दाङ: प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले आफ्नो देश आफैले बनाउनुपर्ने बताउनुभयो । “४० वर्ष अगाडि छिमेकी चीन गरिबमुलुक थियो, अहिले आफ्नै मेहिनतले सम्पन्न भइसकेको छ । हामीले प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ । उद्योग स्थापनाका लगानी विस्तार गर्नुपर्छ । त्यसका लागि सरकारका तर्फबाट सहजीकरण गर्नुपर्छ । तीन वटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ । केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ । कोही कसैले अरू कारणले विरोध गर्नु बेग्लै कुरा हो । आमरूपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ ।’’ प्रधानमन्त्री ओलीको विशेष सम्बोधन जारी रहेको छ ।
काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी (साम्बा) आज स्वदेश फर्किएकी छिन् । फ्रान्समा व्यवसायी फुटबल खेलिरहेकी साम्बा नेपालले आयोजना गरेको चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न स्वदेश फर्केकी हुन् । उनलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का प्रवक्ता सुरेश शाहलगायतले अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको थियो । नेपालले आज साँझ ६ बजे कीर्गिस्तानसँग खेल्दैछ । यसअघि उक्त प्रतियोगिताका लागि सयुक्त अरब इमिरेट्स (युएइ)को लिग खेलिरहेकी रेखा पौडेल र ग्रिसमा व्यावसायिक फुटबल खेलिरहेकी नेपाली टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा नेपाल फर्किएकी थिइन् । प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहेको छ । प्रतियोगिताका खेलहरू राउन्ड रोबिनका आधारमा खेलिने छभने शीर्ष स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । प्रतियोगितामा नेपालले आजसँगै यही फागुन ८ गते लेबनानसँग खेल्ने छभने ११ गते म्यान्मासँग खेल्नेछ । नेपाली टोलीको ‘गोलकिपर’मा कप्तान एञ्जिला तुम्बापो सुब्बासँगै अञ्जना राना मगर र उषा नाथ छन् । त्यसैगरी, ‘डिफेन्डर’मा निशा थोकर, समीक्षा घिमिरे, अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, बिमला चौधरी र मनमाया दमाईं छन् । त्यसैगरी, ‘मिडफिल्डर’मा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।
कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–१० बस्ने १०८ वर्षीया तुलसादेवी देउवाको (आइटी फ्याक्चर) खुट्टाको शल्यक्रिया सफल भएको हो । अस्पतालका विशेषज्ञ चिकित्सक अर्थोपेडिक सर्जन डा दुर्गेस चौधरी, डा सुवर्ण पौडेल, डा मुकेश गामीलगायतको टोलीले शल्यक्रिया गरेको थियो । “उहाँको हामीले उच्च सावधानी अपनाएर शल्यक्रिया सफल रुपमा गरेका छौँ,” अस्पतालका चिकित्सक डा चौधरीले भन्नुभयो, “यो दुलर्भ नै हो ।” उहाँका अनुसार धेरै उमेर पुगेका वृद्धवृद्धामा शल्यक्रिया गर्न धेरै जोखिम हुने भएकाले चिकित्सकले शल्यक्रिया गर्न सुझाव नै दिँदैनन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यो दुलर्भ र जोखिमपूर्ण भए पनि अस्पततालका विशेषज्ञ चिकित्सकले सफल शल्यक्रिया गरेको बताउनुभयो । “हामीले शल्यक्रियाका जोखिमबारे उहाँको परिवारलाई जानकारी दिएका थियौँ,” अध्यक्ष भट्टले भन्नुभयो, “उहाँहरुले शल्यक्रियाका लागि अनुमति दिएपछि अस्पतालको टोलीले काम सफल रुपमा गर्यो ।” वृद्धाका छोरा गोपालबहादुर देउवाका अनुसार गत माघ २५ गते खाटमा बस्ने क्रममा भुइँमा खसेर उहाँको खुट्टा भाँचिएको थियो । “उमेर भइसकेका आमाको अप्रेसन सफल भयो हामी धेरै खुसी भयौँ”, देउवाले भन्नुभयो, “खुट्टाको शल्यक्रियापछि अहिले स्वास्थ्यमा सुधार आएको छ ।” पछिल्लो समय अस्पतालमा विशेषज्ञ चिकित्सक थपिएपछि जटिल प्रकारका शल्यक्रिया महेन्द्रनगरमै हुन थालेका छन् । अस्पतालमा हाल १४ विशेषज्ञ चिकित्सक, १२ मेडिकल अफिसर र छजना डेन्टलले सेवा दिँदै आएका छन् । अस्पतालले स्वास्थ्य सेवा सुधार गरेपछि सामान्य उपचारका लागि पनि यहाँका स्थानीयले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।
काठमाडौं: पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्कनुभएको छ । अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहनुभएका पौडेल आज ‘डिस्चार्ज’ हुनुभएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उहाँलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ । “दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ”, कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ ।” सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्न बन्द गरिएको पनि अस्पतालले जनाएको छ ।
गोरखा: उत्तरी गोरखामा पुन: भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिनुभयो । ‘‘लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो, उहाँले भन्नुभयो ‘‘दुई दिन अगाडि सामान्य हिउँ परेको भए तापनि अहिले परेको हिउँ यो यामनै सबैभन्दा ठूलो हिमपात हो ।’’ नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फ गाउँ साम्दोदेखि तलसम्म रहेको सामागाउँ र स्यालासम्म हिउँ परेको लामाको भनाइ छ । मध्यराति १२ बजेदेखि सुरु भएको हिमपात लगातार परिरहेको छ । साम्दोमा जमिनबाट करिब एक फिटभन्दा माथिसम्म हिउँ जमेको छ । तल स्याँलासम्म हिउँ परेको छ । भारी हिमपातका कारण नुब्री भ्याली, सामागाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ । टेलिफोन र इन्टरनेट सेवामासमेत समस्या भइरहेको लामाले बताउनुभयो । ‘‘सोलारबाट चल्ने टेलिफोन र इन्टरनेट कहिले आउने कहिले जाने भइरहेको छ’ उहाँले भन्नुभयो ‘‘हिउँ पर्न नरोकिदासम्म सबै सेवा प्रभावित हुने देखिन्छ ।’’हिमपातकै कारण शनिबार साँझ त्यसक्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकसमेत समस्यामा परेको पथप्रर्दशक सूर्य खनालले जानकारी दिनुभयो । ‘‘पर्यटकलाई लिएर लार्केपास जानसक्ने अवस्था छैन, उहाँले भन्नुभयो, ‘‘पर्यटकसहित हामी साम्दोको होटलमा आश्रय लिएर बसिरहेका छौं ।’’ मनास्लु पदमार्गको उक्त क्षेत्र भएर मनास्लु हिमाल आरोहण गर्ने तथा लार्केपास गरी मनाङ जाने पर्यटक प्रभावित भएको उहाँको भनाइ छ । यता लामोसमयपछिको हिमपात सुरु भएसँगै स्थानीयवासी खसी भएका छन् । हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयवासी खुसी भएका हुन् । स्याला क्षेत्रका स्थानीय कृषकले यसअघि नै करु रोपेको तर उम्रन नपाएकोले यो हिमपातसँगै करुखेती राम्रो हुने भएकाले खुसी भएका हुन् । त्यस्तैगरी सामागाउँ र साम्दोमा अबको एक महिनापछि खेतीपाती सुरु हुने भएकोले हिउँले जमिन खुकुलो हुने र खेती गर्न सहज हुने लामाले बताउनुभयो । सामागाउँ र साम्दोमा करु, जौ, आलु, फापर र चरुको खेती हुने गर्दछ । चुमभ्याली तर्फभने मौसम मात्र बदली रहेको र अवस्था सामान्य रहेको स्थानीयको भनाइ छ ।
बारा: दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भर्ना गरिएका प्रदीपप्रसाद मण्डललाई निर्घात कुटपिट गरी हत्या गरी फरार अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । कलैयास्थित बारा उद्योग वाणिज्य सङ्घको सभाहलमा परिवारजनद्वारा आइतबार गरिएको पत्रकार सम्मेलनमा कुटपिट गरी भाईको हत्या अभियुक्तमध्येका फरार दुई जनालाई चाँडोभन्दा चाँडो पक्राउ गर्न मृतकका दाजु श्यामप्रसाद धानुकले माग गर्नुभयो । “दोषी नउम्कियोस र निर्दोष नफसोस् भन्ने हाम्रो माग छ । माघ १७ गते नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भाइलाई राखेका थियौँ”, श्यामप्रसाद धानुकले भन्नुभयो । घटनासँग जोेडिएका दुई फरार अभियुक्तलाई पक्राउ गर्न नदिन राजनीतिक चलखेल भइरहेको बताउँदै धानुकले भाइको हत्यामा संलग्न आरोपितलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न माग गर्नुभयो । पुनःस्थापना केन्द्रका सञ्चालक कलैया–३ का साहेबबाबु मन्सुरसहित दुई जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । अनुशासन भङ्ग गरेको आरोपमा शारीरिक सजाय स्वीकार नगर्दा केन्द्रका परामर्शदातासहितले सामूहिक कुटपिट गर्दा कलैया उपमहानगरपालिका–९ का ३२ वर्षीय प्रदीप मण्डलको यही फागुन १ गते राति मृत्यु भएको प्रहरीले जनाएको छ । “मुक्काले अनुहारमा कुटपिट गरिएको सङ्कलित प्रमाणले प्रष्ट भएको छ”, बाराका प्रहरी प्रमुख सन्तोष तामाङले भन्नुभयो, “मध्यरातमा कोठाभित्र कुटपिट गरिएको रहेछ । मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न नमानेपछि कुटपिट गरिएको देखिन्छ ।” मण्डललाई दुई साताअघि परिवारले पुनःस्थापना केन्द्रमा राखेका थिए । पक्राउ परेका सात जनामाथि कर्तव्य ज्यान कसुरअन्तर्गत अदालतबाट सात दिनको म्याद थपको अनुमति लिइ हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुख तामाङले बताउनुभयो । कुटपिट गरिरहेको सिसीटिभीको फुटेज प्रहरीले सुरक्षित राखेको छ । भिडियो फुटेजमा शारीरिक यातना दिन खोजिएको र मृतक ओछ्यानको झुलमा लुक्न खोज्दा तानेर कुटपिट गरिएको दृश्य देखिएको छ । पक्राउपर्नेमा कलैया उपमहानगरपालिका–१ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता, वडा नं २ का २१ वर्षीय परमेश्वर साह, कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, वडा नं ४ का २२ वर्षीय निरज सर्राफ र वडा नं ६ का २० वर्षीय महम्मद आँसु मियाँ वडा नं ३ का २९ वर्षीय तमन्ना मन्सुरल छन् । पुनःस्थापना केन्द्रमा सञ्चालककोतर्फबाट रेखदेख गर्ने र परामर्शदाताबाहेक मण्डलसहित १४ जना बस्दै आएका थिए । यसैबीच मृतकका परिवारजन र आफन्तले फरार अभियुक्तलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै कलैयामा प्रदर्शन गरेका थिए । मृतकलाई महिनाको रु १० हजार दिने सर्तमा सो सुधार केन्द्रमा पठाइएको थियो । मृतकको दुई छोरी र एक छोरा छन् ।
खोटाङ: खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभाइएको हो । आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । सुक्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगो निभाउन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभयो । “आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आंशिक क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ”, उहाँले भन्नुभयो, “आगलागीबाट तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डवेयर तथा ग्यास पसलमा क्षति भएको छ । सबैमा भएको क्षतिको विवरण हेर्दा करिब रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।” आगो निभाउन जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो । पदम राईको घरमा बेलुकाको खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएर सुरु भएको आगो दमकल अभावमा तत्कालै निभाउन नसक्दा ठूलो क्षति भएको स्थानीय सयन्द्र राईले जानकारी दिनुभयो ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछूतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताउनुभएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जातीय विभेदलगायत विषयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले प्रहरी प्रधान कार्यालय र ७७ जिल्लामै यस्तो डेस्क बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आज गृह मन्त्रालय पुगेर समितिका संयोजक लोकबहादुर विश्वकर्मासहितको टोलीले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको थियो गृहमन्त्री लेखकले जातीय विभेद निर्मुल हुनुपर्छ भनेर सरकार पनि लागिपरेको बताउनुभयो । “संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चित हुनेगरी राख्नुपर्छ भन्ने मान्छे हुँ । त्यहीअनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो । जातीय विभेदलाई निर्मुल हुनुपर्छ भनेर म सधैँ लागिपरेको छु”, लेखकले भन्नुभयो । उहाँले निर्वाचनसम्बन्धी ऐनमा महिला र दलितको विषय ज्यादा महत्वका साथ आफूले उठाएको पनि उल्लेख गर्नुभयो ।
पोखरा: नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको अध्यक्ष दिलिप राना मगर सर्वसम्मत चयन भएका छन् । तनहुँको दमौलीमा शनिबार सम्पन्न भएको नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश समितिको तेस्रो अधिवेशनले राना मगरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम बुढा मगर, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, बाह्र भाषिक उपाध्यक्षमा अर्जुन सोती मगर, अठार मगरात भाषिक उपाध्यक्षमा मोहन बुढा मगर, सचिवमा बिजय थापा मगर, सहसचिवमा समिक्षा थापा मगर र कोषाध्यक्षमा कृष्ण अठारे मगर सर्वसम्मत चयन भए । यस्तै सदस्यहरुमा गीता बुढाथोकी मगर, बल बहादुर रोका मगर, चन्द्र बहादुर रोका मगर र साजन गर्जा मगर चयन भए । बाँकी सदस्यीय समितिको पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष दिलिप राना मगरले बताए ।