काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ । लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।
काठमाडौँ । ‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ आज नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिनुहुँदै साक्षरता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्नको मापनसहितको प्रतिवेदन आज सार्वजनिक गर्दैछ ।
कुश्मा । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ।”, कुश्मामा होटल व्यवसाय गर्दै आउनुभएका सूर्य केसीले भन्नुभयो, “पोखरादेखि यता की उता, बागलुङभन्दा टाढा पर्छ हो ?, जस्ता सवालले हैरानै भएर केहीलाई त घर बागलुङ हो, भनिदिन्थेँ”, तर अहिले पर्वत नचिन्ने कमै छन् । साहसिक पर्यटनको लागि पर्वत गतिलो गन्तव्य बनेको छ ।” जिल्लामा अग्ला र लामा झोलुङ्गे पुलदेखि बन्जी, स्वीङ, जिपलाइनलगायत खेलबाट भरपुर आनन्द उठाउन सकिन्छ । “पर्वत र बागलुङलाई जोडेर बन्जी निर्माण गरिए पनि यसको बढी फाइदा पर्वतलाई नै भएको छ ।”, कुश्माका दिनेश तिवारीले भन्नुभयो, “यहाँका होटल तथा रेष्टुराँ व्यवसाय फस्टाएका छन् भने गुमनाम पर्वतलाई सबैले चिन्न थालेका छन् ।” बन्जी र स्वीङका लागि बनाइएको झोलुङ्गे पुल तरेर कुश्मादेखि पारी बागलुङमा बनेको रिसोर्टमा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । रु पाँच सयको टिकट काटे पछि मात्रै पुलको बाटो रिसोर्ट परिसरमा पुग्न सकिन्छ । त्यहाँ गुलेली पिङ, स्काइचियर, साइकिलिङ, स्काइक्याफेलगायत खेलको मज्जा लिन सकिन्छ । प्रत्येक खेलको चाहिँ बेग्लाबेग्लै पैसा तिनुपर्ने हुन्छ । “हिजो पोखरा बसेर बिहानै कुश्मा आइकन बन्जी पनि गरिसक्यौँ ।” रिसोर्ट परिसरमा तस्बिर खिच्नमा व्यस्त धादिङका सुसन तामाङले भन्नुभयो, “बागलुङ दर्शन गरेर आजै धादिङ फर्कन्छौँ ।” धादिङका सुसन तामाङजस्तै अन्य पर्यटक पनि बन्जीमै मस्त देखिन्थे । “कुश्माको नजिकमा थुप्रै प्राकृतिक तथा धार्मिक महत्वका आकर्षक गन्तव्य छन् ।” सञ्चारकर्मी अगन्धर तिवारीले भन्नुभयो, “स्थानीय सरकारको उदासिनता र उचित प्रचारप्रसार नहुँदा बन्जी आइपुग्ने पर्यटक त्यहाँ सम्मपुग्न सकेको देखिँदैन ।” दुर्लुङकोट कुश्मादेखि दुर्लुङ गाउँपुग्ने बाटो पहिलेजस्तो अप्ठ्यारो छैन । हरियाली वनभित्रको नागबेली कालोपत्रे सडक हुँदै १५ मिनेट यात्रा गरेपछि सुन्दर गाउँ, दुर्लुङ पुग्न सकिन्छ । गाउँ उक्लँदै गर्दा वरैबाटडाँडाको टुप्पोमा अवस्थित दुर्लुङकोट भूमे मन्दिर पुगिन्छ । बाइसे, चौबिसे राजाको पालादेखिनै महत्वपूर्ण मानिएको दुर्लुङकोट भूमे मन्दिरमा पुगी पूजाआजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । “हरेक वर्ष बडादसैँ, चैते दसैँ र उभौलीमा पूजाआजादेखि बलि दिने गरिएको छ ।” दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका सदस्य प्रितम गुरुङले भन्नुभयो, “धार्मिक तथा ऐतिहासिक महत्वको यो ठाउँ प्राकृतिक दृष्टिले समेत अर्थपूर्ण छ ।” उहाँले भन्नुभयो, “दुर्लुङकोटबाट म्याग्दी, बागलुङ, कास्की, पाल्पा, स्याङ्जा र पर्वतलाई एकै पटक नियाल्न सकिन्छ । यहाँबाट धौलागिरि, धौलाशिरि, माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमशृङ्खला पनि देख्न सकिन्छ ।” केही वर्षदेखि दुर्लुङ पुग्ने पर्यटकलाई लक्षित गरेर होमस्टे पनि सञ्चालनमा ल्याइएको छ । होमस्टेमा पुग्ने पर्यटकले गाउँको कला, संस्कृति र खानपानको पनि मज्जा लिन सक्नेछन् । मोदीबेनी दिब्यधाम दामोदर कुण्डबाट अविरल बग्दै आएको कालीगण्डकी नदी र माछापुच्छ«े हिमशृङखलाबाट बगेर आएको मोदिनदीको सङ्गमस्थलमा भगवान नृसिंहको पुरानो मन्दिर छ । विसं १८९० मा निर्मित यस मन्दिर क्षेत्रलाई मोदीबेनी दिब्यधाम भनेर पनि चिनिन्छ । कालीगण्डकीमा मात्र पाइने शालीग्रामलाई नृसिंह भगवान्को अवतारका रुपमा पूजाआजा गरिँदै आइएको छ । गङ्गा स्नान गरेपछि पवित्र भइने मान्यताका कारण मोदी र कालीनदीमा स्नानका लागि तीर्थाल आउने गर्छन् । “दाहासंस्कारका लागि पनि मोदीबेनीदिब्य धाम उत्तम मानिन्छ ”, नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष केशवदास बैरागीले भन्नुभयो, “पहिले भारतबाट आउने धेरै तीर्थालरु यहाँ आइपुग्थे तर हिजोआज त्यो सङ्ख्या ज्यादै कम छ ।” यातायातको सहज पहुँच नहुँदा भारतबाट मुक्तिनाथ र दामोदरकुण्ड हिँडेका तीर्थालु यहाँ एक दिन बास बसेर भोलिपल्ट बिहानै यात्रामा निस्कन्थे । यहाँ एक सय आठ तुलसीको बोट, गणेश मन्दिर, शिवमन्दिर, हनुमान मन्दिरलगायतका संरचना निर्माण गरिएको छ । कुश्मा–मुडिकुवा पुल छेउको बाटोदेखि दश मिनेटमा नै मोदीबेनी दिब्यधाम पुग्न सकिन्छ । गुप्तेश्वर गुफा बन्जीस्थलबाट मात्र पाँच मिनेटमा गुप्तेश्वर गुफा पुग्न सकिन्छ । यो गुफा डेढ किलोमिटरभन्दा बढी लामो र सात तला भएको अलौकिक गुफा हो । “धेरै गुफा ओरालो मुखतर्फ फर्किएर बनेका हुन्छन्, तर गुप्तेश्वर गुफा ओरालो नभइ उकालो मुख फर्किएको छ ।” गुप्तेश्वर धार्मिक पर्यटन प्रवद्र्धन संस्थाको अध्यक्ष पृथवीनारायण शर्माले भन्नुभयो, “शिवपार्वतीको मिलन भएको ठाउँका कारण पनि यस गुफाको महत्व विशेष छ ।” यस गुफामा बालाचतुर्दशी, महाशिवरात्रि, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघे सङ्क्रान्तिलगायतका चाडपर्वमा विशेष मेला लाग्छ । गुफाभित्र भगवान् शिवका दसौँ पाउँ, विभिन्न देवीदेउताका मूर्ति, शिवलिङ्ग शिवपञ्चाङ्ग, नाग र पाँच पाण्डवका मूर्ति देख्न सकिन्छ । गुफाको महत्वलाई प्रचारप्रसार गर्दै उल्लेख्य पर्यटक भित्र्याउने उद्देश्यले १५ रोपनी जग्गामा ७८ फिट अग्लो शिवपार्वतीको मूर्ति, सिसमहल र मन्दिर निर्माण भइरहेको छ । अल्पेश्वर गुफा पहिलो नेपालकै अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलबाट पाँच मिनेटको दूरीमा जङ्गलको बीचमा अल्पेश्वर गुफा अवस्थित छ । बजारबाट एकान्त मन पराउनेका लागि अल्पेश्वर गुफा पहिलो रोजाइ बन्न सक्छ । फराकिलो क्षेत्रफलमा रहेका हरियाली वनभित्र चराचुरङ्गीको चिरबिरले मनलाई आनन्दित बनाउने गर्छ । विसं २०६४ मा कटुवा चौपारीका केही युवाले गुफा पत्ता लगाएका थिए । गुफाको मुख्य प्रवेशद्वार कटुवा चौपारीबाट छिरेर नौ सय मिटरको दूरी पार गरेपछि मोदीखोलामा निस्कन सकिन्छ । तीन तला रहेको गुफाभित्र प्राकृतिक तालतलैया र छहरा छन् । एडभेन्चर मन पराउनेका लागि यस गुफा उत्कृष्ट गन्तव्य भएको अल्पेश्वर गुफा पर्यटकीय केन्द्र पर्वतका पूर्व अध्यक्ष नारायण अधिकारीको भनाइ छ । उहाँका अनुसार यस गुफामा विभिन्न प्रजातिका २० हजारभन्दा बढी चमेरा बस्छन् । “सदरमुकामबाट नजिकमा भएर पनि ओझेलमा परेको छ ।”, उहाँले भन्नुभयो, “चुन ढुङ्गाबाट बनेका ३३ कोटी देवीदेउताको मूर्ति जताततै देख्न सकिन्छ । कम्तीमा दुई घण्टा यहाँभित्र मज्जाले भुल्न सकिन्छ ।” सहस्रधारा सहस्रधारा पुग्न कुश्माबाट यातायातको साधनमा जम्मा १५ मिनेट लाग्छ । बाह्रै महिना पहाडबाट खस्ने झरना हेर्न र नजिकै रहेको लक्ष्मीनारायणको मन्दिरमा पूजा गर्न केही पर्यटक आउने गरेका छन् । तर यसको प्रचारप्रसार नहुँदा पर्यटकीय सम्भावना भएर पनि ओझेलमै परेको छ । कालन्जर पहाडमा शिवजी बस्ने, पार्वती गुप्तेश्वर गुफामा तपस्या बस्ने र सहस्रधारामा स्नानका लागि जाने गरेको किम्वन्दती छ । यसलाई शिव र पार्वतीको क्रिडास्थलको रुपमा लिने गरिएको छ । धार्मिक क्षेत्र कालन्जर पर्वतबाट बग्दै आएको पानीको छहरा सहस्रधारामा आएर झरनाको रुप लिएको स्थानीय बताउँछन् । केही वर्ष अघि स्थानीयस्तरबाट सह्रसधारा दिब्यधामलाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्ने सोचले महायज्ञको आयोजना गरिएको थियो । सङ्कलित रकमले एक सय आठ गौ धारा निर्माण, शिवको मूर्ति, मन्दिरलगायत पूर्वाधारको समेत निर्माण गरियो तर, उचित प्रचारप्रसार र व्यवस्थापन नहुँदा सोचेअनुरुप पर्यटक भने भित्रन सकेका देखिँदैन । कुश्मामा रहेका अग्ला र लामा झोलुङ्गे पुल, बन्जी, जिपलाइनलगायत साहसिक खेलले पर्वतको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको छ । अब यहाँ आइपुग्ने पर्यटकलाई अन्य प्राकृतिक तथा धार्मिक महत्व बोकेका पर्यटकीय गन्तव्यसम्म पुर्याउने वातावरणको सिर्जना गरिनु आवश्यक छ ।
काठमाडौं । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो । रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले रेल गुडाएर परीक्षण गर्न लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो । सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र साधारण काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको उहाँले बताउनुभयो । रेलको परीक्षणपश्चात् प्राविधिकको सुझावका आधारमा जयनगरदेखि बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन गरिने झाको भनाइ छ । रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो । सोही अनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर उद्घाटन गर्नुभएको थियो । त्यसयता रेल सेवा नियमित छ ।
काठमाडौँ : नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी निरोज मास्केलाई २६ मतअन्तरले पराजित गर्दै चन्द सङ्घको नयाँ अध्यक्षमा चार वर्षका लागि निर्वाचित हुनुभएको हो । आज बिहान सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार अध्यक्षमा निर्वाचित चन्दले ७६ मत तथा मास्केले ५० मत प्राप्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष चन्द यसअघि सङ्घको महासचिव हुनुहुन्थ्यो । यसैगरी महासचिवमा अध्यक्ष चन्दकै प्यानलबाट रोशन श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँले ८५ तथा प्रतिस्पर्धी मनवीर छन्त्यालले ३९ मत प्राप्त गर्नुभयो । यस्तै कोषाध्यक्षमा चन्द प्यानलकै श्याम श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँले ७८ तथा प्रतिस्पर्धी रीता कोइरालाले ४६ मत प्राप्त गर्नुभयो । सङ्घको बागमती प्रदेशबाट उपाध्यक्षमा गौतम लाछिवा ६४ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धि ज्योती केसीले ५९ मत प्राप्त गर्नुभयो । सङ्घको नयाँ नेतृत्वसहित सात उपाध्यक्ष, महासचिव, सात सचिव, कोषाध्यक्ष र ११ कार्यसमिति सदस्यका लागि निर्वाचन भएको थियो । सङ्घमा दुई उपाध्यक्ष र १० सदस्य मनोनयनबाट आउने व्यवस्था छ । मतदान अघिनै छ उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा गण्डकी प्रदेशबाट याम गुरुङ, मधेस प्रदेशबाट उपेन्द्र यादव, सुदूरपश्चिम प्रदेशबाट हरकसिंह धामी, कर्णाली प्रदेशबाट भरतबहादुर शाह, प्रदेश १ बाट मदन खड्का र लुम्बिनी प्रदेशबाट भीम ओली निर्विरोध निर्वाचित हुनुभयो । सचिवमा प्रदेश १ बाट विनोद श्रेष्ठ, लुम्बिनी प्रदेशबाट झकबहादुर मिदेन, कर्णालीबाट सोमबहादुर श्रेष्ठ, मधेसबाट मोहम्मद फिरोज, गण्डकीबाट श्रीधर शर्मा, सुदूरपश्चिमबाट गणेशसिंह ठगुन्ना र बागमती प्रदेशबाट सुनकेशरी माली निर्विरोध निर्वाचित हुनुभयो । निर्वाचनमा एक सय २६ मतदाताले मतदान गर्नुभएको थियो । –––
काठमाडौं । नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनियल साल्मोनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहिवार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो । भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गर्नु भयो । सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गर्नु भयो । उहाँले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिनु भयो । भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्नु भयो । उहाँले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिनु भयो । उहाँले नेपालले वातावणको क्षेत्रमा गरेको काम सह्रानीय रहेको बताउनु भयो ।
हिले । गायक शम्भु राई धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फ सिफारिस हुनुभएको छ । धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर १० चुम्माङ्ग जन्मथलो रहेका राईलाई नेकपा माओवादी केन्द्रेले सिफारिस गरेको हो । उहाँसँगै तीन व्यक्तिलाई समेत सिफारिस गरेको छ । त्यस्तै केन्द्रले प्रतिनिधि सभा प्रत्यक्षतर्फ युवा नेता हेमराज भण्डारीलाई चयन गरेको छ । भण्डारी २०७४ सालको धनकुटा एकबाट संविधान सभा सदस्यसमेत हुनुहुन्छ । नेकपा माओवादी केन्द्रले धनकुटामा बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो । त्यस्तै केन्द्रले प्रदेश क र ख प्रत्यक्ष तर्फ ४र४ जना तथा समानुपातिकतर्फ ५र५ जना सिफारिस गरेको छ ।
भैरहवा । जिल्ला सदरमुकाम भएको कारण केही सरकारी कार्यालय बाहेक अन्य कुनै चहलपहल नभएको भैरहवा लामखुट्टे, डुबान, फोहरलगायतको कारण यहाँ आउन मानिस नाक खुम्च्याउथे । सरकारी कार्यालयका कर्मचारी सकेसम्म भैरहवा आउन चाहन्नथे । बसाइँसराइको प्रभाव पनि भैरहवामा न्यून थियो । तर अहिले भैरहवाको रुप फेरिएको छ । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया–बुटवल व्यापारिक मार्ग, भैरहवा–तौलिहवा फराकिलो सडक, नगरको भित्री क्षेत्रमासमेत फराकिलो तथा हरियाली बाटो, आकर्षक प्रवेशद्वार, तारे होटल, ‘सपिङ मल’, क्रिकेट रङ्गशालाले भैरहवाको आकर्षण बढाएका छन् । केही पहिलासम्म यहाँ आउन नाक खुम्च्याउनेहरु अहिले भैरहवा आउन लालयित हुने गरेका छन् । अन्र्राष्ट्रिय विमानस्थल भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई अहिले स्तरोन्नति गरी मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ । करिब ३० अर्बको लागतमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अल जजिरा एयरलाइन्सले साताको तीन उडान गर्दै आएको छ । भदौ ३१ गते देखि जजिराको दैनिक उडानको तयारी रहेको छ । त्यस लगत्तै कात्तिक १३ गते देखि बिज एयरलाइन्सले पनि भैरहवामा अवतरणको तयारी गरिरहेको छ । यस बाहेक यहाँबाट अन्य विमान कम्पनीलेसमेत उडानमा चासो दिइरहेको विमानस्थलका प्रवक्ता सुभाष झाले बताउनुभयो । गौतमबुद्ध विमानस्थल अहिले वैदेशिक रोजगारीमा जान चाहनेका लागि रोजाइँमा पर्ने गरेको छ । अहिले उडान भरिरहेको जजिरा एयरमा पनि आउने जानेको सङ्ख्या बराबरजसो रहेको छ । जजिरा एयरका देशीय व्यवस्थापक अमित नागरथका अनुसार विमानमा ९० प्रतिशत सिट बुक गरी उडान गरिरहेको छ । लुम्बिनी भैरहवाको अर्को परिचय हो गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार । स्थलमार्ग हुँदै सबै भन्दा बढी पर्यटक भित्र्याउने भैरहवामा अब अन्तर्राष्ट्रिय हवाई मार्ग पनि जोडिएको छ । यसले यस क्षेत्रको पर्यटकीय सम्भावनालाई अझै बढावा दिएको छ । लुम्बिनी आउने पर्यटक भैरहवा हँुदै गन्तव्यमा जानुपर्ने हुन्छ । बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई स्वागत गर्न भैरहवा तम्तयार भएर बसेको छ । पर्यटनमा पूर्वाधार भैरहवालाई आकर्षक बनाउनमा यहाका होटल व्यवसायको पनि उत्तिकै सहयोग छ । भैरहवा, लुम्बिनी तथा बेलहियामा गरी ८९ वटा स्तरीय होटल रहेको सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी) बताउनुहुन्छ । होटल कसाइ, होक्के, पवन प्यालेस, टाईगर रिसोर्ट, मौर्या होटल, होटल बोधी रेडसन्, बुद्धमाया गार्डेन लगायतकास्तरीय होटलको लामै सूची छ यहाँ । यस अतिरिक्त अहिले करिब आधादर्जन पाँच तारे होटल निर्माणाधीन अवस्थामा रहेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले भित्र्याउने पर्यटकलाई लक्षित गरी होटल व्यवसायमा अहिले अर्बौको लगानी भइरहेको छ । यस बाहेक पर्यटकलाई लक्षित गरी भैरहवा क्षेत्रमा ६ वटा मिनी क्यासिनोसमेत सञ्चालनमा रहेका छन् । विशेष गरी भारतीय पर्यटकलाई लक्षित गरी खोलिएका यी क्यासिनो नै कोभिडपछिको वर्तमान अवस्थामा यस क्षेत्रको विदेशी मुद्राको साधन बनेका छन् । औद्योगिक क्षेत्र भैरहवा–लुम्बिनी, भैरहवा–बुटवल तथा भैरहवा–परासी औद्योगिक कोरिडोर गरी यहाँ दर्जनाँै उद्योग रहेका छन् । मुलुुककै अर्थतन्त्रमा असर गरिरहेका पञ्चकन्या समूह, अर्घाखाँची सिमेन्ट, गोयन्का सिमेन्ट, जगदम्बा सिमेन्ट, अम्बे स्टिल, श्री स्टिल, सिद्धार्थ सिमेन्ट, ब्रिज सिमेन्ट लगायतका उद्योग रहेका छन् । औद्योगिक विकासको सम्भावना देखेर नै उद्योगीमा अहिले यहाँ लगानी गर्न आकर्षण बढेको छ । अहिले भैरहवा–परासी करिडोरमा ठूलाठूला उद्योग खुलिरहेका छन् । स्टिल, छड, प्लास्टिक, जुत्ता–चप्पल, चाउचाउ, खाद्यान्न, दाल, साबुन, मैदा, बियर, छाला, बिस्कुट, कृषिजन्य उद्योग भैरहवामा सञ्चालन भइरहेका छन् । यस बाहेक मुलककै पहिलो निर्यातमुखी परियोजनाको रुपमा रहेको विशेष आर्थिक क्षेत्र (सेज) पनि भैरहवामा सञ्चालनमा आइसकेको छ । कूल ५२ बिघा क्षेत्रफलमा रहेको सेजमा एक हजार चार सय देखी तीन हजार सात सय वर्गमिटर सम्मका ६८ वटा प्लट रहे पनि हालसम्म सात वटा उद्योग सञ्चालनमा आइसकेका छन् । दोस्रो ठूलो भन्सार नाका स्थलमार्गबाट सबै भन्दा बढी पर्यटक भित्र्याउने भैरहवामै दोस्रो ठूलो भन्सार रहेको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानका अनुसार यस भन्सारले गत आर्थिक वर्षमा रु एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख पच्चीस राजश्व आर्जन गरेको थियो । दैनिक सरदर चार मालबाहक ट्रक भित्र्याइरहेको भैरहवा भन्सार नाकाबन्दीको समयमा पनि चलेको थियो । भैरहवा भन्सार वीरगञ्जपछि मुलुकको दोस्रो ठूलो नाकामा पर्छ । भारततर्फ चार लेन र नेपालतर्फ ६ लेनको सडक बनेको छ । आयातनिर्यातका लागि सहज पहुँच भएको भैरहवा नाका मुलुककै ‘लाइफलाइन’ बनेको छ । भन्सारमा मालबाहक सवारीको चाप बढ्दै जाँदा अहिले पार्किङको समस्या बढेको छ । नेपाल र भारत सरकारले भैरहवा र सुनौली नाकामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्दै छन् । नेपालले ५२ बिघा जग्गा अधिग्रहण गरिसकेको छ । तर भारतले जग्गा अधिग्रहणको काम सकिसकेको छैन । अहिले ‘आइसिपी’ बनाउने भनिएको जग्गामा कन्टेनर पार्किङ गर्न थालिएको छ । व्यवस्थित सहरीकरण भैरहवाले पछिल्लो समय व्यवस्थित सहरीकरणको परिचय बनाएको छ । विशेष गरी एसियाली विकास बैंकले भैरहवामा गरेको लगानीको कारण यसको मुहार फेरिएको छ । भैरहवाका भित्री बाटो फराकिलो बनेका छन् । बाटोको छेउमा रहेको ग्रिनरीले यसलाई थप सुन्दर बनाएको छ । भैरहवा–बुटवल ६ लेनको व्यापारिक मार्ग, यसमा रहेका अपाङ्गतामैत्री आकाशे पुल, भैरहवा–तौलिहवा चार लेनको बाटोले नगरलाई भव्य बनाउन सहयोग गरेका छन् । भैरहवामा प्रवेश गर्ने पर्यटकका लागि बेलहियाबाट एक किलोमिटर उत्तर सात करोड बढीको लागतमा आकर्षक प्रवेशद्वार बनेको छ । यस्तै भैरहवाबाट लुम्बनी जाने पर्यटकलाई पनि “लुम्बिनी गेट”ले स्वागत गरिरहेको छ । सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईश्तियाक अहमद खाँनले भैरहवालाई थप सुन्दर र हरियो बनाउने लक्ष्य रहेको बताउनुभएको छ । उहाँले भैरहवालाई सुन्दर बनाउनुको साथै बेलहिया हुँदै आउने पर्यटकलाई फुलले स्वागत गर्ने नगरपालिकाको लक्ष्य रहेको जानकारी दिनुभयो । मेडिकल तथा बैंकिङ– हब पर्यटकीय, औद्योगिक र व्यवस्थित सहरीकरण रहेको भैरहवा मेडिकल तथा बैंकिङ हब पनि हो । भैरहवामा रहेको रण अम्बिका शाह आँखा अस्पतालमा आउने आँखाका बिरामीमा ९० प्रतिशत भारतीय रहेका छन् । यसबाहेक यो अस्पतालले तेस्रो मुलुककासमेत बिरामीलाई सेवा प्रदान गरिरहेको छ । यस क्षेत्रकै उत्कृष्ट अस्पतालको रुपमा रहेको अस्पतालको कारण “हेल्थ टुरिज्म” समेत फस्टाएको छ । यस्तै भैरहवामै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि ख्याति कमाएको छ । अस्पतालका प्रशासन प्रमुख तेज केसीका अनुसार सात सय शय्याको अस्पतालले विशिष्टिकृत सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै यसै क्षेत्रमा सिद्धार्थनगर सिटी अस्पताल, क्रिमसन अस्पतालले पनि उत्कृष्ट सेवा दिने अस्पतालका रुपमा रहेका छन् । यस्तै भैरहवामा प्राय सबै वाणिज्य बैंकहरुले आफ्नो शाखा खोलेका छन् ।
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । निजामती सेवा दिवसका अवसरमा प्रदेश मुल समारोह समितिले बुधबार पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यी दुई अध्यादेश ल्याउन सरकारले अन्तिम तयारी गरेको बताए । कर्मचारी समायोजन ऐन लागु भएर त्यही अनुसार समायोजन भएका कर्मचारीको वृत्तिविकास रोकिएको, कर्मचारीको पदपूर्ति गर्न नसकिएकाले प्रदेशले अध्यादेशबाटै भए पनि यी दुई कानुन ल्याउन लागेको मुख्यमन्त्रीले बताए । उनले भने, संघ सरकारले निजामती सेवा ऐन ल्याउला कि भनेर कुर्दा ५ वर्ष बित्न लाग्यो, हामीले तयारी गर्दागर्दै ढिला भयो, अब छिटै अध्यादेश ल्याउँछौं । स्थानीय तहमा कार्यरत सबै खालका कर्मचारी र प्रदेशमा समायोजन भएर आएकाहरुको हितलाई ख्याल गरी सरोकारवालासँग छलफल गरेर अध्यादेशको मस्यौदा तयार भइरहेको मुख्यमन्त्रीले भनाइ राखे । शासन व्यवस्था फेरिए पनि संघले प्रदेश र स्थानीय तहमा अधिकार हस्तान्तरण गर्न आनाकानी गरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । एकात्मक शासन व्यवस्थाबाट संघीयतामा गएको अवस्थामा संविधानले निदृष्ट गरेका अधिकारसमेत दिन हिचकिचाउनुलाई उनले पुरातन राज्यव्यवस्थाको अवशेषको संज्ञा दिए । मुख्यमन्त्री पोखरेलले कर्मचारीले सम्पादन गर्ने कार्यले सरकारको व्यवहार झल्काउने भएकाले त्यही अनुसार संवेदनशील भएर काम गर्न आग्रह गरे । मुलुकको आर्थिक अवस्था अनुसार निजामती कर्मचारीको तलब र सुविधा निर्धारण गरिएको भन्दै उनले अन्य देशको तुलनामा यो कम रहे पनि सन्तुष्ट भएर काम गर्नुपर्ने अवस्था रहेको भनाइ राखे । कार्यक्रममा आन्त्रिक मामिला मन्त्री डोबाटे विश्वकर्माले संघबाट अधिकार नपाएको खण्डमा प्रदेश र स्थानीय तह संघर्षमै उत्रनुपर्ने उनले भनाइ राखे । नागरिकको चाहाना अनुसार कर्मचारीले कार्यसम्पादन गर्न पनि उनले आग्रह गरे । प्रमुख सचिव रवीलाल पन्थले काम गर्ने सिलसिलामा भएका कमीकमजोरी सुधार गरेर सुशासन कायमका लागि निजामती कर्मचारी प्रतबद्ध हुनुपर्ने बताए । सामूहिक स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सके लक्ष्य प्राप्ति हुने उनको भनाइ थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले विश्वव्यापीकरणमा प्रतिस्पर्धा गर्न गरी फिल्डमा उत्रन उनले कर्मचारीवर्गमा आग्रह गरे । राज्यशक्तिको स्थायित्वका लागि मुख्य औजार नै निजामती सेवा रहेको भन्दै उनले कर्मचारीले सेवा प्रवाह गर्ने मात्र नभई लोकतन्त्रको जगेर्ना समेत गर्ने भनाइ राखे । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका प्रदेश अध्यक्ष अशोक खनाल, नेपाल निजामती कर्मचारी युनियनका प्रदेश अध्यक्ष दीपक रेग्मी, राष्ट्रिय कर्मचारी संगठनका प्रदेश अध्यक्ष कृष्णप्रसाद पौडेलले प्रदेश सरकारले ल्याउन लागेको अध्यादेश कर्मचारीमैत्री हुनुपर्ने भनाइ राखे । दिवसका अवसरमा निजामती कर्मचारी संगठनले हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम गरेको थियो । उक्त प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुनेलाई मुख्यमन्त्री पोखरेलले प्रमाणपत्र र पुरस्कार प्रदान गरे । निजामती कर्मचारी युनियनले रक्तदान कार्यक्रम गरेको थियो । उक्त अवसरमा रक्तदान गर्ने ३० जनालाई पनि मुख्यमन्त्री पोखरेलले प्रमाणपत्र हस्तान्तरण गरे । उक्त अवसरमा पूर्व कर्मचारी सेवा परिषदले प्रकाशन गरेको गोधुलीको सन्देश पत्रिका मुख्यमन्त्री पोखरेलले विमोचन गरेका छन् । पूर्व कर्मचारीहरुलाई पनि मुख्यमन्त्रीले सम्मान गरेका छन् । निजामती कर्मचारी दिवसकै अवसर पारेर जिल्ला प्रशासन कार्यालय कास्कीले डिजिटल नागरिक सेवा बडापत्र सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त सेवा सार्वजनिक गरे । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सबै सेवाका बारेमा अडियो, भिजुअल सामग्री बनाएर प्रतिक्षालयमा राखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिव रिजालले हालका लागि १ ठाउँमा दृश्य र ३ ठाउँमा अडियोमार्फत् सन्देश सार्वजनिक गरिने जानकारी दिए ।

