काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं :  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक सयले घटेको हो ।    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार सात सय थियो ।      त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा  प्रतितोला रु पाँचले घटेर रु एक हजार एक सय ७० तोकिएको महासङ्घले जनाएको छ । 

पोखरा : गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउनुहुने भएको छ ।    पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुनुहुने राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं प्रतियोगिताका समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले प्रतियोगिताको च्याम्पियन टोलीलाई रनिङ शिल्ड प्रदान गर्नुहुनेछ ।    संयोजक कुँवरका अनुसार समारोहमा प्रधानमन्त्री देउवासहित युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, प्रदेशका मन्त्रीहरु, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ । यसअघि गत असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको थियो ।   समारोह उपसमितिका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा जस्तै गरी समापन पनि भव्य हुनेछ । मार्चपास, मस्कट प्रदर्शन, तीनवटै सुरक्षा निकायबाट संयुक्त ब्याण्ड प्रदर्शन, झाँकीसहित दुई घण्टाको भव्य समापन समारोह हुने समारोह उपसमितिका संयोजक कुँबरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जसरी हामीले भव्य उद्घाटन गरौँ, त्यसरीनै हजारौँको सहभागितामा नवौँ राष्ट्रिय खेलकुदको बिदाइ गर्नेछौँ ।”   समापन समारोहमा च्याम्पियन टोलीलाई ट्रफी र पुरुष फुटबलका विजेता खेलाडीलाई मेडल प्रदान गरिनेछ । समारोहमा राष्ट्रिय कलाकारबाट गीत तथा नृत्य प्रस्तुत हुने र अन्तिममा भव्य आतिशबाजीसहित समारोहको समापन हुने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

  बागलुङ । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेहरुको कमी छैन ।   यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र हुनुहुन्छ काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि लामिछानेले पनि बारी बाँझै राख्नुभयो । आफू जनप्रतिनिधि भएकाले २४ घण्टा वडावासीको काममा खट्नुपर्ने, श्रीमतीले जागिर गर्ने र वृद्ध बाबुआमाले काम गर्न नसक्ने भएपछि उहाँको बारी बाझिँदै थियो ।  तर बारीलाई बाँझै राख्न उहाँलाई पटक्कै मन लागेन् । अरुको बाँझोबारीमा समेत खेती गर्न लगाउनुपर्ने जिम्मेबारी पाउनुभएका व्यक्तिले आफ्नै बारी बाँझो राख्दा उनका अघि स्वभाविक प्रश्न थियो । त्यसैले वैकल्पिक खेतीको खोजीमा लागेका लामिछानेले अहिले भने त्यही बाझिँन थालेको बारीबाट लाखौँ कमाइ गर्न थाल्नुभएको छ । काठेखोला गाउँपालीका–७ रेशमा रहेको उहाँको घर वरिपरि किवीको बगान छ । दुई रोपनी बारीमा लगाएको किवी लटरम्म फलेको छ । मध्यम खालका एकनासका किवी दाना मनोरम देखिन्छन् । “चार–पाँच वर्ष पहिले बिरुवा लगाएको हुँ, पोहोर पातलो फल्यो, अहिले राम्रो फलेको छ”, लामिछानेले भन्नुभयो, “वैकल्पिक खेती गर्दा उत्पादन लिन केही वर्ष त कुर्नैप¥यो”, लामिछानेले दुई रोपनी बाँझो बारीमा ४५ वटा किवीका बिरुवा लगाउनुभएको छ । तिनै बिरुवामा यो वर्ष सात सय किलो किवी फलेको लामिछानेले बताउनुभयो ।  “दुई क्विन्टल त बिक्री भइसके, अझै पाँच क्विन्टल जति बोटमै छन्”, उहाँले भन्नुभयो,  “बजारको समस्या नहोस् भनेर एकैपटक टिपेनौँ”, पाँच सय रुपैयाँ प्रतिगोटा खरिद गरेका ४५ वटा बिरुवाले गत वर्ष नै लगानी उठाएको उहाँले बताउनुभयो । बगानमा किवीको बिरुवालाई आडदिन गत वर्ष ७० हजार खर्चेर उहाँले टहरा बनाउनुभएको छ ।  लामिछानेको बगानमा फलेका किवी बागलुङ बजारमा बिक्री भइरहेका छन् । प्रतिकिलो रु दुई सय ५० मा आफ्नै कोठाबाट किवी बिक्री गर्दै आएको उहाँकी श्रीमती कमला लामिछानेले बताउनुभयो । “बजारमा होलसेल दिन खोजेको यस्तो उस्तो भनेर बिचौलिया आउँछन्, उपभोक्तालाई पनि महँगो पर्ने”, लामिछानेले भन्नुभयो, “हामी आफौँले उपभोक्तालाई दिँदा उहाँहरूले रोजेर लैजान पाउनुभएको छ, मूल्य पनि सस्तो पर्छ ।”  यो वर्षमात्रै किवीको बिक्रीबाट दुई लाख बढी आम्दानी हुने उहाँले बताउनुभयो । वहुबर्षे बाली भएकाले बेला–बेलामा सिँचाइ र मलको प्रबन्ध गर्दा मात्रै अरु धेरै वर्ष किवीबाट उत्पादन लिन सकिने उहाँको भनाइ छ । त्यही बारीमा कोदो र मकैको खेती गर्दा खर्च उठाउन कठिन हुने गरेको अनुभव समेत लामिछानेसँग छ ।  “हामीले बजारको माग, उत्पादन लागत र उत्पादकत्व हेरेर खेती गर्नुपर्ने रहेछ”, लामिछाने भन्नुहुन्छ, “पछिल्लो समय मैले नगदेबाली र फलफूल खेतीमा वडावासीलाई प्रेरित गर्ने गरेको छु ।” लामिछानेले वडा कार्यालयको तर्फबाट किसानलाई अनुदानमा किवीका बिरुवासमेत हरेक वर्ष बाँड्दै आउनुभएको छ । उहाँ गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

पोखरा : गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ ।   आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ गरिनेछ । समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने जनाइएको छ ।    यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता प्रचारप्रसार उपसमितिका सचिव खुसराज दाहालका अनुसार समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, कलाकारबाट गीत प्रस्तुत, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम गरिनेछ ।    गत असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदमा हालसम्म विभागीय त्रिभुवन आर्मी क्लवले तीन सय १४ पदक जितेर शीर्ष स्थानमा छ । प्रतियोगितामा सेना च्याम्पियन बन्ने निश्चित भएको हो । उसले एक सय ५० स्वर्ण, ९४ रजत र ७० कास्य पदक जितेको छ ।    यसैगरी नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित एक सय ५८ पदकसहित द्वितीय र एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित एक सय ७६ पदक जितेको छ । आयोजक गण्डकी प्रदेश प्रदेशमा पदकमा अग्रस्थानमा छ । गण्डकीले हालसम्म  २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित एक सय छ पदक जितेको छ ।    यसैगरी बागमती प्रदेशले २२ स्वर्ण,४२ रजत र ५९ कास्यसहित एक सय २३ पदक, एनआरएनएले १० स्वर्ण आठ रजत र छ कास्यसहित २४ पदक,  प्रदेश नं १ ले नौ स्वर्ण, २२ रजत र ४४ कास्यसहित ७५ पदक, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण छ रजत र ३३ कास्यसहित ४७ पदक र मधेस प्रदेशले पाँच स्वर्ण, आठ रजत र २१ कास्यसहित ५९ पदक जितेका छन् ।    यसैगरी लुम्बिनी प्रदेशले चार स्वर्ण, १८ रजत र ३७ कास्यसहित ५९ पदक जित्दा कर्णाली प्रदेश दुई स्वर्ण, तीन रजत र ११ कास्यसहित १६ पदक जितेर पदक तालिकाको पुछारमा छ । 

पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा चाँदीको गणना ओसारपोसार गर्ने भारतीय नागरिकलाई प्रकाउ गरेको छ ।    अवैध रुपमा चाँदीको गहणा ओसारपोसार गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिएको प्रहरीको टोलिले तालचोकमा चेकजाँच गर्ने क्रममा भारतीय नागरिक र एक जना नेपाली नागरिक प्रकाउ गरेको हो ।    प्रकाउ पर्नेमा भारतको मोतिहारी जिल्ला रक्सौल घर बताउने २१ वर्षीय राजुकुमार शाह र बारा करेयाई गाउँपालिका ८ घर बताउने ३४ वर्षीय सरोज मिया मंसुरलाई प्रहरीले प्रकाउ गरेर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भव पुलचोक ललितपुर पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।    प्रकाउ परेका भारतीय नागरिकको साथबाट प्रहरीले झोलाभित्र लुकाईछिपाई राखेको अवस्थामा चाँदी जस्तो देखिने सेतो धातुको तयारी साडी पन १६ थान, सिन्दुर दानी सानो ठुलो गरी ९ थान, जन्तर ४ प्याकेट र पाउजु १ सय १ थान गरी अन्दाजी १ लाख १ हजार २ सय २७ रुपैयाँ बराबरको गहणासहित प्रकाउ गरेको हो ।    यस्तै  बारा करेयामाई गाउँपालिका घर बताउने सरोज मिया मंसुरलाई अन्दाजी २ लाख १३ हजार २ सय ४७ रुपैयाँ बराबरको गहणासहित प्रहरीले प्रकाउ गरेको छ ।    प्रहरीले मंसुरको साथबाट लुकाईछिपाई राखेको अवस्था नेपाली एक हजारका नोट नगद रु ५७ हजार, चादी जस्तो देखिने सेतो धातुको सिन्दुर दानी १ थान, सानो ठूलो सिक्काहरु १ सय ६५ थान, कछुवा थान ६ थान, पाउजु ८९ थान, झुम्का ५३ थान, मुर्ति १८ थान, घण्टी २ थान, चाबी पिन ९ थान, साडी पिन २० सहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । 

  बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य इकाईमा अल्ट्रासाउण्ड (भिडियो एक्सले मेसिन) सहयोग उपलब्ध भएपछि यहाँका गर्भवती महिलाको परीक्षणमा सहयोग पुगेको छ ।  लायन्स क्लब अफ स्वीन्डोन चौतारी युके तथा युकेमा बस्ने नेपालीले सङ्कलन गरेको सहयोगले युकेमै खरिद गरिएको अल्ट्रासाउण्ड मेसिन (भिडियो एक्सरे) धम्जा सामुदायिक स्वास्थ्य इकाईलाई सहयोग गरिएको हो ।  गाउँमै गर्भवती महिलाको स्वास्थ्यपरीक्षणका लागि निकै उपयोगी मानिएको भिडियो एक्सले मेसिन धम्जा सामुदायिक स्वास्थ्य एकाईलाई सहयोग प्राप्त भएको धम्जा सामुदायिक स्वास्थ्य एकाइका अनमी कृष्णमाया पुनले जानकारी दिनुभयो ।   दुर्गम गाउँमा भिडियो एक्सरे सेवाले गाँउका महिला अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि सहयोग गरिएको सहयोगकर्ता देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।  भिडियो एक्सरे सञ्चालनका लागि काठेखोला गाउँपालिकामा एक जना जनशक्तिको माग गरिएको काठेखोला गाउँपालिका–३ धम्जाका वडाध्यक्ष कुलबहादुर विकले जानकारी दिनुभयो । “यहाँका जनताको माग अनुसार अत्यन्त आवश्यक उपकरण प्राप्त भएको छ, यसको सञ्चालनका लागि जनशक्तिको व्यवस्थापनका लागि पालिकासँग कुरा भइरहेको छ”, अध्यक्ष बिकले भन्नुभयो, “यहाँका गर्भवती महिला भिडियो एक्सले गर्नकै लागि बागलुङ बजार पुग्नुपर्ने बाध्यता हटेको छ ।” स्वास्थ्य एकाइका अनमी पुनले भिडियो एक्सरेका लागि तालिम प्राप्त गर्नुभएकाले हाललाई भिडियो एक्सरे सेवा सुरु गरेपनि पुनसँगै एक कार्यालय सहयोगीको भरमा चलेको इकाइलाई जनशक्तिको भने अभाव रहेको छ । 

  नवलपरासी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ डन्डामा मङ्गलबार सम्पन्न कुस्ती प्रतियोगितामामा १४ पदकसहित विभागीय त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी क्लब कुस्तीको महिला तर्फ  विभिन्न १० तौल समूहमा पाँच स्वर्ण र  पुरुष तर्फ एक स्वर्ण गरी ६ स्वर्ण, तीन रजत र पाँच कास्य पदकसहित  १४ पदक जितेर कुस्ती तर्फ टिम च्याम्पियन बनेको हो । विभागीय टिम त्रिभुवन आर्मी क्लबका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठ र पुरुष तर्फको ७४ केजी तौल समूहमा सुरेस चुनारले स्वर्ण पदक जितेका हुन । त्यसैगरी नौ पदकसहित सुदूरपश्चिम दोस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमले  विभिन्न तौल समूहमा पाँच स्वर्ण, एक रजत र तीन कास्य पदक जितेर कुस्तीमा दोस्रो बन्न सफल भएको हो । सुदूरपश्चिमले पाँच स्वर्ण महिला कुस्ती तर्फको विभिन्न तौल समूहमा जितेको हो । सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५  केजी तौल समूहमा सङ्गीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जितेका हुन । कुस्तीमा अर्को विभागीय टोली एपीएफ ४ स्वर्ण, २ रजत र ४ कास्य गरेर १० पदकसहित कुस्तीको पदक तालिकाको तेस्रो स्थानमा रहेको छ । विभागीय टिम एपीएफका लागि ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जितेका छन् । कुस्तीको पदक तालिकामा मधेस प्रदेश ३ स्वर्ण, २ रजत र ६ कास्यसहित ११ पदकका साथ चौथो स्थानमा रहेको छ ।    मधेश प्रदेशका लागि ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण जितेका छ्न । अर्को विभागीय टिम नेपाल प्रहरीले १ स्वर्ण, सात रजत, ६ कास्यसहित १४ पदक, लुम्बिनी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्यसहित पाँच पदक, प्रदेश नं १ ले तीन रजत र चार कास्यसहित सात पदक र गण्डकी प्रदेशले एक रजत र पाँच कास्यसहित ६ पदक हात पारे भने बागमती र कर्णाली प्रदेश पदकविहीन बनेका छ्न् ।  कुस्तीमा महिला र पुरुषतर्फ गरी विभिन्न तौल समूहमा २० स्वर्ण पदकका लागि खेल भएका थिए । असोज २९ गते देखि कावासोती–१६ मा रहेको थारु राष्ट्रिय सङ्ग्रहालयको हलमा जारी मङ्गलबार सम्पन्न भएको हो । प्रतियोगितामा ५९ महिला र पुरुष ९१ गरी एक सय ५० खेलाडी सहभागी भएका थिए । तीन विभागीय टिम सशस्त्र, आर्मी, पुलिस साथै सात प्रदेश गरी १० टिमको प्रतियोगितामा सहभागिता रहेको थियो ।

  काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११:३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।  यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।   कात्तिक ६ गते आइतबार कागतिहार (काकबली) पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ । कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ । त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ ।   यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको उहाँले बताउनुभयो । लक्ष्मीपूजाको रात्रिलाई सुखरात्री पनि भनिन्छ । कात्तिक ८ गते मङ्गलबार गाईपूजा गरिन्छ । यस दिन सूर्यग्रहण पनि परेको छ ।   कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा (म्हपूजा) का साथै नेपाल संवत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ । कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ ।  कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् । नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ ।   यस दिन साइत खोज्नेले बिहान ११:३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ ।

  ‘बेनीको बजार, जता माया उतै छ नजर,  किरेमिरे जाले रुमाल’ चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार  पर्यटकको आगमनसँगै पुनः पुरानै लयमा फर्किएको छ ।  कोभिड–१९ को महामारीअघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा विसं २०७६ चैतदेखि २०७८ भदौसम्म यहाँको चहलपहल शून्य भएको थियो । तर, गत वर्षको भदौदेखि सङ्क्रमणदर घटेसँगै विस्तारै चलायमान हुन थालेको यहाँको व्यापार व्यवसाय यस वर्षको सुरुआतदेखि नै सुधार हुँदै आएकामा गत असोजको पहिलो सातादेखि पुनः पुरानै लयमा फर्किएको हो । मौसम सुरु भएसँगै यतिबेला सदरमुकाम बेनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । बेनीबजारमा अहिले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दो र महिला भलिबल खेल भइरहेको छ । खेल हेर्न विभिन्न जिल्लाबाट दैनिक दुई हजार बढी दर्शक बेनी बजारमा आउने गरेका छन् । म्याग्दी नदी र कालीगण्डकीको सङ्गमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहासिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको छ । इतिहासकारका अनुसार नेपाल एकीकरणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएनन् । विसं १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजारमा तत्कालीन समयमा भोट, तिब्बत र मधेसको प्रमुख व्यापारिक नाकासमेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ । बेनी बजार प्राकृतिकरूपले अत्यन्त सुन्दर छ । म्याग्दीको प्रवेशद्वारका रूपमा बेनी बजार रहेको छ ।   पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धवलागिरि हिमालजस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा तीन वर्षपछि पुनः चहलपहल बढेको स्थानीय व्यापारीले बताएका छन् । कोभिड–१९ को त्रासका कारण पर्यटक आउन सक्ने वातावरण नभएपछि सुनसान बनेका पर्यटकीयस्थलमा असोज सुरु भएपछि पर्यटकको भीड लाग्न थालेको छ । व्यापार व्यवसाय बढ्न थालेको छ । पर्यटकीयस्थल पर्यटकको प्रतिक्षा गरिरहेका छन् । विसं १८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रूप लिएपछि व्यापार व्यवस्थित गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा उल्लेख छ । इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो । राजा दिलीपबम मल्ल ९डिम्ब मल्ल० गर्मीमा ढोलठान र जाडोमा बेनी झर्ने गर्दथे । जाडो छल्नका लागि मात्र ढोलठाना दरबार बेनी झर्न थालेको होइन भन्ने कुरा राजकुलो निर्माण गरेर दरबारले नै खेती गर्न थालेको सिङ्गा नझरेर बेनी झर्न थालेबाट स्पष्ट हुने उहाँले जानकारी दिनुभयो । पर्वत राज्यको इतिहासका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती कामीको हो । हतियार निर्माणका लागि उनीहरुलाई बेनी राखिएको हो । गोरखाले बेनी कब्जामात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो । उहाँका अनुसार विसं १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्यबजार पारिबेनी थियो । बाग्लुङ मुस्ताङतिरको थोक बजार पारिबेनी नै थियो । बेनीमा स्कुल पाठशाला नखुल्दै पारि बेनीमा मिडिल स्कुल थियो । त्यही स्कुलपछि मल्लाज स्थानान्तरण भएको हो । पारी बेनीको स्कुल मल्लाज उक्ले पछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताउनुभयो । बेनीमा विद्यालय खुलेपछि बस्ती विस्तार हुनेक्रम बढ्दै गएको उहाँको भनाइ रहेको छ । अहिले बजारको स्वरुप फेरिएको छ । जताततै कङ्क्रिट नै कङ्क्रिटका भव्य घर ठडिएका छन् । वैदेशिक रोजगारीका कारण गाउँबाट सहर झर्नेको क्रम तीव्ररूपमा बढेको छ । गाउँ खाली भए पनि बजार भरिएको छ । घरजग्गाको कारोबार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागिसमेत जग्गा पाइन छोडेको छ । पर्यटकलाई लक्षित गरेर करोडौँको लगानीमा स्तरीय होटल, रेस्टुराँ निर्माण गरिएको छ । बैंक तथा वित्तीय संस्था मौलाएका छन् । यहाँको जीवनस्तरले काँचुली फेरेको छ । वार्षिक चार अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएको छ । होटल र यातायात क्षेत्रमा  यहाँका व्यवसायीले ठूलो लगानी गरेका छन् । बेनी नगरपालिकाको ७ र ८ गरी दुई वटा वडामा समेटिएको बेनीबजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १४।४५ जनघनत्व रहेको बेनी बजारमा विसं २०६८ को जनगणनाको तथ्याङ्कानुसार दुई हजार घरधुरी र सात हजार जनसङ्ख्या रहेको छ ।