पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

मुस्ताङ  : स्याउको राजधानीका रूपमा परिचित मुस्ताङको स्याउ यस पटक भने असोजको पहिलो सातामै बजार झर्ने भएको छ । सरोकारवाला निकाय र स्थानीय कृषकबीच समझदारी गरी यसै महिनाको २५ गतेदेखि स्याउ टिप्न र बिक्री वितरण गर्न खुला गरिएको हो ।   स्याउ यतिबेला बोटमा राताम्मे भएका छन् । सडक सञ्जालले छोएको र बेनी–जोमसोम सडक हुँदै मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङदेखि उकालो लागेपछि बाटो आसपासमा राताम्मे स्याउ अवलोकन गर्न पाइन्छ । मुस्ताङ घुम्न आएका पर्यटकले गाडी रोकेर सेल्फी खिच्ने, भिडियो बनाउनेसँगै कोसेलीका रूपमा किनेर लैजाने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।   स्याउ पाकेसँगै टिप्ने र बजारसम्म पु¥याउन अबका केही दिन कृषकलाई भ्याइनभ्याइ हुन्छ । गत वर्षभन्दा यस वर्ष पाँच दिन अगाडिबाटै स्याउ टिप्न अनुमति पाएपछि यहाँका कृषक पनि उत्साहित बनेका छन् ।   अघिल्लो वर्ष असोजको १ गतेदेखि स्याउ टिप्न र बिक्री गर्न अनुमति दिइएको थियो । राम्रोसँग पाकेको स्याउका लागि असोज नै लाग्नुपर्ने तर्क पनि रहँदै आएको छ ।   स्याउ समयमै बजारसम्म नपुग्दा विगतमा घाटा बेहोर्नुपरेको अवस्थामा अहिले भने कृषक तथा व्यापारी दुवैलाई फाइदा पुग्ने अनुमान गरिएको छ ।   यस वर्ष स्याउको गुणस्तर र बजार व्यवस्थापन लोभलाग्दो रहने शीतोष्ण बागवाणी विकास केन्द्रका निमित्त केन्द्र प्रमुख विनयबाबु कोइरालाले बताउनुभयो । उहाँका अनुसार मुस्ताङको स्याउले बजार पाउन थालेदेखि यहाँको कृषकको दैनिकीमा सकारात्मक प्रभाव परेको छ । “हामी मुस्ताङको स्याउ गुणस्तरीय होस् भन्ने चाहन्छौँ”, उहाँले भन्नुभयो, “यस वर्ष सरोकारवाला निकायभन्दा पाँच दिन ढिला गरेर केन्द्रको स्याउ टेन्डर आह्वान गरेका छौँ ।”   विगतका केही वर्षमा तोकिएको समयभन्दा अगाडि नै स्याउलाई बजारसम्म पुर्‍याउने परम्पराले मुस्ताङको स्याउप्रति नै नकारात्मक प्रभाव परिरहेको थियो । स्याउमा गुणस्तर नपाउनु र बजारमा मुस्ताङको स्याउ भनेपछि फरक तरिकाले हेर्ने अवस्थाभन्दा अहिले धेरै भिन्नता हुने कोइरालाको जिकिर छ । हाल केन्द्रमा उत्पादन हुने स्याउ धेरै पुरानो भए पनि नयाँ प्रविधिका स्याउ विस्तारै विकास भइरहेको कोइरालाले बताउनुभयो । अब भने बर्सेनि मुस्ताङको स्याउ उचित समयमा बजारसम्म पुग्ने र गुणस्तरमा पनि कुनै कमी नआउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।   यसैगरी दसैँ नजिकिँदै गर्दा आन्तरिक तथा बाह्य पर्यटकको चाप दिनहुँ बढ्ने र मुस्ताङमा पर्यटकीय केन्द्र निर्माणमा सरोकारावाला निकाय जानकार हुनुपर्ने टड्कारो अवस्था देखिएको छ ।    मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका सफल युवा कृषक निरज तुलाचन दसैँ तिहार जस्तो प्रमुख याममा स्याउको बिक्री वितरणमा व्यापारीहरूले कुनै पनि कसर बाँकी नराखी सकारात्मक भूमिका निभाएमा यहाँको स्याउलार्ई देशैभरि प्रचारप्रसार गर्न सकिने बताउनुहुन्छ ।   स्याउ खेती लगाउन र यसको व्यवस्थापन गर्न अगाडि आउन चाहने कृषकलाई निःशुल्क परामर्शसहित सोही स्थानलाई व्यवस्थित पर्यटकीय हब निर्माणमा सहयोग गर्ने अर्का व्यवसायी निरज तुलाचनको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मुस्ताङको बगैँचामा एकछिन रमाउने वातावारण तयार गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । मुस्ताङभित्रका सुन्दर स्याउ बगैँचालाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने तुलाचनको भनाइ छ । 

काठमाडौँ  :  नेपालकी सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेतको गोलमा छैटौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ ।    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । नेपालले खेलको पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल थप्यो । नेपालकी चर्चित फरवार्ड खेलाडी सावित्राले खेलको पहिलो हाफको १२ औँ मिनेटमा एक गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् । भुटानकी गोलरक्षक सङ्गीता मोनगेर गोलपोष्टबाट अघि बढ्दै बल क्यिर गर्न खोज्ने क्रममा नेपालकी अमिशा कार्कीले दिएको पासलाई सदुपयोग गर्दै सावित्राले गोल गरिन् । यसै खेलबाट राष्ट्रिय सिनियर टिममा अमिशाले डेब्यु गरेकी हुन् ।   यसैगरी खेलको ६८ औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरिन् । खेलको दोस्रो हाफको सुरुआती समयमा नै मैदान प्रवेश गरेकी रेखाकुमारी पौडेलको पासलाई सदुपयोग गर्दै सावित्राले वान भर्सेस वान टचमा गोल गरेकी हुन् ।    खेलको ७३ औँ मिनेटमा नेपालकी मिडफिल्डर अनिताले भुटानका दुई मिडफिल्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरिन् । खेलको ८५औँ मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाइन् । नेपालकी अनिता केसीको क्रस बललाई भुटानी गोलरक्षकले पञ्च गरेर बाहिर फालेको बललाई सदुपयोग गर्दै अनिताले गोल गरेकी हुन् ।    खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले खेलको पहिलो हाफमा वर्षाका कारण खेलाडीले सोचेअनुरुपको खेल प्रदर्शन गर्न नसकेकेको बताउनुभयो । उहाँले खेलको दोस्रो हाफमा भने खेलाडीले राम्रो खेलको बताउँदै भुटान राम्रो टोली भएको टिप्पणीसमेत गर्नुभयो ।       त्यसैगरी भुटानकी सहायक प्रशिक्षक टङ्कमाया घलेले नेपाल फिजिकली रुपमा स्ट्रोङ भएको कारणले पनि आफ्नो टोली पराजित हुन पुगेको बताउनुभयो । उहाँले अर्को खेलमा भने राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । नेपालले अब यही भदौ २७ गते समूह चरणको दोस्रो खेल श्रीलङ्कासँग खेल्नेछ ।     साफ च्याम्पियनसिपअन्तर्गत भोलि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे डिफेन्डिङ च्याम्पियन भारत र पाकिस्तानबीच हुनेछ । दोस्रो खेल बङ्गलादेश र माल्दिभ्सबीच हुनेछ । उक्त खेल ५ः३० बजे हुनेछ ।

पोखरा : आगामी मंसिर ४ गते हुन लागेको प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि  कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १३ र समानुपातिकमा १० जनाको नाम सिफारिश गरेको छ ।    पार्टीले गरेको सिफारिशको आधारमा प्रत्यक्षमा प्रतिनीधि सभातर्फ ५ जना, प्रदेशसभा क मा ५ र ख मा ३ जनाको नाम उल्लेख छ । त्यस्तै समानुपातिकतर्फ प्रतिनीधिसभामा २ जना र प्रदेशसभामा ८ जनाको नाम सिफारिश भएको राप्रपा कास्कीले बताएको छ ।   प्रत्यक्ष प्रतिनीधिसभातर्फ कास्की १ मा राप्रपाको तर्फबाट सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङसँगै देऊबहादुर गुरुङ, बाबुराम थापा, कृष्णप्रसाद रेग्मी र शालिकराम घिमिरे छन् । राप्रपा केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग लमजुंग स्थायी घर भएका नेता भएपनि कास्की १ बाट सिफारिश भएका हुन् । त्यस्तै प्रत्यक्ष तर्फ कास्की १ क मा सन्तोष घिमिरे, प्रकाश सापकोटा, हरिबहादुर घर्ती क्षेत्री, हरिप्रसाद धमला र रमेशराज पौडेलको नाम सिफारिश भएको छ । त्यस्तै प्रदेश ख मा सूर्यबहादुर गुरुङ, सन्दीप कुँवर र सचिन थापाको नाम सिफारिश भएको छ ।   त्यसैगरि समानुपातिकतर्फ प्रतिनीधिसभाका लागि कास्की १ बाट भीमसेन गुरुङ र बलराम तिवारीको नाम सिफारिश भएको छ । प्रदेशतर्फ भने राप्रपाका कास्की जिल्ला अध्यक्ष समेत रहेका नारायण गुरुङ , शहिद क्षेत्रबहादुर केसीकी धर्मपत्नी सुनिता केसी, अन्य नेताहरु विष्णुप्रसाद पोखरेल, नारायणप्रसाद सुवेदी, झविन्द्रराज आचार्य, अमृतबहादुर कार्की, गीता गुरुङ र लिलामोहन कुँईकेलको नाम सिफारिश भएर आएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।   राप्रपा कास्कीले बुधबार कास्की क्षेत्र नम्बर २ को उम्मदेवारहरुको नाम सिफारिश गर्ने तयारीमा रहेको जनाएको छ ।   

  पोखरा  : अभिनेता पल शाहलाई बलात्कार मुद्दामा नवलपुर जिल्ला अदातलले सफाइ दिएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई जबर्जस्ती करणीमा सफाइ दिएपनि बाल यौन दुरुपयोग मुद्दामा भने साढे दुई वर्ष थुनामा राख्न आदेश दिएको छ ।   त्यसबाहेक २५ हजार जरिबाना र १० लाख क्षतिपूर्ति पीडितलाई दिन आदेश भएको जिल्ला अदालत नवलपुरका वैतनिक वकिल दीपक भट्टराईले जानकारी दिए ।   शाहविरुद्ध गत चैत ४ गते जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा दायर भएको थियो । नाबालक किशोरीका बुवाले दायर गरेको जाहेरीमाथि न्यायाधीश आचार्यले मंगलबार सुनुवाइ गर्दै जबर्जस्ती करणी नभई बालयौन दुरुपयोग भएको फैसला गरेका हुन् ।   मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गरी मुद्दा दायर भएको थियो । सरकारी वकिलको कार्यालयले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्तिको माग गरेको थियो ।   कानुनको सो दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मन्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । शाहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को ‘३’ को ‘ग’ अनुसार सजाय माग गरिएको थियो । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेमा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।   अभियोगपत्रमा बलात्कार हुँदा बालिका १५ वर्ष आठ महिना चार दिनकी भएको उल्लेख छ ।

काठमाडौँ  ः  अमेरिकाबाट आउने पार्सल केही बहुमूल्य चिज होला भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । केही नेपालीका सपनाको गन्तव्य मुलुक त्यसमाथि शक्तिमान राष्ट्र, अमेरिका ।   नेपाली नागरिकले त्यहाँबाट आउने उपहार नौलो र रोचक हुने अनुमान गर्नु स्वभाविक पनि हो तर त्यही मुलुकबाट गाँजा पार्सल गरी सरकारी निकाय हुलाकमा आउँछ भन्ने कुरा धेरैलाई थाहा नहुने सक्छ । बाह्य मुलुकबाट यसरी सानो परिमाणमा लागुऔषध भित्रिएका घटना बेलाबेलामा सुनिएको हो ।   यसपटक भने झण्डै दुई किलो गाँजा त्यसैगरी हुलाक हुँदै नेपाल भित्रिएको छ । उक्त पार्सल अनुसन्धानका लागि प्रहरीले बरामद गरी त्यसमा संलग्न रहेका तीन व्यक्तिलाई पक्राउ गरेको छ । त्यसका मुख्य कारोवारीको हुन् भन्ने विषयमा भने अझै अनुसन्धान कै क्रममा रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।    घटना यही सोमबारको हो । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा अमेरिकाबाट गाँजा हालेर उपहारका रुपमा पार्सल आयो । कुनै व्यक्तिको नाममा उपहार भनेर उक्त पार्सल आएको थियो । हुलाकमा प्रहरी टोली खटाइँदै आएको छ । उक्त पार्सल मेसिनमा स्क्रिनिङ गर्दा असहज देखियो । “अनुसन्धानका क्रममा भित्र गाँजा भएको खुल्यो, त्यसपछि अनुसन्धानलाई थप बलिायो बनाउँदै मान्छे समाउन लाग्यौँ”, खड्काले भन्नुभयो, “लिन आउने व्यक्तिलाई नियन्त्रणमा लिएर थप व्यक्ति खोज्न थाल्यौँ ।”   हुलमा उक्त पार्सल लिन काभ्रेको माण्डनदेउपुर नगरपालिका–७ का २८ वर्षीय मनोज राई आए । हुलाकबाट पार्सल रिसिभ गर्ने बित्तिकै उनी पक्राउ परे । त्यहाँ थियो दुई किलो गाँजा । सुरुमा उनले केही कुरा खुलाएनन् । विस्तारै सोधपुछका क्रममा राईबाट काठमाडौँ महानगरपालिका–१ नक्सालका ३० वर्षीय अङ्कितकुमार श्रेष्ठ पनि यसमा संलग्न रहेको कुरा खुलेपछि काठमाडौँको खुस्बुबाट पक्राउ परे । थप अनुसन्धान गर्दै जाँदा मनोजलाई रु ३० हजार दिने शर्तमा राहुल र अङ्कीतले परिचालन गरेको पत्ता लाग्यो । तत्कालै प्रहरीले काठमाडौँको नक्सालबाट क्षेत्रीलाई पनि पक्राउ गर्‍यो । यो पार्सल उनीहरुमा मात्रै सीमित छैन । उनीहरु पहिलो तहका संलग्न व्यक्ति हुन् । गाँजा मगाउने मुख्य व्यक्ति को हुन् प्रहरीले अझै खुलाएको छैन तर पार्सल तीनै जनाको मिलेमतोमा भित्राइएको पाइएको छ ।    यसरी बनेको थियो त्रिपक्षीय योजना   धेरै पहिलेदेखि नै राहुल र अङ्कित साथी थिए । उक्त पार्सल मगाउने राहुलले अङ्कितको नाममा मगाउन प्रस्ताव गरेर तर राहुलले पक्राउ पर्ने डरले मानेन् । बरु चिनजानको अर्को साथीको नाम लिँदै उनको नाममा मगाउन प्रस्ताव गरे । उनको नाम हो मनोज राई । मनोजको नाममा पार्सल मगाउने अङ्कित र राहुलको सहमतिमा मनोज पनि राजी भए ।    विगतमा मनोज ठमेलको एक पबमा काम गर्थे । उक्त पबका अङ्कित नियमित ग्राहक थिए । विस्तारै उनीहरुको चिनाजान साथीमा परिणत भयो । बन्दाबन्दीमा समयमा पब बन्द भएपछि राईलाई अङ्कितले नयाँ जागीर लगाइदिएपछि उनीहरुको सम्बन्ध घनिष्ट भयो । त्यसैले उनीहरुले मनोजलाई प्रयोग गरेर उनको नाममा पार्सल मगाउन सफल भएका थिए ।    लागुऔषधसहित पक्राउ परेका १५ जना सार्वजनिक    उनीहरुसहित विभिन्न मितिमा लागुऔषधसहित पक्राउ परेका १५ जनालाई प्रहरीले आज सार्वजनिकसमेत गरेको छ । उनीहरुलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले जनाएको छ ।    प्रहरीले ललितपुरको भोलाखेलका सञ्जय कपाली, र रामेछापको मन्थलीका २७ वर्षीय कुमार तामाङलाई नियन्त्रित लागुऔषध ब्रुप्रोनोर्फिन ३१ एम्बुपल, डाइजेपाम ३१ एम्पुल र फेनारगन ३० एम्पुलसहित पक्राउ गरेको हो । यस्तै ललितपुरका २९ वर्षीय अनिश महर्जन तथा सप्तरीका धर्मदेव रामलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । खैरो हेरोइनसहित ललितपुरका प्रताप कार्की, पाँचथरका भुवन विक र देङ्हाङ नेम्वाङ पनि पक्राउ परेका छन् ।   यस्तै काठमाडौँको माकलबारीका उत्सव घिमिरे, भोजपुरका दोर्ची शेर्पालाई पनि खैरो हेरोइनसहित र उक्त खैरो हेरोइन कारोबारमा संलग्न भोजपुरका फुर्लामी शेर्पा, अप्सरा राजवंशी, नौसाद आलम पक्राउ परेका छन् । उनीहरुबाट रु १० लाख ४० हजार नगदसमेत बरामद गरिएको छ । प्रहरीले १५ जनाबाट खैरो हेरोइन २८७.५ ग्राम, गाँजा दुई किलो, अन्य लागुऔषध २५२ एम्पुल, डिजिटल तराजु, मोबाइललगायत साम्रगीसमेत बरामद गरेको छ । 

काठमाडौं   :  १० वर्षपछि दशरथ रंगशालामा  सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । दशैं छेको पारेर असोज १५ गते दी एज ब्याण्ड, नितेशजंग कुँवर दर्जन कलाकारले कन्सर्ट गर्ने भएका हुन् ।   काठमाडौंमा पत्रकार सम्मेलन गरेर १० वर्षपछि दशरथ रंगशालमा सांगीतिक कार्यक्रम हुुने जानकारी दिएको हो । कन्सर्टमा वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुबानी मोक्तान र दी इलेमेन्ट्स ब्यान्डले प्रस्तुति दिने भएका छन् ।   कन्सर्टले सहरी युवावर्गमा बडादशैंको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने लक्ष्य राखिएको आयोजकले जनाएको छ । साथै, कोरोना महामारीले थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायलाई हौसला बढाउने साथै नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष्य राखिएको छ ।   दशैं महोत्सवको टिकटक कन्टेस्टमा भाग लिएर १० जनाले पोखरा रिसोर्ट प्याकेजजस्ता पुरस्कार पाउनेछन् । विगत २० वर्षदेखि कन्सर्ट, सडक महोत्सव गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी समूह, केटीएम लाइभ तथा अप–ट्रेण्डली मिडियाले संयुक्त रूपमा यो सांगीतिक महोत्सवको आयोजना गर्न लागेका हुन् ।

  पोखरा  :  ३९ वर्ष पछि पोखरामा आयोजना हुने लागे नवौँ राष्ट्रिय खेलकुदका लागि साइक्लिङ खेल विधातर्फ महिला तथा पुरुष खेलाडी छनोट भएका छन् ।    गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय खेलकुदमार्फत खेलाडी छनोट गरेको हो । पोखराका विभिन्न स्थानमा साइक्लिङ प्रतियोगितामार्फत नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिएको कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष एवं प्रतियोगिता संयोजक शङ्कर भण्डारीले जानकारी दिनुभयो ।   राष्ट्रिय खेलकुदका लागि महिलातर्फ प्रदेशबाट ‘क्रसकन्ट्री’ विधामा कास्कीका हिमान्सु राई, सोफिया विक, सदीक्षा भण्डारी छनोट हुन सफल हुनुभयो । यसैगरी ‘रोड रेसमा’ निकिता परियार, बविता परियार, स्पर्श उदास र  पवित्रा परियार छनोट हुँदा ‘डाउन हिल’तर्फ जमुना थापा छनोटमा पर्नुभएको छ । छनोट प्रतियोगितामा कास्कीबाहेक अन्य जिल्लाले साइक्लिङमा सहभागिता जनाएका थिएनन् ।   यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशबाट प्रतियोगिताको ‘क्रस कन्ट्री’ विधामा कास्कीका हिक्मत विक, स्याङ्जाका सन्दीप सुधौली, तनहुँका विनोद सापकोटा र कास्कीका अनिल विक छनोट हुनुभयो । ‘डाउन हिल’तर्फ कास्कीका अजय क्षेत्री र सुजन अधिकारी छनोट हुँदा ‘रोड रेस’तर्फ कास्कीका सुमित गुरुङ र सुवास लामा छनोट भएको संयोजक भण्डारीले जानकारी दिनुभयो ।   कास्कीबाट पुरुषतर्फको ‘क्रस कन्ट्री’मा हिक्मत विक, अनिल विक, आलोकश्री खड्का र अजित बराल, ‘डाउन हिल’तर्फ अजय क्षेत्री, सुजन अधिकारी र ‘रोड रेस’मा सुमित गुरुङ र सुवास लामा छनोट हुनुभएको छ । प्रतियोगिता क्रस कन्ट्री र रोड रेस पोखरा–१८ मेथलाङडाँडा र डाउन हिल पोखरा–२२ स्थित रानीवन–तितेपानी क्षेत्रमा सञ्चालन भएको थियो ।   नवौँ राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुँदैछ । प्रतियोगिताका लागि प्रदेशको छनोट खेल सम्पन्न भएका छन् भने खेलस्थलको अन्तिम टुङ्गो लगाउने काम भइरहेको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताउनुभयो ।   प्रतियोगिताको एक महिनाभन्दा अगावै खेलाडी छनोट सम्पन्न गरेको गण्डकीले नवौँमा राम्रो नतिजाका लागि असोज १ देखि बन्द प्रशिक्षण सञ्चालन गर्न लागेको छ । छनोट हुन सफल खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने प्रदेशले जनाएको छ ।   यसैगरी परिषद्ले पदकको बढी आशा भएका विभिन्न छ खेलका एक सय खेलाडीलाई मनाङमा दुई साताको उच्च पर्वतीय (हाइ अल्टिच्युड) प्रशिक्षण दिइने जनाएको छ । भलिबल, बास्केटबल, कराते, आइटीएफ तेक्वान्दो, फूलकन्ट्याक्ट कराते र तेक्वान्दोका खेलाडीलाई असोज १ देखि १५ गतेसम्म हाइअल्टिच्युड प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।

काठमाडौँ  :  छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा  आयोजना हुने भएकोछ ।    साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपाल समूह बी समूहमा परेको छ ।   नेपालको समूहमा श्रीलङ्का र भुटान छन् । समूह ए मा भने भारत, बङ्गलादेश र माल्दिभ्स छन् । समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ । यस खेल भने भदौ २७ गते हुनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।    आजको उद्घाटन खेल नेपाल र  भुटानबीच  साँझ ५ः३० बजे हुनेछ  । अनुभवी र युवा खेलाडीको समिश्रणले बनेको नेपाली टोली भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गर्ने दाउमा  छ  भने  भुटान पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरवात गर्न चाहन्छ ।   नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक कुमार थापाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने र पहिला लिग चरणमा नै आफ्नो टोलीको ध्यान केन्द्रित रहने बताउनुभयो । नेपालले हालसम्म साफ च्यापियनसीपको उपाधि जित्न सकेको छैन ।   भुटानकी प्रशिक्षक क्युङ सुक होङले भने प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको जानकारी दिनुभयो । नेपाली टोलीमा  एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, हीराकुमारी भुजेल, अमृता जैसी (उपकप्तान), गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक र विमला चौधरी छन् ।    यसैगरी टोलीमा मञ्जलीकुमारी योञ्जन, प्रिती राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी, अमिशा कार्की, रेखाकुमारी पौडेल, सावित्रा भण्डारी र रश्मीकुमारी घिसिङ छन् ।

मनाङ  :  हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ ।   केन्द्रका प्रमुख नारायण कुसुमले  खर्कका चौरी मरेको थाहा पाउनासाथ स्थलगतरूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको जानकारी दिनुभयो । “ङावल क्षेत्रको खर्कमा चौरीमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकहरूले भ्यागुते रोगको आशङ्का गरेका छन् । चौरीको रगत तथा बोनम्यारोको प्राप्त नमूना परीक्षणबाट भ्यागुते रोगको पुष्टि हुन बाँकी नै छ”, उहाँले भन्नुभयो ।   समुद्र सतहदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको हिमताल क्षेत्रमा चरन खर्कमा रहेका १० चौरी मरेको केन्द्रले जनाएको छ । “भ्राकामा चौरी मर्ने क्रम रोकिएको छ । तर ङावल क्षेत्रमा अझै चौरी बिरामी रहेकाले पशु विज्ञको निगरानी जारी रहेको छ”, केन्द्र प्रमुख कुसुमले भन्नुभयो ।    जिल्लामा पूर्णखोप अभियान चलाउने तयारी भइरहेका बेला चौरीमा देखिएको समस्याले खोप अभियानको सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । जिल्लाका अन्य क्षेत्रका खर्कमा रहेका चौरीमा भने यो समस्या नदेखिएको जनाइएको छ । यस रोगबाट चौरी भएमा खोप अभियान सञ्चालन गरिने विज्ञ केन्द्रले जनाएको छ ।    भ्राकाको आइसलेकस्थित १५ पशु बिरामी परेकामध्ये १० मरेको जनाइएको छ । त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका-८ टङ्कीस्थित प्रिप्चे चरन क्षेत्र चार हजार तीन सय मिटर उचाइमा रहेका बिरामी आठ चौरी मरेको केन्द्रका प्रमुख कुसुमले जानकारी दिनुभयो । हालसम्म ४२  चौरी बिरामी परेकामध्ये ३० मरेको उहाँले बताउनुभयो ।    रोग निदानको लागि प्रादेशिक पशुरोग प्रयोगशाला पोखरा पठाइएको केन्द्रले जनाएको छ । प्रयोगशालाका प्रमुख केदारराज पाण्डेका अनुसार भ्यागुते रोग नै हो भन्ने पुष्टि भने भएको छैन । “चौरीको गोबर परीक्षण गर्न नमूना आउन नसकेका कारण के भएको हो भन्ने पुष्टि हुनसकेको छैन”, उहाँले भन्नुभयो, “हिमाली चौरीमा भाद्र-आश्विनमा परजीवी जुकाको समस्या देखिने सम्भावना रहन्छ । यसले गर्दा पनि समस्या आएको हुनसक्छ ।”   रोगको प्रारम्भिक लक्षणअनुसार भ्यागुते रोगको आशङ्का गरेअनुसार सो रोगविरुद्ध खोप कार्य पूर्ण खोप कार्यक्रमबाट काम भइरहेको र त्यो भ्यागुते रोग नभएको पशुपक्षी रोग अन्वेषण पोखरा पठाएको केन्द्रले जनाएको छ । पशुपक्षी रोग अन्वेषण पोखराले रोग निदानका लागि नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको र नमूना परीक्षणको नतिजा बाँकी रहेको जनाइएको छ ।    सो रोगको आउटब्रेक अध्ययन गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले यहीभदौ ४ गतेदेखि प्राविधिक टोली पठाएको थियो । पशु प्राविधिक टोलीले दिएको विवरणअनुसार विस्तृतरूपमा भेटेरेनरी एपिडीमियोलोजिकल अध्ययन सर्वेक्षण गर्न आवश्यक देखिएको केन्द्रले जनाएको छ ।   ती बिरामी चौरीमा एक्कासी एक सय छ डिग्री ज्वरो आउने, अत्यधिक र्‍याल काढ्ने, श्वास फेर्न गाह्रो हुने, खान मन नगर्ने, घाँटी सुनिने, मुख खोलेर श्वास फेर्न गाह्रो भएर आवाज निकाली कराउने र पशु लक्षण देखाएको दुई घण्टादेखि दुई दिनभित्र मर्ने गरेको पशु विज्ञको भनाइ छ ।   उहाँका अनुसार दुई वर्षदेखि छ वर्ष उमेर समूहका पशुमा रोग देखापरेको छ । ती कलिला चौरीका मूल्य रु ४० हजार प्रतिगोटा र वयस्क  एउटैको रु ९० हजारदेखि रु एक लाख २० हजारसम्म पर्ने गर्दछ । यसरी अज्ञात रोगबाट चौरी मरेपछि किसान चिन्तित भएका छन् ।