पोखरा: शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले लगातार हुने विद्युत अवरुद्ध अब चाडै नै समाधान हुने बताएका छन् । मन्त्री श्रेष्ठले शुक्रबार देखि पोखरामा सुरु भएको वृत्ति परामर्श तथा रोजगार मेलामा विद्युत अवरुद्ध भएपछि रोजगार मेलामा दक्ष कर्मचारी आए सो समस्या हटेर जाने बताएका हुन् । विद्युत पटकपटक अवरुद्ध भएर मन्तव्य नै रोक्नुपर्नु पर्ने अवस्था आएपछि मन्त्री श्रेष्ठले भने, ‘अहिले वर्षाको समय भएका कारण विद्युत आउने जाने भएको छ । र यसको छिटै अन्त्य हुनेछ । मन्त्री श्रेष्ठका अनुसार आगामी ८ गतेसम्म सञ्चालन हुने मेलामा मेला अवधिभर सहभागीहरुले रोजगारीका सम्भावित क्षेत्रहरुका बारेमा जानकारी हासिल गर्नेछन् । ‘प्रविधिक शिक्षा र व्यवसायिक सीप हाँसिल गर्न चाहने विद्यार्थी र तिनका अभिभावकका लागि प्रदेशमा प्राविधिक शिक्षा अध्ययन गर्न सकिने र अध्ययनका लागि अवलम्बन गर्नुपर्ने प्रक्रियाका सम्वन्धमा जानकारी र स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउन सहजीकरण गर्नेछौं ।’ मन्त्री श्रेष्ठले भने । प्रदेशमा बेरोजगार र सीप क्षमताका भएका व्यक्तिहरुको अभिलेख नभएको भन्दै मन्त्री श्रेष्ठले भने, ‘प्रदेशले आगामी वर्षहरुको नीति तथा कार्यक्रममा कुनकुन योजना समावेश गर्ने भन्नेबारे यस मेलाले टेवा पुर्याउनेछ । सार्थ यस मेलाले तथ्याङ्क राख्न थप सघाउ पुर्याउछ ।’ मेलामा ३५ वटा स्थल निर्माण गरिएको छ । स्थलमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विषयमा परामर्श लिनेछन् । तीन दिन सम्म सञ्चालन हुने मेलामा १० हजारले अवलोकन गर्ने अनुमान रहेपनि यो भन्दा धेरैले मेलाको अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ । सो मेलालाई स्वीस सरकारको द्वीपक्षिय सहयोग, नेपाल व्यवसायिक योग्यता परियोजनाको प्राविधिक सहयोग, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान (जिटिइभिटीए), प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश, रोजगारदाताहरु र राइट फर चिल्ड्रेनको समन्वयमा कार्यक्रम आयोजना भएको हो । जागिर खोज्ने र कर्मचारी रोज्ने ‘एप’ सामाजिक विकास मन्त्रालयले ‘तालिम तथा रोजगार व्यवस्थापन सुचना प्रणाली’ (टिइएमआइए) नामक एप्लिकेसनबाट जागिर खोज्न र कर्मचारी रोज्न सक्ने बताएको छ । उक्त एपमा ४ वटा विद्याका व्यक्तिहरुले आफ्नो बायोडाटा भर्नसक्ने छन् ।सो एपमा सीपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सीप परिक्षण गर्न चाहनेहरुको लागि छुट्टाछुट्टै अनलाइन फर्मको व्यवस्था गरिएको छ । यस एफले जागिर खोज्ने र रोजगारदाताले दक्ष कर्मचारी रोज्ने दरिलो माध्यम हुने अपेक्षा गरिएको छ ।
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छ । मन्त्रालयको नीतिगत छलफल हुने समितिमा मेयर आचार्य देशभरका ७५३ वटै स्थानीय तहको तर्फबाट सदस्य तोकिएका हुन् । संघीय पर्यटन मन्त्रीको अध्यक्षता रहने समितिमा सात वटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । पर्यटन मन्त्रालयका सहसचिव यसको सदस्य सचिवको रुपमा रहन्छन । पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयरीमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पोखराका मेयर आचार्यलाई विषयगत समिति सदस्य तोक्नुले पर्यटकीय सहर पोखरालाई महत्व दिएको मानिएको छ । मेयर आचार्यले देशभरका स्थानीय तह मध्येबाट पोखरा महानगरको मेयरलाई नियुक्त गरिनुले पर्यटकीय सहर पोखरा र पोखराबासीको अपनत्व लिएकोे प्रतिक्रिया दिएका छन् । उनले पर्यटन मन्त्रालय र मन्त्री प्रति आभार प्रकट गर्दै पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने विश्वास समेत प्रकट गरेका छन् । ‘हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि निर्णय गरेर ताकेता गरिरहेका छौं । मन्त्री ज्युले यसको प्रक्रिया आगाडि बढाएको र क्याविनेटमा लैजाने पनि जानकारी दिइसक्नुभएको छ । मन्त्रालयको विषयगत समितिमा पनि देशभरका स्थानीय तह मध्येवाट पोखरालाई प्राथमिकता दिनुले यहाँको पर्यटकीय महत्व उहाँले पक्कै बुझ्नुभएको छ भन्ने लाग्छ । यसका लागि म मन्त्रालय र मन्त्री ज्युप्रति आभार प्रकट गर्छु । पक्कैपनि पोखरालाई मन्त्रालयकै इनिसियसनमा छिट्टै पर्यकटकीय राजधानी घोषणा गराउनुहुनेछ भन्नेमा पनि विश्वस्त छु’ उनले भने ।
हेटौँडा: नेपाल प्रेस युनियनको ९औं राष्ट्रिय महाधिवेशन हेटौंडमा सुरू भएको छ । हेटौँडास्थित रोयल पार्टी प्यालेसमा सुरू भएको महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । महाधिवेशनको जारी उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेता पुगेका छन् । उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा कार्यक्रमका अतिथिको रूपमा सहभागी भएका हुन् । नेपाली कांग्रेसनिकट पत्रकारहरूको संस्था प्रेस युनियनको यो महाधिवेशनमार्फत करिब ८ वर्षपछि नयाँ नेतृत्व चुनिन लागिएको हो । प्रेस युनियनको महाधिवेशनमा संस्थापन र इतर पक्षबाट प्यानल नै बनाएर उम्मेदवारहरू मैदानमा उत्रिएका छन् । महाधिवेशनमा देशभरबाट सहभागी १६३० प्रतिनिधिले आगामी तीन वर्षका लागि युनियनको नयाँ नेतृत्व चयन गर्नेछन्
काठमाडौँ: श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् ।
भोजपुर: भोजपुर नगरपालिका–१२ छचौतारामा ट्र्याक्टरले किच्दा बालकको ज्यान गएको छ । बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो । ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुुसन्धान थालेको उहाँले बताउनुभयो । बालकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएका थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १६५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
काठमाडौँ: पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नंको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु२ख ३५०२ नंको माइक्रो विङ्गर एकापसमा ठक्कर खाँदा घाइते भएका विङ्गरमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३५÷३६ वर्षका एक पुरुषको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी दुवै सवारी साधनका गरी अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये विङ्गर चालक रुपन्देहीको बुटवल नगरपालिका–२ का २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ: देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आङ्शिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार पनि सोही मौसम कायम रहने भएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । रातको समयमा देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आङ्शिकदेखि सामान्य बदली भई पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
काभ्रेपलाञ्चोक: यहाँको ५५ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा यहाँका ४० स्थानमा गरेको खानेपानी परीक्षणबाट ५५ प्रतिशत खानेपानी दूषित भएको प्रमाणित भएको जनाएको हो । कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाललगायत सबै स्थानीय तहको खानेपानी परीक्षणका क्रममा पानीजन्य रोगको जोखिम पुष्टि भएको जनाइएको छ । परीक्षण गरिएका खानेपानीमध्ये ५५ प्रतिशत खानेपानीमा दिसाजन्य किटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईँले बताउनुभयो । उहाँका अनुसार परीक्षणबाट खानेपानी संस्थानद्वारा वितरण भइरहेको तथा स्थानीय खानेपानी आयोजनाद्वारा वितरित पानीमा दिसाजन्य किटाणु भेटिएको हो । “जिल्लाका ४० स्थानमा गरिएको परीक्षणमा ५५ प्रतिशत खानेपानी दूषित पाइएको छ, खानेपानीमा कोलिफर्म शून्य हुनुपर्ने थियो”, स्वास्थ्य प्रमुख सेढाईँले भन्नुभयो । अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीका स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको जनाइएको छ । कतिपय स्थानमा वितरित जारको खानेपानीमा खराबी देखिएको सेढाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “जारमा खानेपानी बिक्री गर्ने कम्पनीका तीन स्थान मुहान, रिजर्भर र धाराको पानी परीक्षण गर्दा राम्रो देखियो, यसबाट जारमा पानी कतै भरेर बिक्री गरेको हुनसक्छ, हामी त्यसबारे थप अनुसन्धान गर्दैछौँ ।” खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ । “हामी अझै शङ्कास्पद क्षेत्रको खानेपानी परीक्षणकै क्रममा छौँ, त्यसैले पानी उमालेर, फिल्टर गरेर वा तोकिएको मात्रामा क्लोरिन झोल हालेर मात्रै पानी पिउनुपर्छ”, सेढाईँले भन्नुभयो । दुई सातादेखि नै जिल्ला स्वास्थ्य कार्यालय, नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पताल तथा नगर र गाउँपालिकाको समन्वयमा स्थानीयस्तरका खानेपानी परीक्षण, औषधि व्यवस्थापनकार्य तथा खानेपानी शुद्ध बनाउनेबारे चेतनामूलक कार्यक्रम भइरहेको जनाइएको छ । कार्यालयले जोखिममा द्रूत प्रतिकार्य टोली तयारी अवस्थामा राखेको प्रमुख सेढाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्भावित हैजाको महामारी रोमथामको प्रयास गरिरहेका छौँ ।” कार्यालयले पातलो चौलानीको पानीजस्तो पखाला लाग्ने, खान–पिउन नसकी झन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार वान्ता भएमा, बालबालिका ज्यादै तिर्खाएमा, उच्च मात्रामा ज्वरो आएमा, धेरैपटक पातलो दिसा गरेमा तुरुन्तै स्वास्थ्य संस्थामा उपचारार्थ जान तथा लैजान अपिलसमेत गरेको छ । दूषित पानीका कारण हैजा सबै उमेर समूहलाई हुने भए पनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो । साथै खाना बनाउनुअघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन पनि आग्रह गरिएको छ । यस्तै खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत अनुरोध गरिएको छ । यसैबीच काभ्रेपलाञ्चोकमा तीन वर्षपछि देखिएको लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण पाँच स्थानमा देखिएको छ । यसअघि जिल्लाका तीन स्थानमा डेङ्गु सङ्क्रमण देखिएको थियो । तीन हप्ताअघि पाँचखालमा देखिएको डेङ्गु रोगको सङ्क्रमण हाल धुलिखेल र पनौतीलगायतका पाँच क्षेत्रमा देखिएको स्वास्थ्य प्रमुख सेढाईँले बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक अनुसन्धानबाट डेङ्गु रोगको सङ्क्रमण जिल्लामा केही वर्ष रहनसक्ने देखिएकाले विशेष सतर्कता अपनाउनु पर्नेछ । “तीन स्थानमा देखिएको डेङ्गु सङ्क्रमण हाल पाँच स्थानमा देखिसक्यो, अब जिल्लामा केही वर्ष रहनसक्ने देखिएकाले हाम्रो र्यापिड टिम डेङ्गु स्रोतको सर्च एण्ड डिस्ट्रोयमै लागेको छ”, सेढाईँले भन्नुभयो । काभ्रेपलाञ्चोकमा यसअघि विसं २०७६ भदौ दोस्रो साता छ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । थोरै जमेको पानीमा समेत डेङ्गु रोगको सङ्क्रमण फैलाउने लामखुट्टे रहने भएकाले घर, कार्यालय तथा अन्य सङ्घसंस्था, संरचनामा पानी जम्न नदिनु नै यसबाट बच्ने उपाय भएको बताइएको छ । लामो समयपछि जिल्लामा डेङ्गु रोगको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचार–प्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको छ । जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेङ्गुविरुद्धको किटसहितको टोलीसमेत परिचालन गरिने योजना बनाइएको छ । लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्ने गरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नाका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथवा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ ।