काठमाडौं: नीति अनुसन्धान प्रतिष्ठान र नेपाल उद्योग परिसङ्घबीच नीतिगत विषयमा सहकार्यको समझदारी भएको छ । नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिँदै आएको प्रतिष्ठान र उत्पादनमूलक एवं सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्था परिसङ्घबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो । समझदारीपत्रमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष लेखनाथ शर्मा र परिसङ्घको तर्फबाट महानिर्देशक घनश्याम ओझाले बिहीबार हस्ताक्षर गर्नुभयो । हस्ताक्षरपछि उहाँहरूले प्रतिष्ठान र परिसङ्घको सहकार्यबाट समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर: सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । निजको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन् ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट अस्वस्थ भएका छन् । साताव्यापी लामो सुदूरपश्चिम भ्रमण गरी फर्किएका भट्टलाई चिसोको कारण श्वासप्रश्वासमा समस्या भएपछि महेन्द्रपुल स्थित ॐ हस्पिटलमा भर्ना गरिएको प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए । ‘स्याङ्जाको सिरूबारी लगायत ठाउँका विभिन्न कार्यक्रममा २ दिन सहभागी भएपछि गृहप्रदेश सुदूरपश्चिम जानुभएको थियो’, अधिकारीले भने ‘कैलाली, डोटी र डडेलधुरामा एक साता लामो कार्यक्रममा सहभागी हुनुहुँदा चिसोले समस्या भएको हो ।’ प्रदेश प्रमुख भट्टलाई विहीबार साँझ ॐ हस्पिटल, महेन्द्रपुलमा भर्ना गरिएको छ । बरिष्ठ छाती रोग विशेषज्ञ डा। सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीले उपचार गरेका छन् । ‘खोकी लागिरहेपछि अस्पताल आउनुभएकोमा निमोनिया देखिएको छ । केही दिन निगरानीमै राखेर उपचार गरिनेछ ।’डा. आचार्यले भने । यसैबीच, उपचाररत प्रदेश प्रमुखको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार बिहान पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारी अस्पताल पुगेका छन् । नेकपा एमाले गण्डकी सचिव धनञ्जय दवाडी र नेता माधव बास्तोलाले पनि अस्पताल पुगेर प्रदेश प्रमुखलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।
पर्सा: भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी ९केआइआइटी० मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् । केआइआइटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबार बेलुका एक सय ५९ जना विद्यार्थी रक्सौल हुँदै स्वदेश आएका हुन् । बिहीबार बेलुका नै वीरगञ्जका युवाले लम्साल र सिरहामा बलात्कारपछि ज्यान गुमाएकी रिन्कु सदाले न्याय पाउनुपर्ने माग गर्दै मैनबत्ती जुलुस निकालेका थिए । लम्साल र सदाको अस्वाभाविक मृत्यु भएकाले न्यायिक छानबिन हुनुपर्ने उनीहरूको माग छ ।
काठमाडौं: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।, सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौं: आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो । सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । यद्यपि संयुक्त राष्ट्रसङ्घको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो । आज भाषाहरूले विकास, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न पेरिसस्थित युनेस्कोको प्रधानकार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृति प्रदर्शन’ लगायत विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय मातृभाषा दिवस रजत जयन्ती समारोह मनाइँदैछ । युनेस्कोका अनुसार उक्त समारोह सबैका लागि गुणस्तरीय शिक्षा, समावेशी समाज निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, दिगो विकासमा विज्ञान र प्रविधिको उपयोग एवं बहुभाषिकता र बहुसांस्कृतिकता प्रवर्द्धनमा केन्द्रित हुनेछ ।
कञ्चनपुर: स्वदेशमै रोजगारी नपाइएपछि कृष्णपुर नगरपालिका– २ गुन्यालफाँटाका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका छन् । जीविकोपार्जनका लागि केही सीप नचलेपछि बालबच्चा बोकेर भारततर्फ लागेका हुन् । परम्परागत पेसा–व्यवसाय विस्थापनमा परेपछि वैकल्पिक रूपमा मजदुरी गर्दै आएका बादी परिवारले त्यो पनि नपाएपछि बाध्य भएर भारतमा दरवान र कुल्ली भएर काम गर्दै आएका छन् । बीस बढी परिवार कामको खोजीमा भारततर्फ लागेको बादी अगुवा पदम राना ९बादी०ले बताउनुभयो । “परम्परागत पेसाका रूपमा माटोबाट हुक्का, सुल्पा, गाग्री, फूलदानी, गमला, धुपदानीलगायत सामग्रीसँगै मादल बनाउँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “वन क्षेत्र संरक्षित गरिएपछि माटो ल्याउन पाइएन, माटाका सामानको तुलनामा प्लाष्टिकका सामानको प्रचलन बढी चल्न थालेपछि पेसा पलायन हुनुपरेको छ ।” ठूलो रूपमा उत्पादन गरी बजारमा बिक्री गर्न पुँजी अभाव भएकाले परम्परागत पेसा पूरै ओझेलमा परेको उहाँले बताउनुभयो । बादी समुदायको परम्परागत पेसा जोगाउन सरकारी तवरबाट अनुदानलगायत कार्यक्रम सञ्चालन हुन नसकेकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । “माटोबाट विभिन्न सामग्री उत्पादन गरी भारतीयहरूले मनग्य आम्दानी गर्दै आएका छन्”, दुरादेवी कुमालले भन्नुभयो, “परम्परागत सीप भए पनि पुँजी छैन, माटोको कार्य गरे समाजमा नराम्रो तरिकाले हेर्ने गरिनाले पनि पुरानो पेसालाई तिलाञ्जली दिनुपरेको छ ।” परम्परागत पेसा छाडेपछि विकल्पमा कृषि, यातायात र निर्माण क्षेत्रमा मजदुरी गरेर केही वर्ष साँझबिहानको छाक टार्दै आएका थिए । कोरोना महामारीपछि त्यो मजदुरी पनि खोसियो । त्यसपछि काम पाउन मुस्किल हुन थालेपछि परिवारसहित बस्तीका व्यक्ति भारततर्फ पलायन भएको उहाँले बताउनुभयो । “बस्तीमा घरबासका लागि छ धुर जति जग्गा मात्र छ, त्यसमै बनेका खस्नै थालेका झोपडी छन्”, केशव कुमालले भन्नुभयो, “केही परिवारसहित भारततर्फ लागेका छन्, अरू परिवारका बुढापाका र महिलामात्र बस्तीमा छन्, युवा सबै भारतमै मजदुरी गर्छन्, त्यसबाटै परिवारको पेट पालिन्छ ।” कुसुण्डा, राजी, राउटेलगायत जातिमा बच्चा जन्मेदेखि नै भत्ता दिने व्यवस्था सरकारले गरेजस्तै बादी समुदायलाई पनि भत्तामा समेट्नुपर्ने उहाँको भनाइ छ । “सीपमा आधारित रोजगारीका अवसर सृजना गरी सहज रूपमा निब्र्याजमा पुँजी उपलब्ध गराउने व्यवस्था सरकारले गरिदिए अरूको देशमा गएर जोखिमयुक्त मजदुरी गर्न कोही जाने थिएनन्”, पदम बादीले भन्नुभयो, “सङ्घीय लोकतन्त्र ल्याउनमा हाम्रो पनि अरूको जस्तै योगदान छ, संविधानमा भएको व्यवस्थाबमोजिम गाँसबास, कपासको व्यवस्था गरिनुपर्नेमा त्यो अहिलेसम्म हुनसकेको छैन ।” जातीय विभेदको अन्त्य अझै हुन नसकेको चर्चा गर्नुहुँदै उहाँले कथित उपल्लो जातका व्यक्तिको चिया पसलमा चिया पिउँदा गिलास धुनुपर्ने अवस्था अझै विद्यमान रहेको बताउनुभयो । “चुनावका बेलामात्र नेताहरूले अश्वासन बाँड्ने गरेका छन्, चुनाव सकिएपछि बस्तीमा हालचाल बुझ्न कोही पनि पुग्दैनन्”, उहाँ अगाडि भन्नुहुन्छ, “नगरप्रमुखले पटकपटक बादी बस्तीमा पुगेर गरेका बाचा पनि बिर्सेका छन्, बस्ती वनहरा नदीको कटानको उच्च जोखिममा रहे पनि चासो छैन ।” वडाध्यक्षले बस्तीका पीरमर्का बुझ्ने गरेको उहाँ बताउनुहुन्छ । सङ्घीय राजधानीमा पुगेर कैयौँपटक आन्दोलन गर्दा भएका सम्झौता अहिले पनि कार्यान्वयनमा नआउँदा आधारभूत सेवासुविधाबाट समेत वञ्चित रहनुपर्ने अवस्था छ । आवासको व्यवस्था नहुँदा एकै घरमा तीन–तीन परिवार पनि बस्दै आएका छन् । केही परिवार भारतमा गएका बेला अर्को परिवार भारतबाट फर्केर बस्ने गरेका छन् । “बिहान खाना खाएपछि साँझको खानका लागि के गर्ने भन्ने पिरलो सधैँ भइरहन्छ”, बस्तीका अर्जुन बादीले भन्नुभयो, “बिरामी परे उपचार गर्ने पैसा छैन, रोग पालेर बस्नुपर्ने बाध्यता छ, आर्थिक अभावले पोशाकको व्यवस्था गर्न नसक्दा बालबालिकालाई विद्यालय पठाउन समस्या छ ।” बस्तीमा खानेपानीका लागि गाडिएका ह्याण्डपम्पबाट आर्सेनिकयुक्त पानी आउने भएकाले बिरामी पर्न थालेपछि टाढाबाट पानी बोकेर पिउनेपानी ल्याउनुपर्ने बाध्यता भएको बस्तीका बादी समुदायको गुनासो छ । खानेपानी आयोजनाका लागि पाइप गाड्ने काम भएको तीन वर्ष बित्नै लागे पनि अहिलेसम्म खानेपानी आयोजना निर्माणकार्य अलपत्र छ । गुन्यालफाँँटाको बादी बस्तीमा ५० परिवारको बसोबास छ । जसमध्ये परिवारसहित भारतमा जाने परिवारको सङ्ख्या २० बढी छ ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन आज (फागुन ९ गते) देखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्म पॉच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको हो । उक्त खण्ड आवश्यकतानुसार समयसमयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर–मस्र्याङ्दी पुल–कुमाल गाउँ–नयाँपुल पुल)को प्रयोग गर्न र ठूला सवारीसाधनले सवारी रोक्दा, सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न अनुरोध गरिएको पाण्डेले उल्लेख गर्नुभयो ।
काठमाडौं: मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सञ्चारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिष्दले निर्णय गरेका १३ निणर्य सार्वजनिक गर्नुभएको हो । मन्त्रिपरिषद् बैठकका निर्णयमा सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ र एउटै प्रकृतिको कामका लागि स्थापना भएका अलगअलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ले सिफारिस गरेका सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय रहेका छन् । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक रवीन्द्र केसीको राजीनामा स्वीकृत गर्ने, संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्को ५८औँ नियमित सत्रअन्तर्गत यही फागुन १२ गतेदेखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको भ्रमण स्वीकृत गर्ने निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । यसैगरी सरकारका नाममा दर्ता रहेको सरकारी जग्गामा प्रसूति गृह निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, वडा कार्यालय भवन निर्माण र आयुर्वेद औषधालय भवन निर्माणका लागि मायादेवी गाउँपालिका, रुपन्देहीलाई उपयोग गर्न स्वीकृत दिने रहेको छ । सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वलाई प्रयोग गर्न स्वीकृति दिने, सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा बहुउद्देश्यीय पोलिटेक्निकल इन्टिच्युट (व्यवसायी प्रशिक्षण केन्द्र) भवन निर्माण प्रयोजनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई प्रयोग गर्न स्वीकृति दिने, नेपाल सरकार र ओमान सरकारबीच हुने पर्यटन क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने, नेपाल र संयुक्त अमेरिकाबीच हुने पुरातात्विक तथा समुदायको संस्कृतिसँग सम्बन्धित सामग्रीको ओसारपसार र आयात प्रतिबन्धसम्बन्धी सम्झौता स्वीकृत गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । यस्तै जर्मनीको बर्लिनमा आयोजना हुने पर्यटन मेला इन्टरनेश्नल टुरिजम बोर्ड आइटिबी बर्लिन–२०२५ र फ्रान्समा आयोजना हुने ७५औँ अन्नपूर्ण दिवसमा यही फागुन २० गतेदेखि २४ गतेसम्म सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृत प्रदान गर्ने, औद्योगिक व्यवसाय (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, विसं २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने तथा सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।