पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

  लहान ।  “आब ककरा बाबु कहबै, के कर साहारामे रहबै” (अब कसलाई बुबा भन्नु कसको साहारमा बाँच्नु ?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेहरुले पनि आँसु थाम्न सकेनन् ।            समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनको खबर सुनेलगत्तै विक्षिप्त बनेकी जितनीदेवीको आँशु रोकिएको छैन । “आफूलाई छोरी जस्तै बाल्यकालबाटै पाल्नुभएका प्रदीप बाबु छोडेर गएपछि टुहुरी जस्तै भएकी छु”, जितनीदेवीले भन्नुभयो, “अब कसलाई बुवा भन्नेर बोलाउने ? समस्या पर्दा कसलाई सुनाउने ? अब कोही रहेन, बेसारा जस्तै भएकी छु ।”      भारतको नयाँ दिल्लीमा उपचार गराउन जाने क्रममा उहाँले जितनी म उताबाट आएपछि तिम्रो सबै समस्या सुनिदिन्छु भनेर जानुभएको सम्झँदै जितनीदेवीले भन्नुभयो, “आश्वासन दिएर जानु भएको प्रदीप बाबु अब मेरो समस्या कहिले नसुन्ने गरी सदाका लागि जानुभयो । अब मेरो समस्या सुनिदिने कोही रहेन, आफू टुहुरी जस्तै भएकी छु”, जितनीले बिलौना गर्नुभयो ।      “कुनैबेला पेसाको समस्या पर्दा प्रदीप बाबुले कहिले मसँग छैन, दिन्न भन्नु भएन”, जितनीले भन्नुभयो, “उहाँ कतैबाट आश्रममा आउँदा पहिला जितनी भन्नेर बोलाउनुहुन्थ्यो, मैले ल्याइदिएको पानी खानुहुन्थ्यो त्यसपछि मेरो समस्याबारे सोध्नु हुन्थ्यो ।” अब ती सबै कुराहरु सम्झनामा आइरहन्छ, उहाँको भनाइ छ ।           जहिले पनि पढ्नुपर्छ, दलितहरु पनि ठूलो मान्छे बन्नुपर्छ भन्ने प्ररेणा दिने व्यक्तिका रुपमा रहनुभएका प्रदीप ठूलो बुवाको निधनले आफूले अभिभावक गुमाएको स्थानीय २० वर्षीय दीप परियार पनि शोकमा हुनुहुन्छ ।           “आश्रममा जहिले आउँदा मेरो पढाइका बारेमा सोध्नुहुन्थ्यो, अनि पढ्ने नयाँनयाँ कुरा सिकाउनुहुन्थ्यो”, लहानस्थित जेएस मुरारका क्याम्पसको कक्षा १२ मा अध्ययनरत परियारले भन्नुभयो, “उहाँको प्रेरणाका कारण मेरो पढ्ने, वातावरण बन्यो मेरो पढाइमा उहाँको ठूलो योगदान छ ।” अब उहाँ जस्तो व्यक्तित्व पाउन मुस्किल रहेको उहाँको भनाइ थियो ।            “प्रदीप बाबु असाध्यै सरल, भावुक स्वभावका व्यक्ति हुनुहुन्थ्यो”, बस्तीपुर गाउँका ५० वर्षीय चेतबहादुर भुजेलले भन्नुभयो, “उहाँ गाउँको मात्र होइन, देशकै प्रतिष्ठा थियो, उहाँको निधनले हामी अभिभावकविहीन भएका छौँ, उहाँको निधनले हामी शोकाकूल भएका छौँ, हामी असल र स्वाभिमानी नेता गुमाएका छौँ”, उहाँको कथन छ ।          जितनी, दीप र चेतबहादुर मात्र होइन, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधन भएपछि यतिबेला बस्ती गाउँ नै शोकमा डुबेको छ । गाउँलेहरु नेता गिरीको पुर्खौली घर अगाडि भेला भएर शोक मनाइरहेका छन् भने कतिपयले गिरीलाई सम्झेर आँशु बगाइरहेका छन् ।      “सरल स्वभावका प्रदीप बाबुसँग चुनावका बेला सँगै घुमेँ”, बस्तीपुरका ५६ वर्षीय महेन्द्र साहले भन्नुभयो, “उहाँले जहिले पनि गाउँको विकास र समाज सुधारका विषयमा कुरा गर्नुहुन्थ्यो, उहाँबाट समाजले थुपै्र सुधारको अनुभूति गरेको छ । उहाँसँग हिँड्दा कहिले पनि बिरानो जस्तो अनुभूति पाइनन्”, उहाँको भनाइ छ ।        यसैबीच नेता गिरीले कक्षा १ देखि १० सम्म अध्ययन गर्नुभएको बस्तीपुर माविमा पनि आज व्यक्त गरिएको छ । “उहाँ यस विद्यालयमा अध्ययन गर्नुका साथै विद्यालयको विकासका लागि योगदान गर्नुभएको छ”, विद्यालयका लेखापाल सिन्धुप्रसाद साहले भन्नुभयो, “उहाँ यस विद्यालयका पूर्वविद्यार्थीका साथै अभिभावक पनि हुनुहुन्थ्यो, त्यही भएर हामी उहाँको शोक मनाएका छौँ ।”      समाजवादी नेता गिरीले विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । उहाँ गत २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । नेता गिरीको शोकमा सिरहाको लहान नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ ।      नगरपालिकाले अशल अभिभावक गुमाएकाले शोकमा बिदा दिने निर्णय भएको नगरप्रमुख महेश चौधरीले बताउनुभयो । आफूहरुले मत दिएर जिताएका आफ्ना नेता एवं अभिभावक गिरीको उपचार काठामाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा पनि शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयले शनिबार बिहानैदेखि गाउँमा भजनकीर्तन गरेका थिए । गएराति नै उहाँको निधन भएको खबर सुनेपछि उहाँको जन्मस्थल र जिल्लाका स्थानीय शोकमग्न भएका छन् । 

  काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा रु १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै रु दुई अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ ।    वर्षायाममा भारतमा बढी बिजुलीको माग हुने भएकाले प्राधिकरणले आवश्यकताका आधारमा बिजुली निर्यात गरिरहेको छ । यस्तै प्राधिकरणले थप एक सय ११ मेगावाट बिजुली निर्यातका लागिसमेत प्रयास गरिरहेको छ । प्राधिकरणले चालु आवको पहिलो महिना अर्थात् गत साउनमा रु एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार बराबरको बिजुली निर्यात गरेको छ ।    प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत् निर्यातबाट गत साउनमा औसतमा दैनिक रु पाँच करोड ९३ लाख कमाउन प्राधिकरण सफल भएको छ ।    प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा नुवाकोटका दुई विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि  दैनिक रुपमा विभिन्न छ वटा जलविद्युतगृहबाट उत्पादित विद्युत्लाई स्रोत मानेर बिजुली निर्यात भएको छ ।    त्यस आधारमा दैनिक तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।   गत आव २०७८/७९ मा रु तीन अर्ब ८८ करोडको विद्युत् निर्यात भएको थियो । ढल्केबर–मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात भइरहेको छ ।     गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोसी र निजी क्षेत्रका जलविद्युत् तथा सौर्य आयोजनाको  कूल सात सय ३५ मेगावाट विद्युत् प्रणालीमा थप भएको थियो । योसँगै वर्षायाममा देशभित्रको मागभन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकाले भारतीय बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।    “विद्युत् निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ, दुई मुलुकबीचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।   मुलुकमा विद्युत् उत्पादन दिनानुदिन थप हुँदै गइरहेको हुँदा घरायसी  खपत र औद्योगिक खपत बढाउन आवश्यक छ, यसका लागि प्रसारण तथा वितरण लाइनको विकास र सुधार गर्नुका साथै उद्योगीले विशेष सेवा र सुविधा प्राप्त गर्ने व्यवस्था मिलाइने भएको छ ।    थप एक सय ११ मेगावाट निर्यात प्रस्ताव   प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप उक सय ११ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ । प्राधिकरणले थप चार जलविद्युत्गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो ।    केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत् निर्यात सुरु हुने छ । प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित एक सय ११.८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेस गरिएको छ ।    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । “नेपाल र भारतको बिहार राज्यबीच विद्युत् आदानप्रदान गर्न निर्माण गरिएको एक सय ३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको विद्युत् उत्तर बिहार पावर वितरण कम्पनीबाहेकका निकायलाई समेत बिक्री गर्न भारत सरकारका सम्बन्धित निकायसँग आवश्यक भइरहेको छ”, उहाँले भन्नुभयो ।     भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत् बिक्री गरिन्छ ।  प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बोलपत्रमा प्रतिस्पर्धा गरिन्छ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्कोप्रति युनिट बिक्री दर तय हुन्छ ।    प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गरिन्छ । प्राधिकरणकातर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)ले गर्छ । एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।

  काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य स्वर्गीय प्रदीप गिरिको विचारलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभएको छ ।   स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन केहीबेर अघि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुग्नुभएका उहाँले नेपाली राजनीतिमा गिरि अध्ययनशील र तर्कशील नेताको रुपमा स्थापित हुनुभएको र उहाँको विचारलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको हो ।   बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्वर्गीय गिरि नेपाली कांग्रेसका साथै  कम्युनिष्ट पार्टीका समेत आदर्श व्यक्ति भएको बताउनुभयो ।    “प्रजातान्त्रिक शक्ति र बामपन्थीलाई मिलाएर लैजानुपर्छ भन्ने उहाँको भावना आत्मासात् गरिएका  कारण अहिले मुलुकमा लोकतन्त्र सुदृढ भएको हो”, उहाँले भन्नुभयो ।   कांग्रेस नेता डा शेखर कोइरालाले विपी कोइरालाको प्रजातान्त्रिक समाजवादको बारेमा विश्लेषण गर्नसक्ने तर्कशील नेता गिरि भएको बताउनुभयो ।    “पार्टीभित्र र अन्य कार्यक्रममा समेत स्पष्ट कुरा राख्नसक्ने गिरिको क्षमता थियो”, उहाँले भन्नुभयो । नेता गिरिको शव नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।  गिरिप्रति श्रद्धाञ्जली दिन पूर्वराष्ट्रपति डा रामवरण यादव, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा,  गृहमन्त्री बालकृष्ण खाण अहिले अस्पताल परिसरमा पुग्नुभएको छ ।   यस्तै स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेस पार्टीका नेता तथा कार्यकर्ता, अन्य पार्टीका शुभचिन्तक, बुद्धिजीवी, पत्रकारलगायतको अस्पताल परिसरमा घुइँचो लागेको छ ।भारतको मुम्बईको अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएका नेता गिरिको अस्पतालमै शनिबार राती ९।३० बजे निधन भएको हो ।   गिरिको पार्थिव शरिरलाई विहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिएकामा  त्यसपछि  दिउँसो २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने जनाइएकोे छ ।   पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेपछि उहाँको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने पार्टीले जनाएको छ । नेता गिरि प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित हुनुभएको हो । 

  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ ।       मन्त्रालयका अनुसार आजदेखि यही भदौ ११ गतेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा बालबालिकालाई दिइनेछ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिइन थालिएको जानकारी दिनुभयो ।      बालबालिकालाई विद्यालयमा नै केन्द्र स्थापना गरी खोप दिइन थालिएको छ । विद्यालयका साथै बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । आजदेखि ११ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म दिइनेछ ।    यसअघि २७ जिल्लाका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको थियो । पाँच वर्षदेखि १२ वर्षमुनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइनेछ ।       यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजका अभिभावकले स्व:घोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । प्रदेश नं १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचधर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर, मधेस प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाञ्चोकका बालबालिका रहेका छन् ।      यस्तै गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ, लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, रुकुमपूर्व, कर्णाली प्रदेशका रुकुमपश्चिम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट रहेका छन् । सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिका रहेका छन् । 

  काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता  प्रदीप गिरीको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ ।   अध्यक्ष ओलीले  आज बिहान ट्वीट गर्दै “चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु ।” प्रतिनिधिसभा सदस्य एवं समाजवादी चिन्तक गिरीको शनिबार राति ९:३०  उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

  भरतपुर । अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो छ । भरतपुरको मौलाकालिका अस्पतालका रेडियोलोजिष्ट डा रमेश घिमिरेसँग जाँच गराउन आउने बिरामीमध्ये दैनिक सरदर तीन जना मदिरा सेवनका कारण कलेजो बिग्रेर आउने गर्दछन् । उहाँले भन्नुभयो “कलेजो बिग्रने अवस्थामा जाँदै गरेका बिरामी दैनिक छ हाराहारी आउँछन् ।”   अस्पतालमा कलेजोरोग विशेषज्ञ र मनोरोग विशेषज्ञ भएकाले यस्ता बिरामी बढी हुने गरेका छन् । यसो त यहाँका मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र अन्य निजी अस्पतालमा यो समस्या लिएर आउनेको सङ्ख्या निकै बढी हुने गरेको छ ।    उहाँले भन्नुभयो, “फ्याटी लिभर भएका दैनिक आठ/दश जना आउँछन् । तीमध्ये ७५ प्रतिशत मदिरा सेवन गर्नेहरू हुन्छन् ।” ‘फ्याटी’ लिभर भएका सामान्य, मध्यम र जटिल भएर आउने गर्दछन् । उनीहरूलाई सामान्य अवस्थामा फर्काउन सकिने चिकित्सकहरू बताउँछन् । कलेजोको ‘सिरोसिस’ भएकालाई पूर्ववत अवस्थामा फर्काउन कठिन हुन्छ । यस्तालाई प्रत्यारोपणको विकल्प हुँदैन ।    डा घिमिरेले ‘सिरोसिस’ भएको बिरामीको कलेजो जुटको बोराजस्तै हुने जानकारी दिनुभयो । चितवन मेडिकल कलेजका कलेजो प्रत्यारोपण सर्जन डा सञ्जयकुमार यादवले अस्पतालमा हालसम्म प्रत्यारोपण गरिएका छ जना सबैको उच्च मदिराका कारण कलेजो काम नलाग्ने भएको बताउनुभयो । तीमध्ये एक जनामा हेपाटाइटिस बी समेत देखिएको थियो । उहाँले भन्नुभयो, “नेपालमा कलेजोमा समस्या आउने अधिकांश मदिराको कारण हो ।” लामो समयसम्म धेरै मदिरा पिउनेहरूमा कलेजोको समस्या हुने गरेको छ । धेरै मदिरा सेवन गर्नेहरूमध्ये १० देखि १५ प्रतिशतमा कलेजोको समस्या हुने उहाँ बताउनुभयो ।    चिकित्सकका अनुसार नियमित धेरै मदिरा सेवन गर्नेका १० देखि १५ वर्षमा कलेजो बिग्रने गर्दछ । सुरुमा कलेजो खराब भए पनि बाहिर समस्या देखिँदैन । भिडियो एक्सरे र रगत परीक्षण गर्दा मात्रै समस्या देखिने डा यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “मदिरा सेवन गर्नेहरूले नियमित भिडियो एक्सरे वा रगतको नमूना परीक्षण गराउनु पर्छ ।”    मदिरा धेरै सेवन गर्नेमा जण्डिस हुने, पेटमा पानी जम्ने, रगत वान्ता गर्ने, बेहोस हुनेजस्ता समस्या देखिने डा यादवको भनाइ छ । हेपाटाइटिस बी र सी का कारण पनि कलेजो खराब हुने गर्दछ । तौल बढी भएका, वंशाणुगत रोग हुनेहरू र कलेजोको क्यान्सर भएर पनि समस्या देखिने डा यादवले जानकारी दिनुभयो ।    मदिरा धेरै सेवन गर्नेहरुले समय–समयमा परीक्षण नगर्ने र अन्तिम अवस्था पुगेपछि मात्रै परीक्षण गर्दा कलेजो पूरै काम नलाग्ने अवस्थामा पुग्ने गरेको पाइन्छ । 

महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो ।  महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, दराज काम नलाग्ने भएका हुन् ।   दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र प्रहरीको रोहबरमा कार्यालयमा रहेका सामग्री थन्क्याइएको छ । आठकोठे कार्यालयमा दुई कोठामा सामग्री राखेर अन्य कोठालाई ‘आइसोलेशन वार्ड ’निर्माण गर्न लागिएको छ ।   पछिल्लो समय जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाले उक्त कार्यालयको भवनलाई आइसोलेशन बनाउने तयारी गरेको छ । गत साउन २५ गते प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँको संयोजकत्वमा बसेको जिल्ला कोभिड तथा सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को बैठकले सो कार्यालयको भवनलाई आइसोलेशन बनाउने निर्णय गरेको थियो ।    कोरोनाको सङ्क्रमण बढ्दोरूपमा रहेको र पूर्वतयारी अवस्थामा रहनका लागि आइसोलेशन बनाउन कार्यालयको ताला फोडिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो । प्रयोगविहीन अवस्थामा रहेको कार्यालयलाई त्यत्तिकै छोड्नुभन्दा आइसोलेशन बनाएर प्रयोगमा ल्याउन ताला तोडिएको जनाइएको छ ।

नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको आठ महिनापछि पदाधिकारी टुंगो लगाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारी टिम टुंगो लगाएको हो, जसमा महासचिव देव गुरुङ छन् ।   पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव प्रस्ताव गरेका थिए । महासचिवमा गुरुङसँगै ७ जनाको दाबी थियो । तर अध्यक्ष प्रचण्डले अरु दावेदारहरुलाई उपमहासचिवमा व्यवस्थापन गरेका छन् ।   महासचिवमा दावी गर्दै आएका गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव भएका छन् ।   प्रचण्डको पूर्व घोषणाअनुसार नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष भए । उपाध्यक्षमा ल्याउने भनिएका दिनानाथ शर्मा र गणेश साह सचिव भएका छन् ।   उनीहरुसँगै चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की पनि सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।   यो पदाधिकारी टिम विशेष महाधिवेशन नहुँदासम्मका लागि भनिएको छ । ‘अहिलेका लागि यो सन्तुलित र निर्वाचनलाई ध्यान दिएर गरिएको हो,’ उपाध्यक्ष महराले बैंठकपछि पत्रकारहरुसँग भने, ‘विशेष महाधिवेशनमा नयाँ सोच आउँछ ।’    

  श्रद्धाको केन्द्रबिन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अङ्कुरी महादेव मन्दिर परिसरमा बसहा स्थापना गरिएको छ । मन्दिर परिसरमा आज थप ६० किलोको बसाहा राखिएको छ । यसअघि पनि परिसरमा बसाहा राखिएको थियो ।    तिलाठी कोइलाडी गाउँपालिका–६ का उपेन्द्र यादवले आमाको सङ्कल्प पूरा गर्न बसाहा स्थापना गर्नुभएको हो । मन्दिरमा यसअघि ३० किलो तामाको बसाहा स्थापना गरिएको थियो । अङ्कुरी महादेव मन्दिर राजविराज–हनुमाननगर सडकखण्डमा महादेवा गाउँपालिका-२ मा पर्छ ।    अङ्कुरी महादेवकै नामबाट महादेवा नामकरण गरिएको पुजारी बद्री गिरीले बताउनुभयो । अङ्कुरी महादेवामा हरेक वर्ष शिवरात्रि र अनन्त चतुर्दशीमा ठूलो मेला लाग्छ ।