पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

स्वास्थ्यकर्मीहरुका लागि आत्महत्या रोकथाम सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।   राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश) को आयोजना तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वयमा भएको सो तालिममा महानगरभित्रका विभिन्न १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ३२ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।   कार्यक्रममा गण्डकी मेडिकल कलेजका मनोचिकित्सक डा. रबिराज तिमिल्सिना, मनोविद विनय पाण्डे, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका फोकल पर्सन दीपेन्द्र सुनार र कोशिशकी अभियन्ता तथा पैरवी अधिकृत बसन्ती खत्रीले सहजीकरण गरेका थिए ।   मनोचिकित्सक डा. तिमिल्सिनाले आत्महानी र आत्महत्याका बारेमा प्रस्तुतिकरण राख्दै आत्महत्या सम्बन्धित धारण र वास्तविकताको बारेमा स्पष्ट पारेका थिए ।    अर्का मनोविद पाण्डेले मानसिक स्वास्थय र आत्महत्को बारेमा प्रस्तुतिकरण राख्दै आत्महत्या न्यूनिकरण गर्न सकिने भएकाले त्यसको प्रभावकारी पहल हुनु जरुरी रहेको बताए । उनले गेट किपर तालिम पश्चात स्वास्थ्यकर्मीहरुलाई कार्य क्षेत्रमा गएर काम गर्न सहज हुने बताए ।    कोशिशकी पैरवी अधिकृत खत्रीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिइन् । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न स्वास्थ्यकर्मीलाइ आग्रह गरे ।   यसैबीच, बुधबार नै सुरक्षाकर्मीहरुलाई आत्महत्या रोकथाम सम्बन्धि १ दिने प्रशिक्षण प्रदान गरिएको कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईँ, आयोगका वरिष्ठ अधिकृत खिमलाल सुवेदी, डा. रविराज तिमिल्सिना र रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले सहजीकरण गरेका थिए । 

सीताराम गौतमले पहिलो पटक गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ बाख्रालाई खुवाउन सुरु गर्नुभयो । साइलेज (मकै र घाँसलाई मेसिनबाट गुन्द्रुक बनाइएको पशुआहार) खुवाउन सुरु गरेपछि बाख्रा हृष्टपुष्ट हुँदै गए ।    रामपुर नगरपालिका-७ का गौतमले सुरुमा करिब तीन क्विन्टल साइलेज खरिद गर्नुभयो । बाख्रालाई पोषिलो आहार अति उत्तम ठानेपछि पुनः दोस्रो पटक दोब्बर खरिद गर्नुभयो । अहिले उहाँले नियमितरुपमा आफ्ना फार्ममा रहेका ७० बाख्रालाई साइलेज खुवाउनुुहुन्छ ।    “गत वर्षदेखि नियमितरुपमा बाख्रालाई साइलेज खुवाउने गरेको छु, बाख्राको तौल बढ्दै गएको छ, पोषिलो साइलेज पशुआहारका लागि अत्यन्तै राम्रो छ, यसको सेवनले पशुपालन गरेका कृषकले राम्रो फाइदा लिँदैछन्”, उहाँले भन्नुभयो ।   रामपुरमा नै साइलेज उत्पादन हुन थालेपछि पशु आहार आपूर्तिका लागि सहज भएको र यसप्रति सथानीयले उद्योगमा पुगेर जानकारी लिने गरेको अगुवा भैँसीपालक कृषक कृष्णकुमार अर्याल बताउनुहुन्छ । अर्यालले यसअघि प्रतिकिलो रु १५ का दरले भारतको पञ्जाबबाट साइलेज खरिद गरेर पशुुलाई खुवाउने गर्नुहुन्थ्यो । अहिले गाउँमै गुणस्तरीय साइलेज खरिद गर्न पाउँदा आर्थिक भार कम परेको उहाँको भनाइ छ ।       यहाँ उद्योग सञ्चालन भएपछि स्थानीयले काम गर्ने अवसर पाएका छन् । उद्योग चलेको अवस्थामा दैनिक १५ देखि २० कामदारले काम गर्ने गरेका छन् । विष्णुमाया पौडेल गाउँमै रहेको उद्योगमा काम गर्ने अवसर पाउँदा खुसी हुनुहुन्छ । उहाँका श्रीमान् वैदेशिक रोजगारमा हुनुहुन्छ । उद्योगमा काम गरेपछि छोराछोरी र घरखर्च चलाउन समस्या नभएको उहाँ बताउनुहुन्छ । उहाँले यहाँको उद्योगमा बिहानदेखि साँझसम्म काम गर्नुहुन्छ ।        पौडेलले मकै, नेपिएर घाँस काट्ने, बोक्नेलगायतका काम गरेबापत एक घण्टाको रु ७५ ज्याला बुझ्नुहुन्छ । उहाँ उद्योगमा काम चलेका बखत दैनिक १२ देखि १५ घण्टा काम गर्नुहुन्छ । “ उद्योगले रोजगार दिएको छ, दुई चार पैसा कमाउने माध्यम बनेको छ, यहाँ काम गर्न थालेपछि अरुसँग आश्रित हुनुपरेको छैन, आफूले जति धेरै समय काम गर्न सकियो त्यति नै धेरै पैसा कमाइन्छ”, उहाँले भन्नुभयो ।         फूलमाया कुमाल पनि घरायसी काम सकाएर श्रीमान्सँगै यस उद्योगमा खटिनुहुन्छ । उहाँले साइलेज उत्पादन नभएका समय भने भवन निर्माण सम्बन्धि काम गर्नुहुन्छ । समयको सदुपयोगका साथै आयआर्जन गर्न सकिएको कुमाल बताउनुहुन्छ ।          उद्योग सञ्चालन भएपछि मकै काट्ने, बोक्ने, मेसिनमा राख्ने, उत्पादित साइलेज भण्डारण गर्नेलगायत काम पाएपछि स्थानीय उत्साहित छन् । स्थानीयलाई रोजगार दिन सदरमुकामदेखि टाढाको रामपुरमा जिल्लामै ठूलो साइलेज उद्योग सञ्चालन गरेको सञ्चालक रामप्रसाद पोखरेल बताउनुहुन्छ ।          “पशुआहारका लागि साइलेज अति राम्रो छ,  बजारका ठूला फार्मबाट माग आउने गरेको छ, ढुवानी गर्न भने समस्या छ, पेट्रोलियम पदार्थको महँगीले अघिल्ला वर्षमा जस्तो बजार पाउन सकेको छैन”, उहाँले भन्नुभयो । उद्योग चलाउन रामपुरका विभिन्न स्थानमा गरी करिब चार सय ८० रोपनी जग्गा भाडामा लिएर मकै र नेपिएर घाँस लगाइएको छ । सदरमुकाम तानसेन, रुपन्देही, पोखरा, स्याङ्जा, तनहुँ, काठमाडौँ, चितवन, पर्सा, नवलपरासी, वीरगञ्जलगायत सहरमा साइलेज खपत हुने गरेको छ । मकैको प्रतिकिलो रु १४ र नेपिएर घाँसको रु ११ मा साइलेज उद्योगबाटै बिक्री हुन्छ ।         चार वर्ष अघि लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख र कामधेनु गाईफार्मको  रु २५ लाखको लागतमा साइलेज उत्पादन थालिएको हो । उद्योगमा हालसम्म करिब रु एक करोड ५० लाखभन्दा बढी लगानी भएको सञ्चालकको भनाइ छ ।           साइलेज उत्पादन थालेपछि अब यस क्षेत्रमा बाँझिएका जग्गाको सदुपयोग हुन थालेको छ । यहाँ उत्पादन भएको साइलेज लुम्बिनी प्रदेशभर खपत गर्ने लक्ष्यअनुरुप उत्पादन भइरहेको सञ्चालक बेदप्रसाद बञ्जाडे बताउनुहुन्छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । पशुआहारका लागि राम्रो मानिने साइलेज रामपुर नगरपालिकामा उद्योग नै सञ्चालन गरी उत्पादन थालिएको हो ।          साइलेज पशुलाई खुवाएमा दूध उत्पादनमा वृद्धि हुने र पशुको नश्ल सुधार हुने बताइन्छ । सुक्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशुआहारका लागि अत्यन्त उपयुक्त हुने गरेकोले ठूला तथा साना पशु व्यवसायीका लागि सहज भएको छ । दैनिक दुई किलो साइलेज पराल, दानापानीमा मिलाएर पशुलाई खुवाउन सकिन्छ । सुक्खा मौसममा हरियो घाँसको अभाव हुने हुँदा साइलेज बनाएर राखियो भने पशु आहाराका लागि उत्तम मानिन्छ । यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।         दुई महिनासम्म प्लाष्टिकमा भण्डारण गरेर हावा नपस्ने गरी राखिएको साइलेज दुई महिनापछि मात्र पशुलाई खुवाउने गरिन्छ । घोगा लागेको मकैको बोट साइलेजका लागि उत्तम मानिन्छ भने टियो सेन्टी, नेपिएर नामक घाँसबाट पनि बनाउने गरिन्छ ।          साइलेज खुवाएको पशुबाट प्रशस्त दूध उत्पादन, पशु वृद्धि, पोषणयुक्त हुने हुँदा ठूला पशुफार्मले अनिवार्यजसो नै प्रयोग गरिरहेको सञ्चालकको भनाइ छ । आमाको दूध खाँदै गरेका बाच्छाबाच्छी तथा पाठापाठीबाहेक यो भेडा, बाख्रा, गाईभैँसीहरुलाई  समेत खुवाउने गरिन्छ । 

  भक्तपुर । भक्तपुर  जिल्ला स्वास्थ्य कार्यालय र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले यहाँ हात्तीपाइले रोगको अवस्थाका बारेमा जिल्लास्तरीय सर्वेक्षण गर्ने भएका छन् ।       हात्तीपाइले रोगको वास्तविक अवस्था कस्तो छ भन्ने जानकारी लिन र रोग निवारणका लागि आवश्यक नीति बनाउने उद्देश्यले जिल्लाका चार नगरपालिकाका ४० विद्यालयमा सर्वेक्षण गर्न लागिएको हो । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक केशवराज पण्डितले सन् २०१३ मा भक्तपुरमा १३ प्रतिशतमा हात्तीपाइले रोगका बिरामी रहेका र त्यसपछिको अवस्था के छ, भक्तपुरलाई हात्तीपाइले रोग निवारणमुक्त जिल्ला बनाउन के गर्ने भन्नेबारेमा नीति बनाउन सर्वेक्षण गर्न लागिएको बताउनुभयो ।           जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन दीपक अछामीले हात्तीपाइले रोगको ओखती जान्ने बुझ्नेले पनि नखाँदा जोखिम बढेको बताउनुभयो । उहाँले विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत छ÷सात वर्ष उमेर समूहका विद्यार्थीमा नमूना परीक्षण गरी सर्वेक्षण गरिने बताउनुभयो ।

  दशरथचन्द नगरपालिका–४ बिनासौँमा पासोमा फसेको चितुवा मरेको छ । उक्त चितुवा आज बिहान बँदेलका लागि किसानले मकैबारीमा थापेको पासोमा फसेको थियो ।    डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार पासोमा परेको चितुवा उद्धारका क्रममा आज दिउँसो मरेको हो । उहाँले भन्नुभयो, “पासोमा परेको चितुवा सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा मरेको छ, खोर लगेर उद्धार गर्दै थियौं, सोही क्रममा चितुवा मरेको हो, चितुवाको ढाडमा पासो परेको थियो, उद्धारकै क्रममा गम्भीर चोट पुगेको हुनसक्छ ।”   पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको भए पनि टोली नपुग्दै चितुवा मरेको हो । मरेको चितुवाको मुचुल्का उठाएर डिभिजन वन कार्यालय परिसरमै गाड्ने तयारी भएको छ ।  

   दार्चुला । यहाँ आज जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जिप शैल्यशिखर–६ उलानीमा दुर्घटना भएको हो ।      से१ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।

  काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप आठ सय ५२ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।         पछिल्लो २४ घण्टामा छ हजार तीन सय ८३ को नमूना परीक्षण गरिएको थियो । तीन हजार आठ सय ७६ ले पिसिआर र दुई हजार पाँच सय सात जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।        गत २४ घण्टामा तीन सय २८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७६ हजार नौ सय ३७ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।      हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ६२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९० पुगेको छ । होम आइसोलेसनमा पाँच हजार दुई सय ५९, संस्थागत आइसोलेसनमा दुई सय तीन, आइसियुमा ५९ र भेन्टिलेटरमा सात जना सङ्क्रमित रहेका छन् ।      हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सय बढी सङ्क्रमित रहेको जिल्लामा कैलाली रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा पाँचथर, मनाङ, कालीकोट, हुम्ला, डोल्पा, जुम्ला र मुगु रहेका छन् ।       उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार छ सय ३२, ललितपुर आठ सय ६० र भक्तपुरमा एक सय ११ सक्रिय सङ्क्रमित रहेका छन् । कूल सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  

  काठमाडौं:   ऐतिहासिक गोरखा दरबार सङ्ग्रहालय परिसरमा अबदेखि नेपाल एकीकरणका अभियानकर्मी तथा राष्ट्रिय एकताका प्रतीक तत्कालीन राजा पृथ्वीनारायण शाहसँग बसेर तस्बिर खिच्न पाइने भएको छ ।       ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले तल्लो दरबारको मूलगेटमा नक्कली पृथ्वीनारायण शाहको स्वरुपको प्रतिविम्ब खडा गर्ने व्यवस्था गरेपछि दरबार सङ्ग्रहालय पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले पृथ्वीनारायण शाहको प्रतिविम्बसँग बसेर तस्बिर खिचाउन पाउने भएका हुन् ।        सङ्ग्रहालयमा आजदेखि ‘प्रतिविम्बमा श्री ५ पृथ्वीनारायण शाह’ शुभारम्भ भएसँगै पृथ्वीनारायण शाह र कालु पाँडेको भेषमा सजिएर एक÷एक जना व्यक्ति नियमितरुपमा दरबारको परिसरमा रहने व्यवस्था गरिएको समितिका सल्लाहकार राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।      “पृथ्वी नारायण शाह र कालु पाँडेको पोसाकसहितको प्रतिविम्बमा बसेर तस्बिर खिच्नका लागि शुल्कको समेत व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “यसबाट ऐतिहासिक गोरखा जिल्लाभित्र आउने पर्यटकलाई तत्कालीन राजा पृथ्वीनारायण शाह र कालु पाँडेका विषयमा जानकारी समेत प्राप्त गर्ने अवसर प्राप्त हुनेछ ।” पृथ्वीनारायण शाहसँग फोटो खिच्न स्थानीयले रु २० तिर्नुपर्नेछ भने जिल्ला बाहिरका र विदेशी पर्यटकले रु ५० तिर्नुपर्ने व्यवस्था गरिएको छ ।     पृथ्वीनारायण शाहको प्रतिविम्बका रुपमा स्थानीय ओमबहादुर श्रेष्ठ दैनिक सात घण्टा सो भेषमा सङ्ग्रहालयमा रहने उहाँले जानकारी दिनुभयो । त्यस्तै राजाका सहयोगी कालु पाँडेको समेत प्रतिविम्बका रुपमा अर्का एक व्यक्ति पनि नियमितरुपमा सङ्ग्रहालय परिसरमा रहने सल्लाहकार श्रेष्ठले जानकारी दिनुभयो ।       ‘प्रतिविम्बमा श्री ५ पृथ्वीनारायण शाह’ कार्यक्रमको शुभारम्भ गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले यहाँ रहेका ऐतिहासिक विषयबस्तुलाई देश तथा विदेशमा पु¥याएर जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नगरपालिकाले पहल र प्रयास गरिरहेको बताउनुभयो । उहाँले  विकास समितिले गरेको कामको प्रशंसा गर्दै नगरपालिकाबाट आवश्यक सबै प्रकारको सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

कारागारभित्र बन्दीका लागि उपचारका लागि छुट्टै अस्पताल वा स्वास्थ्यचौकीको  व्यवस्थापन गरिने भएको छ । कारागारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कारागारमा बन्दीजीवन विताइरहेकालाई उपचार गर्न भित्रै छुट्टै अस्पताल वा स्वास्थ्य चौकी स्थापना गर्न भनिएको छ ।    विधयेकमा पाँच सय बढी बन्दी रहने प्रत्येक कारागारामा तोकिए बमोजिम शय्या रहेको एउटा अस्पताल र सोभन्दा कम बन्दी रहने कारागारमा एउटा स्वास्थ्यचौकीको व्यवस्था गर्नुपर्ने उल्लेख छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि संशोधन गर्दै कारागारभित्रका सबै बन्दीलाई चिकित्सकद्वारा कम्तीमा दुई महिनामा एक–पटक नियमित र आवश्यकता अनुसार निःशुल्क स्वास्थ्यपरीक्षण र उपचारको व्यवस्था गर्नुपर्ने छ ।    यस्तै बन्दीले नियमितरुपमा सेवन गर्ने औषधि कारागार कार्यालयले उपलब्ध गराउनुपर्ने, कारागार प्रशासकले बन्दीको प्रजनन् अधिकार संरक्षण गर्ने प्रयोजनको लागि तोकिए बमोजिम गराउनुपर्ने, एउटै कारागारका पुरुष र महिला बन्दी वा कारागारमा रहेको बन्दीसँग कारागारमा नरहेको पुरुष वा महिलाले विवाह गर्ने चाहेमा विवाह दर्ताका लागि कारागार प्रशासक समक्ष निवेदन दिनुपर्ने र विवाह दर्ता गर्न अनुमति दिनुपर्ने उल्लेख छ ।    यस्तै विधेयकमा कारागार प्रशासकले तोकिएकोभन्दा बढी बन्दी रहेमा आवश्यकता अनुसार आधारभूत, माध्यमिक, खुला वा दूर शिक्षाको लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने, निरक्षरलाई प्रौढ, अनौपचारिक शिक्षा वा त्यस्तै अन्य प्रकृतिको पठनपाठनको लागि आवश्यक प्रबन्ध मिलाउनुपर्ने उल्लेख छ ।    विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल भइरहेको छ । आज समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रको सभापतित्वमा भएको छलफलमा विभिन्न संशोधनका बुँदा समिति सदस्यले राख्नुभएको समितिका उपसचिव नुमराज खनालले जानकारी दिनुभयो । भोलि पनि विधेयकमा दफावार छलफल हुनेछ । 

  बागलुङ ।  दुःखको चक्र कस्तो हुन्छ ? खगेश्वर उपाध्यायले जति अरू कस्ले झेले होला र  छोरी शान्तिको बिहे भइसक्यो । घरमा भएका श्रीमती र दुई छोरा अशक्त छन् ।       बौद्धिक अपाङ्गताबाट गु्रजिरहेका उनीहरुको सुसार र लालनपालनको अभिभारा ६७ वर्षीय उपाध्यायको काँधमा छ । विसं २०५६ तिर उहाँकी श्रीमती जमुना लडेर गम्भीर घाइते हुनुभयो । उपचारले केही वर्ष थामे पनि टाउकाको भित्री चोट बल्झिँदै गएर पछि बौद्धिक अपाङ्गताको स्थितिमा पुर्यायो ।      छोराहरु मित्रप्रसाद र लोकनाथ जन्मजात अशक्त हुनुहुन्छ । जेठो छोरा २८ वर्षीय मित्रप्रसादमा छारे रोग पनि छ । “छोरी शान्तिमा पनि अपाङ्गता थियो, उसको त बिहेवारी भयो”, मलिन स्वरमा उपाध्यायले भन्नुभयो, “छोराहरु केही गर्न सक्दैनन्, श्रीमती पनि सुतेको सुतै हो, धन्न शौचालयसम्म आफैँ जान्छन् ।”     घरधन्दादेखि मेलापातसम्म एक्लै धान्नुपरेको उहाँले सुनाउनुभयो । बागलुङ नगरपालिका–११ रायडाँडा, ओखलेका उपाध्यायले गाउँमा कृषि कार्य गरेर परिवारको गुजारा चलाइरहनुभएको छ । “भगवानले बाटो लगाएका छन्, इष्टमित्रको बल छ, अरू हाम्रो केही उपाय छैन”, उहाँले भन्नुभयो, “सकुञ्जेल परिवार पाल्छु, त्यसपछि के विकल्प रह्यो र ? मेरा दाजुभाइ पनि कोही छैनन् ।”      गाउँको आमा समूहले दिएको ऋणबाट कुटानीपिसानी मिल चलाएपछि उपाध्यायलाई घरको गर्जो टार्न भने केही सहज भएको छ । समूहले उहाँलाई बिनाब्याज रु ५० हजार ऋण दिएको थियो । “२५ हजार फर्काएँ, २५ हजार अझै तिर्न बाँकी छ”, उहाँले भन्नुभयो, “मेरो घरको अवस्था हेरेर समूहले ब्याज मिनाहा गरिदिएको हो ।”      उहाँकामा भैँसी, बाख्रापालन र खेतीपाती छ । सात बाख्रा पालेको आफूलाई हटाएर गाउँमा एउटा मात्र बाख्रा पाल्नेले सरकारी अनुदान पाएको भन्दै उहाँले गुनासो पोख्नुभयो । अपाङ्गता भत्ताबाहेक राज्यका निकायबाट अरू कुनै सहयोग नपाएको उपाध्यायले बताउनुभयो ।       नगरपालिकाले पूर्ण अशक्त भएका कारण उहाँकी श्रीमती जुमनालाई ‘क’ वर्ग र छोराहरुलाई अति अशक्ततर्फ ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र दिएको छ । श्रीमती जमुनामा बहुअपाङ्गता रहेको उपाध्यायले बताउनुभयो । एकातिर बौद्धिक अर्कातिर शारीरिक अपाङ्गताबाट ६७ वर्षीया जमुना पीडित हुनुहुन्छ । श्रीमती ओछ्यान परेपछि चुल्होचौकोको काम उहाँले नै सम्हाल्दै आउनुभएको छ । छोराहरुको रेखदेख गर्ने जिम्मा पनि उहाँमाथि छ ।      “छोराहरु सिधाबाटो भेटाए भने सामान्य हिँड्डुल गर्छन्, घुम्तीमा मोडिनुपर्छ भन्ने पनि थाहा छैन, केही समय विद्यालय पनि पठाएँ, तर अहिले आफ्नै नाम लेख्न जाँदैनन्”, उपाध्यायले भन्नुभयो, “ठूलो छोरा म यताउति गएँ भने औषधि खान पनि भुल्छ, औषधि छुट्यो भने लडिहाल्छ ।”     केही वर्षअघि अँगेनामा लड्दा मित्रप्रसादको हात जलेको थियो । छ पटकसम्म उपचारका लागि उहाँलाई पोखरा पु¥याएको उपाध्यायले बताउनुभयो । वडास्तरीय अपाङ्गता सञ्जालकी अध्यक्ष गुमादेवी गौतमले उपाध्यायको परिवार अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको बताउनुभयो ।     “बुबालाई तलमाथि केही भइहाले, बिरामी परेर थलिए परिवारको बिचल्ली हुने अवस्था छ”, अध्यक्ष गौतमले भन्नुभयो, “वडा, नगरपालिका कसैले पनि उहाँलाई सहयोग गरेका छैनन्, अपाङ्गता भत्ताले मात्र कति पो थेग्छ र ?” केही वर्षअघिसम्म लक्षित वर्गको कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमा सहयोग भए पनि अहिले त्यो रोकिएको उहाँको भनाइ छ ।      छिपिँदो उमेरमा झन्झन् ठूला दुःखले उपाध्यायलाई घेर्दै लगेको छ । न आज ठीकठाक चलिरहेको छ, न भविष्यको टुङ्गो छ । निम्नवर्गीय परिवारमा जन्मनुको नियति, त्यहीँमाथि परिवारका सबै सदस्यमा अपाङ्गता हुनुको पीडा । छिनछिनमा मनमा दुःखको आँधी चले पनि उपाध्यायले हरेस भने खानुभएको छैन । घरको सहारा बन्नुभएको छ ।      सेतै फुलेको कपाल र चाउरिएको चेहेरा लिएर आफ्ना निरुपाय परिवारजनका लागि उहाँ सङ्घर्षरत हुनुहुन्छ । सञ्जालका अनुसार रायडाँडामा मात्र ५० भन्दा बढी अपाङ्गता भएका व्यक्ति छन् । सोही ठाउँकी सीतादेवी सापकोटाको परिवारमा पनि चारजना अशक्त छन् । सीतादेवी, उहाँका श्रीमान् जगन्नाथ र दुई छोरामा शारीरिक अपाङ्गता छ । एक्ली छोरी दुर्गादेवीले घरपरिवार धान्दै आउनुभएको छ ।     “एउटा छोरा त आश्रममा हुनुहुन्छ, अरू तीनै जना घरमै अशक्त भएर बस्नुभएको छ, सबैको सहारा छोरी दुर्गादेवी बन्नुभएको छ”, सञ्जालकी अध्यक्ष गौतमले भन्नुभयो, “एकै घरका चार–चारजना अशक्त भएर थलिँदा त्यो परिवारको अवस्था कस्तो हुन्छ होला, सोच्दा पनि कहाली लाग्छ ।”     वडाध्यक्ष ज्ञानेन्द्र गौतमले एकाघरमा धेरै जना अशक्त हुँदा परिवारको अवस्था जटिल बनेको बताउनुभयो । “त्यस्ता परिवारलाई आयआर्जनमा सामान्य सहयोग त भइरहेको छ तर ठ्याक्कै कार्यक्रम दिन सकिएको छैन”, उहाँले भन्नुभयो, “अब व्यावसायिक कृषि र स–साना उद्यममा जोड्नेतिर लाग्छौँ, अपाङ्गता क्षेत्र हाम्रो प्राथमिकतामा छ ।”      उहाँले उपाध्यायको कुटानीपिसानी मिलमा वडाबाट अनुदान सहयोग दिएको बताउनुभयो । वडाध्यक्ष गौतमले गाउँमा बस्ने त्यस्ता परिवारको जीवनयापन र दीर्घकालीन व्यवस्थापनमा राज्यले सघाउनुपर्ने धारणा राख्नुभयो । “कतिपय त अपाङ्गता परिचयपत्र पाउनबाट पनि वञ्चित भइरहनुभएको थियो”, उहाँले भन्नुभयो, “हाम्रै पहलमा परिचयपत्र दिलाइएको छ, अहिले मासिक रुपमा जीवन निर्वाह भत्ता आउने अवस्था बनेको छ ।” वडाध्यक्ष गौतमले उपाध्याय र सापकोटा परिवारको अवस्थाले आफूलाई पनि छोएको बताउनुभयो ।      सोही वडाको धारापानी निवासी शेरबहादुर थापाका पनि दुई छोरीमा बौद्धिक अपाङ्गता छ । २३ वर्षीया छोरी यमुना र १६ वर्षीया रेनुकालाई नगरपालिकाले ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र दिएको छ । नगरको महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख सरस्वतीदेवी रेग्मीले नगरभित्र पाँच सय ५० भन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेको जानकारी दिनुभयो ।      उहाँका अनुसार ‘क’ वर्गको परिचयपत्र पाउने पूर्ण अशक्त व्यक्तिले मासिक रु चार हजार र ‘ख’ वर्गका अति अशक्तले ले रु दुई हजार एक सय भत्ता बुझ्छन् । ‘ग’ र ‘घ’ वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिले भने राज्यले दिने अरू सुविधा र सहुलियत मात्र पाउँछन् ।       “नगरबाट वार्षिक छुट्टिएको बजेटबाट अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गर्छौं, त्योबाहेक अरू विशेष कार्यक्रम पनि ल्याउन जरुरी छ”, प्रमुख रेग्मीले भन्नुभयो, “वडा तहबाट पनि अपाङ्गता क्षेत्रमा बजेट छुट्टिने गरेको छ, आवश्यक समन्वय गरेर अब नयाँ योजना बनाउँछौँ ।”