काठमाडौं : आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । आचारसंहिताबमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ । आचारसंहिताबमोजिम दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिनेछ । यस्तै कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेका सम्बन्धमा पनि आयोगले स्मरण गराएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयन भएरनभएका सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लङ्घनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउनेक्रम जारी छ । आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गर्दै आएको छ ।
झापा : झापाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ । मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो । हत्यामा संलग्नको खोजीका लागि प्रहरी परिचालन गरिसकेको र केही शङ्कास्पदको नाम प्राप्त भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले बताउनुभयो । छुरा प्रहारबाट घाइते श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि झापाको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो । त्यस्तै सिटी सफारी दुर्घटनामा दमक–५ का रणबहादुर खड्काको मृत्यु भएको छ । आइतबार बेलुकी ७ बजे शिवसताक्षी– १ धरमपुरका कुशल लिम्बूको घरमा मे१ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर पुगेका खड्काले सामान झार्र्ने क्रममा एक्कासी सिटी सफारी गुडेर सफारी चालक खड्कालाई किचेको थियो । सिटीले किचेर बेहोस भएका ४८ वर्षीय खड्काको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा राति नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ
काठमाडौं : काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिनुभयो । घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।
चितवन : चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान गरिएको छ । केन्द्रका प्रमुख युवराज पाण्डेले यसबर्ष रोगव्यादीको प्रकोप कम भएको र पानीले पनि कम नोक्सान गरेका कारण उत्पादन बढ्ने अनुमान गरिएको बताउनुभयो । “सरकारले समयमा रासायनिक मल दिन नसके पनि किसानहरुले भारतसँगको खुला सिमानाका कारण विभिन्न माध्यामबाट मल ल्याउनुभयो”, उहाँले भन्नुभयो, “हाम्रो स्थलगत निरीक्षणमा पनि उत्पादन राम्रो देखिएको छ । चितवनमा गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढ्छ । चितवनलाई धान उत्पादनको भण्डार मानिन्छ । यहाँका अधिकांश किसानले यस वर्ष सावित्री, राम धान ९वार० र सावा धान लगाएका छन् । चितवनको इच्छाकामना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा धानको उत्पादन राम्रो छ । पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी धान उत्पादन हुनेमा पर्छन् । चितवनको पश्चिमी क्षेत्र शिवनगर, गीतानगर, जगतपुर, मेघौलीलगायतका क्षेत्रमा पनि पर्याप्त धान उत्पादन हुँदै आएको छ । यस्तै माडी क्षेत्रमा पनि धान उत्पादन राम्रो हुने गरेको छ । चितवनमा यस वर्ष मात्रै एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत् सिँचाइ उपलब्ध गराइएको थियो । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टरमा सिँचाइ उपलब्ध गराइएको हो । आयोजना प्रमुख देवकुमार स्याङबोका अनुसार जिल्लामा सिँचाइका लागि ५७ वटा डिप ट्युबेल र एक सय १० वटा स्यालो ट्युबेल जडान गरिएको छ । यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको उहाँले बताउनुभयो । चितवनमा ३० हजार पाँच सय हेक्टरमा धान खेती गरिएको छ । जसमध्ये २२ हजार नौ सय २७ हेक्टरमा बर्खे धान र सात हजार पाँच सय ७३ हेक्टरमा चैते धान लगाउने गरिएको छ । चैते धान पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादन हुने गरेको छ भने तीन दशमलव ७९ मेट्रिकटन प्रतिहेक्टर बर्खे धान उत्पादन हुने गरेको छ । चितवनमा १९ प्रतिशत जमिनमा मात्रै खेती हुने गरेको छ । पश्चिम चितवनको चनौलीका किसान सोमप्रसाद चालिसेले यस वर्ष समयमै मल नपाए पनि राम्रो धान फलेको बताउनुभयो । उहाँले एक विघा क्षेत्रफलमा फलेको धान दुई दिन लगाएर काटिसक्नु भएको छ भने अब धान उठाउने र थ्रेसर लगाउने तयारीमा हुनुहुन्छ । भरतपुर महानगरपालिका ११ का किसान गंगाप्रसाद आचार्यले गत वर्षभन्दा यस वर्ष खेतमा राम्रो धान फलेको बताउनुभयो । उहाँले आइतबार मात्रै आफ्नो सात कठ्ठा जमिनको धानमा थ्रेसर लगाउनुभयो । “गत वर्ष १८ बोरा धान भित्राएको थिएँ, यसबर्ष २२ बोरा धान उत्पादन भएको छ”, उहाँले भन्नुभयो ।
पर्वत : चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताउनुभयो । यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजितलगायतका सामग्रीको व्यापार गर्दै आएका छन् । चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ । मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेँसी झर्ने गरेका हुन् । चिसोको मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गर्ने गरेका छन् । घरमा पालेका बस्तुभाउ बूढाबूढीको जिम्मा लगाएर परिवारका अन्य सदस्य कात्तिक पहिलो हप्तादेखि घरबाट निस्किएका छुसाङकी डग्मी शेरचनले जानकारी दिनुभयो । उहाँ अहिले पर्वतका विभिन्न बस्तीमा व्यापार गर्दै डुलिरहनुभएको छ । अहिले उपल्लो मुस्ताङका अधिकांश नागरिक बेँसी झरेको जनाउँदै उक्त क्षेत्र सुनसान रहेको बताउनुभयो । उक्त क्षेत्रमा विद्यालयसमेत बन्द भइसकेका छन् भने कर्मचारीसमेत फाट्टफुट्ट बस्ने गरेका छन् । “धेरैजसो गाउँ अहिले सुनसान बनेका छन्, यो अवस्था फागुनसम्म रहन्छ”, मुस्ताङमा अध्ययपनरत शिक्षक राजकुमार पोख्रेल भन्नुहुन्छ, “अन्नबाली पनि नहुने भएपछि उनीहरूले घुम्ती व्यापारबाटै जीविका चलाउनुपर्ने अवस्था छ ।” उपल्लो मुस्ताङमा फापर, आलु, जौ, गहुँजस्ता अन्नबाली केही मात्रामा खेती गर्ने गरिएको छ । यस मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गरेर बर्खायामलाई पुग्ने गरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन छ । मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दा जिल्लाकै तल्लो क्षेत्रका साथै पर्वत, म्याग्दी, बागलुङ, कास्की, गोरखा, तनहुँलगायत देशका धेरैजसो जिल्लामा पुगेर घुम्ती व्यापार गर्ने गरेको स्थानीय समाजसेवी तिलक विकले सुनाउनुभयो । उपल्लो मुस्ताङका धेरैजसो बासिन्दा व्यापार व्यवसाय गर्न जाडो लाग्नासाथ बेँसी झर्न थाल्छन् । व्यापार गर्न नहिच्किचाउने र सानो ठूलो जुनसुकै व्यापार गरिरहने मुस्ताङीको विशेषता रहेको पाइन्छ ।
काठमाडौं : सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उहाँले जानकारी दिनुभयो । यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामनाका लागि गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शुक्रबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिनअर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो । मनोकांक्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा भने छठ हुन छोडेको छ । पछिल्लो समय कमलपोखरीमा भने भव्यरुपमा छठ हुन थालेको छ । छठका लागि आइबार गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत स्थानमा निर्माण भएको छठ घाटलाई बेहुलीझैँ सिँगारिएको थियो । आज बिहान यी स्थलमा उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न भयो । आइतबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन पनि बर्तालुमात्र राजधानीका छठ घाट गएका थिए । धेरै बर्तालु रातभर गुह्येश्वरी गौरीघाट क्षेत्रमा जाग्राम बसेको छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिनुभयो । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भन्ने भनाइ छ । सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास रहेको छ ।
तनहुँ : व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यतिबेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन् । नेपालीहरूको महान् पर्व दशैँ र तिहार चाड मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन् । दशैँ र तिहार मनाउँदा करिब रु ३० हजार ऋण लागेकाले साहुलाई तिर्न सुन खोज्न नदी किनारतर्फ हिँडेको ५७ वर्षीय मेखलाल बोटेले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटे दशैँ र तिहारमा मासु, नुन, तेल र छोराछोरीको लत्ता, कपडालगायत साहुसँग ऋण लिएर मनाउने गरेको उहाँले बताउनुभयो । साहुको ऋण तिर्नका लागि नदी किनारमा बालुवा चालेर फेला परेको सुन बिक्री गरेर तिर्ने गरिएको छ । उहाँले भन्नुभयो, “दुई ठूला चाडपर्व मान्दा लागेको ऋण बालुवामा सुन खोजेर बिक्री गरेर साहुलाई तिर्ने पुरानो चलन रहिआएको छ ।” क्रसर उद्योगले नदी किनारमा थुप्रिएका बालुवा उठाइदिँदा पछिल्लो समय सुन पाउन कठिन हुने भएकाले साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि उत्तिकै रहेको त्यस क्षेत्रका बोटेहरू दुःखेसो पोख्छन् । सीमान्तकृत बोटे समुदायको बालुवामा सुन खोज्ने पुख्र्यौली पेसा भएकाले यस कार्यलाई निरन्तरता दिँदै आएका छन् । काम गर्न सक्नेहरू ओढ्ने ओछ्याउने र पकाउने भाँडाकँुडाका गुन्टाहरू कसेर नदी किनारमा नै पाल टाँगेर बसेर सुन खोज्ने कार्यमा लाग्ने अस्मिता बोटेले जानकारी दिनुभयो । काम गर्न नसक्ने बूढाबूढी र केटाकेटीलाई घरमा छाडेर जाने गर्दछन् । अधिकांश बोटे घरपरिवार गर्मी समयमा खेती गर्ने र हिउँद लागेपछि नदीमा सुन खोजेर जीविकोपार्जन गर्ने गर्दछन् । बोटेहरू कात्तिकदेखि वैशाखसम्म सुन खोज्न नदी किनार धाउने गर्दछन् । तनहुँका मादी, सेती नदीमा सुन पाउन छाडेपछि त्यस क्षेत्रका ४० घर बोटेमध्ये अधिकांश बोटे कालीगण्डकी, बूढीगण्डकी, मस्र्याङ्दी र त्रिशूलीको बालुवामा सुनका कण खोज्न किनारामा जाने गरेको अस्मिता बोटेले बताउनुभयो । नदी किनारमा जाँदा सुन चाल्न प्रयोग गरिने डुड, पार्टी, चनौटोलगायतका सामान लिएर सुन खोज्न जाने गर्दछन् । कुमालटारी क्षेत्रमा पाखे बोटे र पानी बोटे गरी करिब ९० घरपरिवार बसोबास गर्दै आएका छन् । पाखे बोटेले माछा मारेर र पानी बोटेले बालुवामा सुन खोजेर गुजारा चलाउँदै आएको सोममाया बोटेले जानकारी दिनुभयो । बोटेहरू माछा मार्ने जाली पनि साथ लिएर जान्छन् । नदीकै किनारमा बस्ने, माछाको परिकार बनाएर खाने र सुन खोज्ने कार्यमा तल्लीन भएर लाग्ने उहाँले बताउनुभयो ।
मकवानपुर : छठ पर्वको तेस्रो दिन आज मकवानपुरको हेटौँडामा श्रद्धालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाएका छन् । आज बिहानै नुवाइधुवाई गरी निराहार व्रत बसेका बर्तालुहरूले हेटौँडा उपमहानगरपालिका–१ राप्ती नदीको किनारमा जम्मा भई अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको हो । सूर्यदेवकोे पूरा उपासनासँगै बर्तालुहरुले व्रत सङ्कल्प गरेको भाकलअनुसारको विभिन्न परिकार तथा फलफूल, दूध, माटाको हात्ती, ढकनी, चढाएका छन् । यसो गर्नाले आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । भक्तजनहरूलाई रातभरि जाग्राम बस्नका लागि छठ पूजा व्यवस्थापन समितिले छ सय फिट लामो पण्डाल र पाल टाँगेको समितिका संयोजक सुशील सनुरियाले जानकारी दिनुभयो । हजारौँको सङ्ख्यामा भक्तजनहरूको उपस्थिति हुने भएकाले सुरक्षा चुनौती नहोस् भन्नका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरसँग समन्वय गरी सिभिल र पोसाकमा बाक्लो सङ्ख्यामा प्रहरी खटाइएको समेत उहाँले जानकारी दिनुभयो ।
जनकपुर । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन । छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अघ्र्यकारूपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुनेहुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो । स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको उहाँले बताउनुभयो । अध्यक्ष यादवले अघिल्लो वर्ष पौने दुई करोड रुपैयाँभन्दा बढीको केरा जनकपुर भित्र्याइएको बताउनुभयो । “यस वर्ष भित्र्याइएका केरा झण्डै ६० ट्रक छन्”, उहाँले भन्नुभयो । जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरी जिल्लास्थित भारदह, भन्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो । छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको पूर्वेले बताउनुभयो । पूर्वेले भन्नुभयो, “छठ पर्व मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५–२० ट्रक बढी ६० ट्रकजति केरा मगाइएको छ ।” फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रु छ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई पाँचसयदेखि एक हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरिन्छ । नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छ । केरा उत्पादनका लागि तराई–मधेस वा समग्र नेपालको भूमि राम्रो मानिन्छ । तर केराको आवश्यकता हुने चाडपर्वका समयमा समेत भारतकै भरपर्नुपर्ने अवस्था छ । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ । देशभित्र यस्तो अवस्था छ भने उता भारतबाट आउने केराको मूल्य भने यहाँको भन्दा सस्तो पर्छ । भारतले किसानका लागि सहुलियत र विभिन्न प्याकेज दिने भएकाले उताको लागत कम परेको बताइन्छ ।

