धनुषा । राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि धनुषाको स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको छ । बुधबारदेखि क्षीरेश्वरनाथ नगरपालिकाबाट विवरण सङ्कलन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्राले जानकारी दिनुभयो । मिश्राले सेवाग्राहीलाई सहज हुने हिसाबले टोकन वितरण गरेर सोहीअनुसार आवश्यक विवरण जुटाउने काम भइरहेको बताउनुभयो । जिल्लाको १६ वटा स्थानीय तहबाट विवरण सङ्कलन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो । उहाँले जिल्लाका १८ स्थानीय तहमध्ये १६ वटामा विवरण सङ्कलन कार्य सुरु गरिएको जनाउनुभयो । “बाँकी स्थानीय तहमा छिट्टै व्यवस्थापन गरिने छ । उपकरणमा समस्या देखिएकाले रोकिएको हो, दुरुस्त हुने बितिक्कै पठाउँछौँ”, सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भन्नुभयो । स्थानीय तहसँग समन्वय गरी सबैलाई पायक पर्ने स्थानमा केन्द्र स्थापना गरेर कम्प्युटरलगायत उपकरणसहित तत्काललाई एक–एक कर्मचारी खटाइएको छ । सो स्थानबाट फारम भर्ने भौचर बुझ्ने कार्य भइरहेको छ । इपासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र सरकारबाट प्राप्त हुने अन्य सेवा यसकै आधारमा प्रवाह गर्ने लक्ष्यबमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । सिरहामा पालिकाबाटै राष्ट्रिय परिचयपत्र यस्तै गत २०७७ साल कात्तिकदेखि जिल्ला प्रशासन कार्यालय सिरहामा राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेकोमा अब सम्बन्धित गाउँपालिका र नगरपालिकाबाट नै बन्ने भएको छ । सेवाग्राहीको भीडलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गरी सो जानकारी दिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सिरहाको नौ गाउँपालिका र आठ नगरपालिकामा केन्द्र खडा गरी राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकाबाट नै बनाउने भएको छ । परिचयपत्र बनाउन बाँकी रहेका जिल्लावासीले आउँदो असोज २ गतेदेखि आ–आफ्नो पालिकामा नै सम्पर्क गरी परिचयपत्र बनाउन सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
पोखरा । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा काम सुस्त भएको छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति न्यून देखिएको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको छ । पूर्वी खण्डअन्तर्गत मुग्लिनबाट जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी) खण्डमा हालसम्म ३.४६ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । योजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार यसअवधिमा वित्तीय प्रगति २३ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७८/७९ मा पूर्वी खण्डका लागि रु दुई अर्ब ५१ करोड ८८ लाख आठ हजार विनियोजन गरिएको थियो । तर यस अवधिमा रु ५७ करोड ३७ लाख चार हजारमात्रै खर्च भएको छ । कुल विनियोजितमध्ये ७७ प्रतिशत बजेट खर्च हुन नसकेको सुवेदीले बताउनुभयो । योजनाको पश्चिम खण्डतर्फ पाँच प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । वित्तीय प्रगति भने २३ प्रतिशत रहेको योजनाका इञ्जीनियर नारायण पौडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८÷७९ मा यो खण्डका लागि रु एक अर्ब ९१ करोड ९५ लाख १८ हजार विनियोजन भएकामा रु ४४ करोड ३६ लाख ४६ हजार खर्च भएको छ । यो खण्डअन्तर्गत सडक दायाँबायाँतर्फका ९५ प्रतिशत रुख कटान सम्पन्न भएका छन् । तनहुँका एक सय ३८ घरटहराको मूल्याङ्कन सम्पन्न गरी मुआब्जा रकम वितरण कार्य प्रारम्भ भइसकेको पौडेलले जानकारी दिनुभयो । खैरेनीटार बजार क्षेत्र (कुम्ले खोलाबाट भिमाद जाने चोकसम्मको) बाहेक तनहुँ जिल्लाका अन्य क्षेत्रको मूल्याङ्कन सकिएको जनाइएको छ । सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा समस्या भएको पौडेलले बताउनुभयो । साथै सडक विस्तार तथा स्तरोन्नति कार्यका लागि अधिक मात्रामा नदीजन्य सामग्री आवश्यक पर्ने र स्वीकृत आइइ प्रतिवेदनमा सेती नदी र आसपासका क्षेत्रबाट निर्माण सामग्री उत्खनन गर्ने उल्लेख भएता पनि स्थानीय तहबाट ठेक्कापट्टा भइसकेको हुँदा योजनालाई निर्माण सामग्री अभाव हुने देखिएको पौडेलले बताउनुभयो । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।
काठमाडौं । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन टेवा पुर्याउने उद्देश्यले नेपालमा पहिलोपटक आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ आयोजना हुने भएको छ । होटल सङ्घ नेपाल (हान) ले आगामी असोज ८ र ९ गते सम्मेलन आयोजना गर्न लागेको हो । कोभिडपछिको नयाँ परिस्थितिमा हस्पिटालिटी क्षेत्रको विकासका लागि आगामी कार्यदिशाबारे छलफल गर्न सम्मेलन आयोजना गर्न लागिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो । राजधानीमा आयोजना हुने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड, मलेसियालगायत मुलुकका आतिथ्यता क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता रहनेछ । नेपालका तर्फबाट राष्ट्रिय योजना आयोग, सरोकारवाला निकायका उच्च अधिकारी एवं प्रतिनिधिको सहभागिता रहने छ । हानको अर्थवार्षिक साधारणसभाका बखत उक्त सम्मेलनको उद्घाटन गरिने कार्यक्रम रहेको प्रथम उपाध्यक्ष शाहले जानकारी दिनुभयो । उहाँले लामो समयदेखि तयारी गरिएको नेपालकै पहिलो आतिथ्यता सम्मेलनमार्फत होटल क्षेत्रमा देखिएका, भोगिएका र भविष्यमा आउन सक्ने समस्याको समाधान खोज्न सहयोग पुग्ने प्रकारका छलफल सत्र सम्मेलनमा सञ्चालन हुने बताउनुभयो । पर्यटन व्यवसायलाई चलायमान बनाउन नयाँ तरिकाको बजारीकरण गरिनुका साथै केही नयाँ अभ्यास प्रयोग गर्दै नेपाली होटल उद्योगको स्तरीयता कायम राख्न र समग्र पर्यटनको विकासका लागि सम्मेलनले भूमिका खेल्ने हानको विश्वास रहेको छ । सम्मेलनमा सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गर्ने स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न सत्रहरु सञ्चालन हुनेछन् । दक्षिण एशियाका उदियमान हस्पिटालिटी ब्राण्ड, डिजिटल बजारीकरण, होटल सञ्चालन र सेवाको गुणस्तर अभिवृद्धि, नीतिगत सवाल, दिगो ऊर्जा वचत र पर्यावरणमैत्री सेवा सञ्चालन आदिबारे विज्ञले प्रस्तुतीकरण गर्ने आयोजकले जनाएको छ । छलफलले होटल सञ्चालनमा नीतिगत उपाय सुझाउनुका साथै दीर्घकालीनरुपमा होटल सञ्चालनमा अवलम्वन गर्नुपर्ने विषयमा सुझाव नेपाल सरकारका सम्बन्धित निकायमा प्रस्तुत गरिने जनाइएको छ । सो अवसरमा होटलमा प्रयोग हुने वस्तु, सेवा तथा सामग्री उपलब्ध गराउने कम्पनी तथा व्यवसायीलाई समेटी बृहत् प्रदर्शनी गरिनेछ भने हानबाट प्रकाशित गरिएको ‘नेपाल अ जर्नी फ्रम इस्ट टु वेस्ट’ स्मारिकाको विमोचन कार्यक्रम पनि रहेको छ । हानमा पर्यटकस्तरदेखि पाँचतारेसम्म गरी चार हजार हाराहारी होटल आबद्ध छन् । नेपालमा हाल १८ वटा पाँच तारे होटल छन् । अबको डेढ वर्षभित्र थप १८ वटा पाँच तारे होटल थपिने र त्यसमध्ये आठवटा राजधानी काठमाडौँमै रहेको हानका उपाध्यक्ष शाहले बताउनुभयो । अहिले होटल शय्या करिब ५० हजार रहेको बताइन्छ । हालको अवस्थामा ५० लाख पर्यटकलाई धान्न सक्ने पूर्वाधार रहेको व्यवसायीको भनाइ छ । नेपालमा कोभिडपूर्व १२ लाख हाराहारी विदेशी पर्यटक भित्रिएका थिए ।
काठमाडौं । बालमैत्री स्थानीय शासनको अवधारणालाई प्रभावकारी प्रवद्र्धन तथा स्थापनाका लागि बालबालिकासम्बन्धी ऐनको कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरिएको छ । ‘बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च’ले राष्ट्रिय बाल दिवसका सन्दर्भमा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र जागृति बाल तथा युवा सरोकार नेपालको सहकार्यमा बालमैत्री स्थानीय शासन अभियानको प्रगति, चुनौती र भावी कार्यदिशाका विषयमा आयोजित राष्ट्रिय कार्यशालामा स्थानीय तहमा बालमैत्री शासनको प्रवद्र्धन हुनुपर्ने बताइएको हो । बालबालिकासम्बन्धी ऐनका मुख्य व्यवस्थाको कार्यान्वयनको लागि स्थानीय सरकार थप जिम्मेवार हुन आग्रह गरिएको छ । बालविवाह, भेदभाव, महिनावारी समस्या, बालबालिकालाई फरकफरक शौचालयको कमी, यौन हिंसा, अपहेलना, सामाजिक कुरीति, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अपाङ्गता भएका बालबालिकालाई दुव्र्यवहार, अनलाइन हिंसाजस्ता समस्याका रूपमा बालबालिकाको चौतर्फी विकासका बाधकका रूपमा कायमै रहेको वक्ताको भनाइ छ । यस वर्षको राष्ट्रिय बाल दिवस ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी समाज’ भन्ने नाराका साथ देशव्यापीरूपमा मनाइयो । बालअधिकार महासन्धिको कार्यान्वयनका क्रममा हालसम्म मुलुकका दुई सय ९० स्थानीय तहमा बालअधिकार संरक्षण तथा सम्वद्र्धनसम्बन्धी कार्यविधि तर्जुमा गरिएकामा यसलाई स्थानीय तहमा विस्तार गर्न आग्रह गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद्को आब २०७८÷७९ को तथ्याङ्कअनुसार दुई सय छ स्थानीय तहमा स्थानीय बालअधिकार समिति गठन र दुई सय तीन तहमा बाल कल्याण अधिकारी तोकिएको छ । यस्तै एक सय ८० तहमा बालकोष स्थापना भई सञ्चालनमा आएको छ । राष्ट्रिय योजना आयोगको सन् २०२० को तथ्याङ्कअनुसार पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता दर ७७.२ प्रतिशत पुगेको छ । नेपालमा बालश्रम प्रतिवेदन, २०२१ अनुसार नेपालमा अझै पनि पाँचदेखि १७ वर्ष उमेर समूहका १५।३ प्रतिशत बालबालिका श्रममा संलग्न छन् । नेपालले बालअधिकार महासन्धि १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेको सन्दर्भमा हरेक वर्ष भदौ २९ मा राष्ट्रिय बाल दिवस मनाइन्छ । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वआयुक्त गौरी प्रधानले बालबालिकाका लागि सवल वातावरण सबै उमेर समूहको लागि सहज हुने तर अरु उमेर समूह केन्द्रित वातावरण सबैका लागि सवल नहुनेमा बताउँदै त्यसका लागि बालबालिकामा लगानी बढाउन जरुरी रहेको बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बाल संरक्षण तथा विकास शाखाका उपसचिव कृष्ण थापा, बाल अधिकार परिषद्का तर्फबाट डा देवकी आचार्य, परिषद्का पूर्वकार्यकारी निर्देशक मिलनराज धरेल, मञ्चका संयोजक अध्यक्ष तिलोत्तम पौडेल, नागरिक सङ्घसंस्थाका सञ्जालका तर्फबाट बेनुमाया गुरुङलगायतले बालअधिकारको संरक्षणका लागि स्थानीय तहले सक्रियता अपनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरामा पुरिएर दुईजनाको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार सो घटनामा परी निधन भएका वर्ष ४४ का नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावीत्री तामाङको सनाखत भएको छ । नीरबहादुरकी आमा लादुलुङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको खानीमाथिबाट झरेको पहिरामा परी घरसहित एकै परिवारका दुई जना पुरिएका हुन् । घटनापश्चात् सुरक्षाकर्मीको टोलीले गरेको खोजतलासमा दुई जनाको शव निकालेको उहाँले बताउनुभयो । पालिकाभित्र सञ्चालित खानी तथा उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न गाउँपालिकाले जिल्ला समन्वय समितिसँगको समन्वयमा अनुगमन गरी करिब एक हप्ता अगाडि मात्रै निर्देशन दिएको थियो । त्यस्ता उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न र दर्ता तथा आवश्यक कागजात नभएका खानी र उद्योगलाई मापदण्ड पु¥याएर मात्रै सञ्चालन गर्न निर्देशन दिएको जनाइएको छ ।
काठमाडौं । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु¥याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुन:स्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुन:स्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार, “रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पु¥याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भारतको गोरखपुरस्थित रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।” उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिकामध्ये अधिकांंश १२ वर्षमुनिका छन् । बाल कल्याण समिति बस्ती उत्तर प्रदेशको अनुमतिमा कानुनी प्रक्रिया मिलाएर बालकलाई अभिभावकसँग पुनर्मिलन गराउने जिम्माका साथ नेपाल ल्याइएको संयोजक भट्टराईको भनाइ छ । उद्धार गरिएका बालकलाई नेपालको अपराध अनुसन्धान ब्यूरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने छ । अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरुलाई भारत पुर्याउने व्यक्तिको पहिचान हुन सकेको छैन ।
म्याग्दी : बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीधा यातायात सम्पर्कविच्छेद भएको बताउनुभयो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक ७६ किलोमिटर दूरीको छ । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवतजावतका साथै स्याउ र आलु निकासीको काम प्रभावित भएको छ । मुस्ताङ भ्रमण, कागबेनीमा सोह्र श्राद्धको पिण्डदान तथा मुक्तिनाथ दर्शन गर्न जाने आउने पर्यटक तथा तीर्थयात्रीलाई सास्ती भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक विभाग र निर्माण कम्पनीका उपकरण परिचालन गरेर सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको जनाएको छ । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले काभ्रेभिर, बैसरी र नैनीबगरमा निरन्तर पहिलो खसेकाले मर्मतमा समस्या भएको बताउनुभयो । बैसरीमा बुधबार साँझ पहिरो पन्छाएर खोलिएको सडक पुनः अवरुद्ध भएको छ ।
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव १९ अङ्कले वृद्धि भई तीन सय ८५ दशमलव ३६ मा पुगेको छ । कूल दुई सय २७ कम्पनीको ४६ लाख १८ हजार पाँच सय १६ कित्ता शेयर रु एक अर्ब ४५ करोड ३८ लाख २४ हजार छ सय ५० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैङ्किङ २४ दशमलव ४६, व्यापार एक सय सात दशमलव २९, होटल तथा पर्यटन ६६ दशमलव ९७, विकास बैंक एक सय ६० दशमलव ८९, जलविद्युत् ७८ दशमलव ६१, वित्त ९७ दशमलव १३, निर्जीवन बीमा एक सय १६ दशमलव ९६, उत्पादन एक सय ११ दशमलव ७५, अन्य ४० दशमलव पाँच, लघुवित्त एक सय छ दशमलव ३३, सामूहिक लगानी कोष शून्य दशमलव १८ र लगानी एक दशमलव ५६ अङ्कले वृद्धि भएको छ । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ४२ अर्ब २१ करोड ९४ लाख ९७ हजार नौ सय ९६ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड ५१ लाख ६९ हजार तीन सय २८ बराबरको कारोबार भयो । गुर्खाज फाइनान्स रु चार करोड ५७ लाख सात हजार सात सय २२, हिमालयन एभरेष्ट इन्सुरेन्स रु चार करोड ३४ लाख ४७ हजार, अपी पावर कम्पनी रु चार करोड २९ लाख ६८ हजार छ सय र हिमालयन डिस्टिलरीको रु तीन करोड ९२ लाख ३७ हजार आठ सय १७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार, ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिबर्टी इनर्जी आठ दशमलव ३२, युनाइटेड मोदी हाइड्रो पावर कम्पनी सात दशमलव ८१, सामुदायिक लघुवित्त सात दशमलव ८०, गुर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले सात दशमलव ७२ प्रतिशतले कमाएका छन् । त्यस्तै, एनआइसी एसिया क्याप फन्ड १०, एनआइबिएल प्रगति फन्ड आठ दशमलव ९५, सनराइज फस्ट म्युचुअल फन्ड सात दशमलव ६७, सानिमा लार्ज क्याप फन्ड तीन दशमलव १९, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले दुई दशमलव ६५ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा क्रममा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको हो । भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको परम्परागत मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्दै यस्ता उच्चस्तरीय भेटवार्ताले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष लीले यस अघि सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौता कार्यान्वयन गर्ने आफ्नो लक्ष्य भएको बताउनुभएको थियो । राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको उहाँको भनाइ थियो । भेटवार्तामा अध्यक्ष लीले राजनीतिक पारस्परिक विश्वास अझ सुदृढ गर्नु र विविध क्षेत्रका सहाकर्यलाई गहन बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले नेपालको संविधान दिवसका अवसरमा शुभकामना दिनुभएको थियो । यसैगरी आज बिहान चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो । भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो । मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो । मङ्गलबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको जनाइएको छ । मङ्गलबार नै दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि भदौ ३० गते बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

