काठमाडौं । जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७औँ जन्मोत्सव आज रक्तदान गरी मनाउनुभएको छ । उहाँ नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा जानु भई रक्तदान गर्नुभएको केन्द्रका निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । रक्तदानपछि अध्यक्ष लिङ्देनले भन्नुभयो, “मैले आफ्नो जन्मोत्सवका दिन रक्तदान गर्दै आइरहेको छु, मेरो रगत पाउने व्यक्तिलाई निको भइरहेको छ, मलाई पनि फाइदा भएको छ ।” केन्द्रका निर्देशक पौडेलले भन्नुभयो, “रक्तदानका बारेमा जनचेतना जगाउन आवश्यक छ । हरेक राजनीतिक दलका नेता र सामाजिक क्षेत्रका अगुवाले आफ्नो जन्मोत्सवमा रक्तदान गरेमा समुदायलाई रक्तदान गर्न उत्प्रेरणामा सहयोग मिल्ने छ ।”
पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कुनै पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी लालपुर्जा विहीन नहुने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं.१४ मा जग्गाधनी पुर्जाको निस्सा वितरण गर्दै प्रमुख आचार्यले नागरिकको संवैधानिक अधिकारको प्रत्याभुतिका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको हो । “वर्षौँदेखि यहाँहरूको अव्यवस्थित तरिकाले अन्यौलता बिचमा रहेका सबै कुराहरू सकिएका छन्, उहाँले भन्नुभयो, अव आफ्नो लालपुर्जा पाइँदैन कि भन्ने कुराको कुनै शङ्का छैन, तपाँईहरु सबैले प्राप्त गर्ने ठाउँमा पुग्नुभएको छ ।” मुलुक प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मुखमा रहेका कारण केही समय यो स्थगित हुन सक्ने भए पनि यसको निरन्तरतामा कुनै प्रकारको सङ्कोच नराख्न उहाँले विश्वास समेत दिलाउनुभयो । राज्यले तोकेको मापदण्डमा रहेर मिले हाल बसिरहेकै स्थानमा नभए उपयुक्त स्थानको खोजी गरेर भए पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई उचित व्यवस्थापन गरिने उहाँले बताउनुभयो । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोखरेलले आफूहरू निस्सा लगत्तै जग्गा धनी पुर्जा वितरणको तयारीमा रहेको बताउनुभयो । कास्कीमा पनि यस अभियानको सुरुवात गरिएको जनाउँदै उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको निस्सालाई कमजोर नआँक्न सुझाव समेत दिनुभयो । जग्गा प्राप्ति अघिको लालपुर्जाका रूपमा यसलाई बुझ्न उहाँले आग्रह गर्नुभयो । पोखरा महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष बोध बहादुर कार्कीले मङ्गलवार १०० जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण गरिएको जानकारी दिनुभयो । आफ्नो वडामा ७०० वटा निवेदन परेको जनाउँदै उहाँले क्रमशः सबैलाई निस्सा वितरण गर्ने बताउनुभयो ।
पूर्वी नवलपरासी । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । कावासोतीको फिल्महल चोक, सभापति चोकलगायत स्थान जलमग्न भएका हुन् । पानीको सतह बढेपछि कावासोतीको मुख्य बजारक्षेत्रमा पानी जमेको छ । नारायणघाट–बुटवल सडकखण्ड विस्तारको क्रममा सडकका नाली र ढल भत्काइएका कारण पानी बग्न नपाएपछि डुबान भएको हो । नगर क्षेत्रका सबै सडक जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सास्ती खेप्नु परिरहेको छ । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । बुटवल–नारायणघाट सडकको काम समयमै सम्पन्न नहुँदा घाम लाग्दा बेस्सरी धुलो उड्ने र पानी परेपछि हिलाम्य हुने समस्याले सकस भएको स्थानीयले बताएका छन् । “सडकको कालोपत्र भत्किएर बनेका ठूला खाल्डामा पानी जम्दा आवतजावतमा समस्या भएको छ”, स्थानीय रमेश थापाले बताउनुभयो । वर्षातको पानीले निकास नपाउँदा बजार क्षेत्र आसपासका विद्यालय, अस्पताल, सरकारी कार्यालयलगायतमा पानी पसेको उहाँले बताउनुभयो ।
पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ का भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेल लगायतले संयुक्त रूपमा उनीहरूलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गर्नुभएको हो । सो क्रममा प्रमुख आचार्यले निस्सा आफैमा लालपुर्जा नभए पनि लालपुर्जा पाउने कुराको ग्यारेन्टी भएको बताउनुभयो । “अहिले निस्सा वितरणको काम सुरु भएको छ, यो निस्सा आफैमा लालपुर्जा होइन, तर लालपुर्जा पाउने कुराको ग्यारेन्टी हो, उहाँले भन्नुभयो, जोखिम स्थानहरूमा जमिन वितरण गर्न सक्दैनौँ, मापदण्ड भित्रका क्षेत्रमा पनि वितरण गर्न सक्दैनौँ, तर सुरक्षित स्थानमा उचित व्यवस्थापन अवश्य गर्नेछौँ ।” अव यो सबै प्रक्रिया पुरा गरिसकेपछि कास्की जिल्लामा भूमिहीन कोही पनि नरहने उहाँले विश्वास व्यक्त गर्नुभयो । “नपाउने कोही पनि हुनुहुन्न, अव यो सबै प्रक्रिया पुरा गरिसकेपछि कास्की जिल्लामा भूमिहीन कोही पनि रहन्न, अव पछि आएर कसैले बाँस गाडेर हामी हौँ भन्नुभयो भने हामी उहाँहरूलाई भूमिहीन सुकुम्वासी भन्न तयार छैनौँ ।” प्रमुख आचार्यको भनाई छ । उहाँका अनुसार महानगर भित्र यस प्रकृतिको कुल सङ्ख्या १९ हजार ८ सय ५६ नै अन्तिम हो । पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले कुनै पनि नागरिक भूमिहीन हुन नपरोस् भन्ने मान्यताका आफूहरूको भए पनि लामो समय यसैमा अल्झनु परेको बताउनुभयो । सुकुम्बासीहरलाई भोट बैकका रूपमा प्रयोग गरिन्छ भन्ने राजनीतिक आरोपमा कुनै सत्यता नभएको गुरुङले स्पष्ट पार्नुभयो । उहाँले आफूहरू विशुद्ध नागरिकहरूलाई भूमिको मालिक बनाउने प्रक्रिया प्रति इमानदार रहेको बताउनुभयो । “तपाँईहरुले प्राप्त गरेको यो निस्सा भनेको तपाँईहरु भूमिहीन हो भन्ने कुराको प्रमाण हो, उपप्रमुख गुरुङले भन्नुभयो, यो प्रमाण लिएर अगाडी बढेपछि लालपुर्जा बन्ने कुरा रहन्छ ।” यो समस्यालाई आफूहरूले टुङ्गोमा पुराएर जाने उहाँले विश्वास दिलाउनुभयो । कुनै पनि नागरिक भूमिहीन बनेर बस्नु नपर्ने वातावरण तयार गर्ने उपप्रमुख गुरुङले बताउनुभयो । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेलले जग्गा प्राप्तिको बलियो प्रमाणका रूपमा वितरण गरिएको निस्सालाई कम नआँक्न आग्रह गर्नुभयो । पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले लामो समयको कसरत पनि भूमिहीनहरूलाई भूमिको मालिक बनाउने प्रक्रियामा आफूहरू रहेको बताउनुभयो । मङ्गलवार वडा नं. ६ का ६४ जना भूमिहीनलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ ।
काठमाडौं । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको छ । उपत्यका बाहिर रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्द फर्किएपछि उपलब्ध पदाधिकारी तथा बोर्ड सदस्यहरुको बैठक बसेर निर्णय गर्ने क्यानको तयारी छ । क्यानका कानुनी सल्लाहकारले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको कानुनी व्यवस्थाबारे अध्ययन गरिरहेका छन् । क्यान अध्यक्ष चतुर बहादुर चन्दका अनुसार आरोप लाग्नासाथ निलम्बन गर्ने वा दोषी प्रमाणित भएपछि मात्रै कारबाही गर्ने दुबै अभ्यास अन्तर्राष्ट्रिय स्तरमा देखिएको छ । अध्यक्ष चन्द भन्छन्, ‘आरोप लागिसकेपछि अनुसन्धानमा त सहयोग गर्नैपर्छ । तर जानीजानी उसलाई (सन्दीपलाई) मर्का पर्ने गरी निर्णय पनि गर्नु हुँदैन ।’ सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै एक बालिकाले प्रहरीमा उजुरी दिएकी छन् ।
तनहुँ । तनहुँ समाज हङकङले मुटु रोगबाट पीडित तनहुँको ऋषिङ गाँउपालिका–७ की ४३ वर्षीया चन्द्रमाया नेपालीलाई आर्थिक सहयोग गरेको छ । समाजले उहाँलाई रु एक लाख ७९ हजार सहयोग गरेको हो । डेढ दशकदेखि मुटु रोगबाट पीडित नेपालीलाई समाजका पूर्व अध्यक्ष भीमराज गुरुङ र श्रीराम आलेले उहाँकै घरमा गई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । रोजगारीको सिलसिलमा हङकङमा रहेकाहरुले उक्त रकम सङ्कलन गरेका हुन् । उहाँको हालै मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात थप औषधी सेवन गर्नुपरेकाले आर्थिक अभाव भएको अवस्थामा गरिएको सहयोगले उपचारमा मद्दत पुगेको गुरुङले बताउनुभयो । पीडित नेपालीका श्रीमान् डोलराजका अनुसार उपचार गर्न आर्थिक अभाव भएपछि तनहुँ हङकङ समाजलाई सहयोगका लागि आग्रह गरिएको हो । सामाजिक सेवामा सक्रिय समाजले यसअघि पनि थुप्रैलाई सहयोग गरेको छ । हङकङमा बसोबास गर्दै आएका नेपालीहरुले समन्वय गरी सहयोग रकम सङ्कलन गर्दै आएका कार्यक्रमका संयोजक प्रदीप काफ्लेले जानकारी दिनुभयो । समाजले एक दशकदेखि तनहुँको शिक्षा, स्वास्थ्य, खानेपानी, दैवीप्रकोपलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । वडा नम्बर ६ ले वडावासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ । वडावासी कोही पनि नछुट्न भनेर वडा कार्यालयले टोलटोलका नागरिकलाई पालैपालो परिचयपत्र वितरण गर्न थालेको हो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लावासीले सुरुआतमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय धाउँदै आएका थिए । पछिल्लो समयमा पायकपर्ने स्थानको पालिकाबाट उक्त सेवा लिन सकिने व्यवस्था मिलाइएको छ । टोल विकास संस्थासँग समन्वय गरेर पालैपालो परिचयपत्र वितरण गर्न लागिएको वडा सदस्य दिनेश प्रधानले जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्र आफ्नै टोलबाट पाउने व्यवस्था भएपछि वडावासी उत्साहित बनेका छन । जिल्ला सदरमुकाम जानुपर्दा समय बढी लाग्ने गरेकामा अहिले सजिलो भएको स्थानीय माधव न्यौपाने बताउनुभयो । यस अघि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सेवाग्राहीले लामो लाइन वस्नुपर्ने समस्या थियो । अहिले वडास्तरबाटै लिन पाउने व्यवस्था मिलाएपछि सेवाग्राहीलाई समय र खर्च बचत भएको छ । लाइन वस्नुपर्ने बाध्यता हटेको छ ।
पोखरा । धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले कर्पोरेशनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव जेल्नुपरेको हो । धान रोपेको एक महिनामा पहिलो पटक र दुई महिनापछि दोस्रो पटक धानमा युरिया मल प्रयोग गरिन्छ तर यस वर्ष दोस्रो पटक छर्ने बेलामा मात्र मल आएको छ, त्यो पनि न्यून मात्रामा । रासायनिक मलकै अभावमा यस वर्ष धान उत्पादनमा १५–२० प्रतिशत कमी आउने किसान बताउँछन् । कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख ठाकुरप्रसाद बाँस्तोलाले कास्की, मुस्ताङ र मनाङका लागि धान तथा तरकारीमा प्रयोग गर्न भदौमा मात्र चार सय ६५ टन आवश्यक पर्नेमा केन्द्रवाट एक सय ६० टन मात्र छुट्याइएकाले किसानले पर्याप्त मात्रामा मल पाउन नसकेको बताउनुभयो । कास्कीका ६५ कृषि सहकारीलाई समान रुपमा रासायनिक मल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । सरकारी अनुदानमा र सरकारी निगरानीमै कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३० प्रतिशत रासायनिक मल खरिद गरी किसानलाई सस्तो मूल्यमा बिक्री गर्ने जिम्मा पाएका छन् । अनुदानको युरिया मलमा सरकारको ८६ दशमलव सात र किसानको १७ दशमलव तीन प्रतिशत मूल्य पर्छ । किसानको राहतका लागि सरकारले अनुदान रकम छुट्याएको भए पनि यस वर्ष ४५ प्रतिशत अनुदान रकम घटाइ दिएको छ । विदेशबाट रासायनिक मल खरिद गरी सस्तो मूल्यमा बिक्री गर्ने जिम्मा लिएका ती कम्पनीले समयमै ल्याउन नसक्दा किसानले अभाव मात्र खेपेनन्, धान उत्पादनमा नोक्सान व्यहोर्नुपर्ने भएको छ । अघिल्लो आर्थिक वर्षमा सरकारले रासायनिक मल युरिया, डीएपी र पोटास खरिदका लागि रु २८ अर्ब अनुदान रकम छुट्याएकामा यस वर्ष रु १५ अर्ब मात्र छुट्याइएको सम्बन्धित कम्पनीका अधिकारी बताउँछन् । कास्कीमा साउनका लागि मात्र तीन सय टन युरिया मल आवश्यक पर्छ । हाल १६० टन मात्र छुट्याएर पठाएको छ । यसले किसानलाई पुग्दैन । कास्की, मुस्ताङ र मनाङका लागि छुट्याएको एक सय ६० टन युरिया मल यहाँका किसानलाई प्रर्याप्त छैन । “मल छिट्टै ल्याउने तयारीमा छौँ”, प्रमुख बाँस्तोलाले भन्नुभयो । साल्ट ट्रेडिङ कर्पोरेशन गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख वासुदेव उपाध्यायले अन्तर्राष्ट्रिय बजारमै रासायनिक मलको अभाव हुँदा समयमै ल्याउन नसकेको स्वीकार गर्नुभयो । कोरोनाकै कारण विदेशका केही रासायनिक मल उद्योग बन्द भएको र उनीहरुले आफैँलाई मात्र मल उत्पादन गरेका कारण खरिद गरेर ल्याउन कठिन भएको उहाँको भनाइ छ । खरिद गरेर ल्याएको रासायनिक मल बिक्रीका लागि कृषि सहकारीमा पठाउने गरिएको उपाध्याय बताउनुहुन्छ । सम्बन्धित किकायबाट अनुगमन नभएकै कारण ती कृषि सहकारीले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको पाइएको छ । रासायनिक मलमा केही सहकारीले बढी मूल्य लिएको भन्दै किसानले पोखरा महानगरीय कृषि महाशाखामा उजुरी दिएका छन् । महाशाखाका अनुसार कास्कीमा मात्र २५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ । पोखरा–१३ का विष्णु अधिकारीले रासायनिक मल अभावकै कारण किसान यतिबेला छटपटाइरहेको बताउनुभयो । किसानले समयमा मल नपाउँदा उत्पादन नै घट्ने अवस्था भएको उहाँ बताउनुहुन्छ । तरकारीमा छर्नका लागि मल नहुँदा उत्पादन घटेको छ । धान रोप्दा हिलोमा छर्ने डीएपी अभाव नभए पनि युरिया अभाव हुँदा किसान मर्कामा परेका हुन् ।
मोरङ । निजामती सेवा दिवस, २०७९ को अवसरमा आज यहाँ वृक्षरोपण गरिएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन मोरङद्वारा आयोजित कार्यक्रमअन्तर्गत विराटनगरको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि रोडशेष चोकसम्म दुई सय २५ बिरुवा रोपण गरिएको हो । सो अवसरमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहले निजामती सेवा ऐनको अभावमा प्रदेशमा कर्मचारी खटनपटनको समस्या देखिएको बताउनुभयो । उहाँले कर्मचारीको वृत्ति विकास र सेवाग्राहीले सुशासनको अनुभूति गर्न पाउने ऐनको अभावमा निजामती सेवामा अन्यौल मात्र होइन चुनौती पनि थपिएको बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निजामती सेवा ऐन जारी नहुँदा स्थानीय तह र प्रदेशमा पनि प्रशासनिक समस्या देखिएको उल्लेख गर्नुभयो । युनियन मोरङका अध्यक्ष फणिन्द्र अधिकारीले निजामती सेवामा देखिएको समस्यालाई समाधान गर्न सरकारले अध्यादेशबाट भए पनि ऐन ल्याउनुपर्ने सुझाव दिनुभयो । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ नारा दिइएकहो दिवसको अवसरमा मङ्गलबार सरसफाइ, आज वृक्षरोपण र बिहीबार फलफूल वितरण कार्यक्रम रहेको कर्मचारी मिलन केन्द्रका अध्यक्ष टङ्क गौतमले जानकारी दिनुभयो ।

