काठमाडौं:      काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८  स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ ।  दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन्दुरेचौरको माझीबस्ती ...

बझाङ:     अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिनुभयो ।   गए राति गएको पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु भएको उहाँले बताउनुभयो हो । उहाँले भन्नुभयो, “चारजनाको मृत्यु भएको र छजनाको उद्घार गरिएको खबर छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँं ।” पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको हो । पहिरोमा पुरिएका अन्य छजनाको जीवितै उद्घार गरिएको छ । वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ ।

खोटाङ:    खोटाङ सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो ।   नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र सम्पन्न  गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले सोही दिन परीक्षण उडानको शुभारम्भ समेत गर्नुभएको हो । समिट एयरको नाइन एन–एएम्जी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई उहाँले लामीडाँडा विमानस्थलमा नियमित उडान भराउनका लागि प्राधिकरणसँग छलफल भइरहेको जानकारी दिनुभएको थियो । तर, विमानस्थलमा परीक्षण उडान भरेपछि अहिलेसम्म एकपटक पनि विमान उडान तथा अवतरण भएको छैन । विसं २०२८ देखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको विमानस्थलको टनिङ प्याडमा दायाँबायाँ २८–२८ मिटर कालोपत्र गरिएको गरिएको छ । पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थल कालोपत्र गर्ने जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्सन प्रालिले कालोपत्र गरेको हो । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय बासिन्दालाई सेवा दिने उद्देश्यले निर्माण गरिएको विमानस्थल यसअघि जिल्लाको निकै व्यस्त रहने विमानस्थलमा पथ्र्यो ।  स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर २०२६ सालदेखि निर्माण सुरु गरेको विमानस्थल दुई वर्षपछि २०२८ सालबाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याइएको थियो ।  अठचालीस वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको विमानस्थलमा कालोपत्र गरिएसँगै नियमित उडान बन्द हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । कालोपत्र गरिएको विमानस्थलमा नियमित उडान नभएपछि दुर्घटनाका घाइते तथा बिरामीलाई हेलिकप्टर चार्टर गरेर अन्यत्र उपचारमा लानुपर्ने बाध्यताले स्थानीय बासिन्दा समस्यामा परेका हुन् । तीन जिल्लाका स्थानीय बासिन्दा तथा त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने भक्तजन एवं पर्यटकले सेवा लिँदै आएको विमानस्थलको उडान कटौती गरेर राज्यले आफूहरूमाथि ठूलो अन्याय गरेको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले आरोप लगाउनुभएको छ ।  “स्थानीय बासिन्दाले कुटो र कोदालो प्रयोग गरेर सञ्चालनमा ल्याएको लामीडाँडा विमानस्थलमा कालोपत्र भएको छ । तीन जिल्लाका जनताले नियमित उपयोग गर्दै आएको हवाई सुविधा खोस्ने काम भएको छ”, उहाँले भन्नुभयो, “नियमित उडान भराउन सम्बन्धित निकायमा पटकपटक अनुरोध गरिरहेका छौँ । राज्यको ठूलो लगानीमा कालोपत्र गरिएको विमानस्थल पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म कसैले पनि चासो दिएका छैनन् । यसप्रति ध्यान जान जरुरी छ ।” लामीडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत उठाएर अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन् । राज्यकोषको लगानीमा कालोपत्र गरिएको विमानस्थल उपयोगविहीन भएपछि सरकारको आलोचना हुँदै आएको छ । विमानस्थलमा उडान कटौती हुनुको कारण पत्ता लगाएर नियमित उडान भर्नेगरी पहल भइरहेको सांसद रामकुमार राई ‘पासाङ’ले बताउनुभयो । “लामीडाँडा विमानस्थलमा उडान कटौती हुनु दुःखद् विषय हो ।  राज्यकोषको लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल छ वर्षदेखि उडान अवरुद्ध छ”, उहाँले भन्नुभयो, “नियमित उडान भर्नेगरी सम्बन्धित निकायमा पहल गरिरहेको छु । अहिलेसम्म कुनै नतिजा आएको छैन । यद्यपि, पहल गर्ने काम भइरहेको छ ।” दश स्थानीय तह रहेको खोटाङ जिल्लामा तीनवटा विमानस्थल छन् । जिल्लाका सबै क्षेत्रका स्थानीय बासिन्दालाई हवाई सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका तीनवटै विमानस्थल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्र गरिएका छन् ।  जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्माण गरिएको थामखर्क र जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिक खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ । खानीडाँडा र थामखर्क विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँका लागि नियमित उडान भर्दै आएको जनाइएको छ ।  प्राधिकरणको रु सात करोड २४ हजार तीन सय ८० लागतमा लामा बुइल्डर्स÷चाङ्मिला जेभी निर्माण कम्पनी कालोपत्र गरेको खानीडाँडा विमानस्थलमा हप्ताको दुईपटक उडान हुँदा सबैभन्दा बढी जिल्ला अस्पताल दिक्तेलबाट अन्यत्र ‘रेफर’ गरिएका बिरामीलाई सहज भएको छ । दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल रौता कन्स्ट्रक्सन प्रालिले प्राधिकरणको रु १० करोड ६० लाख ७१ हजार लगानीमा कालोपत्र गरेको हो ।

चितवन:     खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ । खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल आज विहान दुर्घटनाहुँदा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवाका रत्ननगर नगरपालिका–१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए ।  गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।  मोटरसाइकल दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नवलपुर:     पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ ।  युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताउनुभयो ।  “अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सीप नहुँदा हिजोआज यो क्रम हराउँदै गएको पाइन्छ”, उहाँले भन्नुभयो, “सहजता र आधुनिकताले पनि धेरै परम्परा र मौलिक सीप लोप हुँदै गएका छन् ।” केही वर्ष अगाडिसम्म जनै बनाएर आफन्तलाई पनि दिने गरेको भए तापनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको कावासोती–१७ का धनपति अधिकारीले बताउनुभयो ।  “पछिल्लो समय युवाले नियमित जनै लगाउनै छाडे”, उहाँले भन्नुभयो, “अहिलेका छोरानातिले जनै लगाएर के हुन्छ भनेर उल्टै आफ्नो रीतिरिवाज भुल्न थालेका छन् । यो चिन्ताको विषय हो ।” गाउँमा अहिले जनै बाट्नै छाडिसकेको अधिकारीले बताउनुभयो । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उहाँले बताउनुभयो ।  बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा उपलब्ध हुने गरेका छन् । नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यताअनुसार जनैपूर्णिमाका लागि जनैको कारोबार पनि धेरै हुने गरेको पाइन्छ ।   विगत वर्षहरूमा  गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिहरूले एक महिना अघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो नै उत्कृष्ट जनै रहने गरेको पण्डित बुद्धिसागर भण्डारीले बताउनुभयो ।  “आफ्नै हातले धागो सङ्ग्ल्याएर, कतुवामा बाटेको जनै नै राम्रो हो, हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो”, उहाँले भन्नुभयो, “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावट राम्रो र उपयुक्त हुँदैन ।” पछिल्लो समय हिन्दू धर्मावलम्बीको पवित्र पर्वका रूपमा मनाइने जनपूर्णिमाको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको पण्डित भण्डारीले गुनासो गर्नुभयो । “रक्षाबन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भए तापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “आधुनिकताका नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।” शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रूपमा जनैपूर्णिमालाई लिइने पण्डित भण्डारीले बताउनुभयो ।  यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँठाउँमा पुरोहितले विधि पुर्याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गर्नुपर्ने हो उहाँले भन्नुभयो ।  जनैपूर्णिमा (रक्षाबन्धन)का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ ।  “तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ”, उहाँले भन्नुभयो, “हिन्दू धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रोच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णिमा पर्व मनाउने परम्परा रहिआएको छ ।”

काठमाडौं:    झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ ।  तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आइतबार साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पताल प्रमुख डा रुपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याएकाले मृत्यु भएको बताउनुभयो ।       बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो ।  भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिनुभयो । बिरामीलाई घरैमा राखेर गाउँपालिकाको ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत उपचार भइरहेको उहाँले बताउनुभयो ।  आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकले समयमै उपचार गराउन नसक्दा बालकको मृत्यु भएको र दाहसंस्कार लागि शव घर लैजान पनि चन्दा सङ्कलन गरिएको पत्रकार हरिबोल आचार्यले बताउनुभयो ।  स्थानीयस्तरमा बनीबुतो गरेर परिवार धान्दै आएका युवराज र अनु दम्पत्तीका दुई छोरी र एक छोरा थिए । दुई छोरीमध्ये कान्छी अरुणा र आमासमेत झाडापखालाकै बिरामी रहेका आचार्यले जनाएका छन् । 

काठमाडौं:    उपराष्ट्रपति रामसहायप्रसाद यादवले परापूर्व कालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी), गुँःपुन्हिको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।      “यो पर्व भूगोल, क्षेत्र र समुदायगत रुपमा फरक–फरक नामले मनाइए पनि यसको उद्देश्य पारस्परिक भ्रातृत्वभाव, प्रेमभाव, स्नेहभाव, सौहार्दभाव, अपनत्वभाव र सहयोग भाव उत्प्रेरित गर्नु नै हो”, उपराष्ट्रपतिको सन्देशमा भनिएको छ ।       उहाँले तराई–मधेसमा मधेसीलगायतका समुदायले रक्षाबन्धनलाई राखी त्योहारका रुपमा मनाउने गरेको उल्लेख गर्नुभयो । साथै मधेसी संस्कृतिमा भाइ–बहिनीको अमर प्रेमको प्रतीकका रुपमा मनाइने पर्वहरुमा राखी, भैयादूज ९भ्रातृद्वितीया०लगायत रहेको उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।       लोकपर्वकै रुपमा स्थापित राखी पर्वमा दिदीबहिनीले दाजुभाइलाई नाडींमा रक्षासूत्र (रिखीडोरो)वा राखी बाँध्ने र त्यसो गर्नुको मूल उद्देश्य–भाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्नु तथा दिदीबहिनीको रक्षा गर्नु रहेको उहाँको भनाइ छ ।       “वैदिक सनातन वर्णाश्रम धर्म मान्नेहरु अर्थात् जनै लगाउनुपर्नेहरुले श्रावण पूर्णिमामा पुरानो जनै (यज्ञोपवीत) फेर्ने गर्छन् । यो पर्वमा गुरु÷पुरोहितहरुले मन्त्र साधना गरी भयबाट रक्षा हुने धागो बाँधिदिने चलन छ । खासगरी, ब्राह्मणले धागोमा रक्षामन्त्रले साधना गरी सर्वसाधारणमा पुरुष भए दाहिने नाडीं र स्त्री भए देब्रे नाडींमा डोरो बाँधिदिने गर्दछन् । यो पर्व सप्तऋषि एवं पूर्वजहरुको पूजा तथा तर्पण दिनका लागि पनि महत्वपूर्ण मानिन्छ”, शुभकामना सन्देशमा भनिएको छ ।       नेपालका नेवार समुदायले यो पर्वलाई ‘गुँःपुन्हि’को रुपमा मनाउँछन् । यो समुदायमा गुँःपुन्हिमा नौ किसिमका गेडागुडीको क्वाँटी पकाएर, गहुँको पीठोको रोटी पोलेर देवदेवीलाई चढाई परिवारका सदस्यहरु मिलेर खाने चलन छ ।  यस अवसरमा  जीवनमा प्रत्यक्षरअप्रत्यक्ष सहयोग गर्ने सबै प्राणी/वस्तुलाई तिनको सदासयता सम्झी पूजा गर्ने चलन पनि छ । यस अवसरमा विभिन्न कुण्डहरुमा जात्रारमेलाको परम्परा रही आएको छ । 

काठमाडौं:    सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याउने बताउनुभएको छ ।       श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन (जनैपूर्णिमा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याउने विश्वास लिँदै यस पर्वले कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेको छु ।”      रक्षाबन्धन भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पवित्र पर्व भएको र यस पर्वलाई पारिवारिक मेलमिलाप बढाउने उत्सवको रुपमा लिइने उहाँले उल्लेख गर्नुभएको छ ।  रक्षाबन्धनमा हिन्दू ब्राम्हण तथा क्षेत्रीय पुरुषले परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाएर मनाउने पर्व भए पनि नेपालमा धेरै धार्मिक समुदायले यसलाई श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ ।           “हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक हो । नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको छ । कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य हो”, शुभकामना सन्देशमा भनिएको छ । 

काठमाडौं:    जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गर्नुभएको छ ।       नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आज बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको दोष जनैपूर्णिमा, रक्षाबन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने निष्कर्ष निकालेको हो । यो दोष राजाहरुलाई मात्रै लाग्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।       “कन्या, धनु, तुला र मकर राशिमा चन्द्रमा हँुदा, भद्रा पाताल लोकमा हुने हुँदा भद्राको दोष पातालवासीलाई मात्रै लाग्छ पृथ्वीवासीलाई लाग्दैन, राजा महाराजालाई समेत दोष नलाग्ने कुराको शास्त्रीय प्रमाण छ”, उहाँले भन्नुभयो ।  ज्योतिष शास्त्रको ग्रन्थ बृहत्संहितामा भनिएको छ–        कुंम्भकर्कद्वये मत्र्येकब्जे स्वर्गेकजात्रयेकलिगे ।       स्त्रीधनुर्जूकनक्रेकधो भद्रा तत्रैव तत्फलम् ।।      यही प्रमाणका आधारमा पनि भद्राको दोष नलाग्ने ज्योतिषाचार्यहरुको निष्कर्ष छ । बैठकमा प्रा डा माधवप्रसाद पाण्डेय, सह प्राध्यापक जयन्त आचार्यलगायत ज्योतिषाचार्यहरुको उपस्थिति थियो ।       यसअघि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि सर्वसाधारणलाई भद्राको दोष नलाग्ने भएकाले जनैपूर्णिमा र रक्षाबन्धनका कर्म गर्न कुनै समस्या नरहेको विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने उल्लेख गर्नुभएको छ ।      राष्ट्रिय सूचना आयोग स्थापनाको १८औँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सही सूचनाको प्रवाहद्वारा मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्न गई शासन व्यवस्थाले वैधता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।      सो अवसरमा प्रमुख सूचना आयुक्त, आयुक्तलगायत सम्पूर्ण कर्मचारीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले नेपाली नागरिकलाई प्रदान गरेको सार्वजनिक निकायमा रहेको आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक स्थापित गरेको उल्लेख गर्नुभएको छ ।      “लोकतान्त्रिक शासन पद्धतिमा सार्वजनिक निकायहरु नागरिकप्रति जवाफदेही, उत्तरदायी र पारदर्शी हुन आवश्यक छ । जवाफदेहीता, उत्तरदायी र पारदर्शी क्रियाकलापबाट मात्र देशमा सुशासन कायम गर्न सहयोग पुग्दछ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।       प्रधानमन्त्री ओलीले नेपाल सरकारको सुशासनयुक्त देश बनाउने लक्ष्यमा सूचनाको हकको प्रभावकारी कार्यान्वयनले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सूचनाको हकको कार्यान्वयनका लागि नेपाल सरकारलगायत सबै सार्वजनिक निकायलाई थप जिम्मेवार भएर लाग्न आह्वान गर्नुभएको छ ।      प्रधानमन्त्री ओलीले राष्ट्रिय सूचना आयोगले सूचनाको हक जस्तो महत्वपूर्ण हकलाई आगामी दिनमा थप प्रभावकारी र जिम्मेवार बन्न यस दिवसले हौसला प्रदान गरोस् भनी सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।