झापा । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्नेका अवस्थामा कमी आउने जनाइएको छ । दुई वर्षअघि अस्पातालले ‘पेट सिटी स्क्यान’ उपकरण ल्याए पनि सरकारले रेडियोधर्मीसम्बन्धी ऐन, नियम नबनाएका कारणले सञ्चालन आउन सकेको थिएन । अस्पतालका मेडिकल निर्देशक डा वीरेन्द्र यादवले भन्नुभयो, “पेट सिटी स्क्यान’ को सेवा सुरु भएपछि क्यान्सर उपचारका लागि भारतलगायत छिमेकी मुलुक जानुपर्ने अवस्थामा लगभग अन्त्य हुने छ ।” क्यान्सर रोगी केही नेपाली बिरामीहरु उपचारका लागि भारतलगायत अन्य मुलुकमा जाने जनाइएको छ । उहाँले भन्नुभयो, “अब हामीले नै पेट सिटी स्क्यानको सेवा न्यूनतम शुल्कमा दिएपछि बाहिर मुलुकमा उपचारका लागि जानु पदैन ।” उहाँका अनुसार ‘पेट सिटी स्क्यान’ उपकरणले क्यान्सर रोगको अवस्थाबारे जानकारी गराउने र यसले गर्दा क्यान्सरको उपचार गर्न सजिलो हुन्छ । “क्यान्सर कति फैलिएको छ । उपचारपछि निको कति भयो, भएन । सबै कुराको थाहा उपकरणबाट पत्ता लाग्ने गर्दछ”, भारतको मेदान्त अस्पतालमा सेवा गरिसक्नु भएका डा यादवले भन्नुभयो, “उपकरण सञ्चालन भएपछि अब जस्तोसुकै क्यान्सरको उपचार हामी गर्न सक्दछौँ ।” क्यान्सर अस्पतालमध्ये पहिलोपटक पूर्वाञ्चल क्यान्सर अस्पतालाले ‘पेट सिटी स्क्यान’ सेवाको सुरुआत गरेको हो । ४५ हजारमा ‘पेट सिटी स्क्यान’ अस्पतालले अन्य ठाउँभन्दा सस्तोमा ‘पेट सिटी स्क्यान’ सेवा दिने भएको अस्पतालका निर्देशक डा यादवले बताउनुभयो । ‘पेट सिटी स्क्यान’ सेवा अस्पतालले ६० हजारमा उपलब्ध गराए पनि अहिले दुई महिनासम्म बिरामीलाई रु ४५ हजारमै उपलब्ध गराउने उहाँको भनाइ छ । भारतमा ‘पेट सिटी स्क्यान’ सेवाका लागि जाँदा करिब रु पाँच लाखसम्म खर्च हुने गरेको छ । ‘पेट सिटी स्क्यान’ सेवाका लागि ‘रेडियो आइसोटोप’ समेत प्रयोग गरिन्छ । उक्त रेडियो आइसोटोप ल्याएको चार घण्टाभित्र बिरामीको उपचारका लागि प्रयोग गरिसक्नुपर्ने हुन्छ । भारतको कोलकाताबाट खरिद गरेको दुई घण्टामा झापाको बिर्तामोडमा उक्त ‘रेडियो आइसोटोप’ आइपुग्ने र बिरामीलाई समेत सजिलै उपचार गर्न सकिने अस्पतालका निर्देशक डा यादवले जानकारी दिनुभयो । कोलकाताबाट सिलगुडीको वागडुग्रा विमानस्थलमा एक घण्टा र त्यहाँबाट आधा घण्टामा बिर्तामोडमा ‘रेडियो आइसोटोप’ ल्याइने गरिन्छ । ‘पेट सिटी स्क्यान’ उपकरण सञ्चालन गर्ने अस्पतालका न्युुक्लियर मेडिसिन विभागका प्रमुख डा रितेश उपाध्यायले क्यान्सरको उपचारका गर्दा पटक–पटक ‘पेट सिटी स्क्यान’ गर्नुपर्ने जानकारी दिनुभयो । उहाँका अनुसार क्यान्सरको उपचार थालनी गर्नुपूर्व, उपचारको बीचमा र उपचारपछि निको भयो कि भएन भनेर ‘पेट सिटी स्क्यान’ उपकरणबाट परीक्षण गर्ने गरिन्छ । “क्यान्सर उपचारपछि निको भयो कि भएन । उपचारलाई परिवर्तन गर्नुपर्ने हो वा होइनसमेत ‘पेट सिटी स्क्यान’बाट थाहा हुन्छ”, डा उपाध्यायले भन्नुभयो, “‘पेट सिटी स्क्यान’ अन्य रोगको पनि उपचारका लागि पनि प्रयोग गरिन्छ ।” उहाँले क्यान्सरको उपचारका लागि ‘पेट सिटी स्क्यान’ अनिवार्य रहेको भन्दै शरीरको पूरै भागको स्क्यान गरी क्यान्सरको अवस्था पत्ता लाग्ने बताउनुभयो । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले दैनिक १०–१२ जनाको ‘पेट सिटी स्क्यान’ सेवा दिनसक्ने बताउनुभयो । उहाँले आजदेखि ‘पेट सिटी स्क्यान’ सेवा सुरु गरे पनि आइतबारदेखि नियमितरूपमा सुरु गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार २५ क्यान्सर बिरामीको ‘पेट सिटी स्क्यान’ गर्न तयारी गरिएको छ । अस्पतालमा दैनिक एक सय २५ जना क्यान्सरका बिरामी आउने गरेका छन् । अस्पतालम काठमाडौँ लगायत देशका अन्य क्षेत्रबाट बिरामी आउने गरेका छन् ।
बागलुङ । तीन वर्षदेखि लगातार बागलुङमा डेङ्गुका बिरामी भेटिन थालेका छन् । विगत दुई वर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकामा यो वर्ष भने बागलुङको अन्य स्थानमा पनि भेटिएको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ । धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलका अनुसार अस्पतालमा उपचार गर्न आएका बिरामीमा पनि छिटफुट रुपमा डेङ्गुको सङ्क्रमण पुष्टि भइरहेको छ । उच्च ज्वरो, रुघाखोकीसमेतका लक्षण देखिएपछि उपचारका लागि आएकालाई डेङ्गु परीक्षण गर्दा पुष्टि भएको उहाँले बताउनुभयो । दुई वर्षअघि चार, गत वर्ष तीन जना बिरामीमा डेङ्गु देखिएपछि धवलागिरि अस्पतालमै उपचार गरिएको थियो । यो वर्ष पनि लक्षणसहितका बिरामी धेरै देखिएको पोखरेलले बताउनुभयो । लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आम नागरिकलाई सचेत रहन स्वास्थ्य कार्यालय बागलुङले पनि सबैलाई आग्रह गरेको छ । डेङ्गुविरुद्ध स्वास्थ्य कार्यालयले दशवटै पालिकाका सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । रगत जाँचपछि मात्र डेङ्गु पत्ता लगाउन सकिने भएकाले पालिका तहमा पनि आवश्यक किट पठाइएको जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्ने, बिरामी आएमा उपचारको व्यवस्था मिलाउने र लामखुट्टे बस्ने पानीका स्रोत हटाउने तयारी सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । “धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने डेङ्गुको लक्षण हुन्”, डा पोखरेलले भन्नुभयो, “सतर्कता अपनाउन सकिएन भने कोरोना भाइरसभन्दा यो खतरा हुनसक्छ ।” बिरामी बढी सिरियस हुने भएकाले लामखुट्टेबाट बच्नकै लागि बढी सचेत बन्नुपर्ने उहाँले सुझाव दिनुभयो । गाडी बनाउने ग्यारेज, पानी जम्ने पोखरीलगायत सफा राख्न र घर–घरमा पनि खुला ड्रममा पानी नराख्न आग्रह गरिएको बागलुङ नगर स्वास्थ्य कार्यालय प्रमुख रामप्रसाद खनालले बताउनुभयो । खनालका अनुसार सफा पानीमा लामखुट्टेले फुल पार्ने र डेङ्गु लामखुट्टेकै टोकाइबाट सर्छ । “एकपटक सङ्क्रमण भएपछि दोहोरिने दर बढी भएकाले पहिल्यै सचेत बन्नुपर्छ”, उहाँले भन्नुभयो । वर्षात्को बेला देखिने अन्य धेरै प्रकारका रोगको पनि सङ्क्रमण बढेको छ । अस्पतालमा दैनिक चार सयदेखि पाँच सय जनासम्म बिरामी उपचार र स्वास्थ्य परीक्षण गर्न आउन थालेका छन् । अस्पतालको भीडले पनि वर्षात्जन्य रोग बढेको देखिएको डा पोखरेलले बताउनुभयो ।
पोखरा । पोखरामा शनिबार गिद्ध गणना गरिने भएको छ । पोखरा पंक्षी समाजको सक्रियतामा प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार गिद्ध गणना गर्ने गरिएअनुसार पोखरामा गिद्ध गणना गर्न लागिएको हो । प्रत्येक वर्षको सेप्टेम्बरको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका रुपमा लिने गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । गिद्ध मरेको सिनो खाएर बाँच्ने पक्षी हुन् । यिनीहरूले हानिकारक किटाणु सडेको मासु पचाउनसक्ने भएकाले यिनीहरूलाई प्रकृतिका कुचिकार भन्ने गरिएको छ । नेपालमा गरिएको विभिन्न अध्ययनले पछिल्लो दुई दशकमा गिद्धको सङ्ख्या झण्डै ९० प्रतिशतले घटेको छ । गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक जस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेको बताउँदै घिमिरेले पछिल्लो समयमा गाईबस्तु पाल्नेक्रम पनि अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्नेक्रम पनि कम हुँदै जाँदा उनीहरूको आहारामा समेत समस्या थपिएको जानकारी दिनुभयो । डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नैै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको छ । घिमिरेका अनुसार औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ । विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै पोखरा र आसपासका क्षेत्रमा पाइने घिमिरेले जानकारी दिनुभयो । त्यसैले पनि पोखरा र आसपासको क्षेत्र गिद्धको मुख्य बासस्थानका रुपमा रहेको छ । उहाँका अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गुर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् । हिउँदको समयमा आउने लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । त्यस्तै राज गिद्ध पाकिस्तान एवं कीर्किस्तानबाट आउने गरेका छन् । नेपालमा पाइने हिमाली गिद्ध १० हजारको सङ्ख्यामा छन् भने डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ । त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध पाँच÷पाँच सयको सङ्ख्यामा रहेको जनाइन्छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारीमा रहेको छ । पछिल्ला वर्षमा बढ्दो बस्ती विकासको क्रमसँगै गिद्धका प्रजाति लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका अनुसन्धानकर्ता बताउँछन् । गिद्धको बासस्थान विशेष गरी अग्लो सिमलको रूख हो । गिद्ध सिमलका रूखमा बस्ने तथा गुण लगाउने गर्दछन् । पछिल्ला समयमा बस्ती तथा फाँटमा रहेका सिमलका रूख काटिँदा पनि उनीहरू समस्यामा पर्ने गरेको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले जानकारी दिनुभयो । विभिन्न विकास निर्माण, ट्रान्समिसन लाइन आदिका कारण पनि गिद्ध समस्यामा पर्ने गरेको जनाउँदै उहाँले गत वर्ष तनहुँको व्यास नगरपालिका वडा नं ८ मा ल्यान्डफिल साइड नजिकैको ट्रान्समिसन लाइनमा ठोक्किएर करिब ७० वटा हिमाली गिद्ध मरेको पाइएको जानकारी दिनुभयो । त्यस्तै गत वर्ष नै घाचोकमा दुई वटा सुन गिद्ध, एक÷एक वटा डङ्गोर गिद्ध र हिमाली गिद्ध मरेको उहाँले जानकारी दिनुभयो । पोखराको चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायतका स्थानमा डेढ दशकअघिसम्म ठूलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा घट्दै गएको अनुसन्धाता बताउँछन् । चाउथेलगायतका फाँटमा बस्ती विकाससँगै सिमलका ठूलाठूला रूख यतिखेर काटिइसकेको, बढ्दो बस्ती विकास, धुलोधुवाँलगायतका कारण पनि यिनीहरू सङ्कटमा परेको जनाइएको छ । गणना विभिन्न सात ठाउँबाट गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । पोखराका घाचोक, पोखराको ल्यान्डफिल साइट, दोभिल्ला, पुम्दीकोट, हेम्जा, सेती नदीको तल्लो भूभभाग ९दुलेगौँडा सम्म० र दमौलीको ल्यान्डफिल साइटमा एकै समयमा बिहान ८ बजेदेखि ११ बजेसम्म गणना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्ध प्रकृतिको कुचिकार भएका कारण यसको संरक्षणमा जागरुकता आवश्यक रहेको उहाँको भनाइ छ । अघिल्लो वर्षको पोखरामा गरिएको गणनामा २२३ सेतो गिद्ध, ९१ डङ्गोर गिद्ध, २८ सुन गिद्ध, १३ सानो खैरे गिद्ध, नौ वटा हिमालयन गिद्ध र एक वटा राज गिद्ध पाइएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि पोखराको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।
चितवन : पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेर अवरुद्ध भएको सडक बिहान ११ः४५ बजेपछि सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको थियो । पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
गलकोट : चालु आर्थिक वर्ष २०७९/८० मा कालोपत्र सुरु गर्ने गरी कालीगण्डकी करिडोरको बागलुङ खण्ड ठेक्का प्रक्रियामा गएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गुल्मीको हर्मिचौरबाट बागलुङको मालढुङ्गासम्मको ५५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का आह्वान गरिएको हो । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय, पाल्पाका अनुसार चालु आवमै कालोपत्र गर्ने गरी हर्मीचौरबाट बलेवा विमानस्थल र वलेवा विमानस्थलबाट मालढुङ्गाको दुई खण्डमा विभाजन गरेर ठेक्का आह्वान गरिएको छ । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय पाल्पाका कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार चालु आवमै सडक कालोपत्रका लागि पूर्वाधारको काम थाल्ने जानकारी दिनुभयो । “गत फागुनमा अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेसँगै अहिले करिडोरको हर्मिचौरबाट मालढुङ्गासम्मको सडकखण्ड कालोपत्रका लागि ठेक्का गरिएको हो ।” उहाँले भन्नुभयो, “नेपाली सेनाले ट्रयाकसँगै आठ मिटर चौडा पारेर सडक विभागलाई हस्तान्तरण गरेको थियो, कुन स्थानमा अहिले समस्या छ, त्यहाँ सडक चौडा पार्ने, पर्खाल लगाउने र नाली निर्माणसहित सडक कालोपत्रका लागि बजेट विनियोजन भएर ठेक्कामा गएको हो, चालु आवमै छनोट भएको निर्माण कम्पनीले सडकको पूर्वाधार निर्माण थाल्ने छ ।” गुल्मीको हर्मिचौरबाट बागलुङको पालुङखोला–टाकुरी हुँदै मालढुङ्गासम्मको सडक कालोपत्रका लागि बहुवर्षीय ठेक्का खोलिएको हो । करिडोरअन्तर्गतको मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किमी सडक १० मिटर चौडा बनाइ सडक विभागलाई २०७६ पुस १ गते हस्तान्तरण गरेको थियो । सडक विभागलाई हस्तान्तरण गरेको साढे दुई वर्षपछि उक्त सडक कालोपत्रको तयारी गरिँदै छ । यस्तै बलेवा विमानस्थलबाट टाकुरी–पालुङखोला–हर्मीचौरसम्मको सडक २०७८ असारमा करिडोर निर्माणको जिम्मा पाएको नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ महिनापछि ठेक्का खोलिएको हो । भारत र चीनसँग जोडेर त्रिदेशीय सम्पर्कका रूपमा स्थापित हुने सो करिडोरको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ । त्रिदेशीय सडकका रूपमा रहेको कालीगण्डकी करिडोरले छिमेकी भारत र चीनलाई जोडेको छ । मालढुङ्गाबाट गुल्मी रिडीसम्मको खण्डमा सेनाले २०७० सालदेखि काम गरेर सडक हस्तान्तरण गरेको छ । विसं २०७० असारमा शिलान्यास गरेपछि सेनाले ८० किमी ट्रयाक खोलेको थियो । सबै सडकखण्डको ट्रयाक खुलेपछि सेनाकै जिम्मामा सडक चौडा पारिएको छ । अब सडकमा नाली र कालोपत्रको काम बाँकी छ । अत्यधिक पहिरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएपछि ट्रयाक खुलेको थियो ।
भोजपुर : एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व अब भने मेटिँदै गएको छ । खासगरी टक्सार बजारमा बसाइँसराइका कारण कलात्मक शैलीमा निर्माण गरिएका घर जीर्ण बनेका छन् भने कतिपय घर भत्किन थालेका छन् । टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दै आएको स्थानीय जानकार बताउँछन् । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक (डोली पैसा) राणा शासनमा प्रचलनमा थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यहाँ भित्र्याएका थिए । टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत छ । उक्त बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्ति बनाइएको स्थानीय ८५ वर्षीय हरि ताम्राकारले बताउनुभयो । विसं १८७२ देखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य पाइन्छ । तत्कालीन सरकारले १८७० सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसहितका पूर्वी पहाडमा खनिज पदार्थ उत्खनन् गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरिएको थियो । अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालीगढले फलाम र तामाका डोली पैसा बनाउने गरेका थिए । विसं २००७ पछि स्थापना गरिएको सरकारी अड्डा भोजपुर बजारमा स्थापना गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको ताम्राकार बताउनुहुन्छ । विगतमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर यहाँ डोली पैसा बनाउने गरिन्थ्यो । टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो । धोद्लेखानीबाट तामा ल्याएर टकसँगै विभिन्न सामग्री निर्माण गरिन्थ्यो । तर त्यो खानी पनि अहिले बन्द भएको छ । दशकौँ अघिसम्म सयौँको सङ्ख्यामा रहेका यहाँका उद्योग अहिले सातवटामा सीमित छन् । विसं १८७२ मा यही बजारबाट तामाको डोली पैसाका नामले प्रख्यात टक छापिने गरेको थियो । अहिले यस्तो ऐतिहासिकस्थल सुनसान छ । लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छाप्ने टक्सार बजार सुनसान छ । बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बूढापाका बताउँछन् । इतिहासअनुसार १६औँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत यो रहेको पाइन्छ । माझकिरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यतिबेला यहाँ थुप्रै माल, अड्डा अदालत पनि खोलिएका थिए । “सम्पदा समय–समयमा मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका छन्”, ताम्राकारले भन्नुभयो, “यहाँका बासिन्दा आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजारको बेहाल भएको छ ।” हुनेखाने वर्ग अन्यत्र गएपछि बजार दूरवस्थामा पुगेको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुनसकेको छैन । टक्सार बजारबाट भोजपुरको सिद्धकालीसम्म गुफाबाट पुग्न सकिने उहाँले बताउनुभयो । ‘मिनी पाटन’ भनेर पनि चिनिने यो बजार भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ । यहाँ नजिकै टक्सार विमानस्थलसमेत छ । “टक्सार बजारका धातु उद्योगलाई ब्युँताएर यसको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीलाई अभिप्रेरित गर्नुपर्ने खाँचो छ”, स्थायीय कुमार श्रेष्ठले भन्नुभयो । यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी छ । यहाँका सामग्री देशभित्रमात्रै होइन, विदेशमा समेत निर्यात हुने गर्छन् । अहिले बजारको मागलाई यहाँका उद्योगले धान्न सकिरहेका छैनन् । “धातुका सामग्री बनाउने जनशक्ति पलायन भएपछि यस्तो अवस्था आएको हो”, उहाँले भन्नुभयो । बसाइँ सरेर गएकाहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका घर मक्किन र भत्किन थालेका छन् । घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरेका छन् । यो बजार सुनसान बन्दा भोजपुरकै चिनारी धमिलो हुँदै गएको श्रेष्ठ बताउनुहुन्छ । “टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक ठाउँ हो”, उहाँले भन्नुभयो । यहाँ कलात्मक शैलीमा निर्माण गरिएका घरसँगै मठ मन्दिर भत्किन थालेका छन् । यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।
कर्णाली ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि आज सुर्खेत आइपुग्नुभएका अध्यक्ष दाहालले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको बताउनुभयो । गठबन्धन दलभित्र कुनै असहमति नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ । तर नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना छैन । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौँ ।” कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । पत्रकार भेटघाटका क्रममा अध्यक्ष दाहालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन–३ बाटै चुनाव लड्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि प्रयास भइरहेको उहाँको भनाइ थियो । निर्वाचनमा एउटै घोषणापत्र ल्याउन पहल भएको तर चुनाव चिह्न भने आ–आफ्नै हुने अध्यक्ष दाहालले बताउनुभयो ।
काठमाडौँ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा आन्तिममा ६८ दल कायम भएका हुन् । आयोगले ती दलको दर्ता नं, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ । सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ । यस्तै नेपाली कांग्रेसको रुख–१५, नेकपा (एमाले)को सूर्य–२८, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको हसियाँ हथौडा–६०औँ क्रममा रहको छ । यस्तै ६८औँ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्न दर्ता भएको छ ।
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो ।

