काठमाडौं:      काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८  स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ ।  दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन्दुरेचौरको माझीबस्ती ...

रामेछाप:    दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको छ । यही भदौ ९ गते (आइतबार) बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले बताउनुभयो ।   उहाँले मङ्गलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको उनका श्रीमान् कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको बताउनुभयो । गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नं ३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये एकजनालाई जीवितै उद्धार गरिएको थियो भने छजनाको शव सोही दिन नै निकालिएको थियो । त्यसपछि एकको शव र हिजो एकजनाको पैतालाको भाग फेला परेपछि मृत्यु हुनेको सङ्ख्या आठ पुगेको हो ।   उक्त पहिरोमा परी हराइरहेका सोहि वडाका ५५ वर्षीय काले पहरी र ५० वर्षीय झ्याइपुरी पहरी अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  पहिरोमा परी सो वडाकी ३० वर्षीया चण्डिका श्रेष्ठ, निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी शव आइतबार नै फेला पारी परीक्षणपश्चात् परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो । 

म्याग्दी:     चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ ।  कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो । स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले गत वर्षदेखि सृजना भएको सिरुबारीको पहिरोले दुःख दिइरहेको बताउनुभयो ।  “करिब एक किलोमिटरमाथिको पाखो बगेको छ”, उहाँले भन्नुभयो “खसेको पहिरो पन्छाउदै सावधानी अपनाएर यातायात सञ्चालन गरिएको छ ।” आकाशबाट पानी पर्नेबित्तिकै पाखोबाट ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खसेर सडकमा थुप्रिन्छ । हिलोमा सवारीसाधन फस्ने, गुुडिरहेका सवारीमाथि ढुङ्गा खस्ने, यात्रीलाई चोटपटक लाग्ने जोखिम छ । यही भदौ ४ गते पोखराबाट बेनी हुँदै जोमसोमतर्फ जाँदै गरेको ग१ख ७७१७ नम्बरको बस सिरुबारीको पहिरोमा गुडिरहेको अवस्थामा ठूलो ढुङ्गा खसेर च्यापिदा दुईजना यात्रा घाइते भएका थिए । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन र जङ्गल नष्ट भएको छ ।   सवारी चालक तम परियारले त्रासैत्रासमा गाडीलाई पहिरो पार गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । सिरुबारी क्षेत्रमा करिब पाँच सय मिटर सडक पहिरोले छियाछिया बनाएको छ ।  मुस्ताङ जिल्ला, म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ ।  सिरुबारी, महभिर, बैसरी, गुइँठेभिरलगायत ठाउँमा पहिरोको उच्च जोखिम भएकाले रातको समयमा यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, रघुगङ्गा, अन्नपूूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अपिल गरेका छन् ।  ती ठाउँमा खस्ने पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक विभागको डोजर, लोडर, ब्याकुहोलोडर तयारी अवस्थामा राखिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रवकुमार झाले बताउनुभयो । पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा दीर्घकालीन समाधानका लागि अध्ययन गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना माग गरिएको उहाँले बताउनुभयो । योजना र बजेटको अभावमा पहिरो रोकथामका लागि दीर्घकालीन काम गर्न नसकेको झाले बताउनुभयो ।

म्याग्दी:     धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट आज साँझ पुन:हिउँपहिरो खसेको छ ।       मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही असोज ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताउनुभयो ।       “यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ”, उहाँले भन्नुभयो, “हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।”      बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । आज साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ ।  यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए । 

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गास्थित भुरुङ्दी खोलामा एक विदेशी नागरिक मृत फेला परेका छन् । खोलामा मृत फेला परेका नागरिक स्पेनका इरिक कासानोभास (पुरुष) रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  आइतबार स्पेनबाट नेपाल आएका इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला)  तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा सम्पर्कबिहीन भएको खुल्न आएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले आइतबार तिखेढुङ्गास्थित मौजाखोला नजिकै गोरेटो बाटोमा २ वटा वेवारिसे झोला भेटिएको सूचनापछि खटिएको प्रहरीको टोलीसहित जनप्रतिनिधि र एक्यापका प्रतिनिधिको रोहबरको झोला हेर्दा स्पेनका नागरिकको भएको खुल्न आएको बताए ।  ‘आइतबार हामीलाई कास्कीको अन्नपूर्ण गाउँपालिका–९ स्थित तिखेढुङ्गास्थित मौजाखोला नजिकै गोरेटो बाटोमा २ वटा वेवारिसे झोला भेटिएको सूचना आएको थियो’, कास्की प्रहरी प्रमुख थापाले भने, ‘वेवारिसे अवस्थामा भेटिएको झोला, प्रहरी, जनप्रनिधि र एक्यापको प्रतिनिधिको रोहबरमा झोला खोली हेर्दा स्पेनका नागरिकको २ वटा पासपोर्टसहित सामान मात्र भेटिएपनि उनीहरु सम्पर्कमा थिएन ।’     यो पनि पढ्नुहोस   घोरेपानी हिँडेका स्पेनिस पर्यटक बेपत्ता उनका अनुुसार वेवारिसे अवस्थामा झोला मात्र भेटिएपछि वरिपरि खोजतलाज गर्ने क्रममा नजिकै रहेको खोला र झरणामा टोपी, टिसर्ट, स्टिक, जिपिएस मात्र फेला परेको बताए ।  आज (मंगलबार) अन्नपूर्ण गाउँपालिका–९ भुरुङ्दी खोलामा कास्की प्रहरी र सशस्त्र प्रहरी बल मालेपाटनबाट खटिएको प्रहरीको टोलीले खोजतलाज गर्ने क्रममा इरिक कासानोभास (पुरुष) मृत फेला परेको उनले बताए ।  सोही स्थानमा बेपत्ता भएका मोलास जुन्का मेसी (महिला) को भने खोजतलाज जारी रहेको प्रहरीले जनाएको छ ।   

पाल्पा:    राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पा सदरमुकाम तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा आज पूजाअर्चना गर्नुभएको छ । साथै उहाँ  रणउजिरेश्वरी भगवती रथ यात्रामा समेत सहभागी हुनुभएको छ । सो अवसरमा प्रथम महिला सविता पौडेलले समेत मन्दिरमा पूजाअर्चना गर्नुभयो ।       रथ यात्राका क्रममा रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख तुलाराम घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको थियो ।      नेपाल अङ्ग्रेज युद्धमा गोर्खाली फौजले जितगढी किल्लाबाट अङ्ग्रेज फौजलाई पराजित गरेको अवसरमा भाद्र कृष्ण अष्टमीको भोलिपल्ट सिन्दूर यात्राका रुपमा रथयात्रा निकालिने परम्परा छ । विसं १८७७ देखि मनाउँदै आएको रथ यात्रा दुई सय पाँचौँ पटक मनाइँदैछ ।      तानसेन नगरपालिका–३ को भगवती टोलमा रहेको भगवतीको मन्दिरबाट रथ यात्रा निकालिने परम्परा रहेको भगवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष अशोक महर्जनले जानकारी दिनुभयो । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट यहाँ हरेक वर्ष रथ यात्रा निकालिँदै आइएको छ ।      नेपालले अङ्ग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा पाल्पामा विजयउत्सव स्वरुप यहाँ हरेक वर्ष रथयात्रा निकालिँदै आइएको छ ।  नेपाली सेनाले सलामी दिएर तीनपटक मन्दिर परिक्रमा गराएपछि भगवती रथ यात्रा निकालिने परम्परा छ । यसलाई भगवती जात्रा, रथ यात्रा अर्थात् सिन्दूर जात्राका नामले पनि चिनिन्छ ।  भगवतीको मन्दिरबाट शुभ साइतमा निकालिएको भगवती जात्रा (रथ यात्रा) लाई शीतल पार्टीको मूल ढोकाबाहिर निकालेपछि सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारीबाट पूजा गरी बलि दिइने चलन छ ।  पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा १८७७ सालदेखि निरन्तर रुपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आइएको छ ।  विद्यालय एवं विभिन्न सङ्घसंस्थाको उपस्थितिमा निकालिने भगवती जात्रा (रथ यात्रा)लाई भजनकीर्तन, पञ्चेबाचा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगी विसर्जन गरिने बताइएको छ । 

सोलुखुम्बु:    सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ ।  गत साउन ३२ गते थामेमा आएको बाढीमा फसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय प्रहरी निरीक्षकसहित १३ जनालाई आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो ।  पुरस्कृत हुनेमा प्रहरी निरीक्षक लक्ष्मण गिरी, प्रहरी सहायक निरीक्षक खेमराज खतिवडा, प्रहरी वरिष्ठ हवल्दार दीपककुमार कटुवालसहित रहेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरकानुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी हवल्दार तीन, प्रहरी सहायक हवल्दार दुई र चारजना प्रहरी जवान रहेका छन् । उच्च हिमाली भेगमा आएको प्राकृतिक विपत्तिमा जनधनको क्षति न्यूनीकरणमा सक्रिय रूपमा निर्वाह गरेकाले नेपाल प्रहरीको अभिलेख रहने गरी पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।  “बाढीपीडितको उद्धार, जोखिम न्यूनीकरण, सूचना आदानप्रदान, तल्लो तटीय क्षेत्रमा सचेतना जगाउनेलगायत कार्यमा अत्यन्त कुशलतापूर्वक काम गरेकाले उहाँहरूलाई पुरस्कृत गरिएको हो”, उहाँले भन्नुभयो ।   पुरस्कारले उच्च मनोबलका साथ राष्ट्रको सेवामा लाग्न थप प्रेरणा मिलेको पुरस्कृतमध्येका प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।  गत साउन ३२ गते दिउँसो १ः३० बजे सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमपहिरोले गेग्रान र ढुङ्गासहित गएको बाढीले एक विद्यालय, एक स्वास्थ्य चौकी, दुई होटल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रूपमा क्षति भएको थियो भने ९५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । फुटेको हिमताल थामे बजारबाट करिब नौ किलोमिटर टाढा छ ।

नेपालगञ्ज:     नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।  उहाँकानुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार रहेका छन् । बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।  बर्दियाका एक जना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ ।  ती व्यापारीले नेपालगञ्जबाट सामान किनेको बताएको र  बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउन्भयो। 

म्याग्दी:     म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन ।   अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रुपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको रु एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन भएको हो ।       अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले तातोपानी कुण्ड छेउमा रहेको बेनी–जोमसोम–कोरला सडकको नक्साङन टुङ्गो  लगाउन भएको ढिलाइका कारण पर्यटकीय पूर्वाधार निर्माणका लागि भित्रिएको बजेट र योजना कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । भुरुङ–तातोपानी पूर्वाधार निर्माण शीर्षकमा आर्थिक वर्ष २०७९÷८० मा रु ८० लाख र २०८०÷८१ मा प्राप्त भएको रु ५० लाख बजेट कार्यान्वयन नभएको हो ।       “यसअघिका दुई आवमा बजेट आए पनि बेनी–जोमसोम–कोरला सडक आयोजनाले कताबाट सडक बनाउने भन्ने टुङ्गो नलगाएपछि तातोपानी कुण्डमा पूर्वाधार बनाउन सकिएन”, उहाँले भन्नुभयो, “सडक आयोजनाले अहिले तातोपानी कुण्ड मुनी कालीगण्डकी नदीको किनारै किनार सडक बनाउने नक्शाङ्कन टुङ्गो लगाएको छ ।” तर सङ्घीय सरकारले यसपाली भुरुङ तातोपानीको पूर्वाधार योजनाका लागि बजेट र योजना कटौटी गरेको छ ।       जमिनभित्रको मुहानबाट करिब ५० डिग्री तापक्रममा निस्कने प्राकृतिक तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धारामा स्नान गर्न सकिने भुरुङ–तातोपानी पूर्वाधार अभावमा व्यवस्थित बन्न सकेको छैन । खुला आकाशमुनि रहेको कुण्डमा घाम र पानी छेक्ने छानो छैन । खुला रुपमा धारामा स्नान गर्नुपर्छ । कपडा, सामग्री राख्ने र कपडा फेर्न व्यवस्थित ठाउँ आवश्यक छ । सवारीसाधन पार्किङ गर्ने ठाउँ छैन ।       तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुने जनविश्वास छ । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने आउने पर्यटकका लागि भुरुङ–तातोपानीलाई थकान मेटाउने विश्रामस्थल हो । मुस्ताङको चिसो हावापानीबाट आएका तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् ।       यसअघि कुण्डको कुनातर्फबाट खोलीएको बेनी–जोमसोम–कोरला सडक विस्तार गरेर ११ मिटर फराकिलो बनाउँदा कुण्डको मुहान र पोखरी पुरिने भएकाले नक्शाङ्कन परिवर्तन गर्न स्थानीयवासी, जनप्रतिनिधि र सरोकारवालाले माग गरेका थिए । तातोपानीको मुहान र पोखरीलाई असर नपर्ने तथा कालीगण्डकी नदीको कटान पनि नियन्त्रण हुने गरि कुण्डमुनिबाट सडकको नयाँ नकङ्कन गरिएको छ ।        अन्नपूर्ण अध्यक्ष भारतकुमार पुनले नयाँ नक्शाङ्कन अनुसार भुरुङ–तातोपानी कुण्ड क्षेत्रमा सडक स्तरोन्नतिका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनालाई ताकेता गरिएको बताउनुभयो । सङ्घीय सरकारले पठाएको बजेट कार्यान्वयन हुन नसके पनि गाउँपालिकाको स्रोतबाट तातोपानी कुण्डमा पूर्वाधार निर्माण गरेर व्यस्थित गरिने उहाँले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले भुरुङ–तातोपानी क्षेत्रमा बाँकी रहेको सडक स्तरोन्नतिका लागि ठेक्का आह्वानको तयारी गरेको जनाएको छ । 

काठमाडौं:    पछिल्ला दिनमा फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले प्रविधिको नवीनतम उपहारका रुपमा रहेको ड्रोनको अत्यधिक प्रयोग गर्न थालेका छन् । विवाह उत्सव तथा अन्य सार्वजनिक जमघटमा ड्रोन नभए खल्लो महसुस हुन थालेको छ ।       आकर्षक र गुणस्तरीय तस्बिर, भिडियो खिच्नेको सौख बन्दै गएको ड्रोनको प्रयोग र बिक्री वितरणमा देखिएको लहरले मानिसका चाहनालाई थप प्रतिम्बित गरिदिएको छ । यस्तै ठूलादेखि साना आयोजनाको सर्वेक्षण तथा अन्य प्राविधिक कामका लागि पनि ड्रोन अपरिहार्य जस्तै बनेको छ । जलविद्युत् आयोजनाको सामान्यभन्दा सामान्य कामलाई सहज तुल्याउन प्रवर्द्धकले यसमा विशेष ध्यान दिएका छन् ।      पदयात्रामा जाने पर्यटक, खोज तथा अध्ययनकर्ता एवं जिज्ञासुले पनि अनुमति लिएर यसको प्रयोग गरिरहेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथामा फोहर सङ्कलनका लागि उच्च क्षमताको ड्रोन प्रयोग गर्ने गरी सफल परीक्षण भइसकेको छ ।      प्रविधिमा आएको परिवर्तनले मानव जीवनमा सहज प्रभाव पार्दछ भन्ने खास उदाहरण बनेको छ ड्रोन । भीडभाड हुने मेला पर्व, जात्रा तथा राजनीतिक पार्टीका आमसभा एवं जटिल स्थानका तस्बिर तथा भिडियो खिच्नका लागि प्रयोग हुने ड्रोनको सुरक्षित उडान र अवतरण गराउनु पनि उत्तिकै आवश्यक छ ।      त्यसमा विशेष सीप र क्षमताको आवश्यकता पर्दछ ।  प्रविधिको प्रयोग गरेर आम पाठक तथा स्रोतालाई गुणस्तरीय तस्बिर र भिडियो उपलब्ध गराउनका लागि महत्वपूर्ण साधनको रुपमा विकास भएको ड्रोन मर्मत सम्भार गर्ने जनशक्ति भने नेपालमा असाध्यै कम छन् ।      आममानिसको आवश्यकता जस्तै बनिसकेको ड्रोन प्रयोग गर्दा कहिलेकाही दुर्घटनामा पनि पर्न सक्छ । अनावश्यक खराबी आउन सक्छ । त्यस्तो अवस्थामा मर्मत सम्भार गरेर पूर्ववत् अवस्थामा फर्काउने जनशक्तिको अभाव हुँदा यसका प्रयोगकर्ता खिन्न हुने अवस्था थियो केही वर्ष पहिले ।  त्यसका लागि आवश्यक जनशक्ति तयार पार्न सरकार र निजी क्षेत्रले पनि खास ध्यान नदिएको अवस्थामा स्वपहलमा नै ड्रोन मर्मत केन्द्र खोलेर देशभित्रै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण  बन्नुभएको भक्तपुरका राजकुमार तिमिल्सिना ।      सिंहदरबारको पूर्वी गेट । आम मानिसले नाम नभएको नगरका रुपमा अनामनगरलाई चिन्छन् । “देशभित्रै अनगिन्ती रोजगारीको अवसर छ । सामान्य पैसा कमाउनका लागि विदेशिनु पर्दैन”  भन्ने सन्देश दिँदै राजकुमारलाई यतिबेला ड्रोन मर्मत गर्न भ्याइ नभ्याइ छ भन्दा अत्युक्ति हुँदैन ।        स्वदेशी तथा विदेशी उहाँलाई खोज्दै अनामनगर आइपुग्छन् । आफ्नो कामको प्रचार प्रसार सामाजिक सञ्जालमार्फत गर्न सिपालु राजकुमार ड्रोन मर्मतको भिडियो खिचेर फेसबुक, टिकटक र युट्यबमा राख्नुहुन्छ । त्यसबाट धेरै फाइदा भएको राजकुमार बताउनुहुन्छ । सामाजिक सञ्जालबाट प्राप्त हुने सकारात्मक सन्देश नै प्ररेणाको स्रोत बनेको छ रे उहाँलाई ।         देशभित्र अवसर नभएको, रोजगारी नपाएको तथा काम छैन भन्दै गलत भाष्य निर्माण गरेर विदेशिने जमात बढिरहेको बेला राजकुमार भने स्वअध्ययनका आधारमा नेपाली युवालाई सकारात्मक सन्देश दिइरहनुभएको छ ।  “सामान्य काम भनेर हेला नगरौँ । यस्तो प्राविधिक काममा धैर्यता, मेहिनत र लगनशिलता जरुरी पर्छ । परिवारको साथमा बसेर राम्रै कमाइ गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “पैसा हावामा उडेको छ भन्दा धेरैले पत्याउँदैनन् । काम खोज्न खाडी मलेसिया र कोरिया जानै पर्दैन ।”           ड्रोन मर्मतको काम आफूले मात्रै नगरेको अरुलाई पनि सिकाएको स्पष्ट पार्दै बताउँदै राजकुमारले भन्नुभयो, “सीप सिकौँ, दक्ष बनौँ, अवसर तपाईलाई खोज्दै आइपुग्छ । कही कतै जानै पर्दैन ।” हालसम्म १० जनालाई मर्मतको सीप सिकाएको जानकारी दिँदै राजकुमारले भन्नुभयो, “मासिक रु एक लाखदेखि रु तीन लाखसम्म सहजै कमाइ गर्न सकिन्छ ।”        अनामनगरमा उहाँले कार्यस्थलको नाम राख्नुभएको छ चण्डेश्वरी क्यामरा मर्मत केन्द्र ।  विगत १४ वर्षदेखि भिडियो क्यामेरा मर्मत  गर्दै आउनुभएका तिमिल्सिना पछिल्ला दिनमा भने ड्रोन मर्मतलाई आफ्नो विशेष पेशा बनाएको बताउनुहुन्छ । फोटोग्राफी, भिडियोग्राफीमा ड्रोनको प्रयोग बढ्दै गएपछि मर्मत सम्भार गर्ने स्थानको अभाव हुन थाल्यो । त्यो अभावलाई सामान्य रुपमा भए पनि पूर्णता दिन पाउँदा आफूलाई धन्य ठानेको उहाँको भनाइ छ ।        भिडियो क्यामेरा मर्मतका क्रममा विभिन्न टेलिभिजन स्टेशनमा गए पनि काम गरेको पारिश्रमिक नपाएपछि ड्रोनलाई नै खास समय दिएको उहाँले सुनाउनुभयो । नाम चलेका टेलिभिजनले नै पारिश्रमिक दिन कन्जुस्याई गरेकोे अमिलो स्मरण छ उहाँमा । “आफूले जानेको काम छाडेको त छैन, तर मुख्य काम भने यतिबेला ड्रोन मर्मत नै बनाएको छु । यसबाट सबैभन्दा बढी सन्तुष्टि मात्रै मिलेको छैन । कमाई पनि राम्रो भएको छ” उहाँले भन्नुभयो ।         महँगोमा खरिद गरेको ड्रोनमा सामान्य समस्या आउँदा पनि मर्मत गर्ने स्थानको अभाव हुँदा त्यत्तिकै थन्क्याउनुपर्ने बाध्यता थियो ।  ड्रोन बनाउन जान्ने दक्ष जनशक्ति कम हुदाँ महँगो मूल्यको ड्रोन कहाँ बनाउने भन्ने तनाव प्रयोगकर्तामा पनि उत्तिकै थियो ।  उहाँलाई यतिबेला ड्रोन मर्मतको कामले भ्याइ नभ्याई छ । देशभरका ड्रोन प्रयोगकर्ताको एकमात्र भरोसाका रुपमा आफूलाई पाएको उहाँ दावीका साथ भन्नुहुन्छ । आजकल चण्डेश्वरी क्यामरा मर्मत केन्द्र राजकुमार ड्रोन हाउसबाट चिनिन थालेको छ ।      नेपालमा विसं २०७२ को भूकम्पपछि ड्रोन किन्ने र प्रयोग गर्नेको सङ्ख्या ह्वात्तै बढ्यो । यो १० वर्षको अवधिमा विवाह, व्रतबन्ध, वृत्तचित्र निर्माण, निजी तथा सरकारी कार्यक्रमदेखि ‘भ्लग’ बनाउन ड्रोनको अत्यधिक प्रयोग भएको छ । प्रयोग बढ्दै जाँदा मर्मतको काम उत्तिकै बढेको छ ।        तिमिल्सिना भन्नुहुन्छ, “सक्कली समानको ग्योरेन्टीसहित ग्राहकको अगाडि नै मर्मत गर्ने गरेको छु । क्यामरा र भिडियो क्यामरामा लामो समयदेखि मर्मतको काम गरेकोले ड्रोन बनाउन मलाई धेरै समय नै लाग्दैन ।”          देशैभरबाट मर्मतको लागि ड्रोन प्राप्त हुने गरेको उहाँको भनाइ छ । दैनिक तीनदेखि चार वटा ड्रोन मर्मतका लागि आइपुग्छ । अन्य स्थानमा नजानेका मानिसले मर्मतको नाममा बिगारी दिए भन्नेदेखि अब बन्दैन भनेका धेरै ड्रोन मर्मत गरेको उहाँको  दाबी छ ।        क्यामरा मर्मतबाट व्यवसाय सुरु गर्नुभएका तिमिल्सिना ड्रोन मर्मतको विज्ञका रुपमा चिनिनु भएको छ । नयाँ क्षेत्र भएकोले आम्दानी राम्रै हुने गरेको छ । प्रयोग बढ्दा स–सानो प्राविधिक समस्या आउनु स्वभाविक नै छ । छिटो मर्मत गर्नुपर्ने हुन्छ । खासमा मर्मत गर्न जान्ने दक्ष जनशक्तिको अभाव नै छ । कतिपयले चलाउन नजान्दा वा दुर्घटनामा पर्दा बिग्रिने गरेको छ । खासमा दुर्घटना भयो भने ड्रोनमा धेरै समस्या आउँछ ।        पछिल्लो युवा पुस्ता प्राविधिक क्षेत्रमा खासै रुची देखाउँदैनन् । नेपालमै केही गर्नेभन्दा पनि अध्ययनको नाममा वैदेशिक रोजगारीमा जाने लहडका कारण अथाह सम्भावना र राम्रो कमाई हुने यस क्षेत्रमा जनशक्तिको अभाव छ ।        राजकुमार सुरुमा त्रि–चन्द्र कजेलमा साइन्स पढ्न भर्ना हुनुभएको थियो । तर उहाँलाई विषय लाग्यो । उहाँलाई त्यसमा पढ्नै मन लागेन ।  विषय लागेपछि टेलिभिजन ममर्तको काम सिक्न अनामनगर आएको थिए । त्यो दिन मेरा लागि रुचीकर थिएन । तर, आज नाम र दाम दुवै प्राप्त हुँदा सही निर्णय गरिएछ भन्ने लागेको छ रे उहाँलाई ।        विज्ञान पढन गएको छोरो अनुत्तीर्ण भएर फर्केपछि उहाँलाई घरमा बुवाले चित्त दुखाएर भन्नुभयो, “यसले गरिखाँदैन, अब तँ विदेश जाँ ।” पढाइ पनि छैन, काम पनि छैन, विदेश जानुबाहेक अरु कुनै विकल्प नभएको बेला आफू संयोगले क्यामेरा र टेलिभिजन मर्मतका लागि अनामनगर आइपुगेको स्मरण गर्नुहुन्छ तिमिल्सिना ।          “जब मलाई प्रविधि क्षेत्र र मर्मतको काममा रुची बढ्यो, तब मैले विज्ञानलाई अर्कै तरिकाले अध्ययन गर्ने सोच बनाए । खास अध्ययन भने मानविकी तर्फ सारे । काम भने यही मर्मतलाई नै बनाए । यसैलाई खास पेसाका रुपमा रुपान्तरण गरे”,  विगत सम्झदै तिमिल्सिनाले भन्नुभयो ।          “सुरुमा टेलिभिजन मर्मतको धेरै नै माग थियो । त्यही सिके र जाने पनि” त्यसपछि क्यामरा, भिडियो क्यामरामा तर्फ लागेको उहाँको भनाइ छ ।  क्यामरा र भिडियो क्यामरा मर्मतबाट राम्रो आम्दानी हुन थाल्यो । अनामनगरको त्यही सटर जहाँ १४ वर्षदेखि तिमिल्सिनाको काम लगातार चलिरहेको छ । जहाँबाट काम सुरु गर्नुभएको थियो । त्यही स्थानलाई ड्रोन हाउसको नाम दिएको उहाँको भनाइ छ । भिडियो क्यामेरा मर्मतका लागि लोकप्रिय बनेको अनामनगरको उहाँको सटरले आजकल नयाँ नाम पाएको छ ड्रोन हाउस ।        व्यावसायिक फोटो भिडियो ग्राफर, फोटो÷भिडियो पत्रकार, फोटो स्टुडियोका सञ्चालकले आफनो सामान मर्मत गर्ने सेन्टर बनेको छ उहाँको सटर । अझ पछिल्लो समय ड्रोनको मर्मतको कामले उनलाई फुर्सद नै छैन ।        मानविकी सङ्कायबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेपछि राजकुमारलाई अन्य पेसामा जान मन लागेन । पढेपछि सरकारी र अन्य स्थानमा जागिर खाने सोच धेरैको भए पनि उहाँले प्राविधिक क्षेत्रमा नै आफ्नो भविष्य देखेको सगौरव बताउनुभयो ।  अहिले नाम दाम दुवै कमाएको भन्दै उत्साहित देखिनुभएका उहाँले विदेश दौडन खोज्ने युवालाई सुझाव दिनुहुन्छ, “किन जाने विदेश यहाँ अवसरै अवसर छ । पैसा नै पैसा छ ।” यही मर्मतको काम गरेर उहाँले घर–घडेरी जोड्नु भएको छ । पढेर काम पाइएन भनेर विदेश जाने युवा पुस्तालाई उहाँको सन्देश छ “विदेशमा गर्ने मेहिनत र जान लाग्ने पैसा नेपालमै प्राविधिक क्षेत्रमा लगानी गर्ने हो भने विदेशमा भन्दा बढी पैसा नेपालमै कमाइन्छ ।”   यसरी गर्नुस् ड्रोनको सुरक्षित प्रयोग        फोटोग्राफी वा भिडियोग्राफीका लागि ड्रोनको प्रयोग गर्नेहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा त्यसको सुरक्षित प्रयोग गर्नु उत्तिकै जरुरी छ । तिमिल्सिनाका अनुसार आकर्षक भिडियो तथा फोटोका लागि ड्रोन उडाउने गरिन्छ ।  सरकारसँग अनुमति लिएर नियम पालना गर्दै ड्रोन उडाउनुपर्ने उहाँको सुझाव छ । “जथाभावी अनुमति नै नलिई हतारमा लुकेर ड्रोन उडाउँदै नउडाउनुस् । यससँगै ड्रोन सुरक्षित राख्न पनि केही कुरा ख्याल गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।       उहाँले ड्रोनको सुरक्षित प्रयोग कसरी गर्ने भन्ने बारेमा आफ्ना केही सुझाव दिनुभएको छ । बजारमा विभिन्न ब्रान्डका ड्रोन पाइन्छन् । निर्माता कम्पनीले उपलब्ध गराएको म्यानुअल पढेर मात्रै ड्रोन चलाउन थाल्नु पर्छ । यसमा ड्रोनको मोडल र यसलाई चलाउने तरिकाबारे धेरै कुरा उल्लेख गरिएको हुन्छ ।        यस्तै प्रि–फ्लाइट हरेक फ्लाइटअघि परीक्षण गर्नुस् । कुनै क्षति, नटबोल्ट लुज भएको, कुनै पार्टस् नचलेकोलगायत समस्या पहिल्यै थाहा हुन्छ । कहिल्यै पनि ब्याट्री ओभर चार्ज गर्नुहुन्न । यस्तै चार्ज अफ हुने गरी पनि राख्नुहुन्न ।  कम्पनीले दिएको निर्देशनअनुसार भोल्टेज लेभल मिलाएर राख्नुपर्छ ।        ड्रोनलाई फोहोर र धुलोबाट जोगाउनुपर्छ । मोटर्स, प्रोपेलर्स वा अन्य ठाउँमा भएका धुलो र फोहोरलाई हटाउन नरम ब्रसको प्रयोग गर्न सकिन्छ । तर, इलेक्ट्रोनिक्स पार्टस् नबिग्रियोस् भन्नेमा सतर्क रहनुपर्छ । तपाईंको ड्रोनमा गिम्बल छ भने यसलाई होसियारीपूर्वक चलाउनुपर्छ । गिम्बल र क्यामेरा लेन्सलाई माइक्रोफाइबर कपडाले नियमित सफा गर्नुपर्छ । ता कि फुटेज क्लियर आओस् ।        डोनलाई सीधा घामको प्रकाश पर्ने ठाउँमा राख्नु हुन्न । यसलाई फोहोर धुलोबाट जोगाउन सुरक्षित केस वा ब्यागमा राख्नुपर्छ । ता कि एक ठाउँबाट अर्को ठाउँमा लग्दा पनि कुनै फरक नपरोस् । ड्रोनको सेन्सर, कम्पास, आइएमयू (इनर्सियल मेजरमेन्ट युनिट) लाई कम्पनीले दिएको सिफारिसअनुसार मिलाउने गर्नुपर्छ । यसो हुँदा उडान राम्रो हुन्छ । कस्तो वातावरणमा ड्रोन उठाउने भन्ने पनि ख्याल गर्न जरुरी छ । तीव्र हावा चलेको, हिउँ परिरहेको, पानी परिरहेको, झरना आसपास ड्रोन उठाउँदा बिग्रने जोखिम रहन्छ । निषेधित क्षेत्रमा ड्रोन उडाउँदा सिज पनि हुन सक्छ ।        हरेक उडानपछि ड्रोनको अवस्था जाँच गर्नुपर्छ ।  कुनै समस्या देखिए वेलैमा मर्मत गर्नुपर्ने हुन्छ । यदि कुनै प्राविधिक समस्या देखिएमा, त्यस समस्याका विषयमा थाहा नभएमा  प्राविधिक वा विज्ञसँग परामर्श, मर्मत केन्द्रमा मर्मत गर्नुपर्ने हुन्छ ।        तिमिल्सिनालाई इजरायल, अमेरिका र भारतबाट ड्रोन मर्मतका लागि बोलावट आएको र उतै बस्ने प्रस्ताव पनि आएको थियो । तर देशभित्रै दक्ष जनशक्ति तयार गर्ने र थप अवसर सिर्जना गरी देशभित्रै बस्ने मनसायका साथ जस्तोसुकै प्रस्ताव आएपनि स्वीकार नगर्ने उहाँले बताउनुभयो ।   पाँच सय बढी ड्रोन उडानका लागि दर्ता        नेपालमा हालसम्म पाँच सय बढी ड्रोन उडानका लागि दर्ता भएका छन् । सरकारी, निजी तथा व्यक्तिगत रूपमा नेपालमा ल्याइएका मध्ये ती सङ्ख्यामा ड्रोन दर्ता भएको नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ । पाँच सय ड्रोन दर्ता भएकामा एक सय वटा त सरकारी कार्यालयले ड्रोन दर्ता गराएका छन् ।        दर्ता भएपछि प्राधिकरणले एउटा युनिक आइडेन्टिफिकिशेन नम्बर’ उपलब्ध गराउने गरेको छ । देशभित्रै खरिद गरेको भए मूल्य अभिवृद्धि कर (भ्याट) बिल र विदेशबाट ल्याएको भए भन्सारसहितको बिल पेस गर्नुपर्ने व्यवस्था छ । दर्ता भइसकेपछि प्राधिकरणले उपलब्ध गराएको ‘ युनिक आइडेन्टिफिकिशेन नम्बर’ ड्रोनमा सुरक्षितसाथ टाँस्नुपर्छ ।        कूल २५० ग्राम वा सोभन्दा कम तौल भएका ड्रोन दुई सय फिटसम्म उडान गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ । दुई सय ५० भन्दा बढी तौल भएमा गृह मन्त्रालयसँग अनुमति लिनुपर्छ । सुरक्षा निकायले ड्रोन उडान गर्दा सम्बन्धित मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ । २५ केजीभन्दा बढी तौलको ड्रोन उडान गर्दा तेस्रो पक्ष बीमा अनिवार्य छ ।        विमानस्थलभित्रको पाँच किलोमिटर वरिपरि ड्रोन उडान गर्न पाइँदैन । अन्तर्राष्ट्रिय सीमा क्षेत्रको पाँच किलोमिटर भित्रमा पनि उडान गर्न पाइँदैन । पर्यावरणीय र जैविक महत्वको दृष्टिले संरक्षित क्षेत्र, आरक्ष तथा खनिज क्षेत्रका स्थानमा ड्रोन उडान गर्न पाइँदैन ।         सुरक्षा कारबाही भइरहेको दङ्गाग्रस्त क्षेत्र, सङ्घीय, प्रदेश र स्थानीय सरकारले समय–समयमा सूचनामार्फत जानकारी गराइएको क्षेत्रमा उडान गर्न मिल्दैन । सैनिक वा सुरक्षा निकायको मुख्यालय, तालिम केन्द्र अवस्थित क्षेत्रको एक हजार मिटर र अन्य सुरक्षा एकाइ रहेको पाँच सय मिटरको आसपासमा उडान गर्न पाइँदैन ।        काठमाडौँ उपत्यकाभित्र माइतीघर मण्डला, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, बुढानिलकण्ठ, दरबार स्क्वायर क्षेत्र (काठमाडौँ, भक्तपुर र ललितपुर)  लगायतका धार्मिक तथा सम्पदा क्षेत्रमा उडान गर्न पाइँदैन ।  सिंहदरबार क्षेत्र, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री कार्यालय वा विशिष्ट पदाधिकारीको कार्यालय वा निवास वरपरको एक हजार मिटर वरपर उडान गर्न पाइँदैन । उपत्यका बाहिर स्थानीय प्रशासन वा अधिकार प्राप्त निकायले निर्धारण गरे अनुसारका धार्मिक, पुरातात्विक ऐतिहासिक वा नियन्त्रित घोषणा गरिएका क्षेत्रमा उडान गर्न पाइँदैन ।        खासगरी, पछिल्ला दिनमा कृषि क्षेत्रमा ड्रोनको प्रयोग हुन थालेको छ । सगरमाथा खुम्बु क्षेत्रमा फोहोर संकलनका लागि चिनियाँ ड्रोन निर्माता डीजेआई (दा जियांग चुआंगसिन) ले खुम्बु पासाङल्हामु गाउँपालिकासँग सहकार्य गरी सफलतापूर्वक परीक्षण गरिसकेको जनाएको छ ।        सो कम्पनीले सगरमाथाको नेपाल तर्फको आधार शिविरबाट ड्रोनको परीक्षण उडान गरेको जानकारी दिएको छ । योसँगै उच्च उचाइमा पर्वतारोहण, आपतकालीन उद्धार र पर्यावरण संरक्षणमा सहजीकरण गर्ने बाटो खुलेको छ । यसबाट पनि ड्रोनको प्रयोगमा बढोत्तरी हुँदै गएको सहजै अनुमान गर्न सकिन्छ । सुरक्षित उडानका अलावा यसको संवेदनशिलतालाई ख्याल गरेर अगाडि बढ्नु नै आजको उत्तम विकल्प हो ।