक्षक किरण केसीले जानकारी दिनुभयो ।

  काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताउनुभएको छ । नेपाल बार एशोसिएशन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारलाई दिएको साताव्यापी व्यावसायिक कानुनसम्बन्धी तालिमको समापनमा उहाँले नेपालले खुला अर्थतन्त्रको नीति अवलम्बन गरेको स्मरण गराउँदै देशलाई दिगो विकासमा लैजान अर्थतन्त्रलाई थप चलायमान बनाउनुपर्ने धारणा राख्नुभयो ।   अर्थतन्त्रका स–साना विषयले देश, समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस विषयमा सबै सचेत हुनुपर्ने आवश्यकता न्यायाधीश सिन्हाले औँल्याउनुभयो । अर्थतन्त्रमा हरेक शब्द–शब्दको गहिरो अर्थ हुने गरेको उल्लेख गर्नुहुँदै त्यसको अर्थ बुझ्न सकिएन भने अर्थको अनर्थ लाग्ने उहाँले बताउनुभयो ।    कार्यक्रममा एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले कानुन व्यवसायी वकालत गरेर पैसा कमाउने मात्र नभई समाजको अभियानकर्मी पनि भएको बताउनुभयो । “कानुन व्यवसायी भनेको अभियानकर्मी पनि हो, व्यवसायीले पैसा कमाउने ध्येयमात्रै राखेको पनि हुँदैन”, उहाँले भन्नुभयो, “उनीहरूको समाजप्रतिको दायित्व पनि हुन्छ ।”     कार्यक्रममा एशोसिएशनका महासचिव अन्जिता खनालले आगामी दिनमा पनि सेजनसँगको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । “आठदिने तालिम पूर्ण होइन, यो कार्यक्रमले सञ्चारकर्मीहरू विषयमा विज्ञ बन्नुहुन्छ भन्ने होइन”, उहाँले भन्नुभयो, “यस्ता तालिमले सञ्चारकर्मीले उठाउने विषय कानुनीरूपमा कसरी जोडिन्छन् भन्ने जानकारी लिन केही सहयोग भएको छ ।”     कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बरालले सेजन र बारले आगामी दिनमा पनि क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । आठ दिने तालिममा बैंक तथा वित्तीय कानुन, विदेशी लगानी, अन्तर्राष्ट्रिय व्यापार,  बीमा, वित्तीय कारोबार तथा करार, कर, बौद्धिक सम्पत्ति, आमसञ्चारसम्बन्धी कानुन, सार्वजनिक खरिद कानुन, कर्पोरेट, धितोपत्र बजारसँग सम्बन्धित ऐनका बारेमा विभिन्न कानुन व्यवसायीले प्रशिक्षण दिनुभएको थियो ।    तालिममा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, सविता भण्डारी बराल, डा गान्धी पण्डित, मातृका निरौला, शिवप्रसाद रिजाल तथा अधिवक्ता अमरजिवी घिमिरे, सज्जनबरसिंह थापा, भरतकुमार लकाई, राजकुमार सुवाल, सन्तोष तिवारी, सेमन्त दाहाल, दीपक घिमिरे, धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले तालिम दिनुभएको थियो ।

  काठमाडौं । सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ ।   सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका एक सय ७९ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ ।   उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेङ्गुका बिरामी देखापरेको छ । यसैगरी डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेङ्गु देखापरेको छ ।   “पहाडी क्षेत्रमा पहिला डेङ्गु, मलेरियालगायतका लामखुट्टेले सार्ने रोग देखिने गरेका थिएनन्” सम्पर्क व्यक्ति जोशीले भन्नुभयो, “पहाडी क्षेत्रमा सडकको व्यवस्था भएसँगै यातायातका साधनको चहलपहल बढ्न थाल्यो, त्यसमै लामखुट्टेसमेत भित्रिन थाले, त्यसमाथि जलावायु परिवर्तको असरसमेत पर्यो  ।”   पहिला सर–सामान ल्याउनका लागि वर्षमा दुई–तीनपटक मात्रै पहाडी क्षेत्रका बासिन्दा तराई झर्ने गरेको उल्लेख गर्दै उहाँले पहिला औलो र डेङ्गुको त्यति खतरा नभएको बताउनुभयो । यातायातका साधनमा चहलपहल बढेसँगै लामखुट्टेले सार्ने रोगको जोखिमसमेत उत्तिकै बढेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा विशेषगरी खोँच, उपत्यका, नदी तथा खोलामा बढी न्यानो हुने ठाउँमा लामखुट्टे बढी पाइने गरेको उहाँको भनाइ छ ।   “स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने कार्य गरेको छ”, उहाँले भन्नुभयो, “आवश्यक जाँचका लागि किट उपलब्ध गराउने कार्य गरिरहेको छ । पहाडीसहित तराईका जिल्लामा  जनचेतना फैलाउने कार्यसँगै डेङ्गु सार्ने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको छ ।”   उहाँका अनुसार डेङ्गुको सङ्क्रमण जेठदेखि असोजसम्म बढी देखिने गरेको छ । त्यसपछि विस्तारै घट्दै जान्छ । दुई–तीन वर्षअघिदेखि मात्रै डेङ्गुको सङ्क्रमणबाट बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । त्यसअघि डेङ्गुको सङ्क्रमण सुदूरपश्चिममा निकै कम थियो ।   डेङ्गु ज्वरो भाइरसका कारण लाग्ने भएकाले यसको कुनै किसिमको विशेष उपचार छैन । अस्पताल पुगेका बिरामीको लक्षणका आधारमा उपचार गरिन्छ । एडिस एजिप्टी र एडिस एल्वोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट डेङ्गु सार्ने गर्दछ । डेङ्गु सार्ने लामखुट्टेका गमला, फूलदानी, कुलर, टायरलगायतको सफा पानीमा लार्भा बस्ने भएकाले समय–समयमा पानी फाल्ने कार्य गर्नु पर्दछ ।     गमलाको प्लेट, फूलदानी, कुलर, टायरमा जम्मा भएको पानी कम्तीमा हप्तामा एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडोलाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ बिहान घरबाहिर जाँदा लामखुट्टले नटोकोस् भनेर सावधानी अपनाउनुपर्छ ।

  म्याग्दी :  बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैंक स्थापना भएको छ ।    घरमा प्रयोग नभएका लत्ताकपडा सङ्कलन गरी खरिद गर्न नसक्ने गरिब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयमा कपडा बैंक स्थापना गरिएको हो । यसबाट प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएका, गरिब तथा अतिविपन्न परिवारलाई उपलब्ध गराउने वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।    “आवश्यक पर्नेले बैंकमा आएर आफूखुसी रोजेर लुगा लान सक्छन्”, उहाँले भन्नुभयो, “वडामा लैजानेको विवरण राखिए पनि गोप्य हुन्छ । दिनेको नाम सार्वजनिक गर्छौँ ।” ‘कपडा बैंक’मा प्रयोगयोग्य लत्ताकपडा सङ्कलन भइरहेको जनाइएको छ ।   म्याग्दी जेसिजले आइतबार एक सय थान कपडा उपलब्ध गराएको थियो । जेसिजका शाखा अध्यक्ष सन्दीप खत्रीको टोलीले वडाध्यक्ष श्रेष्ठलाई कपडा हस्तान्तरण गर्नुभएको थियो । जेसिजका पदाधिकारी, सदस्य र बजारका व्यापारीबाट प्रयोग गर्न योग्य तर उपयोग नभएका कपडा सङ्कलन गरिएको थियो ।    वडा कार्यालयमा एउटा कोठा कपडा व्यवस्थापनका लागि मात्रै राखिएको छ । म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, असक्त तथा अर्थावस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।    प्रयोग गरिसकेको वा प्रयोगविहीन अ​वस्थामा रहे पनि सफा र प्रयोग गर्न मिल्ने कपडा उपलब्ध गराउन सकिने वडा सचिव विनिता रेग्मीले बताउनुभयो । अभियानमा नगरकार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति रु एक हजार सहयोग गरेका छन् ।     विशेष गरेर चाडपर्वमा लगाउन सक्ने जाडो मौसमन जिकिँदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले लत्ताकपडा सङ्कलनलाई तीव्रता दिएका छन् । बेनी नगरपालिका वडा नं ७ ले विपन्नको मृत्युपछि अन्त्येष्टिका लागि निःशुल्क दाउरा उपलब्ध गराउन थालेको छ ।