दाङ । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताउनुभयो ।
पाल्पा । गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपथ्र्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपथ्र्यो । अब भने यहाँका गर्भवतीलाई सो सेवाका लागि अन्यत्र जाने समस्या टरेको छ । पालिकाले गर्भवतीलाई लक्षित गरी निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा सञ्चालन गरेको छ । पलिकाका सातवटै वडामा रहेका स्वास्थ्य चौकीमार्फत प्रत्येक महिना एक दिन सेवा दिन थालिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिसाले जानकारी दिनुभयो । वडा नं १ को बाकामलाङ स्वास्थ्य चौकीमा हरेक महिनाको २३ गते, वडा नं २ को सहलकोट स्वास्थ्य चौकीमा २२ गते, वडा नं ३ को झिरुवास स्वास्थ्य चौकीमा २१ गते, वडा नं ४ को मित्याल स्वास्थ्य चौकीमा ११ गते, वडा नं ५ को गल्धा स्वास्थ्य चौकीमा १४ गते, वडा नं ६ को अर्चले स्वास्थ्य चौकीमा १२ गते तथा वडा नं ७ को ज्यामिरे स्वास्थ्य चौकीमा १३ गते भिडियो एक्सरे सेवा दिइने उहाँले बताउनुभयो । यही भदौ ११ गतेदेखि उक्त सेवा सुरु गरिएको हो । “प्रदेश सरकारले एक जना तालिम प्राप्त अनमीको व्यवस्था गरेपछि यो सेवा सुरु गरेका हौँ”, संयोजक दिसाले भन्नुभयो । गर्भवतीको समस्यालाई ध्यानमा राख्दै पालिकाले उक्त सेवा सुरु गरेको हो । गर्भवतीलाई वडामा रहेका स्वास्थ्य संस्थामार्फत हरेक महिना प्रत्येक वडा वडामा समय तय गरेर सेवा प्रवाह गर्न थालिएको उहाँले बताउनुभयो । गाउँकै स्वास्थ्य चौकीबाट सेवा पाउँदा उनीहरुलाई ठूलो राहत मिलेको छ । यसअघि तानसेन र रामपुर धाउँदा यातायात, बास बस्नेलगायतका समस्या थियो । स्थानीयस्तरमै सेवा पाउँदा सास्ती भोग्नुपर्ने समस्या टरेको निस्दी–४ की हिराकुमारी खाम्चाले बताउनुभयो । “टाढा जानुपर्ने झन्झटले गर्भवती स्वास्थ्य परीक्षण गर्दैनथे, अब ठूलो राहत पुगेको छ”, उहाँले भन्नुभयो । मेसिन बिग्रिने, स्वास्थ्यकर्मी अभावलगायत समस्याले कतिपय बेला भने सेवा सेवा नलिइकन फर्कनुर्ने समस्या थियो । निजी क्लिनिकमा महङ्गीका कारण सेवा लिन समस्या थियो ।
पोखरा । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिराका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो । ठूला–ठूला ढुङ्गा सडकमा झरेका कारण तत्काल खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको हो । त्यस्तै सोही स्थानभन्दा केही अगाडि मोदीखेतमा पनि सडकमा ढुङ्गा झरेर अवरुद्ध भएको छ । भ्याप्लेको पहिरो पन्छाएपछि उक्त ढुङ्गा पन्छाएर सडक खुलाइने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका अन्य सवारीसाधन आम्बोट र पातीचौरमा थन्किएका छन् । दिउँसोसम्म सडक खुलाउन सकिने प्रहरीले जनाएको छ ।
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा गए राति एक युवक मृत फेला परेका छन् । मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै स्थानीय बमबहादुर धामीको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार धामीको टाउकोमा चोट लागेको छ । मृत्युको कारण यकिन हुन नसकेको उहाँले बताउनुभयो । गए राति करिब १० बजे घटनाको जानकारी प्राप्त हुनासाथ अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको विष्टले बताउनुभयो ।
मिथिला क्षेत्रमा आज साँझ चन्द्रमाको श्रद्धा र विधिपूर्वक पूजा गर्दै चौरचन (चौठचन्द्र) पर्व सकिएको छ । भदौ शुक्लपक्षको चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेसी र थारु समुदायले विशेष महत्वका साथ मनाउने उक्त पर्व आज साँझ विधिपूर्वक पूजा गर्दै सकिएको हो । यसवर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठचन्द्र पर्व आज एकै दिन परेको छ । दिनभरि उपवास भएका परिवारका महिला सदस्यहरूले साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । चौठचन्द्र पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै उपवास बसेको बर्तालुले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पूजा गर्ने परम्परा छ । चन्द्रमाको पूजा हुने यो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरुले प्रसाद ग्रहण गर्ने परम्परा रहेको मिथिला संस्कृतिका जानकार पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । तीज पर्व सम्पन्न भएसँगै सुरु हुने यस पर्वलाई मिथिलामा निकै श्रद्धा र आस्थाका रूपमा लिइन्छ । कृष्ण जन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र पनि भन्ने गरिन्छ । यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा ९पिरुकिया० र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा छ ।
काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले अबको केही दिनभित्र कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। केही प्राविधिक काम बाँकी रहेकाले परीक्षाफल प्रकाशित गर्न केही दिन लाग्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन्। १५ भदौसम्म प्रकाशित गर्ने तयारी भए पनि केही दिन तलमाथि हुन सक्ने भन्दै उनले आज नतिजा सार्वजनिक नहुने स्पष्ट पारे। ‘टेक्निकल्ली हामीले १५ गतेभित्र गर्छौँ भनेका हौँ। एक–दुई दिन तलमाथि हुन सक्छ। तर, आज हुँदैन,’ उनले भने । यसअघि बोर्डका एक सदस्यले आज साँझसम्म परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताएका थिए। तर, आज हरितालिका तिजका कारण बोर्डका महिला सदस्य बैठकमा उपस्थित हुन नसक्ने भएपछि आज परीक्षाफल प्रकाशित नगरिएको बुझिएको छ।
मनाङ : हिमाली जिल्ला मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन् । एक वर्षमा निर्माण गर्नुपर्ने पुल सात वर्ष हुँदासम्म पनि बन्न सकेको छैन । विसं २०७३ को असारमा मनाङको साविक थोंचेगाउँ विकास समितिस्थित दूधखोलामाथि पुल बनाउन द क्याराभान कम्पनीलाई ठेक्का दिइएको थियो । विसं २०७४ मा एक वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने गरी साविक जिल्ला विकास समितिसँग सम्झौता भयो तर सात वर्ष बितिसक्दासमेत हालसम्म पुल निर्माण हुनसकेको छैन । हालसम्म नदीको दुई किनारामा पुलको पिलर मात्रै गाडिएको देख्न सकिन्छ । नदी किनारामा पिलर उठाएर निर्माण कम्पनीका ठेकेदार हालसम्म सम्पर्कविहीन छ । उक्त पुल निर्माणको ठेक्का पाएको ठेकेदारले आधाभन्दा बढी रकम लगिसकेको पूर्वाधार कार्यालयले जनाएको छ । धारापानीदेखि तिल्चे हुँदै तिब्बत जोड्ने सडकअन्तर्गत उक्त पुल अलपत्र अवस्थामा रहेको हो । समयमै पुल निर्माण हुन नसक्दा मनास्लु पदमार्गमा जाने पर्यटकलाई यात्रामा समस्या हुनाका साथै चर्को ढुवानी शुल्क तिरेर सामग्री ढुवानी गर्नुपर्ने बाध्यतामा रहेको स्थानीयवासीले गुनासो गरे । ठेकेदारले यो पुल निर्माणका लागि कहिलेकहीँ केही काम गरेजस्तो गर्ने र छोड्ने गर्दा समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो । “तिल्चेका बासिन्दा सानो सामग्री लिनका लागि पनि धारापानी पुग्नुपर्छ । कहीँकतै सडक बिग्रिए पनि जेसिबी ल्याएर मर्मत गरी सञ्चालनमा ल्याउनसमेत समस्या हुन्छ । पुल नबन्दा बाटो नै पूर्णरूपमा बन्द हुने गरेकाले दबाब दिइरहेका छौँ तर पनि अहिलेसम्म बनाउने चासो नै देखाउँदैन ठेकेदारले”, उहाँले भन्नुभयो, “यहाँका बासिन्दाले लमजुङ बेँसीसहरबाट रु १० मा एक किलोग्राम किनेको सामान गाउँमा पुर्याउन फेरि रु १० भाडा तिर्नुपर्ने हुन्छ ।” दूधखोला जस्तै मनाङका धेरै पुल निर्माण हुनसकेका छैनन् । मस्र्याङ्दी नदीमाथिको हुम्डेमा पुल बनाउन साविक जिल्ला विकास समितिले विसं २०७३ कै असारमा अर्को ठेक्का लगायो । उक्त पुल निर्माणका लागि पनि द क्याराभान कम्पनीले नै ठेक्का पायो । विसं २०७४ मा सम्पन्न गर्नुपर्ने गरी भ्याटसहित रु चार करोड ५७ लाखमा ठेक्का दिइएको यो पुल हालसम्म पनि बन्न सकेको छैन । समयमा निर्माणको काम सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप गरियो तर कामको प्रगति हुन भने सकेन । तत्कालीन जिविसले विभिन्न समयमा मनाङमा छवटा पुल निर्माणका लागि बोलपत्र निकालेकोमा सबै पुल निर्माणको ठेक्का क्याराभानले पाएको थियो । लमजुङ र म्यार्दी खोलाको निर्माण भएर सवारीसाधन सञ्चालन भएको छ तर अन्य धेरै पुल अझैसम्म अलपत्र अवस्थामा नै छन् । विसं २०७४ असार ८ मा रु दुई करोड २६ लाखको लागतमा निर्माण सम्झौता भएको तिमाङ खोलाको पुल निर्माणको अन्तिम चरणमा रहेको अवस्थामा गत वर्षको बाढीले बगायो । विसं २०७५ पुस ८ मा निर्माणको समय सकिए पनि हालसम्म यसको म्यादसमेत थप भएको छैन । उक्त पुलका लागि रु तीन करोड ६९ लाख लागत अनुमानसहित डेढ वर्षमा सम्पन्न गर्न विसं २०७४ जेठमा सम्झौता भएको थियो । त्यस्तै विसं २०७४ पुस २६ मा सम्झौता भएको मुङ्जी खोलामाथिको पुल निर्माणको म्याद दुई वर्ष थपिएको थियो । रु नौ करोडको लागतमा निर्माण गरिने पुल बल्ल सुरु भएको छ । मनाङको विकास निर्माणको काम गर्न भौगोलिक समस्याका कारण काम गर्न नसकेको कम्पनीले जनाउँदै आएको छ । आफूहरुले काम गर्न छाडेको भन्दा पनि मौसम प्रतिकूलताले गर्दा काम गर्न नसकिएको कम्पनीका प्रतिनिधि सोम गौचनले बताउनुभयो । “कहिले बाढी, कहिले हिउँ त, कहिले कोरोनाको समस्याले पनि निर्माणको काम ढिलो भएको हो । हिउँदमा हिउँले काम गर्न सकिदैन । वर्षामा बाटो राम्रो हुँदैन । अब चालु वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेका छौं,” उहाँले भन्नुभयो । तात्कालीन जिविसबाट ठेक्का लगाएर बजेट समेत निकासा भइसकेका मनाङका आधा दर्जनभन्दा बढी पुल आठ वर्ष हुँदासम्म निर्माण हुन सकेका छैनन् । ठेकेदार कम्पनीले ठेक्का मात्रै ओगटेर काम नगरेपछि सबैजसो निर्माणको काम हुन नसक्दा समस्या भएको स्थानीयवासीको गुनासो थियो । ठेकेदार कम्पनीले समयमा काम गर्न नगरिदिदा मुख्य सडकमा नै कतै काठको पुल बनाएर सवारी साधन सञ्चालन भएका छन् भने कतै खोलाबाट नै तर्न बाध्य भएका छन् । पुरानै ठेक्कामा अल्झाइरहेको क्याराभानलाई नै पछिल्लो समय घोप्टेखोलाको बेलीब्रिज पुल निर्माणको काम दिइएको छ तर तोकिएको समयभन्दा केही ढिला गरी निर्माण सम्पन्न भएको छ । निरन्तरको प्रयास पछि बल्ल निर्माण कम्पनी सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । सम्पर्कमा आएर बाँकी पुल निर्माणको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको उहाँले बताउनुभयो । “लामो समयदेखि काम नगरी सम्पर्कविहीन रहेको निर्माण कम्पनीको गुनासो आइरहन्थ्यो । हामी फिल्डमा जाँदासमेत काम हुने अवस्था नदेखिएपछि कम्पनीका प्रतिनिधिलाई बोलायौँ”, प्रजिअ आचार्यले भन्नुभयो, “भदौ २५ गतेभित्र सामग्री र कामदार ल्याउने तथा तुरुन्तै काम थाल्ने सहमति भएको छ । अब काम हुने अपेक्षा गरिएको छ । सहमतिअनुसार काम भएन भने कानुनबमोजिम कारबाही अगाडि बढ्नेछौँ ।” ठेकेदार कम्पनीले काम नगरेपछि मनाङवासीले पटक–पटक सम्बन्धित निकायमा उजुरीसमेत दिँदै आए पनि कसैको चासो नपुगेको उनीहरूको गुनासो थियो । ठेक्का लागिसकेको स्थानमा पुल निर्माण नहुँदा गत हिउँदमा स्थानीयवासीले एकजुट भएर काठको पुल निर्माण गरी सहज बनाएका छन् । मनाङको यात्रा काठे पुलकै भरमा यात्रा हुने भएकाले जोखिम बढिरहेको छ । डुम्रे–बेँसीसहर–चामे सडकखण्डमा २१ वटा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिए पनि बजेट भने विनियोजन भएको छैन ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न सङ्गठनले यही भदौ २ गते सुर्खेतस्थित डिभिजन वन कार्यालयबाट वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ परेका धनीराम लामिछानेको मृत्यु भएको घटनापछि अरु कर्मचारीलाई पक्राउ गरिएकामा विरोध गरेका छन् । उनीहरूले कर्तव्य पालनाकै क्रममा कर्मचारीलाई प्रशासनले निगरानीमा लिएको भन्दै नेपाल वन प्राविधिक सङ्घ, फेरेष्ट टेक्निसियन इसोसियसन अफ नेपाल तथा जुनियर वन प्राविधिक सङ्घले सो मृत्युपछि जारी अनुसन्धानको विषयलाई लिएर विरोध गरेका हुन् । ती सङ्गठनले विज्ञप्ति प्रकाशन गर्दै कर्तव्य पालनाको सिलसिलामा प्रशासनले निगरानीमा लिएका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वनरक्षक पिउषराज तिवारी तथा सुरेन्द्र रानालाई कार्यक्षेत्रमा अविलम्ब फिर्ता पठाउन माग गरेका छन् । वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ पर्नुभएका ५८ वर्षीय लामिछानेले आत्महत्या गरेको विभिन्न तथ्य र प्रमाण बाहिर आएका र यसका लागि अनुसन्धानका लागि भन्दै निर्दोष कर्मचारी पक्राउ गर्नु गलत भएको भन्दै पक्राउ परेका कर्मचारीलाई तत्काल रिहा गरी कार्यक्षेत्रमा फिर्ता पठाउन नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष गायत्री कार्कीले माग गर्नुभयो । –––
नेपाल राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको छ । सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने उनले बताए । २० भदौपछि मात्रै कहाँ(कहाँबाट नयाँ नोट साट्न सकिने भनेर सूचना प्रकाशित गर्ने तयारी रहेको उनले उनले बताए । काठमाडौं उपत्यका बाहिर पनि बैंक तथा वित्तीय संस्थामार्फत नै आवशयकता अनुसार राष्ट्र बैंकको प्रदेश स्थिति कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने उनले बताए । प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने उनले बताए । ‘राष्ट्र बैंक्सँग साना दरका १० अर्ब भन्दा बढी नयाँ नोट मौज्दात छ, भने केही छपाई भएर आउने क्रममा छ,’ उनले भने, ‘गत वर्ष ८ अर्बको नयाँ नोट सटही भएको यो वर्ष केही कम माग हुन्छ भन्ने अनुमान छ, सोही अनुसार हामीले तयारी गरेका छौं ।’