पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकी विश्वविद्यालयको आयोजनामा भएको “गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन–२०२५” ले प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । पोखरामा “उच्च भविष्यका लागि नेटवर्किङ माइन्ड्स” विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त सम्मेलनको महत्वलाई उनले उजागर गरेका हुन् । मन्त्री थापाले गण्डकी प्रदेशलाई शिक्षा, अनुसन्धान र सामाजिक विकासको केन्द्रका रूपमा स्थापित गर्ने दिशामा यस किसिमका अन्तर्राष्ट्रिय मञ्चहरूको भूमिका निर्णायक हुने बताए । उनले डा. सन्दुक रुइतजस्तो विश्वप्रसिद्ध व्यक्तित्वसँगको संवादले सबैलाई प्रेरित बनाएको र प्रदेशको विकासका लागि ठोस योजनाहरू निर्माण गर्न थप उत्प्रेरणा मिलेको उल्लेख गरे । सम्मेलनमा प्राज्ञिक, अनुसन्धानकर्ता र सामाजिक अगुवाहरूले आफ्ना विचार प्रस्तुत गरे । गण्डकी प्रदेशलाई एक शिक्षामा आधारित, नवीन र समृद्ध प्रदेश बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री थापाले यस्ता सम्मेलनहरूले प्रदेशलाई थप ऊर्जा दिने बताए । कार्यक्रममा डा. सन्दुक रुइतले आफ्नो अनुभव र दृष्टिकोण प्रस्तुत गर्दै नेटवर्किङ, सहयोग र समर्पणले कसरी उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ भन्नेबारे विचार व्यक्त गरे । सम्मेलनमा विभिन्न सत्रहरू सञ्चालन गरिनुका साथै प्रदेशको युवा, खेलकुद र सामाजिक विकासका लागि सम्भावनाका क्षेत्रहरूबारे छलफल समेत गरिएको थियो ।
काठमाडौं: देशभरका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा मनोजबाबु श्रेष्ठ निर्वाचित हुनुभएको छ । महासङ्घको आज सम्पन्न सातौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ९२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । अध्यक्ष श्रेष्ठ खिचापोखरी–न्युरोड व्यापार सङ्घको पूर्वअध्यक्षसमेत हुनुहुन्छ । यस्तै, महासङ्घको वरिष्ठ उपाध्यक्षमा कमल अग्रवाल र हरिबहादुर गौतम, प्रथम उपाध्यक्षमा लक्ष्मी खड्का र हरिप्रसाद पाण्डे, १३ उपाध्यक्षमा गणेशकुमार न्यौपाने, गोरखबहादुर थापा, कुसुम महर्जन, दीपकचन्द्र प्रधान, रामप्रसाद अवाल, जयकृष्ण शर्मा, पार्वती पौडेल भट्ट, धिरेन्द्र रिजाल, मिलन श्रेष्ठ, शिवप्रसाद ढकाल, सागर शाक्य, रामकुमार तिमल्सिना र लेखनाथ पौडेल चयन हुनुभएको छ । यसैगरी, महासचिवमा नवीन लुइँटेल, उपमहासचिवमा रामकुमार पण्डित, नारायणप्रसाद न्यौपाने र लवराज भण्डारी, सात सचिवमा किशोरकुमार गौतम, केदारप्रसाद न्यौपाने, विजुरत्न बज्राचार्य, देवराज कार्की, सुरेन्द्रराज सुवेदी, गोपाल घिमिरे र पृथ्वीनारायण अधिकारी चयन हुनुभएको छ । सात सहसचिवमा प्रदीप घिमिरे, हरिप्रसाद पाण्डे, सुमित लामा, दीपककुमार श्रेष्ठ, जयराज बजगाईँ र मुलुकसिंह तामाङ, कोषाध्यक्षमा हिमलाल खराल र सहकोषाध्यक्षमा त्रिलोचन सुवेदी, यमुना श्रेष्ठ र राममणि भट्टराईलाई चयन गरिएको छ । साना तथा मझौला व्यवसायीको हकहित र अधिकारका लागि स्थापना भएको उक्त महासङ्घमा हाल देशभरका दुई दर्जनभन्दा बढी सङ्घ आबद्ध छन् । महासङ्घमा हाल २५ हजारभन्दा बढी व्यवसायी आबद्ध रहेको महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो ।
महोत्तरी: मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन् । दुवै बस्तीका एक सय २३ परिवारलाई सेनाको परिकौली (महोत्तरी) स्थित गोरखनाथ गण ब्यारेकले ओढ्ने मण्डी (ऊनी कम्बल) शनिबार वितरण गरेको हो । शीतलहरको यो राहत पाउने उनीहरु अतिविपन्न मुसहर र डोम समुदायका परिवार हुन् । मटिहानी–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा गोरखनाथ गणका गणपति प्रमुख सेनानी विनोदविकास पाठक, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल र जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले सेनाप्रदत्त कम्बल मुसहर र डोम परिवारलाई प्रदान गर्नुभएको हो । जिल्लामा नेपाली सेनाले प्रत्येक वर्षजसो शीतलहर प्रभावित बस्तीका अतिविपन्न परिवारलाई कम्बल वितरण, चोकचोकमा आगो बाल्ने र बटुवालाई तातो चिया खुवाउने कार्य गर्दै आएको छ । जनताको दुःखमा एकाकार हुन गरिब बस्तीमा कम्बल वितरण गरिएको गणपति प्रमुख सेनानी पाठकको भनाइ छ । सेनाले जाडोमा सहयोगका लागि अतिविपन्न बस्तीका दलित परिवार छानेर प्रशंसनीय कार्य गरेको मटिहानी नगरप्रमुख मण्डलले बताउनुभयो । शीतलहर प्रभावितलाई न्यानो वितरण गर्ने समारोहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत, नगरका जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । महोत्तरीका सुदूरदक्षिण र मध्यभेगमा पुस तेस्रो साता सुरु भएदेखि नै बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहने क्रमले सर्वसाधारण अत्यन्त कष्टकर अवस्थामा छन् । यो अवस्थामा सेनाले सराहनीय कार्य गरेको मटिहानी–७ का ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ ।
पोखरा: वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल रुइतलाई प्रदान गरिएको हो । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहनुभएका डा रुइतलाई गुठीको ३२औँ वार्षिक साधारणसभा समारोहमा पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीलगायतले शनिबार रु दुई लाख २२ हजार दुई सय २२ सहित श्रीपति समाज सेवा पदक र ताम्रपत्रबाट पुरस्कृत गर्नुभयो । कार्यक्रममा डा रुइतले सम्मानले आफूलाई जिम्मेवार बन्दै थप समाज सेवाका लागि अभिप्रेरित गरेको बताउनुभयो । यसैगरी सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित हुनुभएको छ । पत्रकारिताका माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदरस्वरुप उहाँलाई नगद रु २२ हजार दुई सय २२ राशिसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो । देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा गर्नुभएको योगदानको कदर गर्दै डा रुइतलाई पुरस्कृत गरेका हौँ ।” पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजिवीसहितको ६ सदस्यीय समिति गठन गरिएको थियो । छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदन गरी गत असार २७ गते पुरस्कृत व्यक्तित्वको नाम सार्वजनिक गरेको थियो । यसअघि उक्त पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भवानी नमूना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् ।
काठमाडौं: प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हँुदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुनसकेको छैन । काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौँबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजीविलिटीका कारण उडान हुनसकेको छैन । तराई क्षेत्रका बाक्लो हुस्सुका कारण विमानस्थल ढिलोगरी खुल्ने गरेको उहाँले बताउनुभयो । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । “तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ”, मौसमविद् महर्जनले भन्नुभयो, “बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।” उहाँले पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको बताउनुभयो ।
गण्डकी: कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए । पछाईँ र जोशीका कानुन व्यवसायीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताउनुभयो । यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको थियो । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु भएको बताउनुभयो । “प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुन्छ”, उहाँले भन्नुभयो । थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिनुभएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ ।
काठमाडौं: सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी हुनुभएको छ । अध्यक्ष पोखरेलले तीन सय ६८ मत प्राप्त गर्नुभएको छभने प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता महेश थापाले एक सय ८१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा पुनदेवी महर्जन, कोषाध्यक्ष रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत विजयी हुनुभएको छ । खुल्ला सदस्यमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी, पुरुषोत्तम लोहनी, प्रदीपकुमार राजवंशी र शतिशराज मैनाली विजयी हुनुभएको छ । कुल छ सय २६ मतदाता रहेको बारको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भएको थियो ।
पोखरा: त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को नवौं बार्षिक साधारण सभा एवं तेश्रो अधिवेशनले पुन सुमन भट्टराईको अध्यक्षतामा संचालक समितिको चयन गरेको छ । सभाले कलेजको संचालकमा बलराम ढकाल, भरतकुमार अधिकारी, यदुराज आचार्य, मधुसुदन सापकोटा, हरि बहादुर वुढाथोकी, सोमनाथ बास्तोला, शान्ति खनाल र विनोद लामिछाने चयन गरेको छ । संचालक समितिले मुक्तिनाथ सापकोटालाई कम्पनी सचिवमा नियुक्ती गरेको छ । यसैगरी राजेन्द्रमणि लामिछाने, बाबुराम गिरी, छत्रधर आत्रेय, विष्णु प्रसाद बराल र लोकराज ढकाललाई सल्लाहकारमा चयन गरेको छ । कलेजले त्रिभुवन विश्वविद्यालयबाट गुणस्तर सुनिश्चितताको प्रमाण पत्र प्राप्त गरेपछि अध्ययनका लागि नयाँ कार्यक्रम थप गर्ने जनाएको छ । यसैगरी आवश्यक पूँजि जुटाउन सर्वसाधारणमा आइपिओ जारी गर्न संभाव्यता अध्ययनका लागि एक समिति गठन गर्ने समेत जनाएको छ । यसअघि साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दु कुमार थापाले बजारको माग अनुरुपको दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक कार्यक्रम समावेश गर्न आग्रह गरे । मन्त्री थापाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय र शिक्षामा अभिभावकको भूमिका समेट्नेगरी नीतिमा सुधार हुनु पर्नेमा जोड दिए । उनले विद्यार्थीका लागि शुक्रबारलाई झोला र किताव विहिन बनाउने र उत्पादनसँग जोड्ने गरी मन्त्रालयले कार्यक्रम ल्याएको उल्लेख गरे । मन्त्री थापाले उच्च शिक्षामा समेत कक्षा छाड्ने समस्या बढ्दै गएको उल्लेख गर्दै पाठ्यक्रममा सुधारगरी उत्पादन र रोजगारीमा जोड्दै लैजानु पर्नेमा जोड दिए । उनले शिक्षा नीतिमा देखिएका समस्या समाधान गर्न संघीय शिक्षा मन्त्रीसँग आफ्नो कुराकानी भैरहेको उल्लेख गर्दै, त्यसले प्रदेशलाई पनि सहज हुने बताए । नैतिक शिक्षाका साथ योग र ध्यान एवं प्रणायायलाई समेत शिक्षामा समेट्नु पर्नेमा मन्त्री थापाले जोडदिए । कार्यक्रममा पूर्व कानून मन्त्री यज्ञवहादुर थापाले शिक्षा सुधारका लागि अभिभावक, शिक्षक र विद्यार्थीको समान भूमिका रहने उल्लेख गर्दै, सवैलाई जिम्मेवार बनाउन जोड दिए । उनले विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने अहिलेको लहरले करोडौं लगानी भएका क्याम्पस तथा विद्यालयहरु खण्डहरमा परिणतहुन सक्ने संकेत गरे । कलेजका प्राज्ञिक सल्लाहकार प्रा.डा. इन्द्र प्रसाद तिवारीले गुणस्तर सुनिश्चितताको प्रमाण पाएपछि कलेजमा एकेडेमिक कार्यक्रम थप गर्नु पर्नेमा जोड दिए ।
सर्लाही: सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ । उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता हुनुभएको थियो । पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए । कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गरेका प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । “परिवारले १६ गते बेपत्ता भनेर निवेदन दर्ता गरेपछि प्रहरीले उहाँको निरन्तर खोजी गरिरहेको थियो”, प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “खोजतलासको क्रममा उहाँले लगाएको जुत्ता फेला परेपछि प्रदेश प्रहरी कार्यलयबाट कुकुर ल्याएर खोजी गरेका थियौँ । पुस १८ गते सोही वडाको नहर छेउमा मोटरसाइकल र च्यातिएको फोटोसमेत फेला परेको थियो । त्यसपछि १९ गते घटनास्थलको केही किलोमिटरको दूरीमा पर्स फेला परेपछि खोजी तीव्र पारिएको थियो । आज उखुबारीमा शव गाडेको अवस्थामा फेला परेको हो ।” उहाँका अनुसार प्रादेशिक अस्पतालका चिकित्सक र जिल्लाका सुरक्षा अधिकारी, सरकारी वकिलसमेतको उपस्थितिमा खाल्डो खनेर शव निकालेको हो । प्रारम्भिक मुचुल्का पछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेकोे छ । अनुसन्धान कार्यमा बाधा पुग्ने भन्दै निजहरूको पहिचान भने गोप्य राखिएको प्रहरीले जनाएको छ । प्रसाईंको हत्या पछि गाउँ त्रासमा परेको छ । मृतक प्रसाईंले इँटा भट्टा सञ्चालन गर्दै आउनुभएको थियो ।