दसैँ सुरु हुँदा मर्मत भइसकेनन् सडक
काठमाडाैं | असोज १२, २०७९

काठमाडौं । दसैँका लागि दैनिक ठूलो सङ्ख्यामा नागरिक सडक यातायातमार्फत आवतजावत गरिरहँदा देशभरका धेरै सडक मर्मत हुन सकेको छैन ।
वर्षामा बाढी र पहिराले अवरुद्ध सडक पूर्णरुपमा खुलिसकेका छैनन् । वर्षाले खाल्डाखुल्डी भएका ठाउँमा टाल्ने काम अझै बाँकी छ । बर्सेनि सडकमा बढी खाल्डाखुल्डी भदौ र असोजमा देखिन्छ । असोजको दोस्रो सातासम्मको वर्षा तथा चाँडो दसैँ परेकाले सडकको अवस्था अपेक्षा अनुसार मर्मत भइनसकेको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताउनुभयो ।
दसैँ अगावै सबैतिरको सडकमा खाल्डा टालिसक्ने योजना भए पनि त्यसअनुसार काम हुन नसकिरहेको उहाँले बताउनुभयो । विभागले अनुकूल स्थानमा सडक मर्मत गरिरहेको छ । उहाँले भन्नुभयो, “पानी नपरेको र काम गर्न सकिने ठाउँमा खाल्डारहित बनाइएको छ ।”
दसैँका लागि लक्षित गरेर भदौ अन्तिम साताबाट मर्मत सुरु गरिएको विभागले जनाएको छ । मिलेको र सुकेको ठाउँमा खाल्डा टाल्ने काम भइरहेको छ । हाल महेन्द्र राजमार्ग, मुग्लिन–पोखरालगायतका सडकमा निर्माण भइरहेको छ ।
जहाँ नियमित पानी परिरहेको छ त्यहाँ काम गर्न नसकेकाले त्यहाँ खाल्डा देखिएको छ । सडकमा बढी समस्या नारायणगढ–बुटवल खण्डमा देखिएको छ । निरन्तर वर्षा र सवारीसाधन बढी भएकाले काम गर्न सजिलो छैन । पहिरो गएका ठाउँमा समेत काम गर्न सकिएको छैन । पानी रोकिएपछि सतह मिलाउने, कालोपत्रको काम गर्न सकिनेछ । उहाँले भन्नुभयो, “वर्षाका कारण काम गर्न नसकेर सडक अप्ठेरो भएको छ ।”
अहिले साँफेबगर–मार्तडी, बेनी–जोमसोम, बेसीसहर–चामे, मुग्लिन–नारायणगढमा समस्या देखिएको छ । पहाडका सडकमा वर्षामा बिग्रिएकामा अझै काम गर्न नपाइएको जनाइएको छ । दसैँको समयमा डिभिजन सडक कार्यालयले नियमित मर्मतको काम गर्ने भएका छन् । एक दुई दिनबाहेक काम हुनेछ । कामदारमध्ये धेरै स्थानीयवासी भएकाले सम्बन्धित डिभिजनले उनीहरुलाई काम लगाउनेछन् ।
सङ्घीय सरकारको जिम्मेवारीमा अहिले ८० राजमार्गको झन्डै एक हजार पाँच सय किमी सडक रहेको छ । जम्मा सडकमध्ये १० हजारमा किमीमा नै नियमित मर्मत आवश्यक हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले बताउनुभयो । सम्बन्धित विभागले नियमित रुपमा आफैँले वा ठेक्कामार्फत मर्मत गराउँछ ।
सडक नियमित मर्मतका लागि पहेँलो ज्याकेट लगाएर काम गर्ने दुई हजार छ सय कर्मचारी विभागसँग करारमा छन् । नियमित मर्मत गर्न पहाडमा तीन र तराईमा पाँच किमी हेर्ने गरी कर्मचारीको व्यवस्था गरिएको छ । उनीहरुले ससानो पहिरो टाल्ने, खाल्डो पुर्नेलगायतका काम गर्छन् । डिभिजनले आफ्नो उपकरण र जनशक्ति प्रयोग गरेर खाल्डा पर्नासाथ टाल्छन् । सामान्यतया सडक एकपटक निर्माण गरेपछि प्रत्येक पाँचपाँच वर्षमा माथिबाट कालोपत्र थप्ने काम (ओभर ले) गर्नुपर्छ ।
वर्षाले कतिपय सडक पूर्ण र कतिपय आंशिकरुपमा अवरुद्ध छन् । त्यसमा कतिपय एकातर्फबाट र कतिपय पूर्ण सञ्चालनमा आइसकेको छ । गएको वर्षामा मात्रै होइन कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो । यस वर्ष देशभरका सडकका चाप बढिरहेका सडक खण्ड पटक पटक अवरुद्ध भएका छन् । अवरुद्ध सडक तत्काल खुलाउनका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...