काठमाडौं:   नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको छ । मङ्गलबार बेलुकी सूचना जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेशनले आज (असार ३१) मा पठाएको पेट्...

पोखरा:    सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताउनुभएको छ ।      सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ‘वन उद्यम, विकास पर्यापर्यटन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले वन क्षेत्रको खेर जाने वन पैदावार उपयोग नहुँदा प्रत्येक वर्ष डढेलोको प्रकोप बढ्ने गरेको बताउनुभयो ।      “हिउँदको मौसममा वन क्षेत्र सुक्खा हुने र पात पतिङ्गरमा छिटो आगोले टिप्ने हुँदा जोखिम बढ्ने गरेको हो”, उहाँले भन्नुभयो, “वन समूहका उपभोक्तामा सोत्तरलाई सङ्कलन गरेर प्राङ्गारिक मल उत्पादन गर्न उद्योग ऐनले सामुदायिक वन उद्यम दर्ता रोकेको छ ।”      उपभोक्ताले वनको संरक्षण सम्वर्द्धन र विकासमा योगदान गर्दै आएको बताउँदै उपयोगमा कतिपय कानुनी अड्चनले गर्दा उपयोगको पाटो कमजोर बन्दै गएकाले संरक्षणमा समेत जटिलता उत्पन्न भएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो ।      “मानव वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा सुरक्षाको कारण स्थानीय बासिन्दा सहर केन्द्रित हुन बाध्य छन् । ग्रामीण क्षेत्रका अधिकांश जमिन बाँझिएको छ । तीनै तहका सरकारले वनको संरक्षणकर्ता उपभोक्तालाई सहयोग र सहकार्य गर्नु आवश्यक छ”, अध्यक्ष भण्डारीले भन्नुभयो ।  उहाँले वन कार्यायोजना विधानको परिधिभित्र रहेर कार्य सम्पादन गर्न उपभोक्ता समूहलाई आग्रह गर्नुभयो । वन क्षेत्रमा निर्माण गरिने प्रत्येक संरचनामा फलाम नभई काठ प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।       महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घ केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमाल, केन्द्रीय सदस्य हरि बास्तोला, दोवबहादुर कार्की, खुमप्रसाद सुवेदी, पशुपति ठकुरी, सीता गुरुङ, सीता खड्का, रत्ना घिमिरे डोलकुमारी सापकोटा, प्रदेश महासचिव आसु विक, सचिव केशवचन्द्र न्यौपानेलगायत वक्ताले वन क्षेत्रको महत्व र उपयोगका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा महासङ्घ प्रदेश कमिटीलगायत जिल्ला अध्यक्षहरूको सहभागिता थियो ।

काठमाडौं:   सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।       संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा आयोजित सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सत्तारुढ तथा प्रतिपक्ष दलका प्रमुख र मुख्य सचेतक, सांसद, संसद् सेवाका कर्मचारीलगायतको उपस्थिति थियो ।      सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार झापाको शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको थियो ।  नवनियुक्त सचिव राई लामो समय शिक्षक पेसामा आबद्ध रहनुका साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा प्रशिक्षकका रूपमा काम गर्दै आउनुभएको थियो ।

म्याग्दी:    मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो ।  कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो ।  तेह्र किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८६ लाखमा निर्माण व्यवसायीसँग  सम्झौता भएको आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीले बताउनुभयो । विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार,  ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ ।  यसैबीच, बागलुङको गलकोटबाट रासस प्रतिनिधिले सम्प्रेषण गरेको समाचारअनुसार बोक्से–सिगाना सडक पनि धमाधम कालोपत्र भइरहेको छ ।  दश किलोमिटर सडकमध्ये पहिलो चरणमा छ किमी कालोपत्र गर्न बोक्सेबाट काम सुरु भएको हो ।  आगामी चैतसम्ममा छ कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ  धमाधम काम भइरहेको छ । दश किमी कालोपत्र गर्न रु २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको हो । 

काठमाडौं:     जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।       ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।      दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ ।  बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।      नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन् ।  यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुनुहुने जनाइएको छ ।

ढोरपाटन:    परियार समुदायको पुख्र्यौली पेसाका रुपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् ।  गाउँ तथा सहरमा बिस्तारै पन्चैबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् ।       युवा शक्ति विदेश पलायन भएपछि सङ्कटमा पर्न थालेको पन्चैबाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ । अहिले यहाँका महिला समूहले समेत बाजा बजाउन थालेका छन् ।       पन्चैबाजा बजाउने चलन लोप हुन थालेपछि महिलाहरु यसको संरक्षणमा लागेको बागलुङ नगरपालिका–३ देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापा मगरले बताउनुभयो ।  विवाह, व्रतबन्ध र अन्य सार्वजनिक कार्यक्रममा बाजा बजाउने कोही नहुँदा आफूहरुले बजाउन थालेको उहाँको भनाइ छ । पहिले गाउँमा धेरै समूहले बाजा बजाए पनि अहिले कोही नभएको उहाँले उल्लेख गर्नुभयो ।       थापाले भन्नुभयो, “अहिले बाजा बजाउने जनशक्ति पाउनै मुस्किल छ, नयाँ पुस्ता विद्यालय सकाएपछि विदेश नै जान हतारिन्छन्, बुढापाकाले बजाउन सक्दैनन्, टोल छिमेकमा कसैको बिहे, व्रतबन्ध, पास्नी हुँदा बाजा बजाउनै छोडेको हुँदा दिदीबहिनीहरु मिलेर पन्चैबाजा बजाउन थालेका हौँ, सुरुमा सिक्न केही समय लाग्यो अहिले सबैले सिकेपछि ठाउँ–ठाउँमा बजाउन जाने गरेका छौँ ।”      दुई वर्ष अगाडिदेखि बाजा बजाउन सिकेका महिलाहरुले अहिले यसैबाट आम्दानीसमेत गर्न थालेका छन् । सुरुमा गाउँका पन्चैबाजा समूहबाट सिकेका उनीहरुले रु एक लाख ५० हजारमा बाजा सेट खरिद गरेर व्यावसायिक रुपमा बजाउन थालेका हुन् ।  एउटा विवाहबाट रु ३० हजारदेखि ५० हजारसम्म लिने गरेको पन्चैबाजा समूहकी सदस्य कला श्रीसले जानकारी दिनुभयो । विवाहको याममा बागलुङका ग्रामीण क्षेत्रदेखि ठूला–ठूला सहरसम्म बाजा बजाउन जाने गरेको उहाँको भनाइ छ ।      “सुरुमा बाजाको ताल सिक्न केही समय लाग्यो, अहिले ५० जनाभन्दा बढी दिदीबहिनीहरुले पन्चैबाजा बजाउने गर्छौँ”, उहाँले भन्नुभयो, “अब सिक्न चाहनेलाई पनि सिकाउन सकिन्छ, हामीलाई मङ्सिर र माघमा भ्याइनभ्याइ हुन्छ, यसबाट हाम्रो आम्दानी पनि राम्रो भएको छ ।”

सर्लाही:    तीव्रगतिमा रहेको यात्रुवाहक बस बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट ९बिओपी०मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बजारिँदा निजको मृत्यु भएको छ ।  गए राति बागमती प्रदेश०१–००६ख २००४ नम्बरको यात्रीबसले तुलाधरलाई थिचेको थियो ।  बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो ।  प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ । 

बाँके:    माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ । नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँगको मङ्गलबार भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले सन् २०२४ मा भारतलगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरिएको जानकारी दिनुभयो ।  उहाँका अनुसार काम, विवाह, घुमघाम, किनमेललगायतको बहाना बनाएर नाका पार हुन थालेका शङ्कास्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि उनीहरुलाई नेपाल फिर्ता गरिएको हो । संयोजक कोइरालाले एक वर्षमा सात सय ७७ जनाको खोजतलासको निवेदन परेको र चार सय सात जना फेला परेको बताउनुभयो ।  भारत तथा तेस्रो मुलुकमा पुगेकाहरु सम्पर्कमा नआएपछि आफन्तीले खोजतलासको निवेदन दिने गर्दछन् । संयोजक कोइरालाले सन् २०२४मा  खोजतलासको निवेदन धेरै पर्नेमा बाँके जिल्ला अगाडि रहेको जानकारी दिनुभयो ।  जोखिमपूर्ण यात्रा गर्दै नाका पार हुनेहरुमा प्रायः जसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी सुर्खेत, बर्दिया, दाङ, जाजरकोट, दैलेख जिल्ला रहेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालहरु बेचविखनमा सक्रिय रहेको उल्लेख गर्दै संयोजक कोइरालाले तीनै तहका सरकारसँग समन्वय गरेर मानव बेचबिखन नियन्त्रणसम्बन्धी काम गरिरहेको बताउनुभयो ।  माइती नेपालले मानव बेचबिखन नियन्त्रणका लागि सीमा नाकामा चेकजाँच गर्नुका साथै भारतलगायतका मुलुकमा बेचिएका र बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धारका निम्ति काम गर्दै आएको छ ।  नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले मानव बेचविखन सामाजिक कलङ्क र सङ्गठित अपराध भएको उल्लेख गर्दै त्यस्ता क्रियाकलापमा संलग्नलाई निरुत्साहित गर्न सञ्चारमाध्यमको अहम भूमिका हुने बताउनुभयो ।  अध्यक्ष गिरीले मानव बेचविखन विश्वव्यापी समस्या भएकाले यसको नियन्त्रण र रोकथामका लागि सुरक्षा कूटनीतिको माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौं:     ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत्  २०२५ सुरु भएको छ ।       जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।      जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ ।      विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।  केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । मङ्गलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।

कञ्चनपुर:   चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी । यही हुलियामा सखारै घरबाट निस्किनुहुन्छ, वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना ।      साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उहाँको दैनिकी हो । ८४ वर्षको वृद्ध उमेरमा पनि उहाँको जोसजाँगर युवावयमा भन्दा कम छैन । उहाँले फालिएका प्लास्टिक सङ्कलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविका चलाइरहनुभएको छ ।  “छोराहरु बेरोजगार छन् । खेतीपाती गर्न जमिन छैन । बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,” उहाँले भन्नुभयो, “डोरी बेचेरै पेट पालिएको छ ।”      डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप रु एक सय दिनुहुन्छ । फुर्सदमा उहाँ चाउचाउ, बिस्कुटलगायत प्लास्टिक सङ्कलन गर्नुहुन्छ । भीमदत्त र बेदकोट नगरपालिकाका विभिन्न गाउँबस्ती साइकलमा डुलेर ती सामग्री बिक्री गर्नुहुन्छ ।  उहाँका अनुसार रु दुई सय ५० देखि पाँच सय सम्ममा ती सामग्री बिक्री हुन्छन् । ग्रामीण क्षेत्रमा वनजङ्गलबाट पातपतिङ्गर ल्याउन जालको प्रयोग गरिन्छ । चिसोयाम भएकाले गोठका वस्तुभाउलाई न्यानो बनाउन जङ्गलबाट पात ल्याइने हुँदा जाल बिक्री भइरहेको छ,” उहाँले भन्नुभयो, “आकारअनुसार फरक फरक दरमा बेच्छु । दैनिक दुई÷तीनवटा बिक्री हुँदा गुजारा चल्छ ।”      सानो आकारको जाल, मुखौरी रु दुई सय ५० र ठूलो आकारको रु पाँच सयमा बिक्री हुने गर्छ । प्लास्टिकबाट निर्मित यस्ता घरायसी सामग्री टिकाउ हुने भएकाले किसानले रुचाउने गरेका छन् ।  रामस्वरुपका दुई छोरा छन् । उहाँकी श्रीमती ५४ वर्षकै उमेरमा बित्नुभयो । कोरोना महामारीपछि यो व्यापारमा लागेको उहाँ बताउनुहुन्छ । “काम नगरी खान पुग्दैन । डोरीको व्यापारले जीवन धानिएको छ,” उहाँले भन्नुभयो, “बुढेसकालमा काम गर्ने रहर त थिएन तर बाध्यता त्यस्तै आइलाग्यो ।”