पोखरा : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कास्की क्षेत्र नम्बर १ बाट आफुसँगै सिफारिस भएका जसले पनि टिकट पाउने सम्भावना भएको बताएका छन् । नेपाली कांग्रेसले सुुरुवात गरेको जनताको साथमा कांग्रेस अभियानको अवसरमा पोखरामा आइपुगेका सहामहामन्त्री जिवन परियारले आफुुसँगै सिफारिस भएका जसले पनि टिकट पाउने सम्भावना भएको बताएका हुन् । उनले भने, ‘मसँगै सिफारिस भएका जसले पनि टिकट पाउन सम्भावना छ, जसले टिकट पाउने छ उसलाई जिताउन लाग्नेछु’ परियारले भने ‘गठबन्धनमा छलफल भइरहेकाले मैले नपाए गठबन्धनले टिकट पाउँछ उसलाई जिताउन एकमत छौं ।’ सहमहामन्त्री परियारले गठबन्धनबाट कसले कति सिट पाउने भनेर अन्तिम चरणको छलफल भइरहेकाले बाहिरको हल्लाको पछि नलाग्न सुझाव दिए । उनले भने, गठबन्धनका विषयमा अनेक किसिमका भ्रमहरु सृजना गरिए पनि त्यसमा कुनै सत्यता छैन ।’ ‘हामी सबै जना ढुक्क भएर निर्वाचनमा केन्द्रित छौं’ सहामहामन्त्री परियार भन्छन् ‘गठबन्धन कुनै पनि हालतमा टुट्दैन ।’ सत्ता गठबन्धन भत्काउन देशी, विदेशी शक्तिहरु लागेपनि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउबाले सुझबुझपूर्ण तरिकाले काम गरेको उल्लेख गर्दै उनले गठबन्धन निकै दह्रो भएको स्पष्ट पारे ।
बागलुङ । बागलुङ जिल्लामा उद्योग तथा व्यवसाय थपिने क्रमले तीव्रता पाएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा चार सय १८ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योगमा कृषि तथा वन पैदावर र हस्तकलामा आधारित भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । एक वर्षको अवधिमा जिल्लामा उद्योगतर्फ एक सय ५० र वाणिज्यतर्फका दुई सय ६८ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार जिल्लामा एक सय ५० साना तथा घरेलु उद्योगले वस्तुको उत्पादन र बजारीकरणमा जोड दिने गरी दर्ता भएका छन् भने सोही आर्थिक वर्षमा दुई सय ६८ वस्तुको खरिद तथगा बिक्री, प्याकेजिङलगायतको कामका लागि दुई सय ६८ उद्योग दर्ता भएका हुन् । खासगरी बागलुङवासीले निजी तथा कृषि प्रवद्र्धनात्मक उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको शर्माको भनाइ । शर्माका अनुसार उद्योग दर्ता, वाणिज्य दर्ता, नामासरी, नवीकरण, ठाउँसरीबापत गत आवमा कार्यालयले रु २६ लाख ९४ हजार पाँच सय २५ राजस्व रकम सङ्कलन गरेको छ । यस्तै उद्योगतर्फ रु नौ लाख ६३ हजार छ सय ५०, वाणिज्यतर्फ राजस्व रु १६ लाख ८० हजार र तालिमका क्रममा उत्पादित वस्तु बिक्रीबाट रु ५० हजार राजस्व सङ्कलन भएको छ । “जिल्लामा खासगरी कृषिजन्य क्रियाकलाप, उत्पादन र बजारीकरण गर्ने, फर्निचर उद्योग सञ्चालन गर्ने र सिलाइबुनाइ पसल सञ्चालन गर्दै उद्योग बढी दर्ता भएका छन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय जिल्लामा उद्योग नै नगरी सञ्चालनमा आएका उद्योगसमेत सचेतनाका कारण धमाधम दर्ता भइरहेका छन्, हामीले उद्योग दर्ता, नवीकरण लागतको कामसँगै पदमार्ग, चौतारी र पार्कलगायतका संरचना रु ८१ लाखको लागतमा निर्माण सम्पन्न गरेका छौँ ।” यस्तै गत आवमा दुई सय ६८ उद्योगको नवीकरण, पाँच सय १३ वाणिज्यतर्फका उद्योगको नवीकरण, ३८ उद्योगको नामसरी, २० वाणिज्यतर्फको उद्योगको नामसरी, चार उद्योगको ठाउँ सरी, तीन वाणिज्यतर्फका उद्योगको ठाउँसरी, २१ उद्योगको लगत कट्टा, ९५ वाणिज्य उद्योगको लगत कट्टा, पाँच उद्योगको नाम परिवर्तन, २१ वाणिज्य उद्योगको नाम परिवर्तन, १४ उद्योगलाई प्रतिलिपि, वाणिज्यतर्फका २६ उद्योगलाई प्रतिलिपि, १५ उद्योगको पुँजीवृत्ति र ५७ वाणिज्यतर्फका उद्योगको पुँजी वृद्धि गरिएको छ । गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले ३९ स्थानमा पार्क तथा पदमार्ग निर्माण गरिएको कार्यालयको भनाइ छ । गत आवमा कार्यालयले पदमार्ग, चौतारो तथा पार्क बनाउने, कोरोना प्रभावितलाई उपकरण, उद्यमशीलता विकास तालिम, कुशन बनाउने तालिम, क्रिष्टलका गहन बनाउने तालिम, झोला बनाउने तालिम, खेलौना बनाउने तालिम, प्लम्बिङ तालिम र सिलाइबुनाइ तालिम सञ्चालन गरिएको कार्यालय सूचना अधिकारी विष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कार्यालयले सहरमा मात्रै नभएर गाउँमा समेत पुगेर विभिन्न उद्योग तथा व्यवसायको विकास गर्नका लागि तालिम दिँदै आएको छ ।
काठमाडौं । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान अर्पण गरिएको हो । सो अवसरमा उहाँले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गर्नुभयो । यसअघि उहाँले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । प्रधानसेनापति शर्मा र उहाँबीच अहिले भेटवार्ता भइरहेको छ । केही बेरपछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुहुनेछ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार यहाँ आउनुभएको हो ।
कास्की : नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले पार्टीमा योगदान पुर्याएका व्यक्तिलाई सम्मानार्थ रु ३० लाखसम्मको अक्षयकोष स्थापना गर्ने भएको छ । समितिको आज सम्पन्न बैठकले पार्टीमा योगदान गरेका व्यक्तिको सम्मानार्थ अक्षयकोष स्थापनासँगै विभिन्न निर्णय गरेको पार्टीका प्रवक्ता माधवप्रसाद बाँस्तोला (मधु) ले जानकारी दिनुभयो । पार्टीले यही भदौ २४ गते बिपी जयन्तीका अवसरमा बिपी स्मृति पुस्तकालय र सूचना सञ्चार तथा प्रचारप्रसार विभागकोे कक्ष उद्घाटन गर्ने भएको उहाँले जानकारी दिनुभयो । बैठकमा पार्टी केन्द्रीय कार्यालयको परिपत्रअनुसार गण्डकी प्र्रदेशका ११ जिल्लाबाट रायसहित सिफारिस भई आएका प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिकका आकाङ्क्षी उम्मेदवार सबैको नामका विषयमा छलफल गरिएको छ । आकाङ्क्षीको नामावलीमा आवश्यक राय तय गर्न प्रदेशका पदाधिकारीलाई जिम्मा दिने बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीको ममतामयी माता दमयन्ती भण्डारीको ९६ वर्षको उमेरमा असामयिक निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
काठमाडौं। क्यानडाको सास्काचेवान प्रान्तमा चक्कु प्रहारबाट १० जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् । जेम्स स्मिथ क्री नेसन र वेल्डनलगायत १३ वटा छुट्टाछुट्टै ठाउँमा छुरा प्रहार भएको सास्काचेवान प्रान्तका प्रहरीले जनाएको छ । चक्कु आक्रमणमा दुई जना संलग्न रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीलाई जनाएको छ । घटनामा संलग्न रहेका उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ । त्यहाँका प्रहरीले उनीहरुको तस्बिर सार्वजनिक गर्दै कतै आश्रय नदिन र गाडीमा लिफ्ट पनि नदिन आग्रह गरेका छन् । आरोपित दुई जनालाई पक्राउ गर्न ठाउँठाउँमा चेकप्वाइन्ट बनाइएको छ । आक्रमणको फेरि पनि जोखिम रहेको भन्दै त्यहाँका सबै नागरिकका मोबाइलमा सावधानी अपनाउन म्यासेज गरिएको खबरमा उल्लेख छ ।
बागलुङ ः निरन्तर वर्षाका कारण बागलुङको गलकोट नगरपालिका-२ को घामपानी बस्तीका सातघर पहिरोको उच्च जोखिममा परेको छ । गलकोट-२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले यहाँ रहेका सात घर पहिरोको जोखिमा रहेको जनाउँदै ती घरका परिवारहरुलाई सुरक्षित स्थानमा सार्न माग गर्नुभयो । “निरन्तर वर्षाका कारण यहाँको घामपानी बस्ती पहिरोको जोखिममा छ, यहाँ सात घर परिवार बस्दै आएका छन्, उनीहरुलाई सुरक्षित स्थानमा बस्न लगाएका छौँ, अझै ठूलो वर्षा भयो भने यहाँको बस्ती पहिराले बगाउन सक्ने देखन्छ, बस्ती पहिरोको बीचमा रहेको हुँदा पानी पर्दा यहाँ बस्न निकै जोखिमपूर्ण छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार वर्षाका कारण वडा कार्यालयदेखि गाउँ-गाउँसम्म पुग्ने ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक खुलाउन अझै केही समय लाग्ने जनाइएको छ । सयौँ रोपनी खेतसहित धानबाली सखाप अध्यक्ष भण्डारीका अनुसार वडा नम्बर २ कै खालीखोलामा पहिरोसहितको बाढीले सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गए राति आएको पहिरोसहितको बाढीले दुई यस रोपनी धानबाली लगाएको खेत पुरिएको हो । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको भ्यूटावर क्षेत्रमा सडकको नाली थुनिएपछि भीषण पहिरोसहित आएको बाढीले स्थानीय कृषकको धानबाली लगाएको खेत पुरिएको जनाइएको छ । दबाढीले धानबालीसहित सयौँ रोपनी खेत पुरिँदा करोड बढीको नोक्सानी भएको अध्यक्ष भण्डारीले बताउनुभयो । “किसानले लगाएको धान भर्खर सप्रिन थालेको थियो, पहिराले सबै पुरिदियो, पहिरोले खेत र धानबाली पुरिँदा करोडौँ रुपैयाँको नोक्सानी भएको छ”, उहाँले भन्नुभयो, “लोकमार्गको भ्यूटावर नेर नाली सबै बन्द भएको छ, माथिबाट आएको भल सबै खेतमा आयो र पहिरो पनि ठूलो आयो त्यसले गर्दा यति धेरै नोक्सानी भयो ।” स्थानीय प्रेमबहादुर भण्डारीले बाढीले पसाउन लागेको धानसहित खेत पुरेपछि आफ्नो लाखौँको सम्पत्ति बगरमा परिणत भएको गुनासो गर्नुभयो । उहाँको चार रोपनी खेत पहिराले बगाएको छ । “मेरो भएको खेत यति हो, अब त मैले गरी खाने ठाउँनै सकियो, अब कहाँ खेती गर्ने, के खाने रु, धेरै खर्च गरेर धान रोपे, धान भर्खर पसाउन लागेको थियो, सबै बगायो”, उहाँले भन्नुभयो, “धानको खेत एउटा पनि बाँकी छैन सबै पहिरो पसेको छ, धानसमेत बगायो, मेरो त एक वर्षभरिको खाद्यान्न बगायो ।” उहाँले सरकारले तटबन्धन गरी दिए अर्को सालदेखि खेती गर्न सकिने बताउनुभयो । लोकमार्गबाट बग्ने पानी तर्काउने र माथिबाट बग्ने भल व्यवस्थापन गर्नसके क्षती कमगर्न सकिने जनाइएको छ । “सरकारले हाम्रो लागि तटबन्धन गरी दिए अर्को साल खेती गर्ने गरी यो ठाउँलाई बनाउन सकिन्थ्यो, माथिबाट आउने भललाई नियन्त्रण गर्न र तटबन्धनका लागि थोरै भए पनि सरकारले हामीलाई सहयोग गरोस्”, उहाँले भन्नुभयो । अर्का स्थानीय यामबहादुर भण्डारीको तीन रोपनी खेत पुरिएको छ । उहाँले लोकमार्गबाट आउने भल व्यवस्थापन नहुँदा ठूलो क्षति व्यहोर्नुपरेको जानकारीदिनुभयो । गलकोट नगर प्रमुख भरत शर्मा गैरेले बाढीपीडिले तटबन्धनको माग गरेको जनाउँदै नगरपालिकाले त्यसको व्यवस्थापन गर्ने जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “लोकमार्गबाट बगेर आएको पानीले यति ठूलो क्षति पुर्याएको छ, पीडितले ग्याबिन निर्माण गर्न माग गर्नुभएको छ, हामीले यसतर्फ ध्यान दिएका छौँ पानी रोकियो भने काम अगाडिबढाउने छौँ ।”
लमजुङ : नेकपा (माओवादी केन्द्र) का महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङ प्रत्यक्षतर्फ पुनः प्रतिनिधिसभा सदस्यका लागि लमजुङबाट उम्मेदवार सिफारिस हुनुभएको छ । जिल्ला समन्वय समिति लमजुङको आज बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो । उक्त बैठकले महासचिव गुरुङसँगै प्रत्यक्षतर्फ स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस गरेको छ । माओवादी केन्द्रका महासचिव गुरुङ २०७४ सालको निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सो निर्वाचनमा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार गुरुङले ३९ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको थियो । मनाङको नासों गाउँपालिका–४, ओडारगाउँ घरभई पछिल्लो समय लमजुङ केन्द्रित राजनीति गर्दै आउनुभएका गुरुङको दोस्रो पटक प्रतिनिधिसभाका उम्मेदावर बन्न लाग्नुभएको हो । समानुपातिकमा पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङ, ऋषिराम पौडेल र उर्मिला माझीको नाम सिफारिस भएको छ । प्रदेशसभा (क) को प्रत्यक्षतर्फ अधिकारी गुरुङ, मेखबहादुर भण्डारी, हरिजङ तामाङ र होमबहादुर विकको नाम सिफारिस भएको छ । केन्द्रीय सदस्य एवं मन्त्री अधिकारी गुरुङ प्रतिनिधिसभा समानुपातिक र प्रत्यक्षतपर्फ दुवैबाट सिपफारिस हुनुभएको छ । प्रदेश (ख) मा केन्द्रीय सदस्य विमल अधिकारी र जिल्ला सचिव रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ । बैठकले प्रदेशसभामा समानुपातिकमा जनजाति महिलामा सतिमाया तामाङ, आदिवासी जनजाति पुरुषमा टकराज गुरुङ, दलित पुरुषमा सुनिल सुनार, देवबहादुर गहतराज, खसआर्य महिलामा शोभा थापा, खसआर्य पुरुषमा निराजन कुँवर र दयासागर घिमिरे, अल्पसङ्ख्यकमा नन्दबहादुर कुमाल, दलित महिलामा जुना विक, अजय तामाङ र मुस्लिमतर्फ मोहमद जलालदिन मियाको नाम सिफारिस गरेको छ ।
लुम्बिनी । लुम्बिनी विकास कोषले १० मङ्सिर २०७५ मा आयोजना गरेको पक्षी महोत्सवले सारसलाई लुम्बिनीको नगर पक्षी घोषणा गरिरँहदा उपस्थित संरक्षणकर्ता र अतिथि पाहुनाले गडगडाहट ताली पिटेका थिए । धार्मिकग्रन्थ रामायण र महामानव सिद्धार्थ गौतमबुद्धको जीवनकथामा यो पक्षीको महत्वपूर्ण वर्णन छ । तर पछिल्लो समयमा बुद्धजन्मस्थलकै सारस संरक्षकत्वबिहीन छन् । विश्वभरि बुद्ध धर्मको प्रचारप्रसार बढेको बेला बुद्ध कथाको एक महत्वपूर्ण अध्यायका रुपमा वर्णित दुर्लभ पक्षी सारसको जीवनचक्र बुद्धजन्मस्थल लुम्बिनीमा नै सङ्कटमा देखिएकोप्रति कसैको चिन्ता भएन । चरा संरक्षणको क्षेत्रमा काम गर्ने लुम्बिनी ग्रीन युथ क्लबका अध्यक्ष अर्जुन कुर्मीको अनुभवमा लुम्बिनी विकास कोषको पूर्वी पर्खाल बाहिर प्रायः देखिने दुई दर्जनभन्दा बढी सारसका जोडी पछिल्ला केही वर्षयता हराइरहेका छन् । स्थानीय चराप्रेमी कुर्मीले लुम्बिनी विकास कोषको उत्तरी भाग लुम्बिनी ग्रामको सिमसार क्षेत्रमा पालिएका सात जोडी सारस पनि देखिन छाडेको बताउनुभयो । त्यस्तै आसपासका क्षेत्रमा सधैँ विचरण गरिरहने सारसका बसाइँ पनि स्थिर नरहेको उहाँको भनाइ छ । गर्मीयाममा सिमसार क्षेत्र सुक्ने भएकाले सारसको वंश वृद्धिमासमेत समस्या हुने गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको भरथापुर, भुजहिया, आमा, सम्मरीमाई गाउँपालिकाको बेतकुइँया र फरेना तथा कोटहीमाई गाउँपालिकाको बोगदिया आदि स्थानका तालतलैया, नदी–खोला र सिमसार क्षेत्र सुख्खायाममा सुक्ने गरेकाले सारस चल्ला कोरल्ने बेला अन्यत्र जाने गरेका छन् । साथै, कपिलवस्तु, बाँके, दाङ, चितवन र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालीकिच ताल र निकुञ्जकै मध्यवर्ती क्षेत्र बेलडाँडीमा सारस पाइने गरेको छ । स्थानीय सञ्चारकर्मी अञ्जना चौहानले भन्नुहुन्छ, ‘‘पहिले एकै स्थानमा ठूलो बथानमा सारस सजिलै देख्न पाइन्थ्यो । सधैँ जोडीमा रमाउने सारस किसानका खेत खेतमा आनन्दले विचरण गर्थे, तर अहिले त्यस्तो कमै देखिन्छ ।’’ बढ्दो सहरीकरणले सारसलाई विस्थापित गराएको उहाँको तर्क छ । हिमाली प्रकृति संस्थानले सन् २०२२ को मार्चमा गरेको अध्ययनका अनुसार रूपन्देही र कपिलवस्तु जिल्लामा सारसको कूल सङ्ख्या ३५४ रहेको थियो । जबकि सन् २०२० मा नेपालमा सारसको सङ्ख्या चार सय चार र सन् २०२१ मा तीन सय ९४ थियो । अहिले दिन प्रतिदिन सारसको सङ्ख्या घट्दै गएको संस्थानका कार्यक्रम निर्देशक डा सुदीप सुवेदीले बताउनुभयो । विद्युतीय सञ्जाल, बढ्दो सहरीकरण, कोलाहल, औद्योगिक प्रदूषण, चोरी सिकारी, खेतीमा विषादीको अन्धाधुन्ध प्रयोग र सिमसार क्षेत्रमा मान्छेको व्यापक हस्तक्षेपका कारण बासस्थान असुरक्षित हुँदै गएपछि सारसको सङ्ख्या घट्दै गएको सुवेदीको भनाइ छ । सिमसार, खेतबारी र घाँसे मैदानमा बस्न रूचाउँने सारस पक्षी कीरा फट्याङ्ग्रा आहार गर्ने भएकाले बालीनालीमा समेत फाइदा पुग्ने गरेको बताउँदै डा सुदीप सुवेदीले भन्नुभयो, ‘‘खेतबारीमा अत्यधिक कीटनाशक औषधिको प्रयोगले सारसको प्रजनन क्षमतामा समेत असर पुर्याइरहेको छ ।’’ सारसले प्रायः असार–साउनमा ओथारो बस्ने, चल्ला कोरल्ने गर्दछ । सम्मरीमाइ–७ का अगुवा किसान अशोक त्रिपाठीले भन्नुभयो, “लामो डाँठ हुने कालानमक, कनकजिरा, गौरिया, बासमतीलगायतका रैथाने धानखेतीमा सारसले गुँड बनाउन रुचाउँछ । पछिल्ला वर्षमा ती लामो डाँठेधान विस्थापित भएपछि सारसलाई सुरक्षित बासस्थलको समस्या भइरहेको छ ।’’हुन त अहिले पनि बुद्धजन्मस्थल लुम्बिनीमा सारसको सङ्ख्या राम्रै रहेको अनुमान गरिएको छ, तर सुख्खायाममा नदी, खोलानाला, तालतालैया लगायतका सिमसार क्षेत्र सुक्ने गरेका कारण पनि सारसको वंश वृद्धिमा नकारात्मक असर परिरहेको पक्षी विद्हरूको कथन छ । त्यसैगरी पछिल्लो पाँच वर्षमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ को आमागाउँ आसपासमा मात्र करेन्ट लागेर सात सारस मरेको नेचर कन्जरभेसन फाउन्डेसनका कैलाश जयसवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जाडोयाममा कुहिरो लागेका बेला बिजुलीको नाङ्गो तारमा ठोक्किँएर धेरैजसो सारस मर्ने गरेका छन् ।’’ प्रसारण लाइनको नाङ्गोतारमा ठोक्किँएर नगरपालिका क्षेत्रमा मात्र बर्सेनि सरदर छ जोडी सारस मर्ने गरेको जयसवालले बताउनुभयो । विसं २०७७ साउन तेस्रो साता नगरपालिका– ६, तरकुलहा गाउँको दक्षिण सीमामा रहेका छमध्ये दुई जोडी सारस करेन्ट लागि मरेको उहाँको भनाइ छ । सारसलाई विश्वमै अग्लो उड्ने चरा मानिन्छ । छ फिटसम्म अग्लो र साढे तीन किलो तौलको हुने सारसले पखेटा फैलाउँदा दुबै पखेटाको लम्बाइ आठ फिटसम्म पुग्छ । जयसवालले भन्नुभयो, ‘‘सजिलैसँग उड्न नसक्ने शारीरिक अवस्थाका कारण नेपालको एक संरक्षित पक्षी सारस करेन्ट लागेर मर्ने गरेका छन् ।’’चरा संवेदनशील क्षेत्र जोगाउन तारमा करेन्ट नलाग्ने गरी इन्सुलेट गर्ने, तारमा रिफ्लेक्टर राख्ने, तथा नाङ्गो बिजुलीको तार विस्थापित गरी प्लास्टिकले बेरिएको अत्याधुनिक केबुल हाल्नेजस्ता उपाय अपनाएर सारसलगायत पक्षी जोगाउन सकिने जयसवालको भनाइ छ । सारसलाई प्रेम र समर्पणको प्रतीक मानिन्छ । बुद्ध आदर्श माविका शिक्षक हरिमोहन चौधरीको अनुभवमा सारस सधैँ जोडीमा बस्ने गर्दछन् । उनीहरूको भाले वा पोथीमध्ये एउटाको मृत्यु भयो भने अर्कोले नयाँ जोडी बनाउँदैन । सकेसम्म एक्लै बस्ने अथवा छिटो प्राणत्याग गर्ने गर्छन् । सिद्धार्थ गौतम (बुद्ध)को जीवनीमा सारसको प्रसङ्ग महत्वपूर्ण छ । नातामा दाजुपर्ने आफ्ना मामाको छोरा देवदत्तले प्रहार गरेको बाँण लागेर घाइते सारसलाई राजा शुद्धोधनको न्यायालयमा उभिएर राजकुमार सिद्धार्थ (पछि बुद्धत्व प्राप्त गरेपछि उनी गौतमबुद्ध बने) ले जीवनरक्षा गरेका थिए । हिन्दूहरूको सबैभन्दा आस्थाको धार्मिकग्रन्थ रामायणका रचनाकार महर्षि वाल्मीकिले सारसको जोडीको वियोगान्त कथाबाट नै छन्द निर्माणको प्रेरणा पाएको धार्मिक कथन छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक त्रिभुवन बरईले भन्नुभयो, “बाल्मिकीले रचना गर्नुभएको रामायणको आरम्भ नै सारस (क्रौन्ची) जोडीको वियोगमा आधारित रहेको मानिन्छ ।’’ तमसा नदी तटमा प्रणयरत सारस जोडीमाथि एक सिकारीले वाण प्रहार गर्दा एकको मृत्यु भयो । जोडीको वियोगमा अर्को सारसले तत्काल प्राण त्याग गर्यो । यी दृश्य देखेपछि एक ऋषिले सिकारीलाई श्राप दिएका थिए र त्यो श्रापको श्लोकबाट अनुष्टुप छन्दमा रामकथाको रचना भएको थियो । रामायण जस्तै बुद्धको जीवनीमा पनि सारसको निकै महत्व छ । राजकुमार सिद्धार्थले घाइते सारसलाई जीवनदान दिएदेखि नै बुद्ध जन्मस्थलमा सारसको बाक्लो बासस्थान सुरु भएको मानिन्छ । अधिकारकर्मी तथा नागरिक अगुवा कपिलबस्तुका रामदयाल ठाकुरले भन्नुभयो, ‘‘सारस ‘बुद्धपक्षी’ हो, यसको रक्षा गर्नु हाम्रो धर्म हो ।’’ लुम्बिनीमा सारसले नगरपक्षीको सम्मान पाएको छ । गत वर्ष मङ्सिर १० गते लुम्बिनी विकास कोषले आयोजना गरेको पक्षी महोत्सवका अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई नगरपक्षी घोषणा गरेको हो । सो अवसरमा लुम्बिनीका तत्कालीन नगर प्रमुख मनमोहन चौधरीले भन्नुभयो, ‘‘भगवान बुद्ध र सारसबीच विशेष सम्बन्ध छ । त्यसैले हामीले सारसलाई नगरपक्षी घोषणा गरेका हौँ ।’’ सरकारले नेपालमा पाइने ८९० प्रजातिका चराचुरुङ्गीमध्ये सारसलाई अतिसंवेदनशील प्रजातिमा सूचीकृत गरेको छ । नेपालमा हाल सारसको सङ्ख्या तीन सय बढीको हाराहारीमा रहेको पक्षीविद्हरूको अनुमान छ । नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृत भूपाल नेपालीले लुम्बिनीमा मात्रै दुई ५० को हाराहारीमा सारस रहेको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले सन् २००० मा सारसलाई दुर्लभ पक्षीका रुपमा सूचीकृत गरेको छ । लुम्बिनी विकास कोष र क्रेन फाउन्डेसनको सहकार्यमा सन् १९९४ देखि लुम्बिनीमा सारस संरक्षण अभियान पनि सञ्चालनमा छ । अमेरिकाको अन्तर्राष्ट्रिय क्रेन फाउन्डेसनले सन् १९९४, डिसेम्बर २५ मा लुम्बिनी विकास कोषसँग सम्झौता गरेर सारस संरक्षणका लागि कोषअन्तर्गतको एक हजार १५५ बिघामध्ये लुम्बिनी ग्राम क्षेत्रभित्र पर्ने दुई सय ५६ एकड (१५३ बिहा) जमिन ५० वर्षका लागि भाडामा लिएको छ । क्रेन फाउन्डेसनले लुम्बिनी सारस आरक्ष स्थापना गरेको भए पनि अवस्था ज्यूँका त्यूँ छ । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सारसलाई संरक्षित पक्षीको रुपमा अनुसूची १ मा सूचीकृत गरेको छ । साइटिस सन्धिले अनुसूची २ र आइयुसिएनले रातो किताबमा सारसलाई संवेदनशील पक्षीको सूचीमा राखेको छ । नेपाल बर्ड रेड डाटा बुकमा पनि यसलाई संवेदनशील पक्षीको सूचीमा राखेको छ । नेपाल पक्षी संरक्षण सङ्घमा आवद्ध चराविज्ञ हिरुलाल डगौराका अनुसार सारसले प्रजननको अवधिमा दुई वटा अण्डा पार्ने गर्छ । चल्ला कोरलेपछि छ महिनासम्म माउसँगै बस्छ र छ महिनापछि सारससँगै झुण्डमा जोडी बनाएर बस्छ । डगौराले सिमसार क्षेत्र हास हुँदै गएकाले सारसको बासस्थान र आहारमा कमी आएको बताउनुभयो । चरा विज्ञहरूका अनुसार नेपालसँगै अस्ट्रेलिया, कम्बोडिया, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान र भियतनाममा सारस पाइने गर्छन् । विश्वमा १५ प्रजातिका सारस पाइने गरेका छन् भने नेपालमा चार प्रजातिका सारस पाइन्छन् । नेपालमा पाइने प्रजातिमा कर्याङकुरुङ, लक्ष्मण, कालीकण्ठ र सारस क्रेन हुन् । लक्ष्मण सारसलाई खोया हाँस पनि भनिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सारसलगायत दुर्लभ पक्षीको सिकार गर्ने व्यक्तिलाई रु १५ हजारदेखि ३० हजारसम्म जरिवाना वा तीनदेखि नौ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
पोखरा : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको रिट्ठेपानी डाँडा कटानका लागि ठेक्का आह्वान गरेको छ । प्रधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार उक्त डाँडा कटानका लागि रु ७२ लाखको ठेक्का आह्वान गरिएको छ । ठेक्का प्राप्तिका लागि इच्छुक कम्पनीले आउँदो अक्टोबर ११ सम्ममा दर्खास्त दिनसक्ने र डाँडा कटानको काम आउँदो कात्तिक दोस्रो सातादेखि सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । कम्तीमा पनि एक महिनाको अवधिमा उक्त डाँडा कटानको काम सकिने प्राधिकरणको अनुमान रहेको छ । यसैगरी रिट्ठेपानीको १४ मिटर डाँडा कटानको काम सकिएलगत्तै पोखरामा क्यालिब्रेसन फ्लाइटको काम अगाडि बढाउने योजना रहेको महानिर्देशक अधिकारीले बताउनुभयो । प्राधिकरणले डाँडा कटानका लागि रुख कटानको काम पूरा गरिसकेको बताइएको छ । वन तथा वातावरण मन्त्रालयले उक्त डाँडा नजिक रहेका छ सय वटा रुख कटानका लागि स्वीकृति दिएसँगै रुख कटानको काम सकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो । वन तथा वातावरण मन्त्रालयले रुख कटानका लागि दिइएको स्वीकृतीमा काटिएका रुख वन विभागलाई हस्तान्तरण गर्ने सझौता भएबमोजिम काटिएका रुखहरू विभागलाई हस्तान्तरण गर्ने तयारी रहेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । रिट्ठेपानी डाँडाको तीन सय ८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र तीन सय रोपनी जग्गा सरकारको नाममा रहेको छ । उक्त विमानस्थल चिनियाँ ऋण लगानीमा निर्माण भइरहेको छ । कूल रु २२ अर्बको लागत रहेको यो विमानस्थलमा न्यारोबडी जहाज उडान सञ्चालन हुने भएको छ । क्षेत्रीयस्तरका वायुसेवाहरु यस विमानस्थलमा सेवा सञ्चालनका लागि जोडिने भएका छन् ।

