गलकोट : नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को आज बसेको बैठकले डा. आरजु राणा देउवासहित नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिनुभयो । बुढाका अनुसार बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेस बलियो सङ्गठन रहेको भन्दै गठबन्धमा भागबण्डा मिलाउँदा उक्त क्षेत्र कांग्रेसले पाउनुपर्ने बताउनुभयो ।
काठमाडौं । पछिल्लो २४ घन्टामा दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार पाँच सय ३७ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार तीन सय ८१ नमूनाको आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ९२ र दुई हजार एक सय ५६ नमूनाको एन्टिजेन परीक्षण गर्दा एक सय आठ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज ३३९ जना सङ्क्रमणमुक्त भएका छन् । आज दुई लाख ९७ हजार ११५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घन्टामा सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । ६६ जिल्लामा फैलियो डेङ्गु मन्त्रालयका अनुसार ६६ जिल्लामा डेङ्गु फैलिएको छ । गत साउनदेखि यही भदौ १५ गतेसम्म दुई हजार १७९ जनामा डेङ्गु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पर्वत । पर्वतमा एउटा सिँचाइ आयोजना २८ वर्षमा निर्माण सम्पन्न भएको छ । जलजला गाउँपालिका–७ स्थित सल्यान सिँचाइ आयोजनाको काम यति लामो समयपछि पूरा भएको हो । विसं २०५१ मा निर्माण सुरु भएको सो आयोजनाको नहर हालै सम्पन्न भएको हो । उक्त नहर बर्सेनि सरकारको थोर–थोरै लगानी र स्थानीयको श्रमदानबाट निर्माण गरिँदै आएको थियो । उपभोक्ता समितिका अध्यक्ष रुद्रलाल उपाध्यायका अनुसार सिँचाइ कुलो बनेपछि यहाँका दुई सय परिवार लाभान्वित भएका छन् । झण्डै ५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । “नहर पूरा नहुँदा सामान्य खनिएको कुलोमा पानी चुहावट हुने समस्या थियो”, उहाँले भन्नुभयो, “नहर निर्माण सम्पन्न भएपछि मुहानबाट आएको जति पानी खेतमा पुग्न थालेको छ । आव २०७६÷७७ मा गण्डकी प्रदेश सरकारवाट विनियोजित रु एक करोड ९७ लाखमा नहरको काम सम्पन्न भएको हो । उक्त बजेट ठेक्कामार्फत कार्यान्वयन गरी काम सम्पन्न भएको वडाध्यक्ष टुङ्गनाथ शर्माले बताउनुभयो । “गत आर्थिक वर्षमा दुई हजार चार सय मिटर नहर पुनःनिर्माणले पूर्णता पाएको थियो”, उहाँले भन्नुभयो, “भुसुनेको मुहानबाट सल्यानसम्म मुख्य नहर पक्की बनाइएको छ । शाखा नहर बनाउनका लागि पनि योजनालाई निरन्तरता दिन पहल गरेका छौँ”, उहाँले भन्नुभयो । यसपालि धान रोप्न र पानी लगाउन विगत जस्तो धेरै दिन पालो लगाउनु नपरेको शर्माको भनाइ छ । अक्करे जोखिमयुक्त भिरमा पहिले नहर बनाउने क्रममा सात जनाले ज्यान गुमाएका थिए । लामो समयपछि निर्माण भएको आयोजना अन्तिम समयमा गण्डकी प्रदेश सरकारअन्तर्गतको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सम्पन्न गरेको हो । धाइरिङ धवलागिरि क्षेत्रमा सबैभन्दा धेरै व्यावसायिक तरकारी खेती हुने गाउँ हो । यहाँ ताजा तरकारीको साथै बीउ पनि उत्पादन हुन्छ । सल्यान सिँचाइ आयोजना निर्माण हुनुअघि सल्यानमा घैया धानखेती हुन्थ्यो । सिँचाइ आयोजना निर्माण भएसँगै गुडुरा, गौरिया जातको धान भित्रिएको र सल्यानका कृषकको जीवनस्तरमा सुधार ल्याएको स्थानीय दण्डपाणि रिजालले बताउनुभयो । सिँचाइ सुविधापछि विदेशबाट फर्किएका कृषकले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका उपभोक्ता समितिका सदस्य हरि आचार्यले बताउनुभयो । कक्षा ५ सम्म पढाइ हुने फर्से धाइरिङमा मावि तहको पठनपाठन सञ्चालन गर्नमा पनि सल्यान सिँचाइ आयोजनाको हात रहेको प्रअ मुकुन्द आचार्यले बताउनुभयो । आयोजनाको शुक्रबार गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारी र संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले संयुक्तरूपमा शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकैबाट आज ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका–३ बर्मानगरका ३४ वर्षीय चन्द्रकुमारी श्रेष्ठ छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश०१–०२५च १९४२ नंको तरकारी बोक्ने गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो । प्रहरीले उनीहरुको साथबाट रु ३१ हजार पनि बरामद गरेको छ ।
सुनसरी । सुनसरीको कोसी गाउँपालिका–१ मा आज दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन् । सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा६०प ४४९२ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को२च २६४९ नंको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो । ठक्करबाट चौधरीको घटनास्थलमा र गोजेवारको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं १ मा कार्यरत थिए भने गोजेवार मोरङको धनपतिमा कार्यरत थिए । दुवैको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । ठक्कर दिने सवारीसाधनका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं । नेकपा विप्लव समूहका एक दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँहरूलाई कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराउनुभएको हो । नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र सुनार, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) कञ्चनपुरकी अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौँ–कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी र मञ्चका सचिव राधव परियारलगायत कांग्रेसका प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा उहाँहरू कांग्रेस प्रवेश गर्नुभएको हो ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज यहाँ शिलान्यास गर्नुहुँदै अध्यक्ष दाहालले सङ्कल्पमा जनताको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । जनताको चाहना विकास र समृद्धि भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना हो ।” भूमिगत विद्युतीकरणले जनताको सुरक्षा र नगरको सौन्दर्यता बढाउने उहाँको भनाइ थियो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको प्रयास र समन्वयका कारण छिटो काम सुरु भएको भन्दै ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गर्नुभयो । सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परियोजनाको काम दुई वर्षमा सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणले अहिले रु १६ अर्ब नाफा गरेको उहाँले जानकारी दिनुभयो । अहिले दैनिक रु १० करोडदेखि रु १२ करोडसम्म बिजुली बेचिरहेको उहाँको भनाइ थियो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले परियोजनाका कारण नगरवासीलाई गुणस्तरीय सेवा दिन सहज हुने बताउनुभयो । भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो । निर्माणको जिम्मा भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई दिइएको छ । उक्त कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्ने छ । ठेक्काको रकम रु दुई अर्ब ५० करोड हाराहारी रहेको आयोजनाले जनाएको छ । भरतपुर बाइपास सडकको पुरै र छ लेनको पुलचोकबाट केन्द्रिय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ । बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ । सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख छ । सन् २०२४ जनवरीसम्म काम सम्पन्न गर्नुपर्ने छ । भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा बिद्युत भूमिगत गर्न लागिएको हो । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।
पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले त्रिभुवन विश्वविद्यालयसमक्ष विभिन्न मागसहित ज्ञापन पत्र बुझाएको छ । विद्यार्थीहरुको अध्ययनलाई नियमित, प्रभावकारी र गुणस्तरयुक्त बनाउनुपर्ने मागसहित अनेरास्ववियुले क्याम्पसको ६३ औँ स्थापना दिवसको अवसरमा आएका त्रिविका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसाललाई सो ज्ञापनपत्र बुझाएको हो । अनेरास्ववियुले पिएनमा अध्ययनरत विद्यार्थीहरुको मागहरुलाई समेट्दै त्रिविका शिक्षाध्यक्षसँगको गहन छलफल पश्चात विज्ञप्ति पेस गरेको अनेरास्ववियु पिएनका अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए । ‘क्याम्पसमा देखिएका समस्याहरु र विद्यार्थीहरुको मागलाई प्राथमिकताकोसाथ ज्ञापनपत्रमा उल्लेख गरेर बुझाएका हौं ।’ उनले भने । भुसाललाई पेश गरिएको सो ज्ञापनपत्रमा शिक्षा संकाय बिहानी र दिवा सिफ्टमा पठनपाठन गराउन, स्ववियु निर्वाचन गराउन, वार्षिक परिक्षाको रिजल्ट समयमै निकाल्न, बिबिएको प्रवेश परिक्षा हटाउन, छात्रवृत्तिको व्यवस्था गराउन, डिजिटल हाजिरीको व्यवस्था गराउन, आन्तरिक परिक्षाको व्यवस्था गराउन, क्याम्पसमै परिक्षा केन्द्र बनाउन, विमा रकम सहजरुपमा प्रयोग गर्न पाउन, क्याम्पस परिवर्तनमा सहजता प्रदान गर्न, क्याम्पसलाई सरकारी विश्वविद्यालय बनाउन र महंगो शुल्क घटाउन जस्ता १४ वटा मागहरु उल्लेख गरिएको छ ।
कास्की्। लामो समयदेखि विवादित रहेको राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) राजमार्गको पोखरा महानगर खण्डको राजमार्ग रेखाङ्कन (एलाइनमेन्ट) टुङ्गो लागेपछि ठेक्का आह्वान गरिएको छ । पोखरा महानगरपालिका–२५ याम्दी जौवारी पुलदेखि मादी गाउँपालिकाको भैँसेसम्मको राजमार्ग निश्चित नहुँदा लामो समय यस खण्डमा काम हुन सकेको थिएन । राजमार्गको नयाँ रेखाङ्कनअनुसार पोखरा बजार क्षेत्र छाडेर राजमार्ग गाउँ उक्लिएको छ । यसबाट पोखराको ग्रामीण क्षेत्र सुविधासम्पन्न राजमार्गमा जोडिने छन् । अर्मलाकोट, आँटीघर मौजा, सिक्लेस, ताङतिङलगायतका पर्यटकीयस्थलको महत्व झनै बढाउने भएको छ । मध्यपहाडीको पोखरा खण्डको दशकअघि तय गरिएको रेखाङ्कन क्षेत्रमा पछिल्लो समय बजार विस्तार भएको र राजमार्ग सोही बाटो हुँदै लैजादा ठूलो सङ्ख्यामा घरहरु विस्थापित हुने भएपछि बजार क्षेत्रमा लामो समय राजमार्ग विस्तारको योजना अघि बढ्न सकेको थिएन । कास्की खण्डकै पश्चिम क्षेत्रमा काम सम्पन्न भएको र पूर्वी खण्डको निर्माण भइरहँदा यस क्षेत्रमा विवादकै कारणले ठेक्का आह्वान हुन सकेको थिएन । सरकारले आगामी विसं २०८१ सम्ममा मध्यपहाडीको सम्पूर्ण काम सम्पन्न गर्ने गरी काम अघि बढाएको थियो । पछिल्लो समय पोखरा खण्डमा यसअघिको राजमार्गको रेखाङ्कन परिर्वतन गरिएको छ । पोखरा खण्डको ४० किमीमा नयाँ रेखाङ्कन गरेर विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी रु चार अर्ब लागत अनुमानसहित बोलपत्र आह्वान गरिएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग योजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । मध्यपहाडीको नयाँ रेखाङ्कनअनुसार याम्दीपुलदेखि, लामाचौर, अमला विसौनी, महेन्द्रगुफा, कालीखोला, अर्मलाकोट, आँटीघर, पानीघाट, मेलबोट, ज्याम्दु हुँदै भैँसेसम्म जोड्ने गरी डिपिआर बनाइएको छ । योजना कार्यालयका अनुसार याम्दीदेखि कालिखोलासम्मको सडक चार लेन र कालीखोलादेखि ज्याम्दुसम्मको पहाडी भूगोलमा दुई लेनको सडक बन्नेछ । योजना प्रमुख भण्डारीले भन्नुभयो, “भैँसेदेखि याम्दीसम्म विगत वर्षहरुमा डिपिआर र सर्भे भएर बसिरहेको र ठेक्का लगाउन नसकेको अवस्था थियो । पछिल्लो समय हामीले तीव्रताका साथ काम अघि बढाएर नयाँ रेखाङ्कनसहित डिपिआर तयार गरेर ठेक्का आह्वान गरेका छौँ, अब पोखरा खण्ड निर्माणको प्रक्रियामा अघि बढ्यो ।” पोखरामा पुरानो डिपिआरअनुसार याम्दीपुलदेखि लामाचौर, भलाम, मणिपाल पछाडि, फूलबारी, काहुँखोला बजार हुँदै भैँसेसम्म जोड्ने योजना थियो । सो रेखाङ्कनमा अत्यधिक घर बनेको र धेरै जग्गा खण्डीकरण भएर घडेरीमा बिक्री भएकाले राजमार्गको मापदण्डले ठूलो बस्ती स्थानान्तरण गर्नुपर्ने र सो सम्भव नदेखिपछि डिपिआरनै परिर्वतन गरिएको मध्यपहाडी योजनाले जनाएको छ । बजार क्षेत्रबाट राजमार्ग लैजान नहुने र यसको डिपिआर परिर्वतनका लागि प्रदेश सरकार, महानगर तथा मादी गाउँपालिकाबाट समेत आग्रह भएको बताइन्छ । “राजमार्गको मापदण्डअनुसार सडकको दुवैतर्फ २५÷२५ मिटर छाड्नु असम्भव देखिएको र बस्ती स्थानान्तरण गर्न नसकिने भनेर प्रदेश सरकार, महानगर, वडा तथा गाउँपालिकाबाट आग्रह भयो”, योजना प्रमुख भण्डारीले भन्नुभयो, “जग्गाको मुआब्जा दिने व्यवस्था समेत नभएकाले नयाँ रेखाङ्कनका लागि योजना कार्यालयबाट फाइल उठाएर सडक विभाग, भौतिक मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा लगेर निर्णय गरेका हौँ ।” मादी गाउँपालिकाले आफ्नो पालिकाको धेरै वडालाई समेट्ने गरी राजमार्गको नयाँ रेखाङ्कन गर्न माग गरेको थियो । कार्यपालिका बैठकबाटै भैँसेदेखि मादीको ज्याम्दु र पानीघाट जोड्ने गरी राजमार्ग लैजानुपर्ने माग गरिएको थियो । पछिल्लो एलाइनमेन्ट अनुसार मादीका अधिकांश वडा पक्की राजमार्गमा जोडिने भएका छन् । मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले पहाडी क्षेत्र हुँदै मध्यपहाडी राजमार्ग विस्तारको योजनाले मादीको विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । पालिकाका धेरै वडा मध्यपहाडीले छुने भएकाले मादीको पूर्वाधार विकाससँगै, पर्यटन, कृषि र जनजीविकालाई सहज बनाउने उहाँले बताउनुभयो । गुरुङले भन्नुभयो, “मादीलाई धेरै समेट्ने गरी राजमार्ग लैजानुपर्छ भनेर हामीले माग गरेका थियौँ, अहिले सोहीअनुसार भएको छ । स्थानीयवासीले पनि जमिन दिन तयार हुनुभएको छ, विवाद छैन, यसले खुसियाली थपेको छ ।” मध्यपहाडी राजमार्गको कास्की खण्डमा ९१ किमी क्षेत्र पर्दछ । कास्की खण्ड लमजुङ÷कास्की सीमा रुदीखोलादेखि कास्की/पर्वत सीमा साँधखोलासम्म रहेको छ । रुदीखोलादेखि भैँसेसम्मको १६ किमीमा गत वर्ष ठेक्का लगाएर हाल काम चालु रहेको बताइन्छ । सो खण्डमा हाल सडक चौडा बनाउने, नाला निर्माण, टेवा पर्खाल लगाउने र गार्भेलको काम भइरहेको योजनाले जनाएको छ । याम्दीदेखि नयाँपुलसम्मको ३५ किमीसम्मको सबै काम सम्पन्न भएको छ । रु तीन अर्ब लागतमा यस खण्डको काम सम्पन्न भएको हो । पछिल्लो समय निर्माण गरिएको यस सडकको सौन्दर्यले देश विदेशमा भाइरलसमेत बनेको छ । हेमजा क्षेत्रको सिधा र फराकिलो सडक, आकर्षक जेब्रा क्रसिङ, सडक डिआइडर र सडकबत्तीले राजमार्गको सौन्दर्य बढाएको हो ।

