क्रिकेटर लामिछानेलाई नेपाल ल्याउन इन्टरपोलको सहयोग

काठमाडाैं | असोज २, २०७९

क्रिकेटर लामिछानेलाई नेपाल ल्याउन इन्टरपोलको सहयोग

 ​काठमाडौं  :  नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ।

 

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको हो।

 

उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन भइसक्यो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो।

 


तर लामिछाने अझै पक्राउ परेका छैनन्। उनी प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्।

 

यसो हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको एक प्रहरी अधिकारीले बताए।

 

‘उनी अहिलेसम्म सम्पर्कमा आएनन्, इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया सुरू भइसक्यो,’ ती अधिकारीले भने।

 


प्रहरीले सन्दीप नेपाल नफर्किए औपचारिक वा अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताएको थियो।

 

अहिले उनी कुन देशमा छन् भन्ने खुलेको छैन। यसअघि उनी दुबईमा हुनसक्ने भन्दै प्रहरीले अनुमान पनि गरेको थियो। तर उक्त कुरा पुष्टि हुन सकेको छैन।

 

इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रियामा जाँदा सुरूमा कुन प्रकृतिको अपराध हो भन्ने छुट्याइने प्रहरीका निमित्त केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।

 

इन्टरपोलले रेड, ब्लु, एल्लो, ब्ल्याक, पर्पललगायत रंगअनुसार अपराधको वर्गीकरण गरेको छ। बलात्कार, हत्याजस्तो जघन्य अपराधको मुद्दामा इन्टरपोलबाट रेड कर्नर जारी गरिन्छ।

 

‘कस्तो खालको अपराध र परिस्थिति हो त्यसअनुसार नोटिस जारी हुन्छ। मृत्यु भइसकेको मान्छे खोज्न परे ब्ल्याक कर्नर, बिस्फोट गराएको मुद्दाका मान्छे पक्राउ गर्न परे पर्पल, बलात्कारजस्तो गम्भीर प्रकृतिको अपराधमा रेड कर्नर नोटिस जारी हुन्छ,’ उनले भने, ‘नोटिस जारी गर्न पनि एकैचोटी हुँदैन। कार्यविधि, कानुनअनुसार अघि बढ्ने हो।’

 

यसबारेमा अदालतको पनि आदेश चाहिने उनले बताए। अनुसन्धान गर्दै जाँदा अनुसन्धान अधिकृतको आवश्यकता भएमा अदालतको आदेशपछि इन्टरपोलबाट पक्राउ गर्न सकिने उनको भनाइ छ। फरार भएको यति नै दिनमा पक्राउ गर्नुपर्ने भन्ने नभएको उनले बताए।

 

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो। 

 

भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

 

उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। लामिछानेविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ। यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा पनि राखेको छ।

 

केही समयअघि नै लामिछानेले नेपाल आउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको थियो। तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द गरेका थिए। 

 

लामो समयसम्म विदेशमा रहँदा उनी पीडितको सम्पर्कमा जाने हुन् कि भन्ने प्रश्न पनि उठेको छ। तर पीडित प्रहरीकै संरक्षणमा भएको प्रहरी अधिकृतले बताएका छन्।

 

उनीविरूद्ध जाहेरी परेपछि क्यानले नै उनलाई सम्पर्क गरेको थियो। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्‍लसँगको कुराकानीमा सन्दीपले आफू निर्दोष रहेको र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

 

त्यसको भोलिपल्ट गत शुक्रबार सन्दीपले सामाजिक सञ्जालमार्फत् घटनाको विषयमा बोलेका थिए। उनले आफू निर्दोष रहेको र आफूविरूद्ध परेको उजुरीको सामना गर्न नेपाल आउने बताएका थिए।

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ ।  नेत्रविक्रम चन्दको  नेतृत्वमा ...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ ।  अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सक...

थप पढ्नुहोस्

कञ्चनपुर:    पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५...

थप पढ्नुहोस्