काठमाडौं:  सरकारले हरेक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ ।  २३ असारमा बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङले कोदो...

रुकुम पश्चिम:    रुकुम पश्चिममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  जिल्लाको चौरजहारी नगरपालिका–१ लामिछाने गाउँका ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।       चौरजहारी बजारबाट घर जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । लामिछानेको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याउन लागिएको प्रहरीले जनाएको छ । 

मनाङ:     पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ । ट्र्याक खोलेको करिब २० वर्षपछि डुम्रे–बेँसीसहर–चामे खण्डले गति लिएपछि यात्रा सहज बन्दै गएको हो ।       डुम्रे–बेँसीसहर–चामे आयोजनाले गत आर्थिक वर्षमा आठ किलोमिटर सडक कालोपत्र गरिसकेको आयोजनाका सबइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बेँसीसहरबाट खुदीसम्म आठ किमी सडक कालोपत्र सम्पन्न भएको हो ।       सबइञ्जिनीयर अधिकारीले भन्नुभयो, “मनाङतर्फको सडक निर्माणमा मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाले पनि सहयोग गरेको छ । भौतिक रूपमा असहज भएका स्थानमा आयोजनाले काम गरिसकेको छ । जलविद्युत् आयोजनाका सवारीसाधन आवतजावत गर्नुपर्ने भएकाले यहाँको विकासलाई पनि सहयोग पुगेको छ ।” बेँसीसहर–चामे खण्डअन्तर्गतका सडक र पुल निर्माणका लागि रु ५१ करोड बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।       आयोजना निर्माणस्थलमा आवश्यक सामग्री ल्याउन सहज बनाउने उद्देश्यले सडक चौडाइ गर्ने, घुम्ती क्षेत्रमा पूर्वाधार र सडक निर्माणलगायत काम भइरहेका बुटवल हाइड्रोपावर कम्पनी लिमिटेडका सहायक प्रबन्धक प्रतिकमानसिंह प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार सडक आयोजनासँग सम्झौता गरी आपसी समन्वयका आधारमा काम भइरहेको हो ।      प्रबन्धक प्रधानले भन्नुभयो, “ऊर्जा उत्पादनले मात्रै जिल्लाको विकास सम्भव छैन । मनाङ पर्यटकीय क्षेत्र पनि हो, यहाँ सडक सञ्जाल विस्तार गरी यात्रा सहज बनाउन सके पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिकस्तरमा सुधार हुँदै जाने थियो । ऊर्जा उत्पादनसँगै सडक सञ्जालको विकासले स्थानीयको दैनिकी र पर्यटकलाई आवागमनमा सहयोग पु¥याइरहेको छ ।”       मनाङको चामे गाउँपालिका–१, २ र ३, नासोँ गाउँपालिका–९, ८, ४ र ५ नम्बर वडामा पर्नेगरी निर्माणाधीन एक सय ३५ मेगावाट क्षमताको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाले यहाँको सडक विकासलाई प्राथमिकतामा राखी काम गरिरहेको प्रबन्धक प्रधानले बताउनुभयो ।            उक्त जलविद्युत् आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच विसं २०७९ पुस ३ गते सम्झौता भएको थियो । यस आयोजनाको क्षमता एक सय ३५ मेगावट रहेको छ । चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको हो ।      आयोजनामा नेपाली साझेदार बिपिसिले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससिआइजी इन्टरनेशनल, छिङचेङ इन्टरनेशनल र चिनियाँ लगानीकर्तामा क्यूवाइसी इन्टरनेशनलले संयुक्त रूपमा ८० प्रतिशत शेयर स्वामित्व रहनेगरी समझदारी भएको आयोजना कार्यालयले जनाएको छ ।      आयोजनाको कूल लागत रु ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत पुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब रु एक अर्ब ३३ करोड पुँजी लगानी गर्नेछ । आयोजनाले वार्षिक रु ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ ।       आयोजना ‘पिकिङ रन अफ दि रिभर’ प्रकृतिको हुने कम्पनीका प्रबन्धक प्रधानले जानकारी दिनुभयो । वार्षिक सात सय ६६ दशमलव पाँच सय ९३ गिगावाट विद्युत् उत्पादन हुने अपेक्षा लिइएको उहाँले बताउनुभयो । 

हेटौंडा:   भिरबाट लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–३ ईचुङ निवासी ५३ वर्षीय चमेलीमाया पाख्रिन रहेको प्रहरीले जनाएको छ ।  शनबार दिउँसो ४ बजेतिर घर नजिकै घट्टेखोलाको भिरमा घाँस काट्न गएका पाख्रिनको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।  पाख्रिनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । 

काठमाडौं:     चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब नाँघेको छ ।      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र रू एक खर्ब दुई अर्ब सरकारी ऋण थपिएको छ ।      “चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पुस मसान्तसम्ममा रू एक खर्ब दुई अर्ब तीन करोड थप वृद्धि भई कूल सार्वजनिक ऋणको दायित्व रू २५ खर्ब ३६ अर्ब १३ करोड पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ४६ प्रतिशत हुन आउँछ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ ।      कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव ३१ प्रतिशत अर्थात् रू १३ खर्ब एक अर्ब ४१ करोड ७३ लाख बराबर छ । कूल गार्हस्थ्य उत्पादनसँग बाह्य ऋणको अनुपात २२ दशमलव ८१ प्रतिशत हो ।      त्यस्तै, कूल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ६८ अर्थात् रू १२ खर्ब ३४ अर्ब ७१ करोड ४१ लाख बराबर छ । कूल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋणको प्रतिशत २१ दशमलव ६४ प्रतिशत हो ।      सरकारले चालु आर्थिक वर्षमा कूल रू पाँच खर्ब ४७ खर्ब ऋण उठाउने लक्ष्य राखेकामा गत पुस मसान्तसम्ममा रू दुई खर्ब ४० अर्ब आठ करोड ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको ऋण प्राप्ति ४३ दशमलव ८९ प्रतिशत हो ।      चालु आर्थिक वर्षका लागि रू तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य रहेकोमा पुस मसान्तसम्ममा रू एक खर्ब ८१ अर्ब पाँच करोड अर्थात् वार्षिक लक्ष्यको ५४ दशमलव ८६ प्रतिशत ऋण उठाइएको छ । त्यस्तै रू दुई खर्ब १७ अर्ब आन्तरिक ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा पुस मसान्तसम्ममा २७ दशमलव २० प्रतिशत अर्थात् रू ५९ अर्ब तीन करोड प्राप्ति भएको छ ।      सार्वजनिक ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले चालु आर्थिक वर्षका लागि रू चार खर्ब दुई अर्ब ८५ करोड विनियोजन गरेको छ । गत पुस मसान्तसम्ममा साँवा ब्याज तिर्न रू एक खर्ब ८२ अर्ब ४० करोड खर्च भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ४५ दशमलव २८ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा पुस मसान्तसम्ममा कूल ऋण सेवा खर्च तीन दशमलव २० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

काठमाडौं:    नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले शनिबार झापामा गरेको आक्रमणको निन्दा र भत्र्सना गरेको छ ।      नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै गर्दा कन्काइ नगरपालिकाको सुरुङ्गा नजिक उहाँमाथि आक्रमण भएको थियो । उहाँको निधारमा चोट लागेको कांग्रेसले जनाएको छ ।       कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीका लागि सरकारसँग माग गर्नुभएको छ ।

बाँके:    राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ ।  मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।   “प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीबाटै जलचराको गणना सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “यो नदीमा प्रायः यहाँका रैथानेसँगै आगन्तुक चरा आश्रित हुन्छन्”, निकुञ्ज प्रमुख कँडेलका अुनसार यस वर्ष चरा गणनाका क्रममा पहिलो दिनमै विभिन्न प्रजातिका चरा क्यामेरामा कैद भएका छन् ।   चरा गणनाका लागि राप्तीमा पुग्नुभएका चराविद् राम शाहीले पछिल्लो समयमा चराको बासस्थान लोप हुँदै गइरहेको बताउनुभयो । नदी, सिमसार क्षेत्र तथा जलासयमा मानवबाट हुने गतिविधिले गर्दा चराको बासस्थान लोप हुन पुगेको उहाँको भनाइ छ । “खोलानाला र नदीमा गरिने मानवीय गतिविधि चराको हितमा नभएकाले चराको बासस्थान लोप हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो ।  विगत तीन वर्षदेखि हरेक हिउँदे याममा चरा गणना गरिँदै आएकामा यस वर्ष पनि चरा गणनालाई निरन्तरता दिइएको संरक्षणकर्मी आशिष चौधरीले बताउनुभयो । उहाँका अनुसार बाँकेका नदी, सिमसार क्षेत्र तथा जलासयमा आगन्तुक चराको समेत बासस्थान रहेको पाइएको छ ।   चराको बासस्थानमा भइरहेका निर्माणकार्य, जथाभावी रूपमा भइरहेको विषादीको प्रयोग, मानिसको बढ्दो आवतजावतका कारण चराको बासस्थान लोप भएर सङ्ख्या घट्दो रहेको संरक्षणकर्मी चौधरीले बताउनुभयो ।  “मानवीय गतिविधिका कारण चरको बासस्थानमा धेरै नै अवरोध हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “हामी संरक्षण गर्नेहरू मात्र नभई स्थानीय र नदी वरपर बस्ने रैथाने पनि सजग हुन आवश्यक देखिन्छ ।” चराविज्ञ, संरक्षणकर्मी, निकुञ्जका अधिकारी, सुरक्षाकर्मीलगायत टोली शनिबारदेखि राप्ती नदीमा चरा गणनाका लागि परिचालित भएको छ । उक्त टोलीले बाँकेमा रहँदा बाँके राष्ट्रिय निकुञ्ज, राप्ती नदी, सिमसार क्षेत्र तथा जलासयमा पुगेर चरा गणना गरिने बाँके निकुञ्जले जनाएको छ ।  गणनाका क्रममा उक्त टोली बाँकेको नेपालगञ्जस्थित कान्ति ताल, बैजनाथमा रहेको सुतैया ताल, बर्दियाका सीमाक्षेत्र मानखोलालगायत स्थानमा पुग्ने चराविद् शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जस्थित कान्ति तालमा संरक्षित पन्छी सारसको समेत बासस्थान रहेको छ । बाँकेमा योसहित तेस्रोपटक चरा गणना गरिएको छ ।

गलकोट:    निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि अझै अधुरै छ ।  सम्झौताको छ वर्ष बित्दा पनि सडक कालोपत्र नभएपछि स्थानीयलाई यात्रा गर्न सास्ती छ । उक्त सडक बरेङं–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् । विसं २०७६ मा तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता भएको सडक चौथो पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । अहिले  सडकमा बनाइएको पूर्वाधार बिग्रन थालेको छ भने, सडकमा बिछ्याइएको ग्राभेल बर्खाको पानीले बगाएको छ ।  काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेका अनुसार उक्त सडकमा डेढ वर्षदेखि निर्माण व्यवसायी फर्केर गएका छैनन् । सडकको एकलेखेतबाट एक किमी सडकमा नाली पनि निर्माण भएको छैन । सम्झौताअनुसार काम भएको भए यतिबेला चिल्लो सडकमा सवारी गुडेका हुन्थे ।  पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याएको निर्माण व्यवसायीले सडक अलपत्र छाडेर हिँडेको छ, अहिले निर्माण भइसकेका संरचनामा पनि क्षति भएको छ । सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा रु नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का रु छ करोड ७१ लाखमा चार किमी सडक कालोपत्रका सम्झौता भएको थियो । उक्त सडकको कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माणमा चरम लापरवाही गरेको छ । ठेक्काको म्याद २०७९ जेठमै म्याद सकिएको निर्माण व्यवसयीले चौथो पटक म्याद थप गरेर आगमी चैतसम्म पुर्याएको छ ।   काठेखोला गाउँपालिकाले आगमी चैतसम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई निर्देशन दिएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकेर निर्माण व्यवसायी काममा नर्फकिँदा समस्या भएको छ ।  भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काम ढिला भएको निर्माण व्यवसायी प्रकाश आचार्यले बताउनुभयो । उहाँले केही समयमा सडक कालोपत्र गर्ने दाबी गर्नुभयो ।  सडकको सुरुमा एक्लेखेतमा रु पाँच करोड लागतमा मोटरेबल पुल निर्माण भएर बाह्रैमास सवारी चल्ने भए पनि सडक समयमै कालोपत्र नहुँदा यात्रुलाई सास्ती भएको छ ।  अहिले रेश जाने सडक धुलाम्मे छभने केही ठाउँमा बर्खामा खसेको पहिरो पन्छाउन बाँकी छ । बर्खामा बिग्रेको सडक मर्मत गर्न निर्माण व्यवसायीले चासो नदिएको स्थानीय बताउँछन् ।

सिरहा:     माघको महिना छ । बाहिर शीतलहर र बाक्लो कुहिरोले ढपक्कै ढाकेको छ । एकाबिहानै कठ्याङ्ग्रिँदो चिसोको कुनै वास्ता नगरी लहानस्थित सहिदचोकमा मानिसहरूको घुइँचो बढ्दै गएको थियो ।        आज अर्थात् माघ ५ गते बलिदानी दिवस । मधेश प्रदेश सरकारले १८ वर्षअगाडि भएको मधेश आन्दोलनका सहिदहरूको सम्झनामा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । आज विशेष दिन भएकाले बिस्तारै मधेश केन्द्रित दल तथा कार्यकर्ताहरूको चहलपहल र उपस्थिति बढ्दै गएको हो ।      एकातिर सहिदको प्रतिमामा माल्यार्पण गर्न नेता र कार्यकर्ताको भीड लाग्दा अर्कातिर लक्ष्मी सहनी र उहाँकी श्रीमती डोमनी सहनीको मनमा छट्पटी बढ्दै जान्छ । विगतका स्मृति र विस्मृतिहरूलाई उप्काएर ताजा बनाइदिन्छ, जसले सहनी परिवारको सपनालाई क्षणभरमा उजाडेको थियो ।       यसैगरी, छट्पटी र तनाव बढ्छ महम्मद मस्तकीलाई पनि । आजभन्दा १८ वर्ष पहिला लहानमा चर्कीएको मधेश आन्दोलनले सहनी परिवारको सपनालाई क्षणभरमा उजाडेको थियो ।  विसं २०६३ माघ ५ गते तत्कालीन मझौरा गाविस–५ का रमेशकुमार महतो, माघ ७ गते इटहर्वा गाविस–३ का मोहम्मद अनिश, सोही दिन महदेव गाविस–२ का प्रमोद सदाय र माघ ८ गते लहान नगरिपालिका–४ का विजय सहनीको सोही आन्दोलनमा प्रहरीको गोली लागेर शहादत प्राप्त भएको थियो । तिनै सहिद विजय सहनीको बुबाआमा हुनुहुन्छ लक्ष्मी र डोमनी सहनी ।       दुई सन्तानमध्ये घरको जेठो १८ वर्षीय विजय सहनीलाई आन्दोलनमा गुमाएको पल सम्झिँदा बुबा लक्ष्मी सहनीलाई अझै भक्कानो छुटेर आउँछ । “प्रत्येक माघ ५ गतेले मलाई पीडा र आँसु दिएर जान्छ । विगतको स्मृति र विस्मृतिलाई ताजा बनाउने काम गर्छ”, आफ्नै छोराको सालिक अगाडि उभिएर सहनीले भावुक हुँदै भन्नुभयो, “आन्दोलनले के कति प्राप्त भयो थाहा छैन तर हाम्रो परिवार उजाड बनाइदियो । खुसीहरू सधैँलाई छुटिगए ।”      परिवारको आर्थिक जोहो टार्न अर्को छोरो राजेश सहनी तीन वर्षदेखि भारतको केरलामा मजदुरी गरिरहेको पीडा बुबा लक्ष्मीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनमा मेरा छोरा जस्तै सहिदहरूको बलिदानले नेताहरूलाई सरकारमा त पु¥यायो, तर मेरो परिवार उस्तै गरिबी, अभाव र पीडामा छ । सम्झिँदा मन भक्कानिन्छ, सम्हाल्न गाह्रो हुन्छ ।”       सहनीले अगाडि भन्नुभयो, “आफूलाई जसोतसो सम्हाल्छु तर श्रीमतीलाई सम्झाउन गाह्रो छ”, छेवैमा आँसु टिल्पिलाउँदै गर्नुभएकी श्रीमतीतर्फ हेर्दै उहाँले भन्नुभयो, “यस्तो बेला छोराको याद आइहाल्छ । यस्ता कार्यक्रमहरूले पीडा थप बल्झाउँने र असाध्यै सताउने गर्छन् ।”       मोहम्मद मस्तकी सहिद मोहम्मद अनिशका बुबा हुनुहुन्छ । यस्तै पीडा छ, अनिशका बुबा मोहम्मद मस्तकीको । सरकारले सहिद परिवारको रोजगारी र जीविकोपार्जनमा कुनै सहयोग नगरेको तथा आन्दोनले ल्याएको परिवर्तनले जनताको जीवनस्तरमा कुनै परिवर्तन ल्याउन नसकेको उहाँले दुखेसो पोख्नुभयो । “सहिदको समना पूरा भएन । सोचेअनुसारको परिणाम आएन । व्यवस्था त बदलियो तर जनताको अवस्था फेरिएन,” उहाँले भन्नुभयो ।       त्यही आन्दोलनका नेतृत्वकर्ता तत्कालीन मधेशी जनाधिकार फोरम तथा हालका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लहान आएर यिनै सहिदहरूको प्रतिमामा माल्यार्पण गर्दै आजको दिन शोषण र उत्पीडनविरुद्ध बलिदानपूर्ण विद्रोह भएको दिन भएको बताउनुभयो ।       उहाँले भन्नुभयो, “गुलामीको जीवनभन्दा बलिदानी दिएर मधेशलाई अधिकारसम्पन्न बनाउने सहिदको सपना खेर जाँदैन ।” छेवैमा भाषण सुनिरहेका सहिद परिवार भने मौन थिए । सायद नेताहरूको भाषण सुन्न बानी परिसकेका थिए, विश्वास लाग्नु नलाग्नु छुट्टै विषय हो ।

पोखरा:    पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनिक गरेको छ । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको लक्की ड्र बाट प्रथम पुरस्कार स्कुटर लेकसाइडका राहुल थापाले जितेका छन् । जिल्ला विकास समितिका पुर्व सभापति रमेश भट्टराईले लक्की ड्र तान्दा ४५८७५ नम्बरको थापाको नम्बर तान्दै प्रथम पुरस्कार विजेता घोषणा गरे । द्वितीय पुरस्कार एलजिको वासिङ मेसिन कुपन नम्बर २६१८५ का सुमन श्रेष्ठलाई परेको छ । त्यसै गरी तेस्रो पुरस्कार कुपन नम्बर १६२९२ का प्रविन गुरुङलाई परेको छ । सान्तोना पुरस्कार १३ जनाको नाम लक्की ड्र मार्फत छानेको डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए । २ हजार भन्दा बढिको एकै पटकमा खरिद गर्दा एउटा कुपन दिने गरको सहकारीका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले करिब ४६ हजार कुपनबाट १६ जनालाई विभिन्न पुरस्कार लक्की ड्र मार्फत छानेको बताए । १६ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेन्ट र दैनिक आवश्यक पर्ने र घरयासी सामग्रीहरुको सुलभ मूल्यमा बिक्री गर्दै आएको छ ।