लगानीकर्तालाई सबै प्रकारको सुविधा दिन सरकार तयार छ: प्रधानमन्त्री

काठमाडाैं | भदौ २९, २०७९

लगानीकर्तालाई सबै प्रकारको सुविधा दिन सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले लगानीका क्षेत्रको विस्तार गर्दै सार्थक वातावरण सुनिश्चित गर्न लागिपरेको बताउनुभएको छ ।

 

उहाँले लगानीकर्तालाई सबै प्रकारको सुविधा उपलब्ध गराउँदै विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न आवश्यक पर्ने दायित्वप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

 

लगानी बोर्डले आज यहाँ आयोजना गरेको ‘दिगो पूर्वाधार लगानी फोरम–२०२२’लाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “दिगो विकास र भविष्य निर्माण गर्न हाम्रो साझेदारी र सहकार्यलाई अझ बलियो बनाऔँ । हामीसँग दिगो विकास लक्ष्यको कार्यान्वयनमा ध्यान केन्द्रित गर्ने अवसर छ ।”

 

प्रधानमन्त्री देउवाले सीमित स्रोत र साधनका कारण अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने पूर्वाधारलाई रूपान्तरण र आधुनिकीकरण गर्न प्रयोग गर्नुपर्ने वाध्यता सुनाउनुभयो । सरकारले पूर्वाधारको विकासलाई केन्द्रमा राखेर १५औँ आवधिक योजना कार्यान्वयन गर्दै आएको जानकारी दिँदै उहाँले सन् २०४५ सम्ममा शुन्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न अन्तरराष्ट्रिय स्तरमा प्रतिवद्धता व्यक्त गरिएको र त्यो पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

 

दिगो विकास लक्ष्य हासिल गर्न पूर्वनिर्धारित १९ अर्ब अमेरिकी डलर आवश्यक पर्ने भएपनि महामारी र भूराजनीतिक सङ्कटले थप आवश्यकताको खोजी गरेको उहाँको भनाइ छ ।

 

सरकारले आन्तरिकरुपमा निजी क्षेत्र र विदेशी लगानीकर्ता दुवैलाई पूर्वाधार क्षेत्रमा लगानीका लागि आमन्त्रण गरेको र त्यसका लागि सरकारको तर्फबाट गर्नुपर्ने सबै प्रकारका सहयोग उपलब्ध गराउन तत्पर रहेको उहाँले बताउनुभयो ।

 

उहाँले सार्वजनिक निजी साझेदारीमार्फत अवसरको थप खोजी र सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । लगानी बोेर्डले वैदेशिक लगानी भित्र्याउनका लागि निर्णायक भूमिका खेलेको जानकारी दिनुहुँदै उहाँले ३३ आयोजनाका लागि करिब नौ खर्ब बराबरको लगानी स्वीकृत गरिसकेको बताउनुभयो । तीमध्ये धेरै आयोजना हरित र स्वच्छ ऊर्जासँग सम्बन्धित छन् ।

 

लगानीकर्तालाई द्रुत गतिका सेवा प्रदान गरी लगानीको अभिवृद्धि गर्दै उनीहरुको विश्वासलाई थप विस्तार गर्न सरकार प्रयासरत रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो । उहाँले दिगो पूर्वाधार विकासको लागि लगानी सुरक्षित गर्न व्यावहारिक उपायको अन्वेषण र साझेदारी गर्ने प्रयासका रुपमा आफूले लिएको बताउनुभयो ।

 

सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाको सङ्ग्रहको सूची तयार गर्ने उद्देश्यले लगानी बोर्डले तयार पारेको परियोजना बैङ्क निर्देशिका बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाबाट सार्वजनिक गरिएको छ ।

 

लगानीकर्ता सहजीकरणका लागि तयार पारिएको एकल बिन्दु सेवा केन्द्र डिजिटल सिष्टमको पनि उहाँले शुभारम्भ गर्नुभयो । उक्त डिजिटल प्लेटफर्ममार्फत् लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्नेछन् । लगानी सहजीकरणसँग सम्बन्धित सबै निकाय आवद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान गर्नेछन् ।

 

यस्तै प्रधानमन्त्री देउवाले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि बोर्डद्वारा तयार पारिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभयो । सो अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मलकारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।

 

लगानी बोर्डको कार्यालयले लगानी आकर्षण र सहजीकरणका लागि परिपक्व भूमिका निर्वाह गरेको भन्दै सो अवसरमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउनुहुँदै यस उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारलाई आह्वान गर्नुभयो ।

 

लगानी बोर्डको कार्यालयको लगानी प्रवद्र्धनको मुख्य उद्देश्यसहित स्वदेश र विदेशमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रम अगाडि बढाइएको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिनुभयो । उहाँले निजी लगानीकर्तातलाई विश्वसनीय, लगानी योग्य, दिगोपनसहितका परियोजना बैङ्कका लागि निर्देशिका तयार भएको बताउनुभयो ।

 

परियोजनाको पूर्वनिर्धारित संरचना, प्रणालीगत र पारदर्शी प्रक्रिया अपनाएर परियोजनाको पहिचान, छनौट मूल्याङ्कन तथा प्राथमिकता विकास गर्ने उद्देश्यसहित निर्देशिका तयार पारिएको बोर्डले जनाएको छ । सोही निर्देशिकाको आधारमा परियोजना तयार हुनेछन् । ती परियोजनाको बजारीकरण गरी निजी लगानीकर्ता आकर्षण गर्ने लक्ष्य राखिएको छ ।

 

सार्वजनिक निजी साझेदारी तथा लगानी ऐनले बोर्डलाई कार्यान्वयन गर्ने निकायको रूपमा विकास गरेको छ । १५औँ पञ्चबर्षीय योजनाले ५५्.६ प्रतिशत लगानी निजी क्षेत्रबाट आकर्षण गर्ने लक्ष्य राखिएको छ । तर, परियोजना छनौट नहुँदा बोर्डले आवश्यक सहजीकरण गर्न सकेको छैन । कार्यक्रममा सतलज विद्युत् निगम, हुवासिन नारायणी सिमेन्ट, माथिल्लो त्रिशुली एक परियोजना सम्बद्ध अधिकारीले नेपालमा लगानीमैत्री वातावरण तयार भएको भन्दै थप लगानीका लागि आफूहरु तयार रहेको बताएका थिए । 

गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ ।        गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले पूर्वराजावादी या अरु कु...

थप पढ्नुहोस्

पोखरा:   कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् ।   उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् ।    देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आ...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा अनावश्यक नबोल्न, नलेख्न आग्रह गरेको छ।   बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्ज...

थप पढ्नुहोस्