बागलुङ: भुजीखोलाको किनारै किनार ढोरपाटन घुम्न जानेहरु धेरैले सोध्छन् ‘‘केही वर्ष पहिले बाढी र पहिराले बढारेको खोला यही हो ?’’ कुलबहादुर गहभरी आँसु पार्नुहुन्छ । विस्तारै ओभाउँदै गरेको घाउ कोट्याएजस्तै लाग्छ उहाँलाई । परिवार उजाडिएसँगै बास उडाएको भदौ १७ गतेको त्यो राती सम्झिँदै भन्नुहुन्छ, ‘‘हो यही खोला हो, हाम्रो त घर उजाडियो, परिवार खोस्यो पहिरोले ।’’ भुजीखोलाले बगाएका उहाँका छोरा नारायण विकको एक सातापछि शव भेटिएको थियो । उहाँसँगै बाढीमा बगेका बुहारी टेकमाया, छोरी तिर्सना र नातीनी मनिष विक अहिले पनि बेपत्ता छन् । एउटै परिवारका चार जना सदस्य गुमाउनुभएका कुलबहादुर बिस्तारै कालो दिन बिर्सने प्रयास त गर्नुहुन्छ तर हरेक बर्षको भदौ र बेला बेलामा आउने प्रश्नले उहाँको घाउमा नुनचुक लगाउन भने छोडेको छैन । बेपत्ताको आशा पनि मारिसक्नुभएका कुलबहादुरको न घर छ नत परिवारनै । कुलबहादुर जस्तै ढोरपाटन नगरपालिका–९ बोबाङको भुजीखोला आसपासमा दुई वर्षअघिको घाउ नओभाएकाहरु धेरै छन् । दुई वर्षअघि भुजीखोलामा आएको बाढी पहिरामा परेर मृत्यु भएका २२ जना र बेपत्ता रहेका १५ जना सबैको परिवारका आँखा ओभाएका छैनन् । विसं २०७७ भदौको महिना केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजीखोला आफ्नै लयमा थियो । जतीसुकै ठूलो वर्षा हुँदा पनि आफ्नो लय नछोड्ने भुजीखोलाले वर्षापछि बाढी आए पनि घरमा पसेर विध्वंश मच्चाउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्ष पनि खोला यसैगरी सुसाउँथ्यो र अहिले उसै गरिरहेको छ । बाउबाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्ती बेँसी झरेका बेला बोबाङबासीका आश्रयस्थल थिए । ढोरपाटन र बुकीमा बसेर गाईबाख्रा पाल्ने अधिकांश बोबाङवासीको छ महिनाको बसाई भुजीखोला छेउछाउमा भए पनि उनीहरुको स्थायी बसोबास त्यहीँ हो । भदौ १७ भुजीखोला किनारका स्थानीयका लागि कालो दिन बन्यो । रातको १२ बजे यही खोलामा एक्कासी उर्लेको बाढीले ऐया पनि भन्न नपाई सबै बगाइदियो । बाढीपहिराले ढोरपाटन नगरपालिका वडा नं ९ देखि ६ सम्मको खोला किनार बढार्यो । कसैलाई लछारेर किनारा लगायो, कसैको प्राण लियो र धेरै जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्कअनुसार भुजीखोलाको बाढीपहिराका कारण ढोरपाटनका मात्रै ३७ जनाले ज्यान गुमाएका थिए । पन्ध्र जना अझै बेपत्ता छन् । ढोरपाटन–९ को सुर्तिबाङमा पहिरो खसेर भुजीखोला थुनिएपछि नरसंहार मच्याउने गरी बाढी आएको बोबाङका वडाध्यक्ष खीमबहादुर घर्ती मगर बताउनुहुन्छ । कहिले भेटिएलान् हराएकाहरु ? भदौ १७ गते रातको १२ बजेदेखि सम्पर्कविहीन भएका ४० जनामध्ये तीन जना घाइते अवस्थामा भेटिए । त्यसयता निरन्तर एक महिनाको खोजीमा २२ जनाको शव भुजीखोला र बडिगाड खोलाको किनारमा भेटिए । एकै पटक सम्पर्कविहीन भएका १५ जनाको अझै पत्तो छैन । ‘‘प्राय ठूलो बाढीपहिरामा परेकाहरु बेपत्ता हुन्छन्, भेटिँदैनन्, हाम्रो प्रहरीले लामो समय खोज्यो तर भेटेन’’, प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले भन्नुभयो ‘‘स्थानीयले केही भेटेर खबर गरे प्रहरीले थप खोजी गर्ने हो, नभए उनीहरुको परिवारलाई राहत र पुनःस्थापनामा सहभागी गराइएको छ ।’’ बेपत्ता नभेटिँदा परिवारलाई भने पिरोल्ने गरेको छ । वडा नं ९ का टेकमाया विक, तिर्सना विक, मनिषा विक, रोशन विक, रवि विक, सुरेन्द्र विक, जितबहादुर घर्ती, प्रकृति पुन, मनकुमारी विक, उमिसा विक, हस्तमाया विक, तुलमती विक, कौशिला पुन, विशाल पुन र मोहन विक अझै बेपत्ता हुनुहुन्छ । क्षतिपछिको पुनःनिर्माण र पुनःस्थापना बाढीपहिराको खबर पाएलगत्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा र गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको थियो । हेलिकप्टर चढेर ढोरपाटन पुग्नुभएका दुवैले राहत र पुनःस्थापनाको कुरा त गर्नुभयो । अहिले पीडितहरु भन्छन् , ‘‘उहाँहरु चढेर आएको हेलिकप्टरको हावासँगै उडे पीडितलाई दिएका आश्वासनहरु ।’’ गण्डकी सरकारले प्रति मृतक रु ५० हजार र सङ्घीय सरकारको रु दुई लाख नगद राहतबाहेक पीडितले केही पाएनन् । तत्कालीन आवश्यकता पूरा गर्दा नै पाएको नगद राहत सकियो । बाढीपहिराले ढोरपाटनमा ठूलो क्षति पुगेपछि सरकारले तत्कालै मन्त्रिपरिषद् बैठकमार्फत बागलुङलाई विपत् जोखिम क्षेत्र घोषणा गरेको थियो । तर दुई वर्षसम्म उक्त घोषणा सरकारको कागजमै सीमित भएको छ । जिल्लाभरि छ सय ३२ घर पुनःनिर्माण गर्नुपर्ने गरी भत्केका छन् । ढोरपाटनमा मात्रै एक सय ३२ घरमा क्षति पुगेको थियो । बाढीले घरबास उठाएको दुई वर्षमा बल्ल सरकारले विपत् जोखिम क्षेत्रमा कार्यक्रम ल्याएको छ । समयमा पुनःनिर्माणका कार्यक्रम नआउँदा पीडित बसाइ सरेर अन्यत्रै गएका छन् । कतिपयको अझै बिचल्ली छ । ‘‘कसैले आफैँले घर बनाए, केहीको नगरपालिकाले दिएको ससानो रकमले घर बनेको छ’’ वडाध्यक्ष घर्ती भन्नुहुन्छ ‘‘निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रममा झमेला हुँदा पीडित झन पीडामा छन् ।’’ गृह मन्त्रालयअन्तर्गत रहेको ‘राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ को कार्यक्रम कार्यान्वयन गरिरहेको जिल्ला प्रशासन कार्यालयले यही साता मात्रै ६९ घरका लागि पहिलो किस्ताको रकम पठाएको छ भने १६ घरको पहिलो किस्ता पाइपलाइनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले बताउनुभयो । निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०७७ बने पनि जिल्लामा कार्यान्वयन ढिलागरी भएको थियो । कार्यविधिको दफा ४ को उपदफा ३ बमोजिम प्रक्रिया पुगेका घर पुनःनिर्माणमा राज्यले सहयोग गर्ने उल्लेख छ । कार्यविधिअनुसार पहाडी जिल्लामा घर बनाउन रु चार लाख, घडेरीका लागि रु तीन लाख गरी पीडितले रु सात लाखसम्म पाउने व्यवस्था छ । उक्त रकममध्ये गाउँपालिका भए १० प्रतिशत र नगरपालिका भए १५ प्रतिशत स्थानीय तहले लगानी गर्नुुपर्छ । प्रदेश सरकारले ३० प्रतिशत लगानी गरेपछि बाँकी रकम सङ्घले व्यवस्थापन गर्नुपर्छ । नगरपालिकाले राहत कोषमा जम्मा भएको रकमबाट दिएको अनुदानले घर बनाएकाले कार्यविधिले तोकेको रकम पाउने वा नपाउने भन्नेमा भने अन्योल छ ।
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित प्रतिनिधिसभाअन्तर्गतको विभिन्न समितिमा सदस्यको नाम हेरफेर गर्नुभएको हो । सांसद महेन्द्रकुमारी लिम्बू महिला तथा सामाजिक समितिबाट कानून, न्याय तथा मानव अधिकार समितिमा, सरवत आरा खानम अर्थसमितिबाट कानून, न्याय तथा मानवअधिकार समितिमा, सांसद प्रमिला राई अर्थ समितिबाट कानून, न्याय तथा मानवअधिकार समितिमा, कर्मा घले कानून, न्याय तथा मानवअधिकार समितिबाट महिला तथा सामाजिक समितिमा, जिपछिरिङ लामा विकास तथा प्रविधि समितिबाट राज्यव्यवस्था तथा सुशासन समितिमा र मीना पाण्डे राज्य व्यवस्था तथा सुशासन समितिबाट विकास तथा प्रविधि समितिमा मनोनयन गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव गर्नुभएको उक्त प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको थियो । बैठकमा सांसद मीनबहादुर विश्वकर्माले प्रतिनिधिसभा नियमावली, २०७५ नियम १०५ र नियम १११ का प्रावधानको सीमा छोट्याउन नियमावलीको नियम निलम्बनको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सांसदहरु रामकुमारी चौधरी र प्रमोद साहले समर्थन जनाउनुभएको थियो । नियम निलम्बनको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो ।
पोखरा । नेकपा एमाले कास्कीले आगमी मंसिर ४ गते हुन गईरहको प्रतिनिधि सभाको चुनावको लागि विभिन्न क्षेत्रबाट सदस्यको नाम सिफारिस गरेको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा क्षेत्र नं. २ को ‘ख’ बाट ८ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा परशुराम वराल, दाम बहादुर वानिया, जिवन आचार्य, सन्जिव कोईराला, वलराम आचार्य, मिना गुरुङ र मिना कुमारी गुरुङ रहेका छन् । यसै गरी क्षेत्र नं. ३ को ‘क’ बाट दामोदर बैरागी, लाल बहादुर परियार, दिपक पौडेल, नन्दलाल अधिकारी, माधव वास्तोला, राजैन्द्र गौतम, सूर्य प्रसाद लम्साल, केशव शरण पौडेल, दुर्गा दत्त पोखरेल, प्रेम देवी परियार, शारदा कुमारी पराजुली, यदुनाथ अधिकारी, रमेश कार्की र शोभा मोहन पौडेल गरी १४ जना रहेका छन् । भने, क्षेत्र नं.३ कै ‘ख’ बाट राजिव पहारी, ओम सुवेदी, शिव अधिकारी, दिलिप विक्रम शाही, सन्तोष परियार र संगिता सुवेदी गरी ५ जना प्रतिनिधि सभाका लागि सिफारिस भएको नेकपा एमाले कास्की सचिव वैन बहादुर क्षेत्रीले जानकारी दिए ।
पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले दुईपटक संसद विघटन गर्ने केपी शर्मा ओली नेतृत्वको पार्टीलाई जनताले भोट दिनुको कुनै औचित्य नभएको बताएका छन् । नेपाली कांग्रेसले सुरुवात गरेको जनताको साथमा कांग्रेस अभियानको अवसरमा पोखरामा आइपुगेका नेता पौडेलले पत्रकारहरुसमक्ष बोल्दै यस्तो अभिव्यक्ति दिएका हुन् । केन्द्रिय सदस्य पौडेलले ५ वर्षका लागि प्रधानमन्त्री बनाउँदा दईपटकसम्म संसद विघटन गरी जनताको मतको दुरुपयोग गरेको भन्दै अबको निर्वाचनमा ओली नेतृत्वलाई मत दिनुको औचित्य नभएको स्पष्ट पारे । ‘गठबन्धन गरेर सरकार बनाउन केपी ओलीले सुरु गरे । भोट पनि पाए । प्रधानमन्त्री पनि भए, दुईपटक संसद विघटन गरेर मतको दुरुपयोग गरे अब जनताले कुन आधारमा केपी ओली नेतृत्वलाई मत दिने’ सदस्य पौडेलले प्रश्न गरे ? उनले आगामी निर्वाचनमा नेकपा एमालेको विकल्पमा नेपाली कांग्रेस उदाउने धारणा राखे । उनले फरक प्रसंगमा पोखरालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न पोखरामा ठुला राजमार्ग र रेल मार्गले जोड्न आवश्यक रहेको बताए । नेता पौडेलले पोखरालाई पर्यटन क्षेत्रमा थप विकास गर्न नसके अन्य क्षेत्रको पर्यटन क्षेत्रको विकासले गति लिन नसक्ने भन्दै पोखरालाई हवाई क्षेत्रले मात्र नभएर ठुला राजमार्ग र रेलमार्गले जोड्न आवश्यक रहेको उल्लेख गरे । पर्यटन क्षेत्रको रुपमा पोखरामा थप विकास गर्न अझै बाँकी रहेको बताउदै पोखराको विकासमा नेपाली कांग्रेसले थप गुरुयोजना तयार पारेको सदस्य पौडेलले बताए । उनले आगामी निर्वाचनमा नेकपा एमालेको विकल्पमा नेपाली कांग्रेस उदाउने धारणा राखे । ‘गठबन्धन गरेर सरकारमा जान केपी ओली सफल भए तिन वर्ष सरकार सञ्चालन गरे तर तिनै ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गरेकाहरुलाई सँगै लैजान सकेनन्, उनले भने, ‘त्यसैले देशलाई समृद्ध बनाउन अहिले कांग्रेसको नेतत्वमा गठबन्धन तयार भएको हो ।’ नेपाली कांग्रेसले जनताको साथमा कांग्रेस अभियान सञ्चालन गर्न विभिन्न कार्यक्रमहरु सार्वजनिकसमेत गरेको छ । कांग्रेसले भदौ १९ गते जनताको साथमा कांग्रेस अभियानबारे केन्द्रीय प्रतिनिधिबाट प्रशिक्षण सञ्चालन गरेको छ । कांग्रेसले भदौ २१ गते कास्कीका ७२ वटै वडामा एक साथ अभियानको बारेमा कार्यक्रम सञ्चालन गर्ने र वडा कार्यसमितिसँग र क्षेत्रबाट प्रतिनिधिहरुसँग मतदाता संवाद कार्यक्रम आयोजना गर्ने र २३ गते पार्टी कार्यालयमा गठबन्धनका दलहरुमा भेटघाट र २४ गते नेपाली कांग्रेसले आयोजना गरेको जनताको साथमा कांग्रेस अभियानसँगै ६ वटै प्रदेश सभामा एकै साथ प्रजातान्त्रिक समाजवाद र यसको सान्दर्भिकता विषयमा प्रवचन कार्यक्रमसँगै पहिलो चरणको कार्यक्रम समापन गर्ने कार्यतालिका बनाएको छ ।
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुन:विचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रस्तुत भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराउनुभयो । राष्ट्रियसभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो ।
काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन नगरवासीलाई आग्रह गरेको छ । टोखाको नगर कार्यपालिकाको बैठकले टोखा नगरपालिकाभित्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न लगाउने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठकका अनुसार बैठकले आफ्नो वडाभित्रका सार्वजनिक तथा सरकारी जग्गा खाल गराउने निर्णय गरेकाले सबै वडाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएका स्थानमा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्न नगरपालिकाले निर्देशन दिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा छन् । यसअघि काठमाडौँ महानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा बनाएको संरचना भत्काउन थालेपछि टोखाले पनि सूचना जारी गरेको हो । ट्याक्सी चालकलाई मुद्दा यसैबीच मादक पदार्थ सेवन गरी ट्याक्सी चलाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दुवैजना माथि मुद्दा चलाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयबाट खटिएको टोलीले मदिरा सेवन गरी ट्याक्सी चलाउने र ट्राफिक प्रहरीलाई अभद्र व्यवहार गर्ने बा२ज ३३४१ नं का चालक सुनसरीका ३४ वर्षीय विकास सुनार तथा बा२ज ६५४ नं का चालक ललितपुरका ४६ वर्षीय राजेन्द्र महर्जनलाई पक्राउ गरेको हो । सुनारलाई महाराजगञ्ज वृत्तबाट र महर्जनलाई कीर्तिपुर वृत्तबाट अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । मादकपदार्थ सेवन गरी सवारीसाधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा आवश्यक कागजपत्र नदिनुका साथै ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले मुद्दा चलाइएको प्रवक्ता भट्टले बताउनुभयो ।
कास्की: नेपाल सरकारको भूमिसम्बन्धी ऐनले जग्गाका हदबन्दी तोकेको छ । सरकारको भूमिसम्बन्धी ऐन – २०२१ ले लामो समयदेखि अन्यौलमा रहेको दरबन्दी किटान गरिदिएपछि अब स्पष्टरुपमा कसले कतिसम्म जग्गा आफ्नो नाममा राख्न सक्छ भनि किटान गरिदिएको हो । जसअनुसार जग्गाको हदबन्दीअनुसार कति जग्गा राख्न पाइन्छ भन्ने ऐनले स्पष्ट पारेको छ । भूमि सम्बन्धी ऐन २०२१ अनुसार कुनै व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतले नेपाल अधिराज्यमा जम्मा १० बिगाहामा नबढ्ने गरी विभिन्न क्षेत्रमा जग्गा राख्न पाउनेछ । सरकारले भित्री मधेशसमेत सम्पूर्ण तराई क्षेत्रमा १० बिगाह, काठमाडौं उपत्यकामा २५ रोपनी, काठमाडौं उपत्यकाबाहेक सम्पूर्ण पहाडी क्षेत्रमा ७० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने व्यवस्था गरेको छ । तर, कुनै व्यक्ति वा निजको परिवारले लेखिएको हदमा नबढ्ने गरी घरबारीको निमित्त आवश्यक भएजति जग्गा लेखिएको जग्गामा थप गरी राख्न सक्ने व्यवस्था गरिएको छ । जसमा भित्री मधेशसमेत सम्पूर्ण तराई क्षेत्रमा १ बिगाहा, काठमाडौं उपत्यकामा ५ रोपनी र काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा ५ रोपनी राख्न सक्ने पाउने व्यवस्था छ । माथि उल्लेखित क्षेत्रको कुनै जग्गाको सम्बन्धमा कसैले जग्गावालाको हक सो उपदफाहरू प्रारम्भ हुनुभन्दा अगावै प्रचलित नेपाल कानूनले अंशमा हक पुग्ने हकवाला वा अंशियार बाहेक अरु कसैलाई बेचबिखन, दान दातव्य, सट्टा पट्टा गरी वा अरु कुनै व्यहोराले हक छाडि दिएको लिखत सो उपदफाहरू प्रारम्भ हुँदाको मितिसम्म रजिष्ट्रेशन पास भएको रहेनछ भने, त्यसरी हद छाडी दिएको जग्गा निज वा निजको परिवारको साथमा कायम रहेको अरु जग्गासमेत मिलाउँदा उपदफा ९१० र ९२० मा लेखिएको अधिकतम हदभन्दा बढी हुने रहेछ भने त्यस्तो हक छाडी दिए लिएकोलाई हक छाडी दिने जग्गावालाकै साथमा कायम रहेको सरह मानिने व्यवस्था ऐनमा गरिएको छ । तर यो दफा लागू हुनुभन्दा अगावै रजिष्ट्रेशन पास गराई माग्न दाबी परिसकेकोमा यो उपदफा लागू नहुने व्यवस्था गरिएको छ । उपदफा ९१० र ९२० लागू भएको क्षेत्रहरूमा सो उपदफाहरु प्रारम्भ भएको मितिसम्म सो उपदफाहरू बमोजिम राख्न पाउने अधिकतम हदभन्दा बढी जग्गा आफ्नो साथमा वा आफ्नो परिवारको साथमा हुने कुनै जग्गावालाले कानूनले अंशमा हक पुग्ने हकवाला अंशियारबाहेक अरु कसैलाई बेचविखन, दानदातव्य, सट्टा पट्टा गरी वा अरु कुनै व्यहोराले हक छाडी दिएको रहेछ भने सो लेनदेनको लिखत रजिष्ट्रेशन पास भएको वा नभएको जे भए पनि त्यस्तो लेनदेनलाई यो दफाको तात्पर्यको लागि मान्यता दिइने छैन । त्यस्तो जग्गा हकछाडी दिने जग्गावालाकै साथमा कायम रहेको सरह मानी यो दफा लागू हुनेछ । तर, कसैले सार्वजनिक शिक्षण संस्थाको निमित्त दिएको दान दातव्यको सम्बन्धमा सो व्यवस्था लागू हुने छैन । त्यस्तै, सरकारले तोकेको हदबन्दी जग्गा प्रयोजनको लागि मोही लागेको जग्गाको हकमा जग्गावाला र मोहीको आधा आधा हिस्सा गणना गरिनेछ । यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि यो दफा प्रारम्भ हुँदाको मितिसम्म साबिकमा हदबन्दी सम्बन्धी कारबाहीको निर्णय हुन बाँकी रहेको जग्गावालाको हकमा साबिकको व्यवस्था बमोजिम राख्न पाउने जग्गाको हदबन्दी सम्बन्धी कारबाही टुङ्गो लागेपछि मात्र यस दफा बमोजिमको अधिकतम हदबन्दी लागू हुनेछ । त्यसैगरी मोहीको हैसियतले कमाउन पाउने जग्गाको अधिकतम हदको छुट्टै व्यवस्था गरिएको छ । जसमा कुनै व्यक्ति वा निजको परिवारले मोहीको हैसियतले अधिकतम ४ बिगाहसम्म जग्गा कमाउन पाउनेछन् । सरकारले भित्रि मधेशसमेत सम्पूर्ण तराई क्षेत्रमा ४ बिगाहा, काठमाडौं उपत्यकामा १० रोपनी र काठमाडौं उपत्यकाबाहेक सम्पूर्ण पहाडी क्षेत्रमा २० रोपनी जग्गा कमाउन पाउने व्यवस्था गरेको छ । त्यस्तै, उपदफा ९१० मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतले कुनै जग्गा राखेको भए सोसमेत गरी उपदफा ९१० मा तोकिएको अधिकतम हदमा नपुग जग्गासम्म मोहीको हैसियतले कमाउन पाउनेछ । तर, कसैले मोहीको लागि तोकिएको अंश वा अपुताली परेकोमा बाहेक सो दफामा तोकिएको अधिकतम हदमा बढ्ने गरी मोहीको हैसियतले कुनै जग्गा कमाउन लिनु हुँदैन । लिएमा निजलाई तोकिएको अधिकारीको आदेशले ५०० रुपैयाँसम्म जरिवाना हुनेछ । त्यस्तो अधिकतम हदभन्दा बढी कमाए जति जग्गाबाट निष्कासनसमेत गरिनेछ । तर ऐन आउनुभन्दा अघिदेखि सो दफामा तोकिएको अधिकतम हदभन्दा बढी जग्गा कमाइराखेको रहेछ भने त्यस्तो बढी जग्गा जतिको मोहीयानी हकमा अंश वा अपुताली परी उक्त अधिकतम हदभन्दा बढी जग्गाको मोहीयानी हक प्राप्त हुन आएमा त्यस्तो बढी जग्गा जतिको मोहीयानी हकसमेत सरकारले तोकिए बमोजिम प्राप्त गरी तोकिए बमोजिम बिक्री वितरण गर्नेछ । कुनै खास क्षेत्रको जग्गाको सम्बन्धमा त्यसको मोहीयानी हक प्राप्त गरिएकोमा त्यसको क्षतिपूर्ति सम्बन्धित मोहीलाई दिनुपर्छ भन्ने सरकारलाई लागेमा तोकिएको दरले क्षतिपूर्ति दिने दिलाउने व्यवस्थासमेत सरकारले गर्न गराउन सक्ने व्यवस्था छ ।
काठमाडौँ । महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताउनुभएको छ । महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिन पुगेको स्मरण गर्दै आज प्रमुख साहले आफ्नो विगत सय दिनको कार्यकाल कस्तो रह्यो भन्ने बारेमा आफैँले मूल्याङ्कन गर्नेभन्दा पनि आम मानिसले कसरी हेर्नु भयो भन्ने बढी अर्थपूर्ण हुने बताउनुभयो । अहिले सय दिनको दौडानमा रहे पनि आफूसँग पाँच वर्षका लागि योजना रहेको बताउँदै उहाँले अझै केही समय गाली र आलोचना मात्रै सहन तयार हेको भन्दै हतार गरेर महानगरका समस्याको दीगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको सुनाउनुभयो । अवैध संरचना हटाउने कामका कामपा निरन्तर लागिरहेको स्मरण गर्दै प्रमुख साहले भन्नुभयो, “जुन प्रयोजनका लागि उपयोग गर्ने निर्माण भएको छ त्यहीँ रुपमा प्रयोग हुनुपर्छ, हामीले चाहेको यति मात्रै हो, कुनै पनि सर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ, फुटपाथ हटाएको सन्र्दभ वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पथ्र्यो, त्यहीँ गर्यौँ, फुटपाथको आधारभूत निर्माण नै पैदलयात्रीका लागि हो, सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ, महानगरले पहिले फुटपाथका व्यापारीलाई अन्यत्र राखेर खुल्ला गर्ने कोसिस गरेको थियो, जुन पूर्णरुपमा असफल भयो ।” फुटपाथ हटाएको प्रभाव बानेश्वर तथा असनलगायत क्षेत्रमा सकारात्मक रुपमा देखिन थालेको उहाँको भनाइ छ । ई–स्पोर्टसका लागि लागि रु एक करोड बजेट छुट्याइएको उहाँले बताउनुभयो । यमबुद्धको सालिक बनाउने सन्दर्भमा उल्लेख गर्दै उहाँले भन्नुभयो, “समाजको एउटा पुस्ताको ठूलो सङ्ख्याले आफ्नो भविष्य र कलामा खोजी रहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउने विषय पनि सकारात्मक रहेको छ ।” मान्छे एउटै जीवनभित्र फरक फरक भूमिकामा हुने भन्दै उहाँले आफू सार्वजनिक व्यक्तित्व भएका कारणले समाजमा आफ्ना कार्यले पार्नसक्ने प्रभावका बारेमा भने सजग रहेको पनि बताउनुभयो । फोहर व्यवस्थापनको सवालमा आशा गरे जति काम हुन नसके पनि झण्डै दुई दशकदेखि कुहिएर रहेको समस्यालाई सतहमा ल्याउन सफल भएको भन्दै प्रमुख सहाले त्यसबाट वास्तविक समस्याको पहिचान गरी दीगो समाधानका उपाय खोज्न सकिने बताउनुभयो ।
पोखरा । प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बागलुङ जिल्ला टिम च्याम्पियन भएको छ । पोखरामा सम्पन्न प्रतियोगिताम बागलुङले १७ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरी टिम च्याम्पियन भएको हो । यसै गरी तनहुँ ४ स्वर्ण, १ रजत र ३ कास्य सहित दोश्रो र स्याङजा ३ स्वर्ण, ४ रजत र ५ कास्य पदक प्राप्त गरी तेश्रो भएको छ । प्रतियोगिता अन्तर्गत महिला स्पाइरिङ ४० देखि ५९ केजी मुनीको तौलमा बागलुङका चार जना खेलाडीहरुले स्वर्ण पदक जितेका छन् । सुनिता भण्डारी, शुष्मिता थापा मगर, हिहिला अदै, पल्पसा घर्ती मगरले स्वर्ण पदक जितेका हुन् । त्यस्तै ६० देखि ६५ केजी तौल माथी कास्कीकी निकिता तामाङ र तनहुँकी सोनिका थापाले स्वर्ण पदक जिते । त्यस्तै महिला प्याट्रनतर्फ तनहुँकी मोनिका कुंवर, बागलुङकी लली कुमारी वुढा मगर, सुनिता भण्डारी, शुष्मिता थापा मगर र बसन्ती वुढा मगरले स्वर्ण पदक जितेका छन् । पुरुष स्पाइरिङतर्फ ४५ देखि ७९ केजीको विभिनन तौलमा बागलुुङका खगेन्द्र धर्ती मगर, श्रीप्रसाद वुढा मगर, प्रविन वुढा मगर, एक्सन पुन मगर, प्रकाश वुढा मगर, पञ्चविर वुढा मगर र मिथुन घर्ती मगरले स्वर्ण पदक जितेका छन् भने ८० देखि ८५ केजी तौल माथीको प्रतिष्पर्धामा तनहुँका सोम बहादुर गुरुङ र स्याङजाका राजन रसाइलीले स्वर्ण पदक जितेका छन् । पुरुष प्याट्रनतर्फ प्रतिष्पर्धामा स्याङजाका विभस घर्ती मगर र भिम बहादुर गाहाले स्वर्ण पदक हात पारेका छन् । त्यस्तै बागलुङका प्रविन वुढा र श्रीप्रसाद वुढा मगरले तथा तनहुँका गोपाल चन्दले स्वर्ण पदक जितेका छन् ।