काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
काठमाडौं: सत्ता गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले भदौ पहिलो साताभित्र तालमेलको सबै प्रकृया टुग्याउने सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सहमति भएको अन्नपूर्णलाई जानकारी दिए । उनले भने, चुनावसम्म नै तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । भदौ पहिलो साताभित्र तालमेलको प्रकृया टुग्याउन कार्यदल गठन गरिनेछ । सरकारले बिहीबार संघ र प्रदेश सभाको निर्वाचन आगामी ४ मंसिरमा गर्ने जनाएको छ। योसँगै गठबन्धनका दलहरु चुनाव तालमेलबारे तीव्र छलफलमा जुटेका छन्।
झापा: झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।
काठमाडौं: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेकाले अबको दुई/तीन दिन मनसुन कमजोर भई वर्षा कम हुने विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १ र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २६ दशमलव छ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव चार डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३ दशमलव आठ डिग्री सेल्सियस छ ।
चितवनको भरतपुर-२९ केराबारीमा पहिरो जाँदा फेरि पनि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुई वटा डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सबै पहिरो हटाएर बाटो खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ । पहिरो हटाउन सुरुमा तीनवटा डोजर प्रयोग गरिए पनि एउटाको टायर पन्चर भएपछि अहिले दुईवटा डोजरमात्र प्रयोग गरिएको छ । केराबारी मौरीपुल क्षेत्रमा पटक पटक पहिरो गएर सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाएका छन् । गत सोमबार यही स्थानमा पहिरो जाँदा यात्रुहरु झण्डै २४ घण्टासम्म जाममा परेका थिए । बुधबार पनि पहिरो गएर बाटो अवरुद्ध भएको थियो ।
जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जाने तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो पठाउने विषयमा सहजीकरण गर्ने निर्णय गर्दै नेपाल–जापान संयुक्त कार्यसमितिको बैठक सम्पन्न भएको छ । काठमाडौँमा आज सम्पन्न बैठकमा जापानको स्पेसिफाइड स्किल वर्कर्स (एसएसडब्लु) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउने विषयमा छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट एसएसडब्लु प्रणालीअन्तर्गत नेपालबाट कामदार उपलब्ध हुने विषयको जानकारी रोजगारदातालाई गराउने तथा नेपाल–जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानको समसामयिक कानूनी व्यवस्था समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने विषयमा छलफल भएको थियो । संयुक्त कार्यसमितिको तेस्रो बैठक जापानमा आयोजना गरिने दुवै पक्षबीच सहमति भएको छ । संयुक्त कार्यसमितिको पहिलो बैठक सन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट बसेको थियो । पहिलो बैठकको सहमतिअनुसार जापानमा केयरगिभर, कृषि, निर्माण क्षेत्र र रेष्टुरेन्टमा करिब ८५० नेपालीले रोजगारी प्राप्त गरेका छन् । सन् २०१९ मा नेपाल र जापानबीच ‘स्पेसिफाइड स्किल वर्कर्स’ (एसएसडब्लु) प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्नेगरी श्रम समझदारी भएको थियो । सो प्रणालीअन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा नेपालीले रोजगारी पाउने जनाइएको छ । बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि हिमालचन्द्र अर्याल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवार र मन्त्रालयका उपसचिव डा थानेश्वर भुसाल र जापानी प्रतिनिधिमण्डलको तर्फबाट सहायक उपमन्त्री चोमुतो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डलले भौतिकरुपमा सहभागिता जनाएको थियो । जापानका सम्बद्ध निकायका अन्य प्रतिनिधिले भर्चुअल माध्यमबाट सहभागिता जनाएको मन्त्रालयले जनाएको छ । बैठकको शुभारम्भ गर्दै श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले नेपाल–जापान श्रम समझदारी पत्र कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सम्बन्धमा संयुक्त कार्य समितिको बैठकलाई शुभकामना दिनुभएको थियो । जापानी प्रतिनिधिमण्डलद्वारा श्रममन्त्रीसँग भेटवार्ता बैठकपछि जापानी सहायक उपमन्त्री चोमुतो नेतृत्वको प्रतिनिधिमण्डलले श्रममन्त्री शेरबहादुर कुँवरसँग भेटवार्ता गरेको छ । भेटमा भाषा परीक्षा उत्तीर्ण भएका र सीप सिकेर बसेका नेपाली कामदारलाई तत्काल जापानमा रोजगारीका अवसर उपलब्ध गराउने बारेमा छलफल भएको थियो । सो अवसरमा मन्त्री कुँवरले पाँच हजार बढी नेपाली रोजगारीका लागि जापान जाने तयारीमा रहेको जानकारी गराउनुभएको थियो । भेटमा उपमन्त्री चोतुमोले आजको गोष्ठी नेपाली कामदार जापान लैजानका लागि सकारात्मक भएको विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले अहिले जापानमा कामदारको माग धेरै भएकाले (एसएसडब्लु) मार्फत पाँच हजार बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको र श्रम सम्झौता कार्यान्वयनमा ढिलाइ भएकामा चासो व्यक्त गर्दै नेपाली कामदारलाई जापान लैजान भइरहेका समस्या समाधान गरी रोजगारीको बाटो खुला गर्न आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो । केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले, ‘अब प्रदेश तथा प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना योजना बन्छ, त्यही अनुसार म्यादी प्रहरीको भर्ना खोलिन्छ ।’ सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुन्छ । चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ । स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले चाहिँ १ लाख १९ हजार म्यादी प्रहरी माग गरेको थियो । प्रहरी नायब महानिरीक्षक (डीआईजी) समेत रहेका प्रवक्ता राई भन्छन्, ‘विगतमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर म्यादी प्रहरीको भर्ना गर्ने प्रस्ताव लैजान्छौं ।’ उनका अनुसार विगतमा झैँ यसपालि पनि पूर्वसुरक्षाकर्मीहरुले पनि प्राथमिकता पाउनेछन् ।
नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि सङ्क्रमण बढ्न थालेको बताइएको छ । नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको सङ्क्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । पहिले यहाँ सङ्क्रमणदर ०.५ प्रतिशतसम्म झरेकोमा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ । साउन १८ गते नौ सय १५ सङ्क्रमित, साउन १७ गते आठ सय १४, साउन १६ गते आठ सय ९५ सङ्क्रमित र एक जनाको निधन भएको छ । यस्तै साउन १५ गते छ सय २०, साउन १४ गते चार सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते पाँच सय ७७ जना र दुई जनाको मृत्यु, साउन १२ गते सात सय १० र दुई जनाको मृत्यु, साउन ११ गते पाँच सय ६४ र एक जनाको मृत्यु, साउन १० गते छ सय ३८ र दुई जनाको मृत्यु भएको छ । यसरी सङ्क्रमण दैनिक बढेर हजारको नजिक पुग्न थालेको छ । दैनिक सङ्क्रमण बढिरहेकाले नेपालमा कतै सङ्क्रमणको चौथो लहर आएको त होइन भन्ने लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको लहर ग्राफले देखाउने गरेको र अहिले देखिएको सङ्क्रमणको ग्राफले अर्को लहरको सङ्केत गरेको बताउनुभयो । सरकारले आधिकारिकरूपमा सङ्क्रमणको चौथो लहर भन्ने नगरेको र सङ्क्रमणको ग्राफले नै लहर बताउने गरेको उहाँको भनाइ रहेको छ । “हामीले पहिले पनि ग्राफ बढे पनि सङ्क्रमणको लहर भनेको थिएनौँ । अहिले पनि हामी भन्दैनौँ”, उहाँले भन्नुभयो, “तर अहिले सङ्क्रमणको ग्राफले आफैँ अर्को लहर देखाएको छ ।” स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले अहिले दैनिक बढिरहेको सङ्क्रमणले चौथो लहरको सङ्केत गरेको बताउनुहुन्छ । “सरकारले आधिकारिकरूपमा चौथो लहर भन्ने गरेको छैन । तर अहिले दैनिक हजारको सङ्ख्याले सङ्क्रमणको चौथो लहरको सङ्केत गरेको छ”, उहाँले भन्नुभयो, “यदि यसैगरी सङ्क्रमण बढ्न थाल्यो भने चौथो लहर नआउला भन्न सकिन्न ।” उहाँले सङ्क्रमण साउन र भदौमा धेरै माथि ९पिक०मा पुग्ने र त्यसपछि घट्ने बताउनुहुन्छ । खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा सङ्क्रमण देखिने गरेको छ । ती मानिसहरूले नै सङ्क्रमण सारिरहेका छन् । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले साउनदेखि नै कोरोना भाइरस सङ्क्रमणको चौथो लहर सुरु भएको बताउनुहुन्छ । “सङ्क्रमणको पाँच प्रतिशतभन्दा माथि भयो भने अर्को लहर आएको भन्ने हुन्छ”, उहाँले भन्नुभयो, “नेपालमा अहिले बढेको सङ्क्रमणको अवस्था हेर्दा १५ प्रतिशतकै हाराहारीमा रहेको छ ।” उहाँले अहिलेको सङ्क्रमणको तह माथिल्लो तह ९पिक लेभल०मा पुगेपछि पुनः घट्ने बताउनुहुन्छ । उहाँले भारतको खुला सिमाना र विदेशबाट आएका सङ्क्रमितले सङ्क्रमण सार्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले देखिएको ‘विएफाइव’ भेरियन्टले छिटो मानिसमा सारे पनि सङ्क्रमितलाई भने गम्भीर बनाउँदैन । उहाँले सङ्क्रमित बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड लागू गर्न र कोरोना भाइरसको चौथो बुष्टर लगाउन आग्रह गर्नुभयो । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । यस्तै दोस्रो सङ्क्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो सङ्क्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी (लकडाउन) गरेको थियो । नेपालमा पहिलो लहर विसं २०७६ चैतदेखि २०७७ मङ्सिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सङ्क्रमणका दोस्रो लहर विसं २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म देखिएको थियो । मन्त्रालयले सम्भावित सङ्क्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई सङक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको छ । यस्तै मन्त्रालयले देशभरिका १७ अस्पताललााई सम्भावित जोखिमलाई ध्यानमा दिएर कोरोना भाइरसका बिरामीको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ । सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ । यस्तै कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ । मृतक अधिकांश खोप नलगाएका कोरोना भाइरसको सङ्क्रमणबाट छ महिनासम्म कसैको पनि निधन भएको थिएन । तर पछिल्लो दिनमा भने दैनिक एक वा दुई जनाको सङ्क्रमणबाट निधन हुने गरेको छ । साउन १ गतेबाट सङ्क्रमणबाट मानिस मर्न थालेका हुन् । पछिल्ला समय कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाएकामध्ये ८० प्रतिशतले खोप नलगाएको पाइएको छ । महाशाखाका प्रमुख डा गेलालले सङ्क्रमणबाट निधन भएकामध्ये ८० प्रतिशतले खोप नलगाएको र २० प्रतिशतले पूर्ण मात्राको खोप नलगाएको जानकारी दिनुभयो ।
गुल्मी: गत आर्थिक वर्ष २०७८/७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३५२ मिटर सडक कालोपत्र भएको छ । गुल्मीमा पूर्वाधार विकास कार्यालय, सङ्घीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्दैआएका छन् । मदन भण्डारी राजमार्ग आयोजनाबाट सडक कालोपत्र नै भएको छैन । बाँकी तीन कार्यालयबाट थोरै–थोरै मात्रामा सडक कालोपत्र भएको छ । कालोपत्र गरिएकामध्ये सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालयअन्तर्गतका ठेक्काबाट ८.५ किलोमिटर छ । तम्घास–रेसुङ्गा सडकअन्तर्गत गड्जुरादेखि माथिल्लो भागको तीन किलोमिटर सडक पक्की गरिएको छ । आशिष रामेछाप जेभीले भ्याटबाहेक कूल १५ करोड १९ लाखमा ६ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो । कालोपत्र नभएको बाँकी तीन किलोमिटरमा ग्राभेलिङदेखि नाली निर्माणसम्मको काम सकिएको छ । हालसम्म कम्पनीको नाममा ११ करोड ९६ लाख ८० हजार भुक्तान भइसकेको छ । तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी–नेटाखर्क– डुवा छिर्ने–पटौती–प्युठान सडकअन्तर्गत तीन किलोमिटर सडक पक्की भएको छ । सडकको खाम्सेपानी–चेक्मी खण्डमा रु चार करोडभन्दा बढीको लागतमा सडक कालोपत्र भएको हो । विसं २०७४ असार ३० गते पूर्वाधार विकास कार्यालयसँग बज्रगुरु कन्ट्रक्सन प्रालीले पूर्वाधार विकास कार्यालयसँग कामको सम्झौता गरेको थियो । कालोपत्रको काम पूर्णरुपमा नसकिए पनि ९५ भन्दा बढी काम सकिएकाले कार्यालयले पक्की सडकको सूचिमा राखेको छ । खाम्सेपानी–भुवनपानी–तल्लाखर्क–रातडाँडा–सेउघाअन्तर्गतको २.५ किलोमिटर सडक कालोपत्र भएको छ । विसं २०७४ असार ३० गते मोतिदान राजेश्वरी सुनिल समिर जेभीले भौतिक पूर्वाधार कार्यालयसँग सम्झौता गरेको थियो । कूल ४.५ किलोमिटर सडक कालोपत्रका लागि कम्पनीले भ्याटबाहेक रु नौ करोड ४६ लाख ७३ हजारमा सम्झौता गरेको थियो । अहिलेसम्म कम्पनीको नाममा रु चार करोड भुक्तानी भइसकेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी सूर्य भण्डारीले जानकारी दिनुभयो । सङ्घीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत एक सय १२ मिटर सडक कालोपत्र गरिएको छ । रेसुङ्गा नगरपालिकाको पुनारो बजारदेखि हाटबजारसम्मको सडक कालोपत्र गरिएको हो । कूल रु ८५ लाखमा सडक कालोपत्र, तीन सय दुई मिटर कालोपत्रमा थप, वडा नम्बर २ मा नाली निर्माण र रेसुङ्गा–७ मा कभर्ड हल निर्माण गरेको कार्यालयका सव–इन्जिनियर नारायण बुढामगरले जानकारी दिनुभयो । रुद्रवेणी–वामीटक्सार सडकअन्तर्गतको वामी बजारको दुई किलोमिटर सडक कालोपत्र गरिएको छ । सिद्धार्थ श्रेष्ठ जेभीले आर्थिक वर्ष २०७६÷७७ मा सडक डिभिजन पाल्पासँग सम्झौता गरेको हो । सडकको वेस पहिले नै तयार भइसकेको कार्यालयका इन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिनुभयो । गत आवमा रेसुङ्गा नगरपालिका–७ भेटेनरी कार्यालय जाने सडक कालोपत्र गरिएको छ । प्रदेश समपूरक कोषबाट रु ३४ लाख लागतमा दुई सय ४० मिटर सडक कालोपत्र भएको हो ।