पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

  नेकपा (एमाले)ले यही भदौ २० गतेभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।    भदौ १० गतेदेखि दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको चौथो केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भदौ २० भित्रमा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देशन दिएको बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।  पार्टीले समानुपातिकतर्फको बन्दसूचीका लागि उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुलन, समावेशी र अवसरको न्यायोचित वितरणलाई समेत ध्यान दिन जिल्ला कमिटीबाट सिफारिस गर्न निर्देशन दिएको छ । जिल्ला कमिटीले सिफारिस गरेको उम्मेदवारको प्रदेश कमिटीले आफ्नो राय भए सोसमेत उल्लेख गरेर केन्द्रमा पठाउने र केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको प्रत्यक्ष वा समानुपातिकतर्फको निर्णयलाई पुनःविचार गर्नसक्ने उहाँले बताउनुभयो ।    जिल्लाको सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको सिफारिस गर्नेछन् । यस्तै एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्ला कमिटीको बैठकबाट उम्मेदवारको सिफारिस गर्ने र प्रदेशसभा सदस्यको उम्मेदवारको सिफारिस पनि निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गर्नेछ ।    यसरी सिफारिस गर्दा जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो रायसमेत उल्लेख गरी सिफारिस गर्नुपर्नेछ । उहाँका अनुसार मातहतका कमिटीले प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका कम्तीमा एक जना महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेछ ।    एमालेले निर्वाचनका लागि उम्मेदवारको छनोटका पाँच वटा मापदण्ड तय गरेको छ । प्रचार विभाग प्रमुख गुरुङका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चिता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता तथा निर्वाचन कानूनबमोजिमको योग्यता रहेका छन् ।    लोकप्रियलाई टिकट   यस्तै पार्टीले जित्ने सम्भावना र संसदीय भूमिका प्रभावकारी भएकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै पार्टीले समानुपातिक उम्मेदवार नदोर्‍याउने निर्णय गरेको छ । उहाँले समानुपातिक वा कुनै पनि अप्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटी अवसर प्राप्त गरेका पार्टीका नेता, कार्यकर्ता वा समर्थकलाई पुनःसोहीमा दोहोर्‍याउने र पालैपालो वितरण प्रणाली लागू गरिने जानकारी दिनुभयो ।  यस्तै पार्टीले स्थानीय तह वा कुनै पनि तहमा बहालवाला जनप्रतिनिधिलाई राजिनामा गराएर प्रतिनिधि वा प्रदेशसभामा उम्मेदवार सिफारिस नगर्नेसमेत निर्णय गरेको छ । पहिलो पटक भएको कुनै पनि तहको निर्वाचनमा पराजित उम्मेदवार कसैलाई पनि प्रदेशसभा वा प्रतिनिधिसभाको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउनेसमेत निर्णय गरेको छ ।    बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ पार्टीले निर्धारण गरेको मापदण्ड पूरा भई योग्य उम्मेदवारको चयन गरी औपचारिक मनोनयन र बन्दसूचीको निर्णय गर्ने अधिकार भने केन्द्रीय कमिटीकोतर्फबाट केन्द्रीय सचिवालयलाई प्रदान गरेको छ ।   यसरी सचिवालय बैठकले गरेको उम्मेदवारलाई मनोनयन पत्र दिन र उम्मेदवारको बन्दसूची पेश गर्ने दलको केन्द्रीय कमिटीकोतर्फबाट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णयसमेत गरेको छ । बैठकले प्रत्येक मतदान केन्द्रमा निर्वाचन परिचालन बुथ कमिटी गठन निर्णय गरेको छ ।    स्थानीय निर्वाचनमा प्रत्येक कमिटीका सदस्यलाई घरधुरी ताकेर परिचालन गर्ने र पार्टीलाई आवश्यक पुर्‍याउन ६ प्रतिशत मत वृद्धिका लागि हरेक पार्टी सदस्यले नयाँ दुई भोट थप्ने पाँच भोट संरक्षण गर्ने नीति बैठकले लिएको उहाँले बताउनुभयो । बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि सुझावसहित पारित गरेको छ ।    सदस्यको समस्या समाधान   बैठकले दोहोरिएका सङ्गठित सदस्य नम्बरलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख गुरुङले दोहोरिएका सदस्यमध्ये सबैभन्दा पुरानो सदस्यको नम्बर कायम राखी बाँकी सदस्यलाई विशेष नम्बर दिने र त्यस्तो विशेष नम्बर १४ लाख ३१ हजारबाट १५ लाखसम्मको कल्स्टरमा व्यवस्थित गर्ने उल्लेख गरिएको बताउनुभयो ।    यसअघि पार्टीको सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो निर्णय केन्द्रीय कमिटी बैठकले निर्वाचन घोषणापत्र मस्यौदा कार्यदल, निर्वाचन परिचालन कमिटी, १२ विभागको सचिवको मनोनयन र तीन विभाग विस्तार, स्थानीय तह विकास विभागको निर्देशिका र नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि, पार्टीको वार्षिक बजेट र पार्टी प्रवेश गरेकाको व्यवस्थापनको कामसम्बन्धी प्रस्ताव, केन्द्रीय सल्लाहाकार परिषद्मा मनोनयन र केन्द्रीय कमिटीमा मनोनयन गरिएको प्रस्तावलाई अनुमोदन गरेको छ ।    बैठकले भारत प्रवासको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण र प्रतिष्ठानको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण गर्नका लागि खगराज अधिकारीको संयोजकत्वमा कार्यदल  गठन गरेको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजत्वमा स्थानीय तह  निर्वाचनमा अन्तरघात भएको सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले कामका प्रगतिबारे जानकारी गराएको थियो । –––

  रुकुमपूर्व ।  रुकुमपूर्वमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ भने बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी भए पनि अहिलेसम्म एक किलो आलु पनि बिक्री गर्न नसकिएको त्यहाँका किसानले बताएका छन् ।   अहिले उक्त गाउँपालिकाको तक, सेरा, दमचन, घुम्लिबाङ, मयाङ, गर, चारगाउँलगायत अधिकांश ठाउँमा फलेको आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले आफूहरूलाई सताएको वडा–१० निवासी  चेबाङ कृषक समूहकी सदस्य सातमाया बुढाले बताउनुभयो । त्यहाँ चक्लाबन्दी कार्यक्रममार्फत समूहले धेरै आलु उत्पादन गरेपछि बजारमा पठाउन नसक्दा आफूहरू समस्यामा परेको उहाँले गुनासो गर्नुभयो । अहिले आलु बजारमा बिक्री नहुँदा र घरमा पनि राख्ने ठाउँ नहुँदा बारीमै प्लाष्टिकले छोपेर राख्नुपर्ने बाध्यता रहेको सदस्य बुढाको भनाइ थियो ।   बर्खाको समय भएका कारण पानी पर्ने भएकाले बारीमै प्लाष्टिकले छोपेर आलु राख्दा पानी परेर कुहिन सक्ने र बारीमै खुलारूपमा राखेको आलुको स्वाद पनि बिग्रने उहाँले बताउनुभयो । “अहिले पुथा उत्तरगङ्गा गाउँपालिकाको सबै ठाउँमा आलु खन्ने काम धमाधम चलिरहेको छ ।”  सदस्य बुढाले भन्नुभयो, “आलु खनेर बारीमा थुपारेका छौँ, उत्तरगङ्गा नदीमा पुल नहुँदा पनि हामीले यहाँ उत्पादन गरेको आलु जिल्ला सदरमुकाम रहेको रुकुमकोटको बजारसम्म पु¥याउन पनि सकेका छैनौँ ।” उत्तरगङ्गा नदीमा पुल नहुँदा सवारी साधन वारपार गर्न नसक्ने र तकसम्म गाडी जान नसक्दा र आफूहरुले आलु बोकेर उत्तरगङ्गा नदी पार गर्न नसक्दा आलु घर तथा बारीमै थन्क्याएर राख्नुपरेको छ ।    यस्तै गाउँपालिकाको ११ नं वडा दमचनका नमूना कृषक समूहका सचिव हृदय बुढाले दमचनमा उत्पादन भएको आलुले बजार नपाएको गुनासो गर्नुभयो । दुःख गरेर गाउँवासीले लगाएको आलु बजारमा पु¥याउन नसक्दा कतिपयको आलु कुहिन सुरु गरेको उहाँको भनाइ थियो । उत्पादित आलुको मूल्य पनि आफूहरूले भनेजस्तो नभएको सचिव बुढाले बताउनुभयो । अहिले बजारमा आलुको मूल्य प्रतिकिलो  रु एक सय रहेको र आफूहरूले पनि आलु घरबाटै रु एक सयमा बेच्न खोज्दा ढुवानी खर्च पनि नउठ्ने पीडा सुनाउनुभयो ।   भूमे गाउँपालिका–९ का किसान धनबहादुर ओलीले पनि आफूले उत्पादन गरेको आलुले बजार नपाएको गुनासो गर्नुभयो  । आफूले उत्पादन गरेको र गाउँका अन्य मानिसले उत्पादन गरेको सबै आलु घरमै थन्क्याएर राख्दा आलु कुहिन थालेको उहाँको भनाइ थियो । आलु कुहिन सुरु गरेको र बजार व्यवस्थापनको सुरसार केही नदेख्दा किसानमा निराशा छाएको किसान ओलीले बताउनुभयो । यस्तै आलु ब्लक कार्यक्रम सञ्चालन भएको भूमे गाउँपालिकाको ७ नं वडामा उत्पादित आलु पनि घरमै थन्किएको छ । बीउ अभावका बेलामा खोजीखोजी लगाएको आलको उत्पादन राम्रो भए पनि बजारमा पु¥याउन नसक्दा विगतका वर्षहरू नै आफ्नो उत्पादन खेर गइरहेको किसानले बताउँदै आएका छन् । जिल्लामा कतै पनि सङ्कलन केन्द्र नहुँदा उत्पादनलाई पनि व्यवस्थितरूपमा राख्न नसकिएको उनीहरुले बताए  ।    एकीकृत कृषि तथा पशुपक्षी विकासरुकुमपूर्वको कार्यालयका प्रमुख पिताम्बर बस्नेतले आलुको बजार व्यवस्थापनमा भौगोलिक विकटताले केही समस्या भए तापनि किसानले मूल्य निर्धारण गर्न नसक्दा समस्या भएको बताउनुभयो । किसानले आफूले उत्पादन गरेको आलुको मूल्य बजारको मूल्यभन्दा चर्को भन्ने गरेका कारण पनि त्यहाँको आलु बजारसम्म पुग्न नसेको उहाँको भनाइ थियो ।

  काठमाडौँ ।  निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ ।       गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने तय गरेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थ मन्त्रालयबाट समग्र निर्वाचनको बजेट स्वीकृति र आयोगबाट निर्वाचनसम्बन्धी निर्देशिकाहरु जारी भएपछि त्यसका आधारमा सामग्रीहरुलाई अन्तिमरुप दिइने बताउनुभयो ।       आयोगका मतदाता शिक्षा तथा सूचना शाखाका प्रमुख अर्यालले विद्युतीय (डिजिटल) स्रोत सामग्रीको उत्पादनमा विशेष जाड दिइने र त्यसलाई सञ्चारमाध्यम, सामाजिक सञ्जाल  र अन्य माध्यमबाट प्रचारप्रसार गरिने जनाउनुभयो । कम खर्च र स्मार्टरुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि घरदैलोमा टोली पठाइएको थिएन । आयोगले श्रव्यदृश्य सामग्री र विभिन्न सन्देश तयार गरेर आयोगको आफ्नै फेसबुक, युट्युब, ट्वीटर, भाइबरमा नियमित प्रसारण गर्नेछ ।        आयोगले विशिष्ट व्यक्ति, लोकप्रिय कलाकार र व्यक्तित्वहरुलाई समेटेर निर्वाचनको महत्व, आचारसंहिताका व्यवस्थाका विषयका आधारमा सन्देश तयार गर्नेछ ।       स्थानीय तह निर्वाचनका लागि निर्वाचन तथा मतदाता शिक्षा नीति, २०७८ र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ स्वीकृत गरी कार्यक्रम सञ्चालन भएको थियो । आयोगले ब्रोसर, लिफ्टलेट, पर्चा, पम्प्लेट, नमूना मतपत्र, पोष्टरलगायतका सामग्री छपाइ गरेर वितरण पनि गरिसकेको र कसरी मतदात गर्न सकिन्छ भन्ने सही तरिकाबारे बुँदागत सर्कुलर पनि गरेको थियो । गत निर्वाचनमा आयोगले निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदान स्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदानस्थलमा सम्बन्धित मतदान अधिकृतहरुको नेतृत्वमा खटिने मतदान टोलीबाट मतदाता परिचयपत्रको वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्रलगायत पोष्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरेको थियो । उक्त अवधि अपुग भएको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।       मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जान भन्ने, मतपत्रमा स्वस्तिक छाप लगाइ मतदान गर्ने तरिकाको बारेमा मतदातालाई मतपत्रमा सात निर्वाचन चिह्नमा मतसङ्केत गरी मतदान गर्नुपर्नेजस्ता विषय मतदाता शिक्षामा समावेश हुनेछन् । आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका २०७६ मा लोकतन्त्र, निर्वाचन, समावेशीता र निर्वाचन, मतदाता नामावली, मतदान, समावेशी निर्वाचन र परिवर्तन, निर्वाचन विवाद र विवाद निरुपण, निर्वाचन र निर्वाचन चक्र, नेपालको निर्वाचन प्रणाली आदि विषय समावेश गरिएका छन् ।        निर्वाचनमा भाग लिने प्रयोजनका लागि चार निवेदन गरी जम्मा ८४ (चौरासी) वटा निवेदन प्राप्त हुन आएकोमा राजनीतिक दलबाट दर्ता हुन आएका निवेदनलगायत अन्य कागजातको अध्ययन र जाँचबुझ गर्दा जम्मा ७९ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको सङ्ख्या ८७ कायम भइसकेको छ ।

  पोखरा  । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा तेक्वान्दो खेलको छनोट सम्पन्न भएको छ ।   नवौंका लागि ग्योरोगी र पुम्सेतर्फ गरी कुल १६ जना खेलाडी प्रदेशस्तरिय प्रतिष्पर्धाका लागि छनोट भएका हुन् । कास्की जिल्ला तेक्वान्दो संघले विभिन्न तौल समुहमा खेलाडी छनोट गरिएको अध्यक्ष कुमार गुरुङले जनाएका छन् ।   छनोट भएका खेलाडी ग्योरोगीतर्फ पुरुष ५४ केजीमा अनुगमन विक, ५८ केजीमा अमृत गुरुङ, ६३ केजीमा राजकुमार चौधरी, ६८ केजीमा हेमन्त गुरुङ, ७४ केजी मुनी तौलमा आविष्कार बस्ताकोटी, ८० केजीमा सकिल लामगाडे र ८७ केजी मुनीतौलमा दपर्ण हमाल ठकुरी तथा ८७ केजी भन्दा माथीको तौलमा निरोज बहादुर नेपाली छनोट हुन सफल भएका छन् ।   त्यसै गरी महिला ग्योरोगीतर्फ ४६ केजी मुनी तौलमा स्विकृती केसी, ४९ केजी मुनीमा अनिषा परियार, ५३ केजी मुनीमा मोनालिशा मल्ल, ५७ केजी मुनीको तौलमा सन्जु घर्ती, ६२ केजी मुनीमा पार्वती श्रेष्ठ छनोट भएका छन् । पुम्सेतर्फ आयुष गुरुङ, अपर्णा अधिकारी र मिरा गुरुङ छनोट हुन सफल भएको अध्यक्ष गुरुङले जनाए ।   छनोट हुन सफल भएका खेलाडीहरुले यहि भदौ १६ देखि १८ गते सम्म पोखरामा सञ्चालन हुने प्रदेशस्तरिय छनोट खेलमा सहभागिता जनाउने छन् ।  

  पोखरा । पत्रकार विनोद धौलागिरीलाई खानेपानी तथा सरसफाई पत्रकारिता सम्मान प्रदान गरिएको छ । नेपाल खानेपानी तथा सरसफाई उभोक्ता महासंघले धौलागिरीलाई शुुक्रवार उक्त सम्मान प्रदान गरेको हो ।    खानेपानी सरससफाई प्रवद्र्धन विधामा कलम चलाउने पत्रकारलाई हरेक वर्ष उक्त सम्मान प्रदान गरिने महासंघका अध्यक्ष राजेन्द्र अर्यालले बताए ।    खानेपानी तथा सरसफाई प्रवद्र्धनको क्रममा जनकपुरबाट बिराटनगर जाने क्रममा बस दुर्घटनामा परी बिराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराईरहेका धौलागिरीकी छोरी आकाँक्षा शर्माले काठमाडौंमा उक्त सम्मान ग्रहण गरेकी थिईन् ।    वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नगद पाँच हजार सहित सम्मान पत्र शर्मालाई हस्तान्तरण गरेका थिए ।    ५० को दशकदेखि फोटो मार्फत पत्रकारिता शुरु गरेका धौलागिरी पोखराको आदर्श समाज माईक्रो न्युज, माछापुछ«े एफएम, अन्नपूर्ण एफएम लगायतका सञ्चार माध्यममा काम गरेको अनुभव छ । यसका अलावा उनले स्वतन्त्र लेखन पनि गरिरहेका छन् ।    पछिल्लो समय उनी खानेपानी तथा सरसफाई सम्बन्धि सामग्रि दिने वासखबर डट कमका सल्लाहकार सम्पादकको भुमिकामा छन् ।    छापा, रेडियो, टेलिभिजन र अनलाईन सञ्चार माध्यममा कार्यरत चार जना पत्रकारलाई उक्त सम्मान हरेक वर्ष प्रदान गरिने अध्यक्ष अर्यालले बताए । धौलागिरीलाई अनलाईन तर्फबाट सम्मानित गरिएको हो ।    हरेक वर्षको साउनदेखि अर्को वर्षको असार सम्म खानेपानी तथा सरसफाईसँग सम्बन्धित रहेर प्रकाशित तथा प्रशारित सामग्रीको सँख्याको आधारमा उक्त सम्मान प्रदान गरिने अर्यालको भनाई छ ।   

  लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको श्री कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रममा फुटबल टिम सिक्स ए.एम.ले दर खुवाएर तिज मनाएको छ ।   पोखरा महानगरपालिका वडा नं. १० मिलन टोलमा विगत १० वर्ष अगाडी बाट स्वास्थ्यका लागि खेलकुद  भन्ने मुल नाराका साथ स्थापना भएको सिक्स ए.एम. क्लवले हिन्दुनारीहरूको महान पर्व हरितालिका तिज तथा बाबुको मुख हेर्ने दिन पारेर वृद्ध तथा बाल बालिकाहरुलाई दर खुवाउने कार्यक्रम गरी सम्मान गरेको छ ।   खेलकुदका सँग सगै सामाजिक कार्यमा समेत यूवाहरुको भुमिका महत्वपूर्ण हुने साथै यूवाहरुमा पनि वृद्ध प्रति सकारातमक सोच र व्यवहारको विकास गराउन यस किसिमको कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने क्लवका अध्यक्ष दिपेन्द्रप्रताप चन्द्रले बताएका थिए ।  

      पोखरा । माझठाना—पोखरा सम्पर्क समाजको आयोजना एवम् रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ ।   रक्तदान जीवनदान भन्ने मूल नारा सहित अमरसिंह चोकमा आज आयोजित खुल्ला रक्तदान कार्यक्रममा चार महिला तथा तीन जना नयाँ रक्तदाता सहित ३२ जनाले रक्तदान गर्नुभएको हो ।   जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले पहिलो रक्तदाता रामचन्द्र तिवारीलाई व्लड व्याग हस्तान्तरण गर्दै रगतको विकल्प नभएको हुँदा रक्तदानमा सहभागि बन्न युवा वर्गलाई आव्हान गर्नुभयो ।   समाजका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २८ वडाअध्यक्ष एवम् संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, संस्थाका सल्लाहकार ऋषिराम लामिछाने, हरि बास्तोला, सूर्य तिवारी, निवर्तमान अध्यक्ष दुर्गादत्त भुर्तेल, संस्थाका पदाधिकारी लगायतले रक्तदातालाई रक्तदानको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।  

  लेखनाथ। पोखरा–१५ मा रहेको वेलनन एकेडेमीका कक्षा–११ म नवआगन्तु विद्यार्थीहरुलाई  स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।    प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं. १५ का बड़ा अध्यक्ष  तोरण कुमार वानियाले विद्यार्थीहरुको जिवनको बाटो देखाउने माध्यम शिक्षा रहेको र यस सँगै बानि, व्यवहार आचरण पनि सकारात्मक रहनुपर्ने विचार राखेका थिए ।   विद्यालयका संस्थापक निर्देशक शान्तवहादुर गुरुङ्गले विद्यार्थीहरूको उज्वल भविष्यको निम्ती असल र सहि मार्ग निर्देशक भनेको नै शिक्षा रहेको र विद्यार्थीललो असल र व्यवहारिक बन सुभाव दिइका थिए ।   विद्यालयका प्राचार्य  आनन्दराज अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अधिकारीले जिवनमा सफलता प्राप्त गर्नको निम्ती विधार्थीहरु व्यवहारिक बन्नु पर्नेमा जोड दिएका थिए ।  कक्षा–१२ का  विद्यार्थी  मन्दिप गिरीले  स्वागत मन्तब्य राख्यको कार्यक्रमको संचालन विद्यालयका संस्थापक सह प्राचाच श्री शिवहरी सुवेदी ले गरेको शिक्षक सुनिल सुबेदीले जानकारी दिएका छन् ।  

  पोखरा । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरेको महिला ‘टग अफ वार’(डोरी तान्) प्रतियोगिताको उपाधी हिमला आमा समुहले हात पारेको छ । महिला ‘टग अफ वार’ प्रतियोगितामा हिमला आमा समुह पोखरा २७ ले पहिलो स्थान संगै नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए । कुल २४ टीमको सहभागीता रहेको उक्त प्रतियोगितामा बगर महिला समुह पोखरा १ ले दोश्रो स्थान सहित नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने पोखरा २६ मा रहेको जनकल्याण महिला समुहले तेश्रो स्थान सहित नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।    त्यसैगरी कुल २० जना सहभागीता रहेको एकल महिला नृत्य तर्फ तारा नेपाली प्रथम, सोनिया बानिया दोश्रो, सीता परियार( मादी) तेश्रो र पवित्रा भुषालले शान्तवना स्थान हासिल गर्न सफल भइन । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र शान्तवना स्थान हासिल गर्नेले क्रमश नगद २०००, १५००, १००० र ५०० रहित प्रमाणपत्र प्राप्त गरे ।     प्रतियोगितामा विजयीहरुलाई रुपा गाउपालिकाका अध्यक्ष नवराज अधिकारी, खेलकुद महासंघ गण्डकी प्रदेश अध्यक्ष विष्णु पुन, खेलकुद महासंघ कास्की अध्यक्ष दुर्गादत्त पोखरलेल लगायतले पुरस्कार प्रदानन गरेका थिए ।    उक्त प्रतियोगिताको उद्घाटन गर्दै नेकपा एमाले कास्कीका ईन्चार्ज कृष्ण थापाले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा कास्कीबाट  ४ जना महिलालाई उमेदवार उठाउने बताए का छन । तीनवटा निर्वाचन क्षेत्र  रहेको कास्कीबाट संघमा एक र प्रदेशमा तीनजना महिला उमेदवारका रुपमा उठाउने र त्यसको टुंगो समेत लागिसकेको वताए ।   एमालेको लाल किल्लाको रुपमा चिनिने कास्कीमा यो पटकको संघ र प्रदेश निर्वाचनमा एमालेले महिलालाई पार्थमिकतामा राखेको वताउदै थापाले  कास्कीको तीन निर्वाचन क्षेत्र मध्य संघमा एक र प्रत्येक निर्वाचन क्षेत्रमा लक्षित गरी प्रदेश सभामा तीन जना महिलालाई उमेदवार बनाउने र त्यसको टुंगो समेत लागिसकेको बताएका हुन ।    त्यसैगरी थापाले हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा पांचदलिय गठबन्धन संग एमाले एक्लै चुनामा जांदा एमालेका उमेदवारहरु हारेतापनि निर्वाचनको परिणामले नेकपा एमाले पहिलो दल भएकाले कुनैपनि हालतमा पांचदलको गठबन्धनको उमेदवारलाई पराजित गर्नेगरि सम्पुर्ण कार्यकर्ताले दृढ संकल्पका साथ लाग्नुपर्नेमा उनले जोड दिए । लोक तन्त्र र गणतन्त्र नचाहनेहरु सल्वलाईरहेको र पाँच दलिय गठबन्धन बिकास भन्दापनि आफ्नो स्वार्थमा लागेको उनको भनाई रहेको थियो ।   नेकपा एमाले कास्कीको उपाध्यक्ष तेजनारायण अधिकारिले महिला दिदीबहिनी  पुरुष भन्दा कम छैन भन्ने भनाईलाई यथार्थमा देखाउनका लागि खेलकुद महासंघले महिला ‘टग अफ वार’ प्रतियोगिता आयोजना गरि महिला दिदीबहिनी बीच सद्भाव कायम गराउन मुख्य भुमिका खेलेको वताउदै अधिकारीले पनि मंसिर ४ को निर्वाचनमा एमालेको पक्षमा मत बटुल्नका लागी अभियान चलाउन आवश्यक रहेको वताए ।    नेपाल खेलकुद महासंघ प्रदेश कमिटी गण्डकीका अध्यक्ष विष्णु पुनले खेलकुद महासंघ एमालेको कान्छो भातृ संगठन भएतापनि छोटो समयमा रचनात्मक काम संगै मौलिक खेलहरु संगै महिलाहरु लाई पनि डोरि तान्ने खेलहरुमा सहभागी गराएर अगाडि वढिरहेको र आफुहरुको संगठन पार्टीले अंगीकार गरेको बाटोमै अगाडि वढ्ने समेत वताए ।   नेपाल खेलकुद महासंघ जिल्ला कमिटि कास्कीको अध्यक्ष दुर्गा दत्त पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले पोखरा महानगर पोखरा २६ का अध्यक्ष राम चन्द्र तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने एमाले पोखरा २७ का अध्यक्ष सूर्यमणि लामिछाने लगायतले स्थानिय तहको निर्वाचनको समिक्षा गर्दै संघ र प्रदेश तहको निर्वाचनमा सवै तह र तप्काबाट कार्यकर्ताहरु लाग्नुपर्नेमा जोड दिएका थिए । नेपाल खेलकुद महासंघ जिल्ला कमिटि कास्कीका सचिव शिवराज सुवेदीले कार्यक्रमको सञ्चालन गरेका थिए  ।