पोखरा । पोखरामा उद्योगी व्यावसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि रस्सकस्सी चलिरहेको छ । चुनावमा होमिन लागि अध्यक्षका २ आकांक्षीले प्यानल नै बनाएर घरदैलो अभियान सुरु गरिसकेको छ । दुवै जना छुट्टाछुट्टै टोली बोकेर फरक फरक स्थानमा उद्योगी व्यावसायीको समस्या र सुझाव सुन्दै हिडेका छन् । अध्यक्षका प्रत्यसीहरु हुन्, वर्तमान वरिष्ठ उपाध्यक्ष पवन प्रजापति र हालका बाणिज्य उपाध्यक्ष अर्जुन पोखरेल । यिनीहरु दुवै अघिल्लो महाधिवेशनमा एउटै प्यानलबाट चुनाव लडेका थिए । जहाँ पवन प्रजापति सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका हुन् भने अर्जुनले चुनाव लडेरै निर्वाचित भएका हुन् । आसन्न भदौ २४ र २५ गते उद्योगी व्यापारीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा पनि सर्वसम्मतको तयारी भईरहेको थियो । तर विविध कारणले सर्वसम्मतको च्याप्टर समाप्त भएको दुवैको भनाई छ । समस्या एकातिर भएपनि निर्वाचनमा होमिएर एक जना बाहिरिने निधोमा पुगेका छन् दुवै जना । स्वाभाविक पनि निर्वाचनमा जितेकोले नेतृत्व गर्छ भने हारेको बाहिरिने नै हो । यसका लागि दुवै नेतृत्व लिन र बाहिनिर तयार छन् । दुवै जनाले केही नयाँ अनुुहार टिममा समेट्दै प्यानल बनाएर हिंडिरहेको छ । सोही क्रममा प्रजापतिको प्यानल पोखरा १७ पुग्यो । सो वडा अर्का प्रत्यासी पोखरेलको बसोबास भएको वडा हो । आफ्नो वडामा प्रजापतिको प्यानल घरदैलोका लागि आउने थाहा पाएपछि अर्जुन बिहानै हातमा खादा लिएर बसे । आफ्ना प्रतिपर्धीलाई भेट्ने बित्तिक्कै हातमा भएका खादा प्रजापतिको गलामा लगाईदिएर जितको शुभकामना दिदैं फोटो खिच्न भ्याए । अनि फेसबुकमा पोष्ट्उँदै लेखिहाले, ‘आदरणिय दाई पवन प्रजापती र वाहाको टिमलाई मेरो बसाई रहेको वडा १७ मा स्वागत र शुभकामना दिदै । मेरो सोच ः ‘संस्कार, सम्मानसँगै मित्रवत प्रतिष्पर्धा’ विविध कारण सर्वसम्मत हुन नसकेको बताउने पोखरेल पोखरा उद्योग वाणिज्य संघको अहिलेको चुनावलाई मित्रवत प्रतिष्पर्धा भन्न रुचाउँछन् । ‘हामी दाजुभाइमा कुनै तिक्तता छैन्,’ उनले भने, ‘केही कुरा नमिलेको मात्र हो । यो अधिवेशनलाई मैले मित्रवत प्रतिष्पर्धाको रुपमा लिएको छु ।’ पोखरेलको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।
धरान । धरान उपमहानगरपालिकाले कुहिने फोहर व्यवस्थापन गरे पनि नकुहिने फोहर व्यवस्थापन गर्न सकेको छैन् । उपमहानगरपालिकाले वर्षौँदेखि १५ नं वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहर फाल्दै आएको छ । फोहर फालिएको स्थानमा जलाउने गर्नाले सडकमा समेत प्रदूषण बढेको छ । यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न उपमहानगरसँग अनुरोध गरेको थियो । उपमहानगरले कुनै सुनुवाइ नगरेको सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष कुमार भारतीले बताउनुभयो । समूहले जिल्ला डिभिजन वन कार्यालय सुनसरीलाई समेत जानकारी गराएको थियो । समूहले वनलाई जानकारी गराएपछि वन कार्यालयले चासो देखाएर उपमहानगर र सव डिभिजन कार्यालय पाँचकन्यालाई पत्र लेखेको छ । डिभिजन वन कार्यालय सुनसरीका डिभिजन अधिकृत भीमबहादुर कालिकोटेद्वारा हस्ताक्षरित पत्रमा उपमहानगरपालिकाबाट निस्किएका प्लास्टिकजन्य बस्तु तथा नकुहिने फोहर सामुदायिक वन क्षेत्रभित्र सेउती खोला किनारमा फाल्ने गरेको बुझिएकाले उपमहानगरसँग समन्वय गरी सहरी क्षेत्रबाट निस्केका फोहरमैला वन क्षेत्रमा नफाल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । कालिकोटेले यही भदौ १२ गते सव डिभिजनलाई पत्र लेख्नुभएको छ । सोही पत्र पाँचकन्याले बाँझगरा सामुदायिक वनलाई बोधार्थ दिइएको छ । जिल्लाको पत्र आएलगत्तै पाँचकन्या सव डिभिजनले सामुदायिक वनअन्तर्गत तीनकुने क्षेत्रमा फोहर नफाल्न उपमहानगपालिकालाई पत्राचार गरेको छ ।
भक्तपुर । गणेश चतुर्थीका अवसरमा भक्तपुरको सूर्यविनायकको खटजात्रा धुमधामले मनाइँदैछ । स्थानीय सूर्यविनायक क्षेत्र प्रबन्ध समिति, सूर्यविनायक युवा क्लब, सूर्यविनायक नगरपालिकाको वडा नं ६ र ८, ढल्चा भजन, दाफा खल: तथा गुथियारका सक्रियतामा यो जात्रा गरिएको हो । यो जात्रा करिब पाँच दशकपछि गत वर्षदेखि पुन:सञ्चालनमा आएको थियो । अर्थाभावका कारण लोप हुने अवस्थामा पुगेको यो जात्रालाई पुनर्जीवित गर्न गत वर्ष सूर्यविनायक–६ र ८ ले रु दुई–दुई लाख बजेट व्यवस्था गरेको थियो । सोहीअनुसार स्थानीय गुठियार र विभिन्न समिति, भजन खल:को सक्रियतामा जात्रा पुन:सञ्चालनमा भएको हो । जात्राका लागि यस वर्ष पनि दुवै वडाले रु तीन–तीन लाख विनियोजन गरेको छ । सूर्यविनायक मन्दिर सूनपा–८ र ६ को सिमानामा रहेको छ । जात्रा दुईवटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा रहेको छ भने जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुठी पनि दुईवटै वडाको क्षेत्रमा रहेको छ । त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुईवटै वडाले बजेट विनियोजन गरेको हो । गणेश चतुर्थीको दिनलाई भगवान् सूर्यविनायकको जन्मोत्सवका रूपमा समेत लिइन्छ । जात्राका क्रममा सूर्यविनायकको मूल मूर्तिलाई खट्मा राखी एकापसमा सिन्दुर दलेर विभिन्न टोलको परिक्रमा गराइने परम्परा रहेको छ । सूर्यविनायक मन्दिरको प्राङ्गणबाट सुरु भएको जात्राका क्रममा खटलाई स्थानीय तीनधारा, पिपलबोट, गुन्चाटोल, राजथला टोल, सूर्यविनायक चोक, चालिसे गाउँलगायतका टोलमा धिमे, भुस्या, धाँ बाजाको साथमा परिक्रमा गराइन्छ । जात्रामा स्थानीय ढल्चा भजन, दाफा खलःका बाँसुरी बाजा, धिमेबाजा तथा गुठियारको सहभागिता रहन्छ । गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो)को लोपोन्मुख जात्रालाई बर्सेनि निरन्तरता दिइने सूर्यविनायक युवा क्लबका अध्यक्ष मनोज गिरीले बताउनुभयो । काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भन्दछन् । यो गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको जात्रा व्यवस्थापन समिति संयोजक विष्णुप्रसाद राजथलाले बताउनुभयो । उहाँका अनुसार गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्का;(बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्व:मा लैजान र त्यहाँ वैशाख ४ गते हुने द्यो स्वंग: ९सगुन० जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ ।
सुदूरपश्चिम । ज्येष्ठ नागरिक लालबहादुर ओली घरमा एक्लोपन महसुस हुनथालेपछि धनगढीस्थित श्री जानकीयज्ञ ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा पुगेर भजनकीर्तनमा रमाइरहनुहुन्छ । सेवाकेन्द्रमा आयोजना हुने भजनकीर्तन, प्रवचन र देउडा गीतमा रमाउन ९४ वर्षीय उहाँसहितका वृद्धवृद्धा पुग्नुहुन्छ । उहाँले भन्नुभयो, “दैनिक दिवासेवा केन्द्रमा पुगेर गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ, आफ्नै उमेरका नागरिकसँग भलाकुसारी पनि गर्न पाइन्छ ।” पचास वर्षअघि श्रीमतीको निधन भएर एक्लोपन महसुस गर्नुभएका उहाँका घरमा छोराबुहारी, नातिनातिना हुनुहुन्छ । त्रीयासी वर्षीय भूमिनन्दन जोशी पनि दिउँसोको समयमा दिवासेवा केन्द्रमा पुग्नुहुन्छ । “भजनकीर्तन र देउडा लगायतका गीत सङ्गीतको धुन बज्दा उत्साह र उमङ्ग थपिन्छ”, उहाँले भन्नुभयो, “आफ्नो दिनको सहारा नै यो सेवाकेन्द्र बनेको छ ।” धनगढीकै ८२ वर्षीया चन्द्रा रोस्यारा सेवाकेन्द्रमा भइरहने गतिविधिले मनमा शान्ति हुने गरेको अनुभव सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “जीवन ठिकै चलेको छ, घरमा पनि सबैले स्याहार र माया गरिरहन्छन् ।” दिवासेवा केन्द्रमा दैनिक कम्तीमा आठ÷दश जना र बढीमा २५ जनासम्म ज्येष्ठ नागरिक पुग्ने गरेको बताइएको छ । हारमुनियम, तबला, खैँजडी, मिजरा, मादलको धुनमा भजनकीर्तन गाउँदा सहभागी ज्येष्ठ नागरिकमा उत्साह र उमङ्ग थपिने गरेको देखिन्छ । त्यसक्रममा उहाँहरुले जीवनमा भोगेका सुखदुःखका घटनाका बारेमा आपसमा भलाकुसारी पनि गर्नुुहुन्छ । धनगढी उपमहानगरपालिका–२ को पुरानो भन्सार रोडछेउको श्री रामजानकी मन्दिर परिसरको एक भवनमा सञ्चालनमा रहेको उक्त सेवा केन्द्रले वृद्धवृद्धाका लागि दिउँसोको समयमा भजनकीर्तनसहितको गीतसङ्गीतको व्यवस्थापन गरेर मनोरञ्जन दिँदै आएको हो । भेला हुने ज्येष्ठ नागरिकका लागि खाजा र चियाको व्यवस्था गरिएको हुन्छ । सेवा केन्द्रमा व्यवस्थापनको जिम्मेवारीमा रहनुभएकी दुर्गादेवी महराले सेवा केन्द्रले दिइरहेको सेवाबाट ज्येष्ठ नागरिकका अलावा आफूलाई पनि सन्तुष्टि भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खाजा र चियाको व्यवस्थापसँगै मनोरञ्जन दिने व्यवस्थाले बुढेसकालमा उहाँहरुलाई राम्रै भएको छ ।” घरमा अभाव, असुरक्षा र एक्लोपनमा बाँचिरहेका कतिपय ज्येष्ठ नागरिकले उचित माया र सहारा नपाउँदा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता देखिन्छ । वयस्क उमेरमा जस्तो बुढेसकालमा खानेलाउने र बाँच्ने तरिका पनि फेरबदल आउने गर्दा ज्येष्ठ नागरिकलाई माया र साहारा निरन्तर चाहिन्छ । कतिपय घरपरिवारबाट उचित व्यवहार र माया नपाउँदा जीवनको उत्तरार्धमा वृद्धवृद्धा पीडित हुने गरेका घटना सुनिन्छन् । वृद्धवृद्धालाई दिउँसोको सयम बिताउन पाउने उचित ठाउँको अभाव महसुस हुँदा समाजसेवी रमणचन्द्र श्रेष्ठसहितको पहलमा विसं २०७१ मा श्री जानकी ज्येष्ठ नागरिक दिवासेवा केन्द्र स्थापनाको योजना बनेको थियो । “महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सुरुको अवस्थामा ज्येष्ठ नागरिक शीर्षकमा रु दुई लाख बजेट प्राप्त हुँदा प्रारम्भिक काम सुरु गर्यौ”, केन्द्रका संरक्षकसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “पछि स्थानीय समाजसेवी ईश्वरमान श्रेष्ठ, श्रीमान् श्रेष्ठ, त्रैलोक्यमान श्रेष्ठ र सुवर्णमान श्रेष्ठसहितका सहोदर दाजुभाइले आप्mना स्वर्गीय आमाबुबाको स्मृतिमा यो भवन निर्माणलाई पूर्णता गरिदिनुभयो ।” दुई तले दिवासेवा केन्द्र भवनको पहिलो तल्लामा भजनकीर्तन र प्रवचनका कार्यक्रम भइरहन्छन् । दोस्रोे तल्लामा धार्मिक पुस्तकालय सञ्चालन गरिएको छ । भवन निर्माणमा प्रदेशसभाका सदस्य डिल्लीराज पन्त र उपमहानगरपालिका कार्यालयबाट पनि सहयोग प्राप्त भएको संरक्षक श्रेष्ठले बताउनुभयो । ज्येष्ठ नागरिक सङ्घ कैलालीका पूर्वअध्यक्ष दिव्यप्रसाद पन्तले समाजका पथप्रर्दशक ज्येष्ठ नागरिकलाई आफू एक्लिएको अनुभव र मानसिक चिन्ता महसुस हुन नदिनका लागि दिवासेवा सञ्चालनमा सङ्घले पनि सक्दो सहयोग पुर्याइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा छोराबुहारी, नातिनतिना, छाडेर एकान्त ठाउँ ९वृद्धाश्रम०मा बस्नु पर्दा धेरै ज्येष्ठ नागरिकमा मानसिक पीडा र चिन्ता हुनेगरेको स्थलगत अध्ययनका क्रममा देखिएकोले अब यसको विकल्प खोज्नुपर्ने देखिएको छ ।” उक्त केन्द्रले वृद्धवृद्धालाई पटपटक तीर्थाटनमा समेत लैजाने गरेको छ । यसबाहेक बत्ती कात्ने, जनै बनाउने, कामका साथै च्याउ, प्याज, फलफूलका बेर्ना बनाउने तालिमसमेत दिने गरिएको छ ।
समय र परिस्थितिसँगै हाम्रा चाडबाड, संस्कृति मनाउने तरिकामा केही परिवर्तन हुँदै गएका छन् । घरका आँगन, गाउँका चौतारी, मठमन्दिर, बजारका चोक, खुल्ला चउरमा मौलिक भाकामा घन्कने तीजका भाका अहिले यी ठाउँमा देख्न पाइएन । यस पटकको तीज रमाइलो फेसबुक र टिकटकमा व्यापक छाएको छ । संस्कृतिको संरक्षणभन्दा पनि मनोरञ्जनतिर मात्रै तीज रमाइलोको उल्लास छ । विभिन्न पर्यटकीय ठाउँ, मठमन्दिर, पार्क जस्ता क्षेत्रमा पुगेर टिकटक बनाउने, फेसुबकमा फोटो, भिडियो पोष्ट गरेर तीज रमाइलो मनाइरहेका छन् । स्थानीय रमा गौतमले समयअनुसार आएका नयाँ–नयाँ प्रविधिको उपयोग गर्दै यसपटक तीज टिकटकमा नाचेर मनाइएको बताउनुहुन्छ । विगतका तीजका कार्यक्रममा उहाँ निकै सक्रिय भएर प्रतियोगितात्मक कार्यक्रममा नाचगानमा सहभागी भए पनि अहिले भने तीज पर्व सुरु भएदेखि नै सामाजिक सञ्जालमार्फत आफ्ना प्रस्तुति प्रस्तुत गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “घरमै बसेर नयाँ–नयाँ कपडा लगायो, आफूलाई मन परेको गीत रोजेर टिकटक बनाउने पोष्ट गर्ने, धेरैले यसको प्रयोग गर्नुहुन्छ, यसमै तीजको रमाइलो भइरहेको छ, अन्यत्र कार्यक्रममा जाने झण्झट गरिएन, बाहिर कार्यक्रम हेर्न पहिलाजसो उत्सुकता र रमाइलो लाग्दैन ।” टिकटक बनाउने पोष्ट गर्ने, लाइक, भ्युज, कमेण्टमा बढी ध्यान तानिएको छ । टिकटक, फेसबुकलाई नै बढी समय दिएर आफ्ना प्रतिभा देखाउने जमात युवायुवती, बालबालिकादेखि ज्येष्ठ नागरिकमा पनि उत्तिकै छ । फुर्सदिला व्यक्तिलाई टिकटक, फेसबुक समय भुलाउने माध्यम बनेको र यसबाट लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने अवसर बनेको कला खनाल बताउनुहुन्छ । “अरुका सामु नाच्न पटक्कै आउँदैन, यसो नाच्न खोजे पनि लाज र डर लाग्थ्यो, टिकटक आएपछि भने घरभित्रै हल्का नाच्न सिकियो, फुर्सदमा टिकटकमै नाच्न र अभिनय गर्न सिकिरहन्छु”, उहाँ भन्नुहुन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन् । सबैका घर घरमा इन्टरनेटको सुविधा पुगेको छ । स्मार्ट फोन प्रयोग गर्ने धेरै छन् । त्यसकारण पनि हाम्रा चाडपर्व विशेष गीतमा टिकटक बनाउने, नाचगान गर्ने, फेसबुकमा पोष्ट गर्नेको जमात छ । चाडपर्वका गतिबिधि सामाजिक सञ्जालमा बढी देखिन थालेको छ । कतिपयले टिकटक र फेसबुकमार्फत देखाउनकै लागि पनि भड्किलो तरिकाले पर्व विशेषका गतिविधि देखाउने गर्दा भने विकृति बढेको धेरैको ठम्याइ छ । सही सदुपयोग गर्न जानियो भने सामाजिक सञ्जाल आफूमा लुकेर रहेका प्रतिभा देखाउने अवसर र यसबाट धेरै राम्रा कुराको जानकारी लिन सकिन्छ । तीज विशेष प्रतियोगितात्मक कार्यक्रममा यस पटक खासै उत्साह देखिएन । पहिले पहिले यहाँ आयोजित कार्यक्रममा प्रतियोगिको ठूलो सहभागिता रहेपनि यस पटक न्यून मात्रामा मात्रै थिए । सूचना प्रविधिको विकास र प्रयोगले नाचगान कार्यक्रममा पहिलेजसो रुची छैन । अघिल्ला वर्षमा तीज प्रतियोगितात्मक कार्यक्रममा १५ समूहभन्दा बढी प्रतिस्पर्धामा प्रतियोगिको सहभागिता रहने गरेकोमा अहिले ६ समूहले मात्रै कार्यक्रममा सहभागिता जनाएको रजघरा बजार व्यवस्थापन समितिका अध्यक्ष हरि पोखरेलले बताउनुभयो । “यस पटक सहभागीको सङ्ख्या अति नै न्यून भयो, पहिला त धेरै टाढाबाट गीत र नाच तयारी गरेर आउथे, प्रचारप्रसार व्यापक रहेपनि नाच्ने र गाउने समूह घट्दै गयो” उहाँले भन्नुभयो । यसैगरी विजयपुर बजार व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा पनि जम्मा ६ समूहले मात्रै सहभागिता जनाए । प्रथम, द्वितीय, तृतियका लागि ठूलो नगद रकम पुरस्कार रहेता पनि सहभागितामूलक कार्यक्रममा दर्शकले खासै चासो दिएनन् । यहाँ विगतका वर्षमा ठूलो समूहमा कार्यक्रम हुने गरे पनि पछिल्ला वर्षमा तीजमा प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुने क्रम घट्दो छ । घरमै बसेर इन्टरनेटमा सबै कुराको उपयोग गर्ने सुविधा भए पश्चात् घरदेखि बाहिर हुने खुल्ला प्रतिष्पर्धात्मक कार्यक्रममा सहभागी हुन जाने उत्साह नभएको सिर्जनशील युवा क्लवका अध्यक्ष ओमप्रकाश रेग्मी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महिलाका लागि आयोजना गरिएको कार्यक्रममा महिला सहभागीता नै कम हुन थालेको छ, घरमै बसेर इन्टरनेट प्रयोगकर्ता बढ्दै, प्रत्यक्ष रुपमा घरबाहिर निस्केर खुल्ला प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुने क्रम घट्दै गयो, पहिलाजसो दुख र बेदनाको तीज अहिले नभएर होला, सबैलाई सुख र सुविधा छ ।” यस्ता तीज विशेष आयोजना गरिएका प्रतियोगितात्मकमूलक कार्यक्रममा दर्शकको उपस्थिति पनि घट्दै गएको छ । दर्शकको उपस्थितिले भरिभराउन हुने खुल्ला चउर, बजारका चोक पछिल्ला वर्षमा उपस्थिति पातलिँदैछ ।
कञ्चनपुर । कञ्चनपुरमा केही समययता हात्तीको आक्रमण बढ्दो छ । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा नोक्सानी पुग्ने गरेको छ । जङ्गल नजिकै मावनबस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाउनुपरेको छ । सोमबार मात्रै शुक्लाफाँटा नगरपालिका–७ की २२ वर्षीया मीना जोशीको खेतमा काम गरिरहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार जङ्गली हात्तीको आक्रमणबाट तीन वर्षको अवधिमा छ जनाले ज्यान गुमाएका छन् । निकुञ्ज कार्यालयका अनुसार विसं २०७७ मा दोधारा चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । विसं २०७८ मा शुक्लफाँटा–१ वन्साहका एक पुरुष र एक महिलाको हात्तीको आक्रमणबाटै मृत्यु भएको हो । लालझाडी गाउँपालिका चान्देउका एक पुरुषको पनि हात्तीको आक्रमणमा परी मृत्यु भयो । यसवर्ष पनि कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गत साता मात्रै बेदकोट नगरपालिका हात्तीथालाकी एक महिला हात्तीको आक्रमणबाट घाइते हुनुभएको छ । हात्तीको आक्रमणबाट मानिस मात्रै होइन किसानको अन्नबाली र घरमा क्षति हुने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै भारतसँग जोडिएको दुधुवा नेशनल पार्कबाट आउने हात्तीले यहाँ क्षति गर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले हात्तीको बासस्थान साँघुरिदै गएपछि हात्तीको आक्रमण बढ्न थालेको बताउनुभयो । “दुई तीन वर्षयता हात्तीको आक्रमण बढेको छ”, उहाँले भन्नुभयो, “पहिला सिजनमा आउने हात्ती छोटो समयमा फर्किन्थ्यो अहिले दुई÷तीन महिनासम्म यहाँ बस्ने गरेको पाइन्छ ।” हात्ती प्रायः एउटै ठाउँमा नबस्ने र घुमफिर गरिरहने भएकाले हात्ती हिँड्ने बाटोमा पनि आक्रमण हुने गरेको छ । “हात्ती एउटै स्थानमा बस्दैन एकै रातमा पाँच÷सात किलोमिटर हिँड्छ”, उहाँले भन्नुभयो, “हाम्रो यहाँ वनजङ्गल कम छ हात्ती भारतको दुधुवा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्छन त्यो बीचमा धेरै बस्ती छन् ।” उहाँका अनुसार हात्ती हिँड्ने बाटोमा बस्ती भएका कारणले पनि मानिसमाथि हात्तीको आक्रमण बढेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मौसमी रुपमा ५०÷६० को बथान भारतीय दुधुवा नेसनल पार्कबाट आउने गरेका छन । यी हात्तीको वथान कहिले नेपाल कहिले भारततर्फ आउजाउ गरिरहेको हुन्छन् । “बच्चाको साथमा आएको हात्तीले आक्रमण गर्दैन”, सहायक संरक्षण अधिकृत ऐरले भन्नुभयो, “पाँच÷छ भाले अधबैसे हात्ती बथानबाट एक्लिएका छन् उनीहरुले बथान खोज्दै हिँड्छन्, ती हात्ती नडराउने र छिटो आक्रमण गरिहाल्ने हुन्छन् ।” उहाँका अनुसार ती अधबैसे हात्ती अहिले स्थायी रुपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बस्न थालेपछि बस्तीमा आक्रमण हुन थालेको हो । कञ्चनपुरमा मध्यवर्ती क्षेत्रमा शिविर धेरै छन् विशेषगरी हात्ती हिँड्ने बाटोमा बस्ती विस्तार भएका कारण हात्तीले अन्नबाली र घरमा क्षति पुर्याउने गरेको छ ।
पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि खेलस्थल व्यवस्थापन उपसमितिले प्रतियोगिताका लागि ३३ वटा खेलको खेल स्थल टुंगो लगाएको छ । सोमबार प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङको ‘भेन्यू’ हेर्नका लागि पोखराको सराङकोट पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका खेलस्थल व्यवस्थापन उपसमिति उपसमिति संयोजक राजेश कुमार गुरुङले यस्तो बताएका हुन् । उनले प्रतियोगितामा समावेश विभिन्न ३३ वटा खेलका लागि उपयुक्त खेल मैदानसहित अभ्यास स्थलको टुंगो लगाइसकेको जानकारी दिए । उनले भने, ‘हामीले हालसम्म नवौं राष्ट्रिय प्रतियोगिताका ३३ वटा खेलको खेलस्थल र अभ्यास मैदानको टुंगो लगाएका छौं । यसमा सदस्य सचिव, टेक्निकल टोली सहित खेल पदाधीकारी बसेर केही दिनमै सार्वजनिक गर्नेछौं ।’ प्याराग्लार्ङडिङका लागि कास्की सहित स्याङ्जा, तनहुँ लगायतका जिल्लामा सम्भावित ‘स्पट’को अवलोकन गरिसकेका उनले घुमाउरो पारामा प्रतियोगिता पोखरामा नै सञ्चालन हुने संकेत गरे । उनले खेलस्थलको औपचारिक जानकारी भने केही दिनमा पत्रकार सम्मेलनमार्फत दिने बताए । उनले प्रतियोगिता सञ्चालका लागि उक्त स्पटमा विभिन्न पूर्वाधारहरुको आवश्यकता रहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य बसन्तराज दवाडी, प्याग्लाईडिङ प्रशिक्षक योगेश भट्टराईलाई आग्रह गरे । ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगितालाई प्रदेशका ११ वटै जिल्लाको अपन्त्व रहनेगरि सञ्चालनका लागि तयारीलाई अन्तिम चरणमा पुर्याइएको गुरुङले बताए । यद्यपी विभिन्न जिल्लामा खेल पुर्वाधार र प्राविधिक अवरोधका कारण प्रतियोगिताका अधिकांश खेल प्रदेश राजधानी पोखरा केन्द्रित हुन सक्न गुरुङले जानकारी दिए । प्याराग्लाइडिङ खेलाडीलाई तयारी स्वरुप राज्यले प्रयाप्त रकम दिन सक्दैन: दवाडी सरकारले प्याराग्लाईडिङसहित अन्य खेलहरुमा पर्याप्त रकम विनियोजन गर्न नसकेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य बसन्तराज दवाडीले गुनासो गरेका छन् । गण्डकी खेलकुद परिषदका बोर्ड सदस्य बसन्तराज दवाडीले सोमबार खेलस्थल अवलोकन क्रममा पोखराको सराङकोट पुगेर संचारकर्मी माझ सो कुरा बताएका हुन । प्याराग्लाइडिङ संघका संस्थापक अध्यक्ष समेत रहेका उनले प्याराग्लाइडिङ मंहगो खेल भएकोले सरकारले प्रयाप्त रकम दिन नसक्ने बताए । सरकारलाई प्याराग्लाइडिङ खेल हो भन्ने बुझाउन हामीलाई २० वर्ष लाग्यो । ढिलै भए पनि सरकारले बुझ्यो त्यसमा हामी खुसी छांै । उनले भने । राज्यबाट दिने स्रोत नै अपुग भएकोले हामीले खेलाडीलाई पुग्ने रकम दिन नसकिने दवाडीको भनाई रहेको छ । प्याराग्लाईडिङ पोखरामा सञ्चालन गर्न उपयुक्त हुन्छ: प्रशिक्षक भट्टराई प्याराग्लाईडिङ प्रशिक्ष योगेश भट्टराईले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाईडिङ पोखरामा सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् । सराङकोट र तोरीपानीबाट व्यवसायीक प्याराग्लाईडिङ उडान हुँदै आएको पोखरामा टेक्निकल हिसावले पनि प्रतियोगिता सराङकोटबाट सञ्चालन गर्नु उपयुक्त भएको उनले बताए । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताकालागि सराङकोट टेक्निकल तथा खेलाडीको सुरक्षाको लागि पोखरा उपयुक्त रहेको बताए । उनले भने, ‘गण्डकी प्रदेशका अन्य जिल्लामा पनि व्यवसायिक उडान नभएका होइन् तरपनि प्रतियोगिताका एकुररेसी र क्रस कन्ट्रिका लागि आवश्यक टेक्निकल हिसाव र खेलाडीको सुरक्षाका लागि यो भन्दा अर्को विकल्प छ जस्तो लाग्दैन् ।’ उनले भने । उनले प्रतियोगितामा खेलाडीहरुले यस अगाडीका विभिन्न प्रतियोगितामा प्राप्त गरेको नतिजा र छनौट चरणमा गरेको प्रर्दशन आधारमा प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीको टुंगो लगाइने जानकारी दिए । विभिन्न जिल्लाबाट छनौट भएका प्याराग्लाइडिङ खेलाडीहरुले भदौ १६ गते देखि १८ गते सम्म पोखरामा संचालन हुने प्रदेश स्तरिय छनौटमा सहभागिता जनाउने छन । भट्टराईका अनुसार नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश स्तरियका लागि दुई छुट्टा–छुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिने छ । महिला तथा पुरुष क्रस कन्ट्रि, महिला तथा पुरुष एकुररेसी इभेन्टस्मा प्रतियोगिता सञ्चालन हुनेछ । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ ।
पोखरा । उनकै भाषामा, ८० पुग्न एक वर्ष वाकी, रहेकी गंगादेवी अधिकारीले आर्शिवाद दिदै भनिन् दुई पटक त मैले पनि भोट दिए तिमिलाई अहिले छोराको नाममा सारिदिएकी छु, तर पनि आर्शिवाद छ तिमी आउनै पर्छ । विहानको झुल्के घाम सँगै भोट माग्दै विरौटा चोकमा पुगेको पवन प्रजापतीको प्यानललाई अधिकारी वुलेट टे«डर्सकी संचालक अधिकारीले भनेको शव्द हो यो । उनले भनिन्–“वोलेर वाठो र दौडेर छिटो पुग्ने प्रयास नगर सवै व्यवसायलिाई सम्हालेर काम गर यति हसिलो मान्छेले केहि गर्छौ ।” गंगादेवी अधिकारीको आर्शिवादसँगै विरौटा मतदाताको घरदैलो गरेको प्रजापती टिमलाई अल्ली पर वडा कार्यालय नजिकै रहेको एस के व्रदर्शका संचालक किरण श्रेष्ठले मत दिने मात्रै होईन आफ्नै सामसुङ्ग व्राण्डको मोवाईलवाट १२ जनालाई फोन गरेर प्रजापती प्यानलाई भोट मागे । उनले भने–“हामी व्यवसायीहरु हाम्रो हितमा आवाज उठाउनेलाइ जिताउने हो । हामीलाई नेता होईन अभिभावक चाहिएको हो ।” विरौटाका एम के विल्डर्सका संचालक मुनाल रानाभाटलाई फोन गर्दै भने–“चिया खायौ ? पवन दाईहरु आउनु भएको छ एक छिन सँगै भोट माग्न हिडौं है ?” अल्ली पर छोरेपाटनको आरोलो नपुग्दै भेटिन्छ फेवा मिट अर्थात् चीकेन पोइन्ट , यसका संचालक सुर्य वरालले भोट दिने कुरा भन्दा पनि चिया नै खान अनुरोध गर्दै भने–“दाई चुनाव त तपाईले घरमै सुते पनि जित्नुहुन्छ तर पनि राम्रो काम गर्नुहोस् सवै व्यवसायीहरुको अनुभवी र योग्य अनि प्रक्रियागत रुपमा नेतृत्व हस्तान्रण होस् भन्ने चाहना रहेको पनि संचालक वरालको भनाई थियो । विरौटा एरियामा आफै भोट माग्दै वरालले अग्रिम शुभकामना सहित विदाई गरे । यी त केहि उधारहण मात्र हुन् चुनावी अभियानका, अधिकतम विरौटा तथा वडा नं १७ का उद्योगी व्यवसायीहरुको एउटै धारणा र यसपालिका भोट पवन प्रजापतिको प्यानललाइ । अध्यक्षका प्रत्यासी पवन कुमार प्रजापतीले मत माग्नु भन्दा पनि अव संघलाई कसरी लैजादा राम्रो होला भनेर अभिमत माग्न घरदैलो जरुरी रहेको धारणा राखे । उनले भने–“ चुनाव जित्न मत माग्न भन्दा पनि अव आउने अध्यक्षले कस्ता एजेण्डालाई कार्यन्वयनमा लैजानु पर्ला भन्ने विषयमा अभिमत लिन घरदैलो गरेका हौं ।” स्थानिय तह निर्वाचनमा वडा नं १७ का नेपाली काँग्रेसवाट वडा अध्यक्षका प्रत्यासी देवराज आचार्यले भने–“व्यवसायीको निर्वाचन भएका कारण मेरो मत काँग्रेस भए पनि सवै व्यवसायीहरुलाई समेटरे लैजाने प्यानललाई हुन्छ , यसमा पवन प्यानलको विकल्प देख्दिन ।” अन्नपुर्ण मेसिनरीका संचालक समेत रहेका आचार्यले व्यवसायीका मर्का वुझ्न सक्ने उम्मेदवारलाई भोट दिन समेत सवै सचेत व्यवसायीहरुलाई अनुरोध गरे । छोरेपाटन, विरौटा, एयरपोर्ट लगाएतका स्थानका ३५० व्यवसायीहरुको घर र पसलमा समेत अभिमत संकलनमा हिडेको टोलीले सवै खालका व्यवसाय, उमेर समुह र स्थानलाई समेटेर टिम निर्माण गरेको छ । नेकपा समाजवादीका नेता तथा मेयर धनराज आचार्यका भाई शिवराज आचार्यले सम्पुर्ण टिमलाई खादाले अग्रिम शुभकामना दिदै उनले भने–“म सँग भोट मागेर समय वर्वाद नगर्नुहोस्, अग्रिम वधाई तथा शुभकामना छ सम्पुर्ण टिमलाई ।” प्रजापती समुहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग हिरामणी पण्डित उपाध्यक्ष वाणिज्यमा उत्तममान वुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्ष दिनेश चन्द्र वाँस्तोला, उपमहासचिव शोभा गौतम, सदस्यहरुमा प्रभा सुवेदी, बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोज कुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानाङ्ग रहेका छन्
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ वडा कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृतरूपमा बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । वडाध्यक्ष विनोदसिं विष्टले मङ्गलबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास स्वीकृतिबिना निर्माण गरिएका संरचना हटाउन निर्देशन दिनुभएको हो । सूचनामा सम्बन्धित व्यक्तिले अटेर गरी नहटाएमा वडा कार्यालयले नियमानुसार हटाउने उल्लेख छ । वडाध्यक्ष विष्टले नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयमा टेकेर आफूले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनको कदम चालेको बताउनुभयो । उहाँका अनुसार गत जेठ २३ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयअनुसार सार्वजनिक जग्गाको लगत लिई सोको उचित संरक्षण र सार्वजनिक गर्ने उल्लेख छ । वीरेन्द्रनगर–३ मा सडक, खोला अतिक्रमणको समस्या बढी छ । खोर्केखोलाको क्षेत्र मिचेर घर निर्माण गरिरहेकाले वर्षात्मा बाढी र कटानको समस्या देखिएको छ ।