काठमाडौं: सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पु¥याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्राप्त विवरण अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा मानिस घाइते हुनुका साथै केही घरमा क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पका कारण ती जिल्लाका छ जना घाइते भएका छन् । सबै क्षेत्रमा गरेर कूल एक पूर्ण र तीन आंशिक गरी चार घर तथा एउटा गोठमा क्षति पुगेको छ । सिन्धुपाल्चोकको कोदारीमा एक प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । काठमाडौँमा दुई जना घाइते भएका छन् भने सङ्खुवासभामा दुई घरमा क्षति पुगेको छ । सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन् । तीन परिवार विस्थापित भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । ती जिल्लामा अहिलेसम्म प्राप्त विवरण अनुसार १३ वटा घटना भएका प्रहरी नायब महानिरीक्षक आचार्यले उल्लेख गर्नुभयो । आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो । उक्त भूकम्प देशका धेरै जिल्लामा महसुस गरिएको थियो ।
काठमाडौं: प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ । मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–राजविराज, काठमाडौँ, विराटनगर, काठमाडौँ–जनकपुर, काठमाडौँ–भद्रपुर, काठमाडौँ–भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ । साथै अधिकांश उडान डिले भएका छन् । प्रवक्ता शेर्पाका अनुसार दिउँसोदेखि भने उडान सामान्य रुपले भइरहेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताउनुुभएको छ । सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताउनुुभयो । “नेपालीहरु राम्रो रोजगारीका लागि जापान पनि गएका छन् । नेपालको फापर जापान पुुगेको छ । जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ । जनस्तरका यस्ता असल सम्बन्धका अनेक आयामहरु छन्”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामीबीच अब्बल मित्रता छ । खाली मित्रताबाहेक अरु केही छैन । हाम्रो सम्बन्ध साकुराजस्तै लटरम्म भएर फुलेको छ । समस्यारहित यो सम्बन्ध तथा विकासको साझेदारीलाई सूूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउनुपरेको छ ।” प्रधानमन्त्री ओलीले युद्धले विनाश र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्दै विश्वमा शान्ति छाओस् भन्ने आफूहरुको प्रबल इच्छा र सक्रिय प्रयास रहेको बताउनुुभयो । एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवद्र्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ लिभायेको आयोजनामा यही फागुुन १४ देखि १६ गतेसम्म नेपालमा समिट आयोजना गरिएको हो ।
ढोरपाटन: आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो । निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिनुभयो । अहिले पनि निरन्तर हिमपात भइरहेको उहाँले बताउनुभयो । “बिहानैदेखि वर्षा भएको थियो, अहिले हिमपात भइरहेकाले तत्कालै सडक खुलाउन सकिने अवस्था छैन । हिमपात रोकिएर घाम लाग्यो भने मेसिन प्रयोग गरेर सडक खुलाउनु पर्छ । बिहान काठमाडौँदेखि आएका रात्रि बस सञ्चालन भए पनि अहिले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन्”, अध्यक्ष घर्तीमगरले भन्नुभयो । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय चकबहादुर अदैले जानकारी दिनुभयो ।
गोरखा: बारपाक सुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ । गाउँपालिका–६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालनमा गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित निःशुल्क पठनपाठनको प्रबन्ध गरिएकोे गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताउनुभयो । “चालु शैक्षिकसत्रदेखि पालिकाभित्र विद्यालय जान नपाएका अभिभावकविहीन बालबालिकालाई निःशुल्क खान, बस्न र पठनपाठनको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले १९ जना अनाथ बालबालिका गाउँपालिकाले सञ्चालन गरेको छात्रावासमा अध्ययनरत छन् ।” छात्रवासमा नौ जना छात्रा र १० जना छात्र छन् । उनीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिइने जानकारी दिँदै पालिका अध्यक्ष भट्टले भन्नुभयो ‘‘बालबालिकाका लागि आवश्यक पर्ने केही लत्ताकपडा, किताबकापी, कलमलगायतका सामग्री इच्छुक दाताहरुबाट सहयोग लिने गरेका छौं ।” अनाथ बालबालिकालाई निःशुल्क पठनपाठन तथा खानबस्नको व्यवस्थाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १२ लाख विनियोजन गरेको थियो । छात्रवासमा दुई जना महिला कार्यालय सहयोगी, छात्रवास सुरक्षाका लागि सुरक्षाकर्मी र एक जना निरीक्षकको पनि व्यवस्था गरिएको छ ।
गलकोट: सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियो । २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए । ती मध्ये छ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन्भने गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन् । फागुनदेखि ढोरपाटन नगरपालिकाले पनि आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । भवन सम्पन्नपश्चात् फागुनदेखि सेवा दिन थालिएको छ । चार करोड ५९ लाख ३४ हजारको लागतमा छ तलाको पक्की भवनबाट सेवा प्रवाह थालिएपछि कार्यालय सञ्चालन खर्च घटेको छ । काठेखोला गाउँपालिकाले जग्गा टुङ्गो लगाउन सकेको छैन । ताराखोला गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको एक वर्ष पछि बडिगाड गाउँपालिकाले भवन बनाएको हो । काठमाडौँको सिंहदरबार सङ्घीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । बडिगाड र ताराखोला मात्र होइन तमानखोला, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।
काठमाडौं: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णालीका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ । आगामी २४ घण्टामा कर्णाली साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै लुम्बिनी,गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने जनाउँदै ती सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौं: प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाउनुभयो । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उहाँले दिनुभयो । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।
पोखरा: पोखरामा आज ४३ औं मगर स्थापना ४३औँ मगर सङ्घ स्थापना दिवस मनाइएको छ । नेपाल मगर संघ कास्कीको आयोजनामा आज पोखरामा विभिन्न कार्यक्रम गरेर ४३ औं मगर स्थापना दिवस मनाइएको हो । मगर दिवसको अवसमा पोखराको मानवअधिकारबाट मगर भेषभुषामा झाँकी ¥याली चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै पोखरा रंगशालामा गएर औपचारिक कार्यक्रममा सुरु भएको थियो । विसं २०३९ फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङ्घाली परिवार सङ्घको स्थापना भएको थियो । सोही दिनलाई मगर सङ्घले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । विसं २०३९ मा मगर सङ्घको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढङ्गले सङ्गठित हुँदै आएका थिए । विसं २०३९ फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीचमा हजारौँ मगर समुदायको उपस्थितिमा ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पन्न भएको थियो । विसं २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ लाई नाम परिवर्तन गरी ‘नेपाल मगर सङ्घ’ मा रूपान्तरण गरेको थियो ।