पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरप्रमुख राजेशमान सिंहका अनुसार सडक विस्तारका लागि सो क्षेत्रमा अनधिकृत रुपमा निर्मित घर, टहरालगायत संरचना हटाउन सूचना जारी गरिएको हो । गण्डक चोकदेखि विद्युत् गृह, घण्टाघर, माइस्थान, महावीर स्थान, आदर्शनगर, अलखिया मठ, बिर्ता मन्दिर, नारायणी अस्पताल, वीरगञ्ज भन्सार कार्यालय हुँदै दक्षिणमा शङ्कराचार्य द्वारसम्म सडकको दायाँबायाँ अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सूचना जारी गरिएको छ । सडकको दुवैतर्फ निर्माण भएका घरको महानगरपालिकाबाट नक्सा स्वीकृत भए नभएको सबुत प्रमाण लिइ ३५ दिनभित्र महानगरपालिका कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा सम्पर्क राख्न सरोकारवालालाई आग्रह गरिएको छ । सडकको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएको प्रमाणित भए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारबाही गरिने सिंहले बताउनुभयो । औषधि गोदाम सिल वीरगञ्जको औषधि कम्पनीको गोदाममा जिल्ला प्रशासन कार्यालयको टोलीले छापामारी सिल गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल नेतृत्वको अनुगमन टोलीले युपिएस फर्मा र जि फर्मा लिङ्कमा छापा मारेर गोदाम सिल गरेको हो । उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेलका अनुसार अनुगमनका क्रममा कम्पनीको गोदाममा म्याद नाघेका औषधि फेला परेपछि गोदाम सिल गरिएको हो । पौडेलको नेतृत्वमा मञ्च, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, औषधि व्यवस्था विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको संयुतm टोलीले गोदाममा छापा मारेको हो ।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानी बजारमा सिसि टिभी क्यामेरा र सडक बत्ती जडान गरिएको छ । पर्यटकीय बजारको रुपमा परिचित भुरुङ तातोपानीमा सिसि टिभी क्यामेरा र बत्ती जडान गरिएपछि चोरीका घटना र झैझगडामा कमी आउने अपेक्षा गरिएको छ । बजारका मुख्य चोकमा २५ सीसी टिभी क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको तातोपानी टोल सुधार समितिका सचिव अमृतमान शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार, गण्डकी प्रदेश सरकारको भौतिक पूर्वधार तथा शहरी विकास मन्त्रालयमार्फत विनियोजन भएको रु १० लाख बजेटबाट उक्त कार्य सम्पन्न गरिएको हो । बजारमा जोडिएका क्यामेराको रेखदेखको जिम्मा भने इलाका प्रहरी चौकी भुरुङतातोपनीको जिम्मा लगाइएको छ । प्राकृतिक उपचार स्थल र पर्यटकको थकान मेटाउने थलोको रुपमा परिचित तातोपानी कुण्डमा आउने आन्तरिक तथा बाह्य पर्यटकको चापलाई ध्यानमा राखि बजार क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सीसी क्यामेराबाट ठूलो मद्दत पुग्ने प्रहरीले जनाएको छ । बेनी–जोमसोम सडकखण्ड र अन्नपूर्ण पदयात्राले समेटिएको भुरुङ तातोपानीमा अत्यधिक पर्यटकीय गतिविधि हुने गरेको छ ।
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले पुष्टि गरेका छन्। सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको छ। नाबालिगको उजुरी हो, यसबारे थप विवरण म भोलि भन्छु, उनले भने,'मंगलबार साँझ नै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ।' हामीले यसबारे काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका प्रहरी र प्रहरी हेडक्वार्टरका विभिन्न अधिकारीसँग जानकारी लिएका थियौं। सबैले लामिछानेविरूद्ध उजुरी आएको पुष्टि गरे। काठमाडौं प्रहरी परिसरका एक उच्च अधिकारीले नाम नबताउने सर्तमा पीडित बालिकाको परिवारले लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएको बताए। उनका अनुसार लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको जाहेरीमा उल्लेख छ। त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग काठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको ती अधिकारीले बताए। स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको उनले जानकारी दिए। लामिछाने भदौ ६ गते टी-२० सिरिज खेल्न केन्या गएका थिए। सेतोपाटीबाट
मुस्ताङ : स्याउको राजधानीका रूपमा परिचित मुस्ताङको स्याउ यस पटक भने असोजको पहिलो सातामै बजार झर्ने भएको छ । सरोकारवाला निकाय र स्थानीय कृषकबीच समझदारी गरी यसै महिनाको २५ गतेदेखि स्याउ टिप्न र बिक्री वितरण गर्न खुला गरिएको हो । स्याउ यतिबेला बोटमा राताम्मे भएका छन् । सडक सञ्जालले छोएको र बेनी–जोमसोम सडक हुँदै मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङदेखि उकालो लागेपछि बाटो आसपासमा राताम्मे स्याउ अवलोकन गर्न पाइन्छ । मुस्ताङ घुम्न आएका पर्यटकले गाडी रोकेर सेल्फी खिच्ने, भिडियो बनाउनेसँगै कोसेलीका रूपमा किनेर लैजाने गरेको यहाँका स्थानीयवासी बताउँछन् । स्याउ पाकेसँगै टिप्ने र बजारसम्म पु¥याउन अबका केही दिन कृषकलाई भ्याइनभ्याइ हुन्छ । गत वर्षभन्दा यस वर्ष पाँच दिन अगाडिबाटै स्याउ टिप्न अनुमति पाएपछि यहाँका कृषक पनि उत्साहित बनेका छन् । अघिल्लो वर्ष असोजको १ गतेदेखि स्याउ टिप्न र बिक्री गर्न अनुमति दिइएको थियो । राम्रोसँग पाकेको स्याउका लागि असोज नै लाग्नुपर्ने तर्क पनि रहँदै आएको छ । स्याउ समयमै बजारसम्म नपुग्दा विगतमा घाटा बेहोर्नुपरेको अवस्थामा अहिले भने कृषक तथा व्यापारी दुवैलाई फाइदा पुग्ने अनुमान गरिएको छ । यस वर्ष स्याउको गुणस्तर र बजार व्यवस्थापन लोभलाग्दो रहने शीतोष्ण बागवाणी विकास केन्द्रका निमित्त केन्द्र प्रमुख विनयबाबु कोइरालाले बताउनुभयो । उहाँका अनुसार मुस्ताङको स्याउले बजार पाउन थालेदेखि यहाँको कृषकको दैनिकीमा सकारात्मक प्रभाव परेको छ । “हामी मुस्ताङको स्याउ गुणस्तरीय होस् भन्ने चाहन्छौँ”, उहाँले भन्नुभयो, “यस वर्ष सरोकारवाला निकायभन्दा पाँच दिन ढिला गरेर केन्द्रको स्याउ टेन्डर आह्वान गरेका छौँ ।” विगतका केही वर्षमा तोकिएको समयभन्दा अगाडि नै स्याउलाई बजारसम्म पुर्याउने परम्पराले मुस्ताङको स्याउप्रति नै नकारात्मक प्रभाव परिरहेको थियो । स्याउमा गुणस्तर नपाउनु र बजारमा मुस्ताङको स्याउ भनेपछि फरक तरिकाले हेर्ने अवस्थाभन्दा अहिले धेरै भिन्नता हुने कोइरालाको जिकिर छ । हाल केन्द्रमा उत्पादन हुने स्याउ धेरै पुरानो भए पनि नयाँ प्रविधिका स्याउ विस्तारै विकास भइरहेको कोइरालाले बताउनुभयो । अब भने बर्सेनि मुस्ताङको स्याउ उचित समयमा बजारसम्म पुग्ने र गुणस्तरमा पनि कुनै कमी नआउने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसैगरी दसैँ नजिकिँदै गर्दा आन्तरिक तथा बाह्य पर्यटकको चाप दिनहुँ बढ्ने र मुस्ताङमा पर्यटकीय केन्द्र निर्माणमा सरोकारावाला निकाय जानकार हुनुपर्ने टड्कारो अवस्था देखिएको छ । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका सफल युवा कृषक निरज तुलाचन दसैँ तिहार जस्तो प्रमुख याममा स्याउको बिक्री वितरणमा व्यापारीहरूले कुनै पनि कसर बाँकी नराखी सकारात्मक भूमिका निभाएमा यहाँको स्याउलार्ई देशैभरि प्रचारप्रसार गर्न सकिने बताउनुहुन्छ । स्याउ खेती लगाउन र यसको व्यवस्थापन गर्न अगाडि आउन चाहने कृषकलाई निःशुल्क परामर्शसहित सोही स्थानलाई व्यवस्थित पर्यटकीय हब निर्माणमा सहयोग गर्ने अर्का व्यवसायी निरज तुलाचनको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मुस्ताङको बगैँचामा एकछिन रमाउने वातावारण तयार गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । मुस्ताङभित्रका सुन्दर स्याउ बगैँचालाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने तुलाचनको भनाइ छ ।
काठमाडौँ : नेपालकी सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेतको गोलमा छैटौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । नेपालले खेलको पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल थप्यो । नेपालकी चर्चित फरवार्ड खेलाडी सावित्राले खेलको पहिलो हाफको १२ औँ मिनेटमा एक गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् । भुटानकी गोलरक्षक सङ्गीता मोनगेर गोलपोष्टबाट अघि बढ्दै बल क्यिर गर्न खोज्ने क्रममा नेपालकी अमिशा कार्कीले दिएको पासलाई सदुपयोग गर्दै सावित्राले गोल गरिन् । यसै खेलबाट राष्ट्रिय सिनियर टिममा अमिशाले डेब्यु गरेकी हुन् । यसैगरी खेलको ६८ औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरिन् । खेलको दोस्रो हाफको सुरुआती समयमा नै मैदान प्रवेश गरेकी रेखाकुमारी पौडेलको पासलाई सदुपयोग गर्दै सावित्राले वान भर्सेस वान टचमा गोल गरेकी हुन् । खेलको ७३ औँ मिनेटमा नेपालकी मिडफिल्डर अनिताले भुटानका दुई मिडफिल्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरिन् । खेलको ८५औँ मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाइन् । नेपालकी अनिता केसीको क्रस बललाई भुटानी गोलरक्षकले पञ्च गरेर बाहिर फालेको बललाई सदुपयोग गर्दै अनिताले गोल गरेकी हुन् । खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले खेलको पहिलो हाफमा वर्षाका कारण खेलाडीले सोचेअनुरुपको खेल प्रदर्शन गर्न नसकेकेको बताउनुभयो । उहाँले खेलको दोस्रो हाफमा भने खेलाडीले राम्रो खेलको बताउँदै भुटान राम्रो टोली भएको टिप्पणीसमेत गर्नुभयो । त्यसैगरी भुटानकी सहायक प्रशिक्षक टङ्कमाया घलेले नेपाल फिजिकली रुपमा स्ट्रोङ भएको कारणले पनि आफ्नो टोली पराजित हुन पुगेको बताउनुभयो । उहाँले अर्को खेलमा भने राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । नेपालले अब यही भदौ २७ गते समूह चरणको दोस्रो खेल श्रीलङ्कासँग खेल्नेछ । साफ च्याम्पियनसिपअन्तर्गत भोलि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे डिफेन्डिङ च्याम्पियन भारत र पाकिस्तानबीच हुनेछ । दोस्रो खेल बङ्गलादेश र माल्दिभ्सबीच हुनेछ । उक्त खेल ५ः३० बजे हुनेछ ।
पोखरा : आगामी मंसिर ४ गते हुन लागेको प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १३ र समानुपातिकमा १० जनाको नाम सिफारिश गरेको छ । पार्टीले गरेको सिफारिशको आधारमा प्रत्यक्षमा प्रतिनीधि सभातर्फ ५ जना, प्रदेशसभा क मा ५ र ख मा ३ जनाको नाम उल्लेख छ । त्यस्तै समानुपातिकतर्फ प्रतिनीधिसभामा २ जना र प्रदेशसभामा ८ जनाको नाम सिफारिश भएको राप्रपा कास्कीले बताएको छ । प्रत्यक्ष प्रतिनीधिसभातर्फ कास्की १ मा राप्रपाको तर्फबाट सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङसँगै देऊबहादुर गुरुङ, बाबुराम थापा, कृष्णप्रसाद रेग्मी र शालिकराम घिमिरे छन् । राप्रपा केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग लमजुंग स्थायी घर भएका नेता भएपनि कास्की १ बाट सिफारिश भएका हुन् । त्यस्तै प्रत्यक्ष तर्फ कास्की १ क मा सन्तोष घिमिरे, प्रकाश सापकोटा, हरिबहादुर घर्ती क्षेत्री, हरिप्रसाद धमला र रमेशराज पौडेलको नाम सिफारिश भएको छ । त्यस्तै प्रदेश ख मा सूर्यबहादुर गुरुङ, सन्दीप कुँवर र सचिन थापाको नाम सिफारिश भएको छ । त्यसैगरि समानुपातिकतर्फ प्रतिनीधिसभाका लागि कास्की १ बाट भीमसेन गुरुङ र बलराम तिवारीको नाम सिफारिश भएको छ । प्रदेशतर्फ भने राप्रपाका कास्की जिल्ला अध्यक्ष समेत रहेका नारायण गुरुङ , शहिद क्षेत्रबहादुर केसीकी धर्मपत्नी सुनिता केसी, अन्य नेताहरु विष्णुप्रसाद पोखरेल, नारायणप्रसाद सुवेदी, झविन्द्रराज आचार्य, अमृतबहादुर कार्की, गीता गुरुङ र लिलामोहन कुँईकेलको नाम सिफारिश भएर आएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । राप्रपा कास्कीले बुधबार कास्की क्षेत्र नम्बर २ को उम्मदेवारहरुको नाम सिफारिश गर्ने तयारीमा रहेको जनाएको छ ।
पोखरा : अभिनेता पल शाहलाई बलात्कार मुद्दामा नवलपुर जिल्ला अदातलले सफाइ दिएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई जबर्जस्ती करणीमा सफाइ दिएपनि बाल यौन दुरुपयोग मुद्दामा भने साढे दुई वर्ष थुनामा राख्न आदेश दिएको छ । त्यसबाहेक २५ हजार जरिबाना र १० लाख क्षतिपूर्ति पीडितलाई दिन आदेश भएको जिल्ला अदालत नवलपुरका वैतनिक वकिल दीपक भट्टराईले जानकारी दिए । शाहविरुद्ध गत चैत ४ गते जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा दायर भएको थियो । नाबालक किशोरीका बुवाले दायर गरेको जाहेरीमाथि न्यायाधीश आचार्यले मंगलबार सुनुवाइ गर्दै जबर्जस्ती करणी नभई बालयौन दुरुपयोग भएको फैसला गरेका हुन् । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गरी मुद्दा दायर भएको थियो । सरकारी वकिलको कार्यालयले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्तिको माग गरेको थियो । कानुनको सो दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मन्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । शाहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को ‘३’ को ‘ग’ अनुसार सजाय माग गरिएको थियो । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेमा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । अभियोगपत्रमा बलात्कार हुँदा बालिका १५ वर्ष आठ महिना चार दिनकी भएको उल्लेख छ ।
काठमाडौँ ः अमेरिकाबाट आउने पार्सल केही बहुमूल्य चिज होला भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । केही नेपालीका सपनाको गन्तव्य मुलुक त्यसमाथि शक्तिमान राष्ट्र, अमेरिका । नेपाली नागरिकले त्यहाँबाट आउने उपहार नौलो र रोचक हुने अनुमान गर्नु स्वभाविक पनि हो तर त्यही मुलुकबाट गाँजा पार्सल गरी सरकारी निकाय हुलाकमा आउँछ भन्ने कुरा धेरैलाई थाहा नहुने सक्छ । बाह्य मुलुकबाट यसरी सानो परिमाणमा लागुऔषध भित्रिएका घटना बेलाबेलामा सुनिएको हो । यसपटक भने झण्डै दुई किलो गाँजा त्यसैगरी हुलाक हुँदै नेपाल भित्रिएको छ । उक्त पार्सल अनुसन्धानका लागि प्रहरीले बरामद गरी त्यसमा संलग्न रहेका तीन व्यक्तिलाई पक्राउ गरेको छ । त्यसका मुख्य कारोवारीको हुन् भन्ने विषयमा भने अझै अनुसन्धान कै क्रममा रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । घटना यही सोमबारको हो । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा अमेरिकाबाट गाँजा हालेर उपहारका रुपमा पार्सल आयो । कुनै व्यक्तिको नाममा उपहार भनेर उक्त पार्सल आएको थियो । हुलाकमा प्रहरी टोली खटाइँदै आएको छ । उक्त पार्सल मेसिनमा स्क्रिनिङ गर्दा असहज देखियो । “अनुसन्धानका क्रममा भित्र गाँजा भएको खुल्यो, त्यसपछि अनुसन्धानलाई थप बलिायो बनाउँदै मान्छे समाउन लाग्यौँ”, खड्काले भन्नुभयो, “लिन आउने व्यक्तिलाई नियन्त्रणमा लिएर थप व्यक्ति खोज्न थाल्यौँ ।” हुलमा उक्त पार्सल लिन काभ्रेको माण्डनदेउपुर नगरपालिका–७ का २८ वर्षीय मनोज राई आए । हुलाकबाट पार्सल रिसिभ गर्ने बित्तिकै उनी पक्राउ परे । त्यहाँ थियो दुई किलो गाँजा । सुरुमा उनले केही कुरा खुलाएनन् । विस्तारै सोधपुछका क्रममा राईबाट काठमाडौँ महानगरपालिका–१ नक्सालका ३० वर्षीय अङ्कितकुमार श्रेष्ठ पनि यसमा संलग्न रहेको कुरा खुलेपछि काठमाडौँको खुस्बुबाट पक्राउ परे । थप अनुसन्धान गर्दै जाँदा मनोजलाई रु ३० हजार दिने शर्तमा राहुल र अङ्कीतले परिचालन गरेको पत्ता लाग्यो । तत्कालै प्रहरीले काठमाडौँको नक्सालबाट क्षेत्रीलाई पनि पक्राउ गर्यो । यो पार्सल उनीहरुमा मात्रै सीमित छैन । उनीहरु पहिलो तहका संलग्न व्यक्ति हुन् । गाँजा मगाउने मुख्य व्यक्ति को हुन् प्रहरीले अझै खुलाएको छैन तर पार्सल तीनै जनाको मिलेमतोमा भित्राइएको पाइएको छ । यसरी बनेको थियो त्रिपक्षीय योजना धेरै पहिलेदेखि नै राहुल र अङ्कित साथी थिए । उक्त पार्सल मगाउने राहुलले अङ्कितको नाममा मगाउन प्रस्ताव गरेर तर राहुलले पक्राउ पर्ने डरले मानेन् । बरु चिनजानको अर्को साथीको नाम लिँदै उनको नाममा मगाउन प्रस्ताव गरे । उनको नाम हो मनोज राई । मनोजको नाममा पार्सल मगाउने अङ्कित र राहुलको सहमतिमा मनोज पनि राजी भए । विगतमा मनोज ठमेलको एक पबमा काम गर्थे । उक्त पबका अङ्कित नियमित ग्राहक थिए । विस्तारै उनीहरुको चिनाजान साथीमा परिणत भयो । बन्दाबन्दीमा समयमा पब बन्द भएपछि राईलाई अङ्कितले नयाँ जागीर लगाइदिएपछि उनीहरुको सम्बन्ध घनिष्ट भयो । त्यसैले उनीहरुले मनोजलाई प्रयोग गरेर उनको नाममा पार्सल मगाउन सफल भएका थिए । लागुऔषधसहित पक्राउ परेका १५ जना सार्वजनिक उनीहरुसहित विभिन्न मितिमा लागुऔषधसहित पक्राउ परेका १५ जनालाई प्रहरीले आज सार्वजनिकसमेत गरेको छ । उनीहरुलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले जनाएको छ । प्रहरीले ललितपुरको भोलाखेलका सञ्जय कपाली, र रामेछापको मन्थलीका २७ वर्षीय कुमार तामाङलाई नियन्त्रित लागुऔषध ब्रुप्रोनोर्फिन ३१ एम्बुपल, डाइजेपाम ३१ एम्पुल र फेनारगन ३० एम्पुलसहित पक्राउ गरेको हो । यस्तै ललितपुरका २९ वर्षीय अनिश महर्जन तथा सप्तरीका धर्मदेव रामलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । खैरो हेरोइनसहित ललितपुरका प्रताप कार्की, पाँचथरका भुवन विक र देङ्हाङ नेम्वाङ पनि पक्राउ परेका छन् । यस्तै काठमाडौँको माकलबारीका उत्सव घिमिरे, भोजपुरका दोर्ची शेर्पालाई पनि खैरो हेरोइनसहित र उक्त खैरो हेरोइन कारोबारमा संलग्न भोजपुरका फुर्लामी शेर्पा, अप्सरा राजवंशी, नौसाद आलम पक्राउ परेका छन् । उनीहरुबाट रु १० लाख ४० हजार नगदसमेत बरामद गरिएको छ । प्रहरीले १५ जनाबाट खैरो हेरोइन २८७.५ ग्राम, गाँजा दुई किलो, अन्य लागुऔषध २५२ एम्पुल, डिजिटल तराजु, मोबाइललगायत साम्रगीसमेत बरामद गरेको छ ।
काठमाडौं : १० वर्षपछि दशरथ रंगशालामा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । दशैं छेको पारेर असोज १५ गते दी एज ब्याण्ड, नितेशजंग कुँवर दर्जन कलाकारले कन्सर्ट गर्ने भएका हुन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर १० वर्षपछि दशरथ रंगशालमा सांगीतिक कार्यक्रम हुुने जानकारी दिएको हो । कन्सर्टमा वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुबानी मोक्तान र दी इलेमेन्ट्स ब्यान्डले प्रस्तुति दिने भएका छन् । कन्सर्टले सहरी युवावर्गमा बडादशैंको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने लक्ष्य राखिएको आयोजकले जनाएको छ । साथै, कोरोना महामारीले थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायलाई हौसला बढाउने साथै नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउ पुर्याउने लक्ष्य राखिएको छ । दशैं महोत्सवको टिकटक कन्टेस्टमा भाग लिएर १० जनाले पोखरा रिसोर्ट प्याकेजजस्ता पुरस्कार पाउनेछन् । विगत २० वर्षदेखि कन्सर्ट, सडक महोत्सव गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी समूह, केटीएम लाइभ तथा अप–ट्रेण्डली मिडियाले संयुक्त रूपमा यो सांगीतिक महोत्सवको आयोजना गर्न लागेका हुन् ।

