पाल्पा: तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय विलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो ।प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले तानसेनभित्र ल्याउने खानेपानीको बिलिङ अत्यधिक भएकाले यसलाई कमी गराउनका लागि सोलार प्यानल जडान गरिएको बताउनुभयो । खानेपानी सहज गराउनका लागि संरचना दिगो बनाउने र बिलिङ घटाउने विषयलाई प्राथमिकता दिइने उहाँको भनाइ थियो । तानसेन खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले भुल्केमा हुने विद्युत् गडबढी र कालीगण्डकीको योजना सञ्चालन हुन ढिलाइ हुँदा पनि खानेपानीको अभाव भएको बताउनुभयो । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नागरिकलाई खानेपानी सहज ढङ्गले वितरण गर्ने व्यववस्था मिलाउन तानसेन खानेपानी उपभोक्ता समिति सक्रिय हुनुपर्नेमा जोड दिनुुभयो । नागरिकले सहजरुपमा खानेपानी नपाउने अवस्था अन्त्य गर्नाका साथै विद्युत्को बिल घटाउन पनि वैकल्पिक ऊर्जाले सहयोग पुग्ने उहाँले जानकारी दिनुभयो । प्रदेशका मन्त्री रानाका साथै नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम, बेलायती राजदूतावासका प्रतिनिधिसहितको टोलीले खनेपानीको निरीक्षण गरी सोलार प्यानलको थप सम्भाव्यताबारे छलफल गरेको थियो । नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, ९नेकपा माओवादी० केन्द्रका जिल्ला संयोजक राजेन्द्र विक, नेकपा एकिकृत समाजवादीका प्रतिनिधि तथा पूर्व सांसद यादवबहादुर रायमाझीलगायतले पानीको समस्याबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।जिल्लाको भैरवस्थान, बतासेडाँडा क्याम्पस, चापपानी, बराङ्दी र खानीगाउँ क्षेत्रमासमेत सोलार राख्ने विषयमा अध्ययन भइरहेको छ । यसैगरी बतासेडाँडामा सोलारबाट १०९ किलोवाट बिजुली निकाल्नका लागि अध्ययन भइसकेको बताइएको छ ।
काठमाडौं: प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर–९ का १८ वर्षीय मनिषा घिमिरे रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै उनीहरुको साथबाट तीन सय ८० मिलीग्राम अवैध ब्राउनसुगर बरामद गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार दुई सय ५० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ । आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आइएको थियो । आसन्न निर्वाचनमा करिब एक लाख त्यस्ता मतदाताले मतदान गर्न पाउने आयोगको अनुमान छ । निर्वाचनको मिति घोषणा भएको दिनदेखि मतदानको दिनसम्म १८ वर्ष पूरा हुने व्यक्तिले मतदान गर्न नपाउने व्यवस्था थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । गत वैशाख २९ गतेसम्म ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र एकसय ८३ अन्य गरी एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता १८ वर्ष पूरा भएका आयोगले जनाएको छ । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । सरकारले यही साउन १९ गते आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको थियो । निर्वाचनको मिति घोषणा भएसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली सङ्कलनको काम स्थगन गरेको थियो । आगामी भदौ १२ देखि १९ गतेसम्म निर्वाचन कार्यालयमा पुगी मतदाता नामावली अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ । सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुठा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारको सदस्यको मृत्यु भएमा हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न सकिनेछ । नामावली अद्यावधिक गर्न इमेल, फ्याक्स तथा अनलाइनबाट निवेदन दिन सकिने आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक भएपश्चात् आगामी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
काठमाडौं: गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै रु १६ अर्ब रासायनिक मलमा अनुदान छुट्याएको बताउनुभएको छ । शुद्धोधन गाउँपालिका-५ मा निर्मित शुद्धोधन उद्यानको आज उद्घाटन गर्दै उहाँले कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्याएको स्पष्ट पार्नुभयो । “रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा जति मूल्य छ त्यसैमा किन्ने हो किसानलाई महँगो पर्छ । हामी पनि किसानकै सन्तान भएकाले कृषकले उत्पादनमा अवरोध झेल्न नपरोस् भनेर प्रयत्न गरिहेको छौ”, उहाँले भन्नुभयो । अहिले विभिन्न स्वरुपमा मल आयात भए पनि पर्याप्त नभएको उहाँको भनाइ छ । अहिले विभिन्न देशसँग संवाद गरिराखेकाले छिट्टै समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । “भारतले किनेको जति मूल्यमा हामीले ल्याउनुपर्छ । पछिल्लो समय भारत सरकारले तोकेको मूल्य बढी भएकाले खरिद गर्न सकिएको छैन । मलसम्बन्धी कारखाना खोलौँ भने समय लाग्छ । कारखाना सहज छैन । ठूलो ऊर्जाको आवश्यकता पर्छ”, गृहमन्त्री खाणले भन्नुभयो । अर्को प्रसङ्गमा गृहमन्त्री खाणले नेपाली नागरिक अनागरिक बन्नुपर्ने परिस्थिति सिर्जना नहोस् भन्नका लागि सरकारले नागरिकता विधेयक ल्याएको स्पष्ट पार्नुभयो । नेपाली नागरिक भएर पनि नागरिकको अधिकारबाट बञ्चित भएकाले यसलाई स्वीकृत गर्न बिलम्व गर्न नहुने उहाँको भनाइ छ । शुद्धोधनसहित रुपन्देहीको विकास सबैको चाहना भएको उल्लेख गर्दै उहाँले शुद्धोधनको विकासको प्रतिफल रुपन्देहीले प्राप्त गर्नेगरी काम अघि बढाउनुपर्ने धारणा राख्नुभयो । सामाजिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको दायित्व भएकाले विकास निर्माण अघि बढाउँदा विभिन्न जाति, धर्म र सम्प्रदायका नागरिकको संस्कारअनुसार फरकफरक रहेकाले सोहीअनुसारको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । “उद्यान विकासको अपूर्व आधारशिला हो । विकास भनेर बाटो मात्रै बनाएर हुँदैन, बाटोघाटो, नदीनाला, सिँचाइसँगै पार्कको पनि जरुरी छ”, उहाँले भन्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले शुद्धोधनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेशसभाका सदस्य तुल्सी चौधरी र पुष्पा थरुनीले उद्यान निर्माणमा अवरोध सिर्जना भए पनि सम्पन्न भएपछि पालिकाको पहिचान बनेको बताउनुभयो । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, उपाध्यक्ष शान्तीदेवी ज्ञवाली लगायतले उक्त उद्यानको विकास र सौन्र्दयीकरणका लागि प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । गाउँपलिकाका प्रवक्ता केशवप्रसाद अधिकारीका अनुसार मानपकडीमा निर्माण गरिएको शुद्धोधन उद्यानमा जिराफ, सिंह, बाघ, चितुवा, गैडा, कङ्गारु, उट, डाइनोसरलगायत जनावर र चराका आकृतिका मूर्ति राखिएका छन् । किनारमा पाम ट्री, गौतमबुद्धको मूर्ति र वाटर फाउण्टेनले उद्यानलाई थप आकर्षक बनाएको छ । उद्यानको छेवैमा रहेको सुखली घोलामा बाँध बनाई पानी जम्मा गरिएको छ । उद्यान अवलोकनका लागि आउने आगन्तुकलाई त्यहाँ डुङ्गा शयर गराउने गाउँपालिकाको योजना रहेको छ । शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराइले रु तीन करोडको गुरुयोजना बनाएर उद्यान निर्माण गरिएको जानकारी दिनुभयो ।
पाल्पा: पहाडी जिल्ला पाल्पामा उद्योग तथा व्यवसायमा लगानी गर्ने क्रम पछिल्ला वर्षमा बढिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा उद्योग तथा व्यवसाय विस्तार हुँदै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग सञ्चालन गर्ने युवाको अहिले होडबाजी नै छ । पाल्पा पहाडी जिल्ला भएपनि सदरमुकाम तानसेनमा मात्र नभई पछिल्ला वर्षमा गाउँ–गाउँमा उद्योग खुल्ने क्रम बढिरहेको छ । जिल्लामा हिजोआज उद्योग व्यवसाय फस्टाउनुका साथै बर्सेनी लगानी बढाउने उद्यमीको आकर्षण उत्तिकै छ । वैदेशिक रोजगारबाट फर्केका युवाले आफूले कमाएको धन गाउँमै विभिन्न उद्योग, व्यापार, व्यवसायमा लगानी गर्न थालेका छन् । करिब एक दशक जापानमा वैदेशिक रोजगारको अनुभव बटुल्नुभएका रामपुरका युवा कैलाश डोटेलले बेझाड बजारमा रबिन जनरल स्टोर्स तथा क्यारोल सप्लायर्स सञ्चालन गर्नुभएको छ । लामो समयसम्म विदेशको अनुभव सँगाल्नुभएका डोटेलले गाउँमै बसेर व्यवसाय गर्ने र अन्य युवामा पनि प्रोत्साहन मिलोस् भन्ने मनसाय बोकेर व्यवसाय सुरु गरेको बताउनुहुन्छ । “विदेशमा अर्काको अधिनमा बस्नुपर्छ, सोचेअनुसार काम सबैलाई मिल्दैन, केहीले राम्रै कमाइ पनि गरेकै छन् भने केही रित्तो हात फर्कनुपरेको छ, परिवारको साथमा गाउँमै बसेर व्यवसाय गर्दा धेरै आनन्द छ, व्यापार राम्रै चलेको छ”, उहाँले भन्नुभयो । रामपुरकै अर्का युवा सुदीप गैरेले बेझाड बजारमै पूजा सामग्री पसल सुरु गर्नुभएको छ । उद्योग तथा व्यवसाय फस्टाउँदै गरेको रामपुर बजारमा भोलिको राम्रो सम्भावना देखेर परिवारको सहयोगमा व्यवसाय सञ्चालन गरेको उहाँ बताउनुहुन्छ । आर्थिक वर्ष २०७८/७९ मा उत्पादनमूलक ५३, ऊर्जामूलक ५०, कृषि तथा वनजन्य तीन सय २६, पर्यटन ६१, सेवामूलक ८१, निर्माणतर्फ छ गरी जम्मा पाँच सय २१ उद्योग नयाँ दर्ता भएका छन् । यी उद्योगमा रु एक अर्ब ६५ लाखको पूँजी लगानी र रु १८ लाख ८२ हजार तीन सय २० कुल राजस्व प्राप्त भएको छ । त्यसैगरी वाणिज्यतर्फ तीन सय ७१ फार्म दर्ता भएका छन् । यी फर्ममा रु ५८ करोड ७८ लाख ५० हजार कुल पूँजी लगानी र रु ३३ लाख ७६ हजार दुई सय ७९ कुल राजस्व प्राप्त भएको छ । गत आवमा तीन सय ८५ उद्योग नवीकरण, एक सय ८८ लगतकट्टा, दुई सय ३१ पूँजी वृद्धि, २९ प्रतिलिपि लिएको, सातवटा उद्देश्य थप वा परिवर्तन, पाँचवटा नामसारी तथा ठाउँसारी गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो क्रममा प्रदेश सरकारले जारी गरेको कानुनबमोजिम रु पाँच लाखभन्दा कम पूँजी लगानी भएका उद्योग तथा वाणिज्य फर्म स्थानीय तहबाट नियमन गर्ने व्यवस्था भएकाले यस कार्यालयमा लगतकट्टा गर्ने सङ्ख्या वृद्धि भएको हो । “पाल्पा जिल्लामा उद्योग तथा वाणिज्य फर्म स्थापना गरी व्यवसाय गर्नेको आकर्षण बढ्दो छ, यहाँ उद्योग तथा वाणिज्य फर्म विस्तार हुँदै जाँदा धेरैले रोजगार गर्ने राम्रो अवसर पाएका छन्”, उहाँले भन्नुभयो । आव २०७७/७८ मा छ सय १९ उद्योग र तीन सय ८३ वाणिज्य फर्म दर्ता भएको पाइएको छ । दर्ता भएका उद्योगमध्ये अधिकांश निजी उद्योग छन् भने केही साझेदारी र प्रालि छन् । उत्पादनमूलक ५१, कृषि तथा वनजन्य चार सय २८, पर्यटन र सेवामूलक ७०/७० वटा दर्ता भएको पाइएको छ । महिलाका नाममा उद्योग दर्ता हुने क्रम बढ्दो छ । दर्ता भएका उद्योगमध्ये २०७८/७९ मा तीन सय ४२ र २०७७/७८ मा दुई सय ९८ छन् । प्रदेश सरकारबाट प्राइभेट फर्म ऐन २०७६ र साझेदारी ऐन २०७६ ले महिला, दलित, अपाङ्गता भएका नागरिकलाई उद्योगमा ५० प्रतिशत रकम छुट दिएकाले उद्योगी बर्सेनी बढ्दै गएका हुन् । सधैँ अर्काको परनिर्भरतामा रहेका यहाँका महिला हिजोआज घरेलु उद्योग सञ्चालन गरेर आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएका छन् । वाणिज्यतर्फ दर्ता भएका फर्ममा अधिकांश किराना पसल रहेको पाइएको छ । आव २०७७/७८ मा दर्ता भएका उद्योगमा रु एक अर्ब २१ करोड ४३ लाख लगानी भएको छ भने वाणिज्य फार्मको रु ५४ करोड ८१ लाख लगानी परेको छ । यसैगरी कार्यालयमा आव २०७७/७८ मा उद्योग चार सय ६० र वाणिज्य छ सय ६१ गरी जम्मा एक हजार एक सय २१ फर्म नवीकरण गरिएको छ । यहाँ एक सय दुई उद्योग र एक सय ४३ वाणिज्य फर्म गरी जम्मा दुई सय ४५ लागतकट्टा भएका छन् । पूँजी वृद्धि, कारोबार परिवर्तन, नामसारी, ठाउँसारीलगायतका एक हजार एक सय एक काम भएका छन् । आव २०७६/७७ मा जिल्लामा चार सय सात नयाँ उद्योग थपिएका छन् । जसमा लघुउद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम तीन सय ९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वनजन्यमूलक एक सय ५५, पर्यटनमूलक एक सय ४८, सेवामूलक ६२ उद्योग दर्ता भएका छन् । महिलाका नाममा एक सय ८१ र पुरुषको नाममा दुई सय ४३ उद्योग दर्ता भएको पाइएको छ । आव २०७५/७६ मा उत्पादनमूलक ५२, कृषि तथा वनजन्यमूलक एक सय ११, पर्यटनमूलक ९७ र सेवामूलक एक सय १० गरी जम्मा तीन सय ७० उद्योग थपिएका थिए । यहाँ दर्ता भएका उद्योगमा साझेदारीका उद्योगमा रु ५० लाख, प्रालितर्फका रु एक करोड र कृषि उद्योग रु १५ लाखदेखि २० लाखसम्मका दर्ता भएको पाइएको छ । पाल्पामा कार्यालय स्थापनादेखि हालसम्म उत्पादनमूलक छ सय ११, कृषि तथा वनजन्य एक हजार तीन सय चार, पर्यटनमूलक आठ सय ४३, सेवातर्फ एक हजार ६९ गरी जम्मा तीन हजार आठ सय २७ उद्योग तथा व्यवसाय दर्ता भई सञ्चालनमा छन् । कार्यालयले लघु, घरेलु तथा साना उद्योगमात्र दर्ता गर्न पाउने अधिकार रहेको छ । रु १० करोडसम्म पूँजी भएका उद्योगलाई साना उद्योग, रु १० करोडदेखि २५ करोडसम्म पूँजी भएका उद्योगलाई मझौला उद्योग र रु २५ करोडदेखि माथिकालाई ठूला उद्योगका रूपमा वर्गीकरण गरिएको छ । रु १० करोडमाथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ । साना लगानी गरेरै भए पनि उद्यमी बन्नेको जिल्लामा आकर्षण छ । उद्योग दर्ता गरेपछि पाँच वर्षसम्म नवीकरण गर्नु नपर्ने र त्यसपछि दुई–दुई वर्षको अवधिमा नवीकरण गर्ने गरिन्थ्यो भने हाल तीन–तीन वर्षमा उद्योग दर्ता गर्ने व्यवस्था छ ।
पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को निर्वाचनमा तीन व्यवसायीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यही साउन ३० गते नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा पर्यटन व्यवसायीहरु नीलहरि बास्तोला, कमल सापकोटा र बोधराज भण्डारीले प्यानलसहित उम्मेदवारी मनोनयन गराउनुभएको छ । अध्यक्षका प्रत्याशीमध्ये बास्तोला र सापकोटाले व्यवसायीसँग छलफल र चुनावी प्रचार–प्रसारलाई तीव्रता दिनुभएको छ । स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन गराउनुभएका भण्डारी पनि चुनावी एजेन्डासहित व्यवसायीमाझ पुगिरहनुभएको छ । तीनैजना उम्मेदवारले टानलाई व्यवसायमैत्री संस्थाका रुपमा स्थापित गराउने बताएका छन् । अध्यक्षका प्रत्याशी बास्तोलाले व्यवसायीले खोजेजस्तो टान बनाउने जानकारी दिनुभयो । आफ्नै समूहको उम्मेदवार परिचयात्मक कार्यक्रममा उहाँले टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेको सन्दर्भमा यसलाई वास्तविक व्यवसायीको संस्थाका रुपमा स्थापित गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । बास्तोलाले आफू नेतृत्वमा पुगेको खण्डमा पर्वतीय पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्ने बताउनुभयो । दुई वर्षको कार्यकालमा टानको कार्यसमितिमा बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई टे«किङ व्यवसायीहरुको हितमा लगाउन चाहेको उहाँको भनाइ थियो । बास्तोलाले अहिलेसम्म व्यवसायीहरुले टान खोज्नुपर्ने अवस्था अन्त्य गर्दै टानले नै व्यवसायी खोज्ने वातावरण बनाउनुपर्ने र व्यवसायीहरुको सहजीकरणका लागि कर्मचारी सहितको सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिने योजना रहेको जानकारी दिनुभयो । अध्यक्षका अर्का प्रत्याशी सापकोटाले टानलाई सुदृढ तुल्याउँदै पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डसँगको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्ने योजना रहेको बताउनुभयो । उहाँले बोर्डलगायत तीनवटै तहका सरकारसँग सहकार्य गरेर पर्वतीय पर्यटनको विकासमा जुट्ने बताउनुभयो ।सापकोटाले एजेन्सीमार्फत पदयात्रामा जानुपर्ने अनिवार्य व्यवस्था मिलाउनाका साथै क्षतिग्रस्त पदयात्रा पुनःनिर्माण तथा नयाँ पदमार्गको पहिचान र प्रवद्र्धनमा जुट्ने विश्वास व्यक्त गर्नुभयो । स्वतन्त्र समूहबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका भण्डारीले सामाजिक सञ्जालमार्फत १५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेर चुनावी माहोल आफ्नो पक्षमा बनाउन लागिपर्नुभएको छ । उहाँले टानलाई राजनीतिकरणबाट मुक्त बनाएर पूर्ण व्यावसायिक बनाउने तथा टान सचिवालयलाई व्यवस्थित बनाएर सदस्य व्यवसायीको हित अनुकूल काम गर्ने योजना सुनाउनुभयो । यही साउन ३० गते हुने टानको निर्वाचनमा अध्यक्षसहित कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । एक हजार आठ सय व्यवसायी आबद्ध टानमा निर्वाचनका लागि एक हजार दुई सय ५० मतदाता रहेका छन् । निर्वाचनमा नयाँ समीकरण टान निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी बास्तोलाको नेतृत्वमा नयाँ समीकरण बनेको छ । नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायी बास्तोलाको नेतृत्वमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी समर्थित पर्यटन व्यवसायीले सहकार्य गरेका छन् । अध्यक्षसहित पदाधिकारी पदमा बाँडफाँड गरिएको छ । टानका पूर्वअध्यक्ष दीपक महतले टानको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा तीनवटै सङ्गठन सहकार्यका साथ चुनावी प्रचारमा जुटिरहेको बताउनुभयो । उहाँले टान नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गरिए पनि सफल नभएकाले प्रतिस्पर्धाबाटै नेतृत्व चयन गरिने जानकारी दिनुभयो । सापकोटालाई भने नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी सङ्गठनको साथ रहेको छ । उम्मेदवारका प्यानल टान सचिवालयका अनुसार टानको अध्यक्ष पदमा नीलहरि बास्तोला र कमल सापकोटाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएको टान सचिवालयले जनाएको छ । बोधराज भण्डारी पक्ष समूहले अध्यक्ष र उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको छ । बास्तोला प्यानलबाट अध्यक्षमा बास्तोला वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङदोर्शी शेर्पा रहनुभएको छ । यस्तै सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराउनुभएको छ । त्यस्तै सापकोटा समूहको अध्यक्षमा सापकोटा, वरिष्ठ उपाध्यक्षमा सरिता लामा, प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), कोषाध्यक्षमा प्रमिला देवकोटा पाण्डे, सहकोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पा, सचिवमा हरि कडरिया रहनुभएको छ ।त्यस्तै सदस्यहरुमा दोर्जे तामाङ, विनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल, कृष्णबहादुर परियार, रामचन्द्र लामिछाने र शरण अधिकारी रहनुभएको छ । अध्यक्षका अर्का प्रत्याशी भण्डारीको स्वतन्त्र समूहमा वरिष्ठ उपाध्यक्षमा गणेश न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
रूकुम पूर्व: रूकुम पूर्वमामा जीप दुर्घटना हुदाँ जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सहित चारजना घाइते भएका छन्। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं.११ सेरो मोडमा बिहान ११ बज लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको हो । जीप दुर्घटना हुँदा प्रहरीका डिएसपी प्रकाश डाँगीसहित चार जना घाइते भएका हुन्। घाइतेहरुको अहिले हेलिकप्टर मार्फत उद्दार गरिसकिएको छ ।
बाँके: आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा छ हजार बढी नयाँ मतदाता थपिने भएका छन् ।गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा छ हजार आठ सय १७ जनाले फारम भरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन लाख २९ हजार चार सय ७३ जनाको मतदाता नामवली आयोगले सार्वजनिक गरेको थियो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि बाँकेमा छ हजार आठ सय १७ जनाले मतदाता नामावलीका लागि आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार गत असार १ गतेदेखि नयाँ मतदाता नामावली आवेदन दिनेका लागि फारम भर्न खुला गरिएको थियो । असारमा चार हजार चार सय ४३ र साउनको १९ गतेसम्म दुई हजार तीन सय ७४ ले मतदाता नामावलीका लागि आवेदन दिएका थिए । बाँकेमा इलाका प्रशासन कार्यालय कोहलपुर, जिल्ला निर्वाचन कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली आवेदन सङ्कलन गरिएको थियो । प्राप्त भएका आवेदनलाई सङ्कलन गरेर केन्द्रमा पठाउने तयारी भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले बताउनुभयो । आवेदन दिएका सबैले अहिलेनै मतदाता नामावली पाउने निश्चित हुँदैन। कतिपयले १६ वर्षमा नागरिकता पाउनेबित्तिकै मतदाता नामावलीको फारम भरेका हुन्छन् । उनीहरूले १८ वर्ष पुगेपछि मात्र मतदान गर्ने अधिकार प्राप्त गर्ने गर्दछन् । जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कार्यालयले राखेको मतदाता नामावली सङ्कलन केन्द्रमा नयाँ नागरिकता बनाउन आएका अधिकांशले आवेदन दिने गरेका थिए । निवेदन दिएकाको आवश्यक विवरण परीक्षण गरेर केन्द्रले मतदाता नामावलीको अन्तिम टुङ्गो लगाउने निर्वाचन कार्यालयका सूचना अधिकारी पन्तले बताउनुभयो ।