काठमाडौं:  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ ।  आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति...

उच्च अदालत जनकपुरले कुमारी आमा महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो । निहारिकाले लामो समयदेखि आफ्नो छोराको अधिकारका लागि डिएनए परीक्षण माग गर्दै आउनुभएको थियो ।   जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गर्नुभएको हो । गत माघ २४ गते जिल्ला अदालतको न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो ।   सरकारी वकिल कार्यालय एवं जाहेरीवालाको तर्फबाट योदुनाथ शर्मा, मीरा ढुङ्गाना, वरिष्ठ अधिवक्ता सुनिता रेग्मी, शान्ति काफ्ले र रिङ्कुकुमारी यादवले बहस गरेका थिए । प्रतिवादी शिवराज श्रेष्ठको तर्फबाट श्याम मिश्रले बहस गर्नुभएको थियो ।       निहारिकाको नामबाट २०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवनरक्षा गरी पाउ’ र सोही वर्ष फागुन ११ गते ‘हकअधिकार दिलाइ पाउँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन परेको थियो । निवेदनमा जाहेरीवाला र प्रतिवादी श्रीमान् श्रीमती भनी उल्लेख थियो । सोही आधारमा जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते जबर्जस्ती करणी नभएको फैसला सुनाएको थियो ।   जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले २०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन दिनुभएको थियो । उच्च अदालतले तोकिएको पेसी सुनुवाइ नगरेको र प्रतिवादीसँग अदालत मिलेको भन्दै निहारिकाले काठमाडौँमा दोस्रोपटक आमरण अनशन सुरु गर्नुभएको थियो ।   अनशनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दा फास्ट्र्याकमा अघि बढेको थियो । प्रहरीले आरोपित शिवराज श्रेष्ठलाई यसअघि नै पक्राउ गरिसकेको थियो । हाल उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर थुनामा राखिएको छ ।  

  काठमाडौँ ।  काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमा डेङ्गुज्वरोका बिरामी बढिरहेका छन् । यसपटक काठमाडौँमा डेङ्गुका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकिय अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।    अस्पतालमा चिकित्सकसहित धेरै डेङ्गुका बिरामी भर्ना भएको बताउनुभयो । “यहाँ दैनिक डेङ्गुका बिरामी भर्ना भइरहेका छन्”, उहाँले भन्नुभयो,“घर वरपर सफा राख्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।” विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ ।    नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुको बिरामी फेला परेको थियो । त्यसयता डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले सन् २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेङ्गु बढेको बताउँनुहुन्छ । त्यसपछि अहिले नै डेङ्गुका बिरामी बढेको उहाँको भनाइ छ । बीचका वर्षमा पनि डेङ्गुका फाट्टफुट्ट बिरामी भेटिइरहे ।    तराई–मधेशमा बढी देखिने डेङ्गु २०१८ पछि भने पोखरा, काठमाडौँ जस्ता पहाडी सहरमा पनि देखा प¥यो । “उपत्यकामा लामखुट्टे बढेको र डेङ्गुका बिरामी पनि उपत्यका प्रवेश गरेका छन्”, उहाँले भन्नुभयो, “ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेङ्गुका बिरामी बढी देखिएका हुन् ।”    निजामति कर्मचारी अस्पतलाका निर्देशक डा विधाननिधि पौडेलले अस्पतालमा अहिलेसम्म १९ बिरामीको उपचार भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि आठ जना बिरामीको उपचार भइरहेको छ । अस्पतालले डेङ्गुबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ ।    “तापक्रम बढेसँगै अहिलेको मौसममा सफा र जमेको पानीमा बस्ने ‘एडिज एजिप्टी’ र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टको टोकाइले डेङ्गु रोग लाग्दछ”, उहाँले भन्नुभयो, “उपत्यकामा पहिले भन्दा अहिले तापक्रम बढेकाले धेरै बिरामी देखिएका हुन ।”   उहाँका अनुसार साउनदेखि असोजसम्म बढी गर्मी र पानी पर्ने भएकोले डेङ्गुको सङ्क्रमण जोखिम बढी हुने गरेको छ । सरुवा रोग विशेषज्ञ डा. बाँस्तोलाका अनुसार समुदायस्तरमा १० हजार मानिस डेङ्गुबाट सङ्क्रमित भए भने एक हजार जनामा लक्षण देखापर्छ । जसमध्ये पाँच सय जना भाइरल ज्वरोले सङ्क्रमित हुन्छन् भने अर्को पाँच सय जनामा डेङ्गु ज्वरोका लक्षण देखिन्छन् ।    उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । डेङ्गु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् ।   गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् ।    यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा बिमल चालिसेका अनुसार अस्पतालमा अहिले २२ जना डेङ्गुका बिरामीको उपचार भइरहेको छ । उहाँले अहिलेको मौसम नै पानी जम्ने र उक्त पानीमा लामखुट्टे बढी फैलिने भएकोले डेङ्गुको सङ्क्रमण देखिएको बताउनुभयो ।    उहाँले डेङ्गु रोग चार प्रकारका भए पनि अहिले नेपालमा कुन प्रकारको डेङ्गु देखिएको छ भन्नेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार पुस यता दुई हजार एक सय आठ जनामा डेङ्गुका बिरामी देखिएको छन् । जेठयता काठमाडौँमा दुई सय ३३, ललितपुरमा छ सय २३ र भक्तपुरमा ३८ जना डेङ्गुका बिरामी भेटिएका छन् ।    साउनमा मात्रै काठमाडौँमा एक सय ९६, भक्तपुरमा ३५ र ललितपुरमा पाँच सय २३ बिरामी भेटिएको उहाँले जानकारी दिनुभयो । अहिलेदेखि फैलिन सुरु भएको डेङ्गुको सम्भावित प्रकोप रोक्न लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउनुपर्दछ । सर्वप्रथमतः हाम्रो घर, विद्यालय, बजार वरिपरि जम्मा भएको पानी हटाउनुपर्छ ।    एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुला रुपमा पानी राख्न हुँदैन । डेङ्गुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझा–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझा–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नुपर्दछ ।

  काठमाडौं । औद्योगिक कोरिडोरमा रहेका रोजगारदाता र श्रमिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोषले विराटनगर र सिमरामा शाखा कार्यालय स्थापना गरेको छ । औद्योगिक कोरिडोरलाई लक्षित गरी विराटनगर महानगरपालिका–४ कञ्चनबारी चोक र  जितपुर सिमरा उपमहानगरपालिका–४ एयरपोर्ट रोडमा स्थापना गरिएको शाखा कार्यालयको आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले भर्चुअलरुपमा उद्घाटन गर्नुभयो ।       मुलुक सङ्घीय संरचनामा गएसँगै सेवा प्रवाहलाई विकेन्द्रित गर्न सरोकारवालाले दिएको सुझावका आधारमा प्रदेश नं १ को विराटनगर र मधेस प्रदेशको सिमरामा शाखा कार्यालय सञ्चालनमा ल्याइएको कोषले जनाएको छ । आजदेखि सञ्चालनमा आएका कार्यालयबाट रोजगारदाता तथा श्रमिकको सूचीकरण, अस्पताल आबद्धता, कोषले सञ्चालनमा ल्याएका योजना तथा विशेष सापटीको दाबी भुक्तानीलगायतका सेवा प्रवाह हुनेछन् ।        कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सरोकारवालाबाट प्राप्त सुझाव तथा प्रदेशस्तरमा कोषमा आवश्यकता बोध भएअनुसार विराटनगर र सिमरामा शाखा कार्यालय सञ्चालनमा ल्याइएको बताउनुभयो । केही समयअघि कोषले सातै प्रदेशमा शाखा कार्यालय स्थापना गर्नका लागि साङ¬्गठनिक संरचनाको टुङ्गो लगाएको थियो ।  उहाँले केन्द्रीय कार्यालयबाट प्रवाह हुँदै आएको सेवा आजदेखि शाखा कार्यालयबाट लिन सकिने बताउनुभयो । २०६७ साल चैत १७ गते स्थापना भएको कोषले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो ।    आज बसेको कोष सञ्चालक समितिले बुटवल र नेपालगञ्जमा सम्पर्क कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो । कोषमा हालसम्म १७ हजार तीन सय १६ रोजगारदाता र तीन लाख ५५ हजार  दुई सय ७१ योगदानकर्ता सूचीकृत भएका छन् ।       दुई लाख ५० हजार बढी योगदानकर्ताले कोषमा नियमित योगदान गरिरहेका छन् । कोषमा हालसम्म २२ अर्ब ३१ करोड योगदान रकम सङ्कलन भएको छ । कोषले ५३ हजार योगदानकर्तालाई विभिन्न सुविधा उपलब्ध गराएको छ । कोषले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, वृद्ध अवस्था सुरक्षा र आश्रित परिवार सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।        कोषले गत सातादेखि योगदानकर्तालाई विशेष सापटी उपलब्ध गराउन थालेको छ । तीन वर्ष नियमित योगदान गरेका योगदानकर्ताले कोषबाट कूल बचतको ८० प्रतिशतसम्म विशेष सापटी लिन सक्नेछन् । एक साताको अवधिमा ८० योगदानकर्ताले रु दुई करोड बराबरको विशेष सापटी लिएको कोषले जनाएको छ ।      योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउनुपर्ने व्यवस्था गरेको छ । सामाजिक सुरक्षा योजना सञ्चालन गर्न सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा आइसकेको छ ।        कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण, योगदान रकम सङ्कलन, कोषमा जम्मा भएको रकम परिचालन, सुविधा योजनाको दाबी  भुक्तानी व्यवस्थापन, कोषमा आबद्ध स्वास्थ्य संस्थाको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्ने जस्ता कार्य गर्र्दै आएको छ ।       सो अवसरमा श्रम मन्त्री कुँवरले रोजगारदाता र श्रमिकको सहकार्यका आधारमा कोष अघि बढ्ने उल्लेख गर्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन नखोज्ने रोजगारदातालाई सरकारले कारबाही गर्ने बताउनुभयो । “अब सबै रोजगारदाता कोषमा आबद्ध हुनुपर्छ, अहिले सरकारले कोषमा आबद्ध हुन आग्रह गरिरहेको छ”, उहाँले भन्नुभयो, “सरकारको आग्रहलाई बेवास्ता गर्दै गए रोजगारदातालाई कानूनअनुसार कोषको दायरामा ल्याइन्छ ।” सामाजिक सुरक्षा कोषमा सूचीकृत भएसँगै रोजगारदाता र योगदानकर्ता दुवैलाई फाइदा हुने भन्दै उहाँले कोषमा आबद्ध हुन अपिल गर्नुभयो ।        कोषको दायरा र सेवा क्षेत्र बढाउने उद्देश्यअनुरुप नै प्रमुख दुई औद्यौगिक करिडोरमा शाखा कार्यालय स्थापना गरिएको उल्लेख गर्दै उहाँले विस्तारित कार्यालयबाट रोजगारदाता र योगदानकर्तालाई फाइदा लिन आग्रह गर्नुभयो । “पछिल्ला दिनमा कोषले आफ्नो सक्रियता बढाएको छ, कोषको दायरा र सेवा विस्तार भएको छ”, मन्त्री कुँवरले भन्नुभयो, “आवश्यकताका आधारमा अन्य प्रदेशमा पनि शाखा कार्यालय स्थापना गरिनेछ ।”     कोष सञ्चालक समितिका अध्यक्ष एवं श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले शाखा कार्यालय स्थापना गरेर काठमाडौँ केन्द्रित कोषको सेवालाई विकेन्द्रित गरिएको बताउनुभयो । नेपालका ठूला औद्योगिक कोरिडोरसम्म कोषको सेवा पु¥याउने जनाउँदै उहाँले छिट्टै बुटवल र नेपालगञ्जमा सम्पर्क कार्यालय स्थापना गरिने बताउनुभयो ।      सामाजिक सुरक्षा योजना घोषणाको छोटो समयमै कोषले योगदानकर्तालाई विभिन्न कल्याणकारी सुविधा उपलब्ध गराउन सुरु गरिसकेको उल्लेख गर्दै उहाँले योगदानकर्तालाई उद्यमशील बनाउन सहुलितय कर्जा प्रवाह गर्ने तयारी भइरहेको बताउनुभयो ।      “योगदानकर्तालाई उद्यमशील बनाउन कोषले सहयोग गर्छ, योगदानकर्ताको सीप र अनुभवलाई आर्थिक विकासमा जोड्नुपर्छ”, सचिव अर्यालले भन्नुभयो, “साना तथा मझौला उद्यम गर्छु भन्दा बैंक तथा वित्तीय संस्थाबाट कर्जा नपाउने अवस्था छ, योगदानकर्ता र परिवारलाई आर्थिकरुपमा सबल बनाउन कोषले सहयोग गर्नेछ ।”       संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका महासचिव नवराज दाहालले कोषमा सूचीकृत हुने रोजगारदाता र श्रमिकको सङ्ख्या अत्यन्त न्यून रहेको भन्दै सङ्गठित क्षेत्रको सबै श्रमिकलाई कोषको दायरामा ल्याउन माग गर्नुभयो । “कोषमा सहभागी हुने रोजगारदाता र श्रमिकको सङ्ख्या अत्यन्त न्यून छ”, उहाँले भन्नुभयो, “सरकार अभिभावक हो, योजनामा सहभागी हुन आलटाल गर्ने रोजगारदाता र श्रमिकलाई कारबाही गर्नुपर्छ ।”

  दार्चुला ।  पछिल्लो समय दार्चुलामा पनि गिद्ध लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् । प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो ।    विशेष गरी गिद्धको बासस्थान सिमलको रुख भएकाले पछिल्लो समय बढ्दो वन विनासका कारण सिमलका रुख हराउँदै गएपछि गिद्धको बासस्थान पनि हराउँदै गएको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख प्रमानन्द कुवँर ले बताउनुभयो ।      ठूलठूला भीरमा समेत गिद्ध पाइने भए पनि पछिल्लो समयमा गिद्ध देखिन छोडेको शैल्यशिखर नगरपालिकाका वीरसिंह धामी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गिद्ध संरक्षणका लागि सरकारी तथा स्थानीयस्तरबाट कुनै पहल हुनसकेको छैन, गिद्ध संरक्षणका लागि पहल नहुँदा लोप हुँदै गएका छन् ।”       गिद्धको आहारामा समेत समस्या आएकाले गिद्ध लोप हुँदै गएको जानकार बताउँछन् । मरेका पशुपक्षीको सिनोलाई आहाराका रुपमा गिद्धले प्रयोग गर्ने गर्दछन् । पछिल्लो समयमा बाहिर सिनो फाल्ने चलन पनि कम हुँदै गएका कारण पनि गिद्ध लोप हुन लागेका हुन् ।   आहारको अभावमा गिद्ध लोपहुँदै गएको पनेबाज सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दामोदरसिंह धामीको भनाइ छ । पशुमा प्रयोग गरिने डाइक्लोफेनिक औषधिले पनि गिद्ध लोप हुन थालेको जानकार बताउँछन् । पशुलाई दिइने यो औषधिको प्रयोगले गिद्धको विनाशमा ठूलो भूमिका खेलेको पशु प्राविधिक गोपालसिंह धामी बताउनुहुन्छ । डाइक्लोफेनक औषधि प्रयोग भएको पशुको सिनो खाएमा गिद्ध मर्ने गरेको उहाँले बताउनुभयो ।   नेपालमा डाइक्लोफेनिक औषधिको बिक्री वितरणमा रोक लगाइएको भए पनि दार्चुलाको भारतसँगको खुला सिमानाबाट यस्तो औषधि भित्रिने गरेको छ । अहिले विश्वभर २३ प्रजातिका गिद्ध पाइन्छन् । त्यसमध्ये दक्षिण एशियामा नौ र नेपालमा आठ प्रजातिका गिद्ध पाइन्छन् । नेपालमा पाइने आठ प्रजातिका गिद्धमा सानो खैरो, डङ्गर, सुन, गोब्रे, राज, हिमाली, खैरो र हाडफोर रहेका छन् ।

  तीजको बेलामा सबै जान्छन् मेलामा, म छोरीको आँशु खस्यो दैला ठेलामा । तीजको लहर आयो बरिलै ।     केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे । तीजका यस्ता गीतले महिलाले सासु/ससुरा र श्रीमान्को खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे तर, अब त्यो समय रहेन । नेपाली नारीहरुको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ ।     म्याग्दीको बेनी नगरपालिका–२ की ७१ वर्षीया गोमादेवी उपाध्यायले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भन्नुहुन्छ, “म सानो छँदा गाउँघरमा मादलको तालमा सुखदुःख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झन्छु तर, आजभोलि तीजका गीत सुन्दा तीजका हु्न् कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ ।”     विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू अमजू, ठूलीआमा, सानीआमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उहाँको भनाइ छ । सानो छँदा तीज पर्व मनाउन आफूले मादलको तालमा छमछमी नाचेको सम्झँदै उहाँ भन्नुहुन्छ, “आजभोलि त हामीले मनाउने तीज, तीजजस्तो लाग्दैन, उच्छृङ्खल, तडकभडक र देखासिखीको चाडजस्तो लाग्छ ।”     दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा गोमादेवी मात्रै होइन, पुरानो पुस्ताका प्रायः सबै महिलाका साथै नयाँ पिँढीका सामान्य महिला पनि चिन्तित छन् । बेनी मङ्गलाघाटकी अमृतदेवी बानियाँ पनि चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हाबी भएको दाबी गर्नुहुछ । महिला अधिकारकर्मी समेत रहनुभएकी बानियाँ भन्नुहुन्छ “तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।”   अर्की महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता जमुना आचार्य पनि तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पुर्याउने खालका उच्छृखङ्ल गीतको नियन्त्रण गर्नुपर्ने बताउनुहुन्छ । चाडपर्व, संस्कृति र पहिचानलाई बचाइराख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ”, उहाँले भन्नुभयो ।      परम्परादेखि नेपाली नारीले तीज पर्वलाई रमाइलो गरी मनाउँदै आएकाले यो पर्व नेपाली दिदीबहिनीको लागि महत्वपूर्ण मानिन्छ । मालिका–७ देविस्थानकी इन्द्रमती फगामी पनि तीज पर्व महिला दिदीबहिनीका लागि दुःख बिसाउने पर्व भएको बताउनुहुन्छ । उहाँका अनुसार विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ ।      फगामी भन्नुहुन्छ, “तीज आउनु एक महिना अघिदेखि गाउँघरतिर एकैठाउँमा जम्मा भएर मादलको तालमा नाचगान गर्ने चलन थियो, आज एउटाको घर त भोलि अर्को घरमा तीजको नाचगान गरेर मनाउँथे । अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ । तीजमा रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराभन्दा टिभीमा आउने गीत र सिरियलप्रति आकर्षित भएका छन् ।”     त्यसैगरी डम्मराकी प्रिया कार्की पनि नेपाली नारीहरुको लागि तीज पर्वको महत्व रहेको बताउनुहुन्छ । तीज मनाउन महिलाले अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउन अघि बढ्नुपर्ने उहाँको तर्क छ । महिलाले तीज मनाउँदा पश्चिमा संस्कृति छोड्नुपर्ने प्रिया कार्कीको धारणा रहेको छ ।     उहाँ भन्नुहुन्छ, “आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन् । विगतमा महिलाले भोग्नुपरेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्दथे । पछिल्लो समयमा नेपाली संस्कृतिका कारण नेपाली मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको छ ।”     तीजमा विवाहित महिला राता साडी र रातै चुरामा सजिएर आफ्ना श्रीमान्को दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई ब्रत बस्ने गर्दछन् भने अविवाहित महिला राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको बताउनुहुन्छ ज्यामरुककोट बगरफाँटकी अम्बिका शर्मा । उहाँ भन्नुहुन्छ, “आजभोलिका गीतमा हाँसो ठट्यौली र रत्तौली खेलेजस्तो लाग्छ । तीजमा महिला आफूलाई अरुको सामु राम्रो देखाउन चाहिनेभन्दा धेरै खर्च गर्ने गर्छन् । तीजलाई संस्कृतिसँग जोड्न अरुको देखासिखी गर्नु हुँदैन ।” पवित्राले परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व जोगाउन सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नुपर्ने उहाँको भनाइ छ ।   तीजका गीतमा वर्गीय प्रभाव     रातो सारी पहिरिएर सुखदुःखका भाका गाउँदै माइतीको आँगनमा छमछमी नाच्ने पर्वका रूपमा तीजलाई लिइन्छ । आफ्ना साथीसङ्गीसित नाचगान गर्दै सुखदुःख साटासाट गर्दा महिलाले वर्ष दिनभर भोगेको आफ्नो व्यथा हलुङ्गो भएको महसुस गर्छन् भन्ने मान्यतासमेत राखिन्छ ।       त्यसो त केही वर्षयता तीज मनाउने परम्परागत शैलीमा व्यापक परिवर्तन आएको छ । नाचगान, गीत, पहिरनका क्षेत्रमा आएको परिवर्तनले तीजको मौलिक स्वरूप पूरै हराउने अवस्था देखिएको छ । गायिकासित नारिएर गायक पनि तीज गीत गाउँदै रमाउन थालेका छन् भने परम्परागत लोकलय र वाद्यवादन शैली पनि पूरै विस्थापित हुने हो कि भन्ने खतरा छ ।      तीजको सांस्कृतिक पक्षभन्दा बढी व्यापारिक भएर विकृत हुने खतरा बढेकोे छ । यस्तै तीज नजिकिँदै जाँदा तीज गीत सार्वजनिक हुने क्रम बढेको छ । गाउँदेखि सहरसम्म तीजका नयाँ पुराना भाका घन्किन थालेका छन् । सञ्चार माध्यम र सोसल मिडियामा झपक्कै गरगहना र महँगा साडी लगाएर पाश्चात्य शैलीका गीतमा नाच्दै रमाइरहेका महिलालाई देख्दा ग्रामीण भेगका वनजङ्गल र मेलापात गर्नुपर्ने विपन्न महिलालाई हिनताबोध समेत हुने गरेको पाइन्छ ।     धार्मिक आस्था र सामाजिक सद्भाव झल्कनुपर्ने तीज पर्वलाई हुँदा खाने र हुने खाने वर्गको वर्गीय पहिचान हुने चाँड बनाइदै लगिएको म्याग्दीका पुराना गायक तथा राजनीतिककर्मी नेत्रबहादुर महत बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धार्मिक आस्था र पारस्पारिक मिलनको रुपमा लिइनुपर्ने तीज पर्वलाई गहना र फेसन प्रदर्शन गर्दै मासु र मदिरासहित उछृृङ्खल गतिविधि प्रदर्शन गर्ने अवसरका रुपमा लिइयो । यसले संस्कृतिको संरक्षण हुने होइन, नराम्रो विकृति निम्तनुका साथै पर्वको मौलिकता नै हराउँदै जान्छ ।”     “तीजमा अरुलाई देखाउनै लागि महँगा साडी, महँगा मोबाइललगायतका चिजहरु किनिन्छन् । हुने र सक्नेले यसलाई वैयक्तिक स्वतन्त्रताको नाम दिन्छन् तर नहुने र देखासिकी गर्ने महिलाका लागि तीज चाड होइन, कहर बन्न पुग्छ”, महत भन्नुहुन्छ “उछृङ्खलता स्वतन्त्रता हुन सक्दैन र सामाजिक र धार्मिक चाडपर्व मनाउने नाममा वर्गीय भिन्नता देखिने सार्वजनिक कार्यक्रमहरु गर्न दिइनु हुँदैन ।”      महतका अनुसार कुनै तीज गीत परिवारसँगै बसेर हेर्न र सुन्न नसकिने खालका छन् । उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियोमा गरिने अभिनय त्यति नै अराजक हुँदा तीज गीत नै हो भन्न सकिने अवस्था छैन । यसले तीजको संस्कृतिलाई विकृत बनाइरहेको छ ।     सुनिदैन विरह देखिन्छ मनोरञ्जन ‘पैतालुको खाला गयो बिझाउने बाटोले हृदयको खाला गयो बासी आँटोले ।’      बदलिँदो समय, फेरिदो आर्थिक अवस्था र आधुनिक जीवनशैलीप्रति बढ्दो आकर्षणका कारण विरह र बेदना समेटिएका गीतहरु हिजोआज सुनिदैनन् । तीज पर्व महिलाले वर्षभरि भोग्नुपरेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो । लोक संस्कृति झल्काउने खालका गीत गाउँथे तर अहिले यस्ता गीतहरु लोप हुने अवस्थामा पुगेको समाजका अगुवा महिला अधिकारकर्मी बताउँछन् । महिलाले सासू–ससुरा र पतिको अन्यायका विरुद्ध आवाज उठाउने संस्कृतिमा रुपमा गाउने भाका अहिले फेसनका रुपमा भित्रिन थालेको छ ।     पहिलापहिला तीजका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै बाटो हेरेकोेजस्ता कुरा तीज गीतमा हुन्थे, अहिले संस्कृतिभन्दा मनोरञ्जन र तामसी भावका गीत बढी छन् ।       आजभोलि तीजका गीतमा हरिदेवी कोइराला, वीमाकुमारी दुरा, देवी घर्तीलगायत लोकप्रिय र संस्कृतिप्रेमी गायिका सुनिदैनन् । न लक्ष्मी न्यौपाने, शर्मिला गुरुङलगायतले गाएका सांस्कृतिक गीतहरु नै सुन्न पाइन्छ । अहिले बजार र गाउँघरमा समेत तामसी प्रवृत्तिका गीतहरु बर्गेल्ती सुनिन्छन् । ती गीतमा हुँदैनन् महिलाका बेदना र विरह । मात्र त्यहाँ देखिन्छ, मनोरञ्जन र छाडापना । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठका अनुसार तीजका गीतमा बिरह सुनिदैन, मनोरञ्जन मात्रै देखिन्छ ।   ओझेल पर्दै धार्मिक पक्ष     तीज पर्व भगवान शिव र पार्वतीसँग जोडेर मनाउने पर्व हो । यस पर्वमा महिलाहरु अघिल्लो दिन दर खाएर भोलिपल्टअर्थात् हरितालिकाको दिन निरहार पानी पनि नखाई व्रत बसी भगवान शिवको पूजा गर्दछन् । विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान शिवजस्तो असल, गुणी, राम्रो पति पाऊँ भन्दै व्रत बस्ने प्रचलन रही आएको छ ।     हिन्दू धर्म ग्रन्थमा भगवान शिवलाई पति पाउँ भनेर देवी पार्वतीले गरेको व्रतको प्रभावले शिव नै स्वामी पाएको भन्ने धार्मिक जनविश्वास रहँदै आएको छ तर हिजोआज तीज पर्वको धार्मिक पक्ष नै ओझेलमा पर्दै गएको छ । म्याग्दीका पण्डित नीलकण्ठ आचार्यका अनुसार तीज व्रत देखाउनैका लागि मात्र बसिएको हो कि जस्तो लाग्न थालेको छ । एक डेढ महिनासम्म ‘दरखाने’ नाउँमा नानाथरिका परिकारहरु खाने, रमाउने र एकदिन फलफूल र बजारमा पाइने पेय पदार्थ पिएर ब्रत बसें भन्नुको कुनै अर्थ रहँदैन ।      नेपाली महिलाले पनि निरहार दिनभरि व्रत बसेर राति पतिलाई टीका लगाई खुट्टाको पानी खाने प्रचलन छ तर अहिले संस्कृतिमा खुट्टाको पानी खानु स्वास्थ्यका लागि राम्रो होइन भनेर धरै महिलाले त्यसो गर्न छाडिसकेका छन् । निरहार व्रत बस्ने चलन पनि हट्दै गएको छ । बिरामी, अशक्त मात्र नभई अन्य महिलाले पानी, फलफूल, जुस खाएर व्रत बस्ने गरेका छन् । व्रत बस्दा स्वास्थ्यलाई ध्यान दिएर बस्नु राम्रो हुन्छ, निरहार व्रत बस्नुपर्छ भन्ने कुनै शास्त्रमा उल्लेख नभएको पं आचार्यको भनाइ छ । 

  पर्सा । पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरिब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ । सङ्घीय सरकारको स्वामित्वमा रहेको अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएपछि उपचारका लागि यहाँ बिरामी बढ्दै गएका छन् ।        अस्पतालले सिटीस्क्यान, डायलासिस र वृद्धवृद्धालाई उपचार खर्चमा सहुलियतलगायतका सेवा प्रारम्भ गरेपछि बिरामीको अस्पतालमा चाप बढ्दै गएको सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो । अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर जिल्ला र भारतको विहार क्षेत्रका बिरामी उपचारका लागि आउँछन् ।        अस्पतालमा दैनिक औसतमा एक हजार बिरामीले विविध  रोगको उपचार सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।  नियमित उपचारमा आउने बिरामीमध्ये करिब १० देखि १५ प्रतिशतसम्म भारतीय बिरामी रहेको जनाइएको छ ।        अस्पतालको तर्फबाट दुई सय र विकास समितिको तर्फबाट एक सय शय्यामा नियमित उपचार सेवा दिँदै आएको छ । अस्पताललाई विसं २०७५ असार २५ गते सङ्घीय सरकारले मधेस प्रदेशमा विशिष्ट सेवा प्रदान गर्ने उद्देश्यले पाँच सय शय्याको रुपमा स्तरोन्नति गरिसकेको छ ।        उपचार सेवा थप प्रभावकारी बनाउँदै लगेपछि विशेष गरी गरिब र विपन्न समुदायका बिरामी बढेका अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा वीरेन्द्रबहादुर प्रधानले जानकारी दिनुभयो । मेडिकल, सर्जरी, दन्त, आँखा उपचार, छाला रोग, डायलासिस, नाक कान तथा घाँटी, मानसिक, प्रसूति, हाडजोर्नी, बाल रोग, शिशु स्याहार, मुटु रोगसम्बन्धी उपाचार विभाग, सघन र अक्सिजनसहितको उपचार कक्षमार्फत बिरामीलाई अस्पतालले सेवा दिँदै आएको छ ।       अहिले अस्पतालले दिने सेवालाई थप प्रभावकारी बनाउन प्रशासनले सबैजसो सेवालाई उपचारको  प्राथमिकताका आधारमा काम गरिरहेको जनाएको छ । करिब तीन बिघा क्षेत्रफलमा फैलिएको अस्पताल परिसर क्षेत्रमा चार वटा आवास, एक प्रसूति, प्रयोगशाला, भण्डारण, बहिरङ्ग, आकस्मिक सेवा विभाग र एउटा पुरानो आँखा उपचार गरी कूल १३ भवन छन् । अस्पताललाई केन्द्रीय रिफरल अस्पताल र सरकारी मेडिकल कलेजमा स्तरोन्नति गर्न माग गर्दै यस क्षेत्रका सरोकारवालाले पटकपटक सङ्घीय सरकारसँग माग गर्दै आएका छन् ।       अस्पतालले सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गर्दै आएको छ  ।  गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा शहीद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा सिंहले जानकारी दिनुभयो  । निःशुल्क उपचारले धेरै नगरिकलाई समयमै उचित उपचार सेवा दिन सहयोग पुगिरहेको डा सिंहको भनाइ छ । अस्पतालमा सरकारी एक सय ६२ र विकास समितिका एक सय २० स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पताल विसं २०५१ मा तत्कालीन महेन्द्र आरोग्य र ऐश्वर्य भवन एकीकरण भई हालको नारायणी अस्पताल नामकरण भएको थियो ।

  काठमाडौं ।  यसअघि काठमाडौँ उपत्यकामा थुप्रिएको सबै फोहोर  आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।       टेकु ट्रान्फरस्टेसनमा रहेका फोहोरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहोर  व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको कामपा वातारण विभागको प्रमुख सरिता राईले जानकारी दिनुभयो ।        प्रमुख राईका अनुसार मुख्य सडकमा रहेको सबै फोहोर को व्यवस्थापन कार्य सकिएको छ, अब भित्री सडकमा रहेको केही फोहोर बाँकी छन् त्यसको पनि अन्तिम व्यवस्थापनको काम  आगामी शनिबारसम्ममा सकिने छ ।      यसअघिको फोहोर  पनि व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहोर  अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । मुख्य सडकमा नै कतै फोहोर  व्यवस्थापनको काम बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गर्नुभयो ।      केही दिनअघि कामपाको प्रमुख बालेन्द्र साहले फोहोर  व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई पनि एक साताभित्र सबै फोहोर  व्यवस्थापन गर्न दिर्नेशन दिनुभएको थियो । कहिले पानीको कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयका अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहोर  व्यवस्थापन हुन सकेको थिएन ।         सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहोर  बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरी व्यवस्थापनको काममा असहयोग गर्दै आएका छन् ।       कामपाले भने स्थानीयसँग भएको सम्झौता कार्यान्वयनको चरणमा रहेको भन्दै फोहोर  ढुवानीको सवालमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गर्दै आएको छ । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहोर  व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहोर  व्यवस्थापन कार्य हुन थालेको हो ।       पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहोर  व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहोर लाई यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम भने गरिरहेको जनाएको छ ।  हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन रहेको छ ।       यसअघि पनि लामो समय फोहोर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । काठमाडौँका ३२ वडा छन् । यसमा मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ । 

  काठमाडौं । परिक्षामा प्रश्नपत्र दोहोरिएको बिषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय नेविसंघ इकाइले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ ।   त्रिवि इकाइका सचिव योगेन्द्र रावलले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको धेरै समयमा पनि माग सुनुवाइ नभएको र उपकुलपतिलाई भेट्न आउँदा नभेटेपछि कुर्सीमा जुत्ताको माला लगाएको बताए । उनले भने ‘हामीले भेट्न आउँदा उपकुलपतिलाई भेटेनौं । त्यसैले हामीले लगाएको जुत्ता फुकालेर उपकुलपतिको कुर्सीमा लगाइदिएका छौं । प्रहरीले हामीलाई घेरेको छ ।’   त्रिभुवन विश्वविद्यालयको परीक्षामा हुबहु सोधिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको थियो । प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघले माग गर्दै आएको छ ।   मानविकी संकायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई बर्षको हुबहु मिलेको छ ।

  कञ्चनपुर ।  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी छिन् ।   जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुबाको घरमा गएका बेला दिदीसित नुहाउने क्रममा डुबेर बालिकाको नदीमा बेपत्ता भएकी हुन् ।   प्रहरी निरीक्षक भरत गिरीले बालिकाको खोजीमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी बलको टोली महाकालीमा खटिएको जानकारी दिनुभयो । “बालिकाको खोजीमा सुरक्षाकर्मी र स्थानीय पनि खटिएका छन् ।” उहाँले भन्नुभयो ।