पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

प्रेस चौतारी नेपालले आज राष्ट्रिय समाचार समिति (रासस) व्यवस्थापनलाई विभिन्न विषयमा सङ्गठनको तर्फबाट ध्यानाकर्षण गराएको छ ।     चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतसहितको टोलीले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासँग प्रमुख प्रतिपक्षी दललगायतका समाचारलाई प्राथमिकता दिन आग्रह गर्दै समितिभित्रका स्थायी तथा ज्यालादारी कर्मचारीको नियुक्ति र सरुवा गर्दा आपसी सहकार्य, संवाद र सहअस्तित्वका आधारमा गर्न ध्यानाकर्षण गराएको छ ।   सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले व्यवस्थापनका क्रममा केही सरुवा भए पनि कुनै पूर्वाग्रह नराखिएको र रासस विनियमावली एवं आर्थिक स्रोतले भ्याएसम्म काममा सक्रिय कुनै पनि अस्थायी पत्रकार र कर्मचारीलाई सेवाबाट नहटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।    अध्यक्ष झाले राससले समाचार प्रवाहमा प्रतिपक्ष दलका समाचारलाई पनि महत्व दिँदै आएको भन्दै समाचार सामग्रीमा कुनै सुधारका विषय भएमा तथ्य र विश्लेषणका आधारमा लेखाजोखा गरिदिन आग्रह गर्नुभयो ।   सो अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई, प्रधानसम्पादक एकराज पाठक, प्रशासन प्रमुख शीतल महतो, चौतारीका प्रतिष्ठान इञ्चार्ज मोहन बाँस्तोलालगायतको उपस्थिति थियो ।

  लमजुङ ।  ‘झरेको पात झै भयो, उजाड मेरो जिन्दगी, निभेको दीप झै भयो उदास मेरो जीन्दगी।’ स्वर सम्राट नारायण गोपालले यी हरफमा उल्लेख गरे झै बागलुङ जिल्लाको कालापैरा घर भई विगत नौ वर्षदेखि लमजुङमा बस्दै आउनुभएका ४७ वर्षीय मनबहादुर विकको जीवन पनि यस्तै भइरहेको छ ।    शारीरिक रुपमा अशक्त उहाँको देब्रे खुट्टा छैन । पाँच जनाको परिवार रहेको मनबहादुरको आम्दानीको कुनै स्रोत छैन । काम गरेरै खान पनि शारीरिक अवस्थाले पनि दिँदैन । परिवारको गुजारा चलाउन दैनिक बिहानैदेखि  विभिन्न स्थानमा बैसाखीको सहारामा आर्थिक सहयोग माग्दै परिवारको जीवन धान्नुपर्ने बाध्यता छ । बागलुङमै रहँदा  घर बनाउने काम गर्दै आउनुभएका उहाँ  विसं २०६८ मा आफ्नै घरमा पालेको बस्तुभाउका लागि स्याउला काट्ने क्रममा रुखबाट खसेर देब्रे खुट्टाको दुई ठाउँको हड्डी भाँचियो । जिल्ला अस्पतालमा उपचारका  क्रममा गोडाभन्दा तलको सबै भाग काटेर फाल्नु पर्यो । चार महिना उपचार गरेर घर फर्केपछि करिब १४ महिना घरमै आराम गरेर बस्नु परेको उहाँको भनाइ छ । मनबहादुरको दुःख त्यतिमै सीमित भएन । उपचारका लागि रु सात लाख लाग्यो । त्यतिका पैसा घरमा नभएको र उहाँको आफ्नै दाइले प्रभु बैंकबाट ऋण निकालेर उपचार खर्च तिर्नुभयो । मेलापात र घरबनाउने काम गरेर जसोतसो गुजारा चलाउँदै  आउनुभएका उहाँलाई यतिको रकम खर्च गर्नुपर्दा र  शारीरिकरुपमा अशक्त हुनुपर्दा  चिन्ताले सताउन थाल्यो ।    श्रीमतीसहित  दुई छोरा र एक छोरी भए पनि छोराछोरी बालकै  भएकाले कमाउन सक्दैनन् ।  आफूले पनि काम गर्न नसक्ने भएपछि मामाको सल्लाहअनुसार लमजुङ भोटेओडारको फेदीकुनामा विसं २०७० मा बसाइ सरेर  मागेरै परिवारको गुजारा चलाउँदै आएको मनबहादुर  बताउनुहुन्छ । बेँसीसहर नगरपालिका–८ बस्दै आउनु भएका  उहाँका १७ वर्षीय एक छोरी, १४ वर्षीय र १२ वर्षीय छोरा बागलुङमै रहेका त्यहीको सरकारी विद्यालयमा अध्ययनरत छन् । उनीहरुसहित आफू र श्रीमतीका लागी दैनिक मागेर जीवनयापन गर्नाका साथै  उपचार गर्दा लागेको ऋण मासिक साढे १२ हजारका दरले बुझाउँदै आएको उहाँ  सुनाउनुहुन्छ  ।    मागेरै दैनिक  न्यूनतम रु एक हजार २०० देखि रु दुई हजारसम्म जम्मा हुने र  छोराछोरीका लागि दुई तीन महिनामा रु २० हजारदेखि रु ३० हजारका दरले पैसा पठाउने गरेको बताउनुहुने मनबहादुर  महिनाभर मागेरै हिँड्न नसक्ने उल्लेख गर्नुहन्छ ।  थकाई लाग्छ, कहिले बिमारी होइन्छ, त्यसैले महिनामा १४÷१५ दिन मात्र मागेर हिँड्ने गरेको छु उहाँ भन्नुहुन्छ । “मेला महोत्सव, चाडपर्वका साथै जिल्लाको सिमपानी, खुदी भूलभूले, बेँसीसहर, घलेगाउँ, मालिङ, मध्यनेपाल, सुन्दरबजार, भोटेओडारलगायत स्थानका  घरघरै र बाटोमा बसेर पैसा माग्ने गर्दा प्रतिव्यक्ति रु पाँच देखि ५० रुपैयाँसम्म दिने गरेको मनबहादुर सुनाउनुहुन्छ  ।   मुलुकमा कोरोना सङ्क्रमण फैलिनुभन्दा केही महिनाअघि पैसा माग्दै दुई पटकसम्म मनाङको खाङसारसम्म पुगेको र त्यति बेला राम्रो पैसा उठेपछि पुनः गत जेठमा मनाङ पुगेपनि मनाङवासी यार्सागुम्बा सङ्कलनका लागि गएकाअवस्था परेकाले खासै पैसा नउठेपछि लमजुङमै फर्किएर आउनुपरेको थियो ।  यसरी पैसा माग्दै जीवन चलाउँदै आएपनि पैसा माग्नलाई सजिलो नभएको र माग्दा कसैले दिने र कसैले सहन नसक्ने गरी बचन लगाउने गरेको उहाँको भनाइ छ ।    कसैले तपाईजस्तो मान्छेलाई दिनुपर्छ भन्छ, कोहीले अहिले पैसा छैन पछि दिउला भन्छ, कसैले हातको सीप गरेर कमाउन सुझाव दिएर मात्र जान्छन् । कोहीले त पैसा दिनाको सट्टा नानाथरीका बचन लगाउने गरेको मनबहादुर गुनासो गर्नुहुन्छ ।   मलाईजस्तो दुःख कसैलाई नपरोस्, तर दःुख परेपनि मेरो जस्तो दुःख नहोस् भन्नुहुने उहाँको  एउटै चाहना छ, यस्तो हालत भए पनि छोराछोरीलाई राम्रोसँग पढाउन सकौँ, उनीहरुको भविष्य उज्वल बनाउन सकौँ भन्ने लाग्छ । श्रीमती पनि काम पायो भने कहिलेकाहीँ अरुको मेलापात गर्ने र  आफूलाई खाना बनाएर बस्ने गर्छिन् ।    हामी जस्ताका लागि बसेर गर्न सक्ने सीपसँगै काम गर्ने वातावरण मिलाइ दिए हुन्थ्यो । रासन पानी पनि सस्तो गर्दिए हुन्थ्यो, झन् झन् महँगी बढ्दै जाँदा हामीलाई धेरै मार पर्ने गरेको छ तर सरकारले हाम्रो कुरा नै नसुन्ने मनबहादुरको गुनासो छ  । कसैले सहयोग गरे धेरै दुःखकष्ट सहेर हिँड्नु नपर्ने उहाँको अपेक्षा छ । बेँसीसहर नगरपालिकाका उपप्रमुख पद्ममा गुरुङ  आफूले त्यसरी मागेर खाने मानिस  भएको जानकारी नभएकाले उनीहरुका लागि हाल नगरपालिकाले कुनै योजना नबनाएको बताउनुहुन्छ  । 

पश्चिम म्याग्दीको दुर्गम गाउँ शिवाङमा गण्डकी प्रदेश सरकारको रु दुई करोडभन्दा बढी लगानीमा सुविधा सम्पन्न छात्रवास निर्माण गरिएको छ । छात्रवास निर्माणपछि विद्यार्थीलाई सहज भएको छ ।    धौलागिरि गाउँपालिका–७ शिवाङस्थित हेम माध्यमिक विद्यालयमा छात्रावास निर्माण गरिएको हो । दसैँपछि नयाँ भवनमा विद्यार्थी राख्ने तयारी रहेको प्रधानाध्यापक शेरबहादुर केसीले जानकारी दिनुभयो । चौबीस कोठे तीन तले सो भवन  ८० विद्यार्थी राख्न सकिने क्षमताको छ । “विद्यार्थीको हेरचाह र खानपानको व्यवस्था मिलाउन तीन कर्मचारीको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो ।    चार वर्ष अघि प्रदेश सरकारको नमूना आवासीय विद्यालय कार्यक्रमअन्तर्गत छनोट भएपछि छात्रावास निर्माण थालिएको हो । भवन निर्माणपछि विद्यालयले विद्यार्थीलाई आवासीय सुविधा दिएको छ । विद्यालयमा नै आवासीय सुविधा पाउने भएपछि भिर, पहरो, जङ्गल र खोलाको बाटो छिचोल्दै दैनिक तीन–चार घण्टा हिँडेर विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई अब सहज भएको छ । “अभिभावकसमेत खुसी भएका छन्”, प्रधानाध्यापक केसीले भन्नुभयो ।    छात्रवासको सुविधा भएपछि बीचमा नै पढाइ छोड्ने क्रम घट्ने केसी बताउनुहुन्छ । गरिबी र पारिवारिक वातावरण नभएर पढाइ छोड्न बाध्य विद्यार्थी लाभान्वित हुने छन् । यसअघि  जीर्ण छात्रावासमा निकै असुविधा थियो । आवासीय सुविधा प्रदान गर्न गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि विद्यालयमा नमूना आवासीय विद्यालय कार्यक्रम लागू गरेको थियो । विद्यालय नजिकको झिनडाडाँमा भवन निर्माण गरिएको हो । गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीका अनुसार छात्रवास व्यवस्थापनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु दश लाख विनियोजन गरेको छ ।  

  काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित भएको छ ।   यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७८ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलव ५१ मा सीमित भएको छ । कुल दुई सय १९ कम्पनीको ४२ लाख ३४ हजार एक सय १७ कित्ता शेयर रु एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार सात सय ४१ मूल्यमा खरिद बिक्री भएको छ ।   नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । बैंकिङ चार दशमलव ८९, व्यापार २० दशमलव ७४, होटल तथा पर्यटन ४१ दशमलव ६४, विकास बैंक ५७ दशमलव ४८, जलविद्युत् ३७ दशमलव ३७, निर्जीवन बीमा २१ दशमलव ७३, उत्पादन ७९ दशमलव ९५, अन्य ३३ दशमलव ३३, लघुवित्त २७ दशमलव शून्य सात, जीवन बीमा ५८ दशमलव ५६, सामूहिक लगानी कोष शून्य दशमलव शून्य आठ र लगानी शून्य दशमलव ५२ अङ्कले ओरालो लागेको छ ।   नेप्सेका अनुसार बिहीबारको कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्षस्थानमा छ । सो कम्पनीको रु ११ करोड २४ लाख ६५ हजार दुई सय ६१ बराबरको कारोबार भयो । त्यस्तै रिडी हाइड्रोपावर रु नौ करोड ४१ लाख २८ हजार नौ सय ९२, नेस्डो समृद्धि लघुवित्त रु आठ करोड ३१ लाख ४० हजार दुई सय ७३, अरुण काबेली पावर कम्पनी रु सात करोड २८ लाख ६१ हजार नौ सय ६८ र राधी विद्युत् कम्पनी रु चार करोड ८३ लाख ७४ हजार छ सय ८५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।   नेप्सेका अनुसार अप्पर हेवाखोला हाइड्रोपावर नौ दशमलव नौ, रुरु जलविद्युत् कम्पनी आठ दशमलव ९३, नेष्डो लघुवित्त दुई दशमलव शून्य सात, ग्लोबल आइएमई बैंकको ऋणपत्र दुई र माछापुच्छ्रे बैंकको ऋणपत्रका लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले कमाएका छन् ।   त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनी पाँच दशमलव ८२, मल्टिप्रपोज फाइनान्स कम्पनी चार दशमलव २७, खानीखोला हाइड्रोपावर कम्पनी चार दशमलव १८, सूर्योदय बोमी लघुवित्त चार दशमलव शून्य नौ र दोर्दीखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव ८७ प्रतिशतले गुमाएका छन् ।

  पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनको मिति नजिकिएसँगै व्यवसायीहरुमा चुनावी माहोल बढेको छ ।    भदौ २४ र २५ गते पोखरामा हुुने ३४ औँ महाधिवेशनका लागि अर्जुुन पोखरेलले बिहिबार पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानल घोषणा गरेका हुुन् ।    पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिराज), कोषाध्यक्षमा हरिराज पन्तले पोखरेल प्यानलबाट उम्मेदवारी दिने अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेलले बताए  ।    यसैगरि सदस्यहरुमा भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलीप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोइराला र हिमनिधि लौडारी उम्मेदवारी घोषणा गरेका हुन् ।   पोखरेल प्यानलले पत्रकार सम्मेलन मार्फत आठ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेको छ । संघलाई पोखरेलीको साझा घरको रुपमा विकास गर्नेदेखि संघलाई आर्थिक रुपमा सवल बनाउने प्रतिबद्धता गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि यस अघि नै अहिलेका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतीले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् ।

  सुनसरी । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आउनुभएको छ । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने चौधरी बताउनुहुन्छ ।      शर्मिलाजस्तै कमला चौधरी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउनुहुन्छ । पूर्वी मोरङको पथरीशनिश्चरे, कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्गलगायत सामुदायिक वनमा निगुरो प्रशस्त पाइन्छ । स्थानीय बजारदेखि काठमाडौँका भान्सासम्म पुग्ने यहाँको निगुरोले सयौँको सङ्ख्यामा स्थानीयलाई रोजगारी दिएको छ ।       चैत सुरु भएदेखि पूर्वी मोरङका जङ्गलमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ । बिहान झिसमीसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोको भरी निगुरो बोकेर निस्कन्छन् । उक्त समयमा जङ्गलमै सिराहा, सप्तरीदेखि झापाको काँकडभिट्टासम्मका व्यापारी भेला भइसकेका हुन्छन् । स्कुले बालबालिकासमेत बिदामा स्टेशनरीको जोहो गर्न निगुरो टिप्न आउँछन् ।      वन आसपास बस्दै आउनुभएका धेरै बालबालिकाले निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । विद्यालय पढ्ने बालबालिकादेखि कलेज पढ्दै गरेका किशोरकिशोरीले समेत बिदाको समयमा निगुरो टिप्ने गरेका छन् । दुई दशकदेखि पथरी र बेलबारीबीचका जङ्गलको निगुरो सङ्कलन गर्दै धरान, विराटनगर, इटहरी, दमक र बिर्तामोड लगरे बिक्री गर्दै आएको विराटनगरकी सिया चौधरी बताउनुहुन्छ ।   पथरी शनिश्चरे, लेटाङ र बेलबारी नगरका साझेदारी वन क्षेत्रमा दैनिक तीन÷चार सयजनाले निगुरो टिप्दै आएका छन । धेरै मजदुरले दैनिक निगुरो बेचेरै परिवारको खर्च चलाउँदै आएका छन् । यस क्षेत्रबाट दैनिक निगुरो सङ्कलन गरी पूर्वका विभिन्न बजारमा बिक्री गर्न लैजाने गरेको खोर्सनेका जितेन्द्र चौधरीको भनाइ छ ।   काठमाडौँसम्मका व्यापारी निगुरो लैजाने गरेका छन् ।  शनिश्चरे, लेटाङ र बेलबारी क्षेत्रबाट दैनिक निगुरो काठमाडौँ लैजाने गरिएको स्थानीय व्यापारी कौशिला माझी बताउनुहुन्छ । माझीका अनुसार यस वर्ष भने पहिलाको तुलनामा निगुरो उत्पादनमा कमी आएको छ । 

  बागलुङ: बागलुङमा स्थानीय निकायको निर्वाचनपछि दुई हजार ८ सय  बढी मतदाता थप भएका छन् । निर्वाचन आयोगले सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय आन्तरिक तयारीमासमेत जुटेका छन् ।    गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतदाता सङ्ख्या भन्दा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई हजार ८०० मतदाता थपिएका छन् । स्थानीयतहको निर्वाचनमा एक लाख ९३ हजार छ सय २४ मतदाता रहेकोमा अहिले एक लाख ९६ हजार दुई सय ९७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।    तीमध्ये  एक लाख नौ हजार ४० महिला र ९५ हजार पाँच सय १७ महिला मतदाता छन् । एक वर्षभित्र दर्ता भएर १८ वर्ष उमेर नपुगेर स्थानीय तहमा मतदान समेत गर्न नपाएका मतदाता र नयाँ दर्ता भएका मतदातासहित १३ हजार बढीले यसपटकको निर्वाचनमा मतदान गर्न पाउनेछन् ।    यस्तै स्थानीय तहको निर्वाचनपछि असार १ गते देखि साउन १९ गतेसम्म दुई हजार आठ सय  मतदाताले मतदाना नामावली दर्ता गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी गकुल शर्माले जानकारी दिनुभयो ।    “स्थानीय तहको निर्वाचनमा रहेको मतदाता सङ्ख्याको आधारमा जम्मा दुई हजार आठ सय मतदाता थपिएका हुन्, तर उमेर नपुगेर स्थानीय तहको निर्वाचनमा मतदात गर्न नपाएका र नयाँ थपिएका गरी १३ हजार बढीले यसपटकको निर्वाचनमा मतदान गर्न सक्नेछन्” उहाँले भन्नुभयो “अहिलेको प्रदेश र सङ्घीय निर्वाचनको तयारीमा जुटेका छौँ, मतदाता अध्यावधिकपछि केही मतदाता घट्लान, भदौ महिनामै अन्तिम नामावली प्रकाशन गर्नेछौँ तर त्यसअघि वडातहमै मतदाता नामावली लगेर छलफल गर्नेछौँ ।”   गत असार १ गते देखि साउनको १९ गतेसम्म जिल्ला प्रशासन कार्यालय , इलाका प्रशासन कार्यालय बुर्तिबाङ र निर्वाचन कार्यालय, बागलुङमा मतदाता नामावली दर्ता गरिएको थियो । एक सय तीन मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङ जिल्लामा स्थानीय तहको निर्वाचनको समयमा भएको समस्या, मतदाताको पहुँच लगायतको कारण तीन मतदानस्थल स्थानान्तरण र तीन मतदानस्थल थप गरेर निर्वाचन आयोगमा पठाइएको छ ।  “स्थानीय तहको निर्वाचनमा धेरै स्थान मतदाताको पहुँच भन्दा टाढा रहेको, मतदानस्थल साँघुरो भएको लगायतका समस्याका कारण मतदान केन्द्र स्थानान्तरण र मतदानस्थल थप गरिएको हो” सूचना अधिकारी शर्माले भन्नुभयो “राजनीतिक दलमा सहमति जुटेको स्थानमा मात्रै मतदानस्थल परिवर्तन गरेका छौँ, सहमति नजुटेको थुप्रै मतदानस्थल छन् जुन साँघुरो र मतदान गर्नै सास्ती भएकोसमेत छन् तर सहमति नजुटेको स्थानलाई अहिले यथावत् नै राखिएको छ ।”   थप हुने मतदानस्थलको रुपमा ढोरपाटन नगरपालिका–६ र ढोरपाटन–२ र गलकोट  नगरपालिका –१० रहेको छ । यस्तै मतदानस्थल परिवर्तन भएकोमा बागलुङ नगरपालिका–३ बौद्ध बिहारको कालिका कन्या मन्दिर, बागलुङ नगरपालिका–६ को वडा कार्यालयदेखि लहरेपिपल माध्यामिक विद्यालय र  बडिगाड गाउँपालिकाको– ८ सिद्धबारी प्राविबाट भृकुटी माध्यामिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।     अन्तिम मतादाता नामावलीका लागि दाबी विरोध, मृत्यु भएकाको नामावली हटाउने, नाम परिवर्तन गर्ने विवाह गरी गएकाको दर्ता सार्ने गरी भदौ १२ देखि १५ सम्म स्थानीय तहको वडामा मतदाता नामावली पुग्ने निर्वाचन कार्यालयको भनाइ छ ।  

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनुपर्ने बताउनुभएको छ । उहाँले जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’को प्रवद्र्धनमा केन्द्रित हुुनुपर्नेमा जोड दिनुभएको हो ।   ‘कोप–२७’ तयारीका लागि थाइल्याण्डको बैंककमा आज आयोजित ‘जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य प्राप्तिको प्रयासमा लगानी परिचालनसम्बन्धी मञ्च’ बैठकको ‘हरित ऊर्जाका लागि जलवायु वित्त लगानी’ विषयक सत्रमा भर्चुअल सम्बोधन गर्दै मन्त्री भुसालले भन्नुभयो, “स्वच्छ ऊर्जाको प्रवद्र्धनमा विश्व केन्द्रित हुनुपर्छ, त्यसका लागि सामूहिकरूपमा जलवायु वित्तको जोहो गर्न आवश्यक छ ।” उहाँले विशिष्ट भौगोलिक बनोट र जलवायु–संवेशनशील जीवन शैलीका कारण नेपाल जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो ।   अतिकम विकसित मुलुक भएर पनि नेपालले ‘१.५ डिग्री तामक्रम’को लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै मन्त्री भुसालले विश्वका मुलुकले कार्बन उत्सर्जन न्यूनीकरणका लागि महत्वकांक्षी लक्ष्य लिएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।    वार्षिक ऊर्जा खपत दरलाई आधार मान्ने हो भने नेपालमा उत्पादन भएको जलविद्युत् बढी हुने उल्लेख गर्दै उहाँले आगामी सन् २०२५ देखि नेपाल वर्षभरि नै जलविद्युत् निर्यात गर्ने मुलुक बन्ने जानकारी गराउनुभयो । खपत गरेर बाँकी भएको ऊर्जा ‘हरित हाइड्रोजन’ उत्पादनमा प्रयोग गर्ने तयारी गरिएको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “ग्रीन हाइड्रोजनका लागि हामीले उपयुक्त पहल गरिरहेका छौँ ।” ग्रिन ग्रीड अवधारणाअनुसार कोप–२६ मा ‘एक सूर्य, एक विश्व र एक ग्रिड’ को सुरुआत गरिएको उल्लेख गर्दै उहाँले हरित ऊर्जासम्बन्धी विश्व अवधारणा पूरा गर्नका लागि नेपालजस्ता देशमा प्रसारण लाइनको निर्माण तथा पूर्वाधार विकासको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपालमा अधिक मात्रामा नवीकरणीय ऊर्जा जलविद्युत् प्रयोग हुँदै आएको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “सौर्य ऊर्जा उत्पादनका लागि पनि नेपालमा पर्याप्त सम्भावना छ ।”   आफ्नो देशले शून्य कार्बन उत्सर्जनको रणनीति लिएको जानकारी गराउँदै मन्त्री भुसालले भन्नुभयो, “नेपालले सन् २०४५ मा शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने लक्ष्य लिएको छ, स्वच्छ ऊर्जाको व्यापार गरेर नेपालमा मात्र होइन देश बाहिर पनि कार्बन उत्सर्जनलाई न्यूनीकरणमा योगदान गर्न चाहन्छ ।”    स्वच्छ ऊर्जा प्रयोग गर्न सुरु गरिसकेको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “पछिल्लो दशकमा हामीले विद्युत् पहुँचलाई व्यापक विस्तार गरेका छौँ, देशको ९५ प्रतिशत जनतालाई राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुर्याएका छौँ, आगामी सन् २०२४ सम्ममा हामीले देशभर स्वच्छ ऊर्जा विद्युत् पुर्याउने लक्ष्य लिएका छौँ ।”

  बागलुङ: निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको सडक कालोपत्रका लागि काम थालिएको छ ।   बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रका लागि निर्माण व्यवसायी छनोट भएर काममा आएको छ ।   साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्र गर्न सडक डिभिजन कार्यालयले गरेको ठेक्का आह्वानमार्फत कर्ण विल्डर्सले निर्माणको जिम्मा पाएर काममा आएको छ । अहिले सडक चौडा पार्न र सडक मिलाउनका लागि निर्वाण व्यवसायीको तर्फबाट सर्भेको काम भइरहेको सर्वेयर भाष्कर बरामले बताउनुभयो । “दशैँपछि निर्माणको काम हुनेछ, अहिले लागत अनुमानअनुसार सडकको डिजाइनको विषयमा निर्माण व्यवसायीको तर्फबाट सर्भेको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “दशैँ अघिसम्म सबै सर्भेको काम सकेर निर्माणमा जुट्ने योजना छ, सडक समयमै कालोपत्र सक्ने गरी ठेक्का सम्झौतालगत्तै निर्माण व्यवसायी काममा आएको हो ।”   बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्र भइसक्ने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुबाट १० किमी सडक कालोपत्र गरिने छ । लामो समय बजेट अभावले कालोपत्रका लागि ठेक्कामा जान नसकेको सडक विभिन्न पहल र प्रयासका बाबजुद हाल आएर कालोपत्रको चरणमा प्रवेश गरेको हो ।   यो ठेक्काअन्तर्गत बागलुङ बजारबाट बोक्सेसम्म सडक कालोपत्र भइसकेका कारण बोक्सेबाट बौडैचौरको आलडाँडासम्म सडक कालोपत्र हुने भएको छ । निर्वाचन क्षेत्र एक रणनीतिक सडक सोही क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदहरूको सिफारिसमा छनोट हुने गरेको छ । अहिले सडक कालोपत्र नहुँदा सिगाना हुँदै बरेङ शान्तिपुर जाने सडकमा यात्रुले सास्ती खेप्दै आएका छन् ।