काठमाडौँ : सरकारले ५८औँ राष्ट्रिय बाल दिवसको नारा ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी समाज’ तय गरेको छ । बर्सेनी भदौ २९ गते मनाइँदै आएको उक्त दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री अवधाराणालाई महत्व दिँदै उक्त नारा तय गरेको महिला विकास अधिकृत कमला दाहालले जानकारी दिनुभयो । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते दिवास मनाउँदै आएको छ । मन्त्रालयले दिवस मनाउने क्रममा स्थानीय तह, प्रदेश सरकार, विभिन्न बाल क्लब, नागरिक सङ्घसंस्था र सञ्जाललाई आग्रह गरेको छ । मन्त्रालयले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ पनि पठाएकोे छ । सो निर्देशिका २०७८ असार २७ गते मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको थियो । –––
बलेवा : बागलुङमा अण्डाको उत्पादन घट्न थालेको छ । गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्याङ्क यस वर्ष घटेको हो । जिल्लाभर वर्षमा ७७ लाख ५६ हजार गोटा अण्डा उत्पादन भइरहेको तथ्याङ्क भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङसँग छ । यो तथ्याङ्क गत आर्थिक वर्षमा ८० लाखको हाराहारीमा थियो । उत्पादित अण्डाले जिल्लाको जनसङ्ख्यालाई भाग गर्दा प्रतिव्यक्ति वार्षिक दुई वटा अण्डा अझै अपुग रहेको केन्द्रका प्रमुख चिकित्सक ऋषिराम सापकोटाले बताउनुभयो । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक व्यक्तिका लागि वार्षिक ४८ अण्डाको आवश्यकता हुन्छ । तर बागलुङमा उत्पादित अण्डाले हरेक व्यक्तिलाई वार्षिक ४६ मात्रै पुग्ने गरेको छ । बाहिरी जिल्लाबाट आउने अण्डासँग प्रतिस्पर्धा गर्न नसकेका कारण व्यवसायीहरुले अण्डा उत्पादन कम गरेका हुन् । दानाको मुल्यवृद्धि हुने र अण्डाको मूल्य घट्ने गरेका कारण घाटा सहन नसकेर अण्डाको उत्पादन कम गर्नुपरेको केसी एकीकृत पशु विकास विडर्स फार्म बागलुङका सञ्चालक खड्कबहादुर केसीले बताउनुभयो । केसीले पाँच करोड लगानी गरेर पाँच वर्षदेखि अण्डा उत्पादन गर्दै आउनुभएको छ । ‘‘एकातिर ठूलो मात्रामा उत्पादन गर्ने तराईका कम्पनीले बजारमा निकै सस्तो मूल्यमा अण्डा पठाउँदा हाम्रो अण्डाले बजार पाउँदैन्, अर्कोतर्फ उत्पादन लागत ह्वात्तै बढेको छ’’, केसीले भन्नुभयो, ‘‘उत्पादन लागत र बजार मूल्यकै कारण अण्डाको व्यवसाय गर्न नसकिने अवस्थामा पुग्यो ।’’ उहाँले अहिलेकै अवस्था रहे अण्डाको उत्पादन घट्ने मात्र नभएर यहँको उत्पादन शून्यमा पुग्ने बताउनुुभयो । अण्डाको उत्पादन लागतका आधारमा आधार मूल्य तोक्ने र सोही अनुसारको बजार व्यवस्थापन नगरे व्यवसायी विस्थापन हुने अवस्थामा पुग्ने उहाँले बताउनुभयो । ‘‘दानाको मूल्य दुई हजार हुँदा एक पेटी अण्डको मूल्य दुई हजार सात सयदेखि तीन हजार थियो’’, केसी भन्नुहुन्छ, ‘‘अहिले दानाको मूल्य बढेर तीन हजार सात सय पुग्यो अण्डाको मूल्य घटेर रु दुई हजार पाँच सय पेटीमा झरेको छ ।’’ बागलुङमा उत्पादित अण्डा व्यवसायीले समान्य नाफा मात्रै लिँदा रु दुई हजार आठ सय प्रतिपेटी पर्ने गरेको छ भने बाहिरी जिल्लाबाट दुई हजार तीन सयदेखि दुई हजार पाँच सय सम्ममा प्रतिपेटी अण्डा आयात हुने गरेको छ । जिल्लाभर घरायसी प्रयोजनका लागि उत्पादन हुनेबाहेक ३० वटा मात्रै फार्मले अण्डा उत्पादन गर्छन् । तीमध्ये अधिकांश फार्महरुले दैनिक एक हजारभन्दा कम अण्डा उत्पादन गर्ने गरेको तथ्याङ्क छ । ‘‘पहिले एक हजारमाथि उत्पादन गर्ने किसानले पनि पछिल्लो समय व्यवसायबाट हात झिके’’ विज्ञ केन्द्रका प्राविधिक अधिकृत केशव शर्माले भन्नुभयोे, ‘‘हामी आत्मानिर्भरको बाटोमा थियौँ, तर बाहिरी बजारले हाम्रा किसानलाई किच्यो ।’’ घरायसी प्रयोजनका लागि पालिने स्थानीय जातको कुखुराले वार्षिक ४० देखि ५० वटा मात्रै अण्डा दिने र व्यावसायिक रुपमा अण्डा उत्पादनका लागि पालिने कुखुरामा कमी आएकाले आवश्यकता अनुसारको उत्पादन नभएको उहाँले बताउनुभयो । सरकारले अण्डा उत्पादक किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याएको भए पनि अपर्याप्त रहेको किसानको गुनासो छ ।
पर्वत : पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उहाँको भनाइ छ । पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको छ । पानी पर्न छाडेपछि पहिलो हटाइने न्यौपानेले बताउनुभयो । यसअघि मङ्गलबार पनि त्यही ठाउँमा पहिरो खसेको थियो । पहिराका कारण गन्तव्यतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र छन् । केही यात्रु हिँडेरै गन्तव्यतर्फ लागेका बताइएको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोविनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो । यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । ऋषिपञ्चमीको पृष्ठभूमि महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिनुभयो । यसैकारण उब्जनी नहुने उर्भरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीले जानकारी दिनुभयो । रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानीनजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो । रज भनेको फोहर हो जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।
बझाङ । गत वर्ष असोजमा बझाङी भाषामा चलचित्र बनाउने एक समूहले बझाङ सदरमुकाम चैनपुरको चौराहामा जयपृथ्वीबहादुर सिंहको सालिक निर्माण गर्यो । चलचित्र बनाउने छायाङ्कन टोलीले कथामा जयपृथ्वीबहादुर सिंहको बझाङ चिनाउने अभियान आएपछि चार दिन लगाएर सालिक बनाएका थिए । मध्यराति नै सालिक बनाएर सुटिङ गरेपश्चात् जयपृथ्वी नगरपालिकाले सालिकको संरक्षण गर्ने जिम्मेवारी लियो । तत्कालीन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीले कलाकारले सालिक निर्माण गरेकोमा धन्यवाद दिँदै त्यसको संरक्षण गर्ने बचनसमेत दिनुभएको थियो । तर छ महिना नपुग्दै सालिक भत्कियो । गएको चैत तेस्रो साता चैनपुरको चौराहामा राखिएको सालिकको टाउको भुइँमा र बाँकी भाग सालिकमै देखियो । स्थानीय पसलेका अनुसार ‘जँड्याहा’ले सालिक तोडफोड गरेका हुन् । “जाँड खाएर होहल्ला गर्दै आउँछन्”, एक पसलले भन्नुभयो, “गाली गलौज गर्दै सालिकमा लात्ती हान्छन् । पहिल्यै भत्काएको सालिकको टाउको खसिहाल्छ ।” सालिक संरक्षणको जिम्मेवारी लिएको जयपृथ्वी नगरपालिका अहिले भने अनभिज्ञ जस्तै छ । प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशी जयपृथ्वीको सालिकको बारेमा आफूलाई जानकारी नभएको बताउनुहुन्छ । “सालिक कुन ठाउँमा राखिएको छ ?”, उहाँले प्रश्न गर्दै भन्नुभयो, “म त भरखर आएको हुँ, सालिक चैनपुर बजारमा राखिएको भन्ने थाहै छैन । अब बुझ्नुपर्छ ।” जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले चलचित्र बनाउने टोलीले काम चलाउ बनाएको र अब नगरपालिकाले ठूलो सालिक बनाउने बताउनुभयो । “गत वर्ष एक टोलीले काम चलाउ मात्रै बनाएको हो । काठको भाग हुँदा कसले भत्कायो भन्ने थाहा भएन । अब नगरपालिकाले दिगो समयसम्म टिक्ने गरी सालिक बनाउनेछ”, उहाँले भन्नुभयो । विभूति घोषणापछि सालिक बनाउने जुर्मुराउँदै गएको असार ६ गते सरकारले बझाङी राजा जयपृथ्वीबहादुर सिंहलाई १८औँ राष्ट्रिय विभूति घोषणा गर्यो । विभूति घोषणा गरेपछि बझाङमा जयपृथ्वीको नामबाट जोडिएका सबै निकायले सिंहको सालिक बनाउने तयारी गरेका छन् । जयपृथ्वीको नामबाट सडक, नगरपालिका, क्याम्पस, सङ्घ संस्था, निजी स्वामित्वका कम्पनीले जयपृथ्वीको नामबाट सालिक बनाउन जोड दिइरहेका छन् । बझाङ पत्रकार महासङ्घले पनि आफ्नो पहलमा मानवताको वकालत गर्ने जयपृथ्वीको सालिक बनाउन अन्य निकायले समन्वय गर्ने जनाएको छ । बझाङका पत्रकार वसन्तप्रताप सिंहले विश्वमै मानवताको पक्षमा वकालत गर्ने र नेपालको पहिलो अखबार गोरखापत्रको पहिलो व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नुभएका जयपृथ्वीको सालिक बनाउन पत्रकार महासङ्घले नै पहल गर्नुपर्ने बताउनुभयो । “अन्तर्राष्ट्रियस्तरमै मानवतावादको स्थान दिलाउने जयपृथ्वी नै हुनुहुन्थ्यो”, इतिहासका जानकार तथा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख बजालले भन्नुभयो, “हाम्रो लामो प्रयासपछि सरकारले विभूति घोषणा गरेको छ । अब उहाँलाई सबै जनतामाझ चिनाउनका लागि पनि सालिक बनाउनुपर्छ ।” उहाँले जयपृथ्वीको सालिक बनाएर पार्क नै बनाउने तयारी भएको बताउनुभयो । “नगरपालिकाले चैनपुर बजारमै ठूलो सालिक बनाउनेछ”, उहाँले भन्नुभयो, “विश्वलाई मानवतावादको पाठ सिकाउने सिंहको गृहजिल्ला उहाँकै नामबाट पर्यटकीय जिल्ला हुनेछ ।” बझाङमा पनि अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग नेपाल प्रज्ञा प्रतिष्ठानले जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न माग गरेसँगै बझाङमा पनि जयपृथ्वीलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न आवाज उठिरहेको छ । “विश्वका विभिन्न मुलुकमा जयपृथ्वीले मानवताको पक्षमा वकालत नगरेको भए आज हिंसात्मक मुलुक धेरै हुन्थे”, खप्तडछान्ना गाउँपालिका–५ का कुलप्रसाद जोशी भन्नुहुन्छ, “विलासी जीवन हुँदाहुँदै पनि सर्वसाधारण सबैको हकहितका लागि विश्वमा नै शान्ति छर्ने काम गर्नुभयो । त्यसैले सरकारले ढिलाइ नगरी सिंहलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ ।” नेपाल प्रज्ञा प्रतिष्ठानले जयपृथ्वीको १४६औँ जन्मजयन्तीका अवसरमा ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह र मानवतावाद’ विषयक प्रवचन गोष्ठीमा अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको थियो । मानवतावाद र जयपृथ्वी फाउन्डेसनका अध्यक्ष मीनबहादुर सिंहले जयपृथ्वीलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्ताव गर्ने तयारी भएको बताउनुभयो । अध्यक्ष मीनबहादुरका अनुसार विश्व शान्तिलाई प्रवद्र्धन गर्न जयपृथ्वीलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गराउन परराष्ट्र मन्त्रालयको सहयोगमा प्रक्रिया अघि बढेको छ ।
काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत सो विधेयक बिना संशोधन बहुमतबाट पारित गरेको हो । सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकामा राष्ट्रपतिबाट साउन २९ गते आठबुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता भएको थियो । उक्त विधेयक गत साउन ६ गते सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो । समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सांसद देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरसुन्दर श्रेष्ठले विधेयकका केही बुँदामा लिखित रुपमा फरक मत राख्नुभएको थियो । यस्तै सांसद डा खिमलाल देवकोटा र डा विमला राईले पनि विधेयकका सम्बन्धमा आआफ्नो लिखित अवधारणा प्रस्तुत गर्नुभएको थियो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत विधेयक परिमार्जन, संशोधन तथा राष्ट्रपतिबाट उठाइएका विषय सम्बोधन गर्ने कुरा अहिले समयाभावले सान्दर्भिक नरहेको बताउनुभयो । उहाँले विधेयक अगाडि बढाउन ढिलाइ हुँदा नागरिकता नपाएर प्रताडित बनेको नागरिक थप समस्यामा पर्ने बताउनुभयो । संसदीय अभ्यास र संवैधानिक व्यवस्थाअनुरुपनै सन्देशसहित सदनमा विधेयक फिर्ता भएको उल्लेख गर्दै उहाँले सन्देशलाई गम्भीरतापूर्वक लिएर आगामी दिनमा व्यवस्थापनको पाटोमा ध्यान पुर्याइने बताउनुभयो । “विधेयकले नागरिकतासम्बन्धी सम्पूर्ण मुद्दालाई सम्बोधन गर्छ । नेपाली नागरिकलाई एकताको सुत्रमा बाँध्छ”, उहाँले भन्नुभयो, “नागरिकता लिने क्रममा गर्नुपर्ने स्वघोषणाले आमाको स्वाभिमान, सम्मान र प्रतिष्ठामा कुनै आँच आउने छैन ।” जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गर्नेको सङ्ख्या हालसम्म एक लाख ९० हजार ७२६ रहेको र उनीहरुका सन्तति गैरनागरिकका रुपमा रहेकाले त्यस्ता व्यक्तिलाई नागरिकता प्रदान गर्ने विधेयकको उद्देश्य छ । विधेयकको पक्षमा समिति सदस्यहरु जितेन्द्रनारायण देव, प्रकाश पन्थ, प्रमिला कुमारी, डा बेदुराम भुसाल, गङ्गा बेल्बासे, उदयबहादुर बोहरा, राधेश्याम पासवान र सुरेश आले मगरले समर्थन गर्नुभएको थियो । विसं २०७२ को संविधान जारी हुनु अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबु आमा दुवै नेपाली नागरिक भएको अवस्थामा नागरिकता प्राप्त गर्ने सन्दर्भमा सरकारद्वारा प्रस्तुत उक्त विधेयकमा स्वघोषणा, वैवाहिक अङ्गीकृतलगायतका बारेमा दलहरुबीच केही फरक धारणा रहेको छ ।
कञ्चनपुर । नेपाली नागरिक स्वास्थ्योपचार, चाडपर्वमा किनमेल गर्न र रोजगारीका लागि भारत जाने गर्दछन् । पछिल्लो समय कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दा भने मेलापात गर्न र गाईवस्तुलाई घाँस र स्याउला लिन पनि भारतमा जाने गरेका छन् । दोधारा चाँदनी नगरपालिका–९ का सुन्तला रावतले गाईवस्तुको आहाराका लागि भारतबाट मेलापात गरेको २० वर्षभन्दा बढी भइसकेको छ । उहाँ मेलापातका लागि भारतीय बस्ती कलौनासम्म पुग्नुहुन्छ । “दोधारामा स्याउला पाइँदैन गाईभैँसी र बाख्राका लागि घाँस र स्याउला लिन भारतको कलौना भन्ने ठाउँमा जाने गर्छौँ”, उहाँले भन्नुभयो, “उताका ९भारतका० मानिस एकदम सहयोगी छन् मैले धेरै वर्ष भयो त्यहाँ जाने गरेको ।” सीमानाकामा रहेका दुई देशबीचका नागरिकको आपसी सम्बन्धका कारण यो सम्भव भएको जनाइएको छ । उहाँका अनुसार दोधाराका थुप्रै मानिस भारतीय गाउँ कलौनामा मेलापात जाने गरेका छन् । यहाँका महिला करिब तीन किलोमिटरको बाटो हिँडेर भारतीय बस्ती कलौना पुग्ने गरेको स्थानीय रञ्जु रावतले जानकारी दिनुभयो । “रोजगारी केही छैन बाख्रापालन गरेकी छु बाख्राको आहारका लागि मेलापात जान्छु”, उहाँले भन्नुभयो, “यहाँ बाख्राका लागि स्याउला पाइँदैन हामी त सधैँ उतैबाट ल्याउँछाँै ।” दोधारा चाँदनीको कुतियाकवरमा विसं २०२२ देखि बस्दै आउनुभएको टेकबहादुर सुनारले अहिलेसम्म यहाँ दुई देशबीचका नागरिकबीच वैमनस्यताका घटना नभएको बताउँछन् । उहाँका अनुसार यहाँका बासिन्दाको नेपालसँग सम्र्पक कम नै थियो । विसं २०६५ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै नेपालसँग सम्र्पक जोडिएको हो । “मेलापात, बिहे, व्रतबन्धलगायतका कार्यक्रममा पनि हामी आउने– जाने गर्छौँ”, उहाँले भन्नुभयो, “हामीले पनि बोलाउँछाँै उहाँहरूले पनि बोलाउनुहुन्छ ।” उहाँले यहाँका बासिन्दा सीमाका प्रहरेदार भएको बताउनुभयो । स्थानीय वसन्ती सुनारले दुई देशका नागरिकको भन्दा पनि भाइचारको सम्बन्ध रहेको सुनाउनुभयो । “हाम्रो सम्बन्ध एकदमै राम्रो छ कहिले उहाँहरू सहयोग माग्न यहाँ आउँछन्, कहिले हामी सहयोग माग्न त्यहाँ पुग्छौँ”, उहाँले भन्नुभयो, “सीमावर्ती भारतीय नागरिकसँग सदियौँदेखि भाइचाराको सम्बन्ध छ ।” महाकालीपारिको गाउँ भनेर चिनिने दोधारा चादँनी नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारतसँगको खुला सिमाना रहेको छ । यहाँका औसत परिवारको आम्दानीको श्रोत नै कृषि व्यवसाय रहेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । नौ सय ८९ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा छ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा सङ्क्रमण देखिनेमा खैरहनी र रत्ननगर नगरपालिकामा बढी रहेको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाको भरतपुर अस्पताल, राप्ती, खैरहनी, रत्ननगर, भरतपुरको शिवनगर, माडीलगायतका अस्पतालमा डेङ्गु रोगको परीक्षण गरिँदै आएको छ । उहाँले भन्नुभयो, “यो वर्ष डेङ्गुको सङ्क्रमण फैलिने जोखिम उच्च छ ।” भदौ, असोज र कात्तिक डेङ्गुका लागि उच्च जोखिमका महिना रहेको उहाँले बताउनुभयो । डेङ्गु ज्वरो एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र साँझ टोक्ने गरेको पाइन्छ । डेङ्गुको सङ्क्रमण देखिए एक्कासि ज्वरो आउने, ज्वरो पाँच/सात दिनसम्म रहने, आँखाका गेडी तथा टाउको दुख्ने, शरीर कटकट दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखापर्ने उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालीदास अधिकारीले अहिले दिनहुँजसो डेङ्गुका बिरामी अस्पताल आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलाको भन्दा अहिले डेङ्गुका बिरामीको सङ्ख्या बढ्दो छ ।” डा. अधिकारीका अनुसार अहिले डेङ्गुका बिरामीको वृद्धिदर पाँचदेखि सात प्रतिशत रहेको छ । डेङ्गु रोगको सङ्क्रमणबाट बच्नका लागि पूरा बाहुला भएको कपडा लगाउने, झुलभित्र सुत्ने, घर वरिपरि सरसफाइ गर्नुपर्ने उहाँले बताउनुभयो । घर वरिपरि भएका खाल्डा पुर्ने र पानी जम्ने ठाउँ भए त्यहाँ हप्तामा एक पटक मट्टितेल छर्कने गर्नुपर्ने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । गत आर्थिक वर्ष जिल्लामा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।
काठमाडौं । विगत चार महिनादेखि टेकु स्टेसनमा थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापनको काम आगामी दुई दिनभित्र सकिने भएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडौँ उपत्यकाको फोहर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो । उपत्यकाको सडक छेउछाउमा पनि लामो समयदेखि फोहरको डङ्गुर थियो । उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहर व्यवस्थापन कार्य हुन थालेको हो । सहमतिपछि यसअघि सडकमा थुपारिएको फोहर व्यवस्थापनको काम सकिएको छ । काठमाडौँ महानगरपालिका वातारण विभाग प्रमुख सरिता राईले भन्नुभयो,“आगमी दुई दिनमा यसअघि ट्रान्सफरस्टेसनमा थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापनको काम हुन्छ ।” गत वैशाख १२ गतेदेखि टेकुमा थुपारिएको फोहरको व्यवस्थापन हुन सकेको थिएन । स्थानीयवासीको अवरोधकैबीच विगत चार महिनाको अवधिमा बढीमा १५ दिन फोहरको व्यवस्थापन भए पनि अन्य दिन एक गाडी पनि फोहरको व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ । यसअघिको फोहरसमेत व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । फोहर व्यवस्थापनको काम कतै बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गर्नुभएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन रहेको छ । यसअघि पनि लामो समय फोहर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको सवालमा कामपाले उपत्यकामानै कुहिने फोहर व्यवस्थापन गर्न भन्दै स्थान पहिचानको काम गरिरहेको बताएको छ । सम्भावित केही स्थान पहिचान गरेपनि स्थानीय त्यस विषयमा सकाररात्मक हुन नसक्दा थप काम भने अघि बढ्न नसकेको गुनासो कामपाको छ ।