काठमाडौं । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाले विद्युत् महसुल नतिर्ने छ हजार चार सय ७७ ग्राहक विद्युत् लाइन काटिदिएको छ । लामो समयदेखि पटकपटक ताकेता गर्दासमेत महशुल नतिर्ने ती ग्राहकको आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले विद्युत् बन्द गरिदिएको हो । कार्यालय प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार विद्युत् लाइन काटेर कारवाही गरेपछि तिनीहरुबाट रु १७ करोड ५१ लाख २८ हजार जरिवानासहित विद्युत् महसुल उठेको छ । ती मध्ये सोही अवधिमा पाँच हजार सात सय ७६ ग्राहकको लाइन जोडिएको बताइएको छ । लाइन काटिएकाबाट कूल उठ्नुपर्ने रकम १९ करोड, ९५ लाख ७७ हजार दुई सय आठ रहेको थियो । उक्त कारवाही सो प्रदेश कार्यालयअन्तर्गतको हेटौँडा वितरण केन्द्र, टाडी वितरण केन्द्र, भरतपुर वितरण केन्द्र, चनौली वितरण केन्द्र, सिन्धुली वितरण केन्द्र तथा पालुङ वितरण केन्द्रले विद्युत् सेवा लिएर महसुल नबुझाएपछि कारवाही गरेएको सो कार्यालयबाट प्राप्त विवरणमा उल्लेख गरिएको छ । ती कार्यालयबाट विद्युत् चोरी गर्ने गत आर्थिक वर्ष ०७८/७९ मा एक सय ९४ ग्राहकलाई कारवाही गरी रु २१ लाख ४२ हजार चार सय ५४ जरिवाना सङ्कलन गरेको भएको थियो । त्यस्तै विभिन्न कारणले हुने विद्युत् चुहावट पनि अघिल्लो वर्षको तुलनामा कम भएको सो प्रदेश कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्षमा विद्युत् चुहावट घटेको हो । विद्युत् चुहावट अघिल्लो वर्षमा ७ दशमलव ७२ प्रतिशत थियो भने गत आर्थिक वर्षमा घटेर ७ दशमलव ३७ प्रतिशतमा झरेको हो । ती कार्यालयमा विगतका तुलनामा विद्युत् ग्राहक सङ्ख्या बढेर यस वर्ष तीन लाख तीन हजार आठ सय ४५ भएको बताइएको छ । सो अवधिमा ७३ करोड २९ लाख २१ हजार युनिट विद्युत् महसुल बिक्री भएको र त्यसबापत रु पाँच अर्ब ७६ करोड ६० लाख १७ हजार विद्युत् महसुल सङ्कलन भएको सो प्रदेश कार्यालयका लेखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । अर्थात् ९४ दशमलव ३७ प्रतिशत विद्युत् महसुल सङ्कलन भएको हो । सो कार्यालयअन्तर्गतको विद्युत् चुहावट घट्दै गएको प्रदेश डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्राप्त विवरणअनुसार हेटौँडा वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा ५ दशमलव ११ प्रतिशत चुहावट थियो भने गत आर्थिक वर्षमा ३ दशमलव १५ प्रतिशतमा झरेको, पालुङ वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा २६ दशमलव ५५ प्रतिशत विद्युत् चुहावट थियो भने गत आर्थिक वर्षमा २५ दशमलव ९२ प्रतिशतमा झरेको, टाँडी वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा १२ दशमलव २७ प्रतिशतबाट गत आर्थिक वर्षमा १२ दशमलव १८ प्रतिशतमा चुहावट झरेको बताइएको छ । त्यस्तै भरतपुर डिभिजन केन्द्रको अघिल्लो आर्थिक वर्षमा विद्युत् चुहावट ५ दशमलव ४८ प्रतिशत थियो भने गत आर्थिक वर्षमा ५ दशमलव ४५ प्रतिशतमा झरेको, चनौली वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा १४ दशमलव ५१ प्रतिशत चुहावट थियो भने गत आवमा २० दशमलव ९१ पतिशतमा झरेको तथा सिन्धुली विद्युत् वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा विद्युत् चुहावट १६ दशमलव ५२ प्रतिशत थियो भने गत आवमा ११ दशमलव ९८ प्रतिशतमा विद्युत् चुहावट झरेको प्राप्त विवरणमा बताइएको छ ।
कुश्मा । पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम दृश्य र एकनासले लहरै मिलेर बसेका घरहरु देख्दा आँखै झिम्काउन मन लाग्दैन । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । यही रङले पनि भुक गाउँ भनेर चिनाएको छ र टाढैबाट पनि यस गाउँलाई नियाल्न सकिन्छ । यस गाउँमा दुई सयको हारहारीमा घर छन् । आधाभन्दा बढी घरका ढोकामा लगाइएका चावी नखुलेको भने वर्षौँ भएको छ । देशमा सशस्त्र द्वन्द्वमा फस्नु अघिसम्म गाउँको रौनक नै बेग्लै थियो । घरमुली कमाउन विदेशिए पनि उनका परिवार गाउँमै रमाउँथे । आफूहरु पनि घरखेत गर्दै मेलापातमै रमाउने गर्थे । अहिले ती दिनहरु गाउँलेका सम्झनामा मात्र सीमित छन् । उनीहरु भन्छन् “अहिले ती दिनहरु सबै इतिहास भइसके, पाका उमेरका गाउँलेका सम्झनामा मात्र सीमित बन्न पुगेका छन् ।” “पहिले त गाउँ कम्ता रमाइलो थिएन नि बाबु”, अगेनाछेउमा बसेर झिलिङ्गा रोटी बनाउँदै गर्नु भएकी डिलकुमारी गुरुङले भन्नुभयो, “पहिले पनि टाढाटाढाबाट घुम्नका लागि अहिलेजस्तै मान्छेहरु आउने गर्थे, उनीहरु एक दिन मात्रै बस्न र घुम्न भनेर आए पनि चार पाँच दिन बसेर पो जान्थे नि बाबु । हामी पनि निकै खुसी हुनथ्यौँ । किन भने यहाँ आएका मानिसले हाम्रो गाउँ मन पराएर गाउँ छोड्नै मानेका छैनन् ।” उहाँ जन्मेको, हुर्केको माइती घर पनि आफ्नो घरदेखि केही मिनेटकै दूरीमा रहेको छ । “बाल्यकालदेखि हाम्रा दिनहरु गाउँमै बिते, हामीलाई त आफ्नै यही गाउँ नै प्यारो लाग्दो रहेछ”, गुरुङले भन्नुभयो । उहाँका दुई छोरामध्ये एउटा बेलायती सेनामा र अर्का पोर्चुगलमा हुनुहुन्छ । पोर्चुगलको छोरा सपरिवार उतै हुनुहुन्छ । “छोराहरुले गाउँमा दुःख नगर्नु पोखरा गएर बस्नु भन्याभनै गर्छन्”, उहाँले भन्नुभयो, “बुढाले सहर गएर बस्न मनै पराउँदैनन्, कहिलेकाहीँ गइहाले पनि उतिनै बेला फर्किहाल्छन्, कहाँको सधैँका लागि बस्न सकिन्थ्यो र ?” अवसर र बाध्यताले विदेशमा रहेका देउरालीवासीको मन गाउँकै पाखामा, गोरेटो बाटोमै घुमिरहेको देखिन्छ । नमूना गाउँ बनाउने अभियानमा विदेशबाट आर्थिक सहयोग मात्र होइन सपना पनि बाँड्ने गरेका छन् । उनीहरुले गाउँको विकासका लागि विभिन्न क्षेत्रमा निःस्वार्थ भावनाले लगानी गर्दै आएका छन् । यस गाउँका अधिकांश युवा बेलायत, हङकङलगायत युरोपका देशमा छन् । “वडाले गाउँको विकासको लागि खर्च गर्ने रकमको पाँच गुणा बढी रकम विदेशमा बस्ने भुकदेउरालीवासीले गर्नुभएको छ”, निर्वतमान वडाध्यक्ष गौप्रसाद गुरुङले भन्नुभयो, “रातमा गाउँ पूरै झलमल देखिन्छ, ठाउँठाउँमा अत्याधुनिक शौचालय निर्माण गरिएको छ, खेलकुद मैदान बनाइएको छ, स्वास्थ्यचौकी निर्माण गरिएको छ ।” विदेश र सहर बस्ने देउरालीवासी मिलेर गाउँमा सहकारीमार्फत अलैँची खेतीको सुरुआत गरिएको छ । “घर छाडेर बाहिरिएकाको खाली भएको बाँझो जमिन दश वर्षको लागि भाडामा लिएर अलैँची खेती गर्न थालिएको छ”, निर्वतमान वडाध्यक्ष गुरुङले भन्नुभयो, “ताङ्ले, लप्सीबोट, भमरकोट हुँदै म्याग्दीको घोडेपानी जोड्ने काम भइरहेको हुँदा यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने देखिन्छ ।” गुरुङ पर्यटकीय चहलपहल बढेपछि सहरमा भएका युवा गाउँ फर्कनेमा ढुक्क हुनुहुन्छ । बाजा बजाउने दलित समुदायको संस्कृति जोगाउन पनि विदेशमा बस्ने स्थानीयवासीले सहयोग गर्दै आएका छन् । “हामीलाई चाहिने बाजा, पोसाक र समाजघर निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ”, बाजा बजाउँदै गर्नुभएका भुकदेउराली नौमती बाजा समूहका सदस्य डिलप्रसाद परियारले भन्नुभयो, “हामी बाजा बजाउन अन्यत्र धेरै ठाउँमा पनि जाने गरेका छौँ, त्यहाँबाट आउने केही पैसा हामीले राख्छौँ भने बाँकी समाज घरमा राख्ने गरेका छौँ ।” उहाँका अनुसार यसभन्दा अघि सङ्कलन भएको रकम गाउँकै घोडेटो बाटो निर्माणमा खर्च गरिएको छ । भुकदेउरालीका दश घरमा पाहुना घर सञ्चालन गरिएको छ । रित्तिएको गाउँमा बाहिरबाट पाहुना आउँदा सिङ्गो गाउँ नै खुसी हुन्छ । बाजागाजासहित पुरै गाउँले मिलेर फूलमालाले सम्मानसहित पाहुना घरसम्म पुर्याउने गर्छन् । “गाउँमा मान्छेहरु बस्न छाडिसके”, पाहुना घरकी सञ्चालिका पूर्णिमा गुरुङले हाँस्दै भन्नुभयो, “तपाईंहरु पाहुना भएर आउँदा ज्यादै खुसी लाग्छ, सधैँ गाउँमै बसिदिए हुन्थ्यो झैँ लाग्छ ।” एक दिनका लागि आउने पाहुनालाई पनि घरकै सदस्य जसरी गरिने व्यवहारले गहिरो आत्मीयता दर्शाउँछ । पाहुना घरका कारण रित्तिएको आफ्नोे गाउँ फेरि भरिनेमा उनीहरु आशावादी छन् । “देशमा सङ्कटपछि गाउँ पूरै खाली भयो”, भुकदेउराली नमुना गाउँ सामुदायिक होमस्टेका अध्यक्ष टेकबहादुर गुरुङले भन्नुभयो, “अहिले तीनचार घरका फर्किसक्नुभएको छ, एक दिन सबैजना गाउँमै फर्कनु होला भन्ने विश्वास छ ।” कुश्मा, बागलुङ, पोखरादेखि मात्र नभएर काठमाडौँलगायत टाढाका जिल्लाबाट पनि पाहुना घरमा पर्यटक आउने गर्छन् । पछिल्ला दिनमा त चलचित्रदेखि विभिन्न गीतको छायाङ्कन गर्नसमेत चलचित्रकर्मी आउने गरेका छन् । गाउँमा आउने पाहुनाका लागि स्थानीयरुपमै उत्पादन भएका अर्गानिक खानाका परिकारजस्तै कोदोको सेलरोटी, कोदोको ढिँडो र कोदोको सुख्खा रोटी, भुटेको मकै, भटमास, गुन्द्रुकको अचार, स्थानीय जातका दाल, लोकल कुखुराको मासुलगायतका खाना तयार हुन्छन् । “यस ठाउँ साँच्चिकै नमूना रहेछ”, कुश्माबाट घुम्नका लागि भुकदेउराली पुगेका विजय चापागाईंले भन्नुभयो, “प्राकृतिक सुन्दरता त छँदैछ, त्यसका अतिरिक्त गाउँलेले पाहुनालाई देखाउने आत्मीयता, सफासुग्घर घरआँगन र रातमा झलमल बल्ने गाउँ अनि ठाउँठाउँमा बनाइएका आधुनिक शौचालयले मेरो ध्यान खिचिरहेको छ ।”
मोरङ । गएको वर्ष मोरङमा सवारी दुर्घटनाबाट एक सय २९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७८-७९ मा एक हजार दुई सय ८५ विभिन्न सवारी दुर्घटनाबाट उक्त मृत्यु भएको हो । उक्त दुर्घटनामा तीन सय ५३ जना गम्भीर घाइते र एक हजार छ सय ५४ जना घाइत भएका थिए । आव २०७७-७८ मा विभिन्न एक हजार एक सय ६२ वटा सवारी दुर्घटनाबाट एक सय ४२ जनाको मृत्यु हुनुका साथै तीन सय ४९ जना गम्भीर घाइते र एक हजार चार सय २० जना घाइते भएका थिए । आव २०७६-७७ मा चार सय ८७ वटा सवारी दुर्घटनाबाट ८९ जनाको मृत्यु हुनुका साथै दुई सय सात जना गम्भीर घाइते र पाँच सय २३ जना घाइते भएको ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो । कार्यालयले आव २०७८-८९ मा ७१ हजार पाँच सय १७ सवारी साधनलाई कारवाही गरी रु चार करोड ५७ लाख एक हजार राजस्व सङ्कलन गरेको छ । आव २०७७-७८ मा ७० हजार एक सय २९ सवारी साधनलाई कारवाही गरी रु चार करोड २० लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ भने आव २०७६-७७ मा ५४ हजार दुई सय नौ सवारी साधनलाई कारवाही गरी रु तीन करोड १९ लाख ९५ हजार पाँच सय राजस्व सङ्कलन गरेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । कार्यालयले दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ । कार्यालयका अनुसार आव २०७८-७९ मा पाँच हजार तीन सय ९९ वटा कार्यक्रमबाट एक लाख ३३ हजार छ सय पाँच जना, छ सय ७७ पटक विद्यालयमा गरिएको कार्यक्रमबाट १९ हजार पाँच जना विद्यार्थी लाभान्वित भएका छन् । आव २०७७-७८ मा तीन हजार आठ ४९ वटा कार्यक्रमबाट ५२ हजार एक सय २६ जना, चार सय ३३ पटक विद्यालयमा गरेको कार्यक्रमबाट ५२ हजार एक सय २६ विद्यार्थी लाभान्वित भएका छन् भने आव २०७६-७७ मा तीन हजार पाँच सय ४४ कार्यक्रमबाट ४५ हजार पाँच सय ६७ जना र दुई सय ५० पटक विद्यालयमा गरिएको कार्यक्रमबाट चार हजार पाँच सय १० विद्यार्थी लाभान्वित भएको निरीक्षक कार्कीले बताउनुभयो । चालु आव २०७९-८० को साउन मसान्तसम्ममा ८३ विभिन्न सवारी दुर्घटनाबाट आठ जनाको मृत्यु हुनुका साथै एक सय २१ जना घाइते भएका छन् । सोही अवधिमा तीन हजार छ सय ५७ सवारी साधनलाई कारवाही गरी रु २३ लाख १८ हजार ५०० राजस्व सङ्कलन गरिएको छ । कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि बूढीगङ्गाको निमुवादेखि विराटनगर रानीसम्म ५० वटा ट्राफिक नियमसम्बन्धी चेतनामूलक होडिङ बोर्ड राख्नुका साथै विराटनगर प्रवेशद्वारसम्म १० वटा प्रहरीको डमी बोर्ड राखिएको छ । बाटोको अवस्था, मादक पदार्थ सेवन र तीव्रगतिमा सवारीसाधन सञ्चालनले ८० प्रतिशत दुर्घटना हुने गरेको निरीक्षक कार्कीले बताउनुभयो । मोटरसाइकल दुर्घटना गर्ने चालकमध्ये अधिकांश १५ देखि ३० वर्ष उमेरका युवा रहेको उहाँको भनाइ छ । कार्यालयले दुर्घटना न्यूनीकरण गर्न दैनिकरुपमा विभिन्न २० स्थानमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै ६५ स्थानमा मादक पदार्थ सेवनलगायत जाँच गर्ने गरेको छ ।
काठमाडौं । मुलुकको पर्यटन प्रवद्र्धनका लागि ‘सफा नेपाल, हरियाली नेपाल’ अभियानअन्तर्गत सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज वसन्तपुर डबली–असनचोक, ठैँटीचोक–ठमेल हुँदै नरसिंहचोकसम्म सरसफाइ गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनन्जय रेग्मीलगायत हातमा कुचो बोकेर सरसफाइ अभियानमा सहभागी हुनुभएको थियो । बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको ७३ बुँदे कार्ययोजनाअन्तर्गत वसन्तपुरदेखि ठमेलसम्म सरसफाइ कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले देशभरका सबै सम्पदा क्षेत्रमा सरसफाइ गरिने उल्लेख गर्नुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई पुनरुउत्थान गर्नका लागि यस्ता गतिविधिले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ठमेल क्षेत्रमा पर्यटकीय गतिविधि बढाउनका लागि परिषद्ले विभिन्न रचनात्मक काम गर्दै आएको बताउनुभयो । ठमेल सफा राख्ने अभियन्तालाई परिषद्ले पुरस्कृत गर्नेसमेत उहाँको भनाइ छ । कार्यक्रममा पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाको सहभागिता थियो ।
भोजपुर । एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व अब भने मेटिँदै गएको छ । खासगरी टक्सार बजारमा बसाइँसराइका कारण कलात्मक शैलीमा निर्माण गरिएका घर जीर्ण बनेका छन् भने कतिपय घर भत्किन थालेका छन् । टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दै आएको स्थानीय जानकार बताउँछन् । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक (डोली पैसा) राणा शासनमा प्रचलनमा थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यहाँ भित्र्याएका थिए । टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत छ । उक्त बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्ति बनाइएको स्थानीय ८५ वर्षीय हरि ताम्राकारले बताउनुभयो । विसं १८७२ देखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य पाइन्छ । तत्कालीन सरकारले १८७० सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसहितका पूर्वी पहाडमा खनिज पदार्थ उत्खनन् गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरिएको थियो । अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालीगढले फलाम र तामाका डोली पैसा बनाउने गरेका थिए । विसं २००७ पछि स्थापना गरिएको सरकारी अड्डा भोजपुर बजारमा स्थापना गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको ताम्राकार बताउनुहुन्छ । विगतमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर यहाँ डोली पैसा बनाउने गरिन्थ्यो । टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो । धोद्लेखानीबाट तामा ल्याएर टकसँगै विभिन्न सामग्री निर्माण गरिन्थ्यो । तर त्यो खानी पनि अहिले बन्द भएको छ । दशकौँ अघिसम्म सयौँको सङ्ख्यामा रहेका यहाँका उद्योग अहिले सातवटामा सीमित छन् । विसं १८७२ मा यही बजारबाट तामाको डोली पैसाका नामले प्रख्यात टक छापिने गरेको थियो । अहिले यस्तो ऐतिहासिकस्थल सुनसान छ । लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छाप्ने टक्सार बजार सुनसान छ । बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बूढापाका बताउँछन् । इतिहासअनुसार १६औँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत यो रहेको पाइन्छ । माझकिरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यतिबेला यहाँ थुप्रै माल, अड्डा अदालत पनि खोलिएका थिए । “सम्पदा समय–समयमा मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका छन्”, ताम्राकारले भन्नुभयो, “यहाँका बासिन्दा आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजारको बेहाल भएको छ ।” हुनेखाने वर्ग अन्यत्र गएपछि बजार दूरवस्थामा पुगेको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुनसकेको छैन । टक्सार बजारबाट भोजपुरको सिद्धकालीसम्म गुफाबाट पुग्न सकिने उहाँले बताउनुभयो । ‘मिनी पाटन’ भनेर पनि चिनिने यो बजार भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ । यहाँ नजिकै टक्सार विमानस्थलसमेत छ । “टक्सार बजारका धातु उद्योगलाई ब्युँताएर यसको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीलाई अभिप्रेरित गर्नुपर्ने खाँचो छ”, स्थायीय कुमार श्रेष्ठले भन्नुभयो । यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी छ । यहाँका सामग्री देशभित्रमात्रै होइन, विदेशमा समेत निर्यात हुने गर्छन् । अहिले बजारको मागलाई यहाँका उद्योगले धान्न सकिरहेका छैनन् । “धातुका सामग्री बनाउने जनशक्ति पलायन भएपछि यस्तो अवस्था आएको हो”, उहाँले भन्नुभयो । बसाइँ सरेर गएकाहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका घर मक्किन र भत्किन थालेका छन् । घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरेका छन् । यो बजार सुनसान बन्दा भोजपुरकै चिनारी धमिलो हुँदै गएको श्रेष्ठ बताउनुहुन्छ । “टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक ठाउँ हो”, उहाँले भन्नुभयो । यहाँ कलात्मक शैलीमा निर्माण गरिएका घरसँगै मठ मन्दिर भत्किन थालेका छन् । यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।
पोखरा । कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका) ले गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधारका लागि सहयोग गर्ने भएको छ । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग कोइका नेपालका देशीय निर्देैशक सङहुन घोले उक्त प्रतिबद्धता जनाउनुभएको हो । प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमार्फत गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) सञ्चालन गर्दैछ । प्रदेशभित्र आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन गरी युवालाई रोजगारीमा आबद्ध गर्ने उद्देश्यका प्रदेशले गण्डकी प्राविधिक शिक्षालय सञ्चालनको तयारी गरेको हो । यसका लागि नेपाल सरकारले स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित गुर्धुममा एक सय ६० रोपनी जग्गा प्रदान गरिसकेको छ । सो अवसरमा मुख्यमन्त्री पोखरेलले दक्षिण कोरियासँग नेपालको पुरानो सम्बन्ध रहेको जानकारी दिनुभयो । गण्डकीमा प्राविधिक शिक्षाका लागि कोइकाले चासो देखाएको प्रति उहाँले आभार व्यक्त गर्नुभयो । प्रदेश सरकारको परिकल्पनालाई साकार पार्न दक्षिण कोरियाले देखाएको चासो प्रशंसनीय रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । सो अवसरमा कोइकाका देशीय निर्देशक सङहुनले पर्यटकीय नगरी पोखरामा कोरिया सरकारले लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशका युवालाई रोजगारमा आबद्ध गराउन प्राविधिक शिक्षाबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने हाम्रो मुख्य चासो हो ।” सुरुआती अवस्थामा युरोपेली मुलुकले कोरियामा प्राविधिक सीप सिकाएको र त्यसैको जगबाट अहिलेको अवस्थामा आइपुगेको स्मरण गर्नुभयो । त्यहीअनुसार गण्डकी प्रदेशमा सहयोग गर्न लागिएको उहाँले बताउनुभयो । प्रदेश सरकारले अगाडि सारेको परियोजनाको प्रारम्भिक प्रस्तावबाट आफू निकै प्रभावित भएको उहाँले बताउनुभयो । उहाँले संरचना बनाइसकेपछि सरकारले कसरी सञ्चालन गर्छ भन्ने मुख्य चासोका विषय रहेको बताउनुभयो । कोरिया सरकारले लगानी गर्ने परियोजनाको महत्वपूर्ण पक्ष दिगोपना रहेको उहाँको भनाइ थियो । यस वर्षको अन्तिममा कोइकाको मुख्यालयमा यो परियोजनाको प्रस्ताव पठाएपछि प्रारम्भिक अध्ययनका लागि कोरियाबाटै टोली आउने उहाँले जानकारी दिनुभयो । यसका लागि चारदेखि पाँच जनाको विज्ञ टोलीले सबै पक्षसँग भेटेर अध्ययन गर्नेछ । कोरियाको नगद अनुदान मात्रभन्दा पनि प्राविधिक सहयोगमा बढी ध्यान केन्द्रित गर्नेछ । यसले परियोजना बढी प्रभावकारी हुने दाबी उहाँको छ । परियोजनाका बारेमा गण्डकी प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटाले विस्तृत जानकारी गराउनुभएको थियो । प्रदेशका लागि आवश्यकपर्ने जनशक्तिको प्रक्षेपणअनुसार तालिम सञ्चालन गर्नका लागि पूर्वाधारमा सरकारले सहयोगको अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो । प्रदेश शिक्षा नीतिले प्रदेशभित्र सञ्चालन हुने सबै खालका प्राविधिक शिक्षा तथा तालिम यसै संस्था मातहत रहनुपर्ने परिकल्पना पनि गरेको छ । कोइकाले पोखराको फोहर व्यवस्थापनका लागि पनि काम गर्दैछ । खासगरी नकुहिने फोहरको व्यवस्थापनका लागि युएनडिपीलगायतका दातृ निकायसँग सहकार्य गरिएको छ । पोखराको सार्वजनिक यातायात व्यवस्थित बनाउनका लागि पनि कोरिया सरकारले विशेष चासो दिएको छ ।
झापा । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्नेका अवस्थामा कमी आउने जनाइएको छ । दुई वर्षअघि अस्पातालले ‘पेट सिटी स्क्यान’ उपकरण ल्याए पनि सरकारले रेडियोधर्मीसम्बन्धी ऐन, नियम नबनाएका कारणले सञ्चालन आउन सकेको थिएन । अस्पतालका मेडिकल निर्देशक डा वीरेन्द्र यादवले भन्नुभयो, “पेट सिटी स्क्यान’ को सेवा सुरु भएपछि क्यान्सर उपचारका लागि भारतलगायत छिमेकी मुलुक जानुपर्ने अवस्थामा लगभग अन्त्य हुने छ ।” क्यान्सर रोगी केही नेपाली बिरामीहरु उपचारका लागि भारतलगायत अन्य मुलुकमा जाने जनाइएको छ । उहाँले भन्नुभयो, “अब हामीले नै पेट सिटी स्क्यानको सेवा न्यूनतम शुल्कमा दिएपछि बाहिर मुलुकमा उपचारका लागि जानु पदैन ।” उहाँका अनुसार ‘पेट सिटी स्क्यान’ उपकरणले क्यान्सर रोगको अवस्थाबारे जानकारी गराउने र यसले गर्दा क्यान्सरको उपचार गर्न सजिलो हुन्छ । “क्यान्सर कति फैलिएको छ । उपचारपछि निको कति भयो, भएन । सबै कुराको थाहा उपकरणबाट पत्ता लाग्ने गर्दछ”, भारतको मेदान्त अस्पतालमा सेवा गरिसक्नु भएका डा यादवले भन्नुभयो, “उपकरण सञ्चालन भएपछि अब जस्तोसुकै क्यान्सरको उपचार हामी गर्न सक्दछौँ ।” क्यान्सर अस्पतालमध्ये पहिलोपटक पूर्वाञ्चल क्यान्सर अस्पतालाले ‘पेट सिटी स्क्यान’ सेवाको सुरुआत गरेको हो । ४५ हजारमा ‘पेट सिटी स्क्यान’ अस्पतालले अन्य ठाउँभन्दा सस्तोमा ‘पेट सिटी स्क्यान’ सेवा दिने भएको अस्पतालका निर्देशक डा यादवले बताउनुभयो । ‘पेट सिटी स्क्यान’ सेवा अस्पतालले ६० हजारमा उपलब्ध गराए पनि अहिले दुई महिनासम्म बिरामीलाई रु ४५ हजारमै उपलब्ध गराउने उहाँको भनाइ छ । भारतमा ‘पेट सिटी स्क्यान’ सेवाका लागि जाँदा करिब रु पाँच लाखसम्म खर्च हुने गरेको छ । ‘पेट सिटी स्क्यान’ सेवाका लागि ‘रेडियो आइसोटोप’ समेत प्रयोग गरिन्छ । उक्त रेडियो आइसोटोप ल्याएको चार घण्टाभित्र बिरामीको उपचारका लागि प्रयोग गरिसक्नुपर्ने हुन्छ । भारतको कोलकाताबाट खरिद गरेको दुई घण्टामा झापाको बिर्तामोडमा उक्त ‘रेडियो आइसोटोप’ आइपुग्ने र बिरामीलाई समेत सजिलै उपचार गर्न सकिने अस्पतालका निर्देशक डा यादवले जानकारी दिनुभयो । कोलकाताबाट सिलगुडीको वागडुग्रा विमानस्थलमा एक घण्टा र त्यहाँबाट आधा घण्टामा बिर्तामोडमा ‘रेडियो आइसोटोप’ ल्याइने गरिन्छ । ‘पेट सिटी स्क्यान’ उपकरण सञ्चालन गर्ने अस्पतालका न्युुक्लियर मेडिसिन विभागका प्रमुख डा रितेश उपाध्यायले क्यान्सरको उपचारका गर्दा पटक–पटक ‘पेट सिटी स्क्यान’ गर्नुपर्ने जानकारी दिनुभयो । उहाँका अनुसार क्यान्सरको उपचार थालनी गर्नुपूर्व, उपचारको बीचमा र उपचारपछि निको भयो कि भएन भनेर ‘पेट सिटी स्क्यान’ उपकरणबाट परीक्षण गर्ने गरिन्छ । “क्यान्सर उपचारपछि निको भयो कि भएन । उपचारलाई परिवर्तन गर्नुपर्ने हो वा होइनसमेत ‘पेट सिटी स्क्यान’बाट थाहा हुन्छ”, डा उपाध्यायले भन्नुभयो, “‘पेट सिटी स्क्यान’ अन्य रोगको पनि उपचारका लागि पनि प्रयोग गरिन्छ ।” उहाँले क्यान्सरको उपचारका लागि ‘पेट सिटी स्क्यान’ अनिवार्य रहेको भन्दै शरीरको पूरै भागको स्क्यान गरी क्यान्सरको अवस्था पत्ता लाग्ने बताउनुभयो । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले दैनिक १०–१२ जनाको ‘पेट सिटी स्क्यान’ सेवा दिनसक्ने बताउनुभयो । उहाँले आजदेखि ‘पेट सिटी स्क्यान’ सेवा सुरु गरे पनि आइतबारदेखि नियमितरूपमा सुरु गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार २५ क्यान्सर बिरामीको ‘पेट सिटी स्क्यान’ गर्न तयारी गरिएको छ । अस्पतालमा दैनिक एक सय २५ जना क्यान्सरका बिरामी आउने गरेका छन् । अस्पतालम काठमाडौँ लगायत देशका अन्य क्षेत्रबाट बिरामी आउने गरेका छन् ।
बागलुङ । तीन वर्षदेखि लगातार बागलुङमा डेङ्गुका बिरामी भेटिन थालेका छन् । विगत दुई वर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकामा यो वर्ष भने बागलुङको अन्य स्थानमा पनि भेटिएको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ । धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलका अनुसार अस्पतालमा उपचार गर्न आएका बिरामीमा पनि छिटफुट रुपमा डेङ्गुको सङ्क्रमण पुष्टि भइरहेको छ । उच्च ज्वरो, रुघाखोकीसमेतका लक्षण देखिएपछि उपचारका लागि आएकालाई डेङ्गु परीक्षण गर्दा पुष्टि भएको उहाँले बताउनुभयो । दुई वर्षअघि चार, गत वर्ष तीन जना बिरामीमा डेङ्गु देखिएपछि धवलागिरि अस्पतालमै उपचार गरिएको थियो । यो वर्ष पनि लक्षणसहितका बिरामी धेरै देखिएको पोखरेलले बताउनुभयो । लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आम नागरिकलाई सचेत रहन स्वास्थ्य कार्यालय बागलुङले पनि सबैलाई आग्रह गरेको छ । डेङ्गुविरुद्ध स्वास्थ्य कार्यालयले दशवटै पालिकाका सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । रगत जाँचपछि मात्र डेङ्गु पत्ता लगाउन सकिने भएकाले पालिका तहमा पनि आवश्यक किट पठाइएको जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्ने, बिरामी आएमा उपचारको व्यवस्था मिलाउने र लामखुट्टे बस्ने पानीका स्रोत हटाउने तयारी सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । “धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने डेङ्गुको लक्षण हुन्”, डा पोखरेलले भन्नुभयो, “सतर्कता अपनाउन सकिएन भने कोरोना भाइरसभन्दा यो खतरा हुनसक्छ ।” बिरामी बढी सिरियस हुने भएकाले लामखुट्टेबाट बच्नकै लागि बढी सचेत बन्नुपर्ने उहाँले सुझाव दिनुभयो । गाडी बनाउने ग्यारेज, पानी जम्ने पोखरीलगायत सफा राख्न र घर–घरमा पनि खुला ड्रममा पानी नराख्न आग्रह गरिएको बागलुङ नगर स्वास्थ्य कार्यालय प्रमुख रामप्रसाद खनालले बताउनुभयो । खनालका अनुसार सफा पानीमा लामखुट्टेले फुल पार्ने र डेङ्गु लामखुट्टेकै टोकाइबाट सर्छ । “एकपटक सङ्क्रमण भएपछि दोहोरिने दर बढी भएकाले पहिल्यै सचेत बन्नुपर्छ”, उहाँले भन्नुभयो । वर्षात्को बेला देखिने अन्य धेरै प्रकारका रोगको पनि सङ्क्रमण बढेको छ । अस्पतालमा दैनिक चार सयदेखि पाँच सय जनासम्म बिरामी उपचार र स्वास्थ्य परीक्षण गर्न आउन थालेका छन् । अस्पतालको भीडले पनि वर्षात्जन्य रोग बढेको देखिएको डा पोखरेलले बताउनुभयो ।
पोखरा । पोखरामा शनिबार गिद्ध गणना गरिने भएको छ । पोखरा पंक्षी समाजको सक्रियतामा प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार गिद्ध गणना गर्ने गरिएअनुसार पोखरामा गिद्ध गणना गर्न लागिएको हो । प्रत्येक वर्षको सेप्टेम्बरको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका रुपमा लिने गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । गिद्ध मरेको सिनो खाएर बाँच्ने पक्षी हुन् । यिनीहरूले हानिकारक किटाणु सडेको मासु पचाउनसक्ने भएकाले यिनीहरूलाई प्रकृतिका कुचिकार भन्ने गरिएको छ । नेपालमा गरिएको विभिन्न अध्ययनले पछिल्लो दुई दशकमा गिद्धको सङ्ख्या झण्डै ९० प्रतिशतले घटेको छ । गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक जस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेको बताउँदै घिमिरेले पछिल्लो समयमा गाईबस्तु पाल्नेक्रम पनि अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्नेक्रम पनि कम हुँदै जाँदा उनीहरूको आहारामा समेत समस्या थपिएको जानकारी दिनुभयो । डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नैै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको छ । घिमिरेका अनुसार औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ । विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै पोखरा र आसपासका क्षेत्रमा पाइने घिमिरेले जानकारी दिनुभयो । त्यसैले पनि पोखरा र आसपासको क्षेत्र गिद्धको मुख्य बासस्थानका रुपमा रहेको छ । उहाँका अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गुर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् । हिउँदको समयमा आउने लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । त्यस्तै राज गिद्ध पाकिस्तान एवं कीर्किस्तानबाट आउने गरेका छन् । नेपालमा पाइने हिमाली गिद्ध १० हजारको सङ्ख्यामा छन् भने डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ । त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध पाँच÷पाँच सयको सङ्ख्यामा रहेको जनाइन्छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारीमा रहेको छ । पछिल्ला वर्षमा बढ्दो बस्ती विकासको क्रमसँगै गिद्धका प्रजाति लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका अनुसन्धानकर्ता बताउँछन् । गिद्धको बासस्थान विशेष गरी अग्लो सिमलको रूख हो । गिद्ध सिमलका रूखमा बस्ने तथा गुण लगाउने गर्दछन् । पछिल्ला समयमा बस्ती तथा फाँटमा रहेका सिमलका रूख काटिँदा पनि उनीहरू समस्यामा पर्ने गरेको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले जानकारी दिनुभयो । विभिन्न विकास निर्माण, ट्रान्समिसन लाइन आदिका कारण पनि गिद्ध समस्यामा पर्ने गरेको जनाउँदै उहाँले गत वर्ष तनहुँको व्यास नगरपालिका वडा नं ८ मा ल्यान्डफिल साइड नजिकैको ट्रान्समिसन लाइनमा ठोक्किएर करिब ७० वटा हिमाली गिद्ध मरेको पाइएको जानकारी दिनुभयो । त्यस्तै गत वर्ष नै घाचोकमा दुई वटा सुन गिद्ध, एक÷एक वटा डङ्गोर गिद्ध र हिमाली गिद्ध मरेको उहाँले जानकारी दिनुभयो । पोखराको चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायतका स्थानमा डेढ दशकअघिसम्म ठूलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा घट्दै गएको अनुसन्धाता बताउँछन् । चाउथेलगायतका फाँटमा बस्ती विकाससँगै सिमलका ठूलाठूला रूख यतिखेर काटिइसकेको, बढ्दो बस्ती विकास, धुलोधुवाँलगायतका कारण पनि यिनीहरू सङ्कटमा परेको जनाइएको छ । गणना विभिन्न सात ठाउँबाट गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । पोखराका घाचोक, पोखराको ल्यान्डफिल साइट, दोभिल्ला, पुम्दीकोट, हेम्जा, सेती नदीको तल्लो भूभभाग ९दुलेगौँडा सम्म० र दमौलीको ल्यान्डफिल साइटमा एकै समयमा बिहान ८ बजेदेखि ११ बजेसम्म गणना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्ध प्रकृतिको कुचिकार भएका कारण यसको संरक्षणमा जागरुकता आवश्यक रहेको उहाँको भनाइ छ । अघिल्लो वर्षको पोखरामा गरिएको गणनामा २२३ सेतो गिद्ध, ९१ डङ्गोर गिद्ध, २८ सुन गिद्ध, १३ सानो खैरे गिद्ध, नौ वटा हिमालयन गिद्ध र एक वटा राज गिद्ध पाइएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि पोखराको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।