काठमाडौं:   नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको छ । मङ्गलबार बेलुकी सूचना जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेशनले आज (असार ३१) मा पठाएको पेट्...

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।      प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाको शपथ लिनुभएको हो । प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको कामना गर्नुभयो ।       सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

बलेवा:   जैमिनी नगरपालिका–१ की सुजता थापा बुटवल जाँदा कुश्मीसेराबाट बस चढ्न पाउनुभयो । सदरमुकामबाट पोखरा, स्याङजाहुँदै जाने सवारी भन्दा कालीगण्डकी करिडोरबाट पाल्पा हुँदै बुटवल जाँदा दूरी एक सय किमी छोटो भयो । यसले खर्च पनि जोगायो ।       करिडोर खुल्नुअघि त बुटवल जानुपरे सदरमुकाम आएर एक रात बस्नुपर्ने बाध्यता थियो । सदरमुकाम आउन रु चारसय भाडा तिरेपछि बागलुङबाट बुटवल जान थप रु एक हजार तीन सय ५० भाडा लाग्छ । बिहान छुट्ने बसले बेलुकी ६ बजे मात्रै प¥याउँछ । करिडोरबाट यात्रा गर्दा भाडा र समय कम खर्च भएको थापाले बताउनुभयो ।      करिडोर निर्माणाधिन नै छ । तर नियमित बस सञ्चालनमा आउन थालेका छन् । जैमिनीको बेलबगरदेखि त एक सय ५० किमी यात्रा गरेर मात्र पोखरा पुगिने बाध्यता अहिले हटेको छ । बरु त्यति दुरी पार गर्दा बुटवल पुग्न सकिन्छ । सहजै बुटवल पुग्न सकेपछि उनीहरुले उपचारदेखि व्यवसाय पनि गर्न पाएका छन् ।       बुटवलमा किनमेल सस्तो पर्ने गरेको जैमिनी–७ का प्रकाश ढुङ्गानाले बताउनुभयो । साथै बसाइ सरेर गएकाहरुपनि बुटवल, भैरहवा र कपिलबस्तुमा भेटिन्छन् । करिडोरको यात्रा गर्ने अधिकांशले आफन्तको नजिक पुग्नका लागि पनि यो बाटो तय गर्न थालेका छन् ।       कालीगण्डकी करिडोरले बुटवललाई यति छोटो दुरीमा पु¥याएपछि करिडोरको यात्रा गर्नेहरु बढेका छन् । अहिले त धेरै सजिलो भैसक्यो, बाटो सबै कालोपत्रे भयो भने बागलुङको जैमिनी, बलेवा र बरेङबासीको दैनिकी बुटवल र पाल्पातर्फ नजिक बन्नेछ ।       सडक निर्माणाधिन भएकोले धुलो भने बढी छ । त्रिदेशीय मार्गका रुपमा कालीगण्डकी करिडोर स्थापित भैसकेकाले भारतको सिमाना पुगेर व्यपार गर्न अब छोटो बाटो तय भैसकेको जैमिनी नगरपालिका १ की पुष्पा आचार्यले बताउनुभयो ।      करिडोरले बागलुङको जैमिनी मात्र हैन गुल्मीको कालीगण्डकी गाउँपालिका, पर्वतको बिहादी  र फलेवास नगरपालिकाबासीका लागि पनि सहज बनाएको छ । “बुटवल पढ्न गएका छोरीहरु बिहानको खाना खानै आइपुग्छन्”, पर्वतको बिहादीका हरि न्यौपानेले भन्नुभयो, “करिडोरले सदरमुकाम र बुटवल उस्तै बनाएको छ ।”       करिडोरले ४१७ किमीमा चीन र भारत जोड्ने त्रिदेशीय मार्ग निर्माण गरेको छ । करिडोरअन्र्तगत गुल्मी र बागलुङ खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो । अहिले १० किमी सडकमा कालोपत्रेका लागि ठेक्का लागेको छ ।       जैमिनी नगरपालिकाको वडा नंं १४ नारायणस्थानदेखि गुल्मीको हर्मीचौर ४५ किमी सडक कालीका कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । आगामी २०८२ को मंसिर मसान्तसम्म सकिनुपर्ने कामको अधिकांश खण्ड कालोपत्रेको तयारी छ ।       कतिपय खण्ड कालोपत्रे भैसकेको छ करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सुरेन्द्र गौतमले बताउनुभयो । अहिलेकै गतिमा काम भए समय अघिनै सकिने उहाँले बताउनुभयो । रु तीन अर्ब ३३ करोडमा लगाइएको ठेक्काको खण्डमा नाली, पर्खाल, पुल र कजवे बनेका छन् । बलेवा खण्डमा काम भएको छ भने रिडी खण्डमा कालोपत्रे भैसकेको छ ।       पाँच वर्ष अघिसम्म सडक संजालले जोड्नै कठिन जैदी, छिस्ती, अजे्र्रवालगायतका बासिन्दा अहिले सहजै यात्रा गर्न पाएका छन् । सडक खुलेपछि सदरमुकाम र पाल्पा, बुटवल जाने सवारी पनि सहजै पाउन थालिएको जैमिनी ८ का ओमकार थापाले बताउनुभयो ।       “अहिले त बाइक चढेर सदरमुकाम भन्दा बुटवल पहिला पुग्छु”, थापाले भन्नुभयो, “सहज आउजाउ भएपछि पाल्पा र बुटवल झरेर पढ्नेहरुपनि बढेका छन् ।” समयमा बुटवल पुग्दा पूर्वपश्चिम जानुपर्ने यात्रीले पनि करिडोरको यात्रा गर्न खोजेका छन् ।       गुल्मीको कालीगण्डकी गाउँपालिकाका सुमित्रा पाण्डेले ठूलो परिवर्तन आएको बताउनुभयो । “घरमै गाडि आउला भन्ने सोचेका थिएनौं, घर छेवैमा सडक आएपछि बारीको तरकारी बिहानै बुटवल पठाउन पाएका छौं”, उहाँले भन्नुभयो ।  बागलुङको बुर्तिवाङतर्फका सवारी पनि रिडीदेखि पाल्पाको अर्गली, तानसेन हुँदै बुटवल जाने गर्छन् । यसरी यात्रा गर्दा सामान खरिदका लागि बुटवल जाने र उपचारका लागि पाल्पा जानेलाई सहज भएको हो । पश्चिम बागलुङ बासीले पनि रिडीमा करिडोर भेट्छन् ।       विसं २०४४ सालमा यो सडक ट्रयाकको परिकल्पना गरेपनि २०७१ पछि मात्रै करिडोरको ट्रयाक खोल्न सुरु भएको हो । करिडोर बनेकोले हर्मीचौरदेखि शान्तिपुर र बरेङतर्फ जाने सडक पनि बनेका छन् । नेपाली सेनाले हर्मीचौरदेखि रुद्रवेणीको बिकल्पमा स्याङजातर्फ पनि सडक बनाइदिएको छ ।       “करिडोरको बाटो हुँदै मिर्मी पुग्न सहज रहेछ, त्यसैले व्यावसायिक भ्रमण पनि गरियो”, होटल सञ्चालक तालबहादुर कुँवरले भन्नुभयो, “छोटो बाटो बनेकाले अब त सहज भयो ।”            करिडोरमा नेपाली सेनाले विभिन्न स्थनमा बेलीब्रिज बनाएको छ । ती पुल बिस्थापित गर्न करिडोर आयोजनाले विभिन्न स्थानमा ठेक्का समेत लगाएको छ ।

पोखरा:    पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ ।  अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको जानकारी दिनुभयो ।  उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो । लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने अधिकारीले बताउनुभयो ।  उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो ।  सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।  लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।  सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ ।  यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

हुम्ला:    सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु ९ को नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् ।       नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महङ्गो गाडी भाडा तिरेर उनीहरु नुन किन्न जानु परेको छ । नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीय रामशरण रावतले बताउनुभयो ।       केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने  नुन खरिद गर्न सर्केगाडस्थित डिपोमा ठूलो खर्च भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँभन्दा पालिका केन्द्र टाढा छ । अनुदानमा रु नौ पर्ने नुन लिन जान रु पच्चीस सय खर्च लाग्छ ।”       एक दिनको पैदलयात्रामा पुगिने ठाउँमा गाडीमा आवतजावत गर्दा रु २५ सय लाग्ने गरेको रतन रावतले बताउनुभयो । साल्ट ट्रेडिङको सर्केगाड बजारमा रहेकाले डिपो केन्द्रमार्फत मात्र बिक्री गर्दा तुम्चका ९५ घरधुरीलाई समस्या हुने गरेको रावतको भनाइ छ ।       गाउँपालिका केन्द्र टाढा रहेकाले गाउँपालिकाबाट पाउने अन्य सेवा सुविधाबाट समेत बञ्चित भइ वडा कार्यालय जान समेत तीन घण्टा पैदल हिँड्नु पर्ने बाध्याता रहेको रावतले सुनाउनुभयो । वडा कार्यालय जैरमा भएकाले तीन घण्टाको उकालो हिँडेर विभिन्न सिफारिस लिनुपर्ने अवस्था छ ।       तुम्च गाउँका नागरीकले नुन सर्केगाड नपुर्याइ बालुकुना क्षेत्रबाट वितरण गर्दा आफूहरुलाई सहज र खर्च पनि बच्ने उनीहरुको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा हुम्लाका प्रमुख राजबहादुर लामा भने दक्षिण भेगका चारवटा गाउँपालिकाका लागि सहज पहुँच पुग्ने गरी बिक्री केन्द्रबाट वितरण हुँदै आएको बताउनुभयो ।       एक दुई पटक यहाँका नागरिकको समस्यालाई हेरी तुम्चका लागि बालुकुना मै वितरण भएको उहाँको भनाइ छ । अहिले चंखेली र सर्केगाडका लागि सर्केगाड बिक्री केन्द्र र अदानचुली र ताँजकोटका लागि अदानचुलीको श्रीनगरसम्म पुर्याउने सम्झौता भएको लामाले बताउनुभयो ।       ती चारवटा गाउँपालिकाका लागि चालु आर्थिक वर्षमा १८ सय क्विइन्टल नुन पु¥याइनेछ । सर्केगाडका लागि पाँचसय, चंखेली चारसय, अदानचुली पाँचसय, ताँजकोट गाउँपालिकाका लागि चारसय क्विइन्टल नुन ढुवानी हुने भएको छ । अहिले दक्षिण भेगमा नुन ढुवानी भइरहेको बताइएको छ । 

झापा:   कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् ।  चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताउनुभयो । “पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, उहाँले दुर्घटनाको कारण बताउँदै भन्नुभयो, “तीव्र गतिमा लापर्वाहीपूर्वक मोटरसाइकल चलाउँदा मानव क्षति धेरै भएको छ ।” सवारी दुर्घटनामा परी सो अवधिमा एक सय ९१ जनाको मृत्यु भएको छ भने तीन सय २७ जना गम्भीर घाइते भएका छन् । 

उदयपुर:     कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो । पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दिलबहादुर अधिकारीका अनुसार केन्द्रमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुरमा फेलापरेका घाइते वन्यजन्तुको उद्धार गरिएको छ ।  “अहिले पनि केन्द्रमा दुईवटा निलगाई, चार मृगको उपचार गरेर राखिएको छ”, उहाँले भन्नुभयो, “कटारी–१४ बाट ल्याइएको सालक, गाईघाटबाट ल्याएको दुईवटा निलगाईलाई बचाउन सकेनौँ ।” कटारी डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले मदन भण्डारी राजमार्ग र आसपास जिल्लामा फेलापरेका घाइते वन्यजन्तुको उद्धारका लागि केन्द्र स्थापन गरिएको हो । “घाइते र टुहुरा वन्यजन्तुको उद्धार गरी वनमै छाड्ने वा अन्यत्र राष्ट्रिय निकुञ्जमा पुर्याउने उद्देश्य हो”, अधिकृत साहले यस क्षेत्रका सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, खोटाङ आसपासका जिल्लामा केन्द्र नरहेकाले यही केन्द्र प्रयोगमा ल्याइएको बताउनुभयो । यस केन्द्रलाई क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको प्रमुख साहको भनाइ छ । “यसको विकासका लागि एक जनालाई जावलाखेलको चिडियाखानामा तालिम दिएर दक्ष उपचारकर्ता राख्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “अहिले भेटेनरीका डाक्टरबाट उपचार गराउने गरिएको छ, त्यसले मात्रै पनि पशुपक्षी बचाउन सकिएको छैन ।” पर्यटकीय क्षेत्र रहेको सिमसार क्षेत्रमा वन्यजन्तु राखिएकाले यसले पर्यटकलाई समेत आकर्षित गर्ने गरेको वडाध्यक्ष मोहन तामाङले बताउनुभयो ।  वन कार्यालयको सहयोगमा केन्द्र स्थापना गरेपछि यसले पर्यटनको विकासमा पनि साथ पुगेको वडाध्यक्ष तामाङको भनाइ छ । सिसाघारी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा स्थापित सिमसार यस क्षेत्रकै पर्यटकीयस्थल पनि हो ।

काठमाडौं:    नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आगामी माघ १७ देखि २१ गतेसम्म पाँच दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पोको आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो हुन लागेको हो । व्यापार अभिवृद्धि, स्थानीय वस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ ।  क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिनुभयो । चेम्बर एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया,  मलेसिया र पाकिस्तानलगायत देशमा उत्पादित वस्तुको प्रदर्शनी र व्यवसायीहरूले सहभागिता जनाउने छन् ।  एक्स्पोमा हस्तकलाका वस्तु, सवारीसाधन, घरजग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, ज्वेलरी, कस्मेटिक वस्तु, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्री प्रदर्शनमा रहने छन् । स्वदेशी र विदेशी गरी दुई सयभन्दा बढी स्टल एक्स्पोमा राखिने छन् । पाँच दिनसम्म चल्ने एक्स्पोको कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताउनुभयो ।

कास्की:    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको विमानबाट आज प्रवर्द्धनात्मक उडान गरिएको छ ।       पोखराबाट प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, उच्च पदस्थ कर्मचारी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसहित एक सय २६ यात्रु बोकेर ‘एयरबस ३१९’ काठमाडौँ अवतरण गरेको हो ।       यसअघि बिहान चीनको छेन्दुबाट एक सय २९ यात्रु बोकेर पोखरा अवतरण गरेको सिचुवान एयरलाइन्सले पोखराबाट यात्रु बोकेर काठमाडौँ उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक एयरबस पूर्ण क्षमतामा उडान र अतवरण भएको छ ।       प्रवद्र्धनात्मक उडानपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक प्रदीप अधिकारीले पोखरा विमानस्थलबाट विमानहरुलाई अन्तर्राष्ट्रिय उडान अवतरणमा कुनै समस्या नरहेको बताउनुभयो ।       विमानस्थलको धावनमार्ग र नजिकको डाँडाका कारणले ठूला आकारका जहाज सञ्चालनमा समस्या हुने दावीलाई प्रवद्र्धनात्मक उडानले गलत सावित गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “पोखरामा एयरबस जुनसुकै राम्रोसँग उडान र अतवरण गर्न समस्या छैन भन्ने पुष्टि भएको छ । अब नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारी र निजी क्षेत्रको सामूहिक पहल आवश्यक छ ।” अधिकारीले सरकारले अरबौँ लगानी गरेर पूर्वाधार तयार गरेकाले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले समेत अग्रसरता लिनुपर्ने  बताउनुभयो ।       नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्टस् एशोसिएशन (नाटा) गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र मारमा परेको बताउनुभयो । प्रवद्र्धनात्मक उडानले पोखरामा ठूला आकारका जहाज उडान र अवतरणमा कुनै पनि समस्या नरहेको स्पष्ट भएको उहाँले बताउनुभयो ।       पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सरकारले छिमेकी देशहरु तथा खाडी मुलुकहरुमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।  पहारीले भन्नुभयो, “अन्तर्राष्ट्रिय उडान अहिलेसम्म सञ्चालन नहुँदा विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवसायी समस्यामा छौँ । ठूलो धनराशी खर्च गरेर बनाएको विमानस्थल व्यावसायिक सञ्चालन हुनुपर्दछ । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नु आवश्यक छ ।”      पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भए पनि हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।      यहाँका पर्यटन व्यवसायी तथा निजी क्षेत्रले अन्तर्राष्ट्रिय उडान नियमित रुपमा सुरु गर्न सरकारसँग निरन्तर माग गरिरहेका छन् । विमानस्थलमा कहिलेकाँही चार्टर उडान भएपनि व्यावसायिक उडान हुन सकेको छैन ।

पोखरा:     गण्डकी प्रदेशका सामाजिक, विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।  विहिबार मन्त्रालय मातहतको ११ वटै जिल्लाको सामाजिक विकास कार्यालयहरुको कार्यगत प्रगतिको विषयमा जुम मार्फत बुझ्दै मन्त्री थापाले कार्यालयका प्रमुुख सँगै मन्त्रालयका कर्मचारीलाई रिजल्ट आउने गरि काम गर्न निर्देशन दिएका हुन् । “मन्त्रालय मातहतका सबै निकायले गरेका कामहरुको फेहरिस्त चाहियो । प्रदेश सरकारको कामलाई जनताले अपनत्व गर्ने गरि काम गर्नुस् । वित्तिय र भौतिक प्रगतिले नागरिकलाई लाभ मिल्नुपर्यो ।”, उनले भने । मन्त्री थापाले स्थानीय सरकारसँग समन्वय गर्दै काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् । प्रदेशसँग जति अधिकार छ त्यति नै प्रयोग गरि जनताका आकांक्षा पुरा गर्न कर्मचारीलाई उनले भनेका छन् ।  “समस्या अवश्य छन् तर त्यसको समाधानको बाटो पनि छ । जति अधिकार छ त्यति नै प्रयोग गरि काम गर्नुुस् । जनतालाई सहज हुने बाटोमा आएका समस्यालाई चिर्न म तपाईहरुको साथमा छु ।”, उनले भने । मन्त्री थापाले बेरुजु नआउने गरि काम गर्ने कुरामा जोड दिएका छन् । उनले प्रदेश सरकारको समाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका गतिविधिहरुको प्रचारप्रसारमा समेत ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।  “काम गरेर मात्रै पनि हुँदैन । भएका भौतिक तथा वित्तिय प्रगतिका बारेमा नागरिकलाई जानकारी हुन पर्यो । प्रचारप्रसारमा समेत ख्याल गरौं ।”, उनले भने । उनले पुरानो धारबाट भन्दा पनि नयाँ शैली अप्नाएर काम गर्न कर्मचारीलाई भनेका छन् । मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेले प्रदेशको महत्वपूर्ण मन्त्रालय सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालय भएको र सन्तोषजनक काम हुने गरि अगाडि बढ्न ११ जिल्लाका सामाजिक विकास कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।  आर्थिक वर्षको ६ महिना मात्रै बाँकी भएकाले काम गुर्नपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । सामाजिक विकास कार्यालयमा देखिएको कर्मचारी अभावको विषयमा छलफल भइरहेको र त्यसको पूर्ति हुने गरि मन्त्रालय अगाडि बढेको उनले बताए ।  उपसचिव तोयानाथ लम्सालले विगत भन्दा वर्तमान अवस्थामा मन्त्रालयको काम अगाडि बढेको उल्लेख गरे । स्थानीय तहसँग साझेदारी मोडलमा काम गर्दै अगाडि बढ्न सामाजिक विकास कार्यालयहरुलाई उनले आग्रह गरेका छन् । प्रदेशको ११ वटै जिल्लाका सामाजिक विकास कार्यालयका प्रमुखहरुले भएको कामको वित्तिय एवम् भौतिक प्रगतिका बारेमा जानकारी गराएका थिए । साथै उनीहरुले काम गर्दै जाँदा देखिएका समस्या खुलाएका थिए ।