चितवन : पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेर अवरुद्ध भएको सडक बिहान ११ः४५ बजेपछि सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको थियो । पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
गलकोट : चालु आर्थिक वर्ष २०७९/८० मा कालोपत्र सुरु गर्ने गरी कालीगण्डकी करिडोरको बागलुङ खण्ड ठेक्का प्रक्रियामा गएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गुल्मीको हर्मिचौरबाट बागलुङको मालढुङ्गासम्मको ५५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का आह्वान गरिएको हो । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय, पाल्पाका अनुसार चालु आवमै कालोपत्र गर्ने गरी हर्मीचौरबाट बलेवा विमानस्थल र वलेवा विमानस्थलबाट मालढुङ्गाको दुई खण्डमा विभाजन गरेर ठेक्का आह्वान गरिएको छ । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय पाल्पाका कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार चालु आवमै सडक कालोपत्रका लागि पूर्वाधारको काम थाल्ने जानकारी दिनुभयो । “गत फागुनमा अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेसँगै अहिले करिडोरको हर्मिचौरबाट मालढुङ्गासम्मको सडकखण्ड कालोपत्रका लागि ठेक्का गरिएको हो ।” उहाँले भन्नुभयो, “नेपाली सेनाले ट्रयाकसँगै आठ मिटर चौडा पारेर सडक विभागलाई हस्तान्तरण गरेको थियो, कुन स्थानमा अहिले समस्या छ, त्यहाँ सडक चौडा पार्ने, पर्खाल लगाउने र नाली निर्माणसहित सडक कालोपत्रका लागि बजेट विनियोजन भएर ठेक्कामा गएको हो, चालु आवमै छनोट भएको निर्माण कम्पनीले सडकको पूर्वाधार निर्माण थाल्ने छ ।” गुल्मीको हर्मिचौरबाट बागलुङको पालुङखोला–टाकुरी हुँदै मालढुङ्गासम्मको सडक कालोपत्रका लागि बहुवर्षीय ठेक्का खोलिएको हो । करिडोरअन्तर्गतको मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किमी सडक १० मिटर चौडा बनाइ सडक विभागलाई २०७६ पुस १ गते हस्तान्तरण गरेको थियो । सडक विभागलाई हस्तान्तरण गरेको साढे दुई वर्षपछि उक्त सडक कालोपत्रको तयारी गरिँदै छ । यस्तै बलेवा विमानस्थलबाट टाकुरी–पालुङखोला–हर्मीचौरसम्मको सडक २०७८ असारमा करिडोर निर्माणको जिम्मा पाएको नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ महिनापछि ठेक्का खोलिएको हो । भारत र चीनसँग जोडेर त्रिदेशीय सम्पर्कका रूपमा स्थापित हुने सो करिडोरको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ । त्रिदेशीय सडकका रूपमा रहेको कालीगण्डकी करिडोरले छिमेकी भारत र चीनलाई जोडेको छ । मालढुङ्गाबाट गुल्मी रिडीसम्मको खण्डमा सेनाले २०७० सालदेखि काम गरेर सडक हस्तान्तरण गरेको छ । विसं २०७० असारमा शिलान्यास गरेपछि सेनाले ८० किमी ट्रयाक खोलेको थियो । सबै सडकखण्डको ट्रयाक खुलेपछि सेनाकै जिम्मामा सडक चौडा पारिएको छ । अब सडकमा नाली र कालोपत्रको काम बाँकी छ । अत्यधिक पहिरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएपछि ट्रयाक खुलेको थियो ।
भोजपुर : एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व अब भने मेटिँदै गएको छ । खासगरी टक्सार बजारमा बसाइँसराइका कारण कलात्मक शैलीमा निर्माण गरिएका घर जीर्ण बनेका छन् भने कतिपय घर भत्किन थालेका छन् । टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दै आएको स्थानीय जानकार बताउँछन् । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक (डोली पैसा) राणा शासनमा प्रचलनमा थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यहाँ भित्र्याएका थिए । टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत छ । उक्त बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्ति बनाइएको स्थानीय ८५ वर्षीय हरि ताम्राकारले बताउनुभयो । विसं १८७२ देखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य पाइन्छ । तत्कालीन सरकारले १८७० सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसहितका पूर्वी पहाडमा खनिज पदार्थ उत्खनन् गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरिएको थियो । अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालीगढले फलाम र तामाका डोली पैसा बनाउने गरेका थिए । विसं २००७ पछि स्थापना गरिएको सरकारी अड्डा भोजपुर बजारमा स्थापना गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको ताम्राकार बताउनुहुन्छ । विगतमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर यहाँ डोली पैसा बनाउने गरिन्थ्यो । टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो । धोद्लेखानीबाट तामा ल्याएर टकसँगै विभिन्न सामग्री निर्माण गरिन्थ्यो । तर त्यो खानी पनि अहिले बन्द भएको छ । दशकौँ अघिसम्म सयौँको सङ्ख्यामा रहेका यहाँका उद्योग अहिले सातवटामा सीमित छन् । विसं १८७२ मा यही बजारबाट तामाको डोली पैसाका नामले प्रख्यात टक छापिने गरेको थियो । अहिले यस्तो ऐतिहासिकस्थल सुनसान छ । लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छाप्ने टक्सार बजार सुनसान छ । बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बूढापाका बताउँछन् । इतिहासअनुसार १६औँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत यो रहेको पाइन्छ । माझकिरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यतिबेला यहाँ थुप्रै माल, अड्डा अदालत पनि खोलिएका थिए । “सम्पदा समय–समयमा मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका छन्”, ताम्राकारले भन्नुभयो, “यहाँका बासिन्दा आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजारको बेहाल भएको छ ।” हुनेखाने वर्ग अन्यत्र गएपछि बजार दूरवस्थामा पुगेको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुनसकेको छैन । टक्सार बजारबाट भोजपुरको सिद्धकालीसम्म गुफाबाट पुग्न सकिने उहाँले बताउनुभयो । ‘मिनी पाटन’ भनेर पनि चिनिने यो बजार भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ । यहाँ नजिकै टक्सार विमानस्थलसमेत छ । “टक्सार बजारका धातु उद्योगलाई ब्युँताएर यसको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीलाई अभिप्रेरित गर्नुपर्ने खाँचो छ”, स्थायीय कुमार श्रेष्ठले भन्नुभयो । यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी छ । यहाँका सामग्री देशभित्रमात्रै होइन, विदेशमा समेत निर्यात हुने गर्छन् । अहिले बजारको मागलाई यहाँका उद्योगले धान्न सकिरहेका छैनन् । “धातुका सामग्री बनाउने जनशक्ति पलायन भएपछि यस्तो अवस्था आएको हो”, उहाँले भन्नुभयो । बसाइँ सरेर गएकाहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका घर मक्किन र भत्किन थालेका छन् । घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरेका छन् । यो बजार सुनसान बन्दा भोजपुरकै चिनारी धमिलो हुँदै गएको श्रेष्ठ बताउनुहुन्छ । “टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक ठाउँ हो”, उहाँले भन्नुभयो । यहाँ कलात्मक शैलीमा निर्माण गरिएका घरसँगै मठ मन्दिर भत्किन थालेका छन् । यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।
कर्णाली ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि आज सुर्खेत आइपुग्नुभएका अध्यक्ष दाहालले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको बताउनुभयो । गठबन्धन दलभित्र कुनै असहमति नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ । तर नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना छैन । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौँ ।” कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । पत्रकार भेटघाटका क्रममा अध्यक्ष दाहालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन–३ बाटै चुनाव लड्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि प्रयास भइरहेको उहाँको भनाइ थियो । निर्वाचनमा एउटै घोषणापत्र ल्याउन पहल भएको तर चुनाव चिह्न भने आ–आफ्नै हुने अध्यक्ष दाहालले बताउनुभयो ।
काठमाडौँ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा आन्तिममा ६८ दल कायम भएका हुन् । आयोगले ती दलको दर्ता नं, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ । सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ । यस्तै नेपाली कांग्रेसको रुख–१५, नेकपा (एमाले)को सूर्य–२८, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको हसियाँ हथौडा–६०औँ क्रममा रहको छ । यस्तै ६८औँ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्न दर्ता भएको छ ।
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो ।
काठमाडौँ : नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो । मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो । पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १८१, हवाई इन्धन ९आन्तरिक० को रु १९०, हवाई इन्धन ९बाह्य०को एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० कायमै छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो १५ दिनमा पुनः मूल्य बढ्न थालेको छ । आइओसीबाट बिहीबार निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा छ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा आठ रुपैयाँ एक पैसाले बढेर आएको छ । मट्टितेल र खाना पकाउने एलपी ग्यासमा केही घटेर आएको निगमले जनाएको छ । एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा छ । मूल्य समायोजनपश्चात् पनि एक महिनामा रु ६१ करोड घाटा हुने निगमको प्रक्षेपण छ । आइओसीलाई २१ अर्ब तिर्न बाँकी पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ । लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक बिक्रीबाट सङ्कलन हुने रकम आइओसीलाई भुक्तानी गर्दा पनि बुधबारसम्म करिब रु २१ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ । आइओसीको बक्यौता रकम भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने विषय निगमको लागि चुनौतिपूर्ण रहेको प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ । सञ्चित बचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गत असार अन्तिममा निगमलाई रु सात अर्ब ऋण उपलब्ध गराएको थियो । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले राष्ट्रिय वाणिज्य बैंकबाट समेत रु तीन अर्ब ऋण लिएको थियो ।
पाल्पा : सिद्धार्थ राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन फेरि ठप्प भएको छ । निरन्तरको वर्षाका कारण पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले भासिएको सडक निर्माण नभएको र डाइभर्सन बनाइएको सडकसमेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारी साधन पास गर्न सकिने अवस्था नरहेको बताए । अहिले निरन्तर पानी परेकाले पानी रोकिएपछि मात्रै सवारी साधन सन्चालन गर्ने गरी काम गरिने उनले बताए ।
पोखरा : पोखराको लामाचौरमा सम्पन्न भएको लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लबलाई संयुक्त विजेता घोषणा गरेको छ । लगातारको वर्षापछि खेल हुन नसकेपछि आयोजक नव आदर्श सामुदायिक विकास समाजले लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लबलाई संयुक्त विजेता घोषणा गरेको हो । निर्धारित तालिकाअनुसार १४ गते फाइनल हुनुपर्ने भएपनि वर्षाका कारण खेल दुई दिन पछि धकेलिएको थियो । तर, बिहीबारको लागि तय भएको फाइनल र तेस्रो स्थानको खेल पनि वर्षाले हुन नसक्ने भएपछि आयोजकले क्लबसँगकै सहमतिमा गण्डकी र पुलिसलाई संयुक्त विजेता घोषणा गरेको हो । नव आदर्श सामुदायिक विकास समाजले बिहीबार बिज्ञप्ति जारी गर्दै मौसम प्रतिकुलका कारण आयोजक, जुरी निर्णायक र चारवटै टिमको सहमतिमा खेल स्थगन गरी पुलिस र गण्डकीलाई पहिलो र दोस्रो वापतको पुरस्कार रकम तथा आर्मी र एपिएफलाई तेस्रो पुरस्कार रकम बराबर बाँडेर दिने उल्लेख गरेको छ । निर्णयबमोजिम फाइनलमा पुगेको नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको टिमले प्रथम पुरस्कार र दोस्रो पुरस्कारवापत जोडेर हुने कुल २ लाख ५० हजार २ सय २२ रुपैयाँ आधा आधा बाँडेर लिएका छन् । उपाधीसहित प्राप्त हुने ट्रफीमा अर्को एक थप गरी दुवै टिमलाई बाँडिएको छ । यसैगरी, तेस्रो स्थानको लागि प्रतिस्पर्धाको तयारीमा रहेका त्रिभुवन आर्मी क्लब र एफिएफले तेस्रो स्थान वापत प्राप्त हुने ५० हजार १ सय ११ रुपैयाँ बाँडेर लिएका छन् । तेस्रोलाई प्राप्त हुने ट्रफी समेत थप गरि प्रदान गरिएको जुरी कमिटी संयोजक समेत रहेका भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए । गण्डकीले नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा तथा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । भदौं ११ बाट शुरु भएको प्रतियोगिताको पहिलो दिन चार खेल तय भएपनि एक खेल मात्रै र दोस्रो दिन पनि एक खेल मात्रै भएपछि खेल दुई दिन लम्विन पुगेको थियो । बिहीबार पनि खेल हुन सकेन । महिलातर्फ बुधबार सर्वाधिक चार पटकको च्याम्पियन न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिसले लगातार दोस्रो वर्ष तथा समग्रमा दोस्रोपटक उपाधि हात पारेको थियो । पहिलो संस्करणमा फाइनलमा पुलिस एपिएफसँग पराजित हुँदै उपाधिविमुख बन्दा अघिल्लो संस्करणमा न्यू डायमन्डलाई नै हराएर उपाधि जितेको थियो । गण्डकी प्रदेशलाई २५–१७, २५–१७ र २५–१५ ले हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको छ । महिलातर्फ पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । व्यक्तिगत विधागततर्फ न्यू डायमण्डकी प्रगती नाथ उत्कृष्ट सेटर, आर्मीकी साफिया पुन उत्कृष्ट ब्लकर, डायमन्डकी सलिना बुढा मगर उत्कृष्ट सर्भर, पुलिसकी कामना विष्ट उत्कृष्ट स्पाइकर र डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो घोषित भइन् । पुलिसका रुपेश कुमार विष्ट उत्कृष्ट प्रशिक्षक बने। उनीहरु सबैले ट्रफी पाएका छन् । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा गत भदौं ११ देखि भएको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको थियो । महिलातर्फ नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेश तथा पुरुषतर्फ नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको सहभागिता रहेको थियो ।